वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश, बिहिबार किरण थापा मगरले मुख्यमन्त्रीको सपथ लिने

======================================

सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । उहाँले नेकपा र राप्रपाको समर्थनमा बहुमतको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो । मुख्यमन्त्रीमा  किरण थापा मगरले बिहिबार मुख्यमन्त्रीको सपथ ग्रहणसंगै मन्त्रिमण्डल गठन हुने भएको छ । 

======================================

भक्तपुर, ३ भदौ । वागमती प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन हुने भएको छ । आज बिहानदेखि एमालेको नेताहरु र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुबीच भएको छलफलमा दिउँसो १ बजे सहमती भएको थियो ।

सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले ६३ जना प्रदेश सभा सदस्यीयको समर्थन प्राप्त गरि वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । उहाँले नेकपा र राप्रपाको समर्थनमा बहुमतको सरकार गठन गर्न मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको हो । मुख्यमन्त्रीमा  किरण थापा मगरले बिहिबार मुख्यमन्त्रीको सपथ ग्रहणसंगै मन्त्रिमण्डल गठन हुने भएको छ ।

सरकारबाहिर बसेरै राप्रपाले सरकारलाई समर्थन गर्ने भएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुलेको हो । सदनको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई समर्थन गर्ने भएपछि एमाले नेतृत्वमा सरकार गठनलाई सहज भएको हो ।

केन्द्रीय तहमा भएको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निर्णय भए अनुसार मंगलबार बसेको एमाले संसदीय दलको बैठकले जेएन थपलियालाई दलको नेतामा कायमै राख्ने र नेता किरण थापालाई मुख्यमन्त्री बनाउने सहमती भएको थियो ।

बागमती प्रदेशसभामा १०४ सदस्यीय रहेकोमा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । हाल नेकपाका २६, एमालेका २५ र राप्रपाका १२ सांसद सहितको समर्थनमा बहुमतको सरकार गठन हुन भएको छ ।

कांग्रेसले एमालेसँगको सत्ता सहकार्य तोडेपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका थिए । राजीनामापछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेसम्मको समय दिएका थिए । सोही अनुरुप मंगलबार साँझ एमाले र नेकपाबीच छलफल भएको र आज बिहानदेखि राप्रपासंग छलफल गरि सहमति भएको थियो ।

प्रदेशसभामा कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

सूर्यविनायकका महिला सहकारीहरुलाई प्रबिधि मैत्री बनाउन सूर्यविनायक नगरपालिकाद्धारा कम्प्युटर र प्रिन्टर हस्तान्तरण

भक्तपुर, । सूर्यविनायक नगरपालिकाले आफ्ना नगर क्षेत्रमा रहेको महिला सहकारी संस्थाहरुलाई प्रबिधि हस्तान्तरण कार्यक्रम अन्तर्गत एक एक थान कम्प्युटर एवं फोटोकपी मेशिन हस्तान्तरण गरेको छ ।

नगरपालिकामा बुधबार सूर्यविनायक नगरपालिका आर्थिक विकास समितिले आयोजना गरेको महिला सहकारी संस्थाहरुलाई प्रबिधि हस्तान्तरण कार्यक्रममा यहाँ सञ्चालनमा रहेको १० वटा सहकारी संस्थाहरुलाई कम्प्युटर प्रदान गरिएको हो ।

कार्यक्रममा सूनपा–२ मा सञ्चालित मनकामना महिला बहुउदेश्यीय सहकारी संस्था लि., वडा नं. ४ का दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि., वडा न. १ को जन चेतना महिला वचत तथा ऋण सहकारी संस्था लि., वडा नं. २ को महिला अभियान वचन तथा ऋण सहकारी संस्था लि., वडा नं. ९ को श्री शान्ति भैरब महिला विकास बहुउदेश्यीय सहकारी संस्था, लिमिटेड, वडा नं. ७ को स्वावलम्ब महिला बचत तथा ऋण सहकारी संस्था, सूनपा वडा नं. ७ कै अनन्त महिला वचत तथ ऋण सहकारी संस्था लि., वडा नं. ८ का आशापुरी महिला बहुउदेश्यीय सहकारी संस्था लि. वडा नं. १० को मुक्ति महिला वचत तथा ऋण सहकारी संस्था ल., वडा नं. १ को वनदेवी माई महिला विकास वचत सहकारी संस्था लि. र वडा नं. ५ को वासुकी महिला विकास सहकारी संस्था लि.लाई प्रबिधि हस्तान्तरण अन्तर्गत एक एक थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।

नगरपालिकाको आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवं नगरपालिकका प्रवक्ता रविन्द्र सापकोटा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, सभापति बस्नेतले संयुक्त रुपमा प्रबिधि हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा प्रवक्ता रविन्द्र सापकोटाले आजको युग प्रविधिको युग भएकाले सहकारी संस्थाहरूको दैनिक प्रशासनिक काम, लेखा व्यवस्थापन, सदस्यहरूको अभिलेख, सूचना प्रवाह तथा सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित बनाउन कम्प्युटर तथा फोटोकपी मेसिनजस्ता उपकरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसबाट सहकारीको कार्यक्षमता बढ्नुका साथै सदस्यहरूले छिटो, सरल र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास लिएको बताउनुभयो ।

सापकोटाले भन्नुभयो, “विशेषगरी महिला सहकारीलाई प्रविधिमैत्री बनाउने यो कार्यक्रम महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदम हो । महिलाहरूको नेतृत्वमा सञ्चालित सहकारीहरूलाई प्रविधि, सीप र स्रोतसाधनसँग जोड्न सकेमा स्थानीय आर्थिक विकासमा अझ ठूलो योगदान पुग्न भन्ने हाम्रो विश्वास हो ।”
कर्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले ७०÷३० को लागत साझेदारीको अवधारणाले सहयोगसँगै जिम्मेवारी र स्वामित्वको भावना पनि विकास गर्ने बताउनुभयो । नगरपालिकाले उपलब्ध गराएको प्रविधिको सही सदुपयोग गर्दै सहकारीहरूले आफ्नो सेवा विस्तार, पारदर्शिता र संस्थागत सुशासनलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति एवं आर्थिक समितिका संयोजक पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिकाको महत्वपूर्ण कामको सहकारीले उच्चतम उपयोग गर्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले हस्तान्तरण गरिएका उपकरणहरूको अधिकतम सदुपयोग गर्दै महिला सहकारीहरू अझ सक्षम, प्रविधिमैत्री र आत्मनिर्भर बन्न सफल हुनेमा सिंगो नगरपालिकाले विश्वास लिएको बताउनुभयो । कार्यक्रम सहकारी शाखा प्रमुख सल बहादुर पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

ठूली ब्रह्मायणी मन्दिर परिसरमा कलात्मक मृतिका तेराकोटा शैलीमा निर्माण गरिएको नमुना सत्तल–फल्चा निर्माण सम्पन्न

भक्तपुर, २६ साउन । चाँगुनारायण नगरपालिका–८, सुडालस्थित ठूली ब्रह्मायणी मन्दिर परिसरमा कलात्मक मृतिका तेराकोटा शैलीमा निर्माण गरिएको नमुना सत्तल–फल्चा हस्तान्तरण गरिने भएको छ ।

मंगलबार रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा सत्तल–फल्चाका निर्माणकर्ता भक्तपुर नगरपालिका–९, तौलाछें निवासी विष्णु प्रसाद किसि प्रजापति र मोहोन प्रसाद किसि प्रजापतिले आफ्ना दिवंगत बुवा तथा आमाको स्मृतिमा परिवारकाउक्त फल्चा निर्माण गरेको बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक महत्व सहितको नवदुर्गागणको उत्पत्तिस्थलका रूपमा परिचित ठूली ब्रह्मायणी मन्दिर परिसरमा मौलिक कला, वास्तुकला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तेराकोटा शैलीमा सत्तल–फल्चा निर्माण गरिएको पत्रकार सम्मेलनमा बताईएको छ ।

आफ्ना अभिभावकको स्मृतिलाई स्थायी बनाउँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत योगदान पु¥याउने उद्देश्यले आफ्नो एकल निजी लगानीमा निर्माण कार्य सम्पन्न गरिएको प्रजापतिले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रजापतिले निर्माण सम्पन्न भएको सत्तल–फल्चा यही साउन २८ गते हुने फल्चा उद्घाटन तथा हस्तान्तरण गरिने बताउदै त्यस दिन क्षमा पूजा, समयबजी ब्वोछ्यागु सम्मान तथा प्रसाद ग्रहण कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा ब्रम्हायाणी बिकास समितिका अध्यक्ष सहदेव शाखकर्मीले करिब एक करोडको लागतमा आफ्ना पुर्खाको स्मृतिमा मन्दिरमा विष्णु प्रसाद प्रजापतिले अतुलनिय ठूलो पूण्यको काम गरेको बताउनुभयो । सत्तल निर्माणसंगै ठूली ब्रम्हायाणी क्षेत्रको धार्मिक सौन्दर्यतामा थप टेवा पुग्ने बताउदै उहाँले धार्मिक पर्यटनको विकास गर्न टेवा पुग्ने बताउनुभयो ।

हस्तान्तरण एवं उद्घाटन कार्यक्रम साउन २८ गते बिहीबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म ठूली ब्रह्मायणी मन्दिर परिसरको सत्तल प्राङ्गणमा हुने बताउदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र मौलिक कला–संस्कृतिको प्रवद्र्धनमा चासो राख्ने सबैलाई कार्यक्रममा सहभागिताको लागि सार्वजनिक आव्हन गरिएको छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाद्धारा उद्घाटन, नगरपालिकाको सहयोगमा फेरिएको सोह्रसय वर्ष पुरानो नन्दिकेश्वर महादेव मन्दिर

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ मा रहेको १६०० वर्ष पुरानो लिच्ववीकालिन र पशुपति नाथको मन्दिर जस्तै पञ्चमुख रहेको ऐतिहासिक मन्दिर नन्किेश्वर महादेव मन्दिरले स्वरुप फेरेको छ ।

केही वर्ष अगाडिसम्म जीर्ण मन्दिर आज कलात्मक शैलीमा पुर्न निर्माण सम्पन्न भएको छ । मन्दिरको प्राङ्गनमा चार तले सामुदायिक भवन ठडिएको छ । प्रवेश परिषर प्रवेश गर्ने कलात्मक प्रवेशद्धार निर्माण भएको छ । त्योसंगै हालै निर्माण सम्पन्न भएको कलात्मक फल्चाको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले साउनको अन्तिम सोमबार भव्य समारोहबीच उद्घाटन गर्नु भएको छ ।

श्री नन्दिकेश्वर महादेवमा श्रावणी मेला भक्ति संगीत अनुष्ठान समापन कार्यक्रम तथा कलात्मक फल्चा उद्घाटन समारोहमा फल्चाको उद्घाटन गर्दै नगर प्रमुख वासुदेव थापाले नगर प्रमुखमा आफ्नो दोश्रो कार्यकालको अन्तिम नौ महिना १४ दिन बाँकी रहदाँ यो समयमा सूर्यविनायक नगरपालिका क्षेत्रमा बाँकी भएको विकासका सम्पूर्ण काम पुरा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरो नगर प्रमुखमा आएको दोश्रो कार्यकालको नौ महिना १४ दिन बाँकी छ, यो अबधीमा म सूर्यविनायक नगरपालिका भित्र बाँकी भएको विकासका कामहरु पुरा गर्नेछु, यस नगरपालिकामा विकासको अझै फड्को मार्नका लागि सरकारको बिभिन्न अंगबाट बजेट ल्याउने र नगरवासीले तिरेको करको सही ठाउँमा सदुपयोग गर्नेछु ।”

पहिलाको सूर्यविनायक नगरपालिका र अहिलेको सूर्यविनायक नगरपालिका कति फरक छ, पहिलो कस्तो थियो र अहिले कस्तो भन्नेबारेमा आमजनताले आँखाले देखेर र मनले मूल्यांकन गरेको बताउदै उहाँले दोश्रो पटक मेयर हुनका लागि सूर्यविनायक नगरवासीले अपार माया र मतदान गरेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नगर प्रमुख थापाले भन्नुभयो, “पहिला सूर्यविनायक नगरपालिका कस्तो थियो र आज कस्तो छ, आँखा अगाडि स्पष्ट देखिएको छ, राजनीतिक दल सामाजिक क्षेत्र, नागरिक समाज सबैको सहयोग र साथ लिएर सूर्यविनायकको विकासका साथसाथै अस्पताल निर्माण, शिक्षाको विकास, रोजगारी, लोक संस्कृति एवं मठ मन्दिर जिर्णोद्धारका लागि बजेट व्यबस्था गरेर आईरहेको छु, बाँकी अबधीमा पनि जनताले तिरको करलाई सही ठाउँमा सदुपयोग गर्नेछु ।”

सूर्यविनायक नगरपालिका दुई पटक ागर प्रमुख, वडा अध्यक्ष चार पटक जिल्ला सदस्य भएको , बाल्यकालदेख नै सही शिक्षा प्राप्त गर्दै आएको कारण
सूर्यीवनायक नगरपालिका क्षेत्रलाई १४ वटा शिवालय रहेको र यसलाई समेटेर नगरपालिकाले शिव सर्किट निर्माण गरेर धार्मिक पर्यटनको विकासमा लागेको बताउदै शिवपार्वतीको छोरा गणेश बिराजमान भई नामाकरण भएको नगरपालिकाको सम्पदालाई किताबमा उतार्ने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले पाँच वर्षको गुरुयोजना पुरा भएको बताउनुभयो । नगर प्रमुखको परिकल्पनामा धेरै विकास भएको बताउदै उहाँले मन्दिर परिसर भित्र रहेको कलात्मक गेट, कलात्मक फल्चा, सामुदायिक भवन, ढुड्गा छपाई यहाँका सबै संरचना नगर प्रमखकै साथ र सहयोगबाट सम्भव भएको बताउनुभयो ।

विगत १० वर्षे कार्यकालको महत्वपूर्ण उपलब्धीका रुपमा यस नगरपालिका भित्र रहेको १४ वटा शिव मन्दिरहरुको संयोजन एवं परिकल्पनाका रुपमा नगर प्रमुख थापाले पुर्याएको योगदान र सार्थकताले शिव सर्किट निर्माण भएको भन्दै यहाँको दस्तावेजीकरणको आवश्यकता रहेको बताउनुभयो । उहाँले नगरपालिकाको हाम्रो सूर्यविनायक नामको स्थानीय पाठ्यक्रममा समेटिएका शिवालयमा नगरपालिका यहाँका शिक्षक शिक्षिकालाई भ्रमण गराएको बताउनुभयो ।

कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष भगवाण खत्रीलागतय बिभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो भने सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा ईतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले मन्दिरको ऐतिहासिक पक्ष र यसको महत्वकाबारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा नगर प्रमुख वासुदेव थापालाई भव्य रुपमा अभिनन्दन गरिएको थियो भने विभिन्न सांस्कृतिक नृत्य, भजन–कीर्तन तथा पूजा–आराधना एवं साँझको आरती गर्दै श्रावणी मेलाको समापन गरिएको थियो । श्री नन्दिकेश्वर महादेव संरक्षण तथा विकास समितिका कोषाध्यक्ष ईन्द्रप्रसाद ब्याञ्जुले सत्तल निर्माणमा १५ लाख नगरपालिकाबाट प्राप्त भएको र बाँकी सात लाख रुपौको जनश्रमदानबाट जुटाईएको बताउनुभयो ।

समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति श्रीराम ब्यान्जुले नन्दिकेश्वर महादेव मन्दिर परिसरमा बनेका अधिकांश धार्मिक सम्पदाको संरक्षणमा नगर प्रमुख थापाको ठूलो योगदान रहेको बताउदै नगरपालिकाले यहाँका सबै संरचना पुर्ननिर्माण एवं निर्माणका लागि पाँच करोड भन्दा बढी सहयोग गरेको बताउनुभयो ।कार्यक्रममा नगर प्रमखु थापाले मन्दिरमा पुजा आरधाना गर्नु भएको थियो ।

अन्नन्त कुण्डमा दिव्य गंगा आरती सुरु गर्दै एमाले नेता महेश बस्नेतले भने : वागमती प्रदेशमा किरण थापा मुख्य मन्त्री बन्नु भयो यहाँका बाँकी विकासका कामले पूर्णता पाउँछ

=====================================

नेता महेश बस्नेतले भन्नुभयो, “प्रदेश सरकार बनाउने प्रक्रियामा छौ, तपाईको भाग्यले साथ दियो र किरण थापा मुख्य मन्त्री बन्नु भयो भने यहाँको स्वीमिड पुल, भ्यू टावर, मल्टिकम्प्लेक्स, अचकल्टा सबै कामहरु पुरा हुनेछन्, अपूरो सडक पुरा गर्ने काम, स्वीमिङ पुल पूर्णता दिने काम, भ्यू टावरलाई मल्टिकम्लेक्सका रुपमा बिकास गर्ने काम र बाँकी तमाम काम पुरा हुनेछ ।”

==================================

भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित अनन्तलिङ्गेश्वर महादेव नजिकै रहेको खोलाको किनारामा रहेको अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु भएको छ । श्री अनन्तलिङ्गेश्वर  महादेव दिव्य गंगा आरती व्यवस्थापन समितिले आजबाट सुरु गरेको दिव्य गंगा आरतीको आज साँझ नेकपा एमालेका सचिव महेश बस्नेतले उद्घाटन गर्नुभयो । हरेक महिनाको अन्तिम सोमबार अन्नन्त कुण्डमा नियमित रूपमा दिव्य गंगा आरती सञ्चालन हुने गरि आजबाट सुरु भएको गंगा आरतीमा स्थानीय सयौको भव्य सहभागिता रहेको थियो ।

कार्यक्रममा नेता महेश बस्नेतले स्थानीय राजकुमार बस्नेतको नेतृत्वमा सुरु भएको दिव्य गंगा आरतीमा अरबिन्द गुरुसंगै वडा नं. ४ का वडाध्यक्ष र वडा नं. ७ को वडा अध्यक्षको मुख्य भूमिका रहेको बताउनुभयो । उहाँले मानिसको पद अस्थायी रहन्छ, त्यो आज छ, भोली हुदैन, भन्दै मानिसको योगदान भने सधै स्थायी रहने बताउनुभयो ।

उहाँले मन्दिरको स्थापनाको चर्चा गर्दै भन्नुभयो, “अनन्तलिङ्गेश्वर महादेव मन्दिरको शिलापत्रमा उल्लेख भए अनुसार यो मन्दिर १३०० वर्ष पुरानो हो, कोलम्बसले अमेरिका १४९२ मो पत्ता लगाए, त्यसलाई हेर्ने हो भने अमेरिका पत्ता लागेकोे करिब ५३२ वर्ष भयो तर यो मन्दिर १३०० अगाडि मन्दिर हो, त्यसबेला यो ठाउँमा एउटा हंसपुर भन्ने बस्ती थियो, त्यहाँ ठूलो प्रलय पछि सबै ध्वस्त भयो, तर त्यसैको एउटा प्रतिकको रुपमा रहेको र अनन्तलिङ्गेश्वर एउटा गुरुको रुपमा स्थापित भएको पाईएको छ ।”

मन्दिरमा जान आउँन बाटो र पुल नहुँदा स्थानीयले निकै सास्ती भाग्नु परेको स्मरण गर्दै उहाँले आफू मन्त्री र सासद भए पछि सांसद कोष, संघ र प्रदेशको बजेट ल्याएर अनन्तलिङ्गेश्वर आउने बाटो र पुल बनाएको, यहाँ आउने सबै बाटो पिच भएको, पुल बनेको बताउनुभयो । यहाँका बासिन्दाले झोलुड्गे पुल हेर्न रहर गरेपछि र नयाँ पुस्तालाई झोलुङगे पुल पनि चाहिन्छ भने पछि स्थानीय नवराज जंगम, शम्भु जंगमले जग्गा दिएपछि बाटो बनाएर २७ लाखको बजेटमा झेलुड्गे पुल बनाएको बताउनुभयो ।

मानिसको योगदान र ईतिहास कहिले नमेटिने बताउँदै उहाँले भन्नुभये, “महेश बस्नेतले उद्घाटन भएको भनेर लेखिएको झोलुङेगे पुलको शिलापत्रमा महेश बस्नेत भन्ने नाममा चाँही ढुङगाले हानेर मेट्ने काम भएको छ, भूकम्पले भत्किएको मन्दिर पुर्ननिर्माण गर्न केपी ओली प्रधानमन्त्री र आनन्द पोखरेल पर्यटन मन्त्री हुँदा एक करोड ६५ लाखको बजेट ल्यायौं, मन्दिर अगाडिको शिलापत्रमा पनि महेश बस्नेतको नाममा ढुड्गाले हानेर पोतिएको छ, अहिले त गर्नेको नाम किच्चाउने जमाना हो यो, गर्नेहरुलाई भगाउने जमाना हो यो र गर्नेहरुलाई हराउने जमाना हो यो तर पनि ईतिहास मेटाएर मेटिन्न ।”

रातोपाटीबाट लाकुरी भञ्याडसम्म फुट ट्रायल बनाउने हाम्रो कन्सेप्ट ल्याएर संघ र प्रदेशबाट बजेट ल्यएर बनायौं, देवी स्थान बनाइयो, गणेश मन्दिर बनायौ, महादेव मन्दिरमा सामुदायिक भवन बनायौ, त्यहाँ ब्रतबन्ध र विवाह गर्न सहज भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीको अस्थायी चौकी भवन बनाउने भनेर मैले सांसद कोषबाट ल्याएको बजेट र पछि नगरपालिकाबाट थपेर बनाएको हो, कतिपयले स्वीमङ पुल अलपत्र पर्यो भने, भ्यू टावरको बिरोध गरे, त्यो भ्यू टावर होईन, मल्टिकम्लेक्स बिल्डिङ हो, त्यहाँ यहाँ उत्पादन भएको बिभिन्न उपहारका सामानहरु बिक्री गर्ने थलो बनाउने उदेश्य पनि हो । त्यहाँ पनि महेश बस्नेतको नाम भएका कारण शिलापत्र उखालेर फाल्ने काम भएको छ ।”

आफू अहिले पदमा नभए पनि जनताको भावना, हौस्ला र जाँगरलाई बुझेर का मगर्ने बताउदै अब बन्ने वागमति प्रदेश सरकारमा एमालेको नेतृत्वमा गठन हुन सके यहाँको सबै विकासले पूर्णता पाउने बताउनुभयो ।

नेता महेश बस्नेतले भन्नुभयो, “प्रदेश सरकार बनाउने प्रक्रियामा छौ, तपाईको भाग्यले साथ दियो र किरण थापा मुख्य मन्त्री बन्नु भयो भने यहाँको स्वीमिड पुल, भ्यू टावर, मल्टिकम्प्लेक्स, अचकल्टा सबै कामहरु पुरा हुनेछन्, अपूरो सडक पुरा गर्ने काम, स्वीमिङ पुल पूर्णता दिने काम, भ्यू टावरलाई मल्टिकम्लेक्सका रुपमा बिकास गर्ने काम र बाँकी तमाम काम पुरा हुनेछ ।”

चुनाबमा आफूले हालेको मतले पछि आफैलाई नपोलोस भन्दै उहाँले भन्नुभयो, “मतदान गोप्य हुन्छ, भोट हाल्न पनि पाईन्छ, नहाल्न पनि पाईन्छ, तर आफूले हालको मतले आफैलाई नपोलोस्, छातीमा हात राखेर सबैले यो कुरा मनन् गरौ ।”

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं नगरपालिका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले हाम्रो सनातन धर्ममा नदि केवल पानीको प्रवाह मात्र होडन जीवन, आस्था, पवित्रता र सभ्यताको आथार हो भनेर जललाई देवस्वरूप मानी पूजा गर्ने हाम्रो प्राचीन परम्परालाई निरन्तरता दिएको बताउनुभयो ।
उहाँले महादेव खोलाको पवित्र तटमा आरम्भ भएको अनन्त गंगा आरतीले हाम्रो धार्मिक तथा सांस्कृतिक सम्पदालाई अझ जीवन्त बनाउने विश्वास लिएको बताउदै उहाँले लिच्छविकालीन इतिहास बोकेको अनन्तलिङ्Þगेश्वर महादेवको चरणमा बग्ने यस पवित्र खोलाको तटमा दीप प्रज्वलित गर्दैं गरिने आरती केवल धार्मिक अनुष्ठान मात्र नभई भगवान शिवप्रतिको श्रद्धा, प्रकृतिप्रतिको सम्मान, जल संरक्षणप्रतिको चेतना र हाम्रो मौलिक संस्कृतको सरक्षणको र्पावंत्र संकल्प भएको चर्चा गर्नुभयो ।

अध्यक्ष सापकोटाले भन्नुभयो, “आरतीको प्रत्येक दीपले अन्धकार हटाएर ज्ञान. शान्ति र सदुभावको ज्योति फैलाओस, आरतीको प्रत्येक मन्त्रले हाम्रो मनमा भक्ति, करुणा र सकारात्मक ऊर्जा जागत गराओस महादेव खोलाको निर्मल जलझैं हाम्रो समाज पनि स्वच्छ, पवित्र र सद्भावपूर्ण बनोस भन्ने कामना व्यक्त गर्नुभयो । अनन्तलिङगेश्वर क्षेत्र धार्मिक पर्यटनको महत्वपर्ण गन्तव्यका रूपमा विकसित भएको बताउदै यहॉको ऐतिहासिक, धार्मिक तथा प्राकतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्ताले समेत यस गौरवपूर्ण परम्परालाई निरन्तरता दिन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष लछुराम नेउपानेले यस क्षेलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नगरपालिका र वडाको सहयोग रहने बताउनुभयो । गुरु अरबिन्द शास्त्री, पुजारीलगायत बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको आरतीलाई निरन्तरता दिदै लैजाने प्रतिवद्धता व्यक्त भएको छ ।

यहाँका भक्तजनहरूलाई आध्यात्मिक वातावरणमा जोड्दै धार्मिक तथा आध्यात्मिक वातावरणको अनुभूति गराउदै अनन्त कुण्डको प्रचार गर्दै यहाँको धार्मिक महत्व बढाउन गंगा आरती सार्थक हुने उहाँले बताउनुभयो । दिव्य गंगा आरतीलाई नियमित रूपमा सञ्चालन गर्दै धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय सम्पदाको संरक्षण तथा भक्तजनबीच आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

सूर्यविनायक नगरपालिकाले आयोजना गरेको स्थानीय पाठ्यक्रममा आधारित शिव सर्किट अध्ययन–अवलोकन भ्रमण उत्साहजनक रुपमा सम्पन्न

भक्तपुर, २४ साउन । सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने एक–एक जना शिक्षकलाई शिव सर्किट अध्ययन–अवलोकन भ्रमण आज सम्पन्न भएको छ ।

नगरपालिकाको सामाजिक विकास समितिले आज ६ वटा बसमा सूर्यविनायक नगरपालिकाको कार्यालयमा भेला भएर सुरु भएको शिव सर्किटको अध्ययन भ्रमणमा सूर्यविनायक नगरपालिका वडा नं. २ को वडाकार्यालयसंगै रहेको धर्मेश्वर महादेव मन्दिरबाट धार्मिक एवं अध्ययन–अवलोकन भ्रमण सुरु भएको थियो ।

सूर्यविनायकमा रहेको करिब ९८ वटा सामुदायीक तथा संस्थागत विद्यालयका ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने शिक्षक शिक्षिका, नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारी र पत्रकार गरिक करिब १५० जनाको भ्रमणमा सहभागिता रहेको थियो ।

वडा नं. २ को धर्मेश्वर मन्दिरमा वडा अध्यक्ष प्रदीप कार्कीले नगरपालिकाको उपप्रमुख सरिता तिमसिना (भट्टराई), प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, शिक्षा शाखा प्रमुख रत्न बहादर कटुवाल, सूचना अधिकारी राजेन्द्र प्रसाद नेपाल, वरिष्ट इन्जिनियर जनक न्यौपानेलगायत नगरपालिकाका शिक्षा शाखाका कर्मचारी, बिभिन्न विद्यालयबाट सहभागि शिक्षक शिक्षिकाहरुलाई टीका र रामनामी खादा लगाएर स्वासग गर्दै भ्रमणको शुभारम्भ भएको थियो ।

त्यस पछिको यात्रा वडा नं. १ र २ को संगमस्थलको गुप्तेश्वर महादेव मन्दिरमा वडाध्यक्ष कार्कीले पुन ः स्वागत गरेसंगै वडा नं. १ सिरुटारस्थित सोमलिङ्गेश्वर महादेव मन्दिर र चरखण्डीश्वर महादेव मन्दिरमा वडा अध्यक्ष रानुकाजी कायस्थले भ्रमण टोलीलाई स्वागत गर्नु भएको थियो ।

अध्ययन–अवलोकन भ्रमण टोली शिव सर्किटको रुट अनुसार नै दधिकोटको अनन्तलिङ्गेश्वर महदेव, गुण्डुको पाथीभरा मन्दिर, मत्स्यश्वर महादेव, रामभक्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव, सूर्यविनायक गणेश मन्दिर, घ्याम्पे डाँडाको पाईलट बाबा आश्रम, सिपाडोलको आशापुरी महादेव, चित्तपोलको कैलाशनाथ महादेव, लटरम्बेश्वर महादेव, महाकांलेश्वर महादेव, नंखेलको नन्दिकेश्वर महादेव हुदै साँझ सिपाडोलको प्रसिद्ध डोलेश्वर महादेव मन्दिर प्राङ्गनमा पुगेर दर्शन एवं सन्ध्या आरतीमा सहभागि गराई यात्रा सम्पन्न भएको थियो ।

सूर्यविनायक वडा नं. १ देखि १० सम्मका शिव मन्दिरहरू समेटेर निर्माण गरिएको शिव सर्किटको अध्ययन अवलोकन भ्रमणमा प्रत्येक शिवालय एवं मन्दिरमा स्थानीय जनप्रतिनिधि एवं वडाध्यक्षले टोलीलाई स्वागत गर्नु भएको थियो ।

स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षक एवं शिक्षिकाहरुले स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे प्रतक्ष्य अवलोकनबाट ज्ञान लिई ‘हाम्रो सूर्यविनायक’ विषयलाई अझ प्रभावकारी र व्यवहारिक रूपमा अध्यापन गर्न सहयोग पु¥याउने विश्वास लिएको उपप्रमुख उपप्रमुख सरिता तिमसिना (भट्टराई) ले जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा ‘हाम्रो सूर्यविनायक’ विषय अध्यापन गराउने एक–एक जना शिक्षकलाई शिव सर्किट अध्ययन–अवलोकन भ्रमणमा सहभागी गराएको संयोजक रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाबारे शिक्षकको ज्ञान अभिवृद्धि गरी ‘हाम्रो सूर्यविनायक’ विषयलाई अझ प्रभावकारी र व्यवहारिक रूपमा अध्यापन गर्न सहयोग पु¥याउने उदेश्यले गरिएको अध्ययन भ्रमणले स्थानीय पठन पाठनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

स्थानीय इतिहास, संस्कृति र सम्पदासँग जोडिएको शिक्षालाई थप जीवन्त बनाउन नगरपालिकाले निर्माण गरेको शिव सर्किटमा रहेको शिवालयहरुको अध्ययन भ्रमणले शिक्षिक शिक्षिकालाई स्थानीय पाठ्यक्रममा अध्ययन गराउन सहज हुने बताउदै यो भ्रमणले प्रचार प्रसारमा समेत टेवा पुग्ने बताउनुभयो ।

अध्ययन–अध्यापन भ्रमणमा सहभागि शिक्षक रत्न राईले नगरपालिकाले सञ्चालन गरेको स्थानीय पाठ्यक्रमको अध्ययन अध्यापनमा यो भ्रमणले ठूलो टेवा पुग्ने बताउनुभयो ।
अर्का शिक्षक शिक्षिकाहरुले यस अध्ययन भ्रमणले स्थानीय पाठ्यक्रम अध्ययन अध्यापनमा सहज हुने बताउदै सुनेको र देखेकोमा फरक पर्ने भएकाले सुनेको भरमा नभई शिक्षक शिक्षिकाले देखेकै आधारमा पनि अध्ययन गराउन सक्ने बताउनुभयो ।

डोलेश्वर महादेव मन्दिरमा भएको समापन कार्यक्रममा नगरपालिकाका प्रमुख वासुदेव थापाले स्थानीय पाठ्यक्रममा शिव सर्किटको उल्लेख गरिएको र शिव सर्किटमा रहेको १४ वटा शिवालयलगायतका यहाँका मन्दिरको बारेमा अध्ययन अध्यापन गराउन भ्रमणले ठूलो टेवा दिने विश्वास लिएको बताउनुभयो । शिव सर्किटलाई नगरपालिकाले पर्यटकीय गन्तव्यको रुपमा समेत विकास गर्ने उहाँले बताउनुभयो ।

संस्कार गुरुकुलको आयोजनामा सम्पन्न नेसनल प्याव्सनको हिज्जे प्रतियोगितामा इडेन गार्डेन प्रथम
सुधार गृहमा एकजनाको शंकास्पद मृत्यु, गृहका अध्यक्षसहित पाँच पक्राउ

भक्तपुर, २३ साउन। भक्तपुरको बिरुवास्थित उत्साहित सुधार गृहमा रहेका एकजनाको शंकास्पद मृत्यु भए पछि आज दिनभर सुधार गृह क्षेत्र तनाब ग्रस्त बनेको छ । सुधार केन्द्रमा रहेका सोही वडा बस्ने वर्ष ४१ को उमेश खड्गीको आइतबार बिहान मृत्यु भए पछि स्थानीयले सुधार गृह भित्र हत्या भएको आरोप लगाउँदै सुधार गृह अगाडि तोडफाड गरि नाराबाजी गरेका हुन् ।

स्थानीय तहसंग स्वीकृति समेत नलिई सञ्चालनमा रहेको उक्त सुधार गृहमा मदिराको लत छुटाउन सुधार केन्द्रमा राखेको तीन दिनपछि आइतबार बिहान सञ्चालकले फोन गरेर घटनाबारे जानकारी गराएको परिवारका सदस्यहरूले बताएका छन् । घटनाबारे अनुसन्धान गर्न प्रहरीले सुधार केन्द्रका अध्यक्ष गौतम श्रेष्ठसहित ५ जनालाई पक्राउ गरेको छ ।

सुधार केन्द्रमा बेहोस भएपछि खड्गीलाई मध्यपुर अस्पतालमा लगेको र त्यहाँ मृत्यु भएको सञ्चालकले प्रहरीलाई बताएका छन् । मध्यपुर अस्पतालबाट उनको शव पोष्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।

घट्नाका सम्वन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सोहि घट्नालाई लिएर मृतकका आफन्तले आइतबार बिहानैदेखि सुधारगृह अघि घेराउ गरेका थिए । त्यस क्रममा भिड नियन्त्रण गर्न दिनभरि प्रहरी परिचनलन गरिएको थियो ।

सूर्यविनायक शिव सर्किटको एकै दिन सिपाडोलका नौ सय बढी महिलाले गरे १५ शिवालयको भ्रमण एवं दर्शन

भक्तपुर, २३ साउन : साउनको महिना उसैपनि शिवको महिना भन्ने गरिन्छ । त्यसमाथि पनि महिलाहरु शिव मन्दिर जान पाए पछि उत्तिकै मख्ख । त्यसमाथि पनि आफ्नै नगरपालिका भित्र रहेको १४ वटा प्रसिद्ध शिव मन्दिरहरु तथा पाथिभरासंगै सूर्यविनायक गणेश मन्दिरको एकै दिन परिक्रमा गरि धार्मिक यात्रा एवं दर्शन गर्न पाए पछि महिलाहरुलाई अरु के चाहियो र ?

आज शनिवार एकै दिन सूर्यविनायक नगरपालिका–८ सिपाडोल वडा कार्यालयको आयोजनामा सिपाडोलका ९६० महिलाहरुले एकै साथ सूर्यविनायकको शिव सर्किटको भ्रमण गरि यहाँका शिवालयहरुको पुजा एवं दर्शन गनुर्न भएको छ ।

सूर्यविनायकको शिव सर्किटको प्रचार प्रसार एवं भ्रमण गराउने र साउन महिनाकाृ अवसरमा यहाँका १४ वटा शिवालयहरुको धार्मिक परिक्रमा गराउने उदेश्यले शिव सर्किट भ्रमण एवं धार्मिक यात्रा कार्यक्रम आयोजना गरिएको वडा नं. ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “सूर्यविनायक नगरपालिकाले सूर्यविनायक गणेश मन्दिर सहित वडा नं. १ देखि १० सम्म रहेका १५ वटा शिवालयलाई समेटेर धार्मिक पर्यटनको विकास गर्ने र सूर्यविनायकलाई धार्मिक पर्यटनको केन्द्रबिन्दू बनाउने उदेश्यले निर्माण गरेकोे ‘सूर्यविनायक शिव सर्किट’ लाई जनस्तरसम्म थप प्रभावकारी रूपमा पु¥याउने उदेश्य राखेका थियौै, साउन महिनाको अवसरमा महिलाहरुलाई शिवालयको दर्शन एवं परिक्रमा गराउने उदेश्यले सूर्यविनायक नगरपालिका–८ ले महिलाहरूका लागि ‘सूर्यविनायक शिव सर्किट परिक्रमा’ आयोजना गरेका हौ, आज यो कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सफल भयौ ।”

आज शनिवार बिहान ६ : ३० बजेदेखि सिपाडोकाल बिभिन्न टोलबाट रिजर्भ गरिएका २४ वटा बसमा भरिएका करिब ८०० महिलाहरुलाई लिएर सूर्यविनायक चाृकबाट निस्किएको यात्रा वडा नं. २ बालकोटको धर्मेश्वर मन्दिरबाट सुरु भई डालेश्व्रमा पुगेर समापन भएको थियो ।

यात्राको क्रममा बालकोटको धर्मेश्वर महादेव मन्दिरबाट सुरु भएको शिव सर्किटको धार्मिक यात्रा बालकोट र सिरुटारको संगममा रहेको गुप्तेश्वर महादेव, सिरुटारको सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, दधिकोटको अनन्तलिङ्गेश्वर महदेव, पाथीभरा मन्दिर, गुण्डुको मत्स्यश्वर महादेव, रामभक्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको आशापुरी महादेव, चित्तपोलको कैलाशनाथ महादेव, नटरम्बेश्वर महादेव, महाकांलेश्वर महादेव, नंखेलको नन्दिकेश्वर महादेव हुदै साँझ सिपाडोलको प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको दर्शन एवं सन्ध्या आरतीमा सहभागि गराई यात्रा समापन गरिएको वडा अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

बालकोटबाट यहाँका करिब २४ जना महिला यात्रामा थपिए पछि एक बस थपर २५ वटा बसमा यात्रा गराईएको थियो । यात्राका क्रममा महिलाहरुले भजनमा नाचगान गर्नुका साथै यात्रालाई अबिस्मरणीय बनाईएका थियो । सबै गाडीमा टोली नेता छानेर जिम्मा लगाइएको थियो भने वडा अध्यक्ष बस्नेतदेखि वडा सदस्यहरु साबित्री मिश्र, अञ्जना नेपाली, बिक्रम तामाङ्गलगायत बिभिन्न वडामा पुग्दा वडा अध्यक्ष एवं जनप्रतिनिधिहरुले स्वागत एवं सहयोग गरेका थिए ।

साउन महिनाको यस भ्रमणले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै स्थानीय धार्मिक सम्पदाको पहिचान, संरक्षण र प्रचारमा समेत टेवा पुग्ने र देश तथा विदेशका बिभिन्न ठाउँबाट दर्शनार्थीको आगमन भई धार्मिक पर्यटनको हव बन्ने विश्वास लिएको वडा नं. १ को वडा अध्यक्ष सानुकाजी कायस्थले बताउनुभयो ।

 

क्रियासिल पत्रकार मञ्चद्धारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रम मध्यपुरथिमिका नगर प्रमुखद्धारा उद्घाटन
भक्तपुर, २२ साउन । मध्यपुर थिमि नगरपालिकाले चारवर्षको अन्तरालमा आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि गरेको छ ।
आज क्रियासिल पत्रकार मञ्च भक्तपुरले मध्यपुरथिमिमा आयोजना गरेको मध्यपुरथिमि नगरपालिकाको चारवर्षे विकास र उपलब्धिताबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया
कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले कुनै पनि करमा बृद्धि नगरे पनि तीन गुणा राजस्व संकलनमा बृद्धि गर्न सफल भएको बताउनुभयो । उहाँले नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ५२ करोड ५६ लाख १ हजार ४२७ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको बताउदै अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा संकलन भएको २७ करोड १७ लाख ५८ हजार ५८५ रुपैयाँ अर्थात १९.९३ प्रतिशतको तुलनामा गत असार मसान्तसम्म ९३.३९ प्रतिशतले बृद्धि गरेको बताउनुभयो ।
उहाँले आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ४५ लाख ९४ हजार ६६७ रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २४ करोड १३ लाख ३८ हजार ७४८ अथात ३०.७४ प्रतिशतले बृद्धि, आर्थिक वर्ष २०८०/८१ मा ३० करोड ०४ लाख ४४ हजार ५६५ अर्थात २४.३९ प्रतिशत राजस्व संकलन गरेको बताउनुभयो ।
आवासीय घरबहाल कर १० प्रतिशतबाट ५ प्रतिशतमा घटाएको बताउदै उहाँले वर्षौदेखि कर नतिरि बसेका ठूला व्यवसायीहरुसंग कर संकलन गर्न सफल भएको, करको दायरामा नआएका व्यवसायहरुलाई करको दायरामा ल्याएको, करको दायरा बिस्तार गर्दै कराको नीतिमा सुधार ल्याउँदा फड्का मारेको उहाँले बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले संघीय सरकारले चालू आर्थिक वषएमा पूर्वाधार विकास तर्फ जम्मा ५५ लाख रुपैयाँको बजट मात्रै पठाएको बताउदै नगरपालिकासंग ६२ करोड मौज्दात रहेको र आफ्नै आन्तरिक श्रोतबाट ३६ करोडको लागतमा नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न भवन निर्माण सरु भएको बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘हाम्रो चार वर्षे कार्यकालमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छौं, सीमित स्रोत–साधनका बाबजुद पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गरिएका छौं, ७९ वटा ऐन, नियम, कार्यविधि तथा निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याइएको छौं । जनताको गुनासो नआउने गरि सामवेशी रुपमा आवश्इकता अनुसार काम गरिरहेका छौं ।”
सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्थानीय पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन, कक्षा १ देखि १० सम्म ४ हजार ८१४ जनालाई र कक्षा ११ र १२ तफ २०४ जनालाई छात्रवृत्ति वितरण गरएको, केन्द्रीकृत भान्छाघरमार्फत कक्षा ५ सम्मका करिब २ हजार ७०० विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको यै वर्षदेखि कक्षा ८ सम्मलाई दिवा खाजाको व्यबस्था गरिने बताउनुभयो ।
नगरपालिकाले स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक, दलित, एकल महिला र अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा, रेबिज तथा निमोनिया खोप, क्यान्सर परीक्षण, होमियोप्याथिक सेवा र ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताउदै उहाँले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस, सिटी स्क्यान, ब्लड बैंक, आमा सुरक्षा कार्यक्रम, शल्यक्रिया तथा अन्य विशेषज्ञ सेवा विस्तार र्दै दैनिक १२ सय विरामीलाई सेवा दिइरहेको बतानुभो ।
पूर्वाधार विकासतर्फ सडक पक्कि गर्ने कार्य, घरघरमा खानेपानीको पुर्याउने कार्य, विद्यालय भवन निर्माण गर्ने, स्वास्थ्य संस्था, पार्क, मठ मन्दिर पुर्ननिर्माण, मूर्त, अमूर्त सम्पदाको संरक्षण गर्ने, मध्यपुर उज्यालो अभियान अन्तर्गत मध्यपुर क्षेत्रभित्र बिभिन्न सडकमा १६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट जडान गरि सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले नीलबाराही क्षेत्र संरक्षणकाको कार्य भइरहेको, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी कृषि वचत तथा ऋण सहकारी संस्थाका ५१२ जना वचत कर्तालाई कुल ५२ लाख ४० हजार रुपैंया फिर्ता गरिएको, शिक्षा, स्वास्थ्य, सम्पदा र रोजगारीका क्षेत्रमा नगरपालिकाले लगानी बढाउदै आएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालू आ.ब.का लागि नगरपालिकाले २ अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा ल्याईसकेको बताउदै शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा बजेट खर्च गरिने बताउनुभयो । नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालले दनिक १२ सय विरामीलाई सेवा दिइरहेको र निर्माण सम्पन्न हुन लागेको सुबिधा सम्पन्न नयाँ भवनमा बिशिष्टिकृत सेवा सञ्चालन गरिने, बिमा रकम नपाउँदा पनि नगरपालिकाले ७७ वटै जिल्लाबाट सेवा लिन आएका विरामीलाई सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
नगरपालिकाका प्रशासकीय प्रमुख भोजराज घिमिरेले विगत चार वर्षको बजेट कार्यान्वयनमा निकै ठूलो उपलब्धि हासिल गरेको बताउदै जनप्रतिनिधिको अन्तिम कार्यकालको रुपमा रहेको यस वर्ष पनि जनताको चाहना र आवश्यकता अनुसार महत्वपूर्ण उपलब्धि आउने गरि काम गर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले स्थानीय तहको विकासलाई जनप्रतिनिधिले जनतासंग जोडेर लैजानु पर्ने बताउदै सञ्चार माध्यमसंग स्थानीय तह एकाकार भएर जानु पर्ने बताउनुभयो ।
कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्थानीय तह स्थानीयवासीका लागि नजिकको सिंहदरबार भएको औल्याउँदै जनताको सहज पहुँच र स्थानीइ आवश्यकतालाई जनप्रतिनिधिले महत्व दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका वडा नं. १ देखि ९ नम्बरसम्मका वडा अध्यक्षहरु, नगरपालिकाका विभागीय प्रमुखहरु, कार्यपालिकाका सदस्यहरु, पत्रकारहरु, कर्मचारीहरु र नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।