भरतपुर विकासको जिम्मा मलाई दिनुहोस् : अध्यक्ष ओली

चितवन, २५ वैशाख  : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको विकासको जिम्मा आफूलाई दिन आग्रह गर्नुभएको छ । नेकपा (एमाले) चितवनले आज यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले एमालेका उम्मेदवारले जित हासिल गरेमा विकासको जिम्मा आफ्नो हुने बताउनुभयो । प्रतिनिधिसभाको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने भन्दै उहाँले भन्नुभयो, “यहाँ विजयी सुवेदीलाई जिताउनुहोस्, विकासको जिम्मा मेरो ।” सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै उहाँले विकासमा पहुँच पुग्ने बताउनुभयो । भरतपुर महानगरलाई आधुनिक सहरसँग स्मार्ट सिटी बनाउनुपर्ने भन्दै उहाँले यो काम सुवेदीबाट सम्भव भएको बताउनुभयो । गठबन्धन लामो समय नटिक्ने भन्दै उहाँले निर्वाचन खटिने राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीसँग परोक्ष र प्रत्यक्ष भूमिका खेल्ने सबैलाई विचलित नभई निर्वाचन निष्पक्ष बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “एमाले र एमालेको नेतृत्वको यस अभियानमा कुनै सहयोग गर्नु पर्दैन, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुहोस् ।” उहाँले थप्नुभयो, “निर्वाचनपछि एमालेको सरकार बन्छ ।” एमालेले सरकारमा खुट्टा टेक्यो कि विकासको गति पाँचौँ गियरमा कुद्ने भन्दै उहाँले विभिन्न समस्या झेलेर पनि काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमाले सरकारमा ग¥यो कि नाकाबन्दीको सामना, गर्छ, उत्तरतिरबाट पारवाहको बाटो खुल्छ, विकासका गति अघि बढ्छन् ।” निर्वाचन देश बनाउने सवाल भएको भन्दै उहाँले एमालेले राष्ट्रिय अभियानको अगुवाई गरिरहेको दाबी गर्नुभयो । निर्वाचन आयोगले पार्टीका झण्डाका विषयमा जारी गरेको आदेशप्रति संकेत गर्दै उहाँले भन्नुभयो, “निर्वाचन आयोगले कसलाई जारी गरेको आदेश ? पाँच दलका नेताहरू सँगसँगै हिँडेर एकले अर्काका लागि भोट मागिरहेका छन् । एकले अर्काे झण्डा र उम्मेदवार बोकेको छ । अर्कैको प्रचार गरेकोछ ।” सभामा पार्टी उपाध्यक्ष रामबहादुर थापाले समृद्ध नेपाल र समाजवादको बाटोमा जाने पार्टी एमाले भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा समाजवादको आधार सिर्जना गर्ने हो, पूर्णरुपमा विदेशी हस्तक्षेप रोक्ने काम एमालेले गर्छ ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले देशमा राष्ट्रवादीहरुको एकता चितवनको माडी र भरतपुरबाट सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका सुन्दर महानगरपालिका र नगरपालिका बनाउने उद्देश्यका साथ हामी हिँडेका छौँ ।” सभामा एमाले नेता, काशिनाथ अधिकारी, नेतृ सीता पौडेल, देवी ज्ञवाली, जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल, रामप्रसाद न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा भरतपुरमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले आफ्ना भावी योजनाका बारेमा बताउनुभएको थियो । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ । –––

तर्साएर मत माग्न पाइन्न : अध्यक्ष ओली

काठमाडौँ, २५ वैशाख  : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । पार्टी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा निर्वाचन भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मतदातालाई तर्साएर मतदान माग्न नपाइने बताउनुभयो । “आफूलाई मतदान नगर्नेलाई देश दुर्घटनामा जान्छ जस्ता अभिव्यक्ति दिएर मत माग्ने गरेको पाइयो”, उहाँले भन्नुभयो, “मतदातालाई धम्काएर, तर्साएर मत माग्न पाइदैन, निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्दछ ।”

उहाँले निर्वाचन आयोग निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । पार्टी अध्यक्ष ओलीले स्थानीय तहलाई राष्ट्रियता, सामाजिक सद्भाव र सरकारप्रतिको जनविश्वासको प्रवर्धकका रूपमा विकास गर्न एमाले प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय स्रोतसाधनको पहिचान, संरक्षण, विकास र उपयोगको प्रस्थानविन्दु बनाउने अठोट एमालेले लिएको बताउनुभयो ।

“एमालेले स्थानीय तहलाई विकास र सामाजिक चेतना अभिवृद्धिको अभियन्ता बनाउनेछ, सबै पालिकालाई सामाजिक न्याय र समानताका लागि रूपान्तरणको सम्बाहकका रूपमा विकास गर्नेछ”, उहाँले भन्नुभयो, “एमालेले विकास निर्माण र सेवा प्रवाहको कार्यान्वयनमा स्थानीय तहको नायकत्व विकास गर्नेछ, हामीले लोकतन्त्रलाई जीवन पद्दतिका रूपमा अवलम्बन गर्ने आधारस्तम्भको रूपमा स्थानीय तहलाई विकास गर्नेछौं ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’को महान् राष्ट्रिय आकाङ्क्षा साकार पार्नका लागि सङ्घ र प्रदेशको निर्वाचन सुनिश्चित गर्दै एमालेको नेतृत्वमा सबै तहमा सरकार निर्माण गर्ने आधार तयार गर्न सूर्यमा मतदान गर्न उहाँले मतदातालाई गर्नुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले जनताको मत नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिने बताउनुभयो । उहाँले कुनै दल विशेषलाई पराजित गर्नु एमालेका लागि प्राथमिक चासोको विषय नभइ नेपालको विकास गर्ने, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने तथा नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्ने रहेको भनाइ राख्नुभयो ।

“राष्ट्रिय एकतालाई कमजोर पार्ने, कुनै नाम वा बहानामा अखण्डतालाई अपमान गर्ने र देशभक्तिलाई होच्याउने कुरा एमालेले कुनै हालतमा स्वीकार्दैन”, उहाँले भन्नुभयो, “विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव, न्याय र समतामूलक व्यवहार कायम गरी राष्ट्रिय एकता मजबूत राख्ने क्षमता एमालेमा नै छ ।”

प्रदेश र सङ्घीय निर्वाचनसम्मै गठबन्धन : अध्यक्ष दाहाल

गण्डकी, २५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताउनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावीसभामा उहाँले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने प्रयास भएका भन्दै उहाँले गठबन्धनको निरन्तरतामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्र, संविधान र गणतन्त्रको रक्षाका लागि अघि बढेको गठन्धनलाई विभाजित गर्ने षड्यन्त्र भइरहेका छन्, गठबन्धनका शक्तिहरुले धेरै मेहनत र अप्ठ्यारोसँग जुधेर अहिलेको गठबन्धनलाई अघि बढाउनुपर्दछ, स्थानीय चुनावमा मात्र होइन, भोलि प्रदेश र सङ्घीय चुनावसम्म लैजानु आवश्यक छ ।”

अध्यक्ष दाहालले देशमा राजनीतिक स्थिरता र आर्थिक विकासको नयाँ युगको सुरुआत यही गठबन्धनबाटै गर्ने सङ्कल्प लिइएको बताउनुभयो । संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीको रक्षाका लागि गठबन्धनको जन्म भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन गरेर प्रतिगमन र प्रतिक्रान्तिकारीका विरुद्ध सङ्घर्ष नगरेको भए देश दुर्घटनामा परिसक्थ्यो भन्नुभयो । उहाँले भन्नुभयो, “देशलाई प्रतिगमन र निरङ्कुशताबाट बचाउननै यो गठबन्धनको जन्म भएको हो ।”

देशका छ महानगर र ११ उपमहानगरमा गठबन्धनका साझा उम्मेदवार छान्न सजिलो नभए पनि सबैले देशको समग्र राजनीतिक स्थितिलाई विचार गरेर नेपाली जनताको भाग्य र भविष्यप्रति इमान्दार भएर निर्णय उहाँले बताउनुभयो । गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन उहाँले मतदातासमक्ष आग्रह गर्नुभयो । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य प्रमुखमा र नेपाली कांग्रेसका कोपिला रानाभाट उपप्रमुखको उम्मेदवार हुनुहुन्छ ।

पाँच दलीय गठबन्धन राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

दाङ, २५ वैशाख  : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक तथा राष्ट्रिय आवश्यकतामा निर्माण भएको बताउनुभएको छ ।

तुलसीपुरमा गठबन्धन दलले आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले देशलाई दुर्घटनाबाट जोगाउन र राष्ट्रको हितमा गठबन्धनको आवश्यकता महसुस गरी गरिएको बताउनुभयो । प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध शङ्का र उपशङ्का नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “गठबन्धन बन्नुअघि कांग्रेसको अवस्था कस्तो थियो । आज हाम्रो नेतृत्वमा सरकार छ ।

\यो सरकारलाई टिकाउन लागि गठबन्धनको आवश्यक देखिन्छ ।” उहाँले गठबन्धनका उम्मेदवार वियजी बनाउनका लागि मेहनत गर्न कांग्रेस कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । आज नै प्रधानमन्त्रीसहित गठबन्धन दलका नेताले घोराहीमा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौँ महानगरलाई अगाडि बढाउँछु : नेत्री सिंह

काठमाडौँ, २५ वैशाख : गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाकी नगरप्रमुखकी उम्मेदवार सिर्जना सिंहले विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बढाउने बताउनुभएको छ । आज यहाँ आयोजित ‘बुद्धिजीवी भेला एवं छलफल कार्यक्रम’ मा नगरप्रमुखको उम्मेदवार सिंहले विज्ञको सल्लाहमै काठमाडौँ महानगरलाई अगाडि बढाउने बताउनुभयो ।

काठमाडौँ महानगरको विकासका लागि कहाँ के गर्न सकिन्छ । सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर समृद्ध महानगर निर्माणमा लाग्नेछु”, उहाँले भन्नुभयो । काठमाडौँलाई समृद्ध महानगर बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काम गर्ने उहाँको भनाइ छ । नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी निर्माण आफ्नो मुख्य एजेण्डा भएको भन्दै सोहीअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफू मेयर भएकै दिनदेखि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो । उहाँले महानगरभित्रका गरिब तथा विपन्न जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न महानगर अस्पताल खोलेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नेसमेत बताउनुभयो । “महानगरभित्र सुशासन कायम गर्न भ्रष्टाचारमुक्त काठमाडौँ र प्रविधिको प्रयोग गरेर घरबाटै सेवा लिने वातावरण निर्माण गर्छु”, उहाँले भन्नुभयो । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले प्रजातन्त्र स्थापनामा सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै काठमाडौँ महानगरपालिकामा सिंहको जित नै लोकतन्त्रको जित भएको बताउनुभयो । उहाँले काठमाडौँ महानगरपालिकाले एक सक्षम र योग्य महिला उम्मेदवार पाएको भन्दै उहाँलाई जिताउनका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । –––

मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगीबारे स्पष्ट

काठमाडौँ, २५ वैशाख : निर्वाचन आयोगले यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भर्ई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आपूmसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाईसँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्यवस्था रहेको छ ।

कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफैँ मत संकेत गर्न नसक्ने भई मत संकेत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने व्यवस्था स्थानीय तह निर्वाचन निर्देशिकामा रहेको छ । सो व्यवस्थाअनुसार कुनै मतदाताको कुनै एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो : अध्यक्ष लिङ्देन

मकवानपुर, २५ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभएको छ । अध्यक्ष लिङ्देनले आज हेटौँडामा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै उहाँले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले म मात्र सुध्रेर नहुने बताउँदै कांग्रेस, एमाले र माओवादी पनि सुध्रिन जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यसबाट थाहा हुन्छ कि उहाँहरू जनताबाट कति टाढा भइसके ।” राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौँडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले डोजर र जग्गा पल्टिङको मात्र विकास गरेको टिप्पणी गर्नभयो ।

उहाँले आफूले हेटौँडामा स्वास्थ्यको समस्या धेरै समय अघिबाट देखेको तर यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले समस्यको समाधानको लागि केही पहल नगरेको आरोप लगाउनुभयो । उहाँले आफूलाई हेटौँडाको अस्पतालमा एमआरआई र सिटिस्क्यान समेत नहुने जानकारी आएको बताउनुहुँदै बागमती प्रदेशको राजधानी भएर पनि यहाँको जनप्रतिनिधिहरूले अस्पतालको विकास गर्न नसकेको आरोप लगाउनुभयो ।

हेटौँडाको मेयरको लागि उम्मेदवार दीपकबहादुर सिंह उठाएको भन्दै सिंहको सक्षम टिमलाई जिताउन हेटौँडावासीलाई आग्रह गर्नुभयो । हेटौँडा उपमहानगरपालिका मेयरमा उम्मेदवार बनेका दिपक सिंहले आफूलाई हेटौँडाको मेयरमा जिताउन अपिल गर्दै आफू मेयरमा निर्वाचित भए भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मत माग्ने पत्रकार सङ्गठनलाई आयोगको स्पष्टीकरण

काठमाडौँ, २५ वैशाख : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत स्थानीय तह निर्वाचनका सन्दर्भमा मतदाताहरूलाई अपिलको विषयको विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच पत्रकार सङ्गठनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न जवाफ माग गरेको छ ।

आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार सङ्घ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।

उहाँहरूले संयुक्त अपिल जारी गरी पहिलो प्रवृत्तिका रुपमा सत्तारुढ पाँच दलीय वामलोकतान्त्रिक गठबन्धन अगाडि आएको र दोस्रो प्रवृत्तिको प्रतिनिधित्व प्रतिगमनको नेतृत्व गर्ने नेकपा एमालेले गरेको भन्दै सत्ता गठबन्धनलाई मतदानका लागि गर्नुभएको आग्रह निर्वाचन आचारसंहिता, २०७८ विपरीत भएको आयोगको भनाइ छ ।

निर्वाचन आचारसंहिता, २०७८ को दफा २२ मा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको खण्ड ९ख० मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । सोही दफाको खण्ड ९घ० मा सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ ।

“यस सन्दर्भमा स्वतन्त्र पत्रकारहरूको पेशागत सङ्गठनको तर्फबाट तपाईंले हस्ताक्षर गरी विज्ञप्ति जारी गर्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ, हुँदैन रु स्वतन्त्र पत्रकारको पेशागत सङ्गठनको अध्यक्ष÷सचिवले कुनै अमुक राजनीतिक दलको÷दल पक्ष वा विपक्षमा विज्ञप्ति जारी गर्न मिल्छ, मिल्दैन ”, आयोगको स्पष्टीकरणमा भनिएको छ, “कुनै राजनीतिक समूहप्रति पक्षधरता प्रकट गरी मतदातालाई कुनै अमुक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न भनी विज्ञप्ति जारी गर्ने कार्य पत्रकार वा पत्रकारको सङ्घरसङ्गठनको पेशागत मर्यादाभित्र पर्छ, पर्दैन रु पत्रकारको पेशागत सङ्गठन अमुक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ, हुँदैन ।

पत्रकारिताको क्षेत्र र राजनीतिक क्षेत्र भिन्न हो, होइन रु” आयोगलले कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेशागत सङ्घरसङ्गठनमा आबद्ध भई सोमार्फत निर्वाचन आचारसंहिता विपरीत वक्तव्य जारी गर्दा आचारसंहिता उल्लल्घन हुँदैन भन्ने दलिल पेश गर्न मिल्छ, मिल्दैन रु भन्दै पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र उक्त विज्ञप्ति हटाई सोही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न आग्रह गरेको छ ।

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी

काठमाडौँ, २५ वैशाख  : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन), अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्नुभएको हो ।

राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गर्नुभएको उल्लेख छ ।

शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न बिभिन्न निर्णय पारित

भक्तपुर, २५ बैशाख : यहीँ ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले निर्वाचन अबधीभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन कडा निर्देशन जारी गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधिस गोपालप्रसाद बास्तोला, जिल्ला निर्वाचन कार्यालय, तीनवर्टै सुरक्षा निकायका प्रमुख, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघलगायत सरोकारवाला निकायबीच भएको निर्वाचन सम्बन्धी छलफलमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न बिभिन्न निर्णयहरु गरेको छ ।

बैठकले ३० गतेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भय रहित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आगामी २७ गते राती १२ बजेदेखि ३० गतेसम्म कुनै पनि प्रकारको मदिरा बिक्री वितरण गर्न र सेवन गर्न निषेध गर्ने निर्णय गरेको छ । साथै मतगणना सम्पन्न नभएसम्म मतगणना स्थल आसपास मदिरा बिक्री वितरण एवं सेवन निषेध गर्ने निर्णय गर्दै यो आदेशलाई अबज्ञा गरे तत्काल पक्राउ गरि कारबाही गरिने प्रजिअ शर्माले जानकारी दिनु भयो ।

त्यस्तै सबैले आचार संहिताको पूर्ण पालना गर्ने गराउने, मतगणना स्थलमा २४ सै घण्टा विद्युत, टेलिफोन तथा इन्टरनेटको आफूर्ती गर्न विद्युत प्राधिकरण र टेलिकमलाई निर्देशन गरेको छ ।

छलफलमै उठेको बिभिन्न विषयमा निर्णय गर्दै निर्वाचनका दिन जिल्लामा रहेका सबै एम्बुलेन्सलाई आवश्यक पर्ने बित्तिकै प्रयोगमा आउने गरि प्राथमिक उपचारका सामग्री, स्वास्थ्यकर्मीसहित तयारी अबस्थामा राख्न, जिल्लाका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थालाई जनशक्तिसहित नियमित सञ्चालन गरी आकस्मिक सेवा दिनसक्ने गरि तयारी अबस्थामा राख्न, दमकल, डोजरलाई तयारी अबस्थामा राख्न निर्देशन दिएको छ ।

त्यस्तै निर्वाचनका दिन खानेपानी, एम्बुलेन्स, दमकल, शव बाहन, अस्पताल, विद्युत सेवा, रेडक्रसका गाडी र सवारी पास बाहेकका कुनै पनि साधनलाई सञ्चालन गर्न नदिने, कुनै पनि पास भएका सवारी साधनले मतदाता बोकेको पाइए नियन्त्रणमा लिएर तत्कालै पास खारेज गर्ने निर्णय समेत गरेको प्रजिअ शर्माले जानकारी दिनु भयो ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुरका सभापति मनोजकुमार थापाले निर्वाचनका दिन चार वटै नगरपालिकाका लागि चार वटा एम्बुलेन्समा प्राथमिक उपचारको सामग्री सहित राख्ने बताउनु भयो । मतदान स्थलमा स्थानीय पालिकाले प्राथमिक उपचारका सामग्री पठाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

छलफलमा मुख्य निर्वाचन अधिकृत वास्तोलाले विद्युत आपूर्ती नियमित गराउन आग्रह गर्नु भयो भने जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले तयारीकाबारेमा जानकारी गराउनु भयो । प्रहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठले सुरक्षाको अबस्थाकाबारेमा चर्चा गर्नु भयो ।

उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष शिव मानन्धर, नेपाल चेम्बर अफ कमर्स भक्तपुरका अध्यक्ष न्हुच्छे मानन्धरले निजी क्षेत्रलाई पनि निर्वाचनको अनुगमन गर्न परिवेक्षक बनाइनु पर्ने माग गर्नु भयो । उहाँहरुले निर्वाचनको बेलामा बजारमा कालोबजारी हुन नदिन बजार नियन्त्रणको पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सल्लाहकार तथा राससका प्रतिनिधि रमेश गिरी र नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष लीला श्रेष्ठले निर्वाचनका दिन यहाँका क्रियासिल पत्रकारलाई सवारी पासको व्यबस्था जिल्ला प्रशासन कार्यालयले गर्न माग गर्नु भयो ।

उपत्यका भित्र रहे पनि भक्तपुर केन्द्रबाट टाढा रहेको भन्दै उहाँहरुले सूचना विभागबाट जारी प्रमाणपत्रको आधारमा भक्तपुरका लागि पनि निर्वाचन आयोगबाटै सवारी पास लिनु पर्ने व्यबस्था यहाँका लागि अब्यबहारिक रहेको भन्दै यहाँका क्रियासिल पत्रकारलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरलेनै सवारी पासको व्यबस्था गर्न माग गर्नु भयो ।–––