सूर्यविनायकमा नगरपालिकाका नवनिर्वाचित प्रमुख वासुदेव थापासहित ५२ जना जनप्रतिनिधिको सपथ र पदभार ग्रहण

भक्तपुर, ९ जेठ । सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता भट्टराई, १ देखि १० नम्बर वडासम्मका वडा अध्यक्ष तथा सदस्यहरुले आज सपथ ग्रहण सम्पन्न गरेर कार्यप्रारम्भ गर्नु भएको छ ।

नगरपालिकाले आज आयोजना गरेको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रममा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनु भएका नगर प्रमुख थापालाई प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो ।

कार्यक्रममा नगर प्रमुख थापाले उपप्रमुख सरिता भट्टराई तथा १ देखि १० वडासम्ममा वडाध्यक्षसहित ५२ जना जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो भने निर्वाचित जनप्रतिनिधिहरुलाई सूर्यविनायक नगरपालिकाको निर्वाचन अधिकृत सरिता खतिवडाले प्रमाण पत्र प्रदान गर्नु भयो ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेतले सबै जनप्रतिनिधिलाई टीका, वाग्मती प्रदेश सदस्य शशीजंग थापाले खादा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुु भयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  राजेन्द्रप्रसाद कँडेललले बुकी प्रदान गर्दै बधाई ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा नगरपालिकामा प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता भट्टराई, १० वडाध्यक्षसहित ५२ जना जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएर कार्यक्रम सम्पन्न पछि आ–आफ्नो कार्यकक्षमा पुगेर कार्य प्रारम्भ गर्नु भयो ।

कार्यक्रममा नगर प्रमुख थापाले विगतमा बाँकी भएका बिकासका कामहरु सम्पन्न गर्दै नयाँ कामको थालनी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसैगरि उपप्रमुख भट्टराई, सबै वडाका वडाध्यक्षले नगरको विकासमा एक भएर लाग्ने बताउनु भयो ।

त्यसअवसरमा नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा उक्त क्षेत्रको प्रतिनिधिसभाका सांसद महेश बस्नेतल पछिल्लो पाँच वर्ष विकासको हिसावले मुलुककै सर्वोत्कृष्ट रहेको दावी गर्दै अब पाँच वर्ष जुनसुकै दलमा आस्था राख्ने जनप्रतिनिधि भए पनि बिकासका लागि एक्यबद्ध भएर काम गर्नु पर्ने बताउनु भयो ।

वाग्मति प्रदेश सभाका सदस्य शशीजंग थापाले तीन तहकै सरकारबाट आएको बजेटले यहाँको बिकास भएको भन्दै अब पनि समन्वय र सहकार्य गरेर अगाडि जानु पर्ने बताउनु भयो ।

एमालेबाट नगर प्रमुखमा निर्वाचित बासुदेव थापालाई काँग्रेसका प्रत्यासी ढुङ्गेलले दिए बधाई

भक्तपुर, ५ जेठ । सूर्यविनायक नगर प्रमुखमा निर्वाचित एमालेका बासुदेव थापालाई प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसका निशान ढुङ्गेलले बधाई दिनु भएको छ । आज नगर प्रमुखमा थापा विजयी भए पछि असल संस्कारलाई अंगाल्दै ढुङ्गेलले थापाको घर मै पुगेर टीका तथा खादा लगाई बुकी दिएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

नवनिर्वाचित थापाले ढुङ्गेलाई नगरपालिका सबै जनताको भएकाले आफू सबै जनताको पक्षमा काम गर्ने बताउनु भयो । उहाँले कुनै पनि दल, संघ, संगठन, जात, धर्म नहेरी सबै नागरिक, पार्टी कसैलाई भेदभाव नगरी समान रुपमा व्यबहार गरि विपक्षी दलसंग पनि सहयोग र सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो।

सबै मिलेर नगरपालिकाको बिकास गर्ने, सबैको सल्लाह, सुझाबमा अगाडि बढ्ने बताउनु भयो । उहाँले प्रतिस्पर्धा आजबाटै सकिएकाले अब सबै मिलेर नगरपालिकाको बिकासमा एक्यबद्धता भएर काम गर्ने बताउनु भयो ।

मेयर बासुदेव थापालाई एमाले अध्यक्ष ओलीको शुभकामना, ३ बजे सूर्यविनायकबाट विजय र्याली

भक्तपुर, ५ जेठ । सूर्यविनायक नगरपालिका क्षेत्रमा बस्दै आउनु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको प्रमुख, उपप्रमुखसहित विजयी हुने एमालेका सबै उम्मेदवारलाई बधाई तथा शुभकामना दिनु भएको छ । आज बिहान बालकोटस्थित आफ्नै निवासमा नवनिर्वाचित नगर प्रमुख बासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सििना भट्टराईलाई उहाँले टीका तथा खादा लगाइदिएर बधाई दिनु भएको हो ।

बिजयी भए पछि ओली निवास पुग्नु भएको प्रमुख थापा र उपप्रमुख भट्टराईलाई उहाँले बधाई तथा शुभकामना दिदै सूर्यविनायकको बिकास, समृद्धि र जनताको उन्नतीका लागि कुनै कसर नराखी काम गर्न सुझाब दिनु भयो । जनताको मन जित्दै जनचाहना र आवश्यकतालाई बुझेर एमालेको सान जोगाउदै काम गर्न उहाँले शुभकामना दिनु भयो ।

त्यसैगरि आजै नेकपा एमालेले दिउँसो ३ बजे सूर्यविनायकस्थित पार्टी कार्यालयबाट विजय र्याली आयोजना गर्ने भएको छ । सूर्यविनायक पार्टी कार्यालयबाट निस्कने विजय र्याली सूर्यविनायक नगरपालिकाको सुन्दरबस्ती, पाण्डुबजार, सल्लाघारी हुदै कटुञ्जेस्थित चक्रपाणाी चोकमा पुगेर सभामा परिणत हुने भएको छ ।

एमाले युवा नेता महेश बस्नेतको निर्वाचन क्षेत्रमा प्रमुख, उपप्रमुखसहित एमालेको सानदान विजय, गठबन्धन पराजित

भक्तपुर, ५ जेठ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद महेश बस्नेतको निर्वाचन क्षेत्र सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार बासुदेव थापा विजयी हुनु भएको छ ।

यस नगर पालिकामा नेपाली कांग्रेसका उम्मेदवार निशान ढुङ्गेललाई एक हजार ५२६ मतान्तरले पराजित गर्दै थापा विजयी हुनु भएको हो । नगर प्रमुखमा एमालेका बासुदेव थापाले १४ हजार ७५८ मत प्राप्त गरि विजयी हुनु भयो भने उहाँको निकटतम प्रतिद्धन्द्धी कांग्रेसका निशान ढुङ्गेलले १३ हजार २३२ मत प्राप्त गर्नु भयो ।

त्यसै गरि उपप्रमुखमा नेकपा एमालेकै सरिता भट्टराई तिमिल्सििना विजयी हुनु भएको छ । सरिताले १४ हजार ७५८ मतका प्राप्त गरि विजयी हुनु भयो भने गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले आठ हजार ३२९ मतको मतान्तर अर्थात ६ हजार ६६१ मत प्राप्त गर्नु भयो । यस नगरपालिकामा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निकै पछाडि पार्दै मुख्य दुई दल एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै यस नगरपालिकाको अन्तिम वडाको रुपमा रहेको वडा नं. १० को वडाध्यक्षमा शिवराम राउत, वडा सदस्यहरुमा विदुर देउजा, ताराबहादुर विष्ट, शर्मिला बस्नेत र राधिका मिजार विजयी हुनु भएको छ । आज बिहानै मतपरिणाम घोषणा भए पछि एमाले नेता, संघीय सांस्द एवं पूर्व मन्त्री महेश बस्नेतले निर्वाचि मेयर थापा, उपमेयर भट्टराई, वडाध्यक्ष राउतलगायत विजयी टिमलाई बधाई दिदै नगरपालिकाको बिकासमा केन्द्रीत रहेर काम गर्न शुभकामना दिनु भयो ।

सूर्यविनायक नगरपालिका क्षेत्रमा नेकपा एमालेले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यसहित ३३ पदमा नेकपा एमालेले विजयी हासिल गरेको र नेपाली कांग्रेसले वडाध्यक्ष र सदस्य गरि १९ पदमा विजयी भएको नेकपा एमाले सूर्यविनायक नगर अध्यक्ष एवं सूर्यविनायक नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनु भयो ।

नगरपालिकामा वडा नं. १, ५, ७, ८ र १० एमालेले विजयी हासिल गरेको छ भने गठबन्धनले वडाध्यक्षमा २, ३, ४, ६ र ९ झिनो मतले विजयी हासिल गरेको छ । वडा सदस्यमा भने एमालेले वडा नं. १ मा एक सिट गुमाएको छ । त्यस्तै कांग्रेसको गढ मानिएको वडा नं. ३ मा एमालेले एक सिट ल्याउन सफल भएको छ । त्यस्तै वडा नं. ४ मा तीन जना सदस्य एमालेबाट निर्वाचित हुनुभएको छ । वडा नं. ९ मा वडाध्यक्ष बाहेक तीन सदस्य एमालेले विजयी हासिल गरेको छ । यसरी हेर्दा नगरपालिकामा एमालेको तर्फबाट मेयर र उपमेयर सहित ३३ जना जनप्रतिनिधिहरु निर्वाचित हुनुभएको छ भने गठबन्धनको तर्फबाट वडाध्यक्षसहित जम्मा १९ जना जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । यस नगरपालिकामा अरु दलले खाता खोल्न पनि सकेनन् भने अधिकांशको जमानत जफत भएको छ ।

 

सूर्यविनायक–८ को वडाध्यक्षमा अत्याधिक मतले पुष्पराज बस्नेत विजयी, महेश बस्नेतले दिए बधाई

भक्तपुर, ४ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ बाट वडाध्यक्षमा एमालेका युवा नेता पुष्पराज बस्नेतले २१ सय २२ मत ल्याएर विजयी हुनु भएको छ । उहाँको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बिदुरमान सिंह बस्नेतले ९९१ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा विश्वराम त्वायनाबासु, बिक्रम तामाङ, साबित्री मिश्र र अञ्जना नेपाली विजयी हुनु भएको छ ।

मत गणना सम्पन्न भएसंगै निर्वाचन अधिकृतको कार्यालय (प्राणाी उद्यान) बाट सुरु भएको विजयी र्र्याली सिपाडोलस्थित वडा कार्यालय पुगे पछि नेकपा एमाले पोलिटव्यूरो सदस्य एवं प्रतिनिधि सभाका सांसद महेश बस्नेतले सूर्य विनायक नगरपालिका जीतको नजिक पुगेको बताउनु भयो ।

उहाँले एमालेले स्थानीय निर्वाचनलाई ठूलो पाठको रुपमा लिदै गम्भिर समिक्षा गर्ने बताउदै युवा नेतृत्वले वडामा विजयी भएकाले सिपाडोल क्षेत्रको बिकास र युवाको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताउनु भयो ।

कार्यक्रममा निवर्तमान् वडाध्यक्ष किरण थापाले भक्तपुर जिल्लाको कर्णालीमा रहेको सिपाडोलको पार्टी भञ्याङ, नैचाल, काक्राबारी लगायतको क्षेत्रले रुप परिवर्तन गरेको भन्दै पाँच वर्षमा बिकासले ठूलो फड्को मारेकाले जनताको बिश्वासको मत आएको बताउनु भयो । एमालेले यहाँका जनताको मन जितेर मत पाउन सफल भएको भन्दै उहाँले यहाँका जनताले सूर्यलाई भोट दिएर कहिल्य पछुताउनु नपर्ने बताउनु भयो ।

उहाँले २०७४ को निर्वाचनमा पनि यहीँ वडाले मेयरको विजय सुनिश्चित गरेको र अहिलेको चुनाबमा पनि यहीको वडाले विजयी सुनिश्चित गरेर अगाडि बढाएको बताउनु भयो ।

नवनिर्वाचित वडाध्यक्ष पुष्पराज बस्नेतले आफू भन्दा ठूलाको सल्लाह, सुझाब, सबैको साथ लिएर आफ्नो वडाको विकासमा लाग्ने बताउनु भयो । वडाले नगरकै कान्छो वडाध्यक्ष पाएको बताउदै उहाँले यहाँका जनताको चाहनालाई बोकेर ठूलो मतको भारीलाई यहाँको बिकास, यहाँका जनताको समृद्धि र उन्नती दिलाएर बिसाउने बताउनु भयो ।

त्यसै गरि सूर्यबिनायक नगरपालिका वडा नं. ८ को मतगणना सम्पन्न भएसंगै नगर प्रमुखका उम्मेदवार बासुदेव थापाले अग्रता लिनु भएको छ । वडा नं. ८ सम्म आइपुग्दा नेकपा एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापाले ११ हजार ७ मत ७५ पाउदै अग्रता लिनु भएको छ । वडा नं. ७ सम्ममा ९ हजार ७ सय ७ मतमा पछाडि पर्दै आउनु भएका थापाले वडा नं. ८ बाट कांग्रेसका उम्मेदवार निशान ढुंगेललाई पछाडि पार्दै अग्रता लिनु भएको छ ।

नेपाली काँग्रेसका मेयरका उम्मेदवार निशान ढुंगेलले वडा नं.ंं ८ मा ८ सय मत प्राप्त गर्नु भएको र उहाँको ११ हजार २ सय २७ मत प्राप्त गरि ५४८ मतले पछाडि पर्नु भएको छ । उपमेयरमा एमालेकी उम्मेदवार सरिता भट्टराईले फराकिलो मतले अग्रता लिइरहनु भएको छ । भट्टराईले ११ हजार ७ सय ९१ मत ल्याउदा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ५ हजार ८ सय ७५ मत प्राप्त गरि ५ हजार ९२६ को मतान्तरले पछाडि पर्नु भएको छ ।

सूर्यविनायक–१ मा एमाले विजयी 

भक्तपुर, १ जेठ : सूर्यविनायक नगरपालिका वडा नं. १ मा नेकपा एमालेका सानुकाजी कायस्थ १ हजार ३१० मतले विजयी हुनु भएको छ । उहाँका प्रतिद्धन्द्धी राप्रपा १ हजार १३० शेखर थापाले ८९९ मत प्राप्त गर्नु भएको थियो ।

एमालेबाट विजयी हुने वडासदस्यहरु महिलामा मञ्जु कार्की, कुमार चौलागाई, दलितमा कल्पना परियार विजयी हुनु भएको छ । वडा सदस्यमा कांग्रेसबाट घननाथ मिश्र विजयी हुनु भएको छ ।

भक्तपुर नपा–१ र ३ मा नेमकिपा विजयी

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिका वडा नं. १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी हुनु भएको छ । सदस्यहरुमा कल्पना शिल्पकार, गंगालक्ष्मी वगनु, सूर्यप्रसाद श्रेष्ठ विजयी हुनु भएको छ ।

भक्तपुर नपा वडा नं. ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले २ हजार ४४० मत ल्याएर विजयी हुनु भएको छ । सदस्यहरुमा सुनिता अवाल, कृष्ण गोपा चगुठी र राजकुमार शिल्पकार विजयी हुनु भएको छ । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गर्नु भएको हो । मत गणना जारी रहेको छ ।

मध्यपुरथिमि–२ मा एमालेलेको बहुमत सदस्य विजयी

भक्तपुर, १ जेठ : मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनु भएको छ । उहाँले ९८८ मत प्राप्त गरि विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेको प्रकाश थापामगरले ८९४ मत प्राप्त गर्नु भएको छ । वडा सदस्यहरुमा भने नेकपा एमालेका रबिन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी हुनु भएको छ । वडा सदस्यमा काग्रेसका शेखर थापामगर विजयी हुनु भएको छ ।

नेकपा एमालेले एक सदस्य समेत जित्न नसकेको यो वडामा यस पटकको निर्वाचनमा एमालेले तीन वटा सदस्य जीत हासिल गरेर बहुमत कायम गरेको छ । एमालेले थिमिका कांग्रेसको पक्कड मानिएको ठाउँहरुमा आफ्नो जीत हासि गर्दै आउन थालेको छ । मध्यपुरको १ वडामा एक सदस्य र २ वडामा तीन सदस्य जित हासिल गर्नु एमालेको लागि ठूलै उपलब्धी मान्दै एमालेबाट मेयरका उम्मेदवार मदन सुन्दर श्रेष्ठले मध्यपुरथिमिमा एमालेको मत धेरै सुधार भएको उहाँले बताउनु भयो । आफ्नो भने प्रतिस्पर्धात्मक मत आइरहेको बताउनु भयो ।

मध्यपुरथिमीमा एमालेको इतिहास ब्रेक

भक्तपुर, ३१ बैशाख : नेपाली कांग्रेसले एमालेलाई क्लीन स्वीप गर्दै आएको मध्यपुरथिमी नगरपालिकामा वडा नं. १ मा एमालेले पहिलो पटक इतिहास ब्रेक गरेको छ । स्थानीय तहको मतगणनाको परिणाम आइरहदाँ यस वडामा पहिलो पटक एमालेका सदस्यले जीत हासिल गर्दै वडामा इन्ट्रि गर्ने मौका पाएको छ । गठबन्धनबाट उम्मेदवारी दिएका वडा सदस्यलाई पछि पार्दै एमालेबाट सदस्यमा उम्मेदवारी दिएका श्यामकृष्ण प्रजापति विजयी भए पछि पहिलो पटक यो वडामा एमालेले एमालेले इतिहास ब्रेक गर्दै इन्ट्रि गरेको हो ।

उक्त वडामा वडाध्यक्ष सहित अरु सदस्यमा विजयी हात पारेको कांग्रेसले यस वडामा गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सदस्य भने पराजित भएका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिनु भएका मदन सुन्दर श्रेष्ठले यो वडामा एमालेको एउटा सदस्यले मात्रै जीत हासि गरे पनि यसलाई इतिहास ब्रेकको रुपमा लिएको र एमालेको वडामा पहिलो इन्ट्रिलाई पनि एमालेले सफलताको रुपमा लिएको बताए ।

मध्यपुरथिमि–१ मा कांग्रेस विजयी

भक्तपुर, ३१ बैशाख । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस विजयी सुरुवात गरेको छ । मध्यपुरथिमि नगरपालिका वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसमा बाबुकाजी डंगोल १ हजार ७०६ मतले विजयी हुनु भएको हो । उहाँको प्रतिद्धन्द्धी नेकपा एमालेका कृष्णगोपाल प्याथले १ हजार २९० मत प्राप्त गर्नु भएको छ ।

त्यसै वडा सदस्यहरुमा कांग्रेसका कान्छाराम द्वारे, महिला सदस्य सरस्वती खड्का, दलित महिला सदस्य रिमा परियार विजयी हुनु भएको छ । गठबन्धनबाट उम्मेदवारी दिएका वडा सदस्यलाई पछि पार्दै एमालेबाट सदस्यमा श्यामकृष्ण प्रजापति विजयी हुनु भएको मध्यपुरथिमि निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।