नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय छ : मुख्यमन्त्री किरण थापा

पोखरा ३१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको प्रत्येक ऐतिहासिक कालखण्ड एवं परिवर्तनमा देशको मगर समुदायको भूमिका अतुलनीय रहेको बताउनु भएको छ ।

नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२ औँ स्मृति दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री थापाले यस्तो बताउनु भएको हो ।

नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको योगदानको स्मरण गर्दै मुख्यमन्त्री थापा मगरले भन्नुभयो, ‘राणा शासनविरुद्ध लड्ने वा अरु कुनै आन्दोलन होस सबैमा मगर समुदायको विशेष भुमिका रहेको प्रष्ट छ । नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनसम्म मगर समुदायको अतुलनीय र ऐतिहासिक योगदान रहेकाले यो योगदानलाई बिसंन सकिन्न ।’

मुख्यमन्त्री थापाले नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहसँगै गोर्खा र लमजुङबाट सिपाही बनेर आएका मगरहरू काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बसोबास गरेको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्नुभयो ।

उपत्यकाका विभिन्न पालिकाहरूमा बसोबास गर्ने क्रममा मगर समुदायले आफ्नो भाषा, संस्कृति र संस्कार हराउँदै गएकाले यसको संरक्षण, प्रवर्धन र पुनः उत्थानमा लाग्न उहाँले जोड दिनुभयो ।

उहाँले देश–विदेशका सेना, प्रहरी लगायतका सुरक्षा निकायमा मगर समुदायको ठूलो उपस्थिति र इमानदारिताको उच्च कदर भएको भन्दै नीति निर्माण, राजनीति र उच्च निजामती सेवामा अझ उपस्थिति बढाउनुपर्ने बताउनुभयो । मगर समुदायले एकीकृत भई आफ्नो भाषा, संस्कृति, कला र पहिचान जोगाउन लाग्नुपर्ने उहाँको भनाइ थियो ।

संस्थागत वा व्यक्तिगत रूपमा मगर समुदायको सशक्तीकरण, भाषा–संस्कृति संरक्षणका लागि आफ्नो तर्फबाट सदैव पूर्ण सहयोग रहने उहाँको भनाई थियो ।

प्रतिष्ठानका अध्यक्ष सञ्जिता पुनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिष्ठानका संरक्षक उत्तम पुन, गण्डकी प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य राजिब पहारी लगायत नेपाल मगर संघका केन्द्रीय पदाधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Disqus comments are not configured yet.

सिन्दुर खेल्दै सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्रा सुरु 
भक्तपुर, ३० भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक गणेश मध्येको सूर्यविनायक गणेश मन्दिरमा आज मंगलबार बिहानै सिन्दुर खेलेर गणेशको रथ यात्रा गर्दै मनाईने सूर्यविनायक गणेश खट जात्रा सुरु भएको छ ।
भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको चाँदीको मूर्तीलाई खटमा बिराजमान गराई स्थानीयले पुजा गरृका छन् ।
बिहानैबाट सुरु भएको जात्रामा स्थानीयको पुजा सकिए पछि वागमती प्रदेशका मुख्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा रथारोहण गरि रथ बोकेर रथ जात्रा सुरु भएको छ । आज दिनभर सूयविनायक वडा नं. ६ र ८ को बिभिन्न टोलको परिक्रमा गरि साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरि गणेशको मूर्तिलाई खटबाट निकालेर प्रतिस्थापन गरे पछि जात्रा बिसर्जन गरिने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश रथ जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत २०७८ सालबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाउन सुरु गरेका छौ ।” जात्रा मनाउन वडा नं. ६ र ८ कार्यालयको आर्थिक सहयोगमा जात्रा सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।
खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखिएको छ । त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गरिन छ । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराउने र जात्रामा सहभागी हजारौ महिला पुरषलाई प्रसद ग्रहण गराउने उहाँले जानकारी दिनुभयो ।
मनोहरा खोलामा राती आयो बाढी, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
भक्तपुर, २९ भदौ : भक्तपुर र काठमाडौंको सिमाना भएर बग्ने मनोहरा खोलामा पानीको बहाव बढेर पुलसम्म छोए पछि खोला किनारामा टहरा एवं घर बनाएर बसोबास गर्दै आएका स्थानीय बस्ती छाडेर भक्तपुरको लोकन्थली हाईटमा पुगेका छन् ।
चाँगुनारायण नगरपालिकाको नगरकोटदेखि काठमाडौंको साँखुलगातका क्षेत्रमा साँझ परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराबाट बस्तीमा पानी पसेर टहराहरुमा पानी पसेपछि १०० भन्दा बढी स्थानीयले त्रासमा राती ९ बजे नै बस्ती छाडेर लोकन्थलीको हाईटमा पुगेर बसेको स्थानीय कमलनाथ प्रसाईले जानकारी दिनुभयो ।
राती ८ बजेपछि पानीको बहाब बढेको र ९ बजेपछि खोलाको बहाब बढेर साईरन बजाएर अलर्ट गर्दै सुरक्षित स्थानमा जान आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
भोटेकोशी बाढीको वितण्डाको कारण पनि मनोहरा खोलामा आएको बाढीले थप त्रास बनाएर सुरक्षित हुन लोकन्थलीको हाईटमा बच्चादेखि बुढासम्म पुगेको उहाँले बताउनुभयो ।
सरकारले मनोहरा सुकुम्वासी बस्ती हटाए पछि जडिबुटी पेप्सीकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरा बनाएर बसेकाहरुको बस्ती भित्र बाढी पसेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सुर्य बहादुर खड्काले मनोहरा खोलामा बाढीको बहाव बढेसँगै राती नैे प्रहरीले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरे स्थानीयलाई सुरक्षित स्थानमा सारेको जानकारी दिनुभयो ।
उहाँले आवश्यक पर्दा उद्धारको लागि सुरक्षाकर्मी तयारी अबस्थामा रहेको भए पछि राती १० बजेपछि खोलामा पानीको बहाब घटेको बताउदै उहाँले प्रहरी मनोहरा किराना क्षेत्रमा खटिएको बताउनुभयो ।
गणेश जन्मोत्सवको अवसरमा मंगलबार सिन्दुर खेल्दै मनाईने सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा
भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक गणेश मध्येको सूर्यविनायक गणेश मन्दिरमा मंगलबार दिनभर सिन्दुर खेलेर गणेशको रथ यात्रा गर्दै मनाईने सूर्यविनायक गणेश खट जात्राको सम्पूर्ण तयारी सम्पन्न भएको छ ।
भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात भगवाण गणेशको जन्मोत्सवको अवसरमा मंगलबार सूर्यविनायक नगरपालिका वडा नं. ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरि मूल गणेशको मूर्तीलाई खटमा बिराजमान गराई रथ जात्रा दिनभर बिभिन्न टोलको परिक्रमा गरि साँझ पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरि बिसर्जन गरिने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पुर्खाले मनाउदै आएको गणेश रथ जात्रा आर्थिक श्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, विगत २०७८ सालबाट सुरु भएको यो जात्रा यस वर्ष हजारौ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोल टोल पुर्याएर हर्षोल्लासका साथ मनाउने गरि तयारी पुरा भएको छ ।”
जात्रा मनाउन वडा नं. ६ र ८ कार्यालयको आर्थिक सहयोगमा जात्रा सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।  गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिम तर्फ राजथला टोलसम्म, पूर्व तर्फ चालिसे गाँऊ गहनादेवी मन्दिरसम्म, उत्तर तर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोल टोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गर्ने परम्परा रहेको उहाँले जानकारी दिनुभयो ।
खट जात्राको क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखिने र त्यसपछि खट जात्रा गरि टोल टोलमा परिक्रमा गरिन छ । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराउने र जात्रामा सहभागी हजारौ महिला पुरषलाई प्रसद ग्रह(ा गराउने उहाँले जानकारी दिनुभयो ।
जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सूर्यबिनायक तीनधारा खानेपानी सरसफाइ उपभोक्ता समिति, ढलचा गुठी, मूल पुजारी ईश्वरीप्रसाद भट्टराई तथा विभिन्न धिमेबाजा समूहहरूको समेत सक्रिय सहभागिता रहने वडा अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
प्रधानमन्त्री बालेन्द्र शाह, मुख्यमन्त्री किरण थापालगायत जनप्रतिनिधिहरुबीच पुर्ननिर्माणबारे छलफल
काठमाडौं, २९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाह र वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ ।
विपद् प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफल कार्यक्रममा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको अवस्था, तत्कालीन राहत तथा आवश्यकता साथै पुर्नस्थापनाका विषयमा प्रधानमन्त्री शाह, मुख्य मन्त्री थापा र बाढी प्रभावित पालिकाका जनप्रतिनिधिहरुसंग महत्वपूर्ण छलफल भएको छ ।
छलफलमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको पुर्ननिर्माण तथा स्थानीयवासीको पुर्नस्थापनाका लागि तीन तहकै सरकारको समन्वय र सहभागितामासंगै अगाडि बढ्नु पर्ने बताउनु भएको मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो । प्रदेश सरकार संघीय सरकार र स्थानीय तहसँग हातेमालो गर्दै विपदबाट प्रभावित नागरिकको साथमा दृढतापूर्वक उभिने निर्णय भएको छ ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रमा तत्काल राहतसँगै सुरक्षित पुर्नस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रभावित क्षेत्रको दीर्घकालीन पुर्नउत्थानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र एकताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छौं ।”
विपद्को पीडामा रहेका नागरिकलाई सरकारको उपस्थिति र सहयोग प्रत्यक्ष रूपमा अनुभूति हुने गरी काम गर्नु नै अहिलेको हाम्रो प्रमुख दायित्व भएको मुख्यमन्त्री थापाले प्रधानमन्त्री शाहलाई बताउनु भएको थियो ।
भविष्यमा प्रभावित क्षेत्रका नागरिकहरूको पुनस्र्थापनाका लागि संघीय सरकारसँग निरन्तर सहकार्य, समन्वय र सहजीकरण गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनप्रतिनिधिहरूले व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
जनप्रतिनिधिहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल सडक सञ्जाल विस्तार, बेपत्ता व्यक्तिहरूको खोजी, सम्भावित महामारी रोकथाम तथा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउनेबारेमा पनि छलफल भएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । बाढी प्रभावित तटीय क्षेत्रलाई हरियाली क्षेत्रका रूपमा विकास गर्दै नजिकैको सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नु पर्ने उहाँले बताउनु भएका थियो ।
छलफलमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र नुवाकोटका प्रतिनिधिसभासभा सदस्य अच्युतम लामिछाने,  नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष विरबल तामाङ, धादिङ सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलगायतको  सहभागी रहेको थियो ।
सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३ को उपाधी अरनिको माविले उचाल्यो

भक्तपुर, २९ भदौ । सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३ प्रतियोगितामा अरनिको माध्यमिक विद्यालय टिम च्याम्पियनको उपाधी हात पारेको छ ।
सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले १० स्वर्ण, ६ रजत र २ कास्य पदकसहित टिम च्याम्पियनको उपाधि हात पारेको हो ।

प्रतियोगितामा दधिकोट डोजोले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित दोस्रो भएको छभने ब्लुबर्ड इङ्गलिस स्कुलले २ स्वर्ण, १७ रजत र ५ कास्य पदकसहित तेस्रो भएको छ ।

समापन कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले विजेता अरनिको माविलाई नगद रु. २० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र, दोश्रो हुने दधिकोट डोजोलाई रु. १५ हजार पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्र र तेश्रो हुने ब्लुबर्ड इङ्गलिस स्कुललाई रु. १० हजार पुरस्कार र ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नु भयो ।

प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडी घोषित दधिकोट डोजोका प्रविन तामाङ र उत्कृष्ट महिला खेलाडी घोषित अरनिको माध्यमिक विद्यालयकी पूजा दास श्रेष्ठलाई जनही रु. ५ हजार नगद पुरस्कार प्रदान गरेको छ । उदयमान पुरुष खेलाडीतर्फ दधिकोट डोजोका आदन धोजु र उदयमान महिला खेलाडीतर्फ ई–किट्सकी तेजस्वी सिजखुलाई जनही रु. ३ हजार नगद पुरस्कार पदान गरिएको छ ।

प्रतियोगिताको पुरस्कार वितरण समारोहमा वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिका भित्र उदयमान खेलाडीहरु र बिभिन्न खेलमा आकर्षण बढेको बताउनुभयो ।
कार्यक्रममा नेपाल सितेरियो कराते संघका केन्द्रीय सदस्य राधिका देउला, नेपाल सितेरियो कराते संघ भक्तपुरका अध्यक्ष राजन चित्रकार, सूर्यविनायक नगर सितेरियो कराते संघका अध्यक्ष कृष्णराम ज्याकीलगायत कराते संघसँग आबद्ध विभिन्न पदाधिकारी तथा प्रशिक्षकहरूको सहभागिा रहेको थियो ।

प्रतियोगितामा विभिन्न विद्यालय तथा डोजोबाट गरी १९० जना खेलाडीले प्रतिस्पर्धामा सहभागि भएको बताउदै सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले प्रतियोगिताका सम्पूर्ण विजेता खेलाडीलाई बधाई तथा शुभकामना दिँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सूर्यविनायक नगर सितेरियो कराते संघलगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

मुुख्यमन्त्री किरण थापा र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच भएको भेटवार्ता, भोटेकोशी बाढी प्रभाभितका लागि सहकार्य गर्ने सहमति
भक्तपुर, २८ भदौ : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवा भोटेकोशी बाढीको विपदमा परेका बालबालिकाका लागि शिक्षा, युवा रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र पुर्नजीवनका लागि नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
आज मुख्यमन्त्री थापा र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच भएको भेटवार्ता एवं छलफलमा विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणमा निजी क्षेत्रको सहयोग सराहनीय रहेको भन्दै बाढी प्रभावित क्षेत्रमा शिक्षा, रोजगारी र अर्थतन्त्रको विकासमा महासंघको सहकार्य र सहयोग आवश्यक रहेको बताउनु भएको हो ।
मुख्यमन्त्री थापाले बागमती प्रदेशका सडक तथा अन्य पूर्वाधार विकासमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा काम गर्न गर्न महासंघलाई प्रसताव राख्नुभयो ।
उहाँले भन्नुभयो, “बागमती प्रदेश सरकार प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रलाई महत्वपूर्ण साझेदारका रूपमा लिएर अघि बढ्न चाहन्छ । पूर्वाधार विकासमा पीपीपी मोडलमा जानु पर्दछ । निजी क्षेत्रका नीतिगत र व्यावहारिक समस्या समाधान तथा सहजिकरणका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।”
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले विपद्बाट घरबारविहीन भएका तर काम गर्न इच्छुक नागरिकलाई रोजगारीसँग जोड्न ‘विपद् श्रम बैंक’ स्थापना गरी महासंघसँगको सहकार्यमा कार्यक्रम अघि बढाउन सकिने बताउनुभयो । उहाँले पालिका र जिल्लामा हुने उत्पादनलाई बजारसंग जोडन महासंघको सहयोग आवश्यक रहने बताउनु भयो ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विपद्पछि तत्कालै महासंघ राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा सक्रिय रहेको अबस्थामा बाढीमा प्रभावित उद्योग–व्यवसायलाई पुनः सञ्चालन गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताउनुभयो ।
उहाँले बागमती प्रदेशमा लगानी र उद्यमशीलता विस्तार गर्न महासंघ सकारात्मक रहेको बताउदै महासंघले स्थानीयस्तरमा नयाँ बजार स्थापना, अस्पताल स्थापना तथा विद्यालय पुनःनिर्माणमा काम गर्न सहयोग गर्ने बताउनुभयो ।
महासंघका अध्यक्ष श्रेष्ठले विपद्बाट प्रभावित तथा रोजगारीको आवश्यकता भएका व्यक्तिलाई लक्षित गरी ‘विपद् रोजगार बैंक’ स्थापना, आवश्यकताअनुसार सीपमूलक तालिम सञ्चालन तथा प्रभावित स्थानीय क्षेत्रमा नयाँ बजार विकास गर्न महासंघले सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले बागमती प्रदेशभित्रका उद्योग वाणिज्य संघ तथा निजी क्षेत्रका प्रतिनिधिमार्फत स्थानीय तहमा देखिएका समस्या र सम्भावनालाई पहिचान गरी प्रदेश सरकारसँग समन्वय गर्न महासंघ तयार रहेको बताउनुभयो ।
महासंघका कोषाध्यक्ष मनिषलाल प्रधान, बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठ तथा महासंघका केन्द्रीय सदस्य एवं सामाजिक सेवा तथा विपद् तथा देवीप्रकोप समितिका सभापति राजकुमार कार्की लगायतले नेपाल चीन रसुवा नाका पूर्णरुपमा बन्द रहेको, तातोपानी नाकाको अवस्था राम्रो नभएको र अहिले कोराला नाका मात्र सञ्चालनमा रहेको अवस्थामा चीनसंगको व्यापारका लागि   विकल्प खोज्नु पर्ने बताउनुभयो ।
छलफलमा दुवै पक्षले प्रदेशको आर्थिक विकास, निजी क्षेत्रको लगानी विस्तार तथा उद्यमशीलता प्रवद्र्धनका लागि आपसी समन्वयलाई थप सुदृढ गर्दै सहकार्यका ठोस क्षेत्र पहिचान गरी आगामी दिनमा परिणाममुखी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप –२०८३’ सुरु, नगर प्रवक्ता सापकोटाद्धारा उद्घाटन
भक्तपुर, २८ भदौ :  सुर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको ‘सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३’ भक्तपुरमा आजबाट सुनपा–८ स्थित तेक्वाण्डो कबर्ड हलमा सुरु भएको छ ।
प्रतियोगिताको आज सूर्यविनायक नगरपालिका नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले उद्घाटन गर्नु भयो । उहाँले सूर्यविनायक नगरपालिकाले खेलको विकास र नयाँ खेलाडी उत्पादनमा लगानी गर्दै आएको बताउदै यसले विद्यार्थीहरुमा खेलकुदतर्फ आकर्षण बढाएको बताउनुभयो ।
उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा नगरपालिकाले प्रशिक्षणदेखि प्रतियोगितासम्मको आयोजना गर्दै आएको बताउदै नगर खेलकुद विकास समिति गठन भएपछि खेलकुदका कार्यक्रमले रफ्तार र्लिको चर्चा गर्नुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले यस प्रकारको प्रतियोगिताले खेलको विकास र खेलाडीमा प्रोत्साहन मिल्ने बताउनु भयो । सूर्यविनायक नगरपालिकाले खेलकुदको विकासमा पछिल्लो समयमा निकै सक्रियता देखाएको बताउदै यसले सूर्यविनायकबाट राष्ट्रियस्तरका खेलडाीहरु जन्माउने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका सदस्य अनन्तराज वैद्य, नेपाल सितेरियो कराते सघ भक्तपुर जिल्लाका अध्यक्ष राजन चित्रकार, सूर्यविनायक नगर सितेरियो कराते सघका अध्यक्ष कृष्णराम ज्याकीलगायतले खेलकुदमा गतिबिधिमा नगरपालिकाले खेलेको भूमिका स्मरणयोग्य रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं सुर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले प्रतियोगितामा १९० जना खेलाडीका सहभागिता रहेको बताउनुभयो ।
नेपाल कराते महासंघको नीति नियम अनुसार सञ्चालन भएको प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. २० हजार, दोश्रो हुनेलाई रु. १५ हजार, तेश्रो हुनेलाई रु. १० हजार पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने सदस्य सचिव थापाले जानकारी दिनुभयो ।
त्यसैगरि प्रतियोगितामा उत्कृष्ठ पुरुष तथा महिला खेलाडीलाई नगद रु. ७ हजार, उदयमान महिला तथा पुरुष खेलाडीलाई नगद रु. ३ हजार नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको समापनमा नगर प्रमुख वासुदेव थापाले खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुने भएको छ ।
मुख्यमन्त्री किरण थापाद्धारा नेपालको प्रतिनिधित्व गर्दै ४६ औँ चेस ओलम्पियाडमा सहभागी हुन प्रस्थान गर्न लागेको नेपाली चेस टोलीलाई विदाई
भक्तपुर, २८ भदौ : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाली खेलाडीले खेलको माध्यमबाट पनि विश्वभर नेपाललाई चिनाउन सफल भएको बताउनु भएको छ ।
आज नेपालको प्रतिनिधित्व गर्दै ४६ औँ चेस ओलम्पियाडमा सहभागी हुन उज्वेकिस्तानको समरकान्टतर्फ प्रस्थान गर्न लागेको नेपाली चेस टोलीलाई विदाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले विश्वस्तरीय प्रतिस्पर्धामा नेपालको झण्डा उँचो राख्दै आफ्नो प्रतिभा, मेहनत, अनुशासन र आत्मविश्वासका साथ उत्कृष्ट खेल प्रदर्शन गरि नेपाललाई विश्वभर चिनाउन सफल हुन भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “तपाईंहरूको सफलता नेपाली खेलकुदको सफलता हो, राष्ट्रको गौरव हो, नेपालको नाम अन्तर्राष्ट्रिय चेस जगतमा अझ उज्यालो बनाउँदै ऐतिहासिक उपलब्धि हासिल गर्न सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
प्रतियोगिता १४ देखि २८ सेप्टेम्बरसम्म सञ्चालन हुनेछ ।
रसुवाका बाढीपहिरोबाट विस्थापित नागरिकलाई विपद्को कठिन घडीमा प्रदेश सरकारले एक्लो महसुस हुन दिदैन : मुख्यमन्त्री किरण थापा

काठमाडौं, २७ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाका बाढीपहिरोबाट विस्थापित नागरिकलाई विपद्को कठिन घडीमा राज्यले एक्लो महसुस हुन नदिने बताउनुभएको छ ।

मुख्यमन्त्री थापा मगरले काठमाडौंस्थित घोसर (यल्लो) गुम्बामा आश्रय लिएर बसिरहेका रसुवाका बाढीपहिरो प्रभावित १७५ घरधुरीका ५२० जना नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उहाँहरूका पीडा, समस्या, गुनासा तथा तत्काल आवश्यकताबारे जानकारी लिनुभएको हो ।

विपद्का कारण घरबार, सम्पत्ति र जीवनयापनका आधार गुमाउनुपरेका नागरिकको पीडा केवल सुन्ने विषय नभई राज्यको जिम्मेवारी र साझा दायित्व भएको मुख्यमन्त्री थापा मगरले बताउनुभएको छ ।

उहाँले प्रभावित परिवारलाई तत्काल आवश्यक राहत, सुरक्षित बसोबास, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक सेवाको सुनिश्चितता गर्न प्रदेश सरकारले प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री थापा मगरले तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित नागरिकको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेर प्रदेश सरकारले निरन्तर काम गर्ने बताउनुभएको छ ।

‘विपद्को घडीमा नागरिकलाई एक्लो महसुस हुन नदिने, पीडामा साथ दिने र आवश्यक सहयोग तथा समन्वयलाई प्रभावकारी बनाउने’ प्रदेश सरकारको स्पष्ट प्राथमिकता रहेको उहाँले प्रस्ट पार्नुभएको छ ।

रसुवामा आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवार विभिन्न स्थानमा आश्रय लिएर बसिरहेका छन् । यस्तो अवस्थामा विस्थापित परिवारको तत्कालीन आवश्यकता सम्बोधनसँगै सुरक्षित र सम्मानजनक पुनःस्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्री थापा मगरले बताउनुभएको छ ।

उहाँले प्रभावित नागरिकको दुःखमा प्रदेश सरकार निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभएको छ ।

विस्थापित परिवारको समस्या राहत वितरणमा मात्र सीमित नराखी सुरक्षित बसोबासदेखि दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणसम्म जोडेर अघि बढाउने उहाँको भनाइ छ ।

मुख्यमन्त्री थापा मगरले प्रभावित परिवारको वास्तविक आवश्यकता र अवस्थाका आधारमा प्रदेश सरकारले आवश्यक सहयोग तथा समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले विपद्मा पीडित नागरिकको साथमा सरकार रहेको सन्देश दिँदै ‘दुःखमा साथ, विपद्मा सहयोग’ भन्ने भावनाका साथ प्रदेश सरकार प्रभावित नागरिकको पक्षमा निरन्तर क्रियाशील रहने बताउनुभएको छ ।