नवौँ पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण

भक्तपुर, २ बैशाख : मध्यान्ह १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड बढ्दै गयो । बिस्केट जात्रामा मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिसहरु खचाखच भए ।

बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर आए, सबैको ध्यान त्यतै केन्द्रित भयो, बिचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आईपुगे ४९ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ ।

बोडेका बासिन्दाले उहाँको जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाईएको मञ्चमा उक्लिए पछि कर्मी नाईकेहरुले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो ।

त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर निस्किए बुद्धकृष्ण । महाद्विप बोकेर करिब पौने एकघण्टासम्म बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिर भित्र प्रवेश गरेपछि सुईरो निकालेर मन्दिरमा ठोके पछि आज मनाइएको जिब्रो छेड्ने जात्रा सम्पन्न भयो ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत बुद्धकृष्णले अन्तिम पटक भन्दै यसवर्ष नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिलाएका छन् ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने श्रेष्ठले बताउनुभयो ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष नवौ पटक आफूले बिज्रो छेडेको उहाँले बताउनुभयो । यो आफ्नो अन्तिम पटक भएकाले अर्को साल जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न युवा पुस्तालाई तयारीमा रहन उहाँले आग्रह गर्नु भयो ।

यसअघि २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको उहाँले आमाको निधन पछि बोडेको जुजुभाई बाँसश्रेष्ठले ०६५ देखि ०७२ सालसम्म जिब्रो छेड्ेर यो जात्रालाई निरन्तरता दिनुभयो । २०७६ सालमा पुन ः जिब्रो छेड्नु भएका बुद्धकृष्णले २०७७ सालमा लकडाउनका कारण जात्रा हुन नसक्दा जात्रा रोकिएको र २०७८ सालमा पुन आठौँ पटक जिब्रो छेड्नु भएको थियो । यस वर्ष जिब्रो छेडेर उहाँले नवौँ पटक पुर्याउनु भएको हो । २०६० सालसम्म उहाँकै दाजू कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाईएको थियो ।

मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जात्रालाई निरन्तर रुपमा सञ्चालन गर्न नगरपालिकाले बजेटको व्यबस्थापन गरेको बताउनु भयो । जात्रा हेर्दै उहाँले भन्नुभयो, “जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जग्गा खरिद गरेर नयाँ पाटी बनाएर यसवर्ष जिब्रो छेडाएका छौँ यो जात्रालाई सहज बनाउन आथिएक व्यबस्थापन गरेका छौँ, अब नयाँ पुस्ताले जात्रालाई निरन्तरता दिनु पर्छ ।”

जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए ।

कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।

तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिसाच कोही नभई नील बाराहीका देव गण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले पनि युवा पुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनु पर्यो ।”

दिउँसो तीन बजे उठेको ‘योसिङ द्यः’ अर्थात लिङ्गो सात बजे ढालियो

भक्तपुर, १ वैशाख : नयाँ वर्षको अवसरका भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रुपमा मनाइने विश्व प्रसिद्ध बिस्केट अर्थात बिस्काः जात्राको योसिङ द्यः अर्थात ५५ हात लामो लिङ्गो आज सँझ सात बजे ढालिएको छ । वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका ५ योसिंखेलमा साँझ लिङ्गो उठाएर नयाँ वर्ष अर्थात वैशाख १ गते दिनभरी जात्रा गरी साँझ ढाल्ने परम्परा रहेको छ ।

तर यसवर्ष हिजो ३० गते साँझ करिब ५ बजेदेखि हजारौ व्यक्तिहरुको अगाडि यहाँका बासिन्दाहरुले ५५ हात लामो योसिङ द्यः अर्थात लिङ्गो उठाउन खोजे पनि राती अबेरसम्म नसके पछि आज फेरी उठाउने प्रयास गरेका थिए । अथक प्रयास पछि आज साँझ दिउँसो तीन बजे उठाएको लिङगो साँझ सात बजे सम्पूर्ण पुजा गरि तान्त्रिक बिधि अनुसार आजै ढालिएको हो ।

गत वर्ष पनि चैत मसान्तको दिन लिङ्गो उठाउन नसकेपछि बैशाख १ गते दिनभरी प्रयास गरि साँझ पौने सात बजेमात्रै उठाएर एक घण्टा पछि नै ढालिएको थियो । ५५ हात लामो लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन अनुसार आठ वटा मोटो एवं लामो डोरी बाधेर चारै तिरबाट गोालाकार रुपमा बसेर लिङ्योलाई योसिङ्को प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ । यो जात्रा हेर्न आज हजारौको मानव सागर उर्लिएको छ । लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाईएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु‘ भनिन्छ ।

जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा रहेको छ । विक्रम संवत् अनुसार सौरमासको आधारमा मनाईने बिस्केट जात्रा बिःसीत अर्थात नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको संस्कृतविदहरुको भनाई छ ।

इतिहासविद्का अनुसार किरात शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुसीयालीमा लिच्छवि शासकले विजयी ध्वजासहित बिस्का जात्रा मनाइएको जनश्रुति रहेको छ ।

 

माओवादीको प्रचार गरेको भन्दै कुलमानलाई सोध्यो निर्वाचन आयोगले स्पष्टिकरण

काठमाडौं, १  वैशाख । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण पत्र काटेको छ । नेकपा माओवादी केन्द्रको प्रचारसामग्रीमा निर्वाचन आचारसंहिताविपरीत घिसिङको तस्बिर प्रयोग गरिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रचार सामग्रीमा तस्बिर प्रयोग गर्दा अनुमति लिए/नलिएबारे जानकारी लिन घिसिङलाई पत्र काटिएको आयोग स्रोतले जनाएको छ । स्पष्टीकरणको समयावधि सात दिन दिइएको छ ।

माओवादीको प्रचार सामग्रीमा आफ्नो अनुमतिबेगर तस्बिर प्रयोग गरिएको घिसिङले बताएका छन् । तर उनले यसबारे अहिलेसम्म निर्वाचन आयोगलाई जानकारी गराएका छैनन् । आयोगले घिसिङसँग यसबारे पनि प्रश्न गरेको छ ।

त्यसैगरी गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा निर्वाचन खर्च ढाँटेर आयोगमा विवरण पेश गरेको अभिव्यक्ति दिएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । उनलाई पनि सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ ।

वर्ष २०७८ : चुनौतीपूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

काठमाडौँ, १ वैशाख : वर्ष २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कमी आउन सकेन । यस वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण हुनुका साथै श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन । नेपाल पत्रकार महासङ्घमा अभिलेखीकरण भएअनुसार २०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ घटना भएका छन् ।

पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुव्र्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन् । श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । विसं २०७७ मा ५१७ पत्रकारको श्रम समस्या रहेकामा २०७८ मा २२१ श्रम समस्या आएको महासङ्घका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो । विसं २०७७ मा समाधान हुन बाँकी श्रम समस्या र २०७८ का श्रम समस्यामध्ये झण्डै ३०० पत्रकारका समस्या समाधान भएका छन् ।

महासङ्घको कानुनी सहायता डेस्कमार्फत श्रम समस्या र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननविरुद्ध ३३ घटनाका बारेमा न्यायिक प्रक्रिया चलिरहेको छ । त्यसैगरी २०७८ मा सङ्घ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुन बनाउने तथा संसद्मा दर्ता गर्ने कार्य भएको छ । “संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थासमेतलाई चुनौती थपिदिएको छ”, अध्यक्ष पोखरेलले भन्नुभयो । कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म २६ सञ्चारकर्मीले ज्यान गुमाएको महासङ्घले जनाएको छ ।

त्यसमध्ये २०७८ सालमा १८ सञ्चारकर्मीले ज्यान गुमाएका थिए । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न पत्रकार महासङ्घको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ । कोभिडको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी बिदामा राख्ने र जागिरबाट निष्काशन गर्ने कामले निरन्तरता पाएको छ । अध्यक्ष पोखरेलले नयाँ वर्ष २०७९ चुनावी वर्ष रहेकाले नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा तथा भौतिक सुरक्षा, सेल्फ सेन्सरसिपलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

वैशाख पहिलो हप्तादेखि नै श्रम समस्या समाधानका लागि आवश्यक आन्दोलन, दबाब, कानुनी लडाइँलाई एकसाथ लैजानेगरी योजना बनाएको छ । महासङ्घले यो वर्ष हुने स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि निर्वाचन आयोगसँगकै साझेदारीमा सबै जिल्लामा महासङ्घले अनुगमन गरेर नागरिकको आफूले चाहेको राजनीतिक दल तथा उम्मेदवारलाई मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने काममा सघाउ प¥ुयाउने योजना बनाएको छ । महासङ्घले निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा निर्वाचन आयोग र अन्य सङ्घसंस्थासँग मिलेर विभिन्न जिल्लामा तालिम दिन थालेको छ ।

महासङ्घका महासचिव रोशन पुरीले भन्नुभयो, “तीन तहकै सरकारले ल्याएका, ल्याउने तयारी गरिरहेका कानुन पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूत गरेका अधिकारको पक्षमा हुनुपर्दछ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने काम गरिनु हुन्न, त्यसो भएको खण्डमा आन्दोलनमा उत्रिन्छौँ ।” पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारको पक्षमा विगत वर्षमा जस्तै नेतृत्वदायी भूमिकामा रहेर आवाज बुलन्द पार्ने महासङ्घले प्रतिवद्धता व्यक्त गरेको छ । महासङ्घले महङ्गी, बजार मूल्य वृद्धि भइरहेको सन्दर्भमा श्रमजीवि पत्रकारको पारिश्रमिक ५० प्रतिशतले वृद्धि हुनुपर्ने माग गर्दै आएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले भने गत फागुनमा श्रमजीवी पत्रकारको पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ ।

चार जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, १ वैशाख : देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६३४ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५८ रहेको छ ।

पछिल्लो समय थप ४४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार २०४ पुगेको छ । निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो समय कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी, पछिल्लो समय ६१ हजार २७८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७९ रहेको छ । अहिले होम आइसोलेसनमा ४५५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २४, आइसियुमा १२ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।

निर्वाचनबारे संशय पैदा गर्ने अभिव्यक्ति नदिन आग्रह

काठमाडौँ, १ वैशाख : निर्वाचन आयोगले निर्वाचनका विषयमा अन्यौल सिर्जना गर्ने खालका अभिव्यक्ति नदिन राजनीतिक दलका नेतागणलगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ । निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्ने तयारी तीव्र रुपमा अन्तिम चरणमा पुगेकाले निर्वाचनबारे संशय पैदा गर्ने ढङ्गबाट राजनीतिक दलका नेता तथा कार्यकर्ताबाट आएका अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाको आयोगले निगरानी गरिरहेको र उल्लङ्घन गर्नेमाथि आवश्यक कारवाहीका लागि अनुसन्धान गर्न पत्राचार गर्ने र बुझ्ने काम भइरहेको जानकारी दिनुभयो । पर्यवेक्षणका लागि ६५ संस्थाको निवेदन यसैबीच, आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ । हाल दैनिक सरदर आठ लाख थान मतपत्र छपाइ कार्य भइरहेको जानकारी दिइयो ।

स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकामा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको आयोगले जनाएको छ्र । ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको सङ्ख्या २० हजार ४६७ रहेकामा पुरुष ११ हजार ६९४, महिला आठ हजार ४८२ र अन्य २९१ रहेको छ । उक्त निवेदन उपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमतिसम्बन्धी निर्णय गर्नेछ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन आजैदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन इ–बुलेटिन’ प्रकाशन सुरु गरेको छ । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ । यसबाट आयोगका आधिकारिक सूचना सम्बन्धित सबैमा पुग्ने आयोगले विश्वास लिएको छ । स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न भएको जानकारी दिइएको छ ।

यस्तै प्रशिक्षण कार्यक्रम जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते हुने र प्रशिक्षणपछि आयोगले सोही स्थानबाट निर्वाचन अधिकृतलाई नियुक्तिपत्र र आवश्यक सामग्री उपलब्ध गराउनेछ । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा आयोग र सञ्चार जगतसँगको समन्वय र सहकार्य अभिवृद्धि गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरण कायम गर्न, निर्वाचन आचारसंहिताको कार्यान्वयनमा योगदान पु¥याउने हेतुले विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

काठमाडौँ, १ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गर्नुभएको छ । नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको हो । प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पु¥याएको योगदानको कदर गर्दै ओलीलाई सो पदक प्रदान गरिएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्वप्रधानमन्त्री ओलीले दिनुभएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताउनुभयो । उहाँले स्वयंसेवा र अनुशासनका माध्यमबाट नेतृत्व विकास गराउन स्काउटको सान्दर्भिकता रहेको उल्लेख गर्दै नेपाली बालबालिका र युवालाई अनुशासित, जागरुक र कर्तव्यनिष्ट बनाइ विश्वस्तरमा प्रतिस्पर्धी तुल्याउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले चुनौतीको सामाना गर्दै नेपाल स्काउटले आफूलाई हरेक प्रदेश र पालिकास्तरमा विस्तार गर्न सकेकामा प्रशंसा पनि गर्नुभयो । पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र सङ्गठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान समाज निर्माणमा अग्रसर हुनुपर्ने बताउनुभयो । स्काउटलाई अप्ठ्याराका साथीका रुपमा उहाँले चित्रण गर्नुभयो । समारोहमा विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रका अध्यक्ष, निर्देशकलगायत विदेशी पाहुनाको सहभागिता थियो । सो अवसरमा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली सो पदक प्राप्त गर्ने पहिलो नेपाली हुनुहुन्छ । नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गराउनुभएको थियो । ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भई देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ ।

 

नयाँ वर्षका अवसरमा बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थी

काठमाडौँ, १ वैशाख : नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले  जानकारी दिनुभयो ।

बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको उहाँले सुनाउनुभयो । नयाँ वर्षका अवसरमा आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ । पछिल्ला केही वर्षदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजन बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । यस अवसरमा पश्चिम मूलढोकामा विशेष सजावट गरिएको छ । महानगरीय प्रहरी वृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध पनि मिलाइएको कोषका संस्कृति महाशाखा प्रमुख पराजुलीले बताउनुभयो ।

नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको छ । विगत वर्षदेखि नै वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ । नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको बाग्द्वार (बाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेलामा भक्तजनको भीड बढ्छ । –––

 

आमाबुबाबाट अलग्गिएका बालबालिका निकृष्ट प्रकारको श्रम गर्न बाध्य

दाङ, ११ पुस : तुलसीपुर उपमहानगरपालिका–६ की रेखा चौधरी १२ वर्षको पुगिन् । अहिले उनलाई आफू र आफ्नो १० वर्षीया बहिनी रेणुका चौधरीलाई कसरी पालनपोषण तथा पढाइको खर्च जुटाउने भन्ने चिन्ताले पीरोलिरहेको बताउँछिन् । घरखर्च चलाउन र बहिनीलाई पढाउन उनले बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसोको समयमा विद्यालयमा पढन जाने गरेको उनी बताउँछिन् । बाबुको घर दङगीशरण गाउँपालिकाको मिरौली गाउँमा छ भन्ने सुनेकी छु, तर बाबु कहाँ छन् के गर्छन् भन्ने थाहासमेत नभएको बताउने उनी आमाले आफूहरु सानै छँदा दोस्रो विवाह गरी गएको भन्छिन् । उनले भनिन्, “आमालाई बाबुले हामी सानै हुँदा सधँै गाली गर्ने, कुपटपिट गर्ने, गरिबकी छोरी भन्दै हेला गर्न थालेपछि बाबुको यातना सहन नसकेर सम्बन्धविच्छेद गरी १० वर्ष पहिले दोस्रो बिहे गरी गएकी छिन् ।”

आमाले दोस्रो विवाह गर्नुभयो, आफूहरुलाई केहीसमयसम्म सोही घरमासँगै राख्नुभयो तर कान्छो बुबाका आमा बाले अर्काका सन्तानलाई किन पाल्ने भन्दै आमा गीता चौधरीलाई सधैँ गाली गर्न थालेपछि आफू त्यहाँबाट निक्लेर आएको उनी बताउँछिन् । “केही दिनसम्म सडकका गल्लीमा रातदिन बितायांै अनि काम खोज्दै गर्दा तुलसीपुर उपमहानरपालिका–६ को एक घरमा गयांै । त्यही घरको आन्टीले खान बस्न दिनुभयो”, उनले भनिन्, “आमाले त्यहाँ भएको जानकारी पाएपछि घरपरिवारलाई थाहा नदिएर भेट्न आउनुहुन्थ्यो । कहिले कपडा, कहिले खाने कुरा ल्याईदिनुहुन्थ्यो ।” दुई हप्तासम्म त्यही घरमा बस्यौं, घरबेटी आन्टीले तिमीहरु पढ्न जानुपर्छ, तिम्रो आफन्त कहाँ छन् भनि सोधीखोजी गरी मामाघरको हजुरआमालाई भेटाइ दिनुभयो । त्यसपछि हजुरआमालाई बोलाएर सम्झाएर हामीलाई जिम्मा लगाउनुभयो उनले भनिन् । हजुरआमा देशनी चौधरीले र मैले अहिले मजदूरी गरेर पैसा ल्याउँछौं, त्यसैबाट दाल, चामल नूनतेल किनेर खान्छांै ।

हजुरआमा ७० वर्षकी हुनुहुन्छ । उहाँले दिनभरी अरुको घरमा मजदूरी गर्नुहुन्छ । मैले भने बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसो पढन स्कुल जाने गरेकी छु उनले भनिन् । रेखाले तुलसीपुरमा रहेको एक सरकारी स्कुलमा कक्षा ४ मा पढ्छिन् भने बहिनी रेणुकाले पनि सोही विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेकी छन् । उनकी हजुरआमा देशनी चौधरीले तुलसीपुर उपमहानरपालिका–१२ को भुतेडाँडा भन्ने ठाउँमा रहेको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बसेकी छन् । आफ्नो दुःखेसो पोख्दै देशनीले भनिन्, “मैले छोरीलाई सानैमा बिहे गरिदिए, धन सम्पत्ति थिएन र पढन पनि पाइन, श्रीमान् र घरपरिवारले त गरिबकी छोरी भन्दै दिनहुँ हेला गर्ने र खान नदिई कुटपिट गर्न थालेपछि छोरीले त्यो सहन नसकेर माइतीमा आएर बसी । अनि सम्बन्धविच्छेद गरी दोस्रो विवाह गरेर गई भनिन् । अहिले मलाई दुईवटी नातीलाई कसरी पढाउ र के खुवाउ भन्ने समस्या छ । त्यस्तै दुबै नातीनीको जन्मदर्ता नहुँदा समस्या भएको छ । स्कुलका सर मेडमले जन्मदर्ता नभएपछि नाम लेखाइ दिन्नौं भन्नुहुन्छ भन्दै उनले नातीनीहरुले घर आएर भन्छन्, त्यसले झन समस्या भएको जनाए ।

त्यसैगरी रोल्पा जिल्लाकी १४ वर्षिया कमला विक पनि तुलसीपुर बजारमा रहेको एक नास्ता पसमा काम गदै आएकी छन् । घरमा खान पुग्दैन, सानैमा बुबाको निधन भयो । घरखर्च चलाउनका लागि पैसा कमाउन भनि आमालाई जानकारी नै नदिएर साथीसँग आफू यहाँ आएको उनले बताइन् । कक्षा ५ मा अध्ययनरत कमला पढ्दापढ्दै छोडेर आएको बताउँछिन् । उनी भन्छिन्, “घरमा आमा, दुई बहिनी र एक भाइ छन् ।” अहिले रेखा र कमला मात्र होइन, गरिबी, अभाव र आवश्यक घरायसी वातावरणको अभावमा दाङका ग्रामीण क्षेत्रका थुप्रै बालबालिका आफ्ना बाबुआमाबाट अलग्गिएर निकृष्ट प्रकारको श्रम गर्न बाध्य छन् । घरमा बस्ने उचित वातावरण नभएपछि आफ्नो पढाइलाई अगाडि बढाउन बालश्रम गर्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ । सम्बन्धितले बालबालिकालाई काम गराउने, पढाइदिन्छु भनेर काममा लगाउँछन् तर व्यवहारमा सो कार्यान्वयन नगर्दा उनीहरूको पढ्ने सपना भने पूरा हुनसकेको पाइँदैन ।

गरिबीका कारण आफ्ना छोराछोरीलाई राम्रोसँग खानलाउन र उचित शिक्षादीक्षा दिन नसक्दा सन्तानको भविष्यलाई ध्यानमा राखेर आमाबाबुले नै आफ्ना नातेदार वा चिनेजानेका व्यक्तिका साथ लगाई पोखरा, चितवन, काठमाडौँलगायतका सहर बजारमा पठाउने गर्छन् । तुलसीपुर उपमहानरपालिका–६ लाई तीन वर्ष पहिले बालश्रममुक्त वडा घोषणा गरिसकेको छ । तर अहिले पनि आर्थिक अभावका कारण धेरै बालबालिका अरुका घर तथा पसल तथा यातायातका साधनमा श्रम गर्न वाध्य भएका छन् । वडा सदस्य यमुना परियार भन्नुहुन्छ, “हामीले तीन वर्ष अघि वडालाई विभिन्न अभियान सञ्चालन गरी बालश्रममुक्त वडा घोषणा गरेका थियौं ।” त्यति बेला धेरै सुधार भएको थियो तर पछिल्लो समय कोरोनालगायत विभिन्न कारणले आर्थिक जोहो गर्नका लागि बालबालिका श्रम गर्न बाध्य भएको उहाँको भनाइ छ ।

केही बालबालिकाआर्थिक अभाव तथा अभिभावक विहीन हुँदा कामगरी खान बाध्य छन् । केही भने पढ्दापढ्दै साथीको लहैलहमा लागेर भागेर एक ठाउँबाट अर्को ठाउँमा जाने र त्यहाँ जोखिम मोलेर काम गर्छन् । त्यस्ता बालबालिकालाई भेटेमा सम्बन्धित अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउन वडा सदस्य परियारले सबैसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई काममा राख्ने गरेका होटेल, ग्यारेज, पसलमा निगरानी बढाउनुपर्ने र त्यस्ता बालबालिका भेटिएमा काममा लगाउनेलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ ।” सरकारी निकायबाट पनि निकृष्ट प्रकारको श्रम गर्नबाट रोक्नका लागि बालबालिका र अभिभावकका लागि जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले बालबालिकालाई निकृष्ट प्रकारको श्रममा लगाउने कार्य सामाजिक अपराध भएकाले त्यस्तामाथि कडा कारबाही गर्नुपर्नेमा बताउनुभयो ।

काठमाडौंको गागलफेदीमा एकजना युवती मृत फेला

काठमाडौं, १२ पुस ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुग्नुभएको छ । युवतीको हत्या भएको आशंका गरिएको छ ।