धुन्चेमा रोकिएका ठूलो संख्याका सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था

काठमाडौं, १२ भदौ  । हवाई उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका ठूलो संख्याका सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था मिलाएको छ।

हवाईमार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सडक तथा पैदलमार्गको विकल्प अघि सार्दै अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौं ल्याउ लागिएकाे हो। प्रदेश सरकारको यो पहलले उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई घर फर्किन सहज हुने भएकाे छ ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाका अनुसार धुन्चेमा रोकिएका सर्वसाधारणलाई प्रदेश सरकारले त्यहीँ खाना खुवाउने व्यवस्था गरेको छ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्‍याइनेछ। महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुगिने र त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं ल्याइने व्यवस्था मिलाइएको छ।

यसका लागि प्रदेश सरकारले निःशुल्क ४५ वटा बसको व्यवस्था गरेको छ। बसको व्यवस्था भएपछि रसुवामा अलपत्र परेका सर्वसाधारणले वैकल्पिक मार्ग हुँदै एकै दिनमा काठमाडौं आइपुग्न सक्ने अवस्था बन्ने भएकाे छ ।

धुन्चेसँगै चौगटीमा समेत सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको छ। उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई बाटोमा खानपानलगायतका आधारभूत समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्थापन गरिएको जनाइएको छ।

यसैबीच, त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग सफाइ गरी यातायात सञ्चालनमा ल्याउने प्रयाससमेत बागमती प्रदेश सरकारले अघि बढाएको छ। उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक रूपमा सोही मार्ग प्रयोग गरी काठमाडौं आउन सक्नेछन्।

प्राकृतिक विपत्तिका कारण यातायात अवरुद्ध हुँदा अलपत्र परेका नागरिकलाई तत्काल गन्तव्यसम्म पुर्‍याउन प्रदेश सरकारले अघि सारेको वैकल्पिक व्यवस्थाले उनीहरूको कठिन यात्रा केही सहज हुने देखिएको छ। उद्धारसँगै खाना, यातायात र सडक सञ्चालनलाई प्राथमिकता दिइएकाले विपद्को मारमा परेका नागरिकलाई तत्काल राहत पुग्ने भएकाे छ ।

Disqus comments are not configured yet.

मुख्यमन्त्री किरण थापाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहत कार्यमा कुनै कमी हुन नदिने प्रतिबद्धता

काठमाडौं, भदौ १२ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहत कार्यमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा उद्धार, राहत र व्यवस्थापनको अवस्था बुझ्न रसुवा पुग्नुभएका मुख्यमन्त्री थापाले विपद्को यस कठिन अवस्थामा नागरिकको जीवनरक्षा र तत्कालीन आवश्यकता पूरा गर्न प्रदेश सरकारका सबै संयन्त्र परिचालन गरिएको बताउनुभएको हो।

मुख्यमन्त्री थापले प्रभावित नागरिकका लागि तत्काल आवश्यक पर्ने खाना, सुरक्षित आवास, औषधि, इन्धन तथा यातायातको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ। उद्धार तथा राहत कार्यमा स्रोतसाधनको अभाव हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको उहाँले बताउनुभएको छ।

रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको र नागरिक तथा आन्तरिक तथा बाह्य पर्यटकसमेत विभिन्न स्थानमा फसेको जानकारी आएपछि प्रदेश सरकारले उद्धार कार्यलाई तीव्रता दिएको उहाँको भनाइ छ।

फसेका नागरिक तथा पर्यटकलाई सुरक्षित स्थानमा ल्याउन यातायातको व्यवस्था मिलाउने, प्रभावित क्षेत्रमा खाना तथा खानेपानी पुर्‍याउने, विद्युत् सेवा अवरुद्ध भएका स्थानमा जेनेरेटर तथा इन्धनको व्यवस्था गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको मुख्यमन्त्री थापले बताउनुभएको छ।

उहाँका अनुसार धुन्चे जाने मुख्य सडक बाढी तथा पहिरोका कारण अवरुद्ध भएकाले सडक सञ्चालनका लागि काम भइरहेको छ। सडक खुलेपछि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन तथा फसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थप सहज हुनेछ।

नुवाकोटको ढिकुरे, बाहुनबेसी, नर्डा, छाप, लच्याङ, नौकुण्ड, सरनथली, पाटिखर्क, चिलाउने गाउँ, घिचेत, पुङखोला, पर्च्याङ, भोर्ले, अम्बास, बेत्रावती हुँदै रसुवा जाने सडकखण्डलाई सञ्चालनयोग्य बनाउन आवश्यक काम अघि बढाइएको उहाँले जानकारी दिनुभएको छ।

मुख्यमन्त्री थापले सडक सम्पर्क तत्काल जोडिन नसकेका स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्ने तथा आवश्यक परे पैदलै भए पनि प्रभावित नागरिकलाई यातायात सञ्चालन भइरहेको स्थानसम्म पुर्‍याउने व्यवस्था मिलाइने बताउनुभएको छ।

रसुवा पुगेपछि मुख्यमन्त्री थापले सुरक्षा निकाय, स्थानीय तह, जिल्ला प्रशासन तथा सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरी उद्धार, उपचार तथा राहतको अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले विपद्मा परेका नागरिकलाई तत्काल सहयोग पुर्‍याउन प्रदेश सरकारका सबै संयन्त्र परिचालन गरिएको बताउनुभएको छ।

मुख्यमन्त्री थापामगरले विपद्को अवस्थामा सरकारको पहिलो दायित्व नागरिकको जीवनरक्षा भएको उल्लेख गर्दै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि सुरक्षित पुनःस्थापनासम्म प्रदेश सरकार निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले विपद्का कारण घरबारविहीन तथा विस्थापित भएका नागरिकलाई सुरक्षित आवासको व्यवस्था, घाइतेको उपचार, खाद्यान्न तथा खानेपानीको आपूर्ति र अत्यावश्यक इन्धन तथा यातायातको व्यवस्थापनमा कुनै कमी हुन नदिने बताउनुभएको छ।

मुख्यमन्त्री आफै धुन्चेमा अलपत्रहरु परेकाहरुको उद्धार खटिदै
भक्तपुर, १२ भदौ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले धुन्चेमा अलपत्र परेको यात्रु तथा स्थानीयहरुको उद्धार सुरु गर्नु भएको छ ।   रसुवा भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि बुधबार ३ बजेदेखि नुवाकोटमा बसेर पीडितको उद्धार र राहत वितरमा सक्रिए रहदै आउनु भएका उहाँले आज बिहानदेखि धुन्चेमा अलपत्र परेकाहरुको उद्धार गरि बिभिन्न जिल्लामा पठाउने कार्यको सुरुवात गरेको  बताउनु भएको छ ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “प्रदेश सरकार निरन्तर जनताको पीडामा सहभागि छ, आज बिहानैदेखि धुन्चेमा म आफै बसेर यहाँ अलपत्र परेका स्थानीय र गोसाई कुण्डको यात्रामा अलपत्र परेकाहरुको उद्धार गरि बसमा हालेर नुवाकोट र त्यहाँबाट अर्को साधनमा हालेर सम्बीन्धत जिल्ला पठाउने कार्य सुरु गरेका छौं ।”
उहाँले अलपत्र परेकाहरुलाई धुन्चे बजारमा आउन आव्हान गर्दै बसहरुको व्यबस्था गरेर अलपत्र परेकालाई उद्धार गरि पठाउने कार्य सुरु भएको बताउनुभयो । नुवाकोटमा दुई डोजरले बाटो खुलाउँदै हिजो बेत्रावती, उत्तरगया हुदै राती ८ बजे धुन्चे पुग्नु भएको मुख्त्रीमन्त्री थापामगरले धुन्चेसम्म पुग्दा स्थिति भयावह भएको बताउनुभयो ।
मुख्यमन्त्री थापामगरले भन्नुभयो, “म हिजो बेलुका धुन्चे आईपुगेँ, धेरै मानिस अलपत्र छन्, स्थिति भयावह छ, लाश यत्रतत्र छरिएका छन्, गाडीभित्र पर्यटकको शव छन्, चार हजारको मृत्यु भएको आशंका छ, तीर्थयात्रुहरु अलपत्र छन्, त्यसैले अलपत्र नागरिकको उद्धार गरि बसमा हालेर पठाउन सुरु गरेका छौं ।”
उहाँले रसुवा, नुवाकोट र धादिङका बिभिन्न ठाउँमा सेल्टर बनाएर १०० जना स्वास्थ्यकर्मीको टोली परिचालन गरि स्वास्थ्य शिविर सञ्चालन गरेको, बाढी पीडितहरुको लागि टेण्ड हालेर, स्कुल, सामुदायीक भवनलगायतमा राखेको, खानाको ब्यबस्था गरेको बताउनुभयो । प्रदेश सरकार निरन्तर सडक खुलाउने, शव निकाल्ने, शव पहिचान गर्ने, खोजी तथा उद्धार गर्ने, गाँस र वासको व्यबस्थापन गर्ने, स्वास्थ्य शिविर र औषधिको व्यबस्था गर्नेलगायतको कार्य निरन्तर गरिरहेको उहाँले बताउनुभयो ।
भोटेकोशी बाढी पीडितका लागि चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा रु. ५० लाख ३५ हजार सहयोग गर्ने घोषणा, जिल्लामा चाँगुनारायणबाट पहिलो घोषणा
भक्तपुर, ११ भदौ : चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ५० लाख ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आज नगरपालिकामा नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउन उक्तरकम प्रदान गर्ने निर्णय गरेको हो ।
नगरपालिका प्रमुख खत्रीले बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको र त्यसबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सहयोग पुर्याउने उदेश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।
नगर प्रमुख खत्रीले स्थानीय विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ, जनप्रतिनिधिबाट एक महिनाको तलब तथा सेवा सुविधा वापतको रकम रु. ७ लाख, कर्मचारीबाट तह अनुसार दुईदिनदेखि सात दिनसम्मको तलब सविभाहरु ग्रि २० लाख ३५ हजार रुपैयाँ र चाँगुनारायण नगरपालिकाका शिक्षकहरूबाट १३ लाख रुपैयाँ गरि ५० लाख ३५ हजार रुपैया रकम जम्मा गरि कोषमा हस्तान्तरण गरिने निर्णय भएको नगर प्रमुख खत्रीले बताउनुभयो ।
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री साह र मुख्यमन्त्री थापामगरसंगसंगै

नुवाकोट, ११ भदौ । प्रधानमन्त्री बालेन्द्र साह र वागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगर भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमन गरि उद्धार र घाईतेको अबस्था बुझ्नु भएको छ । यस क्रममा मुख्य मन्त्री थापामगरले बाढी प्रभावित क्षेत्रमा आफू निरन्तर उद्धार, उपचार र पीडितको खानेबस्ने व्यबस्थापनमा निरन्तर खटिरहेको जानकारी दिनुभयो ।

रसुवामा आएको बाढीले पुर्‍याएको पीडामा प्रदेश सरकार जनताको साथमा रहेको बताउदै अहिलेको कठिन समयमा धैर्य र हिम्मत गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
उहाँले जनताको दुःखमा साथ, संकटमा अग्रसरता र समाधानका लागि निरन्तर प्रयासमा, रसुवा फेरि उठ्नेछ, हामी मिलेर उठाउनेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर प्रमुख वासुदेव थापालाई आफ्ना नागरिकको चिन्ता, सम्पर्क बिहिनहरुका आफन्तलाई सम्पर्क गर्न आग्रह
भक्तपुर, ११ भदौ । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यही भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात बाढीका कारण सम्पर्क बिहिन हुनुभएका आफ्ना नागरिकका परिवारलाई नगरपालिकामा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।
उहाँले बिहिबार आफ्ना नागरिकका नाममा सार्वजनिक आव्हान गर्दै भदौ १० गतेको भोटेकोशी बाढीको विपदजन्य घटना पछि सम्पर्कमा नआएका नगरवासीलाई विवरण सहित सम्पर्क गर्न आव्हान गर्नु भएको हो ।
सूर्यविनायक नगरपालिका वडा नं. १ देखि १० सम्मका स्थायी वा अस्थायी बासिन्दा रसुवा, नुवाकोटलगायत विपद प्रभावित क्षेत्रमा कार्यरत रहेको वा भ्रमणमा रहनुभई भोटेकोशीको बाढीपछि सम्पर्क विहीन भएकोे भए उहाँहरूको नाम र हाल रहेको स्थान एवं व्यक्तिगत विवरण यथाशीघ्र आफ्ना वडा कार्यालय वा सूर्यविनायक नगरपालिकाको विपद् व्यवस्थापन शाखामा उपलब्ध गराइदिन आव्हान गर्नु भएको छ ।
उहाँले नगरपालिकाले विवरण संकलन गरिरहेको र सम्पर्क विहीन रहनुभएका सबैको सकुशल उद्धार गर्न आवश्यक पहल गर्ने जानकारी दिदै देशमा आएको विपत्ति र यसबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो ।  नगरवासीलाई वडा, नगरपालिका र सिंगो जनप्रतिनिधिको साथ र सहयोग रहने बताउदै सम्पर्कविहीन रहेका नागरिकहरुकोे सकुशल उद्धार र शीघ्र सम्पर्कको नगर प्रमुख वासुदेव थापाले कामना गर्नुभयो ।
वडाध्यक्ष पुष्पराज बस्नेतको आव्हान :
त्यसैगरि सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले पनि रसुवा लगायत देशका अन्य विभिन्न जिल्लाहरूमा गएको विनाशकारी बाढीका कारण सिर्जना भएको विषम परिस्थितिप्रति वडा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।
देशमा आएको यस विपत्ति र दुखद घडीमा र बाढी प्रभावित क्षेत्रहरूमा आफ्नो वडा सूर्यविनायक–८, सिपाडोलका कोही पनि बासिन्दाहरू सम्पर्क बिहिन भएको भए उनीहरुको अबस्था यकिन गरि खोजी तथा उद्धार गर्न अत्यावश्यक रहेको बताउनुभयो ।
उहाँले आफ्ना वडा भित्रका परिवारका सदस्य वा आफन्तजनको हालको अवस्था (सकुशल रहेको वा सम्पर्कविहीन भएको) बारे यथाशीघ्र भाइबर  (Viber) वा ह्वाट्सएप (WhatsApp) नम्बर ९८५१२०१५५८ सम्पर्क गरि जानकारी गराइदिनुहुन सम्पूर्ण वडावासीहरूमा अनुरोध गर्नु भएको छ ।
कोही सम्पर्कमा नआएको भए सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा खोजी कार्यमा सहयोग गर्ने बताउदै दुखद समयमा उद्धार र खोजीका लागि सम्पर्क र समन्वयका लागि आग्रह गर्नु भएको छ ।
मुख्यमन्त्री किरण थापामगरले भन्नुभयो : हामी भोटेकोशीको बाढीमा हराएकाको खोजीमा खटिएका छौं, उद्धारका लागि हामीलाई सम्पर्क गर्नु होस्
भक्तपुर, ११ भदौ : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरो अलपत्र परेका र सम्पर्कमा नरहेकाहरुकोबारेमा तत्काल जानकारी गराउन आफन्त र पीडित परिवारलाई आव्हान गर्नु भएको छ ।
आज बिहान नुवाकोटको बाढीग्रस्त क्षेत्रबाट सबैमा आव्हान गर्दै उहाँले वागमती प्रदेश भित्रका हटाएका र सम्पर्कमा नआएकाहरुका लागि प्रदेश सरकार उद्धारमा खटिएको बताउदै सिधै आफैलाई सम्पर्क गर्न आइहान गर्नुभयो ।
मुख्यमन्त्री थापामगरले आज राससका रमेश गिरीसंग भन्नुभयो, “हिजो दिउँसोदेखि नै मेरै नेतृत्वमा प्रदेश सरकार खोजी, उद्धार, घाईतेको उपचार र घरबाहर बिहिन भएकाहरुलाई खाने बस्ने व्यबस्था गरिरहेका छौ, कोही अलपत्र हुनुहुन्छ, कोही सम्पर्कमा आउनु भएको छैन भने सिधै मलाई र प्रदेश संयन्त्रलाई फोन गरेर खबर गर्नुस्, हामी तत्काल उद्धार गछौं ।”
हेटौडामा आपतकालिन बैठक बसेर उद्धार, उपचार र राहतको निर्णय गरि मुख्य मन्त्री थापामगरको नेतृत्वमा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री, स्वास्थ्य तथा सामाजिक मन्त्री गिरबहादुर तामाङ, प्रदेशका मुख्य सचिव, विभागिय सचिवहरु र स्वास्थ्यकर्मीहरु सहितको टोली आज पनि बिहानैदेखि फिल्डमा खटिएको छ ।
मुख्यमन्त्री थापामगरले भन्नुभयो, “यतिखेर सम्पूर्ण प्रदेश संयन्त्र प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका छौं, उद्धार, खोजी, राहत तथा तत्कालीन व्यवस्थापनमा कुनै कमी हुन नदिन हामी आफैं प्रभावित क्षेत्रमै हिजोदेखि खटिएका छौ, रसुवामा तपाईंका आफन्त अलपत्र पर्नुभएको छ, सम्पर्कविहीन वा हराइरहनुभएको छ भने तुरुन्त प्रदेश संयन्त्रसँग सिधै सम्पर्क गर्नुहोस हामी तत्काल हेलिकप्टरबाट उद्धार गछौं ।”
सम्पर्कका लागि उहाँले मुख्यमन्त्री किरण थापागरको मोवाइल नं. ९८५१०८१८७६, स्वकीय सचिव सञ्जिब थापा ९८५१२३१६४०, प्रकाश दाहालको ९८५५०३१४६४ नम्बर र प्रदेशका निकायहरुलाई सिधै सम्पर्क गर्न आग्रह गर्नुभयो । 
मुख्यमन्त्रीको नेतृत्वमा बुधबार भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, बज्रवाराही अस्पतालबाटलगायतबाट १०० जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले उद्धार गरिएका घाईतहरुको प्रारम्भिक उपचार र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको उहाँले जानकारुी दिनुभयो ।
मुख्यमन्त्री थापामगरले भन्नुभयो, “विपदमा जीवनको रक्षा नै हाम्रो पहिलो जिम्मेवारी हो, रसुवामा आएको बाढीपहिरोबाट घाइते भएका नागरिकहरूको बागमती प्रदेशका प्रादेशिक अस्पतालहरू तथा आयुर्वेदिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गरेका छौं, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रवाराही अस्पतालबाट स्वास्थ्यकर्मीहरू आकस्मिक उपचारका लागि रसुवा र त्रिशूलीमा खटाएका छौं, भक्तपुर अस्पतालमा थप आकस्मिक कक्ष तथा आइसीयु कक्षहरूको व्यवस्था गरी निःशुल्क उपचार सेवा उपलब्ध गराएका छौं ।”
बाढीमा परेर घरबार बिहिन भएकाहरुका लागि अस्थायी बसोबासको व्यबस्था प्रदेश सरकारले गरेको बताउदै टेण्ड, स्कुल, सामुदायिक भवनलगायतमा बस्ने व्यबस्था र खाने व्यबस्था मिलाएको उहाँले जानकारी दिनुभयो । आवश्यक उपचारका लागि सम्बन्धित बिरामीहरूलाई भक्तपुर अस्पताल तथा बागमती प्रदेश अन्तर्गतका अन्य प्रादेशिक अस्पतालहरूमा सम्पर्क गर्न समेत मुख्यमन्त्री थापामगरले हनुरोध गर्नुभयो ।
मुख्यमन्त्री थापामगरले भन्नुभयो, “प्रदेश सरकार यस विपद्को घडीमा नागरिकको जीवन रक्षा, उद्धार, उपचार तथा राहतलाई सर्वोच्च प्राथमिकता दिई परिचालित भएका छौं । प्रभावित क्षेत्र तथा आसपासका विभिन्न सुरक्षित स्थानमा तत्कालका लागि आवश्यक स्वास्थ्य सेवा, औषधि उपचार, खानेपानी, खाद्यान्न तथा आश्रय, बसोबासको व्यवस्था मिलाउने कार्य गरिरहेका छौं। दीर्घकालीन तथा थप व्यवस्थित व्यवस्थापन नहुँदासम्म आवश्यकताअनुसार यस्ता अस्थायी व्यवस्थालाई निरन्तरता दिने छौं ।”
भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको

काठमाडौँ, १० भदौः भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताउनुभएको छ ।

“हामी शोकसन्तप्त परिवारजन तथा यस घटनाबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, उहाँले भन्नुभएको छ, “यस चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ ।”

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन

काठमाडौँ, १० भदौ : रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन् ।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन भएको जानकारी दिनुभयो । सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन् । बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् ।

हालसम्म भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना, क्यानडाका २४ जना, मलेसियाका १९ जना, युक्रेनका सात जना, सिङ्गापुर र दक्षिण अफ्रिकाका छ/छ जना, न्युजिल्याण्ड र जापानका पाँच/पाँच जना रहेका छन् । यसबाहेक जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्ड लगायतका २५ भन्दा बढी देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी र भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

बढीग्रस्त क्षेत्रको अनुगमन पछि मुख्यमन्त्री किरण थापाले भन्नुभयो : बाढी पहिरो घाईतेको निःशुल्क उपचारको व्यबस्था

भक्तपुर, १० भदौ : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले रसुवामा आएको बाढीपहिरोबाट घाइते भएका नागरिकहरूको निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनु भएको छ । आज नुवाकोट पुगेर बाढीग्रस्त क्षेत्रको अनुगमन पछि उहाँले भोटेकोशी हुँदै त्रिशूली नदीमा परेर बाढी पहिरो घाईतेको निःशुल्क उपचारको व्यबस्था गरिएको बताउनु भयो ।

मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “विपदमा जीवनको रक्षा नै हाम्रो पहिलो जिम्मेवारी हो, रसुवामा आएको बाढीपहिरोबाट घाइते भएका नागरिकहरूको बागमती प्रदेशका प्रादेशिक अस्पतालहरू तथा आयुर्वेदिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गरेका छौं, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल र बज्रवाराही अस्पतालबाट स्वास्थ्यकर्मीहरू आकस्मिक उपचारका लागि रसुवा र त्रिशूलीमा खटाएका छौं, भक्तपुर अस्पतालमा थप आकस्मिक कक्ष तथा आइसीयु कक्षहरूको व्यवस्था गरी निःशुल्क उपचार सेवा उपलब्ध गराएका छौं ।”

आवश्यक उपचारका लागि सम्बन्धित बिरामीहरूलाई भक्तपुर अस्पताल तथा बागमती प्रदेश अन्तर्गतका अन्य प्रादेशिक अस्पतालहरूमा सम्पर्क गर्न समेत मुख्यमन्त्री थापा मगरले हनुरोध गर्नुभयो । बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विभिन्न नदीतटीय क्षेत्रमा बाढीका कारण गम्भीर जोखिम र क्षति उत्पन्न भएको भन्दै भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको प्रभाव क्रमशः तल्लो तटीय क्षेत्रमा समेत अनुगमनमा देखिएको बताउनुभयो ।

मुख्यमन्त्री थापामगरले भन्नुभयो, “प्रदेश सरकार यस विपद्को घडीमा नागरिकको जीवन रक्षा, उद्धार, उपचार तथा राहतलाई सर्वोच्च प्राथमिकता दिई परिचालित भएका छौं । प्रभावित क्षेत्र तथा आसपासका विभिन्न सुरक्षित स्थानमा तत्कालका लागि आवश्यक स्वास्थ्य सेवा, औषधि उपचार, खानेपानी, खाद्यान्न तथा आश्रय, बसोबासको व्यवस्था मिलाउने कार्य भइरहेको छ । दीर्घकालीन तथा थप व्यवस्थित व्यवस्थापन नहुँदासम्म आवश्यकताअनुसार यस्ता अस्थायी व्यवस्थालाई निरन्तरता दिइने बताउनुभयो ।”

हालको मौसम उद्धार तथा खोजी कार्यका लागि समेत प्रतिकूल रहेको बताउदै निरन्तर वर्षा, नदीको जलस्तरमा हुन सक्ने उतारचढाव तथा सडक र सञ्चार पूर्वाधारमा भएको क्षतिका कारण उद्धार कार्यमा थप चुनौती उत्पन्न भएको उहाँले बताउनुभयो । उहाँले नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै निकायसँगको समन्वयमा खोज, उद्धार, उपचार र राहत कार्यलाई अधिकतम रूपमा प्रभावकारी बनाउने प्रयास भइरहेको बताउनुभयो ।

नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्न सम्पूर्ण नागरिकलाई तत्काल सुरक्षित र उच्च स्थानतर्फ सर्न अनुरोध गर्दै निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो तथा ठाडो भू–भागमा पहिरोको सम्भावना उच्च रहन सक्ने भएकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पनि उच्च सतर्कता अपनाउन आव्हान गर्नुभयो ।

पहिरोको जोखिम देखिएमा वा जमिन चर्किने, ढुंगा–माटो खस्ने, पानीको बहाव अस्वाभाविक रूपमा बढ्ने जस्ता संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्दै उहाँले नदी, खोला तथा बाढी प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा प्राविधिक टोलीलाई आवश्यक सहयोग गर्न आव्हान गर्नुभयो ।

अहिलेको कठिन परिस्थितिमा प्रदेश सरकार नागरिकको साथमा रहेको बताउदै उहाँले सबै सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सामाजिक संघसंस्थालाई एकजुट भई मानवीय उद्धार तथा राहत कार्यमा जुट्न आह्वान गर्नुभयो ।