अमेरिकी डलर र बङ्गलादेशी टाकासहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, २ चैत  : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार बङ्गलादेश एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बङ्गलादेश जान लागेका चिनियाँ नागरिक ५२ वर्षीय काई हुनानलाई विमानस्थलबाट पक्राउ गरिएको हो ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज क्षेत्रमा रहेको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त डलर र टाका फेला परेपछि नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९ सम्पन्न

भक्तपुर, : भक्तपुरमा पहिलो पटक आयोजना गरेको अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९ सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा फागुन २४ गतेबाट सञ्चालन भएको महायज्ञसहितको महोत्सवमा दाताहरुबाट रु. ८0 लाख संकलन भएको मन्दिर व्यबस्थापन समितिका अध्यक्ष एवं महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले जानकारी दिनुभयो ।

दैनिक १० हजारदेखि १३ हजारसम्म भक्तजनको उपस्थिति रहेको महोत्सवमा नेपालका ७७ वटै जिल्ला र भारतका बिभिन्न प्रान्त एवं अमेरिकाबाटसमेत प्रतिनिधित्व गरेको उहाँले जानकारी दिनुभयो । महोत्सवमा अनन्तश्री विभूषित जगतगुरु सूर्यनारायणजी महाराजबाट मन्दिरको गजुर प्रतिस्थापन एवं मन्दिरको उद्घाटन गर्नु भएको छ । महोत्सवमा करिब ६० लाख रुपैयाँ खर्च भएको सचिव कार्कीले जानकारी दिनुभयो ।

महोतसव मुल आयोजक समितिका अध्यक्ष बिष्णुप्रसाद न्यौपानेले आध्यात्मिक क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटन महोत्सवको रुपमा आयोजना गरिएको बताउदै महोत्सव अवधिभर मन्दिरमा दैनिक १०८ ब्रह्ममुनी (बटुक)हरुले श्री १०८ तारतमसागर पाठ पारायण र श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त, श्री विभूषित जगद्गुरु आचार्य, श्री कृष्णमणिजी महाराजजी, मंगलधाम कालिम्पोङ्गका गादिपति, श्री १०८ गुरुजी मोहनप्रियाचार्यले प्रवचन दिनु भएको थियो ।

महोत्सवमा दैनिक सेवा पुजा आरती, योग ध्यान, चितवनी, पाठ पारायण, ध्यान जप, धार्मिक प्रवचन, श्रीकृष्णामृत कथा, सन्ध्या आरती र साँस्कृतिक कार्यक्रम गरिएको थियो । महोत्सव अबधीभर मा विशेष कार्यक्रम अन्तर्गत दैनिक तारतम मन्त्र प्रदान तथा आत्मा जागनी कार्यक्रम, सम्मान कार्यक्रम, रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षणगरिएको उहाँले बताउनु भयो । कलश यात्रा गरिएका एक हजार कलश वितरण गरिएको छ ।

संकलन भएको रकमलाई अक्षयकोषमा राखिने बताउदै समितिका अध्यक्ष न्यौपानेले श्रीकृष्ण प्रणामी सेवजा समिति केन्द्रले इटहरिमा सञ्चालन गरेको ४५ शय्याको प्राणनाथ अस्पताल, संस्कृति विद्यालय र चाहविलमा रहेको राधाकृष्ण सेवा संस्कृत पाठशालाका अनाथ, असाहय बालबालिकाको शिक्षादिक्षामा खर्च गरिने बताउनु भयो ।

२०५७ सालमा श्रीकृष्ण प्रणामी मन्दिर निर्माण भई आध्यात्मिक कार्यक्रम सञ्चालन हुदै अनाथ वालवालिका तथा बृद्ध बृद्धाहरूको संरक्षण पठन–पाठन एवम् भरणपोषण हुँदै आईरहेको छ । नेपालमा छाता संस्थाको रूपमा रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका मुलुकभर २५१ शाखाहरू आध्यात्मिक तथा सामाजिक क्षेत्रमा कार्यरत रहेका छन् ।

शाकाहार स्वास्थ्यको महत्वबारे प्रवचन, अहिंसाको सन्देश जन–जनमा फैलाउन जनचेतना जगाउने, हिन्दु धर्मको मठ–मन्दिरहरू संरक्षण प्रवर्धनमा जोड दिने, अनाथ बालबालिका तथा बृद्धबृद्धाहरूको संरक्षण तथा शिक्षा दिक्षामा अभिवृद्धि गराउने, यस एतिहासिक सांस्कृतिक नगरी भक्तपुरलाई धार्मिक पर्यटनसँग जोड्ने, दुव्र्यशन मुक्त समाज निर्माणमा जोड दिने उदेश्यले महोत्सव आयोजना गरिएको हो ।

बढ्यो दूधको मूल्य, चैत २ गतेदेखि यस्तो छ नयाँ मूल्य

काठमाडौं : सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ।

संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाउने भएको छ।

डीडीसीका महाप्रवन्धक सन्जिव झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिए।

‘बुधबारदेखि नै किसानले बढेको मूल्य पाएका छन्,’ उनले भने, ‘त्यहि मूल्य बिहीबारदेखि हामीले उपभोक्ताबाट लिने हो।’

अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ। हाल प्रतिलिटर ८६ रूपैयाँ रहेको मूल्य बिहीबारदेखि ९७ रूपैयाँ पर्नेछ।

त्यस्तै संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रूपैयाँ बढाएको छ।बिहीबारदेखि गाईको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर ११६ रूपैयाँ पर्नेछ।

संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रूपैयाँ बढाएको छ। बिहीबारदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रूपैयाँ पर्नेछ।

चिया दूधको मूल्य प्रतिलिटर १० रूपैयाँ बढेर ९० रुपैयाँ हुने भएको छ।

एकीकृत विकास समाजको साधारणसभामा २ जना सम्मानित

काठमाडौँ । एकीकृत विकास समाज(आईडिएस)ले आर्थिक वर्ष २०७८—०७९ मा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । समाजको २२ औं साधारणसभामा महासचिव सोमबहादुर श्रेष्ठले समाजले गत आर्थिक वर्षमा गरेको प्रगति विवरण सार्वजनिक गरेका छन् । मुलत खानेपानी तथा वातावरणीय सरसफाई एवं सिपमुलक कार्यक्रमलाई राष्ट्रिय स्तरमा सञ्चालन गर्ने उदेश्यले स्थापना भएको यो संस्थाले छोटो अवधिमा १२९ वटा कार्यक्रम सम्पन्न गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।

महासचिवले प्रस्ताव गरेको प्रतिवेदनमा गत आर्थिक वर्षमा ४ वटा जिल्लामा ‘स्कुल वास प्रोगाम’ सम्पन्न गरेको छ । ब्रिटिस काउन्सिलसँग सहकार्य गरेर लुम्बिनीमा ‘वुमिन अफ द वल्ड’ र डब्लुएफीसँगको सहकार्यमा लुम्बिनी र कपिलबस्तुमा ‘क्यास ट्रान्फर टु सर्पोट इम्प्रुभमेन्ट एजुकेसन एण्ड न्यूट्रेसन आउटमिन्स एमोङ चिन्ड्रेन’ कार्यक्रम सम्पन्न गरेको छ । गत आवको कार्यक्रम ‘एफ सर्भिस’ काठमाडौंमा सञ्चालनमा छ ।

बर्दियामा समेत गत आवको कार्यक्रम ‘टुअर्स ब्राउनलेज’ सञ्चालन भइरहेको प्रतिवेदनमा उल्लेख छ । चालु आवमा २ वटा कार्यक्रम सञ्चालनमा रहेको समाजले जनाएको छ । जसमा बझाङ, बाजुरा, अछाम र दार्चुलामा ‘स्कुल हेल्थ एण्ड न्यूट्रेसन प्रोगाम’ सञ्चालनमा छन् । साथै लुम्बिनीमा ‘म्यानेजमेन्ट अफ मूड हाउस एण्ड नलेज सेन्टर स्टाबिल्समेन्ट’ कार्यक्रम सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष गिरीधर मिश्रले प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका सांसद एवं नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले यो संस्थाको नेतृत्व देशकै अब्बल मानिसले गरेको अब्बल संस्था भएको बताए ।

योजना आयोगको उपाध्यक्ष समेत भएका देवकोटाले यो संस्थाको टिम वर्क, स्मार्ट वर्क र नेटवर्कसहित अब्बल नेतृत्व, पारदर्शिता र भविष्यको योजना प्रमुख विशेषता भएको बताए । नास्टको प्राज्ञ समेत रहेको उनले संस्थामा सुशासन कायम गर्न ध्यान दिँदै नयाँ चुनौतिलाई सामना गर्न तयार हुने योजनासमेत संस्थाले विकास गर्दै जानुपर्ने सुझाव दिएका छन् ।

समाजको संस्थापक अध्यक्ष प्रभा पोखरेलले फोहोर व्यवस्थापनमा संस्थाले धेरै राम्रो काम गरेको बताइन् । उनले आफूले समेत लामो समय फोहोर व्यवस्थापनमा काम गरेको अनुभव सुनाउँदै फोहोर व्यवस्थापन गर्न सबैभन्दा पहिले फोहोरको वर्गिकरण गर्नुपर्ने बताइन् । तर, फोहोर वर्गिकरण गर्न सरकारी निकाय नै तयार नभएको उनको भनाइ छ । उनले आफ्नो हातखुट्टा चल्दासम्म यही क्षेत्रमा काम गर्ने बताइन् ।

साधारणसभाको अवसरमा समाजका अध्यक्ष प्रा.डा राजेन्द्र अधिकारीद्धारा लिखित पुस्तक विमोचन समेत गरिएको थियो । उक्त पुस्तकको विषयमा उठाएको महिला सम्बन्धी विषय गम्भीर रहेको पोखरेलले बताइन् । उनले पुस्तकमा महिलालाई कसरी सेक्स कमोडिटीको रूपमा प्रयोग गरिएको छ भन्ने विषय प्रष्ट उठान भएको भन्दै तारिफ समेत गरिन् । अहिले पनि महिलालाई क्षमताभन्दा रूप र सेक्सको रूपमा मात्र प्रयोग गरिएको उनको दाबी छ ।

साधारणसभाको अवसरमा २ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा नमस्तेलाल श्रेष्ठ र प्रकाश कोइराला छन् । कोइराला पूर्वशिक्षक हुन् । उनले विकासको क्षेत्रमा गुरुयोजना बनाउँछन् । उनले एईडिएसको विभिन्न पदमा रहँदै कार्यकारी अध्यक्षको समेत भूमिका निर्वाह गरिसकेका छन् ।

आफूले यो विभिन्न जिम्मेवारीसहित कार्यकारी अध्यक्ष हुँदा आत्मासन्तुष्टि मिल्नुका साथै धेरै कुरा सिक्ने अवसर मिलेको उनले बताए । उनले सम्मान गरेकोमा संस्था र सांसद देवकोटाप्रति कृतज्ञता प्रकट गरे । साथै टिम वर्ककै कारण आफू र संस्था सफल भएको उनको भनाइ छ । श्रेष्ठ युनिसेफमा समेत काम गरिसेका कर्मचारी हुन् । उनले कोभिडको अवधिमा घरमा बसेकको समयमा किताब लेखेर प्रकाश गरेका छन् । सरसफाई र समाजिक सेवामा उनी सक्रिय छन् ।

देशलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्न उनको योगदान महत्वपूर्ण रहेको छ । साधारणसभाले ७ जना नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्ष सोमबहादुर श्रेठ, उपाध्यक्ष गिता खड्का, महासचिव गिरीधर मिश्र, कोषाध्यक्ष विजय शाक्य, सदस्यहरू सुशील बिके, साधुराम खत्री, प्रकृति चालिसे रहेका छन् । सल्लाहकारमा कल्पना प्रधान, गोपाल कृष्ण श्रेष्ठ, प्रा.डा राजेन्द्रप्रसाद अधिकारी, डा.सर्वराज खड्का र मुख्य संरक्षक प्रभा पोखरेल रहेका छन् ।

आन्तरिक पर्यटन प्रबर्दन गर्न रातोपाटी रिसाल डाँडा हाइकिङ्ग आयोजना

भक्तपुर, ८ माघ : आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले आज सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटीबाट रिसालडाँडासम्मको हाइकिङ्ग (पदयात्रा) ककार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय युवा संघ नेपाल पर्यटन विभागको आयोजना तथा संघ भक्तपुर जिल्लाको समन्वयमा आज बिहान ९ बजेबाट सुरु भएको हाइकिङ्गको नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गर्नु भयो ।

कार्यक्रममा उहाँले सूर्यविनायक नगरपालिका क्षेत्रका डाँडाहरु आफैमा भ्यू टावर रहेको चर्चा गर्दै यहाँबाट देखिने काठमाडौं उपयत्यकादेखि हिमाली दृश्यहरु निकै मनमोहन रहेको बताउनु भयो । रातोपाटीबाट सुरु भएको पर्यटन पदयात्रा एवं हाइकिङ्ग अनन्त कुण्ड, अनन्तलिङ्गेश्वर, महादेव खोला, कैलाश भ्यू टावर, होमस्टेहुदै रिसाल डाँडा पुगेर पहिलो चरणको पदयात्रा सम्पन्न गर्न सकिने बताउनु भयो ।

अनन्त कुण्डको ऐतिहासिक एवं धार्मिक महत्व माथि प्रकाश पार्दै उहाँले राजा अंशु बर्माले आफ्नो रानी बिरामी हुँदा यहीको पानी लगेर छर्किए पछि निको भएको किम्वदन्ती रहेको बताउनु भयो । उहाँले प्रताप मल्लले रानी पोखरी निर्माण गर्दा यहीँ कुण्डको पानी लगेर हालेको ऐतिहासिकता रहेको बताउनु भयो ।

उहाँले यहाँको पर्यटन विकास र सिढी निर्माणका लागि, सडक निर्माणका लागि आफू सांसिद हुँदा बजेट ल्याएर सुरुवात गरि पूर्णता दिलाएको बताउदै यस क्षेत्रको मुख्य आधार धार्मिक पर्यटनको रुपमा बिकास गरेर लैजाने बताउनु भयो ।

रातोपाटीबाट यहाँका जंगल सफारी गर्दै जंगली जनावर, चराचुरुङ्गी हेर्दै ग्रामिण परिवेश नियाल्दै अगौनिक खानेकुरा खादै हाइकिङ्ग गर्ने सकिने यो क्षेत्रसँगै उहाँले सुइृविनायकमा धेरै ठाउँबाट पदमार्ग निर्माण गरेर जंगल सफारी गर्न सकिने बताउनु भयो ।

सूर्यविनायकबाट घ्याम्पे डाँडा, रानीकोट, बाघ भैरब, माने भञ्याङ्ग, पनौती कुशादेवीसम्म जान सकिने, सूर्यविनायकबाटै रिसालडाँडा हुदै तयस भन्दा माथि पोखरी थुम्का अर्को गन्तव्य र त्यहाँ भन्दा पनि माथि लाकुरी भञ्याङ्गहुदै फूलचोकी पुग्न सकिन्छ ।

कार्यक्रममा वाग्मति प्रदेश सदस्य किरण थापाले यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र बिकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएकाले त्यसलाई पुरा गर्ने बताउनु भयो ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नोल पर्यटन बोर्डका उपाध्यक्ष चनद्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्यलाई पहिचान दिदै आन्तरिक पर्यटकको आकर्षण थप्न सकिने बताउनु भयो ।

पदयात्राका क्रममा मृग, बँदेल, खरायो, कालिजलगायतका जंगली जनावर र पशुपक्षीको अवलोकन गर्न सकिन्छ भने एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रबाट १७ हिमशृंखला र उपत्यकाका तीन वटै सहरको दृश्यावलोकन गर्न सकिन्छ ।

मध्यपुरथिमिको प्रसिद्ध गणेश चाकु वासको चाकु स्वादै मिठो, सिंगो परिवार चाकु बनाउनै व्यबस्त

भक्तपुर, २९ पुस : माघे संक्रान्ती नजिकै आइसक्यो । मध्यपुरथिमि नगरपालिका–४ दुई पोखरी इनाय टोलका व्यापारीलाई भने यतिखेर चाकु बनाउन भ्याई नभ्याई भएको छ ।

मध्यपुरथिमिमा पहिलो पटक ५८ वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गर्नु भएको चाकु बनाउने पेशा नाती पुस्तासम्म पनि उत्तिकै प्रख्यात छ । माघे संक्रान्ति नजिकिएसँगै त उहाँका छोरा उत्तमराज श्रेष्ठको परिवारलाई एकमहिना अघिदेखि चाकु बनाउन भ्याईनभ्याई भएको हो ।

थिमिमा चाकु उत्पादन गर्ने वर्षौ पुरानो एकमात्र गणेश चाकु वासको नामबाट प्रख्यात श्रेष्ठले माघे संक्रान्तिका लागि मात्रै नभई वर्षदिन भरी नै चाकु बनाउने भएपछि यहाँको चाकु र पुष्टकारी स्वदेशमा मात्रै नभई विदेशमा पनि प्रख्यात रहेको बताउनु हुन्छ व्यवसायी श्रेष्ठ ।

अहिले माघे संक्रान्ति नजिकिदै गर्दा अलि भिड बढेको र जाडो बढेका कारण चाकुको मागलाई धान्न धौ धौ परेको उहाँको भनाइ छ । विगत एक महिनादेखि उहाँको परिवारसहित दैनिक २५ जनालाई चाकु र तीलको कालो तथा सेता लड्डु (तिलौरी) बनाउन भ्याईनभ्याई छ ।

उहाँ भन्नुहुन्छ, “माघे संक्रान्ति नजिकिए पछि चाकु लिन आउनेको अलि बढी भीड लाग्छ, तर यहाँ उत्पादन भएको चाकु र पुष्टकारीलाई औषधिको रुपमा प्रयोग गर्न पनि टाढाटाढाबाट लिन आउँछन्, चाकु खायो भने खोकी लाग्छ भन्छन्, तर हाम्रो यहाँको चाकुले खोकी निको पार्छ, सुत्केरी चाकु पनि हाम्रो प्रख्यात छ, गर्भवति महिला, सुत्केरी महिलाका लागि पनि टाढा टाढाबाट यहीँ चाकु लिन आउँछन्, महिलामा रगत बग्ने समस्या भयो भने पनि चाकु लिन यहीँ आउँछन् ।”

सुत्केरीले यहाँको चाकु खादा चिसो नलाग्ने, बच्चाका लागि पर्याप्त दूध आउने, सुत्केरीको शरीरलाई बाधन मद्धत पुग्ने भएकाले जाडोमा मात्र नभई गर्मी मौषममा पनि चाकु लिन आउने गरेको उहाँ बताउनु हुन्छ ।

चाकु बनाउन व्यबस्त सुदिप श्रेष्ठ जाडोमा मात्रै नभई यहाँ वैशाख जेठको गर्मीमा पनि दैनिक ७ देखि १० किलो, असोज कात्तिकमा दैनिक १५ देखि २० किलो चाकु र पुष्टकारी बिक्री हुने गरेको सुनाउनु हुन्छ । पुसमा जाडो बढेपछि भने दैनिक ५० किलोसम्म चाकु र पुष्टकारी बिक्री गर्ने गरेको र अहिले माघे संक्रान्तिका लागि भने उपत्यका र बाहिरबाटसमेत माग अत्याधिक आउने भएकाले दैनिक २०० किलोसम्म बिक्री हुने गरेको बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ, “चाकु लिनेको १० दिन अगाडिदेखिनै भीड छ, माघे संक्रान्तिको दिन त ४०० देखि ५०० किलोसम्म चाँकु बिक्री हुन्छ । संक्रान्ति पछि पनि यहाँ चाँकु बिक्री हुन्छ, अहिले हामी २५ जना चाकु बनाउन, प्याकिङ् गर्न र बिक्रीका लागि खटिएका छौँ ।”

भकभकी उम्लिएको दूधमा सख्खर, नरिवल, छोगडा, कुराउनी, र बिभिन्न मसलाहरुको प्रयोग गरेर बनाइने चाकु लिन भक्तपुर, काठमाडौ, ललितपुर, साँखु, पनौती र उपत्यका बाहिरबाट समेत आउने गरेको सुनाउनु हुन्छ चाँकु प्याकिङमा व्यबस्त सुरेन्द्र श्रेष्ठ । एक पाउँ, आधा किलो र एक किलो प्याकिङमा पाइने यहाँको चाकु प्रख्यात भएकै कारण स्वदेश तथा विदेशमा उपहार दिन र सुत्केरीलाई खुवाउन टाढादेखि यहाँ चाकु लिन आउने गरेको किस्सा उहाँ सुनाउनु हुन्छ ।

यहाँको चाकु काठमाडौं उपत्यका मात्रै नभई उपत्यका बाहिर बस्ने नेपालीहरुले पनि लैजाने गरेका छन् । यहाँको चाकु खादा फरक स्वाद, मिठास र औषधिजन्य गुण रहेको दाबी गर्नुहुन्छ उत्तमराज ।

यहाँको चाँकु भारत, अमेरिका, अष्ट्रलिया, जापानलगायतका बिभिन्न देशमासमेत पुग्ने गर्दछ । विदेश जाने बेलामा चाकु कोसेली पठाउने र विदेशमा बस्ने नेपालीहरुले पनि यहाँको चाकु नै माग गर्ने भएकाले विदेशमा पनि कोसेली स्वरुप लैजाने गरेको उहाँ बताउनु हुन्छ ।

केहीवर्ष अगाडिसम्म प्रतिकिलो रु ५०० मा बिक्री गरेको चाँकु हरेक वर्ष कच्चा पदार्थको मूल्य बढ्दै गएपछि अहिले किलोको ७०० रुपैयामा बिक्री गरेको उहाँ बताउनु हुन्छ । बाजेले सुरु गरेको चाकु व्यवसायबाट राम्रो जिविकोपार्जन हुने भएपछि बाबुलाई साथ दिँदै आउनु भएका सुदिपले पनि यो पेशालाई निरन्तरता दिदै आएको बताउनु हुन्छ ।

संसद त ठूला नेताहरुको जुहारी खेल्ने र कुण्ठा पोख्ने थलो पो रहेछ : सांसद थापा : भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको आठौं साधारणसभा एवम् चौंथो अधिवेशन सम्पन्न

भक्तपुर, २७ पुस । प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि ठूला नेताहरुको जुहारी खेल्ने र कुण्ठा पोख्ने थलो बनेको टिप्पणी गर्नु भएको छ । भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको बुधबार आठौं साधारणसभा एवम् चौंथो अधिवेशनको उद्घाटन गर्दै उहाँले संसदमा देश र जनताको समस्या समाधान गर्नेबारेमा चासो एवं छलफल नहुने आफ्नो संसदको पहिलो अनुभव रहेको बताउनु भयो ।

सांसद थापाले भन्नुभयो, “मलाई लागेको थियो, संसद त देश र जनताको समस्या माथि छलफल, विवेचना गर्ने र समाधान गर्ने ठाउँ हो तर होइन रहेछ, संसद त ठूला दलका नेताहरुको जुहारी खेल्ने ठाउँ पो रहेछ, एउटा नेता आउनुहुन्छ, गजक्क फुल्नुहुन्छ, हामीलाई पाठ पढाउनुहुन्छ । अनि हामीले उहाँको कुरा सुन्छौँ थपडी बजाउँछौ, फेरी अर्को नेता आउनुहुन्छ, छेडछाड गर्नु हुन्छ, एकले अर्कोलाई घोचपेछ गर्नुहुन्छ, फेरी हामी थपडी बजाउँछौ, हामीले सुन्ने र थपडी बजाउने थलोको नाम प्रतिनिधि सभा रहेछ ।”

दलका नेताहरुको ध्यान सत्ता र कुर्सीमा मात्र केन्द्रीत रहेको आरोप लगाउँदै उहाँले आज एउटा नेता फ्याट्ट अर्को नेतासँग मिल्यो, फेरी अर्कोले अर्कोलाई कुर्सीबाट झार्यो, अनि देश र जनताको समस्या कहिले समाधान हुन्छ र ? भन्दै गुनासो पोख्नु भयो । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर देशमा स्थिर सरकार निर्माण गरेको उहाँको भनाइ थियो । अब यो देशले पाँच वर्षका लागि स्थिर सरकार प्राप्त गरेको बताउनु भएको हो ।

संसद प्रवेशको पहिलो अनुभव सुनाउँदै सांसद थापाले भन्नुभयो,“कसैले तान्ने बित्तिकै प्रधानमन्त्रीको कुर्सी खुस्किने अवस्था थियो, काँग्रेसले विश्वासको मत दिएसँगै त्यसको अन्त्य भएको छ । सरकार कसको नेतृत्वमा छ, प्रधानमन्त्री कुन दलको छ, राष्ट्रपति कुन दलको छ, सभामुख कुन दलको छ, त्यसले कुनै अर्थ राख्दैन, सरकार पाँच वर्षका लागि स्थिर हुनुपर्छ, पाँच वर्षको लागि निर्वाचित संसद पाँच वर्ष चल्नुपर्छ । देशको समृद्धिको खाका कोर्नुपर्छ, संसदबाटै सबै क्षेत्रको सम्बोधन हुनुपर्छ ।”

निर्वाचनमा काँग्रेस ठूलो पार्टी बन्दा आफ्नो पनि मन्त्री हुने हल्ला चलेको तर देशको राजनीतिक परिवेशनै फरक परे पनि आफूलाई अरुले हेर्ने दृष्टिकोण नै फरक परेको बताउदै सांसल थापाले भन्नुभयो, “काँग्ेस ठूलो पार्टी बन्दा मेरो पनि मन्त्र िबन्ने हल्ला थियो, त्यसबेला घरभरी मान्छेको भीड थियो, चिया खुवाउन भ्याईनभ्याई थियो, तर अर्को सरकार बनेपछि त अहिले मेरो घरतर्फ चिहाएर पनि नहेर्ने भएका छन् । हामी नेता, मतदाता, व्यबसायी सब सेल्फिस भएका छौं, अनि कसरी हुन्छ ?”

उहाँले वर्षदिन भरि २४ सै घण्टा खट्ने नेतालाई चुनाब जित्न गाह्रो भइरहेको बेलामा मान्छे नै नचिनेका, उनीहरुको एजेण्डा र बिचार नै नभएका घण्टी जस्तोलाई जिताएर पठाए मतदाताले अनि कसरी हुन्छ, समस्याको समाधान ? प्रश्न गर्नुभयो । देशमा आर्थिक मन्दीले क्याटरिङ र पार्टी प्यालेस व्यवसाय मात्र नभई सबै क्षेत्रमा समस्या रहेको बताउदै उहाँले भन्नुभयो, सबै पैसा जति नेताहरुको घरमा थुप्रिएको र बाहिर निकाल्ने नमिल्ने भएकाले विदेशबाट हुन्डी मार्फत आउने, बढ्दो आयातका कारण आर्थिक संकट रहेको बताउनु भयो ।

सांसद थापाले भन्नुभयो, “हाम्रा माननीय नै सांसद अपहरण गर्छन्, जग्गा कारोबारी गछृन्, जग्गा प्लटिङ गर्छन्, पहिला जग्गा किनेर पछि त्यही जग्गामा बाटो लैजान्छन्, बिकासको ठेक्का लिन्छन्, अनि कसरी हुन्छ समस्याको समाधान ?” उहाँले एउटा सांसद सबै क्षेत्रको विज्ञ बन्न नसक्ने भन्दै समसामयिक क्षेत्रको समस्या उठान र समाधानका लागि सम्बन्धीत क्षेत्रको विज्ञसँग छलफल गर्नुपर्ने औल्याउनु भयो । उहाँले राज्यले कानुन मार्फत सबै क्षेत्र र व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिदै त्यस्ता कानुन बनाउन आफु सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले कुनैपनि मानवीय स्वास्थ्य, गुणस्तरीय खाना र सुरक्षाका सवालमा पार्टी प्यालेस व्यवसायीहरु जवाफदेही हुनु पर्नेमा जोड दिदै यो व्यबसायमा देखिएका समस्यालाई समाधानमा केन्द्रीत हुनुपर्ने बताउनु भयो ।

बागमती प्रदेशसभाका अर्का सदस्य सुरेश श्रेष्ठले क्याटरिङ र पार्टी प्यालेस व्यवसायले उपभोक्ताको विश्वास जितनु पर्नेमा जोड दिदै यहाँ भित्रका विकृति विसंगतीप्रति उपभोक्ताहरुको गुनासो बढेको बताउनु भयो । उहाँले व्यवसायीका समस्या समाधान गर्न निरन्तर छलफल र बहश हुनुपर्नेमा जोड दिँदैं त्यसका लागि सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसिले हजारौं दक्ष अर्धदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएको क्याटरिङ व्यवसाय कोभिडको महामारीले थिलथिलो बनाएको बताउँदैं त्यसलाई माथि उकास्न सरकारले व्याज दरमा सहुलियत दिनुपर्नेमा जोड दिनु भएको थियो ।

भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुँछेरत्न मानन्धरले चेम्बर र भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको सहकार्यमा कोभिड १९ को महामारीमा विभिन्न गतिविधि सञ्चालन गरेको स्मरण गर्नु भयो ।

कार्यक्रममा संघका अध्यक्ष एवं कार्यक्रमका सभापति सचिन्द्र श्रेष्ठले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीको समस्यालाई सामुहिक रुपमा समाधान गर्न संघ प्रतिबद्ध रहेको बताउदै उपभोक्ताको मन जितेर अगाडि बढेर जानु पर्नेमा जोड दिनु भयो ।

संघका सचिव राजेन्द्र देउजाले यो व्यवसायमा अस्वस्त प्रतिस्पर्धा रहेकाले यसलाई त्याग्नु पर्नेमा जोड दिदै यो व्यवसाय हस्पिटालिटीसँग जोडिएको र मानिसको स्वास्थ्यसँग सम्बन्धित रहेकाले गुणस्तरीयता, फुड एण्ड हाइजेनिकतामा सम्झौता गर्न नहुने औल्याउनु भयो ।

संघका उपाध्यक्षमा शान्तराम साँगाछेंले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा नवनिर्वाचित संघीय सांसद दुर्लभ थापा, प्रदेश सांसद डा. राजेन्द्रमान श्रेष्ठ, सुरेश श्रेष्ठलाई दोसल्ला र भादगाउँले टोपीले सम्मान गरिएको थियो । संघका सल्लाहका नानीबाबु थापालाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ कार्यक्रममा सांसद थापाले सम्मान गर्नु भएको थियो भने संघमा आबद्ध भएका नयाँ सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

संघमा नयाँ कार्यससिति चयन :

त्यसैगरि संघको चौंथो अधिवेशनले पुनः सचिन्द्र श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी कार्यकालका लागि संघको उपाध्यक्षमा शान्तराम साँगाछें, सचिवमा राजेन्द्र देउजा, कोषाध्यक्षमा श्यामसुन्दर श्रेष्ठ, सहसचिवमा कृष्ण सदन चौगुठी सर्वसम्मतले चयन हुनु भएको छ ।

संघका सदस्यहरुमा इश्वर श्रेष्ठ, इन्द्रभक्त श्रेष्ठ, मोहनलाल श्रेष्ठ, विष्णु थापा, भक्तलाल श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ सर्वसम्मतले चयन हुनु भएको छ । निर्वाचन कमिटिको संयोजक धर्मरत्न खाईतुले जिम्मेवारी निर्वाह गर्नु भएको थियो । निर्वाचित सबै पदाधिकारीलाई सांसद थापाले प्रमाणपत्र प्रदान गर्नुभयो ।

चाँगुनारायण नगरपालिकाको पाँच वर्षमा सात करोड बेरुजु , फिर्ता नगरे कारबाही गरिने

भक्तपुर, २८ पुस । विगत पाँच वर्षमा चाँगुनारायण नगरपालिकाको बेरुजु झण्डै सात करोड पुगेको छ । नगरपालिकाका प्रमुख जीवन खत्रीले बिकास बजेटमा रहेको बेरुजु घटाउन बजेट लैजाने निकायले कि तत्काल काम सम्पन्न गर्न कि त इमान्दारिताका साथ रकम फिर्ता गर्न आव्हान गर्नु भएको छ ।

नगरपालिकाको बेरुजु आर्थिक वर्ष २०७४÷०७५ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा ३३ वटा शीर्षकहरूमा ६ करोड ८६ लाख ४२ हजार ८७३ रुपैयाँको रहेको छ । जसमा सबैभन्दा बढी बेरुजु आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ता समितिमार्फत गरिएको कामको रहेको छ ।

उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता गरेर रकम निकास गर्ने तर उपभोक्ता समिति आफूले काम नगरेर अर्को ठेकेदारलाई कामको जिम्म दिएका विकासका कामको मात्रै एक करोड २८ लाख ८९ हजार ८६४ रुपैयाँको बेरुजु रहेको नगरपालिकाको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “विगत पाँच वर्षमा हचुवमा जसरी पायो त्यसरी रकम ्बाडेको देखियो, लगेको रकमको काम गरेर फस्र्यौट गरेको भए हुन्थ्यो, काम अधूरो बनाउने र कामै नगरेको पार्यउकाले त्यस्तो रकम इमान्दारिताका साथ फिर्ता गर्न आव्हान गर्दछु, अन्यथा कानून अनुसार अगाडि बढ्छौँ ।”

त्यस्तै नगरपालिकाले चालू आ.ब.२०७९/०८० का लागि पूजीँगत तर्फ एक अर्ब ३४ करोड ७१ लाख ४३ हजार ९५७ रुपैयाँ र चालू तर्फ ७७ करोड १८ लाख ८२ हजार २४३ रुपैयाँ गरि कूल दुई अर्ब ११ करोड ८९ लाख ८६ हजार २०० रुपैयाँ बजेट विनियोजन गरेकोमा यो ६ महिनाको अबधीमा कूल बजेटको २३ दशमलव २८ प्रतिशत अर्थात पुससम्ममा कूल ४९ करोड ३४ लाख ७० हजार खर्च गरेको नगर प्रमुख जीवन खत्रीको बताउनु भयो ।

आन्तरिक राजस्व तर्फ २६ करोड २६ लाख ३० हजार संकलन गर्ने लक्ष्य राखेकोमा यहीँ पुससम्ममा ६ करोड ८४ लाख १३ हजार २४३ रुपैयाँ अर्थात २६ दशमलव ४ प्रतिशत मात्रै संकलन भएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

काठमाडौँ, १६ कात्तिक : नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ ।

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ ।

संशोधित आचारसंहिता बमोजिम निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । ती व्यवस्थाकोे पालना गर्न तथा गर्न लगाउन निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारका मन्त्रीहरुलाई तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मन्त्रीलाई निर्देशन दिइसकेको छ ।

आचारसंहितामा नेपाल सरकारका मन्त्रीले आयोगको सहमति लिई त्यसरी सहमति लिएको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन र प्रदेश सरकारका मन्त्रीले प्रदेश निर्वाचन कार्यालयमार्फत वा सोझै आयोगको सहमति लिई त्यसरी सहमति लिएको सम्बन्धित प्रदेशभित्रको स्थानमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुनसक्ने व्यवस्था रहेको छ । स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् ।

शेयर बजार : नेप्सेसँगै कारोबारमा वृद्धि

काठमाडौँ, १६ कात्तिक  : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकका साथै कारोबार रकमसमेत बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर एक हजार नौ सय ३८ दशमलव ३० मा पुगेको छ ।

त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ९४ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय २७ कम्पनीको ४३ लाख ४६ हजार सात सय आठ कित्ता शेयर रु एक अर्ब ४६ करोड ७९ लाख १४ हजार आठ सय ७५ मूल्यमा कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये १० उपसमूहका शेयर मूल्यमा वृद्धि भएको छ । जसमध्ये बैंक, व्यापार र निर्जीवन बिमा उपसमूहका शेयर मूल्यमा गिरावट आएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ८५ लाख ६० हजार दुई सय १४ बराबरको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंक रु पाँच करोड ६६ लाख १७ हजार पाँच सय ९३, रिडी पावर कम्पनी रु पाँच करोड १९ लाख ९५ हजार आठ सय ५८ र गोर्खाज फाइनान्स रु तीन करोड ९४ लाख ४५ हजार छ सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार कर्पाेरेट डेभलपमेण्ट बैंकको मूल्य आठ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कर्णाली डेभलपमेण्ट बैंकको आठ दशमलव ११, जोसी हाइड्रोपावर पाँच दशमलव ९७, मानुसी लघुवित्त वित्तीय संस्था पाँच दशमलव ७४ र ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ४० प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ९६, माहुली लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ५०, माउण्टेन हाइड्रोको दुई दशमलव ४५, तारागाउँ होटलको दुई दशमलव ३७ र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले दुई दशमलव ३३ प्र्रतिशतले गुमाएका छन् ।