खरिपाटीका सुकुम्वासी शिविरमा रहेका विरामीहरुको उपचार वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने
भक्तपुर, २४ वैशाख : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भक्तपुरका विभिन्न सुकुम्वासी शिविरमा राखिएकाहरुको उपचारको जिम्मा वागमती प्रदेश सरकारले लिने बताउनु भएको छ ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको सुकुम्वासी सेल्टरमा आज मुख्यमन्त्री बानियाँसहित स्वास्थ्य मन्त्री किरण थापा मगर, पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्री कञ्चन बादे श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमसहितको टोलीले सुकुम्वासी सेल्टरको अनुगन गरेको छ ।
सरकारले मनोहरा, बल्खु, माछापोखरी, बालाजुलगायतका ठाउँबाट ल्याएर राखिएको सेल्टरमा अनुगमनका क्रममा भक्तपुरका सेल्टरमा रहेका सुकुम्वासीहरुको स्वाथ्य उपचारको जिम्मा प्रदेश सरकारले लिने बताउनु भएको हो ।
सुकुम्वासीहरुसंग कुरा गर्दै मुख्य मन्त्री बानियाँले भन्नुभयो, ‘केन्द्रीय सरकारले छिटै तपाईहरुको स्थायी बसोबारको व्यबस्था गर्नेछ, तपाईहरु नआत्तिनुहोस्, तपाईहरुको निःशुल् स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ, त्यसको लागि आवश्यक बजेट हामी ब्यबस्थापन गर्छौ ।’ उहाँले प्रदेश सरकारको विपद व्यबस्थापनमा रहेको बजेटबाट सेल्टरमा रहेका सुकुम्वासीको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताउनु भयो ।
प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले असारसम्मका लागि आवश्यक पर्ने औषधिहरुको लिष्ट तार पारेर माग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र भक्तपुर अस्पताललाई निर्देशन दिदै सबैलाई निःशुल्क उपचारको व्यबस्था गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कसैले पनि उपचार नपाएको गुनासो सुन्न नपर्ने गरि सबै विरामी र दीर्घरोगीको उपचार गराउँनुस्, भक्तपुर अस्पतालमा आवश्यक परे भर्ना गरेर उपचार गर्नुस्, उपचारको जिम्मा हाम्रो पनि हो, बजेटको ब्यबस्थापन हामी गर्छौ ।’
अनुगमनमा पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले यहाँ रहेका २९ जना बालबालिकालाई नजिकैको श्रीकृष्ण माध्यमिक विद्यालयमा तत्काल पठ्न पाठनको व्यबस्था गर्ने बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकासंग समन्वय गरेर खरिपाटीमा रहेसम्म यहाँका बालबालिकालाई पठनपाठनको व्यबस्था मिलाउने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको सचिव डा. सुमित्रा गौतमले जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्कालाई दैनिक रुपमा सेल्टरमा चिकित्सकसहितको स्वास्थ्य टोली राखेर स्वास्थ्य परीक्षणलाई निरन्तरता दिन निर्देशन दिनुभयो ।
कार्यालयकी प्रमुख खड्काल्े मुख्यमन्त्रीसहितको टोलीलाई सेल्टरमा रहेका सुकुम्वासीहरुको बिभिन्न रोगको अबस्था, स्वास्थ्य शिविर सञ्चालन गरेको, निःशल्क औषधि वितरण गरेको, दैनिक सेवा प्रवाह गरेको जानकारी गराउनुभयो । उहाँले सेल्टरमा आँखा नदेख्ने, प्यारालाईसिस, स्ट्रोक, दीर्घ रोगीलगायतको धेरै विरामी रहेको र बिमामा नपर्ने मंहगा औषधि खानुपर्ने बिरामीहरुसमेत रहेको जानकारी गराउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले सेल्टरमा सरकारले गरेको व्यबस्था, खानेपानको व्यबस्थालगायतकोबारेमा जानकारी गराउनु भएको थियो ।
सरकारले खरिपाटीमा १५८ जना, मध्यपुरथिमि बोडेको कृषि विकास बैंकको तालिम कन्द्रमा ३९ जना र नगरकोटको खानेपानी तालिम केन्द्रमा ४६ जनालाई सेल्टरको रुपमा राखेर खाने र बस्ने ब्यबस्था गरेको छ ।
प्रदेश भाषा दिवस–२०८३ सम्पन्न, भाषा संग्रहालय खोल्ने मुख्य मन्त्री बानियाँको घोषणा
भक्तपुर, २४ वैशाख : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले वागमती प्रदेशका १३ जिल्लाका ११९ वटा स्थानीय तहले नेपाल (नेवारी) भाषा र तामाङ्ग भाषालाई व्यबहारिक रुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिनु भएको छ ।
आज वागमति प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले भक्तपुरमा आयोजना गरेको प्रदेश भाषा दिवस–२०८३ को उद्घाटन गर्दै उहाँले शौचालयदेखि पालिका तथा सार्वजनिक स्थलमा सबैले देख्नेगरि नेपाली भाषाको साथै नेपाल भाषा र तामाङ्ग भाषामा सूचना वा बोर्डहरु राख्न निर्देशन दिनु भएको हो ।
भाषा, कला, संस्कृतिको संरक्षणका लागि आवश्यक परे प्रदेश सरकारले बजेट थप गर्ने बताउदै उहाँले मातृभाषाको संरक्षणले मात्रै आफ्नो इतिहास, संस्कृति र पहिचानको संरक्षण हुने बताउनु भयो ।
काठमाडौं उपत्यकामा भाषा संग्रहालय स्थापना गर्नु पर्ने बताउदै मुख्य मन्त्री बानियाँले भन्नुभयो, ‘ईतिहास र सम्पदाका सहरको रुपमा रहेको काठमाडौं उपत्यकाको तीन जिल्ला भक्तपुर, काठमाडौं, ललितपुर मध्ये एक जिल्लामा नेवारी, तामाङ्गलगायत सबै जातजातीको भाषा, कला, संस्कृति, परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्न एउटासंग्रहालय निर्माण गर्नेछौं, त्यसका लागि आउँदो बजेटमा ब्यबस्थ ागर्नेछौं ।’
मुख्यमन्त्री बानियाले भाषा, साहित्य र संस्कृति क्षेत्रमा योगदान पुर्याएका नेवारी भाषा साहित्यकार डा. पुष्पराज राजकर्णिकार र तामाङ भाषा साहित्यमा योगदान पु¥याएका राजेन्द्र थोकरलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, शिक्षा सामाजिक विकास मन्त्री कञ्चनवादे श्रेष्ठ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल तामाङ घेदुङका महासचिव जगत डोङ, नेवा दे दबुका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, प्रदेश सचिव दिपेन्द्र सुवेदीलगायतले सबै भाषा, कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठले बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयनमा आएको दिनको सम्झनामा विगत तीन वर्षदेखि प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने निर्णय गरेकाले आजको कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
उहाँले आजको कार्यक्रममा भाषाका अभियन्ता भनिएकाहरुको अन्तिमसम्म सहभागिता नरहनुले अभियन्ताहरुको भाषाको संरक्षणको नारा कर्मकाण्डी हुने आशंका उब्जाएको बताउनुभयो ।
यसअघि भक्तपुर क्याम्पस अगाडि दुधपाटीबाट बिभिन्न जातजातिको बाजा एवं संस्कृति झल्कने प्रस्तुतीसहित प्रभातफेरि सुरु भई कमल विनायक हुँदै लान्चा फल्चा पुगी कार्यक्रम सम्पन्न भएको थियो । मुख्यमन्त्री बानियाले भाषा दिवसको अवसरमा स्मारिका विमोचन गर्नुभएको थियो भने भाषा दिवस कार्यक्रममा विभिन्न मौलिक बाजा र नाचहरू पनि प्रदर्शन गरिएको थियो ।
सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पुरा

भक्तपुर, २३ बैशाख । सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पुरा गरेको छ ।

सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा वैशाख २४ बिहिबारबाट सूर्यविनायक नगरपालिका वडा नं. ८ हेल्दी फुटसलमा आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो ।

बैशाख २४, २५ र २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको २६ गते अपरान्ह नगर प्रमुख वासुदेव थापाको प्रमुख आतित्थ्यतामा हुने समापन कार्यक्रममा विजयी टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रतियोगितामा जिल्ला भरिबाट २५ वटा टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिदै सदस्य सचिव थापाले प्रथम हुने टिमलाई नगद रु. ६० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा दाश्रो हुने टिमलाई रु.३० हजार, तेश्रो हुने टिमलई रु. २० हजार, सान्त्वना हुने टिमलाई रुं १० हजार नगद, शिल्ड, मेठल र प्रमाण प्रदान गरिने भएको छ ।

त्यस्तै उत्कृष्ठ खलाडीलाई रु. १० हजार, उत्कष्ठ गोलकिपरलाई रुं २० हजार, उच्च अर्थात सबभन्दा बढी गोलकर्तालाई रु. १० हजार नगद पुरस्कारसहित मेठल र प्रमाण पत्र प्रदान गरिने भएको छ । प्रतियोगिता २६ गते अपरान्ह पुरस्कार वितरण गरि सम्पन्न हने भएको छ ।

 

सिपाडोलमा ५० प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण सुरु, वडाध्यक्ष बस्नेतद्धारा ‘कवच सेनेटरी प्याड भेन्डिङ मेशिनको उद्घाटन
भक्तपुर, २३ बैशाख : सूर्यविनायक नगरपालिका–८ सिपाडोलले महिला तथा किशोरीहरूका लागि अनुदानमा सेनेटरी प्याड वितरण गर्न आज टोलटोलमा ‘कवच सेनेटरी प्याड भेन्डिङ मेसिन’ जडान गरेको छ ।
महिला तथा किशोरीको स्वास्थ्य, स्वच्छता र आत्मसम्मानका साथै गाउँमै सहज रुपमा आफैले मेशिनबाट सेनेटेरी प्याड लिन मिल्ने गरि मेशिन जडान गरि आजैबाट सञ्चालनमा ल्याएको सुनपा वडा नं. ८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
महिनावारीको समयमा हुने असुविधालाई कम गरी सुरक्षित वातावरण सुनिश्चित गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याएको मेशिनको आज उद्घाटन गरेसंगै महिला जनप्रतिनिधीले मेशिनबाट प्याड निकालेर मेशिनको प्रयोगबारे जानकारी गराउनु भएको थियो ।
वडाध्यक्ष बस्नेतले भन्नुभयो, ‘जिल्लामै पहिलो पटक हाम्रो वडामा यस प्रकारको मेशिन जडान गरेर स्थानीय महिला एवं किशोरीका लागि ५० प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण आजबाट सुरु गरेका छौं, अब पसल पसलमा गएर मंहगोमा किन्नु पर्दैन, पाँच रुपैयाँ मेशिनमा हाल्दा बजारमा १० रुपैया पर्ने सेनेटरी प्याड बाहिर निस्कन्छ ।’
वडा कार्यालयले प्याडको कूल मूल्यको आधा हिस्सा व्यहोर्ने निर्णय गरेको जानकारी दिदै उहाँले प्याड प्रयोगकर्ताले आधा मूल्यमा गुणस्तरीय सेनेटरी प्याड प्राप्त गर्न सक्ने बताउनुभयो ।
मेशिनमा पाँच रुपैया हाल्दा एक वटा, १० रुपैया हाल्दा दुई वटा र २० रुपैयाँ हाल्दा एकैपटक चारवटा प्याड निस्कन्छ । अभियानले आर्थिक रूपमा विपन्न किशोरी तथा महिलाहरूलाई ठूलो राहत पुग्ने विश्वास रहेको उहाँले जानकारी दिनुभयो ।
वडाले केही दिनभित्रै ‘कवच सेनेटरी प्याड भेन्डिङ मेसिन’ विकट क्षेत्रको रुपमा रहेको पाटीभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य चौकी पाटीभञ्ज्याङ र आशापुरी महिला बहुउदेश्यीय सहकारी भवनमा पनि जडान गरेर सेवा प्रवाह गर्ने वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।  सार्वजनिक स्थलहरूमा प्याडको सहज पहुँच सुनिश्चित गर्दै ’हरेक महिनावारी सुरक्षित’ बनाउन वडा कार्यालयले अभियानले सुरु गरेको हो ।
गोकर्णेश्वरमा भव्य रुपमा आयोजना हुदै ‘तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८३

काठमाडौँ २२ बैशाख : नयाँ वर्ष २०८३ को अवसर पारेर औद्योगिक शान्ति नेपाल संस्थाले काठमाडौंको गोकर्णमा आयोजना गर्न लागेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ को सम्पूर्ण तयारी पुरा गरेको छ ।

यहीँ वैशाख २४ गतेदेखि जेठ ९ गतेसम्म गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित हनुमान चोकमा आयोजना गर्न लागेको ‘तेस्रो गोकर्णेश्वर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८३’ को सम्पूर्ण तयारी पुरा भएको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।

यहाँका उपभोक्तालाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्री सर्वसुलभ मूल्यमा उपलब्ध गराउने तथा स्थानीय प्रतिभाको खोजी गरि प्रतिभा पहिचान गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो । गोकर्णमा हुने महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान–प्रविधि, अटोमोबाइल तथा विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी सुपथ मूल्यमा बिक्री गरिने छ ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बृद्धि गर्ने र पर्यटनको विकास गर्ने उदेश्य समेत रहेको महोत्सवमा पर्यटनसँग सम्बन्धित विविध गतिविधि पनि समेटिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा दुई लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिदै संस्थाका अध्यक्ष महतले महोत्सवमा आकर्षणका रूपमा एशियाकै उत्कृष्ट बाल उद्यान, रोटेपिङ, ड्रागन, ट्रेन, रेन्जर, नाउ लगायत बालबालिकाकालाई मनोरञ्जन दिने खेल सामग्री, विविध खाना महोत्सव तथा दैनिक रूपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति समेत रहने उहाँले बताउनुभयो ।

महोत्सवमा ‘प्रथम गोकर्णेश्वर डान्स आइडल’ प्रतियोगिताको समेत आयोजना गरिने जानकारी दिदै उहाँले शिखर छहारी सांस्कृतिक कला केन्द्रको संयाजनमा प्रतियोगिता गर्न गरि तयारी परा भएको जानकारी दिनुभयो । महोत्सवको मुख्य प्रवेशद्वार ‘लन्डन ब्रिज’ को स्वरुपमा निर्माण गरिने र दर्शक तथा उपभोक्ताका लागि यो आकर्षण हुने बताउनुभयो ।

कुल १२० वटा स्टल रहने महोत्सवमा स्थानीय उत्पादन तथा महिला उद्यमीहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको जानकारी दिदै गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा स्थानीय सीप, कला र उत्पादनलाई प्राथमिकता दिइनेछ ।

महोत्सवको प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने विद्यार्थी सहुलियतका लागि परिचयपत्र अनिवार्य गरिएको छ भने जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

दैनिक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरुबाट गीत, नृत्यलगायतका मनोरञ्जन प्रदान गरिने महोत्सवमा जेठ ८, ९ र १० गते विशेष कन्सर्ट आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

हुलाक कार्यालय भक्तपुरले अब जनताको घरदैलोमै राहदानी अर्थात पासपोर्ट पुर्याउने
भक्तपुर, २२ बैशाख : जिल्ला हुलाक कार्यालय भक्तपुरले अब जनताको घरदैलोमै राहदानी अर्थात पासपोर्ट पुर्याउने भएको छ । राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला हुलाक कार्यालय भक्तपुरकी प्रमुख सीता साम्बाले समझदारी पत्रमा हस्ताक्षर गरेसंगै “जनताको घरदैलो सेवा” सञ्चालनमा आएको हो । भक्तपुरमा अब राहदानी (पासपोर्ट) लिने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला हुलाक कार्यालयबीच भएको समझदारीअनुसार अब राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पु¥याइने भएको छ ।
प्रजिअ ढकालले नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत सरकारी सेवा सुधारसम्बन्धी कार्यक्रमअन्तर्गत “जनताको घरदैलो सेवा” अवधारणा लागू गर्दै अब हुलाक कार्यालयबाट जनताको घरदैलोमै राहदानी पुर्याउने व्यबस्था गरिएको बताउनुभयो ।  उहाँले राहदानी वितरणलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन र सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमै आउनु पर्ने बाध्यता अन्त्य गर्दै घरदैलो सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।
आज सम्झौता भएसंगै यो सेवा कार्यान्वयनमा आएको बताउदै प्रजिअ ढकालले सेवाग्राहीको राहदानी हुलाकका कर्मचारी मार्फत सुरक्षित रुपमा घरघरमा पुर्याइने बताउनुभयो ।
जिल्ला हुलाक कार्यालयकी प्रमुख साम्बाले सम्झौता कार्यान्वयनमा आइसकेको बताउदै भोली बुधबारबाट हुलाकको एक कर्मचारी जिल्ला प्रशासन कार्यालयमै बसेर फाराम भराउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जनताको घरदैलो सेवा स्वेच्छिक हो, जिल्ला प्रशासन कार्यालयमा लिन जान चाहनेले त्यही फाराम भर्नु पर्नेछ, हुलाकबाट लिन चाहनेले थप एउटा फाराम भर्नु पर्नेछ, घरघरमा पुर्याउनका लागि भने हुलाक ऐन अनुसार दस्तुर भने तिर्नुपर्नेछ ।’
राहदानी विभागबाट प्राप्त राहदानी जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट सेवाग्राहीको नाम, ठेगाना, सम्पर्क विवरणसहित जिल्ला हुलाक कार्यालयमा पठाईने र त्यसको एकसाता भित्र हुलाक कार्यालयले सेवाग्राहीको घरमै राहदानी पुर्याउने उहाँले जानकारी दिनुभयो ।  नियमानुसार यस सेवाका लागि लाग्ने हुलाक दस्तुर वापत रु. ५५ शुल्क भने सेवाग्राहीले आफैं व्यहोर्नु पर्ने उहाँले जानकारी दिनुभयो ।
सूर्यविनायक नगरपालिकाद्धारा प्यान, भ्याट लगायतका दर्ता तथा नविकरण सेवा सञ्चालन गर्दै
भक्तपुर, २२ बैशाख : आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट वितरण हुदै आएको स्थायी लेखा नम्बर (प्यान) अब भक्तपुरको सूर्यविनायक नगरपालिकाले वितरण गर्ने भएको छ ।
जनतालाई छिटो र छरितो रुपमा प्यानलगायतका कर सम्बन्धी कार्य गर्न सरकारको निर्देशनसंगै भक्तपुरमा पहिलो पटक सूर्यविनायक नगरवासीले प्यान नम्बर वितरणलगायतको सेवा गर्ने भएको हो ।  आन्तरिक राजस्व विभागको गतपुस २० गतेको निर्णयलाई कार्यान्वयनमा ल्याउन आन्तरिक राजस्व कार्यालय, भक्तपुर र सूर्यविनायक नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नगर प्रमुख वासुदेव थापाको कार्यकक्षमा एवं रोहबरमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्य र आन्तरिक राजश्व कार्यालय भक्तपुरकी प्रमुख कर अधिकृत उषा पोखरेलले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
हस्ताक्षर पछि नगर प्रमुख वासुदेव थापाले आन्तरिक राजस्व कार्यालयबाट प्रदान हुँदै आएका सेवाहरू सूर्यविनायक नगरपालिकाबाटै सहज रूपमा प्रदान गरिने बताउनुभयो ।  उहाँले समझदारीपत्रमा करदाता मैत्री सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउँदै नगरवासीले आवश्यक राजस्वसम्बन्धी सेवा अब नगरपालिकाले प्रदान गर्ने बताउनुभयो । सेवा सञ्चालनमा आएसंगै प्यान कार्ड लगायतका सामान्य कामका लागि आन्तरिक राजश्व कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको नगर प्रमुख थापाले बताउनुभयो ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले आन्तरिक राजस्व कार्यालयले नगरपालिकाका कर्मचारीलाई केही दिनमै तालिम प्रदान गरे लगत्तै नगरपालिकाले प्यान कार्डलगायत आन्तरिक राजस्व सम्बन्धी सेवा सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले तालिम पश्चात पालिकाबाट व्यक्तिगत प्यान, व्यावसायिक प्यान लिन सक्ने जानकारी दिदै नगरपालिकाले मूल्य अभिबृद्धि कर (भ्याट), अन्त शुल्क र कर चुक्ता सम्बन्धि प्रारम्भिक कागजात नगरपालिकामा पेशगरी नगरपालिकाले आन्तरिक राजश्व कार्यालयलाई अनलाईनमार्फत सिफारिस गर्ने बताउनुभयो ।
कार्यालयले कागजात, अनलाइनबटै जाँचगरी पुनः नगरपालिकामा पठाएपछि नगरपालिकाबाट प्रमाणपत्र जारी गर्ने प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिनुभयो ।  आयकरतर्फको कारोबार बन्द गर्न, करदाता विवरण संशोधन गर्न, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्न, कर चुक्ताका लागि सिफारिस गर्न र आन्तरिक राजस्व कार्यालयको समन्वयमा करदाता शिक्षासमेत अव नगरपालिकाले नै गर्ने उहाँले जानकारी दिनुभयो ।
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
भक्तपुर, २१ बैशाख : भक्तपुरमा आज बा.४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिदाँ एक भारतीय नागरिकको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरुप शर्माले जानकरी दिएको छ ।
काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घरभई बनेपा बस्दै आएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई भने प्रहरीले पक्राउ गरि घट्नाको थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयद्धारा खरिपाटीस्थित सुकुम्वासी सेल्टरमा स्वास्थ्य शिविर सञ्चालन
भक्तपुर, २१ बैशाख : सरकारले मनोहरा नदी किनारा, काठमाडौं माछापोखरी र बल्खु क्षेत्रका सुकुम्वासी बस्ती हटाएर त्यहाँबाट सारिएको सुकुम्वासीलाई अस्थायी सेल्टरको रुपमा राखिएको भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा आज स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
वागमति प्रदेश स्वास्थ्य मन्त्री किरण थापामगर र स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले तत्काल भक्तपुरका दुई सरकारी कार्यालयमा राखिएका सुकुम्वासीहरुको स्वास्थ्य परीक्षण एवं उपचार गर्न निर्देशन दिए लगत्तै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आज यहाँ स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा भक्तपुर अस्पतालको चिकित्सक, नर्स, प्राबिधिक टोली, तील गंगा आँखा अस्पतालको आँखा रोग बिशेषषसहितको टोलीद्धारा आज दिनभर स्वास्थय शिविर सञ्चालन गरि सेल्टरमा रहेका १५८ जनाको सबै रोगको स्वास्थ्य परीक्षण गरिएको जिल्ला जनस्वास्थ्य अधिकृत एवं कार्यालयकी प्रमुख अञ्जना खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रदेशको स्वास्थ्य मन्त्रालबाट मन्त्री किरण थापा र सचिव डा. सुमित्रा गौतमले तत्काल सरकारले राखेको सेल्टरमा गएर सुकुम्वासीको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिए पछि आज यहाँ रहेका सबै सुकुम्वासी बस्तीबाट सारिएकाहरु २६ जना बालबालिकासहित १५८ जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेका छौ ।’
शिविरमा घाँटीमा प्वाल पारेर उपचार गराईरहेका आठ वर्षीय बालक, घाउँमा नियमित ड्रेसिङ्ग गर्नुपर्ने विरामी, प्यारालाईसिस भएका जेष्ठ नागरिक, दृष्टिबिहान परिवार, कृष्ठरोगी, हिड्न र बोल्न नसक्ने तथा सुष्त मनस्थिति भएका परिवार, सुत्केरी, गर्भवतीलगायतका विरामीहरु समेत सेल्टरमा रहेको उहाँले बताउनुभयो ।  हिड्न नसक्नेहरुलाई सेल्टरको बेडमै गएर स्वास्थ्य परीक्षण गरि औषधि वितरण गरिएको जानकारी दिदै उहाँले स्वास्थ्य शिक्षा र मनोपरामर्श सेवा समेत दिईएको बताउनुभयो ।
क्षयरोगका विरामी पनि हुन सक्ने आशंकाले जन्त्र नामक संस्था र भक्तपुरको राष्ट्रिय क्षयरोग केन्द्रलाई तत्काल एआई प्रबिधिको मेशिनबाट क्षयरोगको परीक्षण गर्न अनुरोध गरेको जानकारी दिदै कार्यालय प्रमख खड्काले भोलीबाट नियमित स्वास्थ्य सेवा प्रवाह गर्न स्थानीय सरकार, निजी अस्पतालहरुसंग समन्वय गरिरहेको बताउनुभयो ।
उहाँले स्वास्थ्य शिविरमा उपचार हुन नसकेका विरामीलाई आजैबाट भक्तपुर अस्पताल थप उपचारका लागि पठाईएको र त्यहाँ निःशुल्क उपचार एवं औषधि वितरणको व्यबस्था गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्री किरण थापाले संघीय स्वास्थ्य मन्त्रालयसंगसमेत यसबारेमा छलफल भइरहेको जानकारी दिदै प्रदेश सरकारले सेल्टरमा रहेसम्म यहाँका विरामीको सेवामा वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य उपचारको जिम्मेवारी लिने बताउनुभयो ।
यहाँ रहेका २६ जना बालबालिकालाई आजबाट मानिटर मार्फत शिक्षा सम्बन्धी चेतनामूलक जानकारीसहितको कक्षा सञ्चालन गरिएको र मंगलबारबाट अस्थायी रुपमा नियमित पठ्न पाठन समेत सुरु गर्ने भएको छ । जनस्वास्थ्य अधिकृत खड्काले सरकारले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका २६ जना सुकुम्वासी, गर्भवती, सुत्केरी, अन्य विरामी र सबैको स्वास्थ्य परीक्षण गरि औषधि वितरण गरिएको जानकारी दिनुभयो ।
जिल्लाका जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्मलाई विशेषज्ञ सेवा बिस्तार गर्ने : मन्त्री थापा
भक्तपुर, १७ बैशाख : वागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले वागमति प्रदेशका १३ वटै जिल्लाका जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्मलाई विशेषज्ञ सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।
आज भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित सिपाडोल स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले स्वास्थ्य चौकीहरुमा समेत आधारभूतदेखि विशेषज्ञ सेवासम्म विस्तार गर्ने बताउनु भएको हो ।
मन्त्री थापाले भन्नुभयो, ‘ हाम्र्रो लागि नागरिककको स्वास्थ्यनै सबैभन्दा महत्वपूर्ण विषय हो, त्यसैले स्वास्थ्य मन्त्रालयले सुगममा मात्रै नभई जिल्ला जिल्लाको दुर्गम क्षेत्रमा पनि प्रबिधिसंगै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पुर्याउने कार्य बिस्तार गरेका छौ, स्वास्थ्य चौकीलाई आमजनताको विश्वसनीय स्वास्थय सेवा उपलब्ध गर्ने संस्थाको रुपमा बिकास गरिरहेका छौं ।’
उहाँले प्रदेश स्वास्थ्य मन्त्रालयले उक्त भवन निर्माणका लागि गत वर्ष रु. १८ लाख र यस वर्ष रु. २५ लाख गरि कूल रु. ४३ लाखको बजेटको व्यबस्था गरेको बताउदै वागमति प्रदेश भरिका स्वास्थ्य संस्थाहरुको भवन निर्माणदेखि स्तरोन्नती, गणस्तरीय विशेषज्ञ सेवा बिस्तार र निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउँदै आएको बताउनुभयो । स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुन् भन्दै उहाँले तीन वटै तहका सरकार मिलेर सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु आवश्यक रहेको आल्याउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीको स्वास्थ्य प्रति नगरपालिका सधै चिन्तामा रहेर सहयोग गर्दै आएके बताउदै स्वास्थ्य जस्तो सम्वेदनशिल विषयलाई नगरपालिकाले निकै महत्वका साथ हेरेर स्वास्थ्य केन्द्रीत बजेटमा बिस्तार गर्दै आएको बताउनुभयो ।
उहाँले नगरपालिकाले यस स्वास्थ्यचौकी निर्माणका लागि १० लाख रुपैया अनुदान दिएको बताउदै सुर्यविनायक नगरपालिकाले अब बिकासका धेरै काम सम्पन्न गरिसकेकाले शिक्षा,स्वासथ्य र रोजगारी केन्द्रीत कार्यक्रममा बजेट खर्च गर्ने नीति लिएको बतानउनभयो । नगरपालिकाले जनशक्तिदेखि प्रबिधि सम्मको बिस्तार गर्दै आमनागरिकको दैलोमै स्वास्थ्य सेवाको पहुँच पुर्याउने बताउनुभयो ।
नगरपालिकाका उप–प्रमुख, सरिता तिमिल्सिना भटटराईले यहाँका बासिन्दाले नागरिकले सस्तो छिटो छरितो सेवा लिन सक्ने उल्लेख गर्दै महिलाको पाठेघरको क्यान्सर, स्त्रीरोग सम्बन्धि जाच अब निशुल्क गर्ने बताउनुभयो ।
कार्यक्रममा सिपाडोल वडा नं. ८ का वडा अध्यक्ष, पुष्पराज बस्नेतले धेै वर्ष जीर्ण भवनमा सेवा दिदै आएकोमा अब नयाँ भवनबाट सबै सेवा सुचारु भएको बताउदै यसले स्थानीयवासीमा ठूलो टेवा पुगेको बताउनुभयो । उहाँले सामान्य रागका लागि स्वास्थ्य चौकीबाटै गुणस्तरीय सेवा प्रवाह हुने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष रबिन्द्र सापकोटा, जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्का, वडा सदस्यहरु एवं कार्यपालिका सदस्यहरु र स्थानीयको सहभागिता रहेको थियो ।