गोकर्णेश्वरमा आयोजित ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आइतबार अन्तिम दिन भव्य समारोह

काठमाडौँ १७ बैशाख : नयाँ वर्ष २०८३ को अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्थाले काठमाडौंको गोकर्णमा आयोजना गरेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ अन्तिम दिन आइतबार चर्चित गायकगायिकाको बेजोड एव भव्य सांगीतिक प्रस्तुती रहने भएको छ ।
यहीँ वैशाख २४ गतेदेखि जेठ १७ गतेसम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा आयोजना भएको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ मा चर्चित गायकगायिकाको प्रसतूती भइसकेको र आईतबार अन्तिम दिन भव्य प्रस्तुती रहने भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।

यहाँका उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री सर्वसुलभ मूल्यमा उपलब्ध गराउने तथा स्थानीय प्रतिभाको खोजी गरि प्रतिभा पहिचान गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको उहाँले जानकारी दिनुभयो । गोकर्णमा भएको महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान–प्रविधि, अटोमोबाइल तथा विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी सुपथ मूल्यमा बिक्री भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बृद्धि गर्ने र पर्यटनको विकास गर्ने उदेश्य समेत रहेको महोत्सवमा पर्यटनसँग सम्बन्धित विविध गतिविधि पनि समेटिएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा दुई लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको जानकारी दिदै संस्थाका अध्यक्ष महतले महोत्सवमा आकर्षणका रूपमा एशियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ लगायत बालबालिकाकालाई मनोरञ्जन दिने खेल सामग्री, विविध खाना महोत्सव तथा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति राखिएको उहाँले बताउनुभयो ।

महोत्सवमा ‘प्रथम गोकर्णेश्वर डान्स आइडल’ प्रतियोगिताको समेत आयोजना गरिएको जानकारी दिदै उहाँले शिखर छहारी सांस्कृतिक कला केन्द्रको संयोजनमा प्रतियोगिता गरिएको बताउनुभयो । महोत्सवको मुख्य प्रवेशद्वार ‘लन्डन ब्रिज’ को स्वरुपमा निर्माण गरिएको र दर्शक तथा उपभोक्ताका लागि यो आकर्षण भएको बताउनुभयो ।
कुल १२० वटा स्टल रहेको महोत्सवमा स्थानीय उत्पादन तथा महिला उद्यमीहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको जानकारी दिदै गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा स्थानीय सीप, कला र उत्पादनलाई प्राथमिकता दिएर राखिएको बताउनुभयो ।

महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थी सहुलियतका लागि परिचयपत्र अनिवार्य गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरुबाट गीत, नृत्यलगायतका मनोरञ्जन प्रदान गरिएको बताउनुभयो ।
अन्तिम दिनको सांगीतिक कार्यक्रममा कमल विसी माल्दाई? समिना लो, विश्व नेपाली, चर्चित लोक गायक सानु केसी, अञ्जु सुनार, रमेश श्रेष्ठ मेलोडी, रमश श्रेष्ठ शिशिर, विनोद लामा, रेणु श्रेष्ठलगायतका गीत तथा नृत्यहरु प्रस्तुत गरिने भएको छ ।

स्वास्थ्य मन्त्री किरण थापाद्धारा गैसस भक्तपुरद्धारा प्रकाशित स्मारिका शुसासनको लोकार्पण

-नबराज काफ्ले
भक्तपुर, १६ जेठ : गैर सरकारी संस्था महासंघ ९गैसस० नेपाल, जिल्ला शाखा भक्तपुरको २१ औं साधारणसभा विभिन्न कार्यक्रमका साथ भव्यरूपमा सम्पन्न भएको छ। सभामा सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण, सुशासन स्मारिका विमोचन तथा नागरिक समाजको भूमिकाबारे गहन छलफल भएको छ ।

कार्यक्रमको सभापतित्व गैसस महासंघ भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले गर्नुभएको थियो भने वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा प्रमुख अतिथि वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालन सचिव लक्ष्मी कार्की अधिकारीले गर्नुभयो ।

कार्यक्रमको मुख्य आकर्षण भनेको अध्यक्ष अनिता पाण्डेद्वारा प्रमुख अतिथि मन्त्री किरण थापालाई सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण गरिनु थियो । सो पत्रमा उठाइएका मागहरूको कार्यान्वयनमा मन्त्री थापाले ठोस प्रतिबद्धता व्यक्त गर्नुभयो, जसलाई उपस्थित प्रतिनिधिहरूले सकारात्मक रूपमा स्वागत गरे ।

मन्त्री थापाले भन्नुभयो(गैरसरकारी संस्थाहरू राज्य र नागरिकबीचको महत्त्वपूर्ण सेतु हुन् । सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ र उठाइएका सवालहरूलाई प्राथमिकतामा राखिनेछ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले नागरिक समाजको भूमिकालाई सराहना गर्दै जिल्ला प्रशासन सँगको सहकार्यलाई थप प्रभावकारी बनाउन जोड दिनुभयो । उहाँले भन्नुभयो(गैसस महासंघले गैरसरकारी संस्थाहरूको समस्याहरू सरकार समक्ष पुर्‍याउने काम गर्दछ, यो अत्यन्त महत्त्वपूर्ण छ ।

गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टाराईले भक्तपुर शाखाको ऐतिहासिक यात्रा र अगामी कार्यदिशाबारे मार्गदर्शन गर्नुभयो । उहाँले देशभरका गैरसरकारी संस्थाहरू पारदर्शिता र जवाफदेहितासहित काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रमको अर्को विशेष पक्ष भनेको सुशासन स्मारिका विमोचन थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि तथा उपस्थित सम्पूर्ण महानुभावहरूको सामूहिक उपस्थितिमा स्मारिकाको विमोचन सम्पन्न भयो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो ।

सभापति अनिता पाण्डेले २१ वर्षको यात्रालाई स्मरण गर्दै संस्थाका उपलब्धिहरू प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, गैरसरकारी क्षेत्र केवल सेवा गर्ने माध्यम मात्र होइन, यो परिवर्तनको आवाज हो । आगामी दिनमा सामाजिक सुरक्षा, स्वास्थ्य अधिकार र सुशासनका लागि संस्था थप सक्रिय रहनेछ ।

कार्यक्रममा गैसस महासंघ भक्तपुरका सदस्य संस्थाका प्रतिनिधिहरूको उल्लेख्य संख्यामा उपस्थित रहेको थियो ।

सूर्यविनायकको हाट बजार : स्थानीय उत्पादनदेखि परिकारसम्म एसईई सम्मानदेखि सांगीतिक कार्यक्रमसम्ममा भीड
भक्तपुर, १६ जेठ : ‘दिगो विकास व्यवस्थित शहरस् स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाको आयोजना एवं वडा नं. ८ कार्यालयको व्यबस्थापनमा सिपाडोलमा आज भएको निःशुल्क घुम्ती हाट बजारमा उपभोक्ताको भीड लागेको छ ।  हाट बजारको उद्घाटन गर्दै वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगरले हाट बजारमा देखिएको उपभोक्ताको भीडले स्थानीय खाद्य उत्पादनदेखि घरेलु उत्पादनसम्मको बजार स्थानीयस्तरमै पर्याप्त रहेको पुष्टी गरेको बताउनुभयो ।
बजारलाई ब्यबस्थित गर्नसके बजार खोज्न टाढा जानु नपर्ने बताउदै उहाँले बिचौलिया बिनानै किसान, उत्पादनकर्ता र उपभोक्तालाई एकै थलोमा ल्याएर आर्थिक गतिबिधिलाई चलायनमान गराउन सहज हुने उहाँले बताउनुभयो ।
मन्त्री थापाले भक्तपुरलाई वागमति प्रदेशको स्वास्थ्य हव बनाउने गरि अगाडि बढेको बताउदै भक्तपुर अस्पतालमा न्यूरो सेवा सुरु गरेको र अब मुटु सेवा बिस्तार गर्न लागेको बताउदै सूर्यविनायक नगर अस्पताल र धादिङ्गको गजुरी अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको बताउनुभयो । उहाँले भक्तपुरको समग्र विकासलाई छुने गरि असासर १ गते वागमती प्रदेश सरकारले बजेट ल्याउने बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाको उपप्रमुख सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले स्थानीय कृषि तथा घरेलु उत्पादनलाई स्थानीयस्तरमै बजारको व्यबस्थापन गर्दै अर्गानिक कृषि तथा घरेल उद्योगको विकास गर्न नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको बताउनुभयो ।
नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले स्थानीय किसान र साना व्यवसायीलाई बजारसँग जोड्ने अभियान घुम्ती हाट बजारबाट सुरु गरेको बताउनुभयो ।
उहाँले नगरपालिकाले पहिलो चरणमा बालकोटको गोदावरी खोला किनारबाट सुरु गरेको घुम्ती हाट बजार दधिकोटको दक्षिण बाराही, गुण्डुको वडा कार्यालय, चित्तपोल वडा कार्यालयमा सम्पन्न गरि आज सिपाडोलमा सम्पन्न गरेको बताउनुभयो ।
वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीले नगरपालिकाले स्थानीय उत्पादनलाई बिचौलयाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरि नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रमका सभापति, वडा नं. ८ का वडाध्यक्ष एवं नगरपालिकाको आर्थिक विकास समिति संयोजक पुष्पराज बस्नेतले घुम्ती हाटबजारमा स्थानीय रैथाने अर्गानिक उत्पादनहरु, हरिया तरकारीहरु, गुन्द्रुक, सिन्की, मस्यौरा, जिम्बु, च्याउँ, कुरिलो, फूलका बिरुवाहरु, स्थानीय फलफूलका स्टलहरु राखिएको बताउनुभयो ।
उहाँले हाट बजारमा नेवारी खाजा सेट, योमरी, बारा, पानीपुरी, चटपटे, फास्टफुड, फुड स्टलहरू, नर्सरी, अचार, लसुन, सुत्केरी मसला, ड्राइफ्रुट्स, वाटेको धुप, वेसार, हर्बल सामग्रीहरू, हस्त कलाका गरगहना, मखमली जुत्ता, कपडाको कुसन कभर तथा घरेलु उद्योगका उत्पादनहरू गरि नगरपालिकाले निःशुल्क उपलब्ध गराएको ७० भन्दा बढी स्टलहरु राखिएको बताउनुभयो ।
कार्यक्रममा यसवर्ष एसईई परीक्षा उतीर्ण गरेका १०० भन्दा बढी विद्यार्थीलाई मन्त्री थापाले सम्मान पत्र प्रदान गर्नुभयो । दिउँसो ४ बजेदेखि हाट बजारमा सांगीतिक ब्याण्ड एवं चर्चित गायक मानस राजको विशेष प्रस्तुती सहितको सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।  नगरपालिकाले हाट बजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाट बजार सञ्चालन कार्यबिधी स्वीकृत गरि सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समिक्षा गरि वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्ने गरि तयारी गरेको उहाँले बताउनुभयो ।
दूईदिने औद्योगिक मेलाको आज पहिलो दिन १५ हजार भन्दा बढीको अवलोकन
भक्तपुर, १५ जेठ : हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन भन्ने नाराका साथ आजबाट भक्तपुरमा सुरु भएको दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ मा एकैदिन १५ हजार उपभोक्ताले अवलोकन गरेको छ ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा दुईदिने दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ को आज नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्घाटन गर्नु भयो । बैद्यले सरकारले युवा रोजगार प्रबद्र्धनमा महासघसग साझेदारीमा कार्यक्रम ल्याउनु पर्ने बताउदै उहाँले स्थानीय पालिकाहरुले युवा स्वरोजगारमूलक तालिमहरु महासंघ मार्फत सञ्चालन गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य रुकेश रंजितले भक्तपुरको कला, संस्कृति र पहिचानलाई मेलाले अझै उत्कृष्ठ बनाउने बताउदै मेलाबाट स्थानीयले लाभ लिन सक्ने बताउनुभयो ।
भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्याउने मेलाको उदेश्य रहेको संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले बताउनुभयो  ।
सांस्कृतिक एवं पर्यटकीय नगरी भक्तपुरको भक्तपुर औद्योगिक क्षेत्र परिसरमा दुई दिनसम्म आयोजना हुने मेलामा करिब ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा रहेको मेलाको संयोजक एवं संघका कोषाध्यक्ष रंजित मारिखुले जानकारी दिनुभयो ।
मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, नेपाली हाते एवं तानको तयारी पोशाक, बालबालिकाका खेलौना, छालाका सामानहरु, गरगहना, सौन्दर्य तथा श्रृंगारका सामग्री, मूर्ति तथा उपहारका सामग्री, लत्ताकपडा, जुत्ता, रैथाने तथा अर्गानिक खाद्य सामग्री, बालबालिकालाई मनोरञ्जनको लागि बाल उद्यान, इलेक्ट्रोनिक्स लगायत अन्य विविध सामग्रीहरुका ४८ वटा स्टल रहेको उहाँले बताउनुभयो ।
मेलामा स्थानीय खानाका स्टलहरु रहेको छभने हरे दिन साँझ ४ बजेबाट राती ८ बजेसम्म बिबिध साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको मेलाका मिडिया संयोजक ऋषिकेश श्रेष्ठले जानकारी दिनुभयो ।
मेलाका लक्षित आगन्तुकहरुमा विशेषगरी आन्तरिक तथा वाह्य पर्यटकहरु, दैनिक उपभोग्य सामग्रीका उपभोक्ताहरु, हस्तकला व्यवसायीहरु, थोक तथा खुद्रा व्यवसायीहरु, विभिन्न संघ संस्थाहरु, सरकारी निकायहरु, स्थानीय खानाका पारखीहरु, बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरु, विद्यार्थीहरु लगायत रहेका छन् ।
ज्येष्ठ नागरिक सेवा समाजलाई सुवालले गरे १ लाख १० हजारको चेक हस्तान्तरण

नवराज काफ्ले

भक्तपुर, १५ जेठ :  ज्येष्ठ नागरिकहरूको सम्मानजनक जीवनयापन र उनीहरूको हकहित संरक्षणका लागि संस्थागत पहल कदमी बढाउने उद्देश्यका साथ ‘संस्थागत जानकारी एवं सहयोग हस्तान्तरण कार्यक्रम’ सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिक सेवा समाज, नेपालको आयोजनामा भक्तपुरको सूर्यविनायक स्थित शुभकामना साकोसको सभाहलमा आयोजित उक्त विशेष कार्यक्रममा संस्थाका अध्यक्ष बालमुकुन्द सुवालले व्यक्तिगत तर्फबाट १ लाख १० हजार रुपैयाँको आर्थिक सहयोग घोषणा गर्दै चेक हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष सुवालको यस सराहनीय कार्यबाट प्रभावित भई कार्यक्रममा उपस्थित अन्य दाताहरूबाट समेत तत्कालै थप ९० हजार रुपैयाँ सहयोग संकलन भएको छ । कुल २ लाख रुपैयाँको यो सहयोग राशिले ज्येष्ठ नागरिकको कल्याणका लागि अन्य मनकारी व्यक्ति एवं संस्थाहरूलाई पनि सहयोग गर्न ठूलो ऊर्जा र प्रेरणा मिल्ने वातावरण तयार गरेको छ ।

ज्येष्ठ नागरिक सेवा समाज, नेपालका अध्यक्ष बालमुकुन्द सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष कृष्णेश्वरी हाडाले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्वहरू, बुद्धिजीवी एवं संस्थाका परिवारहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको एक महत्त्वपूर्ण सत्रमा वीर अस्पतालकी जेरियाट्रिक नर्स विशेषज्ञ (वृद्धवृद्धा स्वास्थ्य विशेषज्ञ) रती पक्वाङ्ग सुवालले सहभागीहरूलाई ज्येष्ठ नागरिकको वर्तमान अवस्था, उनीहरूको विशिष्ट स्वास्थ्य आवश्यकता र ‘डे-केयर सेन्टर’ (दिवा सेवा केन्द्र) को अपरिहार्यता बारे विस्तृत प्रशिक्षण दिनुभएको थियो । उहाँले उमेर ढल्किँदै जाँदा देखा पर्ने शारीरिक तथा मानसिक समस्याहरूलाई सम्बोधन गर्न र उनीहरूलाई एक्लोपनबाट बचाउन दिवा सेवा केन्द्रहरूले खेल्ने भूमिकाबारे प्रकाश पार्नुभयो ।

संस्था स्थापनाको मूल उद्देश्य ‘ज्येष्ठ नागरिकको सम्मानजनक जीवनको पहल’ रहेको जानकारी दिँदै कार्यक्रममा संस्थाको आगामी कार्ययोजनाहरू प्रस्तुत गरिएको थियो । जस अन्तर्गत सम्पूर्ण सुविधा सम्पन्न ज्येष्ठ नागरिक मैत्री भवन निर्माण गर्ने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र (डे-केयर सेन्टर) स्थापना गरी आवश्यक पूर्वाधार तथा सुविधाहरू उपलब्ध गराउने,समाजमा असहाय र कठिन परिस्थितिमा जीवन बिताइरहनुभएका ज्येष्ठ नागरिकहरूको उचित व्यवस्थापन गर्ने,उनीहरूको जीवनलाई सरल, सुखी र आध्यात्मिक बनाउन स्वास्थ्य शिविर, योगध्यान, धार्मिक प्रवचन तथा धार्मिक भ्रमण जस्ता सेवाहरू सञ्चालन गर्ने,यो सेवामूलक अभियानलाई काठमाडौँ उपत्यकामा मात्र सीमित नराखी देशव्यापी रूपमा विस्तार गर्ने लगायत रहेको संस्थाका अध्यक्ष सुवालले अवगत गराउनुभयो ।

कार्यक्रममा आमन्त्रित अतिथि वक्ताहरूले ज्येष्ठ नागरिक समाजले अघि सारेको कार्ययोजनाको प्रशंसा गर्दै आफ्ना महत्त्वपूर्ण धारणाहरू राख्नुभएको थियो । धारणा राख्ने क्रममा पातञ्जल योग समिति नेपालका महासचिव नबराज काफ्लेले ज्येष्ठ नागरिकहरूको सु-स्वास्थ्यका लागि योग र ध्यानको महत्त्व दर्शाउँदै भन्नुभयो-“उमेर बढ्दै जाँदा शरीर निष्क्रिय हुनु स्वाभाविक हो, तर योग र प्राणायामको माध्यमबाट उनीहरूलाई मानसिक रूपमा सवल र शारीरिक रूपमा चुस्त राख्न सकिन्छ । संस्थाले कार्ययोजनामा योगध्यानलाई समेट्नु स्वागतयोग्य छ र यसमा हाम्रो समिति सदैव सहकार्य गर्न तयार छ ।”

त्यसैगरी साझा प्रकाशनका पुर्व महाप्रबन्धक होम प्रसाद गौतमले ज्येष्ठ नागरिकहरू समाजका पथप्रदर्शक भएको चर्चा गर्दै भन्नुभयो-“ज्येष्ठ नागरिकहरूसँग अथाह ज्ञान र अनुभवको भण्डार हुन्छ । उनीहरूको अनुभवलाई राज्य र समाजले सही ढंगले उपयोग गर्न सक्नुपर्छ । अध्यक्ष सुवालले गर्नुभएको आर्थिक सहयोगले संस्थाको जग बलियो बनाउन ठूलो मद्दत पुग्नेछ र यसले अन्य क्षेत्रलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गर्नेछ ।”

कार्यक्रममा रासस भक्तपुर संवादाता रमेश गिरिले पत्रकारिताको दृष्टिकोणबाट विषयवस्तुको उठान गर्दै भन्नुभयो-“बदलिँदो सामाजिक परिवेशमा ज्येष्ठ नागरिकहरू अपहेलित र एकाङ्की बन्दै गएका समाचारहरू बढिरहेका छन् । यस्तो अवस्थामा ज्येष्ठ नागरिक सेवा समाजले चालेको यो कदम उदाहरणीय छ । मिडियाको तर्फबाट यस्ता पवित्र र सामाजिक अभियानहरूलाई नागरिकस्तरसम्म पुर्‍याउन हामी सधैँ प्रतिबद्ध छौँ र अन्य दाताहरूलाई पनि यस महायज्ञमा जोडिन आह्वान गर्दछौँ ।”

कार्यक्रममा ज्येष्ठ नागरिकहरूको जनसाङ्खीय अवस्था र यसले निम्त्याएका चुनौती एवं अवसरहरूमाथि पनि गम्भीर बहस भएको संस्थाका सदस्य बद्रीनारायण ताम्राकारले अवगत गराउनुभयो ।

संस्थाका सल्लाहकार विजेन्द्र ध्वजुले ज्येष्ठ नागरिकको राष्ट्रिय तथा अन्तरास्ट्रिय तथ्यांक प्रस्तुत गर्दै हाल विश्वभर ६० वर्षमाथिको जनसङ्ख्या करिब ९० करोड रहेको, अर्थात् प्रत्येक आठ जनामा एक व्यक्ति ज्येष्ठ नागरिक रहेको उल्लेख गर्नुभयो । उहाँले-यसको दुई तिहाइ हिस्सा विकासोन्मुख मुलुकहरूमा छ,सन् २०५० सम्ममा यो सङ्ख्या बढेर २ अर्ब (कुल जनसङ्ख्याको २२ प्रतिशत) पुग्ने अनुमान छ, नेपालको सन्दर्भमा कुल जनसङ्ख्याको १०.२ प्रतिशत अर्थात् करिब ३० लाख ज्येष्ठ नागरिकहरू रहेका छन् ,नेपालमा सामान्य जनसङ्ख्या वृद्धिदर ०.९३ रहँदा ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धिदर भने ३.१४ प्रतिशत हुनुले यो उमेर समूहको सङ्ख्या तीव्र रूपमा बढिरहेको तथ्यांकबाट स्पष्ट देखिएको अवगत गराउनुभयो ।

नागरिकहरूमा नयाँ किसिमका समस्या र आवश्यकताहरू देखा परेका छन् । एकल परिवारको लहर, वैदेशिक रोजगारी र बसाइँसराइका कारण धेरै ज्येष्ठ नागरिकहरू सहाराविहीन र एकाङ्की बन्दै गएका छन् । अन्तरपुस्ता अन्तर (जेनेरेसन ग्याप) बढ्नु, अधिकार सुरक्षित नहुनु, पूर्वाधार र दक्ष जनशक्तिको अभाव हुनु तथा सडकमा अलपत्र पर्ने ज्येष्ठ नागरिकको सङ्ख्या बढ्नुले राज्यको बजेट र स्वास्थ्य क्षेत्रमा लगानीको भार थपेको छ ।

ज्येष्ठ नागरिकहरू समस्या मात्र नभएर अवसर पनि हुन् । उनीहरूसँग भएको ज्ञान, सीप र अनुभवले देशलाई दक्ष जनशक्ति प्रदान गर्छ, जसलाई पुनर्निर्माण वा आपतकालीन समयमा उपयोग गर्न सकिन्छ । सामाजिक सद्भाव, एकता र संस्कृतिको संरक्षणमा उनीहरूको भूमिका अद्वितीय रहन्छ । निजी क्षेत्रले ज्येष्ठ नागरिक लक्षित उत्पादन र व्यवसायमा लगानी बढाएर नयाँ रोजगारी सिर्जना गर्न सक्छन् । उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउन ‘मेगा आयोजना’ हरूमा लगानीको वातावरण बनाउनु आजको आवश्यकता हो ।

कार्यक्रमको समापन गर्दै सभापति एवं अध्यक्ष बालमुकुन्द सुवालले आफूले उपलब्ध गराएको सहयोग एउटा सुरुवात मात्र भएको र ज्येष्ठ नागरिकहरूको लागि बन्ने मैत्री भवन तथा दिवा सेवा केन्द्रका लागि समाजका हरेक तप्काबाट थप भौतिक, नैतिक र आर्थिक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

शनिवार सूर्यविनायकमा निःशुल्क घुम्ती हाटबजार, उपभोक्ताका लागि सांगीतिक कार्यक्रम
====================================

वडाअध्यक्ष पुष्पराज बस्नेतले घुम्ती हाटबजारमा १०० भन्दा बढी एसईई परीक्षामा उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान समेत गरिने बताउनुभयो । हाट बजारलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन सांगीतिक ब्याण्ड एवं चर्चित गायक मानस राजको विशेष सांगीतिक प्रस्तुति रहने बताउदै उहाँले हाट बजारमा आउनेले मनोरञ्जनसमेत लिन पाउँने बताउनुभयो । 

=====================================
भक्तपुर, १५ जेठ : ‘दिगो विकास व्यवस्थित शहरस् स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नाराका साथ सूर्यविनायक नगरपालिकाको आयोजना एवं वडा नं. ८ कार्यालयको व्यबस्थापनमा सिपाडोलमा निःशुल्क घुम्ती हाट बजार सञ्चालन हुने भएको छ ।
हाट बजारबारे जानकारी दिदै वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको प्रत्येक सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने लक्ष्यसहित शनिवार सूर्यविनायक गणेश मन्दिर नजिकै सूर्यविनायक पार्टी प्यालेसमा  घुम्ती हाट बजार सञ्चालन गर्ने तयारी पुरा गरेको जानकारी दिनुभयो ।
स्थानीय उत्पादनलाई बिचौलयाको प्रभावबाट मुक्त गर्दै कृषक एवं उद्यमीले सिधै आफ्नै बजारमा पुर्याउने र आफ्नै मूल्यमा बिक्री गर्नेगरि नगरपालिकाले घुम्ती हाट बजार सञ्चालन गरेको वडा नं. ८ का वडाध्यक्ष एवं आर्थिक विकास समिति संयोजक पुष्पराज बस्नेतले बताउनुभयो ।
घुम्ती हाटबजारमा स्थानीय रैथाने अर्गानिक उत्पादनहरु, हरिया तरकारीहरु, गुन्द्रुक, सिन्की, मस्यौरा, जिम्बु, च्याउँ, कृषिको बिउँ बिजन, कम्पोष्ट मल, नेवारी खाजा सेट, योमरी, बारा, पानीपुरी, चटपटे, फास्टफुड, फुड स्टलहरू, नर्सरी, अचार, लसुन, सुत्केरी मसला, ड्राइफ्रुट्स, वाटेको धुप, वेसार, हर्बल सामग्रीहरू, कुरीलो, स्थानीय फलफूल, हस्तकलाका गरगहना, मखमली जुत्ता, कपडाको कुसन कभर तथा घरेलु उद्योगका उत्पादनहरू हाट बजारमा रहनेछ ।
हस्तकलाका सामग्रीहरुको ५५ भन्दा बढी स्टलहरू रहने बजारमा नर्सरी, विभिन्न प्रकारका फुड स्टलहरू हस्तकलाका सामग्री राखिने मेलामा हस्तकलाका गरगहना, मखमली जुत्ता, कपडाको कुसन कभर तथा घरेलु उद्योगका उत्पादनहरू राखने उहाँले बताउनुभयो ।
वडाअध्यक्ष बस्नेतले घुम्ती हाटबजारमा १०० भन्दा बढी एसईई परीक्षामा उतिर्ण विद्यार्थीलाई बधाई तथा सम्मान समेत गरिने बताउनुभयो । हाट बजारलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन सांगीतिक ब्याण्ड एवं चर्चित गायक मानस राजको विशेष सांगीतिक प्रस्तुति रहने बताउदै उहाँले हाट बजारमा आउनेले मनोरञ्जनसमेत लिन पाउँने बताउनुभयो ।
नगरपालिकाले हाट बजार सञ्चालन गर्न कार्यपालिका बैठकबाट हाट बजार सञ्चालन कार्यबिधी स्वीकृत गरि सञ्चालनमा ल्याएको र नगरपालिकाले पहिलो चरणको समिक्षा गरि वडावडामा हरेक साता शनिबार बजार सञ्चालन गर्ने गरि तयारी गरेको उहाँले बताउनुभयो ।
“परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८३” आयोजना
भक्तपुर, ८ जेठ : स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत सांगीतिक सम्पदाको संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिका वडा नं. ९ ले “परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ ।
आज प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष गणेश त्यातले प्रतियोगिता आगामी जेठ १६ गते शनिबार फैढोकामा आयोजना हुने बताउनुभयो ।
उहाँले प्राचीनकालदेखि विभिन्न जात्रा, पर्व तथा धार्मिक–सांस्कृतिक कार्यमा अनिवार्य रुपमा बजाईने बाँसुरी बाजाको विशेष महत्व रहेको चर्चा गर्दै वडा कार्यालयले संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेर वडा कार्यालयबाट विनियोजित रु. पाँच लाख बजेटमा प्रतियोगिता आयाजना गर्न लागेको बताउनुभयो ।
कार्यक्रम संयोजक रविन बासुकलाले आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीका कारण परम्परागत बाँसुरी बाजा लोप हुने अवस्थामा पुगेको भन्दै यसको संरक्षणका साथै नयाँ पुस्तालाई मौलिक बाजा संस्कृतिसँग जोड्न प्रतियोगितन सफल हुने बताउनुभयो ।  वडासदस्य कमला गिरीले स्थानीय कला, संस्कृति र सांगीतिक परम्परा समुदायको पहिचानसँग जोडिएको चर्चा गर्दै यस्ता प्रतियोगिताले सांस्कृतिक जागरण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
वडा सचिव सपना श्रेष्ठले बढीमा २० वटा टोली सहभागि हुने प्रतियोगितालाई सफल बनाउन विभिन्न ११ वटा उपसमिति गठन गरिएको जानकारी तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई प्रथम पुरस्कार स्वरूप रु. २५ हजार, द्वितीयलाई रु. १५ हजार, तृतीयलाई रु. १० हजार नगद तथा सान्त्वना पुरस्कारस्वरूप रु. ५ हजार र ट्रफी तथा प्रमाणपत्रसहित प्रदान गरिने संयोजक बासुकलाले बताउनुभयो ।
आयोजकले स्थानीय मौलिक कला, बाजा संस्कृति तथा रैथाने पहिचान संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताको प्रचार–प्रसारमा सहयोग गरिदिन सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ ।
सहभागी टोली दर्ताका लागि रु. १०० शुल्क तोकिएको छ भने दर्ता गर्ने अन्तिम मिति जेठ १३ गतेसम्म कायम गरिएको छ । बढीमा २० टोलीलाई मात्र सहभागिता गराइने र प्राथमिकता प्रि–बुकिङ तथा फाराम दर्ताका आधारमा दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रत्येक समूहमा कम्तीमा ९ जना र बढीमा १५ जना सहभागी हुनुपर्नेछ । कम्तीमा ७ जना बाँसुरीवादक अनिवार्य रहने तथा प्रत्येक समूहमा १ जना व्यवस्थापक वा गुरु हुनुपर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा मौलिक तथा परम्परागत धुन मात्रै प्रस्तुत गर्न पाइनेछ भने मिक्स धुन निषेध गरिएको छ ।
प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा स्थानीय मौलिक धुन प्रस्तुत गरिनेछ भने दोस्रो चरणमा गोलाप्रथाबाट छनोट गरिएको धुन बजाइनेछ । प्रत्येक टोलीलाई १० मिनेट समय प्रदान गरिनेछ । कार्यक्रममा मौलिक पोशाक अनिवार्य गरिएको छ भने मञ्चमा नृत्य प्रस्तुत गर्न नपाइने व्यवस्था गरिएको छ । निर्णायक मण्डलले प्रस्तुति, वाद्यवादन, सुर–लय तथा समय व्यवस्थापनका आधारमा १०० पूर्णाङ्कमा मूल्याङ्कन गर्नेछ ।
एमाले सचिवालय बैठकमा पार्टी र निर्वाचनको समिक्षा, बैठक भोली पुनः बस्ने
भक्तपुर, ८ जेठ : नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरुले समिक्षात्मक धारणा प्रस्तुत गर्नु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ बजे बसेको नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकमा ६ घण्टा भन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनकोबारेमा घनिभूत छलफल गरेको छ ।
साँझ बैठक पछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अबस्थासम्मको समग्र समीक्षा र निर्वाचनको समीक्षाकाबारेमा लामो छलफल गरि आफनो विचार राखेको बताउनुभयो ।
आजको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउदै नेताहरूको कार्यविभाजनको विषय आजको बैठकमा प्रवेश नपाएको जानकारी दिनुभयो ।  सचिवालयको अर्को बैठक भोलि बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष निवासमा पुनः बस्ने गरि निर्धारण भएको उहाँले जानकारी दिनुभयो ।
भक्तपुर अस्पताल देशभरकै उत्कष्ठ अस्पताल घोषणा
भक्तपुर, ७ जेष्ठ  : भक्तपुर अस्पताल आज देशभरीकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । सेकेण्डरी बी लेभलबाट सेकेण्डरी ए लेभलका अस्पतालहरुको  न्युनतम सेवा मापदण्डमा देशभरीका बी लेभका १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा भक्तपुर अस्पताल देशभरकीकै उत्कृष्ट अस्पताल आज घोषणा भएको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताउनुभयो ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्धारा गत जेठ ५ र ६ गते बिज्ञहरु सहित गरिएको न्युनतम सेवा मापदण्ड (एमएमएस) मुल्यांकन आज गरिएकोे मुल्यांकन समितिले आज भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा सार्वजनिक गरिे मुल्याकनमा ९३ प्रतिशत अंक प्राप्त गरि देशभरकै उत्कृष्ट अस्पताल घोषणा भएको हो ।
गतवर्ष उक्त अस्पतालले ९० अंक ल्याएर देशभरीमै उत्कृष्ट भएकोमा यसवर्ष  अस्पतालले यसवर्र्ष  ३ अंक सुधार गर्दै ९३ अंक ल्याएर देशभरीकै उत्कृष्ट भएको हो ।
आज अस्पतालमा आयोजित न्युनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिटको समिक्षा कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा.नरेन्द्र कुमार झाले अस्पतालका कर्मचारीहरुको लगनशीलता र मिहनेनतले भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पताललाई विशिष्टकृत गर्दै लैजाने बताउदै अस्पतालमा न्युरो सर्जरीको लागि स्तोरन्नती गर्ने प्रयास भइरहेको बताउदै अस्पतालमा अझै सेवा र सुबिधा थप गर्ने बताउनुभयो ।
भक्तपुरमा स्टार्टअप र नवप्रर्वतन उद्यमी विकास सम्मेलन एवं प्रर्दशनी सम्पन्न
भक्तपुर, ३ जेठ : भक्तपुरमा वागमति प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ ।  भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा वागमति प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा आज भक्तपुरमा सम्पन्न सम्मेलनमा युवा उद्यमीहरुले उद्योगको विकास र रोजगारीको अवसर सृजनाकोबारेमा बृहत छलफल भएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै वागमति प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले नवप्रवर्तन उद्यमी विकासमा प्रदेश सरकारले उद्योगीहरुसंग सहकार्य गर्ने गरि अगाडि बढ्न तयार रहेको बताउनुभयो । उहाँले युवा उद्यमीहरुको विकासका लागि प्रदेश सरकारले आवश्पक सहकार्य गर्न तयार रहेको बताउदै युवा पुस्तालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि स्वदेशमै रोजगारीको वातावरण बनाउन उद्यमीहरु लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासंघ वागमति प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ भक्तपुरका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिलगायतले नयाँ उद्यमीका विकासमा तीन तहकै सरकारले सहकार्यका नीति ल्याउँदै दिगो उद्योग व्यबस्थापनका लागि सहयोग गर्नु पर्ने बताउनुभयो ।
सम्मेलनमा वागमति प्रदेश भित्रका ५०० भन्दा बढी युवा उद्यमी तथा व्यवसायीहरु सहभागिता रहेको बताउदै युवा उद्यमीको विकास र नयाँ उद्यमीको प्रवर्दनको अभियान सम्मेलनले सुरु गरेको युवा उद्यमी उपसमितिका संयोजक एवं सम्मेलनका संयोजक कृतन अवालले बताउनुभयो ।  एक व्यवसायीले सुरु गरेको व्यवसायलाई नै अरुले कपि गरेर एउटै व्यवसाय धेरैले सञ्चालन गर्ने प्रबृत्तिको अन्त्य गरि बजारको आवश्यकताको पहिचान गरेर फरक फरक व्यवसाय एवं उद्योग सञ्चालनमा लाग्नु पर्ने सम्मेलनको निष्कर्ष रहेको उहाँले बताउनुभयो ।
सम्मेलनले स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिका विकास, यवा उद्यामशीलतालाई प्रवद्र्धन, लगानी तथा वजार पहुँच विस्तार, नीति समन्वय एवं नप्रवर्तन मैत्री वातावरण निर्माण गनेैबारेमा सम्मेलनमा छलफल भएको भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले बताउनुभयो ।
सम्मेलनमा प्यानल डिस्कसन, फाउण्डर स्टोरी सेसन, स्टार्टअप प्रदर्शनी तथा पिच डेक सेसनको समेत आयोजना गरि उद्योगको विकासकाबारेमा व्यापक छलmल गरेको थियो ।
बिज्ञहरुको रुपमा सुबास शर्मा, विनायक शाह, डा. प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, बलराम सञ्जेल र सुगारिका केसीले प्यानल छलफल गरि उद्योगको नयाँ मोडलहरुकोबारेमा चर्चा गर्नु भएको थियो ।
सफल उद्यमीहरूले आफ्नो उद्यम यात्रा, संघर्ष, सिकाइ र सफलताका अनुभवहरू प्रस्तुत गर्नु भएको थियो भने सैफ गौचन, श्रीया गिरी, सन्तोष पाण्डेय, निष्ठा कायस्थ, केश्मा थापालगायतले आफ्नो व्यवसायिक अवधारणा तथा स्टार्टअप योजनाहरू विज्ञहरूको समूहसमक्ष प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा विभिन्न स्टार्टअप तथा नवप्रवर्तन उद्यमद्वारा उत्पादित सेवा तथा वस्तुहरूको ३० वटा स्टल राखेर प्रदर्शनी गरिएको उपसमितिका संयोजक अवालले जानकारी दिनुभयो ।
यसैगरी, संघले यहीँ जेठ १५ र १६ गते दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ आयोजन ागर्ने भएको छ । ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर नगरपालिकास्थित भक्तपुर औद्योगिक क्षेत्र परिसरमा मेला सञ्चालन गर्ने कार्यक्रममा जानकारी दिएको हो ।