४६८२ कोरोना परीक्षणमध्ये ६६० मा संक्रमण पुष्टि

काठमाडौं, २१ साउन । पछिल्लो २४ घण्टामा ६६० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ९४२ पीसीआर र २ हजार ७४० जनाको एन्टीजेन परीक्षणका क्रममा ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४४४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७२ हजार ६४ पुगेको छ। उक्त अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९७१ पुगेको मन्त्रालयले जनाएको छ। देशभर हाल ५ हजार ६४१ जना सक्रिय संक्रमित छन्।

श्यामबहादुर स्मृति प्रतिष्ठानले वितरण गर्यो विद्यार्थीलाई स्कुल ब्याग र स्टेशनरी सामग्री, ६४ जनाले गरे रक्तदान

भक्तपुर, २१ साउन । स्वर्गीय श्यामबहादुर कार्कीको १५ औ स्मृति दिवसको उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कूल ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा पैतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले स्थानीय गणेश आधारभूत विद्यालय बालकोटका ९२ जना विद्यार्थीलाई स्कुल ब्याग, कापी, कलमलगायतका स्टेशनरी सामानहरु हस्तान्तरण गर्नु भयो । कार्यक्रममा ६४ जना रक्तदातालाई काँग्रेस महामन्त्री गगन थापाले प्रमाण पत्र प्रदान गर्नु भयो ।

कार्यक्रममा महामन्त्री थापाले आगामी मंसीर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ । स्वर्गीय श्यामबहादुर कार्कीको १५ औ स्मृति दिवसको उपलक्ष्यमा आज भक्तपुरको बालकोटमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको खुल्ला रक्तदान, स्कूल ब्याग तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले कांग्रेसलाई बहुमत आउने गरि चुनाबको तयारीमा लाग्न काँग्रेसका सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिदै भक्तपुरका दुबै क्षेत्रमा काँग्रेसको झण्डा फहराउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले देशको प्रजातन्त्र आएको ३२ वर्ष पार गर्दा पनि देशले उपलब्ध हासिल गर्न नसकेको बताउनु भयो । उहाँले जापान, सिंगापुर, दुबईलगायत बिभिन्न देशले १२ वर्षदेखि ३० वर्षमा ठूलो प्रगति गरेको स्मरण गराउदै नेपालले प्रजातन्त्र उदय भएको ३२ वर्षमा सरकार परिवर्तन गर्ने र निर्वाचन गर्ने बाहेक केही गर्न नसकेको आरोप लगाउनु भयो ।

नेता घिमिरेले भन्नुभयो, “२०४६ सालपछि जनताले यो मूलुक चलाउने जिम्मेवारी हाम्रो काँधमा सुम्पिएका तर यो ३२ वर्ष कसरी प्रयोग भयो, निर्वाचन गर्ने, सरकार परिवर्तन गर्ने, फेरी सरकार परिवर्तनको खेल सुरु गर्ने, फेरी निर्वाचन गर्ने यस्तो चक्रिय फेरबदल बाहेक केही काम हुन सकेन यसको जिम्मेवारी हामीले लिनु पर्छ ।”

लोकतन्त्र र गणतन्त्रको गीत गाउने तर जनताको जीवनस्तरमा कुनै बदलाव ल्याउन नसक्ने भन्दै उहाँले निर्वाचन आउँछ, जान्छ तर देश बदलिदैन, जनस्तर बदलिदैन, त्यसैले अबको निर्वाचन पछि हामी बाटो बदल्छौँ, देश र जनताको पक्षमा परिवर्तन ल्याउछाँै भन्ने संकल्प गर्नु आवश्यक छ भन्नुभयो । नेपाली कांग्रेसले जननेता विपी कोइरालाको जनताको जीवनस्तर उकास्ने संकल्प बिर्सेर गएको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेताहरु रमा कोइराला, जितजंग बस्नेत, सुरेन्द्र केसी, जिल्ला सभापति दूर्लभ थापा, पूर्व संघीय सांसद लेखनाथ न्यौपाने, वाग्मति प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री रजनी जोन्छे, रामप्रसाद दवाडी, प्रदीप कार्कीलगायतले स्वर्गीय कार्कीले समाजमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।

 

निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने निर्वाचनको तयारी सुरु

काठमाडौँ, १९ साउन  : निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन आजैदेखि औपचारिकरूपमा तयारी सुरु गरेको छ । तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा निर्वाचन गराउन आफू पूर्ण सक्षम रहेको आयोगले आज स्पष्ट गरेको छ ।

आयोगका पदाधिकारीले गत असार २२ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वर्तमान सांसद्हरु निर्वाचित भएको मितिका आधारमा आउँदो मङ्सिर २१ गते उहाँहरुको कार्यकाल सकिने भएकाले सो अगाडि मङ्सिर ४ गते निर्वाचन गर्न उपर्युक्त हुने परामर्श दिएको थियो । सोही परामर्शका आधारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बुधबारको बैठकले उक्त मितिमा सहमति जनाएपछि आज भएको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तोकेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २ को खण्ड (झ) मा निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई ‘निर्वाचन अवधि’ भनी परिभाषा गरेको हुँदा निर्वाचनको मिति तोक्दा ऐनको सो व्यवस्थाबमोजिम निर्वाचन हुने दिनभन्दा कम्तिमा १२० दिन अगाडिदेखि निर्वाचन अवधि कायम हुने गरी मिति तोक्न आयोगले सरकारलाई परामर्श दिएको थियो ।

आयोगले मिति घोषणा भएको आजको मितिले १०७ कार्य दिन बाँकी रहे पनि यही अवधिलाई उपयोग गर्दै निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेको छ । सरकारले मिति तोकेलगत्तै आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरु सम्मिलित पत्रकार सम्मेलनमा आयोगले यसबीचमा भएका निर्वाचनका आन्तरिक तयारीलाई अब औपचारिकरूपमा तीव्रता दिने जनाएको हो ।

प्रमुख आयुक्त थपलियाले मङ्सिर ४ गतेको निर्वाचनका लागि अर्जुनदृष्टि दिएर निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहतिरूपमा सम्पन्न गर्ने तयारी सुरु भएको स्पष्ट गर्नुभयो । उहाँले दसैँलगत्तै उम्मेदवारी मनोनयन हुने गरी निर्वाचन कार्यक्रम र कार्यतालिका आउने जानकारी दिँदै उम्मेदवारी मनोनयन गरेपछि वर्तमान सांसद्हरुको पदावधि सकिने गरी कानून स्पष्ट गराउन आयोगले सुझाव दिइसकेको बताउनुभयो ।

संविधानसभाबाट संविधान जारी भएपछिको यो दोस्रो आम निर्वाचनमा सबै दल र उम्मेदवारलाई बराबर ‘खेल मैदान’ उपलब्ध गराउन आयोगले कुनै कसर बाँकी नराख्ने प्रमुख आयुक्त थपलियाको भनाइ छ । एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्नेगरी आयोगको परामर्शमा नेपाल सरकारबाट मिति तोकिएकोमा आयोगले नेपाल सरकारलाई धन्यवाद दिएको छ ।

आयोगले दिएको परामर्शअनुसार नै निर्वाचनको मिति तोकिएसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ भन्ने सम्बन्धमा रहेको संवैधानिक तथा कानूनी अस्पष्टता अब सदाका लागि अन्त्य भएको र यसबाट आगामी आवधिक निर्वाचनको निम्ति पनि मार्ग प्रशस्त भएको आयोगको भनाइ छ ।

१० लाख मतदाता बढ्ने :

आयोगले यसअघि सुरु गरेको मतदाता नामावाली सङ्कलन कार्य यही साउन २० गतेपछि स्थगन गर्ने र यसअघि अनलाइनबाट नामावली सङ्कनका लागि समय लिएकाहरुलाई साउन २१ गतेसम्म समय दिने तय गरेको छ । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलन मिति २०७९ साउन २० गतेदेखि स्थगित हुने भएको हो । अनलाइन फाराम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।

आयोगले गत असार १ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको थियो । प्रमुख आयुक्त थपलियाले यसबीचमा भएको नामावली सङ्कलनबाट करिब १० लाख मतदाता थपिने अनुमान गरिएको बताउनुभयो । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए ।

दल दर्ता प्रक्रिया सुरु हुने :

आयोगले अब हुने निर्वाचनका लागि चाँडै दल दर्ता प्रक्रिया सुरु गर्नेछ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ हुने भएको हो । स्थानीय तहको निर्वाचनमा कूल ७९ दल दर्ता भएकामा ६५ दलले भाग लिएका थिए भने २४ दलले जित हासिल गरेका थिए । यसैगरी आयोगले अन्तर्राष्ट्रिय तहबाट पर्यवेक्षण गराउन चाँडै आह्वान गर्दैछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदानस्थल र मतदान केन्द्रको पुनरावलोकन, निर्वाचन कार्यक्रम स्वीकृति, समानुपातिक निर्वाचन प्रणालीका लागि कार्यालय स्थापना, जनशक्ति व्यवस्थापन, बजेट तर्जुमा र आर्थिक निर्देशिकाको स्वीकृति, अन्य आवश्यक निर्देशिका, कार्यविधि र मापदण्डको तर्जुमा गर्न तयारी भएको छ । स्थानीय तहको निर्वाचनमा रु आठ अर्ब ११ करोड विनियोजन गरिएकामा रु पाँच अर्ब ४० करोड खर्च भएको थियो भने अबको निर्वाचनमा रु १० अर्ब खर्च हुने अनुमान गरिएको छ ।

मतदानस्थल र मतदान केन्द्र अद्यावधिक हुँदै :

आयोगले मतदानस्थल र मतदान केन्द्र पुनरावलोकनका लागि कार्ययोजना बनाई सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरी मतदानस्थल र मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठकबाट सिफारिस गर्न यही साउन ८ गते सूचना जारी गरिसकेको छ । प्राप्त सिफारिसका आधारमा मतदानस्थल र केन्द्र अद्यावधिक हुनेछ । स्थानीय तहको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका थिए ।

नेपालमै पहिलो पटक सूर्यविनायकको गुण्डुमा निर्माण हुन लागेको द्धारका धामको शिलान्यास आउँदो २५ गते सांसद एवं पूर्व मन्त्री बस्नेतद्धारा हुने

-रमेश गिरी
भक्तपुर, १९ साउन : सूर्यविनायक नगरपालिका(७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्धारकाधाम निर्माण हुने भएको छ । श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्धारकाधाम जस्तै नेपालमा पनि सूर्यविनायकको गुण्डुमा द्धारका धाम बन्ने बताएको हो । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्धारका धाम निर्माण कार्य सुरु गर्न लागेको गुण्डुसिथ्त पाथिभरा मन्दिरका मूल गुरु अरविन्द शास्त्रीले जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा शास्त्रीले भन्नुभयो, “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर यहाँको धार्मिक विकासमा टेवा पुर्याएका छौँ, अब पाँच वर्ष भित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो पटक द्धारका धाम निर्माण गर्न लागेका छौँ, यसले धार्मिक पर्यटनको समेत बिकासमा टेवा दिनेछ ।”

यहीँ साउन २५ गते शिलान्यास हुने द्धारका धाम यहाँका करिब आठ रोपनी क्षेत्रफलमा करिब १० करोडको लागतमा निर्माण सम्पन्न गर्ने गुरुयोजनाका साथ कार्य अगाडि बढाएको उहाँले बताउनु भयो ।

द्धारका धाम मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउदै उहाँले भारतको द्धारका धाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको उहाँको बताउनु भयो । उहाँले तीन वटै सरकार र दाताहरुबाट संकलन हुने रकमबाट मन्दिर निर्माण गर्ने लक्ष्य राखेको बताउनु भयो । द्धारका धामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरू मूर्ति स्थापना गरिने बताउनु भयो ।

उहाँले माननीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको अथक प्रयास र सहयोग तथा यहाँका स्थानीय तह, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा पाथिभरा मन्दिर निर्माण सम्पन्न भए जस्तै फेरी पनि सबैको सहयोगमा द्धारकाधाम निर्माण सम्पन्न गर्नु पर्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले भक्तपुरको गुण्डुमा पाथिभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको बताउदै द्धारका धामको निर्माणले यहाँको क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्धारका धामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउनु भयो । उहाँले द्धारका धाम निर्माणका लागि वडा तथा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा गौ संरक्षण केन्द्रका अध्यक्ष नारायण न्यौपानेले ताप्लेजुङको पाथिभरा मन्दिरमा २०७२ सालमा पाँच वर्षको अखण्डदीप प्रज्वलन गरि २०७५ सालमा सवा करोड बत्ति बालेर नेपालकै ठूलो त्रिशुल जगाएर ल्याएर गुण्डुमा पाथिभराको मन्दिर निर्माण स्थलमा स्थापना गरेको बताउनु भयो ।

उहाँले पाथिभरा जस्तै द्धारका धाम निर्माण गर्ने, गौ अर्थात गाईहरुको संरक्षण गर्ने संस्कृत विद्यालय स्थापना गर्ने र धार्मिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अभियान सुरु गरेको बताउनु भयो । जग्गा दाता अर्जन बस्नेतलगायत धन्यवादको पात्र भएको भन्दै उहाँले द्धारका धाम निर्माणमा आर्थिक तथा भौतिक सहयोग गरेर पूण्य कार्यमा मेरो पनि लगानी छ भन्ने आधार तय गर्दै दाताहरुलाई सहयोग गर्न आव्हान गर्नु भयो ।

भक्तपुरका मतदान केन्द्र एवं स्थल परिमार्जन, ७७ वटा मतदान स्थल र २१९ वटा मतदान केन्द्र निर्धारण

भक्तपुर, १९ साउन : भक्तपुरको मतदान केन्द्रहरु परिमार्जन गरिएको छ । यसअघिका निर्वाचनमा कतिपय मतदान केन्द्रहरु अनावश्यक ठाउँमा रहेको, कतिपय संवेदनशील क्षेत्रमा रहेको, कतिपय सडकमै र कतिपय कम्पाण्ड नभएको स्कुलमा मतदान केन्द्र रहदाँ समस्या परेको गुनासो आए पछि मतदान केन्द्रहरु परिवर्तन गरेको हो ।

मतदान स्थल तथा मतदान केन्द निर्धारण कार्यविधि¸२०७७ बमोजिम भक्तपुर जिल्लामा रहेका ७७ वटा मतदान स्थल र २१९ वटा मतदान केन्द्रहरुमध्ये जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको यहीँ साउन १२ गते तथा मतदान केन्द्र सिफारिस कार्यदलको यहीँ साउन १६ गते बसेको बैठकको निर्णयानुसार गरिएको सिफारिस अनुसार मतदान केन्द्र तथा स्थलहरु परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

विगतमा रहेको ३३ वटा मतदान स्थलको त्रुटीहरु सच्याउने क्रममा भक्तपुर नगरपालिकाकोः एक, चाँगुनारायण नगरपालिकाको ६, सूर्यविनायक नगरपालिकाकोः २२, मध्यपुरथिमि नगरपालिकाको चार मतदान स्थलहरुको त्रुटी सच्याईएको उहाँले जानकारी दिनु भयो ।

त्यसै गरि भक्तपुर नगरपालिकामा तीन, मध्यपुरथिमि नगरपालिकामा तीन, चाँगुनारायण नगरपालिकामा दुई गरि कूल आठ वटा मतदान स्थलहरु नयाँ कायम गरिएको उहाँले जानकारी दिनु भयो । त्यसैगरि आठ वटा मतदान स्थलहरु हटाइएको र एक वटा मतदान केन्द्र गाभिएको कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिनु भयो । मध्यपुर थिमि नगरपालिका(४ को दथुटोल परिवार नियोजन क्लिनिक सोही वडाको अर्को मतदान स्थल आदर्श मा.वि. लायकुटोलमा गाभिएको उहाँले जानकारी दिनु भयो ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिमबहादुर बिसीले निर्वाचन केन्द्र तथा स्थल परिमार्जन गरे पछि अब भक्तपुर जिल्लामा अब ७६ वटा मतदान स्थल र २१९ वटा मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिनु भयो ।

यस अघिको स्थानीय तहको निर्वाचनमा भक्तपुरमा ७७ वटा मतदान स्थल केन्द्र रहेकोमा एक वटा भने मर्ज गरेसँगै घटेको उहाँले जानकारी दिनु भयो । सूचना अधिकारी बिसीले विगतमा केही मतदान केन्द्रमा निकै समस्या परेकाले अबको निर्वाचनमा मतदानमा सहज हुने बताउनु भयो

एक महिनादेखि फोहोर नउठ्दा मध्यपुरथिमिमा दुर्गन्ध, चोकचोकमा फोहोर

भक्तपुर, १९ साउन : मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी बिहार अगाडि दुई सातादेखि फोहोरको डंगुर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको त्यस क्षेत्रमा केही महिना अगाडि मात्रै त्यस क्षेत्रलाई सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो ।

नगरपालिकाको त्यो व्यबस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र झोलामा ल्याएका फोहोर त्यहीँ फाल्न थाले पछि नगरपालिका कार्यालयको नाकै अगाडि फोहोरको डंगुर थुप्रिएको छ । सम्पदा क्षेत्रको रुपमा रहेको पाटी बिहार, नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिको कार्यालय, कांग्रेस नगर सभापतिको घरसँगै तीन सातादेखि फोहोरको डंगेर लाग्दा त्यस क्षेत्रमा अहिले दुर्गन्ध फैलिएको छ ।

एकातिर वर्षामा अविरल परेको पानीले दिनानुदिन कुहिएर गन्हाउन थालेको र अर्को तर्फ भुस्याहा कुकुरहरुले फोहोरका बोरा र प्लाष्टिक च्यातेर सडकमा छरपष्ट छरिदाँ पैदल हिड्नेलाई समेत सास्ती भोग्नु परेको छ ।

नजिकै बसाई सरेर आएका श्यामलाल बस्याल फोहोरको दुर्गन्धले बस्ने नसकिने भएको बताउनु हुन्छ । स्थानीयले दैलो अगाडि जथाभावी फोहोर फाल्नु, नगरपालिकाले फोहोरको डंगुरको व्यबस्थापन नगर्नु र ठेक्कामा प्रति घर मासिक रु. ३५० मा फोहोर संकलन गर्दै आएको निजी क्षेत्र नेप्से म्याकले जिम्मेवारी बहन नगर्दा जनताले सास्ती खेप्नु परेको बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ, “जथाधावी फोहोर फाल्ने यहाँका जनता पहिलो दोषी हुन्, नगरपालिका भित्रको फोहोर व्यबस्थापन गर्न नसक्ने र निजी क्षेत्रलाई फोहोर संकलनलाई दबाब दिन नसक्ने नगरपालिका अर्को दोषी हो, फोहोर संकलन गर्ने जिम्मा लिएर उपभोक्तासँग मासिक रकम असुल्ने नेप्से म्याक अर्को दोषी हो, यहीँ फोहोरका कारण महामारी फैलिए त्यसको जिम्मेवारी कसले लिने ?”

मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी क्षेत्रका बासिन्दा उत्तिकै पीडित छन् । यस क्षेत्रको फोहोर उठाउने जिम्मेवारी लिएको नेप्से म्याकले विगत दुई महिनादेखि नियमित रुपमा फोहोर संकलन गरेको छैन । सातामा दुई दिन फोहोर संकलन गर्दै आएपछि विगत दुई महिनादेखि सातादेखि १० दिनमा आउने गरेपछि अहिले तीनसातादेखि फोहोर संकलन गर्न नआउँदा फोहोर स्थानीयले जथाभावी फाल्न थालेका हुन् ।

पछिल्लो समय कुहिने र नकुहिने फोहोर छुट्याएर राखे पनि फोहोर संकलननै गर्न नआए पछि घरघरमै फोहोर कुहिएर किरा परेर दुर्गन्ध फैलिन थाले पछि जथाभावी फोहोर फाल्न थालिएको स्थानीय बताउँछन् ।

संगम कोलोनीका बिष्णुप्रसाद पराजुलीले नेप्से म्यकले लापर्वाही गरेको बताउनु हुन्छ । हरेक महिना पैसा लाने तर फोहोर नलाने गलत भएको भन्दै फोहोर संकलनको जिम्मेवारी लिएको नेप्से म्याकले कम्तीमा कुहिने फोहोर संकलन गरेर मल उत्पादन गर्ने वा डम्पिङ गर्ने व्यबस्था गर्नु पर्नेमा उपत्यकामा फोहोर उठेको छैन भन्दै जिम्मेवारीबाट पन्छिने गरेको बताउनु हुन्छ ।

उहाँले भन्नुभयो, “नेप्से म्याकलाई पटक पटक फोहोर संकलन गर्न आउनु भनेर फोन गरिसक्यौँ, त्यहाँका कर्मचारी उपत्यकाको फोहोर नउठी हामी लादैनौ घरमै राख्नुस् भन्छन्, कुहिने फोहोरले घर गन्हाउन थालिसक्यो, भाडामा बस्नेहरुले कहाँ राख्ने फोहोर, फोहोरको व्यबस्थापन गर्ने जिम्मेवारी नगरपालिका र नेप्से म्याकको हो, दुबै निकायले गैरजिम्मेवारीपन देखाए ।”

कोठा कोठामा फोहोर, घरघरमा फोहोर, चोक चोकमा फोहोर थुप्रिदा गर्मी र वर्षा मौषमले रोगको महामारी फैलिन सक्ने मध्यपुरथिमिका चिकित्यक डा. रामदास श्रेष्ठ बताउनु हुन्छ । फोहोरको उचित व्यबस्थापन चाडै गररे यसले मानवीय स्वास्थ्यमा प्रतिकुल समस्या आउन सक्ने भन्दै उहाँले सम्बन्धित निकायको ध्यान जानु पर्ने बताउनु भयो ।

आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमडौँ, १९ साउन : नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

थप ७६० मा सङ्क्रमण पुष्टि

काठमाडौँ, १९ साउन : देशभर पछिल्लो २४ घण्टामा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार नौ सय २६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा नौ लाख ८८ हजार आठ सय २१ र एन्टिजेनविधिबाट गरिएको परीक्षणमा एक लाख ४३ हजार सात सय ९२ मा कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो समय थप ३२४ जना सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७१ हजार २५० पुगेको छ । नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ६९ पुगेको छ । यस रोगका कारण पछिल्लो समय थप एक जानको ज्यान गएको छ ।

त्यसैगरी पछिल्लो समय ४७ हजार तीन सय ४१ जनाले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार छ सय दुई पुगेको छ । होम आइसोलेशनमा पाँच हजार चार सय ४०, संस्थागत आइसोलेशनमा एक सय ६२ र सघन उपचार कक्ष (आइसियु) मा ४४ जनाको उपचार भइरहेको छ ।

दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा

काठमाडौँ, १९ साउन : खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने एक सय १५ उत्पादक कम्पनीलाई कानुनी कारबाही गरिने भएको छ । खाद्यान्नमा लेबल, न्यूनगुणस्तर, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र नलिएका र कोलीफर्म मिसिएका खाद्य तथा पेयपदार्थ उत्पादन गरेका उक्त कम्पनीलाई खाद्य ऐन, २०२३ बमोजिम कानुनी कारबाही गरिने भएको हो ।

खाद्य ऐनविपरीत अखाद्य वस्तु उत्पादन गर्ने दालमोठ, मासु, तरकारी, मिक्स मसला तथा अन्य मसलाजन्य पदार्थ, पाउरोटी, दही, दाना, प्रशोधित पिउने पानी, चाउचाउ, चिया, मुसुरोको दाल, घ्यू, आयातित तोरीको तेल, गाईबस्तुको दाना, चाउमिन, मह, बेकरी, गहँुको पीठो, चामल, पेडा, सूर्यमुखी तेल, पोष्टा दाना, क्यारामेल सस, कुखुराको दाना, बिस्कुट, ममः, भेज सस, पुष्टकारी, भेनेगर र गुदपाकलगायत अखाद्य बस्तु उत्पादन गरी विक्री वितरण गरेको अभियोगमा कानूनी कारबाही हुनेभएको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

खाद्य पदार्थमा विशुद्धता कायम राख्न खाद्य ऐन, २०२३ बनेको हो । उक्त ऐनले सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवाञ्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने व्यवस्था गरेको छ । विभागले आर्थिक वर्ष २०७७/७८ मा एक सय थान मुद्दा दर्ता गरेको थियो ।

विसं २०७८/७९ मा ११५ कम्पनीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय एवं जिल्ला अदालतमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाहीको माग गर्दे विभागले मुद्दा दर्ता गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अभियोग प्रमाणित भएमा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनीलाई खाद्य ऐनले पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको बताउनुभयो ।

सात खेलाडी सम्मानित

काठमाडौँ, १९ साउन :  खेलकुद क्षेत्रमा योगदान पु¥याएबापत सात खेलाडी ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ बाट सम्मानित हुनुभएको छ । हाम्रो खेलकुद डट कमको आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा खेल क्षेत्रमा आआफ्नो समयमा महत्वपूर्ण योगदान गर्नुभएका धावक जीतबहादुर केसी र धावक वैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी सङ्गिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्वकप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित हुनुभयो । सम्मानित खेलाडीले जनही रु २५ हजारसहित सम्मानपत्र प्राप्त गर्नुभयो ।

सम्मानित व्यक्तित्वलाई सांसद गगन थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, काभ्रे बेथानचोक गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । जीतबहादुर केसी (एथलेटिक्स) केसीले झण्डै पाँच दशकअघि एशियन एथलेटिक्स च्याम्पियनसिपमा कास्यपदक हात पार्नुभएको थियो ।

फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले दुई घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको थियो । उहाँले जित्नुभएको नेपालको त्यो नै पहिलो अन्तराष्ट्रिय पदक हो । वैकुण्ठ मानन्धर (एथलेटिक्स) सन् १९८४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जित्नुभएको थियो । सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उहाँ नै पहिलो नेपाली हुनुहुन्छ । सन् १९८७ मा भएको तेस्रो सागमा उहाँले म्याराथनमा कीर्तिमान रच्नुभएको थियो ।

त्यतिबेलाको उहाँको दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिलेसम्म भङ्ग हुन सकेको छैन । राजुकाजी शाक्य (फुटबल) सागको पहिलो संस्करण सन् १९८४ र छैटौँ १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । छैटौँ संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्र्याउँदा उहाँ टोलीको कप्तान हुनुहुन्थ्यो । प्रशिक्षकका रुपमा सन् २०१६ मा भारतमा भएको सागको १२औँ संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई उहाँले स्वर्ण दिलाउनुभएको थियो ।

सङ्गिना वैद्य (तेक्वान्दो) विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन सुरु गरे पनि सङ्गिनाले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गर्नुभएको थियो । स्वदेशमा आयोजना भएको १९९९ को आठौँ र २००४ को नवौँ सागमा स्वर्णपदक जित्नुभएको थियो ।

उहाँ तेक्वान्दोकी एशियन च्याम्पियन पनि हुनुहुन्छ । दीपक विष्ट (तेक्वान्दो) दीपकले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौँ सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जित्नुभएको थियो । त्यस्तै उहाँले सन् २००२ र २००६ मा एशियाली खेलकुदमा कास्य जित्नुभएको थियो । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीका रुपमा पनि उहाँले बेजिङ ओलम्पिक २००८ खेल्नुभएको थियो । पारस खड्का (क्रिकेट) पारस नेपाली क्रिकेट इतिहासका सफल कप्तान र खेलाडी हुनुहुन्छ ।

नेपालले अहिलेसम्म खेलेको एकमात्र टी–२० विश्वकप सन् २० १४ खेल्दा होस् वा सन् २०१८ मा एकदिवसीय मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पहिलो उपाधि डिभिजन पाँच हुँदै चार र तीनको उपाधि उहाँकै नेतृत्वमा नेपालले जितेको थियो । गौरिका सिंह (पौडी) तीन वर्षअघि नैपालमा नै भएको १३औँ सागमा गौरिकाले चार स्वर्ण पदकसहित नौ पदक जित्नुभएको थियो । सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको थियो ।