निर्वाचन प्रचारअन्तर्गत जुलुस, आमसभा र कोणसभा गर्ने चरण भोलिदेखि

काठमाडौँ, १६ कात्तिक : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ गतेदेखि दल र उम्मेदवारले जुलुस, आमसभा र कोणसभा गर्न पाउने निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेश हुने भएकाले सो चरणमा निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गर्नुभएको छ । मङ्सिर ४ गते हुने निर्वाचन प्रचारप्रसारको दोस्रो चरणमा प्रवेशको अघिल्लो दिन आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले आचारसंहिता उल्लङ्घनका विषयमा परेका उजुरीका आधारमा हालसम्म ७१ व्यक्ति र संस्थालाई सोधिएको स्पष्टीकरणमा जवाफ आउने, तथ्य जुटाउने र अध्ययनको क्रम जारी रहेको बताउनुभयो । आयोगका निर्णय र कारबाहीबारे अदालतमा मुद्दा जाँदा पनि आयोगको निर्णय सदर हुने गरी आयोगले सोचिरहेको उहाँले स्पष्ट गर्नुभयो । “आचारसंहिता आफैँमा एक नैतिक र कानूनी बन्धन हो । यो

बन्धन दल, उम्मेवार अन्य पक्षले नचुँडाल्ने हो भने आयोग र राज्यका संयन्त्रले कारबाहीका लागि कुनै काम गरिरहनु पर्दैन”, प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “पहिलो स्पष्टीकरण चित्त नबुझेमा दोस्रो स्पष्टीकरण सोध्ने र उल्लङ्घनको प्रमाण र अवस्था हेरेर सचेत, दण्ड जरिवाना तथा उम्मेदवारी खारेजीसम्मको निर्णयमा जानुपर्ने हुन्छ । हालसम्म चलेका स्पष्टीकरणबारे हामी यही कात्तिक २५ गतेभित्रै निर्णयमा पुग्नेछौँ ।” उहाँले निर्वाचनमा सबै पक्षको सहभागिता हुने आयोगको अपेक्षा रहेको र निर्वाचन बिथोल्न हुन सक्ने गतिविधिको नियन्त्रणका लागि सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको जनाउँदै मतगणनास्थलमा तारजाली राख्नुपर्ने अवस्था लोकतन्त्रका लागि सुखद् नभएकाले त्यस्तो दुरावस्थाबाट माथि उठ्न आग्रह गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले मतदानका दिन सवारी साधनको व्यवस्थित र नियन्त्रित सञ्चालनबारे सम्बन्धित निकायका प्रतिनिधिसहितको कार्यदलले काम गरिरहेको जानकारी दिनुभयो भने दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै अनलाइन सञ्चारमाध्यममा पनि विज्ञापनबाट प्रचारप्रसार गर्न सक्ने स्पष्ट गर्नुभयो । आयोगले उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिताको पालना र तोकेको सीमाभित्र रही खर्च गरे नगरेको निगरानी गरी निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिइएको छ । निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी साधनको प्रयोग भए नभएको विषयमा आवश्यक निगरानीको व्यवस्था मिलाइएको छ ।

आचारसंहिताबमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफँै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ । खर्चको हिसाबकिताब आयोगले तोकेको ढाँचा र लेखाप्रणालीअनुसार राख्नुपर्ने र राजनीतिक दलकोतर्फबाट हुने निर्वाचनसम्बन्धी स्वेच्छिक आर्थिक सहयोग लिँदा तथा खर्च गर्दा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३८ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १६ बमोजिम गर्नुपर्नेछ । राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण १० दिनभित्र आयोगमा पठाउनुपर्नेछ ।

निर्वाचन आचारसंहिता, २०७९ मा आयोगले सामाजिक सञ्जालमा दल, उम्मेदवार र आम मतदाताले राजनीतिक विज्ञापन गर्न पाउने र प्रचारप्रसारका लागि उपयोग गर्न पाउने व्यवस्था गरेको छ । निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं सङ्गठितरूपमा नीहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिमार्फत अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न सजग तुल्याइएको छ । सङ्गठितरूपमा नीहित राजनीतिक उद्देश्यले फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले निर्वाचनमा पर्न सक्ने चुनौतीलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल नियमनका लागि सम्बन्धित सामाजिक सञ्जालका कम्पनीसँग पनि आयोगले सहकार्य गर्दै आएको छ ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रता र मतदाताको सुसूचित हुन पाउने अधिकार निर्वाधरूपमा प्रयोग गर्नका लागि गरिएको यस्तो कार्यलाई गलत अर्थमा नबुझी नियमन गर्ने कार्यलाई सहजीकरण गर्न र निर्वाचनको निष्ठा जोगाउन सबैलाई आह्वान गरिएको छ । राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गरे नगरेको अनुगमन गर्न आयोगले केन्द्रमा केन्द्रीय आचारसंहिता अनुगमन समिति तथा जिल्लामा जिल्ला स्तरीय अनुगमन समितिलाई क्रियाशील तुल्याई आचारसंहिता कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने अनुगमनकर्ताले आचारसंहिता उल्लङ्घन गरेको ठहर गरेमा सम्बन्धित स्थानमा नै कारबाही गर्नसक्ने अधिकार प्रत्याजोन गरिएको छ ।

आचारसंहिता लागू भएको मिति २०७९ असोज १२ गतेदेखि आजसम्म आचारसंहिता उल्लङ्घन गर्ने ७१ व्यक्ति÷संस्थालाई आयोगबाट स्पष्टीकरण सोधिएको छ । प्राप्त स्पष्टीकरण उपर छानविन र जाँझबुझ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ ले निषेध गरेका शान्ति भङ्ग गर्न नहुने, अनधिकृत प्रभावमा पार्न नहुने, नगद वा जिन्सी लिन दिन नहुने, चरित्र हनन गर्न नहुने, अनुचित ढङ्गले सवारीसाधनको प्रयोग गर्न नहुने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्न नहुने, अन्य व्यक्तिबाट खर्च गराउन नहुने, निर्वाचनको गोपनीयतालाई भङ्ग गर्न नहुनेलगायत ऐनमा भएका व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

शेयर बजार : नेप्सेसँगै कारोबारमा वृद्धि

काठमाडौँ, १६ कात्तिक  : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकका साथै कारोबार रकमसमेत बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर एक हजार नौ सय ३८ दशमलव ३० मा पुगेको छ ।

त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ९४ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय २७ कम्पनीको ४३ लाख ४६ हजार सात सय आठ कित्ता शेयर रु एक अर्ब ४६ करोड ७९ लाख १४ हजार आठ सय ७५ मूल्यमा कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये १० उपसमूहका शेयर मूल्यमा वृद्धि भएको छ । जसमध्ये बैंक, व्यापार र निर्जीवन बिमा उपसमूहका शेयर मूल्यमा गिरावट आएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ८५ लाख ६० हजार दुई सय १४ बराबरको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंक रु पाँच करोड ६६ लाख १७ हजार पाँच सय ९३, रिडी पावर कम्पनी रु पाँच करोड १९ लाख ९५ हजार आठ सय ५८ र गोर्खाज फाइनान्स रु तीन करोड ९४ लाख ४५ हजार छ सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार कर्पाेरेट डेभलपमेण्ट बैंकको मूल्य आठ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कर्णाली डेभलपमेण्ट बैंकको आठ दशमलव ११, जोसी हाइड्रोपावर पाँच दशमलव ९७, मानुसी लघुवित्त वित्तीय संस्था पाँच दशमलव ७४ र ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ४० प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ९६, माहुली लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ५०, माउण्टेन हाइड्रोको दुई दशमलव ४५, तारागाउँ होटलको दुई दशमलव ३७ र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले दुई दशमलव ३३ प्र्रतिशतले गुमाएका छन् ।

स्वतन्त्र उम्मेदवार श्रीभक्तले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै : राज्यको कुनै सेवा सुबिधा नलिने, २ करोडको अक्षय कोष खडा गरि गरिबको सेवा गर्ने

भक्तपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवार बनेका श्रीभक्त कासिछ्वाले आफ्नो चुनावी घोषणा तथा प्रतिबद्धता पत्र सावैजनिक गर्ने भएका छन् । भक्तपुरको कमलविनायकस्थित होटल यचुमा कात्तिक १५ गते मंगलबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर आफ्नो निर्वाचन प्रतिबद्धता पत्र–२०७९ सार्वजनिक गर्न लागेको जेब्रा चुनाब चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका श्रीभक्तले बताए ।

आफ्नो घोषणा पत्रमा आफू विजइ भए पछि के के गर्ने भनेर आफ्ना योजनाहरु सार्वजनिक गर्ने र सोही प्रतिबद्धता पत्रको आधारमा मत माग्ने बताए । उम्मेदवार श्रीभक्त कासिछ्वाले आफू सबै मतदाताको साझा र भरोसा गर्ने उम्मेदवार भएको बताउदै यस पटक सबै दलका उम्मेदवारलाई पाखा लाउदै आफ्नो जीत सुनिश्चित गर्ने बताए ।

कासिछ्वाले विजयी भए पछि प्रदेशबाट बढी भन्दा बढी बजेट ल्याएर आफ्नो क्षेत्रको बिकास गर्ने घोषणा गरेका छन् । त्यस्तै विजयी भए पछि सरकारबाट पाउने सबै सेवा सुविधा आफ्नो क्षेत्रका गरिब विद्यार्थीको शिक्षा हासिल गर्न र गरिब विरामीको निःशुल्क उपचारमा खर्च गर्ने घोषणा गरेका छन् । तलब, भत्ता, सेवा सुविधा आफूले कुनै पनि प्रयोग नगर्ने र आफ्नो आमाको नाममा रु. २ करोडको अक्षय कोष खडा गरेर त्यसबाट आएको ब्याजबाट हरेक वर्ष गरिब विद्यार्थी र बिरामीका लागि निःशुल्क शिक्षा र उपचारमा खर्च गर्ने घोषणा गरेका छन् ।

श्रीभक्तलाई आमाको आर्शिवाद, मतदाताको साथ

भक्तपुर । आफ्नै आमाको आर्शिवाद लिएर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार श्रीभक्त कासिछ्वालाई मतदाताले साथ दिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवार बनेका श्रीभक्तलाई आमाको आर्शिवाद, मतदाताको साथ रहेको छ ।

आमा लक्ष्मीकुमारी कासिछ्वाले टीका खादा लगाएर दहीका सुगन खुवाएर नेपालको झण्डा हातमा दिएर नेपालको शिर उच्च राख्ने काम गर्न विजयीको आर्शिवाद दिदै चुनावी अभियान सुरु गरेका श्रीभक्तको चर्चा चुनावी क्षेत्रमा निकै बढेको छ ।

आमाको आर्शिवाद पाएका श्रीभक्त कासिछ्वाले आफ्नो निर्वाचन प्रचार प्रसारलाई तिब्र पार्दै शनिवार चाँगुनारायण नगरपालिका ४ छालिङ्ग पकानेपाटीमा निर्वाचन परिचालक कमिटीको कार्यालय समेत सञ्चालनमा ल्याएको छन् । उक्त कार्यालयको आमा लक्ष्मीकुमारीले उद्घाटन गर्दै चाँगुनारायणको बिकास गर्न र देशको शीर उच्च राख्न विजयीको आर्शिवाद दिइन् ।

जेब्रा चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका कासिछ्वाले भक्तपुरमा पिछडिएको क्षेत्र चाँगुनारायणको समग्र बिकास गर्न, यहाँको सडक, खानेपानी, ढल, सिंचाई, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको बिकास गर्ने कसम खाएर चुनाबमा आएको बताए ।

यस क्षेत्रलाई खेलकुदको हव बनाउने उदेश्य समेत रहेको कासिछ्वाले बताए । कासिछ्वाले प्रदेश सभामा आफ्नो विजयसँगै व्यक्तिगत रुपमा आमाको नाममा वर्षको रु. २० लाखको कोष स्थापना गरेर यहाँको बिकास र गरिब जनताको आयस्तर उठाउने काममा लगाउने बताए ।

जनता बचाउने कि पद नै त्याग्ने, प्रधानमन्त्री ज्यू !

-रुषा थापा,  भक्तपुर

भक्तपुर : प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता सोध्छन् , थोत्र्रापुराना , कबाडी वा २० वर्ष गाडी चलाउन दिएर दिनहुँ ५ देखि ३५ जना मानिस मार्ने कि २० वर्षे गाडी चलाउनमा प्रतिबन्ध लगाउने । यातायात व्यवसायले सरकार चलाएको हो कि प्रधानमन्त्री देउवाले चलाएको हो भन्नेमा जनता अन्योल छन् । दिनहुँ बच्चादेखि बुढोसहित सवारी दुर्घटनामा परेर मर्दा पनि के तपाईँलाई जनताको अलिकति पनि माया छैन ।

कि तपाईँले समाचार नै पढ्नु हुन्न कि हेर्न सक्नु हुदैँन । यदि जनताको बाँच्ने अधिकार नै सुरक्षित गर्न नसक्ने हो भने किन प्रधानमन्त्री पदमा बस्नु ,किन जनताले नै तिरेको करबाट तलबभत्रा खाएर , सरकारी गाडी चढेर , देशको झण्डा हल्लाउँदै हिड्नु ।

जो मानिस सवारी दुर्घटनामा मर्छ त्यो मानिसको घरपरिवारलाई मात्र त्यसको पीडा थाहा हुन्छ । जनता पैसा तिरेर गाडीमा चढेका हुन्, अनि के मर्नको लागि पैसा तिरेर गाडीमा चढेको हो र । पछिल्लो समय पैसा तिरेर गाडी चढ्नु भनेको त आफुले आफुलाई नै मर्नको लागि निमन्त्रणा दिनु जस्तो भइरहेको छ । आफन्त गुमाउँदा कति पीडा हुन्छ भन्दा त तपाईँले आफ्नो भाइ गुमाउँदा नै महसुस गरिसक्नुभएको छ प्रधानमन्त्रीज्युँ तर यत्रो र्निदोष जनताहरु सवारी दुर्घटनामा परेर मरिरहँदा तपार्इँ किन चुपचाप हुनुहुन्छ ।

सवारी दुर्घटनाबाट जनता बचाउनुपर्छ र २० वर्ष हटाउनुपर्छ वा नयाँ टयाक्सीको दर्ता खुलाउनुपर्छ भनेर तपार्इँमा कहिले चेतना आउने प्रधानमन्त्री ज्युँ । बाटो त सरकारको हो तर यातायात व्यवसायीहरु गाडी हाल्ने धनीसँग २ लाखदेखि १५ लाखसम्म पैसा लिइरहेका छन्, सरकारले तोकेकोभन्दा १८ करोड बढी भाडा दिनहुँ जनतासँग ठगीरहेका छन् , भिडबाट खसालेर जनता मारिरहेका छन् तर प्रधानमन्त्री देउवा व्यवसायीको अगाडी निरीह भएर बसिरहेका छन् । आफु काम गर्न नसक्ने अनि जनता मर्नुपर्ने ।

देशको प्रधानमन्त्री पदमा बसेपछि जनताको बाँच्ने अधिकार सुरक्षित गर्ने र सवारी दुर्घटना न्यूनीकरण गर्ने जिम्मा त तपार्इँकै होइन र । यदि दुर्घटना कम गराउन नसक्ने, जनताको बाँच्ने अधिकार सुरक्षित गर्न नसक्ने, २० वर्षे गाडी हटाउन नसक्ने, चार दशकदेखि बन्द रहेको हरियो र कालोप्लेटको टयाक्सीको दर्ता खुलाउन नसक्ने, कलिलो उमेरमा दिने वा अशिक्षित मानिसलाई दिने सवारी लाइसेन्समा प्रतिबन्ध लगाउन नसक्ने हो भने किन प्रधानमन्त्री पदमा बस्नु र किन यातायात मन्त्रीको जिम्मा लिनु ।

जनता प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्छन्, के यातायात व्यवसायीहरु मात्र जनता हुन्, सवारी दुर्घटनामा परेर ज्यान गुमाउने तै जनता होइनन् । अहिलेपनि २० वर्ष कटेका गाडीहरु बाटोमा गुडिनै रहेका छन् तर ट्राफिक प्रमुख मीरा चौधरीले यातायात व्यवसायीसँग पैसा खाएर यस्ता गाडीहरु चलाउनमा प्रतिबन्ध लगाएकी छिनन् ।

साथै बिग्रेका वा अवस्था ठिक नभएको वा २० वर्षे गाडीहरु बाटोमा चलाउन दिनुहुदैँन भनेर प्रधानमन्त्री देउवाले पनि गृहमन्त्रीलाई निर्दैशन दिदैँनन् । के प्रधानमन्त्री देउवा गृहमन्त्री बालकृष्ण खाँणसँग डराएका हुन् । गृहमन्त्री खाँण पनि ट्राफिक प्रमुख चौधरीलाई २० वर्षे गाडी वा बिग्रेका, अवस्था ठिक नभएका गाडीहरुको कागाजपत्र चेकजाँच गर्ने र यस्ता गाडीहरु चलाउनबाट प्रतिबन्ध लगाउने भनेर निर्दैशन दिदैनन् ।

गृहमन्त्री खाँणलाई जनता सोध्छन्, तपाईँले यातायात व्यवसायीसँग कति पैसा खानुभएको छ । अब कि त प्रधानमन्त्री देउवा र गृहमन्त्री खाण्ाँले सवारी दुर्घटना हाम्रो नेपालमा नभएको वा सवारी दुर्घटनामा मरेका मानिस नेपाली होइनन् भनेर भन्नुपर्छ ,होइन भने थोत्र्रापुराना वा २० वर्षे गाडीहरु हटाउनुपर्छ । साथै दर्ता भएको मितिले १५ वर्ष पुगेपछि गाडीको दर्ता र रोडपर्मिेट पनि खारेज गर्नुपर्छ ।

त्यस्तै सिटभन्दा बढी यात्रु हालेर दुर्घटना गराएर जनता मार्ने यातायात व्यवसायीलाई कानुनको दायरमा ल्याउनुपर्छ र सवारी दुर्घटनामा मरेका मानिसको आफन्तलाई ३० लाख क्षतिपूर्ति , ३ लाख क्रियाखर्च र घाइतेलाई ३० लाख क्षतिपूर्ति र उपचार पनि निःशुल्क गरिदिनुपर्छ ।

अहिले जनता पैसा तिरेर गाडी चढ्छन्, यातायात व्यवसायीहरु आफ्नो फाइदाका लागि थोत्र्रापुराना गाडी चलाउँछन्, सरकार त्यस्ता गाडीको कागजपत्र चेकजाँच गर्दैन अनि सरकार र यातायात व्यवसाय मिलेर सिधासाधी जनता मार्छन् । अनि जनता मार्ने अपराधी त यातायात व्यवसाय र सरकार नै हो नि त ।

अहिले सवारी दुर्घटनामा परेर मरेका मानिसको आफन्तलाई क्षतिपूर्ति १ लाखदेखि ५ लाख दिने गरिन्छ । अनि १ लाखदेखि ५ लाखमा कसैको ज्यान किन्न पाइन्छ । अहिलेपनि यातायात व्यवसायीहरु २० वर्षे गाडीको म्याट थप गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइरहेका छन् ।

दिनहुँ सवारी दुर्घटनामा परेर ११ जनाभन्दा पनि सर्वसाधारणहरु मरिरहेका छन् तर पनि प्रधानमन्त्री देउवा यस्ता गाडीहरु चलाउनमा प्रतिबन्ध लगाउन सक्दैनन् । कि त तपाईँसँग आँट नै छैन कि त तपार्इँसँग प्रहरी नै छैन । अब कि त प्रधानमन्त्रीले सिण्डिकेट लगाउने वा थोत्र्रा , पुराना गाडी चलाएर जनता मार्ने यातायात व्यवसायीलाई समातेर जेल हाल्नुपर्छ होइन भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ । साथै २२ देखि २७ वर्षसम्म पुगेका पुरानो गाडीहरु बाटोमा गुड्दा कारबाही नगर्ने ट्राफिक प्रमुख मीरा चौधरीलाई पनि कि त सरुवा गर्नुपर्छ होइन भने कारबाही गर्नुपर्छ ।

त्यस्तै यता यातायात व्यवस्था विभागका महानिर्दैशक टोकराज पाण्ेडयले टयाक्सी व्यवसायी र यातायात व्यवसायीसँग करोडौँ पैसा खाएर ३५ वर्षदेखि नयाँ टयाक्सीको दर्ता खालेका छैनन् । काठमाडौँ उपत्यकाभित्र जनसंख्या करोड छ तर टयाक्सी ९ हजार मात्रै छ । भएका टयाक्सी पनि ७ सय ९६ सिसिको मरुती वा थोत्र्रा, पुराना, कबाडी रहेका छन् । अहिले २० वर्ष टयाक्सीको स्क्राइप गरेको नम्बरप्लेट १३ लाख पर्छ तर सरकारले नयाँ टयाक्सीको दर्ता खोलेमा सितैमा नम्बरप्लेट पाइन्छ ।

२०३२ सालदेखि २०७९ सालसम्म यातायात व्यवसायीहरुले आफैँले व्यवसाय गरेका छन्, नयाँ व्यवसाय पनि आउन दिएका छैन र गाडीको संख्या पनि बढ्न दिएका छैनन् । यिनीहरुले आफ्नो एकाधिकार जमाइरहेका छन् । जनता पैसा तिरेर नयाँ वा लक्जरी नयाँ टयाक्सी चढ्न पाउँदैनन् । यातायात व्यवस्था विभागकै एक कर्मचारी नाम नबताउने सर्तमा बताउँछन्, महानिर्दैशक टोकराज पाण्डेयले यातायात व्यवसायीसँग पैसा खाएर नयाँ टयाक्सीको दर्ता खुलाउने प्रस्ताव मन्त्रालयसम्म लगेनन् ।

देशको प्रधानमन्त्री शेरबहादुर देउवाले अब नयाँ टयाकसीको दर्ता तुरुन्तै खोल्ने कि यातायात वा टयाक्सी व्यवसायीको अगाडी लम्पसार पर्ने । सरकारले नयाँ टयाक्सीको दर्ता नखुलाउँदा राज्यको ढुकुटीमा पनि राजस्व आएन, स्वदेशी वा विदेशीले महंगो पैसा तिरेर पनि लक्जरी टयाक्सी चढ्न पाएनन्, जनताले आपतकालीन समयमा टयाक्सी पाएनन्, टयाक्सी पाएपनि महंगो भाडा तर थोत्र्रा टयाक्सी चढ्नुपर्ने बाध्यता साथै टयाक्सी किनेर व्यवसाय सुरु गर्छु भन्नेले पनि व्यवसाय सुरु गर्न पाएका छैनन् ।

त्यस्तै हाल सञ्चालनमा रहेका टयाक्सीहरुले प्रदूषण वा दुर्घटना निम्त्याइ रहेका छन् तर नयाँ टयाक्सीको दर्ता खोलेमा यो पनि न्यूनीकरण हुन्छ । अन्य देशमा लक्जरी टयाक्सीहरु चलाइएको छ तर हाम्रो देशमा भने अहिले पनि ७ सय ९६ सिसिको थोत्र्रा, पुराना , कबाडी टयाक्सी नै सञ्चालनमा रहेको छ ।

अहिले त देशको प्रधानमन्त्री पदमा बस्दा नयाँ टयाक्सीको दर्ता खुलाउन सक्नु हुन्न वा २० वर्ष गाडी हटाउन सक्नु हुन्न भने आगामी निर्वाचनमा जनताले तपार्इँलाई केको आधारमा मतदान गर्ने ।

जनता भन्छन्, २० वर्ष गाडी नहटाउने वा नयाँ टयाक्सीको दर्ता नखुलाउने सर्तमा तपाईँले यातायात व्यवसायीसँग कति पैसा खानुभएको छ, देउवाज्युँ । पछिल्लो समय टयाक्सी वा यातायात व्यवसायीहरु भन्छन्, २० वर्ष गाडीको म्याट थप गर्न र नयाँ टयाक्सीको दर्ता नखुलाउन हामीले यातायात व्यवस्था विभागका महानिर्दैशक र सचिवलाई करोडौँ पैसा दिएका छौँ ।

तर यसरी यातायात व्यवसायीसँग पैसा खाएर टयाक्सीको नयाँ दर्ता नखुलाउँदा वा २० वर्षे गाडी नहटाउँदा प्रधानमन्त्री देउवा किन यातायात व्यवस्था विभागका महानिर्दैशक र सचिवलाई पदबाट हटाउन सक्दैँन । यसबाट प्रधानमन्त्री शेरबहादुर देउवा असमक्ष प्रधानमन्त्री रहेछन् भनेर स्पष्ट थाहा हुन्छ ।

तपाईँलाई भोट दिने र कर तिर्ने जनताहरु सवारी दुर्घटनामा परेर मरिरहेका छन् तर तपाईँलाई उनीहरको केही माया, दया छैन । सरकार सवारी दुर्घटना परेपछि एउटा आयोग वा कमिटी गठन गर्छ अनि फेरि सेलाउँछ । यातायात व्यवसाय र सरकारले जनता जन्माएको पनि होइन र जनता मार्ने अधिकार यातायात व्यवसायसँग छँदा पनि छैन ।

यत्रो मानिसहरु दिनहुँ सवारीसाधन दुर्घटनामा परेर मरिरहेका छन्, मानिसको घरमा रुवाबासी चलिरहेकोछ छ , यातायात व्यवसायीहरु रमाइ रहेका छन् तर सरकार भने देखे पनि नदेखेझैँ चुपचाप बसिरहेको छ । हामी जनता यातायात व्यवसायको कमाइधन्दा वा यातायात व्यवसायीको हातबाट मर्नका लागि जन्मिएका हौँ ?

के हाम्रो तै बाँच्ने अधिकार छैन र । तँ कुटेको जस्तो गर, म रोएको जस्तो गर्छु भनेझैँ सरकार र यातायात व्यवसाय मिलेर जनता मारिरहेका छन् । यिनीहरुले जनतालाई गुन्द्रक खाँदेको जसरी खाँदेर भिडबाट खसालेर मारिरहेका छन् । काँग्रेस पार्टीको कोही कार्यकर्ता मरेमा प्रधानमन्त्री देउवा आफ्नो कार्यकर्ताको घरमा रुन पुग्छन् तर सवारी दुर्घटनामा परेर आफ्नो बालबच्चा वा आमाबुबा गुमाएको घरपरिवारको घरमा पुग्छन ?

के काँग्रेस पार्टीको कार्यकर्ता मात्र जनता हुन्, अरु तै जनता होइनन् र । पुराना गाडी नहटाउँदा प्रदूषण वा दुर्घटना बढ्यो भनेर यत्रो सञ्चारकर्मीहरुले समाचार लेख्दा र जनता यसरी मर्दा पनि तपाईँ समाचार पढ्नुहुन्न र । यो मैलेँ जनताले भागेको कुरा लेखेकी हुँ र यो कुरा सञ्चारकर्मीहरुले पनि बाहिर ल्याउँछन् र प्रधानमन्त्रीको कानमा पुप्याउँछन् भनेर मैलेँ विश्वास गरेकी छु ।

देशमा राजनितिक परिवर्तनका लागि २०५२ सालदेखि २०६२÷६३ सालसम्म १७ हजार मानिस मरे तर अहिले सवारी दुर्घटनामा परेर लाखौँ मानिसहरु मर्दा पनि सरकार यसमा ध्यान दिदैँन । जनता यसरी सवारी दुर्घटनामा मर्दा पनि न कुनै राजनितिक दललाई नै चासो छ , न कुनै यातायात व्यवसायलाई वा सरकारलाई । यी सवारी दुर्घटनामा परेर मरेका मानिसहरुले पनि त हिजो बाच्ँनुन्जेल भोट हालेका नै थिए र कर पनि तिरेका नै थिए तर किन यिनीहरुको बाँच्ने अधिकार सरकारले सुरक्षित गर्न सकेन । के उनीहरुको तै बाँच्ने अधिकार संविधानमा लेखिएको थिएन र ।

यातायात व्यवसायीहरुले व्यवसाय गर्ने नाममा २० वर्षे वा थोत्र्रा, पुराना गाडी चलाएर जनता मार्दा पनि सरकार किन टुलुटुलु हेरेर बस्छ । यातायात व्यवसायीले एउटा गाडीमा गरेको लगानी २ देखि ३ वर्षमै उठ्छ तर यातायात व्यवसायीहरु त्यहँी गाडी चलाएर अर्को ४ ओटा गाडी किन्दा पनि त्यो गाडी हटाउन मान्दैनन् । त्यसैले अब सरकारले २० वर्षे गाडीको स्क्राइप गरेको नम्बरप्लेट पनि खारेज गरिदिनुपर्छ र त्यो गाडीको नम्बरप्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न दिनुहुदैँन । अब प्रधानमन्त्री देवाले जनताको बाँच्ने अधिकार सुरक्षित गर्ने कि प्रधानमन्त्री पद नै त्याग्ने ।

 

ठेकेदार अलपत्र पारेको सडक नगरकोटवासीले गराएर बन्द

भक्तपुर । भक्तपुर र काभ्रे जिल्लाको सीमानामा पर्ने पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र हुदाँ स्थानीय र पर्यटकहरुले सास्थी खेप्दै आएका छन् ।

करिब १५ किलोमिटर भक्तपुर–नगरकोट खण्डको काम समयमै नसकेको भन्दै स्थानीय बासिन्दाले सडकमै माटो थुपारेर सोमबारदेखि सडक बन्द गरेका छन् । नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङले १५ ट्रकजति माटो सडकमा खन्याएर स्थानीयले बाटो बन्द गरेको बताए ।

संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन । भक्तपुर–नगरकोट–हिउँवापाटी खण्ड निर्माणको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सन–एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा पाएको थियो ।

आयोजनाको लागतसमेत साढे ४ करोड रुपैयाँ बढेको छ । भ्याटसहित ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा सम्झौता भए पनि अहिले लागत ३५ करोड ८७ लाख १८ हजार रुपैयाँ कायम गरिएको छ । लामो समयसम्म निर्माण कार्य अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण र शक्तिका भरमा पटक–पटक म्याद थप गरिएको भन्दै स्थानीय, व्यवसायी, जनप्रतिनिधिलगायतले ठेक्का नै रद्द गर्नुपर्ने माग गर्दै आएका छन् ।

यसअघि विभिन्न कार्यक्रम र माध्यमबाट दबाब दिँदै आए पनि निर्माण कम्पनीले अटेरी गर्दै आएको नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष गुरुङले बताए । विगतमा नगरकोटवासीले गतवर्ष सडक किनारमा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए । स्थानीय चाँगुनारायण ६ र ७ का वडाअध्यक्षहरुले सडकमै वडा कार्यालयको काम गरेर विरोध गरेका थिए । अधिकारी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटीसमेत हुन् । वि.स २०७३ कात्तिक ४ गते नै काम सक्ने गरी जिम्मा पाए पनि हालसम्म करिब ८० प्रतिशत मात्रै काम सकिएको छ  । उक्त ठेक्काको हालसम्म ७ पटक म्याद थप भइसकेको छ ।

चाँगुनारायणका जनता भन्छन् : यस पटकको भोट श्रीभक्तलाई

भक्तपुर, १३ असोज । चाँगुनारायणका जनता यस पटकको भोट स्वतन्त्र उम्मेदवारी दिएका समाजसेवी श्रीभक्त कासिछ्वालाई दिने बताउन थालेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवार बनेका श्रीभक्तलाई भोट दिने निर्णय गरेको यहाँका जनताले बताएका छन् ।

चाँगुनारायण नगरपालिका–७ वागेश्वरीका बासिन्दा नेपाली कांग्रेसका क्रियासिल सदस्य ८४ वर्षीया बाबुलाल लामा यस पटकको प्रदेश सभामा स्वतन्त्र उम्मेदवार श्रीभक्तलाई भोट दिएर विजयी गराउने बिताए । २०५२ सालमा तत्कालिन वडा अध्यक्ष समेत रहेका कांग्रेसका स्थानीय नेता लामाले विकासप्रेमी नेता कासिछ्वालाई भोट बताए ।

लामाले भने, ‘अहिले हाम्रो सरकार छ, तर के गर्यो खै ? यहाँका जनताका लागि सरकारले केही गरेन, बरु पहिलादेखि नै यहाँको बिकास गर्ने, यहाँ बाटो बनाउने, यहाँ ठूलो रंगशाला बनाउने, युवाहरुलाई रोजगारी दिने, यहाँका मान्छेलाई केही समस्या परे सहयोग गर्ने व्यक्ति भनेको श्रीभक्त हुन्, त्यसैले एक भोट पार्टी हेरिदैन, उनैलाई दिइन्छ ।’

आफ्नो गाउँको विकास गर्नेलाई भोट दिनु पर्छ भन्दै उनले पंचायतकालदेखि अहिले गणतन्त्र आउँदा सम्म समाज सेवामा लागेका र जनताको सुखदुःखमा साथ दिने भएकाले श्रीभक्तलाई रोजेको बताए ।

स्वतन्त्र उम्मेदवार श्रीभक्त जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुने बित्तिकै उनकै अगुवाईमा चाँगुनारायण –७ वागेश्वरीमा रग्बी एण्ड मल्टिप्रपोज रंगशाला निर्माणको काम सुरुवात गराएका थिए । १०० रापनी भन्दा बढी सार्वजनिक जग्गालाई सम्याएर सुरुमा नगरपालिकाको सहयोगबाट काम गर्दै हाल संघीय सरकारबाट एक करोड र वाग्मति प्रदेश सरकारबाट ५० लाख बजेट पारेर अहिले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण भइरहेको श्रीभक्त बताउछन् ।

चाँगुनारायणका रामहरि श्रेष्ठ पनि यस पटकको भोट स्वतन्त्र उम्मेदवार श्रीभक्तलाई दिने बताउछन् । जनतालाई समस्या पर्दा, प्रहरी, प्रशासनमा समस्या पर्दा पनि उनैले यहाँका जनतालाई सहयोग गरेकाले आफ्नो परिवारको साथ श्रीभक्तलाई रहने बताए ।

चाँगुनारायणका युवा सुवास खड्काले यस पटकका भोट स्वतन्त्र उम्मेदवार श्रीभक्तलाई दिने बताउछन् । दलहरुलाई धेरै पटक हेरेको भन्दै युवाहरुलाई रोजगारी दिने देखि खेलकुदको विकास गर्ने श्रीभक्त नै जनताको नगरमा राम्रो मान्छे भएकाले उनलाई साथ दिने बताउछ्न् ।

भक्तपुर नपाद्वारा संस्कृतिकर्मी तथा सांस्कृतिक गुरुहरूको सम्मान

भक्तपुर, ११ असोज :  ४३ औं विश्व पर्यटन दिवसको अवसरमा गाईजात्रा पर्व २०७९ मा प्रदर्शन गरेका घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण तथा भक्तपुरका सांस्कृतिक गुरुहरुको सम्मान कार्यक्रम मंगलबार भक्तपुरको दरबार क्षेत्रमा भव्य समारोहबीच सम्पन्न भयो । कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले हाम्रो कला संस्कृति नै हाम्रो सम्पत्ति हो र यसको संरक्षण गर्न स्थानीय सरकार, सहकारी संस्था र विद्यालयहरु क्रियाशील हुनुपर्ने बताउनुभयो ।

परम्परागत सांस्कृतिक नाच र अन्य गतिविधिहरुमा महिलाहरुको उत्साहजनक सहभागिता बढ्दै गएको बताउनुहुँदै उहाँले भक्तपुरको कला संस्कृति जगेर्णामा यहाँका कलाकार, लोहँकर्मी र सिकर्मीको योगदान उल्लेखनीय छ भन्नुभयो ।

भक्तपुर नपाले पर्यटन शुल्कबाट उठाएको रकमबाट यहाँको सरसफाई, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा निकै सुधार हुँदै गएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरको समाजवादी मोडल हेर्न देशभरिका जनप्रतिनिधि, पत्रकार र शुभचिन्तकहरुले भक्तपुर भ्रमणले अझ व्यापकता लिँदै गएको छ भन्नुभयो ।

भक्तपुर आफैमा एउटा खुल्ला विश्वविद्यालयको रुपमा रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरु स्वयम् समाजका सम्मानित प्राध्यापकको रुपमा रहेको बताउनुभयो ।

सरकारको मुख नताकी भक्तपुर नपाले आफ्नै बलबुत्तामा गरेको विकास निर्माण कार्यले आज विश्वमै ख्याति कमाइरहेको बताउनुहुँदै उहाँले चाडबाडमा हुने फोहर व्यवस्थापनमा नगरबासी स्वयम् सचेत भए भक्तपुर नगर अझ सुन्दर र व्यवस्थित हुने बताउनुभयो ।

नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले बलियो अर्थतन्त्रले देशको मूल्य मान्यता बढ्ने भन्दै देशको अर्थतन्त्र बलियो बनाउन सरकार बलियो र सरकारमा जाने राजनीतिक दलहरु इमानदार हुनुपर्छ भन्नुभयो ।

भूकम्पपछिको पुनःनिर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत पार्नुहुँदै उहाँले भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालयको भवन पुनःनिर्माण मल्लकालीन शैलीमा गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन निकै भड्किलो र खर्चिलो हुँदै गइरहेको बताउनुहुँदै उहाँले मंसिरमा हुने निर्वाचनको मिति घोषणा भएकै दिनदेखि चुनावमा भाग नलिने व्यक्तिहरुको तटस्थ निर्वाचन सरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो ।

सचिव सुवालले भन्नुभयो, ‘भूगोल र संस्कृतिको अध्ययन गर्न पर्यटकहरु एक देशबाट अर्को देश घुम्ने गर्छन् । पर्यटन उद्योग प्रवद्र्धन गर्नु भनेकै हाम्रो कला, संस्कृति, सम्पदा विश्वमाझ चिनाउन हो ।’

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सांस्कृतिक क्षेत्रमा अगाडि बढाउन र आजको स्थितिमा पु¥याउन सांस्कृतिक गुरुहरुको योगदान कदरयोग्य भएको बताउनुहुँदै सांस्कृतिक गुरुहरु विश्वविद्यालयको प्रमाणपत्र विनाका प्राध्यापकहरु हुन् भन्नुभयो ।

उहाँले देशका विभिन्न क्षेत्रका सम्पदाहरुको पुनःनिर्माणमा भक्तपुरकै कालिगढहरुको खोजी हुने क्रम सुरु भएको बताउनुहुँदै भक्तपुर नपाले अग्रजहरुले सुरु गरेका कार्यलाई निरन्तरता दिँदै यहाँका जनतालाई रोजगारीको निम्ति विभिन्न सीपमूलक तालिम पनि सञ्चालन गर्नुका साथै सीप र प्रविधि भक्तपुरमा मात्रै सीमित नराखी देशभर फैलाउने अवसर पनि प्राप्त भएको बताउनुभयो ।

पर्यटकीय गन्तव्यस्थल र सांस्कृतिक नगरको रुपमा विकास भइरहेको भक्तपुर नगरलाई कतिपय विद्धानहरुले जीवित संग्रहालयको रुपमा परिभाषित गरिरहेको प्रसंग जोडदै उहाँले पारदर्शी र आर्थिक अनुशासनलाई कडाइका साथ लागू गर्दै भक्तपुर नगरलाई भ्रष्टाचारमुक्त नगरको रुपमा विकास गर्दै अगाडि बढिरहेको बताउनुभयो ।

त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाइँले सापारुको सांस्कृतिक गतिविधिमा महिलाहरुको उत्साहजनक रुपमा कलाकारको रुपमा सहभागिता रहनु आफैमा राम्रो पक्ष हो र अझ व्यवस्थित रुपमा उत्साहित बनाउँदै लानु आवश्यक छ भन्नुभयो ।

इतिहास जोगाउने अभियानमा भक्तपुर नपा निरन्तर अगाडि बढ्नुपर्छ भन्दै उहाँले छिमेकी देश चीनका विशिष्ट व्यक्तित्वहरुको मनपर्ने ठाउँको रुपमा भक्तपुर रहेको र उहाँहरुले यस ठाउँकाबारे उच्च मूल्यांकन गर्दै आउनुभएको स्मरण गर्नुभयो ।

उहाँले सांस्कृतिक हमलाविरुद्ध हामी राजनीतिक, वैचारिक र सैद्धान्तिक रुपमा लड्न तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

संस्कृतिविद् विश्वमोहन जोशीले संस्कृति भनेको हाम्रो जीवनचर्या भएको बताउनुहुँदै साँस्कृतिक अतिक्रमणले हाम्रो भाषा र पहिचानमा खतरा पुग्ने भएकोले भक्तपुर नपाले सँस्कृतिलाई हस्तान्तरण गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

सांस्कृतिक मूल्यांकनकर्ता इन्दिरा लाछिमस्यूले गाईजात्रामा नयाँ पुस्ता र महिलाहरुको सहभागिता उत्साहजनक रहेको बताउनुहुँदै आफूले सिकेको सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्नु हाम्रो कर्तव्य भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सांस्कृतिक विधाहरुको मूल्यांकनको समीक्षा गर्नुहुँदै प्रतियोगिताको मूल्यांकन निष्पक्ष ढंगबाट भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले प्रत्येक वडाबाट २२ जना सांस्कृतिक गुरुहरुलाई दोसल्ला ओढाई नगद रु. १५,०००।– सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो भने उहाँले उत्कृष्ट कलाकारहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

त्यस्तै विशेष अतिथि सुवालले घिन्ताङघिसी, माक प्याखं, आधुनिक विधा र परम्परागत विधाका विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो भने प्रमुख प्रजापतिले प्रतियोगिताका मूल्यांकनकर्ताहरु र सहयोगी सबैलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रतियोगितामा प्रथम हुन सफल माक प्याखंमा प्रथम हुन सफल कोतदेवी दाफा भजनको माक प्याखं, देवी प्याखंमा प्रथम हुन सफल गलसी पुखुको देवी प्याखं, दोस्रो हुन सफल पासा पुच समूहको लाखो प्याखं देखाइएको थियो ।

 

नगर प्रमुख जीवन खत्रीको नेतृत्वमा चाँगुनारायण नगपालिकाको पदयात्रा सम्पन्न

भक्तपुर, ११ असोज : विश्व पर्यटन दिवसको अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्र भित्र लुकेर रहेका पर्यटकीय गन्तव्यको उजागर गर्ने उदेश्यले आज चाँगुनारायण नगरपालिकाले आयोजना गरेको ‘एक दिवसीय पदयात्रा कार्यक्रम–२०७९’ सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले खरिपाटीस्थित चाँगुनारायण नगरपालिका कार्यालयमा उद्घाटन गर्दै नगरपालिकाको प्राङ्गणबाट सुरु भएको पदयात्रा यहाँका धार्मिक सम्पदाहरु मर्णिकर्णिका, वाल्मिकेश्व, सरस्वतीथान हुँदै कल्पेश्वर महादेव मन्दिर कलमसि पुगेर सम्पन्न भएको हो ।

पदयात्रा कार्यक्रमको समापन गर्दै नगर प्रमुख जीवन खत्रीले चाँगुनारायण नगरपालिका धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्व रहेको विश्व सम्पदा सूचीँमा सुचिकृत चाँगुनारायण मन्दिरदेखि विश्व प्रसिद्ध पर्यटकीयस्थल नगरकोट यहीँ नगरपालिका क्षेत्र भित्रका रहेको बताउदै यहाँका सबै पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बनाउनु भयो ।

उहाँले नगरपालिकाले आगामी २०८२ सालमा चाँगुनारायण पर्यटन भ्रमण वर्ष मनाउने घोषणा यसवर्षको नगर सभाले गरेको बताउदै त्यस अघिनै नगरपालिकाले सबै पर्यटकीय गन्तव्यलाई पर्यटकको नजरसम्म पुर्याउने गरि कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “हामीले यसै वर्षको नगर सभाबाट आगामी २०८२ साललाई चाँगुनारायण पर्यटन भ्रमण वर्ष मनाउने घोषणा गरिसकेका छौँ, त्यसका लागि आवश्यक तयारी सुरु भइसकेको छ, हामीले यहाँका सबै सम्पदाहरुको संरक्षण, विकास, मर्मत, पदमार्गको पहिचान एवं स्तरोन्तती गर्ने, आवश्यक पूर्वाधारहरुको तयार गर्ने गरि काम अगाडि बढाएका छौँ ।”

आजको पदयात्रा कार्यक्रमले नगरपालिका क्षेत्रभित्र रहेको पर्यटकीय सम्भावना रहेका धार्मिक, ऐतिहासिक पदयात्रा गरि पर्यटनको प्रबद्र्धन र आर्थिक विकासको मुख्य पाटोको रुपमा पर्यटन क्षेत्रको विकास गर्नु मुख्य लक्ष्य रहेको बताउनु भयो ।

पदयात्रानमा सहभागि नगरपालिकाका प्रवक्ता जनक खत्रीले यहाँको धार्मिक पर्यटकीयस्थलहरु लगायत यस क्षेत्रमा रहेको वन जंगल, प्राकृतिक श्रोत एवं झरणा, कृषि पर्यटन, पानीका मुहान एवं यहाँबाट देखिने काठमाडौं उपत्यकाका मनोरम दृश्य अवलोकन गर्दै कलमसीसम्मको पाँच घण्टा पदयात्रामा निकै आनन्द दिएको बताउनु भयो ।

उहाँले यो यात्राले चाँगुनारायण नगरपालिका भित्र लुकेर रहेका धेरै पर्यटकीय क्षेत्रहरु छन्, यसलाई उजागर गर्दै आगामी दिनमा यी क्षेत्रहरुलाई सवदेशी तथा विदेशी पर्यटकका लागि पदमार्गको रुपमा स्थापित गर्न टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले विश्य पर्यटन दिवसको महत्वमाथि प्रकाश पार्दै पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रवर्दन आर्थिक विकासको मेरुदण्ड बन्ने बताउदै यहाँका नागरिकको आर्थिकस्तर विकासका लागि पर्यटकीय क्षेत्रको विकास र बिस्तार आवश्यक रहेको औल्याउनु भयो ।

नगरपालिका पर्यटन शाखाको संयोजनमा भएको पाँच घण्टामा १० किलो मिटर लामो पदयात्रामा नगर प्रमुख खत्री, प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी, प्रवक्ता जनक खत्रीलगायत कार्यपालिका सदस्यहरु, बिभिन्न वडाका वडाध्यक्ष, वडासदस्य, शाखा प्रमुखहरु, कर्मचारीहरु, सरोकारवाला निकायका प्रतिनिधि एवं पत्रकारहरुको सहभागिता रहेको नगरपालिका पर्यटन शाखाकी प्रमुख सन्तोषी नेपालीले जानकारी दिनु भयो ।

 

कांग्रेस प्रचार प्रसार समिति संयोजकमा डा महत

काठमाडौँ, ११ असोज : नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत मनोनित हुनुभएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम उहाँलाई आज समितिको संयोजकमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।