काठमाडौंको गागलफेदीमा एकजना युवती मृत फेला

काठमाडौं, १२ पुस ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुग्नुभएको छ । युवतीको हत्या भएको आशंका गरिएको छ ।

बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिृकत पक्राउ

काठमाडौं, ९ पुस ।
एक महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा रोल्पाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपालकी जवान एक महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । विवाह गर्ने भनेर ती महिलासँग थापाले शारीरिक सम्पर्क गर्ने गरेको र पछि विवाह गर्न नमानेपछि ती महिला प्रहरीले बलात्कारको उजुरी हालेको स्रोतले जानकारी दिएको छ । बलात्कार गरेको कसुरमा ७ दिनको म्याद लिएर थापामाथि अनुसन्धान भइरहेको छ ।

मेडिकल कलेजमा सहज वातावरणमा भर्ना र पठनपाठन गराउन ७ विद्यार्थी संगठनहरुकोे माग

काठमाडौं, १६ पुष ।
सात विद्यार्थी संगठनले चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन काठमाडौं विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरूसँग माग गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै ती विद्यार्थी संगठनले चिकित्सा शिक्षाका विद्यार्थीहरूका जायज मागहरुमा ऐक्यबद्धता समेत जाहेर गरेका छन् । काठमाडौं विश्वविद्यालयका सम्बन्ध प्राप्त कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले २०७८ सालको नयाँ भर्नामा एमबीबीएस, बिडिएस, र बी नर्सिङमा राज्यले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् । सो आन्दोलनप्रति पनि विद्यार्थी संगठनहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विद्यार्थीहरूका मागबारे कलेजहरुले सुनुवाई नगरे आन्दोलन गर्ने समेत संगठनहरुले चेतावनी समेत दिएका छन् ।

सर्लाहीमा थपियो निषेधाज्ञा,

काठमाडौं १६ पुष ।
सर्लाहीमा पाँच दिनदेखिको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको छ । गत मंगलबार प्रहरीको भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलवासमा जारी निषेधाज्ञा अझै नहटेपछि जाडोमा सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको हो । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा तीन दिनदेखिको निषेधाज्ञालाई भोलि साँझ ७ बजेसम्म थप गरेको छ । स्थानीय प्रशासन र पीडित परिवारबीचको छलफल निश्कर्षमा पुगेपनि सहमति कार्यान्वयन नभएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । सहमतिअनुसार पीडित परिवारले शव नबुझेपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा तेस्रोपटक थप गरिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ । पाँच दिनअघि प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका ५, सखुबनीस्थित खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटना शंकास्पद भन्दै आक्रोशित स्थानीय र बयलवास बजार क्षेत्रका व्यापारीहरूसमेत आन्दोलित भएपछि निषेधाज्ञा लगाइको छ ।

बाघको आक्रमणबाट नवलपुरमा महिलाको मृत्यु

काठमाडौं १६ पुष ।
नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट १ महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान स्थानीय वनमा साग टिप्न गएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभएको छ । नवलपुरमा यसअघि मंसिर दोस्रो हप्ता बाघको आक्रमणबाट विनयी त्रिवेणी गाउँपालिका–१ मा स्थानीय सामुदायिक वन रक्षकको मृत्यु भएको थियो । वन आसपासमा बाघको आतंक बढेको भन्दै विनयी त्रिवेणी गाउँपालिकाले केही दिनअघि मात्रै एक सूचनामार्फत वन क्षेत्रमा नजान स्थानीयलाई अनुरोध गरेको थियो ।