विरोधको सामना प्रतिरोध मार्फत गर्नुपर्छ : महेश बस्नेत

काठमाडाैँ, ४ मंसिर । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अवरोधकाे सामना प्रतिरोधमार्फत गर्नुपर्ने धारणा राख्नुभएकाे छ ।

स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजित अन्तरक्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै बस्नतेले एमाले आलाेचना सहने भए पनि अवराेध भने नसहने बताउनुभयाे । एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उहाँले कमजोरी भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तर बिना गल्ती अवरोध गरे प्रतिरोधमा उत्रिने पार्टीको सिद्धान्त रहेको उहाँले स्पष्ट पार्नुभयाे । ‘जहाँ अवरोध, त्यहाँ प्रतिरोध भन्ने सिद्धान्तसहित हामी अगाडि बढ्छौँ’, उहाँले भन्नुभयाे ।

जेन–जी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएका घटनाले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै बस्नेतले माइतिघरदेखि एभरेष्ट होटलसम्मकाे जेन–जी आन्दोलनप्रति एमालेले निरन्तर ध्यान दिँदै आएको र ती मागलाई जिम्मेवार रूपमा सम्बोधन गर्दै जाने बताउनुभयो। तर त्यस पछिका गतिविधि अपराधिक भएकाे उहाँकाे धारणा छ ।

उहाँले आन्दोलनका नाममा ‘आतंककारी गतिविधि’ गर्नेलाई समर्थन गर्न नसकिने स्पष्ट पार्दै सो घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको टिप्पणी गर्नुभयो। ‘निर्दोषले न्याय पाओस्, दोषी नछुटोस्, त्यसैले निष्पक्ष छानबिन होस्,’ उहाँले आग्रह गर्नुभयो।

बस्नेतका अनुसार अहिले सामाजिक सञ्जाल दुरुपयोग गरेर नेपाललाई अस्थिर बनाउन खोजिएको छ । अन्तर्राष्ट्रिय शक्तिहरूले नेपाललाई आफ्नो ‘खेल मैदान’ बनाउने प्रयास गरिरहेका उहाँकाे बुझाइ छ ।

उहाँका अनुसार स्थिर र जनपक्षीय सरकार बन्न नसक्दा देशमा शिक्षा, पूर्वाधार र समग्र विकासका धेरै योजनाहरू प्रभावित बनेका छन्। उहाँले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्र र भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य काम भएको उल्लेख गर्दै अहिले भने ‘जलाउने र ध्वस्त पार्ने’ गतिविधि बढी भएको बताउनुभयाे ।  ‘ठूला निर्माणका काम ओलीजीको कार्यकालमै भएका थिए,’ उहाँले स्मरण गराउनुभयो।

“घटना व्यवस्थापन र बाल संरक्षण प्रणाली कार्यान्वयन” विषयक विशेष छलफल कार्यक्रम सम्पन्न
काठमाडौं, ३ मङ्सिर : “हामी यौन दुव्र्यबहारमा परेका छौँ, हामी श्रम श्रोषणमा परेका छौँ, हामी घर, परिवार, विद्यालय, रोजगारदाता, सार्वजनिक यातायात, सडक कतै सुरक्षित छैनौ, न्याय र सुरक्षा खोज्न कहाँ जाऔँ सरकार ?”
आज अन्तर्राष्ट्रिय बाल दिवस–२०२५ को अवसरमा “मेरो दिन, मेरो अधिकार” भन्ने अन्तर्राष्ट्रिय नारा र “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार परिषद र सिबिसलगायत बिभिन्न राष्ट्रियस्तरका गैर–सरकारी संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न “घटना व्यवस्थापन र बाल संरक्षण प्रणाली कार्यान्वयन” विषयक विशेष छलफल कार्यक्रममा बालबालिकाको आवाजले सहभागिहरुलाई स्तब्ध बनायो ।
कार्यक्रममा सहभागि सरकारी अधिकारी एवं स्थानीय तहका बालकल्याण अधिकारीहरुलाई २५ संघसंस्थामा एवं बालक्लबमा आबद्ध बालबालिकाहरुको आवाजमा उठेका प्रश्नले बालबालिका घरदेखि सडकसम्म असुरक्षित रहेको प्रष्ट्यायो ।
कार्यक्रममा सिविसकी मनिता धरेलले यौन दुव्र्यबहारमा परेकी १४ वर्षीया बालिकाको हकमा जिल्ला अदालतले पीडकलाई १८ वर्षको कैद फैसला गरेपनि केहीदिन अगाडि उच्च अदालत पाटनले एक संस्थाले जोहरी दिएको बाहना बनाउँदै पीडकलाई सफाई दिएपछि अब बालिकाले न्याय खोज्न कहाँ जाने भन्दै प्रश्न गर्नुभयो ।
टोखा नगरपालिकाकी आशा नेपालकी सोनु थापाले भन्नुभयो, “आमाले पाँच बिवाह गरि, पाँच पतिबाट पाँच सन्तान भए, बालिकाको बाबु को हो थाहा छैन, मानव बेचबिखनमा परेकी बालिकाको उद्धार गरि संस्थामा राखेर अहिले १२ कक्षा पढ्दैछिन् तर स्थानीय तहले आमाको नाममा जन्म दर्ता गर्न नमान्दा समस्या आएको छ, अब न्याय खोज्न कहाँ जाने ?”
“आमाले अर्कैसंग गईन्, बाबुले अर्की बिहे गरे, एक बालिका मामाघरको आश्रयमा पुगिन । आर्थिक अबस्था कमजोर मामाको छोराको उपचार र बाच्ने आधार खोज्दै बालिका एक रेष्टुरेष्टमा काम गर्न पुगिन्, त्यहीँ एक नेताले डर, त्रास र उपचारको लोभ देखाएर दुव्र्यबहार गरे, उनी गर्भवती भईन्, अहिले शक्ति समूहमा आठ महिनाको बच्चासहित आश्रित छिन् तर पीडकलाई एकवर्ष वित्दा पनि पक्राउ गरिएको छैन, सुत्केरी बालिका र जन्मेको बालकको जन्म दर्तासमेत बनेन, अब परिचय र  न्याय खोज्न कहाँ जाने ?” बाला भट्टराईले गुनासो गर्नुभयो ।
कार्यक्रममा निस्किएका यस्ता आवाज त प्रतिनिधि पात्र मात्रै हुन् । बालक कृष्ण साहले सडकदेखि सार्वजनिक यातायातमा बालिका असुरक्षित रहेको, एकता बाल क्बलकी पासाङ्ग डोल्मा तामाङ्गले बस र आफू काम गर्ने पार्टी प्यालेसमा दुव्र्यबहार सहनु परेकोे, एकता बाल क्लबकै सोनिया तामाङ्गले जिविकोपार्जनका लागि रेष्टुरेष्टमा काम गर्दा शारीरिक, मानसिक र श्रम शोषण भएको भन्दै न्याय पाउन नसकेको गुनासो गर्नुभयो ।
बालहिंसा तथा दुव्र्यवहार रोकथाम, घटना व्यवस्थापन र नीतिगत सहकार्यकाबारेमा सरकारी निकायहरुसंग भएको छलफलमा राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकालले परिषद्मा आफू आएपछि ३५ वटा नागरिकता–सम्बन्धी समस्या समाधान गरेको बताउदै स्थानीय तहलाई दिएको अधिकारलाई टेकेर स्थानीयस्तरमै धेरै समस्या समाधान गर्न सकिने बताउनुभयो ।
वागमती प्रदेश बालअधिकार समितिका सदस्य प्रकाश खतिवडाले प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई बालश्रम, बालविाह मुक्त गरि बालमैत्री स्थानीय सरकार घोषणाको अभियान चलाएको बताउदै प्रत्येक वडा, विद्यालयमा गठन भएका बाल क्बलबाट समस्याका पहिचान गरि समाधानमा लैजानु पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले आमाबाबु बिहिन बालबालिकालाई मासिक दुई हजार र कोरोनामा बाबुआमा दुबै गुमाएका बालबालिकालाई मासिक रु. तीन हजार रकम स्थानीय तहमार्फत वितरण गरेको बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी बालकल्याण अधिकारी विजया सुवेदीले परिवारबाटै बलात्कारमा परेकी बालिकालाई न्याय दिन शक्ति समूहसंग मिलेर नगरपालिका अदालतमा लडिरहेको बताउनुभयो । टोखा नगरपालिककी बालकल्याण अधिकारी निर्जला रेग्मीले बालबालिका घर परिवारबाटै असुरक्षित रहेको भन्दै हजुरबुबाबाट बलात्कारमा परेकी नातिनीलाई बल्ल न्याय दिलाएपनि बालिका परिवारबाट बिहिस्कारमा परेको बताउनुभयो ।
ललितपुर महानगरपालिकाकी बालकल्याण अधिकारी सरिता महर्जनले सात वर्षकी छोरी पाँच वर्षदेखि आफ्नै बाबुबाटै दुव्र्यबहारमा परेकी बालिकालाई न्याय दिलाउन उनकै आमाले उजुरी दिन नमान्दा समस्या आएको सुनाउनुभयो ।
काठमाडौं महानगरपालिकी बालकल्याण अधिकारी विनिता शर्माले महानगरले यसवर्ष ८१ जना बालबालिकाको उद्धार गरेको, ३३ जनालाई महानगरको संरक्षणमा राखेको, ४७ जनालाई परिवारसंग पुर्नमिलन गराएकोे बताउदै आफ्नो स्थानीय तहमा बालअधिकार हननका घट्नानै घट्न नदिन कार्य गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाकी बालकल्याण अधिकारी सविना श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाकी सहायक महिला विकास अधिकृत विष्णुकुमारी बास्कोटा, बालबालिका खोतलास समन्वय केन्द्र (१०४) का सन्तोष चन्द लगायतले बालबालिकाको हक अधिकारका सम्बन्धमा कानूनी पाटोमा अझै चुनौती रहेको औल्याउँदै वडाबाट व्यबसथा अनुसारको सिफारिस उपलब्ध नगराउँदा पनि समस्याहरु आएको बताउनुभयो ।
बालिका जितिशा विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिविस बाल सल्लाहकार समितिका सचिव धिरेन्द्र बी.सी, गैर–सरकारी संस्था वोचकी कमला सुनारलगायत बाल अधिकारका क्षेत्रका कार्यरत संस्थाहरुका प्रतिनिधिहरुले सरकारले बाल संरक्षणका लागि सरकार, नागरिक समाज र सञ्जालहरुबीच सहकार्य आवश्यक रहेको औल्याउनुभयो ।
अन्तर्राष्ट्रिय सामराज्यवादीहरुले नङ्ग्रा गाडेका छन् : नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत

काठमाडौं, ३ मंसिर । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सरकारले ‘लोकतान्त्रिक व्यवस्थामाथिको नियोजित आक्रमण’ गरेको भन्दै कडा आपत्ति जनाउनुभएको छ।

प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बस्नेतले देशको वर्तमान अवस्था ‘अत्यन्त जटिल’ रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय शक्तिहरूले नेपालमा हस्तक्षेप बढाएको दाबी गर्नुभयो। राष्ट्रवाद र विकासको पक्षमा उभिएका भनि हिँड्ने केही शक्ति पनि छद्मरूपमा लोकतन्त्र समाप्त पार्ने खेलमा सक्रिय रहेको बस्नेतले बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेशको कार्यक्रममा सहभागी हुन बारा जान लाग्नु भएका पार्टी महासचिव शंकर पोखरेल तथा बस्नेतसहितका नेताहरू विमानस्थलतर्फ प्रस्थान गर्ने क्रममा जेनजी समूहका नाममा केही युवाले सिमरा विमानस्थलमा प्रदर्शन गरी काठमाडौँ–बारा उडान अवरुद्ध पारे पछि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले अहिले अन्तर्राष्ट्रिय सामराज्यवादीहरुले देशमा नङ्ग्रा गाडेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज देशको अवस्था जटिल छ, अन्तर्राष्ट्रिय सामराज्यवादीहरुले नङ्ग्रा गाडेका छन्, आफूलाई राष्ट्रवादी, विकासवादी र जनताको पक्षधर भन्ने शक्ति पनि छद्म भेषमा छन्, उनीहरूले यो लोकतन्त्रलाई समाप्त पार्न चाहेका छन्, विधिको शासन, दलीय व्यवस्था र राजनीतिक दललाई समाप्त नपारी आफ्नो राज हुँदैन भन्ने बुझेका छन् ।’

जेनजी समूहका नाममा देशलाई अस्थिर बनाउने गतिविधि भइरहेको कुरा दैनिक घटनाक्रमले पुष्टि गर्दै गएको उहाँले बताउनुभयो । हिजो एमालेले यो कुरा गर्दा गाली गर्नहरुले पनि दुई महिनाको बिचमा यो कुरा बुझेका उहाँको भनाइ छ । ‘सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको आडमा खच्चड चढेर हिँडेको छ, अहिलेको सरकारसँग पीडा बोकेका परिवार र घाइतेहरू समेत खुसी छैनन्, दलीय व्यवस्थाको विकल्पको रूपमा गैरदलीय र निरङ्कुशहरू शासनमा जाँदा देशको हविगत भएको छ’, बस्नेतले भन्नुभयो ।

दुर्गा प्रसाईँको मध्यराति भएको पक्राउ गलत भएको उल्लेख गर्दै उहाँले प्रसाईँले जेनजीका नाममा रहेको विदेशी चलखेलबारे खुलासा गरेकै कारण पक्राउ गरिएको दाबी गर्नुभयो। सरकार अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध उभिएको उहाँको भनाइ छ ।

सरकारको समग्र भूमिकामाथि प्रश्न उठाउँदै उहाँले हालको सरकारले आन्दोलनमा भएको आगजनी तथा तोडफोडका प्रमाण नष्ट गर्न खोजिरहेको बताउनुभयो । सरकारका प्रधानमन्त्री र मन्त्रीका व्यवहारबाट पीडित तथा घाइते परिवारहरू समेत असन्तुष्ट रहेका र दलीय व्यवस्थाको विकल्पका नाममा गैर दलीय निरङ्कुशता थोपर्ने खतरा बढेको उहाँको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हुँदा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले अन्तर्देशीय प्रसारण लाइनमा ४३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउँदै बस्नेतले डडेलधुराको रकम सारेर निकटका कम्पनीलाई फाइदा पुर्‍याउन धुलिखेलको सडकमा पैसा ल्याएको बताउनुभयो ।

त्यसै गरी रास्वपामा गएर उपाध्यक्ष हुँदै प्रधानमन्त्री बनेर सत्ता कब्जा गर्न खोजिएकोमा असफल भएपछि कुलमानले नयाँ दल घोषणा गर्ने तयारी गरेको उहाँको धारणा छ । यस अघि सुमना श्रेष्ठ, बालेन साह, सुधन गुरुङ लगायतलाई समेटेर दल बनाउने योजनामा पनि कुलमान असफल भएका बस्नेतले बताउनुभयो । कतै पनि सफल नभएपछि कुलमान अहिले उज्यालो नेपाल पार्टी दर्ता गर्न पुगेको बस्नेतको भनाइ छ । हिजो दल विरुद्ध कठोर टिप्पणी गर्नेहरू नै आज नयाँ पार्टी खोल्न आतुर हुनुले उनीहरूको सत्ता स्वार्थ प्रष्ट भएको बस्नेतको धारणा छ ।

सरकारले देशलाई जेनजी युवाका नाममा आतङ्कित बनाउने प्रयास गरिरहेको बताउँदै उहाँले प्रहरी प्रशासनको मनोबल अत्यन्त कमजोर रहेको टिप्पणी गर्नुभयो। सिमरा विमानस्थल बन्द हुनु २०–३० जनाको हल्लाले पनि महत्त्वपूर्ण संरचना ठप्प पार्ने स्थितिमा पुगेको उदाहरण रहेको बताउँदै बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकार देशमा अन्यौलता र अस्थिरता बढाउने उद्देश्यले गठन गरिएको दाबी गर्नुभयो। ‘स्टनबाजी गरेर देश चलाउन खोज्ने प्रवृत्तिले राज्यलाई ध्वस्त पार्दै छ, त्यसैले अब संसद् पुनर्स्थापना हुनु आवश्यक छ’, बस्नेतले भन्नुभयो ।

देश जोगाउन ‘राष्ट्रिय सुरक्षा फोर्स’ गठन गर्ने तयारी भइरहेको जानकारी दिँदै बस्नेतले मंसिर ६ गते एमालेले ठुलो सभा गर्दै सरकारलाई स्पष्ट राजनीतिक दबाब दिने बताउनुभयो। त्यो दबाबले कार्की नेतृत्वको सरकार ढल्ने उहाँले दाबी गर्नुभयो ।

पार्टीभित्र केही नेताहरू विरोधी शक्तिको लहैलहैमा लाग्नु अस्वीकार्य रहेको उल्लेख गर्दै उहाँले सबैले मिलेर पार्टी बलियो बनाउनुपर्ने र यस पटक अध्यक्षमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने धारणा प्रस्तुत गर्नुभयो।

राजनीतिक दलले कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारीसँग लाइन लगेर स्वीकृति लिनु नपर्ने बताउँदै बस्नेतले प्रमुख जिल्ला अधिकारीलाई जानकारी भइसकेको र आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘सरकार शान्तिपूर्ण कार्यक्रम गर्न दिन्छ भन्ने आशा राखेका छौँ, अहिले नै नकारात्मक पूर्वानुमान गर्नु हुँदैन, एमालेलाई रोक्न खोजेर रोकिने अवस्था छैन।’

मंसिर ६ गते एमालेले गर्ने शान्तिपूर्ण र्‍यालीकै माध्यमबाट ‘शान्तिपूर्ण प्रदर्शन कस्तो हुन्छ : केपी शर्मा ओली

काठमाडौं, मंसिर ३ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बारामा विमानस्थलमा तोडफोड गर्दै एमालेको सभा अवरुद्ध गर्न खोज्ने समूहलाई ‘जेनजी’का नाममा पहिचान गर्न खोजिए पनि उनीहरू वास्तविकतामा अपराधी, असामाजिक र राष्ट्र विरोधी भएको टिप्पणी गर्नुभएको छ।

बुधबार च्यासलमा आयोजित एमाले स्थानीय विकास विभागको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले बारामा देखिएको व्यवहारले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुर्‍याएको बताउनुभयो। ‘यी सामाजिक तत्त्व होइनन्, असामाजिक तत्त्व हुन् , अराष्ट्रिय, देशद्रोही तत्त्व हुन्,’ उहाँले कडा शब्दमा प्रतिक्रिया जनाउनुभयो।

उहाँले मंसिर ६ गते एमालेले गर्ने शान्तिपूर्ण र्‍यालीकै माध्यमबाट ‘शान्तिपूर्ण प्रदर्शन कस्तो हुन्छ’ भन्ने देखाइने उल्लेख गर्दै पछिल्लो समय लुटपाट, तोडफोड र आगजनीमै सीमित र्‍यालीहरूको अस्वाभाविकता बढ्दै गएको टिप्पणी गर्नुभयो।

राष्ट्रिय झण्डा फहराउने प्रतीक भएको बताउँदै उहाँले अपराध गर्ने समूहहरूले झण्डालाई ओढेर दुरुपयोग गरेको बताउनुभयो । झण्डा उनीहरूले आफ्नो पहिचानका लागि ओढेका ओलीको भनाइ छ ।

पार्टीभित्रको अनुशासन र ऐक्यबद्धताको सन्दर्भमा उहाँले हालको संवेदनशील राजनीतिक चरणमा सबै नेता–कार्यकर्ता एकढिक्का हुनुपर्नेमा जोड दिनुभयो। ‘केही साथीहरू अहिले विरोधीको लहैलहैमा लागेर अन्तरसंघर्ष भन्छन्, के हो अन्तरसंघर्ष भनेको ?’ उहाँले चेतावनी दिनुभयो।

देशका लागि लड्न सक्ने, दृढ सङ्कल्पका साथ अघि बढ्ने राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै उहाँले अहङ्कारमा भरिएका व्यक्तिहरूलाई थुपारेर देश बन्न नसक्ने टिप्पणी गर्नुभयो। ‘वृद्धाश्रम बनाएर पार्टी चल्दैन,’ उहाँले व्यङ्ग्य गर्दै भन्नुभयो।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति टिप्पणी गर्दै उहाँले ‘प्रचण्डका साथीहरू नै अहिले उहाँलाई घेरेर सिद्ध्याउने’ भन्दै वर्तमान राजनीतिक परिस्थितिमा सतर्क रहन आवश्यक रहेको बताउनुभयो।

उहाँले राजनीतिक दौडमा नचिप्लन नेताहरूलाई आग्रह गर्नुभयो । देश निर्माणको जिम्मेवारी सबैले आफ्नै पुस्ताकै हातले वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

भक्तपुर–ताथली–नालागढीँ २५ किलोमिटरको साइकलिङ एवं हाइकिङ उत्साहजनक सहभागि
भक्तपुर, ७ असार : नगरकोट भ्रमण वर्ष–२०८२ को अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र ओझेलमा परेका ऐतिहासिक सम्पदा एवं पर्यटकीय गन्तव्यबारे पर्यटकलाई आकर्षित गर्न आयोजना आज आयोजना गरेको साइकलिङ तथा हाइकिङ सुरु भएको छ ।
चाँगुनारायण नगरपालिका–९ स्थित श्रीदक्षिणकाली युवा समूहले आज भक्तपुरको ब्रम्हायणी मन्दिरमा आयोजना गरेको भक्तपुर–ताथली–नालागढीँ साइकलिङ तथा हाइकिङको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रिबन काटेर साईकल यात्रा सुरु गर्दै उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा खत्रीले चाँगुनारायण नगरपालिका क्षेत्र भित्र १ देखि ९ वटै वडामा रहेका ऐतिहासिक एवं धार्मिक सम्पदा, पर्यटकीय गन्तव्यका क्षेत्रहरुको प्रचार गर्ने र लुकेर रहेका सम्पदा एवं पर्यटकीय क्षेत्रको पहिचार, संरक्षण र उजागर गर्न नगरकोट भैमण वर्ष सफल हुने बताउनुभयो ।
आफ्नो ठाउँको विकास गर्न, आफु जन्मेको ठाउँको पहिचान बनाउदै पर्यटकीय क्षेत्रको रुपमा पहिचान गराउन युवाहरु लाग्नु पर्ने बताउदै उहाँले दक्षिणकाली युवा समूहजस्तै नमूना रुवमा सबै क्षेत्रका युवाहरु जागरुक भए विकास छिट्टै सम्भव हुने बताउनुभयो ।
आजको साइकल यात्राले चाँँगुनारायणका बिभिन्न ठाउँ, ताथली, नालागढीँ, टावर, ऐतिहासिक गढीलगायतको क्षेत्रमा पर्यटकीय पहिचान बनाउन सफल हुने बताउदै उहाँले सबैलाई यसैगरि लाग्न नगर प्रमुख खत्रीले आव्हान गर्नुभयो ।
कार्यक्रममा नगरकोट भ्रमण वर्ष–२०८२ को सचिवालयका बिज्ञ  डा. घनश्याम खतिवडाले अथाह पर्यटकीय गन्तव्य रहेको र पर्यटक प्रर्बद्धनमा अथाह सम्भावना रहेको चाँगुनारायण नगरपालिका क्षेत्रलाई पर्याप्त प्रचारप्रसार गर्दै पर्यटकीय गतिबिधि बढाउन सके ओझेलमा परेका गन्तव्यमा पनि पर्यटकको आगमन बढ्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं समूहका अध्यक्ष सुरेशराज गिरीले ओझेलमा परेको पर्यटकीय क्षेत्र ताथली, सुडाल, नालागढीँलगायतका बिभिन्न क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उदेश्यले आज आयोजना गरिएको साइकलिङ तथा हाइकिङ कार्यक्रम पर्यटकको आगमन बढाउने बताउनुभयो ।
भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाको सिमानामा रहेको ब्रम्हायणी मन्दिर परिसरबाट सुरु भएको साइकलिङ तथा हाइकिङ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा सहयोग पुर्याई पर्यटकलाई आकर्षित गर्न टेवा पुग्ने बताउनु भयो ।
भक्तपुर, काठमाडौं र ललितपुरलगायतका बिभिन्न क्षेत्रबाट सहभागि भएका २५० साइकल यात्रीको सहभागिता रहेको यात्रा ब्रम्हायणी मन्दिरबाट सुरु भई इथाचा–चुनदेवी मन्दिर, डाडाँपाटी–धाराकुलो फैडोका, कडेलापाला दक्षिणकाली मन्दिर,गिरी, बस्नेत, खड्का, छँुका टोल, देवी मा.वि. सौडोल–गँचा, माथिल्लो खड्का, बुढाथोकी टोल, गोेठाले चौर (बस्नेत स्टोर), ताथली पुल, नालाछाप चिलाउने घारी–अमलडोल (नाला मुम्बा, गुम्बा, पुजारीपाटी–चट्टान अभिलेख,  खावा भ्यू टावर, नाला भ्यू टावर,  कलससी–ठूली ब्रम्हायणी मन्दिर, सुडाल बनमाला, राउत, खत्री, खड्का टोल–विन्दबासिनी मन्दिर, साखकर्मी टोल, फैढोकामा आज अपरान्ह २५ किलोमिटर यात्रा सम्पन्न गरिने अध्यक्ष गिरीले बताउनुभयो ।
साइकलिङ तथा हाइकिङका व्यबस्थापक नविन बस्नेतले प्रत्येक सहभागिलाई ५० हजार बराबरको दूर्घटना बिमाको व्यबस्था गरिएको जानकारी दिदै साइकलिङ गर्दा हुने दुर्घटना वा स्वास्थ्य सेवाको लागि नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरिएको उहाँले बताउनुभयो । साइकलिङ तथा हाइकिङ यात्रामा बिभिन्न ठाउँमा यात्रीलाई स्वागत सत्कार गरिएको छ ।
भक्तपुरमै पहिलो पटक ‘फिस टनेल एक्स्पो २०८२’ सुरु
भक्तपुर, ६ असार. । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा आजबाट ‘फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोको आज भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घाटन गर्नुभयो ।
एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ । साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोमा नेपालमै दोश्रो पटक र भक्तपुरमै पहिलो पटक समुद्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो अनुभव हुने गरी फिस टनेल र सुनामी राइड सञ्चालनमा ल्याएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष महतले भन्नुभयो, “एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुकहरू चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रंगीचंगी समुद्री माछाहरू नजिकबाट हेर्न सक्नेछन् । टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको छ । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेहरुका लागि उचित गन्तव्य समेत रहको छ ।”
दुर्लभ तथा रंगीन समुद्रमा पाईने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुदै ल्याईएको छ । एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीहरूका लागि ज्ञानवर्धक तथा मनोरञ्जनात्मक माध्यम हुने अध्यक्ष महतले बताउनु भयो ।
समुद्री लहरजस्तै हल्लिएको अनुभूति हुने ‘सुनामी राइड’ एक्स्पोको अर्को आकर्षणको रुपमा रहेको छ । सुनामी राइडमा आगन्तुकहरूले वास्तविक सुनामीको धक्का महसुस गर्नेछन् ।
एक्स्पोमा बालबालिकादेखि युवा वर्ग लक्षित विभिन्न प्रकारका पिङहरु रोटे पिङ, कोलम्बस, ड्रागन राइड, जम्पिङ्गलगायतका बिभिन्न खेलहरुसमेत रहेको छ । साथै नेवारी खाजा, सम्बेबजीलगायत बिभिन्न खानाको परिकार,  गेम जोन र फोटो स्पटसमेतको एक्स्पोमा व्यबस्था गरिएको छ । प्रत्येक दिन एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।
कार्यक्रमको उद्घाटनमा सांसद थापाले यसप्रकारको एक्स्पो यहाँका बासिन्दाका लागि नौलो अनूभूति हुने बताउदै यसले आन्तरिक पर्यटनको प्रबद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने बताउनुभयो ।  स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन एक्स्पो सफल हुनेउहाँले बताउनुभयो ।
तीनदिने भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु
भक्तपुर, ६ असार. : भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आजदेखि तीनदिने भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सुरु भएको छ ।
भक्तपुरमा पर्यटन प्रबद्र्धन गर्ने, यहाँका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने, भक्तपुरको मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरु, माटोको भाडोहरु पौवा चित्रहरु, लत्ताकपडाहरु, बिभिन्न जातका बिरुवाहरु, खाद्यान्नहरुको प्रर्दशनी गरिएको संघका महासचिव नविन प्रजापतिले जानकारी दिनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले आजबाट सुरु भएको तीनदिने मेलामा करिव ५५ हजारले अवलोकन गर्ने अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।
मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, मेलामा स्थानीय खानाका स्टलहरु, रहेको महासचिव प्रजापतिले बताउनुभयो ।
स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्रकल, मूर्ति बनाउने कार्य प्रत्यक्ष रुपमा प्रदर्शनी हुने बताउदै उहाँले मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यानको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
मेलामा भक्तपुर, लगायत काभ्रे र काठमाडौंबाट आएका उद्यमीलगायतको ४५ वटा स्टर रहेको जानकारी दिदै संघका रुकेश रंजितले मेलामा रु. एक करोडसम्म बीमा व्यवस्था गरिएको बताउनुभयो । आज मेलास्थल कमलविनायकमा आयोजना गरेको उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले मेलाको उद्घाटन गर्नु भएको हो ।
विकास प्रहर र गजल गायक एवं संगीतकार राज सागरको ‘दशौँ एकल गजल साँझ–२०८२’ सम्पन्न
भक्तपुर, ५ असार ।
‘मुटु मेरो निकालेर छुन दिन्न तिमीलाई
अँगालेर लासमाथि रुन दिन्न तिमीलाई
सारा कथा व्यथा मेरो उपहार दिएको यो
गजलैमा मन बुझाऊ सुन दिन्न तिमीलाई ।’
साँझ ढल्किएर बाहिर अध्यारो छिप्पिदै गर्दा भक्तपुर दुवाकोटेको सिटी हलभित्र भने गजलको गुञ्जनले दर्शकदीर्घा नतमस्तक बन्दै थियो । भक्तपुरका युवा गजलकार विकास प्रहर र गजल गायक एवं संगीतकार राज सागरको ‘दशौँ एकल गजल साँझ–२०८२’ मा प्रहरले सामाजिक विकृति र विसङ्गतिको चिरफार, देशप्रेम, राजनीतिक, मानवतावादी तथा समसामयिक धारका शृङ्गारिक गजलमा वाचन गर्नु भएको थियो ।
त्रिपुरा न्यूजको आयोजना तथा डिजिटल प्रिन्ट लिंक, चाँगुनारायण नगरपालिकलगायतको समन्वयमा सम्पन्न गजल साँझमा गजलकार प्रहरले १० वटा गजल वाचन गर्नु भएको थियो ।
‘मेरै छेऊ बसिदिदाँ, मुटु पनि टाल्न सक्छु,
निरंकुश हृदयको, तिम्रो सत्ता ढाल्न सक्छु,
मलाई सम्झी देश एक्लै, रोयो भने एकान्तमा
विकासको बाटोतर्फ, पाइला मेरै चाल्न सक्छु’
गजलका पारखी, साहित्यकार, कलाकार, पत्रकारको जमघटकाबीच प्रहरले आफूले बिभिन्न कालखण्डमा रचना गरेको गजलहरु वाचन गर्नु भएको थियो भने गजल गायक तथा संगीतकार राज सागरले प्रहरका गजलमा संगीत भरेर १० वटा गजल गाउदा सहभागिहरु नतमस्तक भएका थिए ।
प्रहरले गजल वाचन र सागरले सुमधुर स्वरमा गुञ्जिएको गजलले साङ्गीतिक माहोललाई अझै तताएको थियो भने बाहिर दर्किएको पानीको आवाज मधुरो बन्नुका साथै छिप्पदो रातलाई भुलाउन सफल भएको थियो ।
राज सागले ‘अनायासै बाचा कसम तोड्यौ र त बौलाए म’, ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो’, ‘हाँसी हाँसी जिन्दगी यो बाँच्न कहाँ सजिलो छ’, ‘निसासिन्छ किन किन सास तिम्रो सहरमा’ लगायतको गजलहरु गाउदा दर्शकदीर्घा नकतमस्तक बनेको थियो । साहित्यिक जमघट तथा एकल साहित्यिक वाचन नगन्य रूपमा हुने गरेको भक्तपुरमा प्रहरको कार्यक्रममा भने उपत्यकाका स्रष्टा एवं गजल पारखीको सहभागिता रहेको थियो । नेपालको शैक्षिक प्रणाली र अस्थिर राजनीतिक क्रियाकलापले बेरोजगारी बढेको र युवा विदेशिएकामा प्रहरले चिन्ता व्यक्त गर्दै नेपालप्रतिको माया गजलमार्फत यसरी दर्साए ।
‘उब्जाएर बस्न पनि एक धुरको पाखो छैन
खाऊँ भने जागीर साथी, फरियाको नातो छैन
योग्यताको प्रमाणपत्र लत्याएर विदेशिन
मन लाग्छ तर त्यहाँ नेपालको माटो छैन ।’
राजनीति र युवाको विदेश मोहप्रति प्रति चोटिलो व्यङ्ग्य गर्दै प्रहरले वाचन गरेको यो गजललाई भने तालीले निकै सम्मान दिएको थियो ।
‘परदेशमा डेरा सर्दा छातीभरि दुख्छ देश,
बिना कसुर जेल पर्दा छातीभरि दुख्छ देश ।
पराइको उक्साहटमा भाइभाइको लडाइँले,
घरभित्रै भाइ मर्दा छातीभरि दुख्छ देश ।
कोट्याउँदै घाउ लगाउँदै छौ मल्हम,
फेरि भन्छ्यौ उल्टै भयो दुख्न अलि कम ।’
सागरका गजलमा ‘रक्तलाली पोतिएको अधर जाली तिम्रो, मुटु रेट्न छुरा ताक्ने नजर जाली तिम्रो’ लगायतले रात्रीकालिन माहौललाई निकै तताउन सफल भएको थिया् । कार्यक्रमको भक्तपुरका संघीय सांसद दूर्लभ थापाले उद्घाटन गर्नु भएको थियो ।  बेवारिसे शव व्यबस्थापन गर्दै आएका समाजसेवी विनय महतलाई कार्यक्रममा प्रहरले बेवारिसे शव व्यबथापनमा टेवा पुर्याउन नगद रु. ५० हजारसहित सम्मान गर्नु भएको थियो ।
सूर्यविनायकका मेयर थापालाई शेरबहादुरको सम्मान
भक्तपुर, २५ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सूर्यविनायक नगरपालिकाका प्रमुख वासदेव थापालाई सम्मान गर्नु भएको छ । आज भक्तपुरमा शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३ औँ स्मृति सभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा शालिक अनावरण कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका देउवाले नगर ्रमुख थापालाई सम्मान पत्र र बुद्धको मूर्ति प्रदान गर्दै सम्मान गर्नु भएको हो ।
प्रतिष्ठान भवन निर्माणको लागि नगरपालिकाले जग्गा प्रदान गर्नुका साथै प्रतिष्ठान भवन निमााको लागि नगरपालिकाले पटक पटक गरि रु. ४० लाख रुपैया सहयोग गरेको स्मरण गर्दै उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रममा काँग्रेस सभापति देउवाले सूर्यविनायकका मेयरले नगरपालिकाको बिकास समान रुपमा अगाडि बढाएको थाहा पाउँदा खुसी लागेको बताउनुभयो । काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधिले सूर्यविनायक नगरपालिकमा सशल शासन सञ्चालन भएको पुष्टी गरेको बताउदै सबलाई समान गरेर बिकासमा अगाडि सूर्यविनायकंग सिक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख थापाले जनताको मतबाट विजयी भएर नगर प्रमुख हुँदा आपूm एउटा पार्टीको मात्रै नभई सिंगो नगरवासीको मेयर भकाले कसैलाई पनि विभेद नगरी बिकास अगाडि बढाएको बताउनु भयो ।
उहाँले नगरपालिकामा एमाले र काँग्रेसबाट विजयी भएका जनप्रतिनिधिहरुले मिलेर विभेद नगरी समान रुपमा बिकासलाई अगाडि बढाएको र अधिकांश भौतिक बिकास गरेको, सडक, पुल भवन, शिक्षा, स्वास्थ्यमा नगरपालिकाले समान रुपमा बिकास गरेको बताउनुभयो ।  राधेश्याम जोन्छेँ प्रजातन्त्र प्राीतको योद्धा भएकाले उहाँको नाममा भवन निर्माणका लागि स्थानीय सरकारको हैसियतले सहयोग गरेको बतउनुभयो ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेष बहादुर कार्कीले भक्तपुर जिल्लाका सभापति दूर्लभ थपालाई एउटा मन्त्री दिलाईदिन आग्रह
भक्तपुर, २५ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासंग नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेष बहादुर कार्कीले भक्तपुर जिल्लाका सभापति दूर्लभ थपालाई एउटा मन्त्री दिलाईदिन आग्रह गर्नु भएको छ ।
आज सूर्यविनायकस्थित नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ को कार्यालयमा कार्यकर्ताहरुसंग अन्तरक्रिया गर्ने क्रममा सभापति भेषबहादुर कार्कीले भक्तपुरलाई एउटा मन्त्री दिलाइदिन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका काँग्रेस सभापति देउवालाई उहाँले भन्नुभयो, “सबै नेताले आफ्नो जिल्लामा मन्त्री लगिसके, हाम्रो जिल्लाले कहिले मन्त्री पाउँला, हामीलाई पनि अप्ठ्यारो भो सभापति ज्यू, हाम्रो जिल्लालाई एउटा मन्त्री दिलाईदिनु पर्यो ।”
उहाँको प्रस्तावमा सहमत जनाउँदै पार्टी सभापति देउवाले मन्त्री दिलाईदिने वचन दिनुभयो । त्यसो त प्रतिनिधिसभाको निर्वाचनको अगाडि मध्यपुरथिमिमा भएको भेलामा भक्तपुरमा सांसदमा विजयी भए मन्त्री दिलाईदिने वचन दिनभएको थियो । निर्वाचनमा एमालेका नेता महेश बस्नेतलाई पराजित गर्दै काँग्रेसबाट दूर्लभ थापा विजयी भएसंगै भक्तपुरका काँग्रेस नेताले दूर्लभ थापालाई मन्त्री बनाइदिन माग गर्दै आएका छन् ।
सभापति देउवाले भन्नुभयो, “काँग्रेसलाई बलियो बनाउँनस्, पार्टीका सदस्यहरुलाई समर्पण र एकताको भावनालाई मजबुत बनाएर अगाडि बढ्नुस् । काँग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि लाग्नुस् ।”
कार्यक्रममा काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधान मन्त्री बिमलेन्द्र निधि, भक्तपुर काँग्रेस सभापति दुर्लभ थापालगायतले विकासका लागि पनि भक्तपुरलाई मन्त्री
आवश्यक भएको औल्याउनु भएको थियो ।