कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुने
भक्तपुर, ५ फागुन ः आगामी बैशाख १४ गतेबाट यसवर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो  । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ । सोही दिन नयाँ कोर्सको सँस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक सँस्कृत रचनाको पनि परीक्षा हुने कार्यतालिकामा उल्लेख छ ।
बैशाख २७ गते सम्पन्न हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि बोर्डले पुनः अर्को परीक्षाको व्यवस्था भने नगरिने बोर्डले जनाएको छ । परीक्षाको तालिका भित्र  कुनै आकस्मिक बिदा परेमा परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले उहाँले जानकारी दिनुभयो ।
यसबर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागि हुने जानकारी दिनुभयो । गतबर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आँशिक तर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए । गतबर्ष कक्षा १२ को परीक्षा बैशाख २१ गतेदेखि शुरु भई जेठ २ गते सम्पन्न भएको थियो ।
फागुन २१ को निर्वाचन  देशलाई दिगो शान्ति, स्थिरता, उज्यालो  र अस्थिरता, अशान्ति चाहनेहरूबीचको जनमत संग्रह हो : काँग्रेस महामन्त्री घिमिरे
भक्तपुर, २ फागुन : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कोमामा रहेको संविधानलाई ब्युझाउनको लागि फागुन २१ को निर्वाचन अनिवार्य रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटिले आज बालकोटमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सम्बोधन गर्दै महामन्त्री घिमिरेले जेनजी आन्दोलन पछि सृजना भएको विषम परिस्थितिमा गठन गरेको सरकारको नेतृत्वले ६ महिनाभित्र तोकिएको समयमै निर्वाचन सम्पन्न गराउने बाटो तर्फ उन्मुख भएको भन्दै सकारात्मक भएको टिप्पणी गर्नुभयो ।
फागुन २१ को निर्वाचन शान्ति चाहने, स्थिरता चाहने, उज्यालो  र देशलाई दिगो शान्ति चाहनेहरु र अस्थिरता चाहने अशान्ति चाहनेहरूबीचको जनमत संग्रहको रूपमा आफूले लिएको उहाँले बताउनु भयो ।
महामन्त्री घिमिरेले जेन्जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई नेपाली काग्रेसले सम्बोधन गर्दै विशेष महाधिवेशन मार्फत गगन थापाको नेतृत्वको नेपाली कांग्रेसमा रुपान्तरण गरेको बताउनु भयो । उहाँले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै कांग्रेसका सबै नेता तथा कार्यकर्ताले १६५ वटै निर्वाचन क्षेत्रमध्ये १६४ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजय गराउन लाग्नुपर्ने बताउनुभयो ।
महामन्त्री घिमिरेले नेपाली काग्रेसले एक वर्षभित्र नियमित महाधिवेशन गराउने भन्दै विशेष महाधिवेशन विषम परिस्थितिमा गर्नुपर्ने बाध्यता आइपरेको समेत बताउनुभयो । उहाँले अग्रज नेताहरूलाई सम्मान रहेको समेत बताउदै संसद भ्युटाउन र संविधान जोगाउनको लागि यो फागुन २१ गतेको निर्वाचन अनिवार्य रहेको समेत उहाँको भनाइ थियो ।
२४ गतेको जिन्जी आन्दोलनले विश्वलाई नयाँ पाठ सिकाएको बताउदै उहाँले नयाँ पुस्ताले चाहेमा जे पनि हुनसक्छ भन्ने उदाहरण जिन्जी पुस्ताको आन्दोलन भएको बताउनुभयो । ०६२÷०६३ को जनआन्दोलनमा दुई थोपा आँसु नबगाउनेहरू अहिले आएर जे पायो त्यही बोलिरहेको समेत उहाँको आरोप थियो ।
डोलेश्वरमा महाशिवरात्रीको तयारी पूरा, एक लाख दर्शनार्थी आउँने अनुमान, रातीदेखिनै चारै ढोका खुल्ला गरिने  
भक्तपुर, २ फागुन : केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको छ । केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज यसबारेमा जानकारी दिदै डोलेश्वरमा महाशिवरात्री मेलाको तयारी पुरा भएको र आज रातीदेखिनै भक्तजनलाई सहज दर्शनको व्यबस्था गरिएको बताउनुभयो ।
उहाँले शिवरात्रीका दिन भोली बिहान सर्वसाधारण भक्तजनहरुका लागि बिहान ४ बजेदेखि राती १२ बजेसम्म मन्दिरका चारै ढोका खुल्ला गरि मन्दिर भित्र प्रवेश गरेर गर्भ गृहमै पूजा एवं दर्शन गर्ने व्यबस्था गरिएको जानकारी दिनुभयो । महाशिवरात्रीको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यबस्था गरिएको छभने उहाँले मन्दिरको गर्भमा गएर पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको जानकारी दिनुभयो ।
पर्वका लागि आएका साधुसन्तलाई समितिले खाने बस्ने, धुनी बाल्न दाउराको ब्यवस्था गरिएको र मेला भर्न आउने सम्पूर्ण भक्तजनहरुलाई प्रसादीको ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । शिवरात्री पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबाहरु मध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरि दक्षिणा एवं धोती दिएर विदाई गर्ने व्यबस्था गरेको उहाँले बताउनुभयो ।
शिवरात्रीका लागि यसवर्ष ३०० जना साधुसन्त एवं बाबाहरु आइसकेको र आज साँझसम्म गरि करिब ५०० साधुसन्त एवं नागाबाबाहरु आउने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । डोलेश्वरमा साधुसन्त एवं बाबाहरुका लागि खाने, बस्ने, धुनी जगाउँने व्यबस्था गरिएको र महाशिवरात्रीका दिन आउने दर्शनार्थीहरुलाई प्रसाद ग्रहणको व्यबस्था गरिएको छ ।
महाशिवरात्रीको दिन दर्शनार्थीलाई लाइन बसेको आधा घण्टामा दर्शन गर्ने व्यबस्था गरिएको र मन्दिर अगाडि स्वास्थ्य शिविरको आयोजना गरिने उहाँले जानकारी दिनभयो । महाशिवरात्रीका दिन मन्दिरमा एक लाख भन्दा बढी दर्शनार्थी आउने अनुमान गर्दै तयारी पुरा गरेको महासचिव बस्नेतले बताउनु भयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले स्थानीय सरकारको तर्फबाट पनि महाशिवरात्री पर्वं सम्पन्न गर्न आवश्यक सहयोग गरेको, दर्शनार्थीका लाग स्वयंसेवक परिचलान गरेको, सवारी आवागमन सहज बनाउन प्रहरीसंग समन्वय गरेको जानकारी दिदै भव्य रुपमा पर्व मनाउने निर्णय गरेको बताउनुभयो ।
क्यान्सर रोगको उपचारका लागि प्रदेश सरकारबाट १४ करोडको बजेट विनियोजित : मन्त्री किरण थापा
भक्तपुर, १ फागुन : वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले क्यान्सर रोगको भयाभह अवस्थालाई रोकथामका लागि वागमती प्रदेश सरकारले यसवर्ष १४ करोड रुपैयाँको बजेट विनियोजित गरि कार्यान्वयनमा ल्याएको बताउनु भएको छ ।
भक्तपुर क्यान्सर अस्पतालले आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बाल क्यान्सरको अबस्थासमेत बढ्दै गएको बताउनु भएको हो ।
क्यान्सरका प्रत्येक विरामीको हातमा ५० हजार मात्र मुस्किलले पुग्ने बताउँदै उहाँले महिलाका लागि पाठेघर र स्तन क्यान्सरका विरामीलाई एक लाख रुपियाँको उपचार खर्च सरकारले दिने व्यबस्था गरेको बताउनुभयो ।
उपचारका लागि आएका विरामीहरुका लागि ठाउँ अभाबले उपचार गर्न समेत समस्या परिररहेको बताउदै उहाँले विरामीको सहज उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालकालाई अत्याुधुनिक भवन निर्माणका गर्न उपयुक्त ठाउँको खोजी भइरहेको र भक्तपुरमै नयाँ भवन निर्माण गर्ने गरि अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठले स्वास्थ्य विमा गरेका ९३ प्रतिशतले उपयोग गर्ने गरेको र अन्य बाँकी सात प्रतिशतले मात्रै सम्पूर्ण बिमा धान्न नसक्ने भएकोले स्वास्थ्य विमा सरकारलाई भार बताउनुभयो ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण पौडेलले स्वास्थ्य विमा उपचारका लागि प्रभावकारी भएकोले वार्षिक ३५ सय रुपियाँ तिर्न झर्को मान्न नहुने बताउनुभयो ।
१४ वर्ष मुनिका बालकालिकालाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताउदै उहाँले एक जना बच्चामा क्यान्सर लागेपछि उपचारकालागि पनि लामो समय लाग्ने भएकाले तिनका परिवारमा ठूल्लो भार पर्ने बताउनुभयो ।
मन्त्री थापाद्धारा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभि खोप अभियान शुभारम्भ
भक्तपुर, २६ माघ : वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आज भक्तपुरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने अभियान शुभारम्भ गर्नु भएको छ ।
आज जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको खोप अभियान शुभारम्भ कार्यक्रममा मन्त्री थापा मगरले खोप हस्तान्नरण गर्दै अभियानको सुरुवात गर्नु भएको हो । अभियान सफल पार्न सबैमा आव्हान गर्दै उहाँले सरकारले गतवर्ष र यसवर्ष निःशुल्क खोप उपलब्ध गराएकाले खोप नछुटाउन आव्हान गर्नुभयो ।
नेपालमा भयावह बन्दै गएको क्यान्सर रोगमा पनि पहिलो नम्बरमा रहेको पाठेघरको मुखको क्यान्सर रोगलाई निर्मल पार्न सरकारले सञ्चालन गरेको खोप अभियानमा कोही किशोरी छुट्न नहुने बताउनुभयो । उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन चारजनाको मृत्यु हुने गरेको तथ्यांक रहेको बताउदै खोप अभियान सफल पार्न सरकारले अभियान सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा वागमति प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव एवं प्रसुति रोग विशेषज्ञ डा. सुमित्रा गौतमले नेपालमा पनि पाठेघरको मुखको क्यान्सर न्यूनिकरणका लागि लगाईने यो खोप शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा सक्रिय नहुँदैको अवस्थामा दिँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरिएको बताउनुभयो ।
उहाँले महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा रहेको र स्तन क्यान्सर दोश्रोमा रहेको बताउदै वागमती प्रदेशका १३ जिल्लामा खोप अभियानलाई सफल बनाउन जिल्ला, स्थानीय तह र अन्य विभिन्न निकायसंग समन्वय गरि अभियान सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले भक्तपुरमा आजदेखि फागुण १ गतेसम्म सञ्चलन हुने खोप अभियानमा यसवर्ष ३५ वटा स्वास्थ्य संस्था एवं खोप केन्द्र र ८० वटा विद्यालयबाट भक्तपुरमा तीन हजार ८८१ जना किशोरीलाई खोप लगाईने बताउनुभयो । जसमा कक्षा ६ मा अध्ययनरत तीन हजार ८४९ जना किशोरी, १० वर्ष उमेर समूहका १६३ जना र गतवर्ष खोप लगाउन छुट भएका ७ देखि १० वर्ष उमेर समूहका ३० जना किशोरीलाई खोप लगाईने भएको उहाँले बताउनुभयो ।
अभियानमा सूर्यविनायक नगरपालिकाका ८८५ जना, १० वर्ष उमेर समूहका ७१ जना, कक्षा ७ देखि १० छाडेका विद्यार्थी ३० जना र ११–१४ वर्ष उमेर समूहका २० जना किशारीलाई खोप लगाईने छ ।
मध्यपुरथिमि नगरपालिकामा ९२१ जना, १० वर्ष उमेर समूहका २६ जना, भक्तपुर नगरपालिकामा एक हजार ५१५ जना र चाँगुनारायण नगरपालिकामा ५२९ जना, १० वर्ष उमेर समूहका ६६ जना किशारीलाई खोप लगाईने छ ।
जिल्ला १० वर्ष उमेर समूहका किशोरी १६३ जना र  कक्षा ७–१० का गत वर्ष खोप लगाउन छुटेका ३० जना तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका कशोरी–किशोर २० जना किशारीलाई अभियानमा खोप लगाईने छ । फागुन १ गतेसम्मको अभियानमा छुटेका किशोरीहलाई फागुन ४ र ५ गते खोप केन्द्रमार्फत खोप लगाईने प्रमुख खड्काले जानकारी दिनुभयो ।
उहाँले भक्तपुरमै अन्य जिल्लाकालागि पनि खोप भण्डारण केन्द्र रहेकाले संकलित विवरण भन्दा बढी खोप लगाउनु पर्ने भएमा पनि खोप थप गर्न सहज हुने उहाँले बताउनुभयो । गतवर्ष छुटेका, इँट्टा भट्टादेखि विभिन्न क्षेत्रबाट आएका तथा विद्यालय बाहिर रहेका किशोरीहरुलाई समेत अभियानमै एचपिभि खोप दिन कार्याल्यले व्यबस्था गरेको उहाँले जानकारी दिनुभयो ।
देशभरका तीन लाख ५० हजार किशोरीलाई खोप दिईने :
सरकारले देशका बिभिन्न जिल्लामा आइतबारदेखि सुरु खोप अभियान फागुन १५ गतेम्म खोप अभियान सञ्चालन गर्नेछ । कक्षा ६ मा अध्ययनरत सबै र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका तथा गत वर्ष खोप दिन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका ११ देखि १४ वर्षका  कुल तीन लाख ५० हजार ५०० किशोरीलाई एसपिभि खोप दिईने लक्ष्य राखेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।
पाठेघरको क्यान्सरको रोकथामका लागि अमेरिकाबाट सुरु भएको यो खोप नेपालमा गत वर्षदेखि फागुन २२ गतेबाट अभियानका रुपमा लगाउन सुरु भएको थियो । एचपिभी खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नै सुरक्षित घोषणा गरिसकेको यो खोप अमेरिकासहित १९४ देशमा प्रयोग भइरहेको बताईएको छ । गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ६८८ बालिकालाई एचपिभी खोप लगाइएको थियो । खोप अभियानमा देशभर १५ हजारभन्दा बढी स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन्  ।
सूर्यविनायक नगरपालिकामा सम्पन्न तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२
भक्तपुर, १८ माघ : सूर्यविनायक नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि अरनिको माध्यामिक विद्यालयले हात पारेको छ । गत १३ गतेदेखि आयोजना गरि आज सम्पन्न प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले २५ स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ४८ पदक प्राप्त पार्दै विजेता बनेको हो ।
त्यसैगरि कुलमाया भगवती माध्यमिक विद्यालयले आठ स्वर्ण, तीन रजत र चार कास्य गरी कुल १५ पदकसहित दोस्रो स्थान हासिल ग¥यो भने मिड–भ्याली सेकेन्डरी स्कुलले ६ स्वर्ण, पाँच रजत र चार कास्य गरी कुल १५ पदक प्राप्त गर्दै तेस्रो भएको छ । सामुदायिक तथा संस्थागत गरी ३५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कूल ८९६ जना खेलाडीले एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते गरी ६ वटा खेलमा प्रतिस्पर्धा गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले विजेता अरनिको माविलाई नगद रु. ३० हजार, राष्ट्रपति रनिङ शिल्ड, पदक र प्रमाणपत्र प्रदान गनर्स भयो ।  दोश्रो र तेश्रो हुने विद्यालयलाई क्रमश ः रु. २० हजार र १० हजार नगदसहित पदक र प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले नगरपालिकाले विद्यालयस्तरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेल र खेलाडीको विकासका लागि लगानी बढाको बताउदै विद्यालयस्तरबाटै खेलाडी जन्माउनु पर्ने बताउनुभयो ।
प्रतियोगितामा करातेमा छात्रतर्फ मिड–भ्यालीका कृजेन श्रेष्ठ र छात्रातर्फ अरनिको माध्यमिक विद्यालयकी राधिका खत्री, उसुमा छात्रतर्फ मोडल जनता स्कुलका रेमन ठाडा मगर र छात्रातर्फ अरनिको माध्यमिक विद्यालयकी रिना खड्का, तेक्वान्दोमा छात्रतर्फ क्यान्डिड करियरका सुहान थापा मगर र छात्रातर्फ माउन्ट एभेरेन्टकी जेनी जोशी उत्कृष्ट खेलाडी घोषित भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो ।
त्यस्तै भलिबलमा छात्रतर्फ अरनिको माध्यमिक विद्यालयका विराज श्रेष्ठ र छात्रातर्फ सोही विद्यालयकी जुना श्रेष्ठ, कबड्डीमा छात्रतर्फ मिड–भ्यालीका नृजल प्रजापति र छात्रातर्फ सृजना राउत, एथलेटिक्समा छात्रतर्फ अरनिको माध्यमिक विद्यालयका सुवास बुढाथोकी र छात्रातर्फ कुलमाया भगवती माध्यमिक विद्यालयकी शिवमाया श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएको उहाँले जानकारी दिनुभयो ।
सदस्य सचिव थापाका अनुसार प्रतियोगितामा पहिलोपटक स्काउट मार्चपासमा सहभागी समूहहरूको मूल्यांकन गरि प्रथम हुने मनोरम ई.स्कुल, दोश्रो हुने ईडेन गार्डेन ई.स्कुल र तेश्रो हुने ज्योति माध्यमिक विद्यालयलाई क्रमश : नगद रु. आठ हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
सामाजिक विकास समितिका संयोजक तथा नगरका प्रवक्ता रविन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय र विद्यार्थीलाई खेलप्रति आकर्षण गर्न नगरपालिकाले विकास समिति नै गठन गरि निःशुल्क प्रशिक्षणदेखि प्रतियोगितासम्मका कार्यक्रमलाई निरन्तरता दिएको वताउनुभयो । उपप्रमुख सरिता तिमल्सिना भट्टराई, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की र नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले पनि मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नं ४ का वडाध्यक्ष लछुराम न्यौपाने, वडा नं ६ का वडाध्यक्ष ईश्वर खडका, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, ९ का वडाध्यक्ष भगवान खत्री, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्नबहादुर कट्वाल, कार्यपालिका सदस्यहरू हेमा दाहाल खतिवडा, सुनील भुजेललगायत जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, निर्णयाक, खेल प्रशिक्षक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा संयुक्त रूपमा बोल्दै वक्ताहरूले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै विद्यार्थीलाई पढाइसँगै खेलकुदमा सक्रिय बनाउन स्थानीय तहले निरन्तर सहयोग र लगानी गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट खेलाडीलाई आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने जानकारी पनि गराइयो।
नेपाल कोरिया मैत्री अस्पतालमा थप ५० शैया सञ्चालनको अनुमति प्रदान गरि अस्पतालको अनुगमनमा स्वास्थ्य मन्त्री थापासहितको टोली पुगे अस्पताल
भक्तपुर, १८ माघ : बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पताललाई थप ५० शैयाको अस्पताल सञ्चालनको अनुमति प्रदान गरेको छ ।
मन्त्रालयको यहीँ माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शैयाको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान गरिएको वागमति प्रदेशको स्वास्थ्य मन्त्री किरण थापाले बताउनुभयो ।
अस्पताल सञ्चालनको अनुमति प्रदान गरेलगत्तै आज मन्त्री थापा, वागमति प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमसहितको मन्त्रालयको टोलीले अस्पतालको निर्माणाधीन नयाँ भवनको स्थलगत निरीक्षण गर्न भयो ।
अस्पतालको निरीक्षणका क्रममा अस्पतालको नयाँ भवन निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिदै शैया थपको अनुमति प्रदान गर्नु बागमती प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएकाले भक्तपुर जिल्लामै स्वास्थ्य सेवाको पहुँच विस्तार एवं उपचारको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “यस अस्पतालले आकस्मिक सेवा, भर्ना सेवा, विशेषज्ञ उपचार तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू थप प्रभावकारी हुने विश्वास लिएको छु, यसबाट भक्तपुरवासी मात्र नभई उपत्यकाका र बिभिन्न जिल्ला एवं पूर्वका नागरिकले समेत छिटो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिएको छु ।”
मन्त्री थापालाई मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं अस्पताल सञ्चालक समिति अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अस्पतालका निर्देशक डा. दिपेन्द्रकुमार रौशन, प्रशासकीय अधिकृत रूपेश श्रेष्ठलाई अस्पतालले दिदै आएको सेवा, सुविधा र आगामी योजनाबारे जानकारी गराउनु भएको थियो ।
सन् १९९९ मा ‘किङ्ग ह्वी नेपाल स्वास्थ्य केन्द्रको रूपमा स्थापना भई  नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ सेप्टेम्बर २००९ मा ५० बेडको जनरल अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरि नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नामाकरण गरिएको थियो ।
अस्पतालले कोइकाको करिब ९५ लाख अमेरिकी डलर (झण्डै १ अर्ब २५ करोड रुपैयाँ) को अनुदान सहयोगमा अस्पतालको १०१ शैयाको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छभने नयाँ भवन निर्माण तथा विस्तारसँगै अस्पतालले न्युरोसर्जरी, स्त्रीरोग, प्रसूति सेवा र हाडजोर्नी जस्ता विधामा थप विशेषज्ञ सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार रौशनले जानकारी दिनुभयो ।
खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु, नागरिकता किर्ते गरेको अभियोगमा पाठकको उम्मेदवारी बिरुद्ध उजुरी
भक्तपुर, ७ माघ : आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. २ मा उम्मेदवारी दिएका दुई उम्मेदवार बिरुद्ध उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिव खत्री र नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरूद्ध उजुरी परेको निर्वाचन अधिकृत राधिका सुवालले जानकारी दिनुभयो ।
पाठकविरूद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको, सक्कली नागरिकता नभएको र खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु रकम बाँकी रहेकाले दुबैजनाको उम्मेदवारी रद्ध गर्न माग गर्दै स्वतन्त्र उम्मेदवार नविनकुमार महतले उजुरी हालेको निर्वाचन अधिकृत सुवालले जानकारी दिनुभयो ।
दुई उम्मेदवार विरूद्ध परेको उजुरीको भोली बिहिबार छानबिन गरि पाँचबजेसम्म निष्कर्ष निकालिने उहाँले जानकारी दिनुभयो । दुबै पक्षलाई भोली बोलाएर यस विषयमा सोधपुछ एवं जाँचबुझ गर्ने बताउदै उहाँले उजुरी परेका उम्मेदवारहरूलाई प्रमाणसहित उपस्थिति हुन आग्रह गरिएको निर्वाचन अधिकृत सुवालले जानकारी दिनुभयो ।
यसबारेमा उजुरीकर्ता महतले भने दुबै जना बिरुद्ध उजुरीसंगै प्रमाण पेश गरेको जानकारी दिदै खत्री खत्री बिरुद्धको उजुरीसंगै नेपाल स्काउटको अडिट रिपोर्ट प्रमाण स्वरुप पेश गरेको जानकारी दिनुभयो । पाठकको दुई वटा नागरिकता रहेको र सक्कली नागरिकतासमेत नभएकाले उम्मेदवारी रद्धको माग गरेर उजुरी हालेको बताउनुभयो ।
यसबारेमा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले दुबै उजुरीमा बिहिबार छानबिन गरि दोषी देखिए निर्वाचनको कार्यबिधिमा तोकिए बमोजिम निर्णय हुने बताउनुभयो ।
भक्तपुरका दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सम्पन्न, क्षेत्र नं. १ मा २५ जना र क्षेत्र नं. २ मा ३२ जनाको जम्मेदवारी दर्ता
भक्तपुर, ६ माघ ः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ बाट नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल र क्षेत्र नं. २ बाट नेकपा (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
क्षेत्र नं. १ का सुवाल र क्षेत्र न. २ का बस्नेत फरक पार्टीका केन्द्रीय सचिव हुन् भने दुबै जना यसअघि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका परिचित अनुहार हन् । दुबै क्षेत्रमा अन्य बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार दिने उम्मेदवारहरु भने अधिकांश नयाँ अनुहार रहेका छन् ।
निर्वाचन क्षेत्र नं. १ बाट बिभिन्न राजनीतिक दल र स्वतन्त्र गरि २५ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ भने क्षेत्र नं. २ बाट राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरि ३२ जनाले उम्मेदवारी दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
भक्तपुर क्षेत्र न. १ बाट प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट सोम मिश्र, नेपाली काँग्रेसबाट किरण न्यौपाने, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुकेश रञ्जित, नेपाली कम्युनिष्ट पार्टीबाट हरिराम लवजु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतबहादुर खड्काले उम्मेदवारी  दर्ता गराउनु भएको छ ।
त्यसैगरि उज्यालो पार्टी नेपाल पार्टीबाट रमेश बल्ल, आम जनता पाटीबाट  देवेन्द्र ठाकुर, राष्ट्रिय जनमोर्चा पार्टीबाट ईश्वरीप्रसाद पैयानी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी) पार्टीबाट चन्द्रमान कोजु, मितेरी पाटी नेपालबाट सावित्री न्यौपाने, नेपालका लागि नेपाली पाटीबाट दिपक पोखरेलले उम्मेदवारी दिनु भएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनेहरुमा सुजिता बुढाथोकी, विष्णुराम दुमरु, राजेश्वरी प्रजापति, सुदिप न्यौपाने, पुण्यराम सुवाल, राजु श्रेष्ठ, दशरथ थापा, सुरेश कोजु, बालकृष्ण खाइतुले उम्मेदवारी दिनु भएको छ ।
त्यसैगरि क्षेत्र नं. २ मा नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको छ भने नेपाली काँग्रेसबाट कबिर राणाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरि नेपाली कम्युनिष्ट पार्टी रामप्रसाद सापकोटा, उज्यालो नेपाल पार्टीबाट जितराम लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, श्रम संकृति पार्टी अर्जुन बासु, त्रीमुल नेपालबाट राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टी जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पाटी संयुक्त लोककृष्ण दाहाल, जनता समाजवादी पार्टी नेपालबाट नवीन श्रेष्ठ, नेकपा माओवादी प्रकाशराज ढुङ्गेल, मंगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरि स्वतन्त्रबाट आनन्द कार्की, मधु प्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मि बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराई, सविन महत, प्रदिपकुमार रूपाखेतीले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
स्थापनाको १२१ वर्षपछि नयाँ भवन पाउँदै भक्तपुर अस्पताल, ६२ करोडको लागतमा नयाँ भवन निर्माण
भक्तपुर, २ माघ । नेपालकै दोश्रो अर्थात बीर अस्पताल पछि स्थापना भएको भक्तपुर अस्पतालले स्थापनाको १२१ वर्षपछि ६२ करोडको लागतमा सुबिधा सम्पन्न नयाँ भवन पाउने भएको छ ।
विगत तीन वर्षदेखि देशभरका सात प्रदेशका अस्पताल मध्ये उत्कृष्ट अस्पताल घोषित हुदै आएको भक्तपुर अस्पतालले अब नयाँ सुविधा सम्पन्न अस्पताल भवन पाउने सुनिश्चित भएको वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिनुभयो ।
भक्तपुर अस्पताल यहाँको नागरिकको मात्रै नभई भक्तपुरदेखि काठमाडौं, ललितपुरका बिरामीहरूलाई पनि ठूलो राहत मिल्ने गरेको बताउदै उहाँले काभ्रेपलाञ्चोकदेखि पूर्वका धेरै जिल्लाबाट आउने विरामीको उपचारको प्रस्थान बिन्दुका रुपमा भक्तपुर अस्पताल रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्री थापाले भन्नुभयो, “वाग्मती प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्दै करिब ६२ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण गर्ने निश्चित गरेको छ । भक्तपुर अस्पताललाई वाग्मती प्रदेशकै नमुना अस्पताल बनाउने उदेश्यले हामीले निकै मिहेनतका साथ बजेट सुनिश्चित गरेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत पारित गरेका छौँ, अब जतिसक्दो छिटो नयाँ भवन निर्माण सम्पन्न गरि अस्पतालको क्षमतामा गुणात्मक र मात्रात्मक रुपमा सेवा बिस्तार गर्ने गरि तयारी गरेका छौं ।”
उहाँले अस्पतालको नयाँ भवन वातावरण मैत्री, प्रविधि मैत्री, भूकम्प प्रतिरोधी डिजाइनमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार भक्तपुरको पुरानो एवं परम्परागत शैलीमा भवन निर्माण गरिने छ । विरामी र सेवाग्राहीलाई सहज हुने गरी अस्पतालको नयाँ भवनमा प्रतीक्षालय, अपाङ्ग मैत्री संरचना, लिफ्ट, पार्किङ तथा हरित क्षेत्रको समेत व्यवस्था गरिने भएको जानकारी दिदै उहाँले भवन निर्माणसंगै अस्पतालमा मुटु तथा न्यूरो सम्बन्धी विशेषज्ञ सेवासमेत विस्तार गरिने मन्त्री थापाले बताउनुभयो ।
प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले वाग्मती प्रदेश मध्ये भक्तपर अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएको र देशभरका विरामीको उपचारका लागि उचित गन्तव्यको रुपमा नमूना अस्पताल निर्माण गर्न वागमती प्रदेश सरकारले अस्पतालको नयाँ भवन निर्माण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा गरिने पूर्वाधार लगानीले समाज र अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै उहाँले निर्माण प्रक्रियामा पारदर्शिता, गुणस्तर र जवाफदेहितामा कुनै सम्झौता नहुने बताउनुभयो ।
वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले भक्तपुर नयाँ निर्माण हुने भक्तपुर अस्पतालको भवनमा अत्याधुनिक एवं आकस्मिक कक्ष, आइसियु कक्ष, एनआइसियु, प्रसूति तथा स्त्री रोग विभाग, सर्जरी ब्लक, आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, सिटी स्क्यान, एमआरआई, मुटु तथा न्यूरो सेवा समेत विस्तार गर्नेगरि प्रविधियुक्त सेवा विस्तार गरिने बताउनुभयो ।
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले भन्नुभयो, “अस्पतालको डिपिआर अनुसार निर्माण कार्य चरणबद्ध रूपमा अघि बढाइनेछ, निर्भारित  समय भित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीय जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समिति र स्वास्थ्यकर्मीहरूले यस योजनालाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै नयाँ भवन निर्माणपछि भक्तपुर अस्पताल प्रदेशकै प्रमुख रेफरल अस्पतालको रूपमा स्थापित हुने लिएका छाँ ।”
यसबारेमा भक्तपुर अस्पतालमा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलगायतको टोलीसहितले नयाँ भवनको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा रहेको भवनको वास्तुकलात्मक डिजाइन, सेवा विस्तारको खाका, लागत व्यवस्थापन, निर्माण प्रक्रिया र समयसीमालगायतकाबारे छलफल गरेको अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिनुभयो ।  उहाँले नयाँ जमिन नभएपछि अस्पतालको हाल प्रशासन र अन्तरंग सेवा सञ्चालन भइरहेको पुरानो भवन र भवनसंगैको जग्गामा नयाँ भवन निर्माण हुने तया भएको जानकारी दिनुभयो ।
भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले भक्तपुर अस्पताल यहाँ आउने विरामीको आशा र भरोसाको केन्द्र भएकाले यहाँबाट जाने कुनै पनि विरामीले उपचार पाएर खुसी भएर फकर्किन वातावरण बनाउनु पर्ने बताउनुभयो ।