१९ औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो

हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ नेपालले बङ्लादेशसित बराबरी खेलेको छ । नेपाल र बङ्लादेश दुवैले एक एक गोलको बराबरी खेलेका हुन् ।

नेपालका लागि रेखा पौडेलले गोल गरेकी हुन् । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टरमा पौडेलले खेलको ८३औँ मिनेटमा गोल गरेकी हुन् । सावित्रा भण्डारीले दिएको पासमा उनले गोल गरिन् । मध्यान्तर अघिको खेलमा बङ्लादेशले एक गोल गर्दै अग्रता लिएको थियो । उसका लागि खेलको ४४औँ मिनेटमा सविना खातुनले गोल गरिन् ।

समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलेका थिए । नेपाल र बङ्लादेश यसअघि खेलेका आफ्ना दुवै खेलमा पराजित भएका थिए । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो । यस्तै बङ्लादेश पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसित ६–१ गोलअन्तरले पराजित भएको थियो ।

एसिया कप क्रिकेट :पाकिस्तानले टस जित्यो
काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । यससँगै नेपालले अब पहिला फिल्डिङ गर्नेछ ।
नेपालले पहिलो पटक विश्व क्रिकेट वरियताको नम्बर १ टोली पाकिस्तानसँग खेल्न लागेको हो । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टी–२० विश्वकप विजेता टोली हो ।
पाकिस्तानको प्लेइङ–११ मा फखार जमान, इमाम उल हक, बाबर आजम ९कप्तान०, मोहम्मद रिजवान, सादब खान, मोहम्मद नवाज, अघा अली सलमान, इफ्तिखर अहमद, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन् ।
नेपाली टोलीमा भने कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन् ।
भक्तपुरका विद्यालयहरुमा अब पढाई र खेलकुद सँगसँगै सञ्चालन
भक्तपुर, ८ साउन । भक्तपुरका विद्यालयहरुले अब विद्यार्थीलाई पढाईसँगै बिभिन्न खेलका प्रशिक्षण दिदै खेलकुदको बिकास गर्ने भएको छ ।
प्याव्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले आज उहाँ आयोजना गरेको ‘हामी विद्यालय अभियान अन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित’ विषयक अन्तरक्रिया कार्यक्रममा प्याब्सन र समितिले स्कुलस्कुलमा खेलकुद प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको हो ।
खेल गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाए उनीहरुको पढाई बिग्रिन्छ भन्ने अभिभावक र शिक्षक, प्रिन्सिपलको मान्यतालाई चिर्दै, विद्यार्थीहरुलाई खेलसँगै पढाई पनि राम्रो बनाउन सकिने र विद्यार्थीमा बढ्दो मोवाइलको लत हटाउन सकिने कार्यक्रममा सहभागि खेल प्रशिक्षकहरुले बताएका छन् ।
विद्यार्थीलाई विद्यालयमा खेलकुदप्रति अभिप्रेरित गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हेतुले प्याब्सन एवं खेलकुद विकास समितिको पहलमा विद्यालय तहबाटै खेलकुदमा सहभागि गराउन प्रशिक्षण दिने भएको हो । कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले राजधानीसँगै जोडिएको भक्तपुरमा एउटा राम्रो खेल मैदान र कबर्ड हल समेत नहुदा खेल गतिविधि आयोजना गर्न कठिनाइ भएको उहाँले बताउनु भयो ।
विद्यालय तहबाट उत्पादित उत्कृष्ठ खेलाडीहरु विद्यालय तहको अध्ययन सकेपछि खेलकुदमा भविष्य नदेखेर पलायन हुने अबस्था रहेकाले खेलाडीको भविष्य सुनिश्चित हुने वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयोे ।
विद्यालयमा खेलकुद विकासका लागि समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउदै समितिका अध्यक्ष थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा समेत विद्यार्थीलाई सहभागि जनाउन स्कुलहरुलाई प्रशिक्षकहरुको व्यबस्था समितिले गर्ने बताउनुभयो ।
प्याव्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरुमा खेलकुद विकास प्रशिक्षणका लागि बिभिन्न समस्याहरु भने रहेको बताउनुभयो । खेलकुद प्रशिक्षणका लागि एउटै स्कुलले धेरै जना प्रशिक्षक राख्नुपर्ने, खेल सिक्नेक्रममा विद्यार्थी घाइते हुँदा उपचारसमेत विद्यालयले गर्नुपर्ने तर त्यसको लागि आर्थिक भार थपिने भएकाले विद्यालय आफैले सबै प्रशिक्षक एवं उपचारको व्यबस्थापन भने गर्न नसक्ने बताउन भयो ।
मध्यपुरथिमि नगरप्याब्सनका अध्यक्ष निलेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने तर त्यस अनुसारको प्रशिक्षक राख्न नसकिने अवस्था रहेकाले विद्यार्थीहरुलाई प्रशिक्षकको व्यबसथा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले भक्तपुरमा राष्ट्रिय अन्तर्राष्ट्रिय मेडल प्राप्त धेरै खेलाडीहरु भएपनि तिनीहरुको पहिचान र संरक्षण गर्न नसकेको चर्चा गर्दै खेलकूद क्षेत्रमा बढी सक्रिय हुने समय विद्यालय तहमै खेल विकासका पूर्वाधार र तालिमहरुको आवश्यकतामा जोड दिएका थिए ।
विद्यार्थीहरुलाई खेलकूदमा आकर्षित गर्दै पढाई पनि राम्रो बनाएको उदाहरण धेरै रहेको भन्दै कवड्डी खेलका प्रशिक्षक पशुपति प्रजापतिले कवर्डी खेल प्रशिक्षण दिन चाहने विद्यालयलाई भक्तपुर जिल्ला कवड््डी संघबाट प्रशिक्षिक उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलका प्रिन्सिपलहरुले विद्यालयमा बिभिन्न खेलको प्रशिक्षण सञ्चालन गर्ने बताएका थिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

चितवन, ५ चैत  : भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताउनुभयो ।

धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ । भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो ।

उहाँले भन्नुभयो, “रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि वढाउन ढिलाइ भएको हो ।” खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ । सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ । दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर सङ्घीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ ।

यो रङ्गशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री हुनुहुन्छ । जिल्लामा रङ्गशाला स्थापनाकालदेखि नै उहाँको पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पु¥याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ । तिर्नुपर्ने भुक्तानीको टुङ्गो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो । निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो । विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ ।

फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ । सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेल बताउनुहुन्छ । रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रङ्गशाला निर्माणको काम रोकिएको हो । निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो । महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ ।

नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौँ, २ चैत  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा बधाई दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ ।

“लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई”, प्रधानमन्त्री दाहालले भन्नुभएको छ ।

नेपाल खेलकुद महासंघले पायो पूर्णता, अध्यक्षसहित सबै पदाधिकारी सर्वसम्मत

काठमाडौं । नेपाल खेलकुद महासंघको दोस्रो अधिवेशनले पूर्णता पाएको छ । अध्यक्ष मण्डलले अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)को नेतृत्वमा १७ जना पदाधिकारी चयन गरेसँगै महासंघले पूर्णता पाएको हो । महासंघको अधिवेशन कोसी प्रदेशको विराटनगरमा फागुन ७ गते उद्घाटन भएको थियो । फागुन ७ मा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त कार्यक्रममा ३ दिन चलेको थियो । यही बीचमा महासंघका लुम्बिनी प्रदेश अर्घखाची जिल्लाको उपसचिव प्रकाश महतको मृत्यु भएपछि महासंघले केन्द्रीय कमिटी मात्र घोषणा गरेर बाँकी पदाधिकारी चयन गरेको थिएन ।

महतको शोक अवधि १३ दिनपछि मात्र बाँकी पदाधिकारीहरू चयन गर्ने गरी महासंघको इन्चार्ज गोकुल बास्कोटाको नेतृत्वमा टुङ्ग्याउने गरी थाती राखेको थियो । अध्यक्ष र कोषाध्यक्ष भने पहिले नै सर्वसम्मत भइसकेका थिए । उक्त निर्णयअनुसार शुक्रबार पार्टी अध्यक्ष ओलीको प्रमुख अतिथ्यमा अध्यक्ष मण्डलका अध्यक्ष भानुभक्त ढकाल, सदस्य रचना खड्का, सदस्य रमेश पौडेल लगायतको उपस्थितिमा महासंघको पदाधिकारी घोषणा गरेको हो ।

अध्यक्ष मण्डलले घोषणा गरेको महासंघ नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले सपथ ग्रहणसमेत गरेका छन् । १७५ जना केन्द्रीय कमिटी रहेका महासंघको उपाध्यक्षमा धर्म कुमार श्रेष्ठ, दिपेन्द्र प्रसाद दहाल, निरेशलाल सिंह, तिरणराज गौतम, सन्जु महर्जन र नन्दा बस्याल चयन भएका छन् । महासचिवमा धरम बहादुर लामा चयन भएका छन्। सचिवहरू तिर्थ बहादुर खड्का, बिष्णु चन्द, बिष्णु पुन, प्रनिर अधिकारी, प्रभुनारायण शिवाकोटी, शिवजी गुप्ता, विप्लव घोष, सन्तोष बान्तवा चयन हुँदा कोषाध्यक्ष उज्वल सुवेदी चयन भएका छन् । महासंघले विराटनगरमा महाधिवेशनको उद्घाटन गर्नुभन्दा पहिले काठमाडौंमा विभिन्न कार्यक्रम गरेको थियो ।

त्यस अवसरमा ‘केपी ओली रोड रेस’ कार्यक्रम आयोजना गरिएको थियो । जसमा विजेता महिला र पुरुषलाई जनही ५०—५० हजार पुरस्कार वितरण गरिएको थियो । भने दोस्रो स्थान हासिल गर्नेलाई ३० हजार र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कार वितरण गरिएको थियो । त्यस्तै राष्ट्रिय ब्याडमिन्टन संघले विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितासमेत आयोजना गरेको थियो । महाधिवेशनको पूर्वसन्ध्यामा साताव्यापी खेलकुद आयोजना गरेको महासंघले उद्घाटन समारोहमा समेत विभिन्न खेल प्रदर्शन गरेको थियो ।

बेलबारी गोल्डकप : सीवेस्ट बङ्गाललाई हराउँदै सिरहा विजयी

मोरङ, १६ कात्तिक (रासस) : पाँचौँ बेलबारी बुद्धएयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको दोस्रो प्रि–क्वार्टरफाइनल खेलमा एमएमएफ सीवेस्ट बङ्गाल भारतलाई १–३ गोलले हराउँदै सहलेस युथ क्लब सिरहा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा आज भएको प्रतियोगितामा भारत पहिलो खेलबाटै बाहिरिएको हो ।

सिराहासँगको प्रतिस्पर्धामा गोलको तालमेल मिलाउन नसक्नु भारतका लागि दुर्भाग्यपूर्ण बन्यो । बिहीबार हुने क्वार्टरफाइनल खेल झापाको रोलिङ क्लब धुलाबारी तथा आयोजक डाँगीहाट युथ क्लबबीच हुने प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले जानकारी दिनुभयो । यही कात्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरी १० वटा टिमको सहभागिता रहेको छ ।

अन्जनको ह्याट्रिकमा नेपालद्वारा बङ्गलादेश पराजित

काठमाडौँ, ११ असोज  : अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–१ गोलअन्तरले हराएको हो । नेपालले पहिलो हाफमा तीन गोल ग¥यो भने बङ्गलादेशलले खेलको दोस्रो हाफमा एक गोल फर्काएको थियो ।

नेपालको जितमा अन्जन विष्ट नायक बने । उनले नेपालका लागि ह्याट्रिक पूरा गरे । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विष्टले खेलको १८, २७ र ३८आँै मिनेटमा गोल गरे । विष्टले खेलको १८ औँ मिनेटमा नेपाललाई पहिलो अग्रता दिलाए । विमल घर्तीमगरको फ्रिकिक बललाई हेडरमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाएका हुन ।

त्यस्तै खेलको २७औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे । विशाल राईबाट आएको पासलाई तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाए पनि रिबाउन्ड बललाई अन्जनले गोलमा परिणत गर्दै नेपालको अग्रता दोब्बर बनाए । खेलको ३८औँ मिनेटमा विकास राईको फ्रिकिक बललाई सदुपयोग गर्दै विष्टले गोल गरे । उनको यस गोलसँगै नेपालको अग्रता तेब्बर भयो भने उनले ह्याट्रिक पूरा गरे ।

खेलको ५५औँ मिनेटमा बङ्गलादेशका सजाद हुसेनले सान्त्वना गोल फर्काए । नेपालका खेलाडी रोहित चन्दलाई बिट गर्दै हुसेनले उपलब्ध गराएको क्रस बललाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । खेलमा नेपाली टोलीका फरवार्ड विष्ट नै मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

मध्यपुरथिमि नगरपालिकाको आयोजनामा सानोठिमी खेल मैदानमा एक महिने लिग आज सुरु

भक्तपुर, ८ असोज : सानोठिमीस्थित खेल मैदानमा आजबाट एक महिने मध्यपुरथिमि वडाव्यापी लिग फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाको आयोजना तथा मध्यपुर युथ एशोसियसनको संयोजनमा सुरु भएको प्रतियोगिताको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले खेलाडीलाई बल हस्तान्तरण गर्दै सुरु गर्नु भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उदेश्यले मध्यपुरथिमि नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गरेर फुटबल खेलको हवको रुपमा नगरपालिकालाई बिकास गर्ने नगर पालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँले मध्यपुरथिमि नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने खेलकुद हवको रुपमा बिकास गर्ने लक्ष्यका साथ २०५६ सालपछि पहिलो पटक वडा लिग प्रतियोगिताको आयोजना गरेको बताउनु भयो । बिभिन्न खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर बिजेता सफल बिभिन्न खेलाडीहरुको नाम लिदै उहाँले मध्यपुरथिमि नगरपालिकाले सानोठिमी खेल मैदानमा पाँच हजार दर्शक अट्ने मिनि रंगशाला र कबर्ड हल बनाउने बताउनु भयो ।

मध्यपुर युथ एशोसियसनलाई ए डिभिजनमा पुर्याउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउदै यो प्रतियोगितामा उत्कृष्ट सबै वडाका खेलाडीलाई समेटर नगरपालिका आफ्नै फुटबल टिक बनाउने बताउनु भयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले फुटबललगायत बिभिन्न खेलको बिसका गर्ने उदेश्यले यस वर्ष ८० लाख बजेट विनियोजन गरेको बताउदै नगरपालिकाले अब हरेक वर्ष वडा लिगको आयोजना गर्ने बताउनु भयो । उहाँले सहभागी प्रत्येक टोलीलाई जर्सी र फुटबल उपलब्ध गराएको बताउदै प्रत्येक खेलाडीहरुको प्रति व्यक्ति रु. पाँच लाख बराबरको दुर्घटना बिमा गरिएको बताउनु भयो ।

मध्यपुरथिमिकाका स्थायी बासिन्दाको सहभागिता जनाउने गरि प्रत्येक वडाबाट एक–एक वटा टिम सहभागी गराई राउण्ड रोविन लिग अनुसार खेल खेलाइएको प्रतियोगिताका संयोजक एवं मध्यपुर युथ एशोसियसनका उपाध्यक्ष अष्टकुमार कवेँले बताउनु भयो । उहाँले कुल ३६ खेल हुने प्रतियोगितामा प्रत्येक टोलीले ८ खेल खेल्ने बताउदै यो प्रतियोगिताले मध्यपुरमा खेलकुदको बिकासमा ठूलो टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रमका सभापति एवं एशोसियसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगिताको विजेतालाई आकर्षक ट्रफिका साथै नगद दुई लाख ५० हजार रुपैंयाँ, दोस्रो हुनेलाई एक लाख २५ हजार र तेस्रो हुनेलाई ६० हजार नगद पुरस्कार तथा प्रतियोगिताको अनुशासित टोलीलाई नगद रु. २५ हजारसहित फेयरप्ले अवार्ड प्रदान गरिने जानकारी दिनु भयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद रु.२० हजार, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर र स्ट्राइकरले जनही नगद रु. १० हजार पुरस्कार प्रदान गरिने बताउदै उहाँले प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने जानकारी दिनु भयो ।
प्रतियोगिताका कुल अनुमानित लागत २५ लाख रहेकोमा नगरपालिकाले २० लाख रुपैया उपलब्ध गराएको छ भने बाँकी रकम स्थानीय बैंकहरुले सहयोग गर्ने भएको प्रतियोगिताका प्रचार प्रसार संयोजक हरिदास प्रजापतिले जानकारी दिनु भयो ।

कार्यक्रममा एशोसियसनका अध्यक्ष सिंहले नगर प्रमुख श्रेष्ठ, उपप्रमुख श्रेष्ठ, सबै वडाका वडाध्यक्ष, सहयोग गर्ने खेलाडी लगायत निकायलाई सम्मान गर्नु भएको थियो । कात्तिक ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज पहिलो दिन वडा नं. १ र ४ को टिमबीच भएको खेलमा वडा ४ को शून्यका बिरुद्ध वडा नं. १ ले दुई गोल गर्दै अग्रता लिएको छ ।

सरकार र प्रा डा केसीबीच १० बुँदे सहमति, अनशन अन्त्य

काठमाडौँ, ८ असोज :सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । आज साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेय र प्रा डा केसीबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिअनुसार आजैदेखि नै प्रा डा केसीले अनशन अन्त्य गर्नुभएको छ । उहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कुरुवा कैलालीका सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोड्नुभयो ।

सहमतिअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि देशभरिका सरकारी अस्पतालमा कम्तीमा हाल सञ्चालनमा रहेका श्यया सङ्ख्याअनुसार दरबन्दी कायम गर्ने, कैलालीको गेटास्थित मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा १८ मा स्वार्थ बाझिएमा निर्णय गर्न नहुने व्यवस्था रहेको र अब उप्रान्त नियुक्ति वा मनोनयन हुने व्यक्तिको स्वार्थको द्वन्द्व लागि गाह्रो नहुने कानुनी व्यवस्था थप गर्न संशोधनसम्बन्धी मस्यौदा तयारी गरी सरकारले आगामी संसद्को अधिवेशनमा पेश गर्नुपर्ने छ ।

प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको लागि मापदण्ड बनाइ पारदर्शी ढङ्गले गर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा ४७ बमोजिम चिकित्सासम्बन्धी शिक्षण संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थामा रुपान्तरण गर्ने सम्बन्धमा आवश्यक विषयमा ठोस रायसहितको प्रतिवेदन पेश गर्न चिकित्सा शिक्षा आयोगलाई लेखी पठाउने सहमति भएको छ ।

चिकित्सा शिक्षा आयोगको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको काम भइरहेकोले शीघ्र स्वीकृतिको प्रक्रिया अगाडि बढाउने र निःशुल्क स्नातकोत्तर कार्यक्रमका लागि आवश्यक बजेट आगामी आवदेखि आयोगका नाममा विनियोजन गर्ने, जलवायु सङ्कटका कारण उत्पन्न हुने जटिलता न्यूनीकरणका लागि तत्काल पेट्रोलियम पदार्थको खपत कम गर्न तथा दीर्घकालीन नेपाललाई निर्धारित लक्ष्य बमोजिम जिरो नेट कार्बन देश बनाउनका लागि स्वच्छ ऊर्जामा आधारित प्रविधिलाई प्रोत्साहन र प्रवद्र्धन गर्न आवश्यक नीतिगत तथा कानुनी प्रबन्ध गर्ने सहमति भएको उल्लेख छ । सहमति पत्रमा सहमतिमा उल्लेख भएका बुँदाको कार्यन्वयन सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायले कार्ययोजना बनाइ तत्काल कार्यान्वयनको प्रक्रियामाम लैजाने र सहमति अनुमोदनका लागि सहमति भए पश्चात सरकार मन्त्रिपरिषद्को बैठकसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख छ । स्वास्थ्य सुधारका विभिन्न माग राखी प्रा डा केसी कैलालीको धनगढीमा अनशन सुरु गर्नुभएको थियो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि यहीँ बिहीबार (असोज ६) गते उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँले १३औँ दिनमा अनशन तोड्नुभएको हो । –––