दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सुनुवाइ, सर्वोच्चमा पेसी

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

यसअघि गत मङ्सिर ७ गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको थियो । तर, नवनियुक्त आईजीपी मनोज केसीले रिटसम्बन्धी म्याद बुझेको प्रमाण अदालतमा पेस हुन नसकेपछि सुनुवाइ अघि बढ्न सकेको थिएन ।

कार्कीले प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले आफूलाई पदबाट हटाउने निर्णय बदर गर्न तथा नवनियुक्त आईजीपीलाई कामकाज गर्न रोक लगाउने अन्तरिम आदेश जारी गर्नसमेत माग गरेका छन् ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो ।

कार्कीको रिटमा नवनियुक्त आईजीपी मनोज केसीको नियुक्ति तथा कामकाज रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने विषयको टुङ्गो दुई पक्षबीचको सुनुवाइपछि लाग्नेछ । आजको सुनुवाइबाट रिटको आगामी प्रक्रियाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस  सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनेतर्फ तत्काल कदम चाल्न सरकारसंग इन्सेकको माग
प्रकाशित मितिः