समानताका लागि आवाज भक्तपुरले ७७ जनालाई कदरपत्रद्धारा सम्मान

भक्तपुर, ११ चैत :समानताका लागि आवाज भक्तपुरले आफ्नो २५ औ वर्षको अवसरमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं राष्ट्रिय महिलाकिसान महासंघकी केन्द्रीय अध्यक्ष गंगालक्ष्मी अवालसहित ७७ जनालाई कदरपत्र प्रदान गरेको छ ।

संस्थाको रजत जयन्तीको अवसरमा आज भक्तपुरको व्यासीमा आयोजना गरेको सदस्य, सहयोगी व्यक्ति र संस्थालाई आजिवन सदस्यता तथा कदर पत्र वितरण समारोहमा उहाँलगायतलाई पूर्वमन्त्री एवं मानवअधिकारकर्मी डा. देवेन्द्रराज पाण्डेले खादा ओढाएर कदर पत्र प्रदान गर्नु भएको हो ।

कार्यक्रममा मानवअधिकारकर्मी पाण्डेले अपाङ्ता भएका व्यक्ति राज्यबाट पछाडि परेको बताउदै आफ्ना अधिकारका लागि आवाज उठाउनु पर्ने औल्याउनु भयो । उहाँले अपाङ्ता भएकालाई पनि राज्यले समान रुपमा बिभिन्न क्षेत्रमा प्रतिनिधित्व गराउदै उनीहरुको अधिकारलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं राष्ट्रिय महिला किसान महासंघकी केन्द्रीय अध्यक्ष गंगालक्ष्मी अवालले अपाङ्मैत्री संरचनाको अभाव रहेको बताउदै सबै मिलेर हौसला र प्रेरणा दिनु पर्ने बताउनु भयो । आफूले पाउनु मात्रै जीवन नभई हामीले हजारौ जीवन बनाउनु पर्छ भन्दै उहाँले समृद्ध समाजको निर्माणमा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

सहि मान्छेले मात्रै सहि मूल्यांकन गर्न सक्छ भन्दै अवालले मान्छे पद र आडम्रबले भन्दा कर्म र असल विचारले ठूलो हुने भएपनि अहिले कठोर र बिचारको समाज निर्माण भइरहेकोमा दुःख व्यक्त गर्नुभयो । अहिलेको समयमा मानिस आफूलाई होइन, अरुलाई हेरेर, अरुको इश्र्याले दुखी हुने गरेको बताउदै हामीले हाम्रो बुद्धि, क्षमताको प्रयोग गरेर सबै मिलेर समाज बनाउन लाग्नु पर्नेमा अवालले जोड दिनुभयो ।

त्यसअवसरमा संस्थालाई आर्थिक, भौतिक तथा अन्य सहयोग गर्ने अवालसहित ११ जना कर्मचारी, २२८ जना सहयोगी व्यक्तित्व र २८ जना सहयोगी संस्थालाई खादा ओढाएर कदर पत्र प्रदान गरिएको समानताका लागि आवाज भक्तपुरका प्रवक्ता सुरेश राजभण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा समानताका लागि आवाज भक्तपुरका संस्थापक एवं राष्ट्रिय शारीरिक अपाङ् संघ नेपालका अध्यक्ष किरण शिल्पकार, एभरेष्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति रामप्रसाद मानन्धरलगायतले संस्थाले गर्दैं आएको कार्यक्रमको चर्चा गर्दै देशको तीन तहकै सरकारको नजर अपाङ्ताको क्षेत्रमा पर्नुपर्ने बताउनुभयो ।

नयाँवर्षको अवसरमा सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव आयोजन

भक्तपुर, ११ चैत : नयाँवर्ष २०८० साल एवं भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राको अवसरमा भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को आयोजना हुने भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्थाले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापाले यहीँ चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने भएको बताउनु भयो ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा हुन लागेको महोत्सवमा २०० वटा स्टल रहने उहाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ विगतका वर्षहरुमा झै यसवर्ष पनि हामीले भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौं जिल्लामा बसोबास गर्दै आउनु भएका बिभिन्न जिल्लाका व्यक्तिलाई लक्षित गरि घरयासी सम्पूर्ण सामानहरु एकै ठाउँबाट सस्तो र सुलभ रुपमा उपलब्ध गराउने उद्देश्यले महोत्सवको आयोजन ागर्न लागेका हौ ।”

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा पर्यटकीय क्षेत्र भक्तपुर आउने आन्तरिक तथा बाहय पर्यटकलाई लक्षित गरि आयोजना गर्न लागेको महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, बिभिन्न ब्राण्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोवाईल, , विभिन्न ब्राण्डका मोवाईल, सवारी साधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका सामाग्रीहरुको स्टल रहने उहाँले बताउनु भयो ।

पत्रकार सम्मेलनमा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले महोत्सवमा बिक्री हुने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गरि सेवा लिने अपेक्षा राखेका छौँ, यहाँ सबै स्टलबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा राखेका छौँ, यसवर्ष बिभिन्न व्यक्तितवहरुलाई नगदसहितको पुरस्कार एवं सम्मान गर्ने भएका छौँ ।”

दैनिक सांगीतिक प्रस्तुती तथा बाल उद्यान :

महोत्सवमा बालबालिकालाई लक्षित गरि बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बिभिन्न खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती एवं हाँस्यव्यङ्यसहितका मनोरञ्जनात्मक प्रस्तुती रहने महतले जानकारी दिनुभयो ।

महोत्सवमा हरेक दिन बिभिन्न सांगीतिक व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र चर्चित गायक गायिकाको प्रस्तुती दैनिक रहने उहाँले बताउनु भयो ।

महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाडा, पर्यटन प्रवर्दन गर्ने स्टलहरु निःशुल्क राखिने बताउदै उहाँले बैशाख ४ गते भने विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिने संयोजक थापाले बताउनु भयो ।–––

काँग्रेसमा मन्त्री बन्नेको दौडधूप, यस्ता छन् आकांक्षीहरु

काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले भोली सोमबार सरकारमा विश्वासको मत लिएसँगै मन्त्रीपरिषद् बिस्तार गर्ने तयारी गरिएको छ । चैत १० गतेभित्र मन्त्रीपरिाष्द्लाई पूर्णता दिने गरि नेपाली काँग्रेस र प्रधानमन्त्री प्रचण्ड अगाड बढेपछि काँग्रेस भित्र मन्त्रीको आकाक्षीको लर्को लागेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेताहरु चैत १० पछिमात्र मन्त्रिपरिषद् विस्तार हुने बताउँछन्। विश्वासको मत लिएपछि १० दलको बैठक बसेर भागबण्डा टुंग्याइने र त्यसपछिमात्र पार्टीको बैठकबाट सरकारमा जानेको टुंगो लगाउने कांग्रेसको तयारी छ।

कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा नै  कांग्रेसमा चर्काचर्की हुने देखिन्छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शेखर कोइरालामध्ये एकले नेतृत्व गर्ने गरी सरकारमा पठाउनेबारे अनौपचारिक रुपमा छलफल चले पनि नेताहरु बोल्न चाहँदैनन्। विश्वासको मत लिएपछिमात्र यसबारे पार्टीमा छलफल हुने पार्टीका सहमहामन्त्री बद्री पाण्डे बताउँछन्। ‘विश्वासको मत लिएपछि छलफल होला। अहिले कसलाई सरकारमा पठाउने भन्ने तयारी केही भएको छैन,’ पाण्डेले भने।

पार्टी उपसभापति खड्का उपप्रधानसहित कुनै मन्त्रालय लिएर यसपटक सरकारमा जान चाहन्छन्। तर उनको लागि देउवाको सिग्नल ‘ग्रीन’ नरहेको बताइन्छ। पछिल्लो पटक पार्टी सभापति देउवापत्नी आरजुले खड्कालाई मन्त्रिपरिषद्मा पठाउन चाहिरहेकी छैनन्। अन्तिम समयमा खड्कासहितका केही नेताहरुका कारण गठबन्धन जोगाउन नसक्दा कांग्रेसले सरकारको नेतृत्व नै गुमाएको देउवा टिमको बुझाइ देखिन्छ। जसले गर्दा उपसभापति खड्का प्रचण्ड सरकारमा सहभागी हुन मुस्किल हुने बताइन्छ। यद्यपि खड्का भने ‘एनिहाउ’ सरकारमा जाने प्रयासमा छन्।

खड्कालाई पन्छाएर पार्टीको नेतृत्व गरी सरकारमा सहभागी हुन चाहने अरु नेताहरु हुन् प्रकाशमान, विमलेन्द्र र डा शेखर। प्रकाशमान र विमलेन्द्रले देउवालाई महाधिवेशनमा सघाएका पनि थिए। त्यसैले पनि यी दुबै नेतालाई पार्टीको नेतृत्व गर्ने अवसर देउवाले दिनसक्ने बताइन्छ। दुबै नेताप्रति देउवा सफ्ट रहेको बताइन्छ। यता प्रधानमन्त्री प्रचण्ड भने कांग्रेसबाट संस्थापनइतरका नेताहरु डा शेखर र गगन थापा सरकारमा आए सत्ता सुरक्षित हुने बुझाइमा रहेको बताइएको छ। यसले गर्दा देउवाले डा शेखरलाई पार्टीको नेतृत्व गरी सरकारमा पठाउन सक्ने चर्चा छ। तर डा शेखरको सचिवालयले भने यसबारे पार्टीको निर्णय आएपछिमात्र थाहा हुने जनायो। ‘शेखर दाइको नेतृत्वमा सरकारमा जाने भन्ने कुरा आएको छ। तर बाहिर हल्ला भएजस्तो पार्टीमा कुनै छलफल भएको छैन। विश्वासको मत लिएपछि पार्टीभित्र छलफल होला,’ डा कोइराला निकट एक केन्द्रीय सदस्यले भने।

नेपाली कांग्रेसले सरकारमा सहभागी हुन चार मापदण्ड तय गरिएको छ। मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको हो।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले ८ देखि १० मन्त्रालय दाबी गर्ने बुझिएको छ। कांग्रेसले अर्थसहित परराष्ट्र मन्त्रालयमा दाबी गरेको छ।

अर्थमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, डा नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की र उदय शम्शेर राणाको नाम चर्चामा छ। यद्यपि देउवाको फेभरमा अहिले प्रवक्ता डा महत भएकोले कतिपय नेताहरुले महत नै अर्थमन्त्री हुने दाबी गर्छन्। ‘डा प्रकाशशरण महत देउवाको फेभरमा देखिन्छन्। महामन्त्रीमा जिताउन नसकेका कारण पनि महतलाई देउवाले न्याय दिने देखिन्छ,’ देउवा निकट एक केन्द्रीय सदस्यले भने।

यसैगरी परराष्ट्र मन्त्रालयमा आरजुको दाबी रहेको छ। शेखर र गगनलाई मन्त्रिपरिषद्मा पठाउन आरजुले नचाहेको संस्थापनइतरका नेताहरु बताउँछन्। त्यसैले संस्थापनइतरबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्री पाण्डे, जीवन परियार र रामनाथ अधिकारीलाई मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बुझिएको छ।

देउवा टिमबाट एनपी साउद र सीता गुरुङ मन्त्री बन्ने पक्कापक्की भइसकेको कांग्रेस नेताहरुको दाबी छ। एनपी साउद महाधिवेशनमा महामन्त्रीबाट ब्याक भएर देउवालाई सघाएका नेता हुन्। त्यसैगरी सीता प्रत्यक्षमा निर्वाचित एकमात्र महिला सांसद हुन् कांग्रेसमा। यसैगरी प्रमुख सचेतक रमेश लेखक र नारायण खड्का पनि मन्त्री बन्ने लाइनमा छन्। कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका डा शशांक कोइरालाले पनि सरकारमा जाने रहर निर्वाचन अघिबाटै गरिरहेका छन्। कोइराला आफू सरकारमा सहभागी नभए उनको कोटाबाट एकजना मन्त्री पठाइने बताइन्छ। जसमा दिपक खड्का पक्कापक्की हुने शशांक निकट नेताले बताए।

भूभाग सन्तुलन मिलाउँदा काठमाडौंबाट एक जना मन्त्री बन्ने देखिन्छ। गगन मन्त्रिपरिषद्मा सहभागी नभए अर्जुननरसिंह केसीले पनि मन्त्रीमा दाबी गर्ने बताइन्छ। जातीय सन्तुलन मिलाउन रामेछापबाट निर्वाचित भएका कान्छाराम तामाङले पनि मन्त्रीमा दाबी गर्ने बताइन्छ। यद्यपि मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा भने १० दलको भागबण्डा र कांग्रेसको भागबण्डापछि मात्र टुंगो लाग्ने देखिन्छ।

प्रतिनिधि सभामा के के भए आज दिनभर

काडमाडौं, ५ चैत । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ३ वटा विधेयक पेस भएको छ । राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ प्रतिनिधि सभामा स्वीकृत भएको छ भने संवैधानिक परिषद्, काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ प्रस्तुत भएको छ ।

यस्तै प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदामाथि संशोधनका प्रस्ताव पेस गर्नका लागि ७२ घण्टाको समय दिइएको छ ।  बैठकमा प्रस्तुत भएका संवैधानिक परिषद्, काम कर्तव्य, अधिकार र कार्यविधीसम्बन्धी पहिलो संशोधन विधेयक २०७९ र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि नेमकिपा सांसद प्रेम सुवाल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीले विरोधको सूचना पेस गरेका थिए । उनीहरुले दर्ता गरेको विरोधको सूचनाको सम्बन्धमा बोल्ने क्रममा सभामुख र सुवालबीच सवाल जवाफ भएको थियो भने सांसद शाहीले बोल्ने क्रममा आपत्ति जनाउँदै माओवादी केन्द्रका सांसदहरू आफ्नो सिटबाट उठेका थिए । यस्तै आजको बैठकदेखि एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा आएको छ भने नेपाली कांग्रेस सत्तापक्षको सिटमा बस्न थालेको छ ।

राष्ट्रिय सभाबाट प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’स्वीकृत 

राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ लाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ । सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८’ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

सो विधेयलाई नेमकिपा सांसद प्रेम सुवाल बाहेक बहुमत सांसदले स्वीकृत गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव राख्नका लागि सभामुख घिमिरेले ७२ घण्टाको समय दिएका छन् ।  गत फागुन १२ गते प्रतिनिधि सभाको बैठकमा गणपूरक संख्या नपुग्दा यो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्न सकिएको थिएन ।

सत्य निरुपणसम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत 

प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रस्तुत भएको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चार मन्त्री रेखा शर्माले सो विधेयक पेश गरेकी हुन् ।

यस्तै प्रतिनिधि सभा नियमावलीको मस्यौदा २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत भएको छ । मस्यौदामाथि संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ ।

प्रेम सुवालको प्रश्न–यो संसद् कि कुनै क्लब हो ?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल बोलिरहेका बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड हिँडेपछि उनले आपत्ति जनाए । बैठकमा प्रधानमन्त्री प्रचण्ड ढिलोगरी संसद् बैठकमा पुगेका थिए । जतिबेला सांसद सुवाल आफूले गरेको विरोधको सूचनामाथि बोलिरहेका थिए ।

प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रतिनिधि सभामा प्रस्तुत गर्न लागेको संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सांसद सुवालले विरोधको सूचना दर्ता गरेका थिए । सो सूचनामाथि मन्त्री शर्माले प्रष्ट पारेपछि विरोधको सूचना फिर्ता लिने हो त्यसका लागि सभामुख घिमिरेले सांसद सुवाललाई समय दिएका थिए ।

सांसद सुवाल आफूले जुन विषयमा बोल्न समय पाएका थिए त्यसमा नबोली केही महिना अघि सप्तरी शोषिता दासलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको र उनले न्याय नपाएको बताउन थाले । सभामुख घिमिरेले उनलाई आफूले समय दिएको विषयमा बोल्न ध्यानकर्षण गराएपछि सुवालले आफूले अघिल्ला बैठकमा पनि सोबारे कुरा उठाउँदा कुनै मन्त्रीबाट जवाफ नआएको बताउँदै सभामुखलाई संसद्को सदस्य जनताको प्रतिनिधि भएकोले जनताको कुरा उठाउन पाउने बताइरहेका थिए ।

सोही बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड आफ्नो सिटतर्फ गएपछि सांसद सुवालले आक्रोश व्यक्त गर्दै भन,‘संसद् सदस्य भनेको जनताको प्रतिनिधि हो । जनताको प्रतिनिधिले बोलेको विषय सरकारले सुनुवाइ गर्दैन भने यो संसदबाट प्रधानमन्त्री छनौट गर्नुको औचित्य हुँदैन । त्यसकारण संसदबाट निर्वाचित प्रधानमन्त्री हो भने संसद् सदस्यले उठाएको विषयको जवाफ आउनुपर्छ । जनता मरिरहेका छन्, किसानले मल पाइरहेका छैनन् । किन नपाउने किसानले मल ? किसानले मल नपाएपछि हामी सांसदले पनि खान पाउँदैनौँ नि चामल । (प्रचण्ड सुवालको अगाडिबाट आसनतर्फ जान्छन् ) प्रधानमन्त्री ज्यूले यसरी बोलिरहँदा अगाडिबाट क्रस गर्न पाइँदैन सभामुख महोदय । यो के हो ? यो संसद् हो कि क्लब हो ? क्लब हो भने क्लबको सामानहरू आउनुप¥यो यहाँ । गीत गाउँनेहरु आउनुप¥यो । अनि नाँच्ने गाउँनेहरु आउनुप¥यो । हैन भने संसद्को नियम त पालना हुनुप¥यो नि ।’

सभामुखले विषयवस्तुमा प्रवेश गर्न पुन आग्रह गरेपछि सुवालले आफूले विषय केन्द्रित रहेको भन्दै सिराहाको लहानमा एक व्यक्तिको हत्या भएको र गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे । उनले आफूले दर्ता गरेको विरोधको सूचना फिर्ता नलिने समेत बताउँदै सांसदले उठाएको प्रश्न सरकारले दिँदैन भने त्यस्तो सरकारलाई राजीनामा गराउनुपर्ने बताए ।

ज्ञानेन्द्र शाहीले संसदमा बोल्दा विरोधमा माओवादी सांसद जुरुक्क 

बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रस्तुत गर्ने क्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बोल्ने क्रममा माओवादी सांसदहरूले आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधि सभामा प्रस्तुत गर्न विरोधको सूचना दर्ता गरेका शाहीलाई सभामुखले फिर्ता लिन चाहेमा फिर्ता लिन समय दिएपछि शाहीले सो विधेयकमा मानवअधिकारको गम्भीर उल्लंघन र मानवअधिकारको उल्लंघन भन्ने कुरा उठेको र त्यसको परिभाषा अलग अलग गरिएकोप्रति आपत्ति जनाए ।

उनले मानव अधिकारको उल्लंघनको विषयमा हत्या राखिएको र पछाडि मानव अधिकारको उल्लंघन गर्नेहरुलाई माफी दिने भन्ने कुरा उल्लेख गरिएको भन्दै हत्या गरेपनि माफी दिने भन्दै प्रश्न गरे । उनले हिजो सरकार पक्षपनि नभएको र विद्रोही पक्षपनि नभएकोलाई क्रूरतापूर्वक हत्या गरिएको बताउँदै हत्या गर्नेलाई माफी दिने कुरा गलत भएको बताए ।

उनले विधेयकमा आँखामा छारो हाल्ने काम भएको मानवअधिकारको गम्भीर उल्लंघनको परिभाषाभित्र राख्नुपर्ने विषयलाई मानवअधिकार उल्लंघनको परिभाषाभित्र राखेर गलत परिभाषा गरेको आरोप लगाए ।

उनले भने–‘यहाँ हत्या र हिंसा गर्नेलाई खुल्लम खुला माफी दिने कुरा गरिएको छ । त्यसकारण यो परिभाषा नै गलत छ ।

दफा २९ को घ मा द्धन्द्धकालमा कसैले गरेको गम्भीर अपराधलाई प्रचलित कानुनअनुसार सजाय नगरी सजाय घटाउने विषय राखिएको छ । गम्भीर फौजदारी कसुरमा सजाय घटाउन पाइँदैन  । यो न्याय र प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ ।’

उनले यसो भनिरहँदा माओवादी केन्द्रका सांसद माधव सापकोटाले उठेर विरोध गरेका थिए भने माओवादीका प्रमुख सचेतक हितराज पाण्डे सहितका केही सांसदले हात उठाएर विरोध जनाए । सांसद शाही विधेयकमा पीडित र पिडकबीच सहमति भए विशेष अदालतमा मुद्दा नचली मेलमिलाप हुने विषय स्वीकार गर्न नसकिने बताए ।

सांसद शाही र सुवालले विरोधको सूचना फिर्ता नलिएपछि सभामुख घिमिरेलबेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ माथिको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरे ।

सांसद शाही र सुवालले दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री रेखा शर्मालाई सो विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्न अनुमति दिएका थिए  ।

शान्तिप्रक्रियालाई छिट्टै टुङ्गोमा पु¥याउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा 

संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अन्तर्राष्ट्रिय मानवअधिकारका प्रचलित सिद्धान्त, प्रचलित कानुनका आधारमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ ले आत्मसाथ गरेको बताएकी छिन् ।

सो विधेयकमाथि सांसदहरु ज्ञानेन्द्र शाही र प्रेम सुवालले दर्ता गरेको विरोधका सूचनामाथि उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले नेपालको राजनीतिक परिवर्तनका लागि १० वर्षको जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलनको परिणाम स्वरुप आज लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा रहेको स्मरण गराइन ।

उनले जनयुद्धका क्रममा घटेका घटनाका विषयलाई विस्तृत शान्ति सम्झौतामा संक्रमणकालीन न्यायको विषय बनाइने उल्लेख भएको र ६ महिनाभित्र टुङ्गोमा पु¥याइने उल्लेख भएपनि यसले लामो समय लिएको बताइन । सो कामलाई समयमा टुङ्गोमा पु¥याउन नसक्दा शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम पूरा हुन नसकेको बताइन् । उनले सरकारले शान्ति प्रक्रियालाई छिटो टुङ्गोमा पु¥याउनका लागि नै सो विधेयक संसदमा प्रस्तुत गर्न लागेको बताइन् ।

शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउन आयोग नेतृत्वबिहिन भएको उल्लेख गर्दै अघिल्लो सरकारले नै सो विधेयक अघि बढिसकेको अवस्थामा संसदको समय सकिएकोले विधेयक निष्क्रिय भएकोले केही संशोधन गरी अहिले विधेयक पेश गरेको उल्लेख गरिन् ।

एमाले सचेतक महेश बर्तौलाको प्रश्न : यो कस्तो कसको सरकार हो ?

नेकपा एमालेका सचेतक महेश बर्तौलाले किसानलाई समयमा मल दिन नसक्ने यो कस्तो सरकार हो भन्दै प्रश्न गरे । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बर्तौलाले यो सरकार कसको हो ?भन्दै सरकारलाई प्रश्न गरे ।

उनले भने,‘यो सरकार कसको लागि काम गरिरहेको छ ? नेपालका किसानलाई समयमा एक बोरा मल समेत उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्नेगरी, ढाड भाँच्नेगरी मलमा मूल्य वृद्धि गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । कहिलेबाट किसानले सरकारबाट यस खालको ज्यादतिपूर्ण अन्याय सहनुपर्ने हो ? भूमीहीन सुकुम्बासीहरुले लामो समयदेखि जग्गाधनी पूर्जा प्राप्त गर्न सकेका छैनन् । जग्गाधनी पुर्जा पाउनका लागि उनीहरुले कहिलेसम्म कुर्नुपर्ने हो ? म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’

उनले लाखौं युवा बेरोजगार रहेको बेला उनीहरुका लागि सरकारको कुनै नीति नरहेको बताए ।

‘धुर्मुस सुन्तलीले छोडेको रंगशाला सरकारले तुरुन्त  बनाउनुप¥यो’ : रघुजी पन्त 

नेकपा एमालेका सांसद रघुजी पन्तले चितवनमा धुर्मुस सुन्तलीले बेबारिसे बनाएर छाडेको क्रिकेट रंगाशाला जिम्मा लिएर निर्माण गर्न आग्रह गरे । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले भन,‘चितवनमा धुर्मुस सुन्तलीले बनाएके रंगशाला बेवारिसे भएर बसेको छ । त्यसलाई सरकारले तुरुन्त लिनुप¥यो र त्यसलाई तिर्नुपर्ने पैसा तुरुन्त तिरेर त्यसको निर्माण सुरु गर्नुप¥यो । त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर त्यहाँको रंगशालालाई बिस्तार गर्नुप¥यो र मुलपानीको रंगशालालाई बनाउँनुप¥यो ।’

उनले खेलाडीबाट अपेक्षा गर्ने खेलाडीले जितेको बेलामा एक दुई लाख रुपैयाँ दिएर अघिपछि भने सरकारले कानमा तेल हालेर बस्ने काम गरेको बताए ।

उनले भने,‘खेलाडीलाई जन्माउने भनेको आधारभूत संरचनाहरु, रंगशालाहरु बनाउनुप¥यो । महिला टोलीले सार्कमा जितेर आए उनीहरुले माग गरेका थिए महिलाहरुका लागि एउटा भलिबल रंगशाला बनाइदेऊ भनेर तर त्यसमा सरकारको तातो लागेको छैन  । त्यसैले क्रिकेटमा हाम्रो सम्भावना छ । महिला भलिबलमा हाम्रो सम्भावना छ, सार्कमा फुटबलमा हाम्रो सम्भावना छ यस्ता सम्भावना भएका खेललाई अगाडि बढाउन सकिएको छैन ।’

‘पत्रकार बिक्रीमा छन्’ भन्ने सभामुखको अभिव्यक्तिप्रति बैठकमा विरोध

सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति सांसद रामहरि खतिवडाले विरोध जनाए । शुक्रवार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले पत्रकारहरु बिक्रीमा रहेका अभिव्यक्ति दिएका थिए ।

आइतबारको संसद् बैठकमा बोल्दै सांसदहरुले सो अभिव्यक्तिप्रति विरोध जनाएका हुन् । नेपाली कांग्रेसका सांसद खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताए । उनले सभामुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै सभामुखको त्यसतर्फ ध्यानाकर्षण गराए ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन– कुन हुन भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गरे ।  उनले सभामुखबाट उठेको विषय सार्वजनिक महत्त्वको विषय भएको उल्लेख गर्दै बिक्री हुने पत्रकारहरुका बारेमा छानबिन हुनैपर्ने बताए ।

प्रधानमन्त्रीले भोलि विश्वासको मत लिने, सभामुखले गराए सदनलाई जानकारी  :

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम र प्रतिनिधि सभा नियमावलीको व्यवस्था बमोजिम विश्वासको मत लिने प्रस्तावको सूचना दिएको सभामुख घिमिरेले जानकारी गराएका छन् । उनले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको सदनलाई जानकारी गराएका छन् ।

प्रतिनिभि सभामा आसन परिवर्तन, प्रतिपक्षमा बस्यो एमाले

काठमाडौं, ५ चैत । संघीय संसद्मा दलहरुको आसन परिवर्तन भएको छ । यसअघि, सत्तापक्षमा रहेका दल प्रतिपक्ष र प्रतिपक्षमा बसेका दलहरु सत्तापक्षको बेञ्चमा पुगेका छन् । आजदेखि प्रतिनिधिसभामा नेकपा (एमाले) प्रमुख प्रतिपक्षको बेञ्चमा बसेको छ । यसअघि, प्रतिपक्षमा बसेका दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले आजैदेखि सत्तापक्षको बेञ्च पाएका छन् ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट सरकार बनाउने म्यान्डेट नभएको स्वीकार गर्ने एमाले ६४ दिन सरकारमा बस्यो । पुस १० गते तत्कालीन पाँचदलीय गठबन्धन भत्काएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि एमाले सरकारमा गएको थियो ।

तर, राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा सत्ता समीकरणमा फेरबदल आयो । प्रधानमन्त्री प्रचण्डले निर्वाचनअघिको पाँचदलीय गठबन्धनलाई आठदलीय गठबन्धनको रुपमा व्यूँताएपछि एमाले फागुन १५ गते सरकारबाट बाहिरिएको थियो ।

तर, कांग्रेस पनि प्रतिपक्षको बेञ्चमा प्रमुख भएर बसिरहँदा प्रमुख प्रतिपक्षीको विवाद हुने देखिएपछि फागुन १७ गतेका लागि बोलाइएइको प्रतिनिधिसभा बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

यसबीचमा सत्ता गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भइसकेका छन् । प्रमुख प्रतिपक्षको विषयमा आजको संसद् बैठकअघि नै संसद्मा देखिन सक्ने सम्भावित विवाद हल भइसकेको छ । कांग्रेसले आजैदेखि सत्तापक्षको बेञ्च रोजेको छ । पुस २६ मा विश्वासको मत दिएको एकीकृत समाजवादी पनि सत्तापक्ष बनेको छ ।

केन्द्रीय सत्तासँगै राष्ट्रपतिलगायतका पद गुमाएको एमाले प्रदेश सरकार गुमाउने संघारमा छ । तर, तत्कालीन चुनावी नतिजाले केही पनि पद नपाउने अवस्थामा पुगेको एमालेले केही पदहरु प्राप्त गरेकाले खासै गुनासो गर्नुपर्ने अवस्था नरहेको एमाले  नेताहरु बताउँछन् । अब सत्ता राजनीतिको दाउपेचबाट बाहिर रहेर खरो प्रतिपक्षको रुपमा उत्रिने एमालेको तयारी छ ।

एमाले सचेतक महेश बर्तौला संसद्मा प्रतिपक्षको भूमिका कस्तो हुन्छ भन्ने आफूहरुले देखाउने बताउँछन् । उनले बाह्रखरीसँग भने, “संसदीय राजनीतिमा संसद् प्रतिपक्षको हो । हामी कस्तो हुन्छ देखिने प्रकारको भूमिका निर्वाह गर्र्छाैं । सिर्जनात्मक, रचनात्मक, संसदीय मूल्य मान्यतालाई सुदृढ बनाउने प्रकारले प्रतिपक्षको बेञ्चबाट एमालेको सशक्त प्रस्तुतीरकण रहनेछ ।”

त्यस्तै, जनताको मुद्दा र संविधान कार्यान्वयनका विषयमा खबरदारी गरिने उनको भनाइ छ । “जनताका मुद्दा उठाउनेछौँ । संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने दर्जनौँ कानुनहरु छन्, त्यसका बारेमा सरकारलाई खबरदारी गर्छौँ,” बर्तौलाले बाह्रखरीसँग भने, “संसद्प्रति सकारलाई पूर्ण जवाफदेही बनाएर नागरिक सेवा, जनउत्तरदायी प्रशासनका पक्षमा खबदारी गर्नेछौँ ।”

त्यस्तै, एमाले सांसद रघुजी पन्त यसअघि कांग्रेसले प्रतिपक्षको भूमिका बिर्सिएर सत्तापक्ष बनेको आरोप लगाउँछन् । संसद्ले अब बल्ल प्रतिपक्ष पाएको उनको भनाइ छ ।

“कांग्रेस विश्वासको मत दिएदेखि नै सत्तापक्षमा बस्नुपर्ने हो । विश्वासको मतको कारणले मात्र होइन्, उसको भूमिका नै सत्तापक्ष जस्तो थियो,” पन्तले बाह्रखरीसँग भने, “कांग्रेसले प्रतिपक्षमा बसेर प्रतिपक्षको भूमिकालाई निस्तेज गर्यो । हामी त्यस्तो गर्दैैनौँ ।”

पन्तले अब एमाले प्रतिपक्षमा बसेर सोहीअनुसारको भूमिका निर्वाह गर्ने बताउँछन् । “हामीले सरकारको समर्थन फिर्ता लिएपछि नै प्रतिपक्षमा बस्ने स्थिति बनेको हो । संसद्मा त बल्ल आजबाट स्थान परिवर्तन भयो,” उनी भन्छन्, “हामी सत्तापक्षमा हुँदा सत्तापक्षकै भूमिकामा रह्यौँ । अब प्रतिपक्षमा हुँदा प्रतिपक्षको भूमिकामा ह्ुन्छौँ ।”

एमालेले प्रतिपक्षीको बेञ्चबाट जनताको हितविरुद्ध हुने कामको विरोध गर्दै संविधानको पक्षमा आवाज बुलन्द गर्ने पन्तले बताए ।

“प्रमुख प्रतिपक्षमा बसिसकेपछि सत्तापक्षलाई गलत काम गर्न नदिएर खबरदारी गर्ने काम हो । हाम्रो पार्टीले गम्भीरतापूर्वक गर्छ,” उनी बाह्रखरीसँग भन्छन्, “देश जनताको हितमा, संविधानको पक्षमा आवाज उठाउँछ । जनताविरुद्ध हुने कामलाई रोक्ने, खबरदारी गर्ने प्रयत्न गर्छ ।”

प्रधानमन्त्री दाहालले दोश्रो पटक भोलि विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि गत पुष २६ गते पहिलो पटक संसदवाट विश्वासको मत लिनुभएको थियो ।

एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन जना स्वतन्त्र सांसदको समर्थन प्रचण्डलाई थियो ।

जस अनुसार पहिलो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गर्नुभएको थियो । तर राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा गठबन्धनको संरचना परिवर्तन भयो ।

राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चासहितको नयाँ गठबन्धन बन्यो ।

राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

त्यसपछि नेकपा एमाले पनि सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता आएको हो ।

विश्वासको मत लिने तयारी गरिरहँदा शनिवार बसेको सत्ता गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् । अहिले सत्ता गठबन्धनमा १० दल सहभागी छन् ।

अहिले गठनबन्धनमा रहेका कांग्रेस -८९, माओवादी केन्द्र- ३२, जसपा- १२, नेकपा एस- १०, जनमत- ६, लोसपा- ४, नागरिक उन्मुक्ती पार्टी -३, राष्ट्रिय जनमोर्चा- १ सिट संसदमा प्रतिनिधित्व छ ।

यी दलहरुले विश्वासको मतदिदा प्रचण्ड नेतृत्व सरकारले स्पष्ट रुपमा पुन विश्वासको मत पाउने देखिन्छ । प्रधानमन्त्रीले बिश्वासको मत पाउन संसदमा रहेका १ सय ३८ सांसदको समर्थन चाहिन्छ ।

संविधानको धारा १०० को उपधारा (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्नेछ’ भन्ने उल्लेख छ ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सवै दलको समर्थनमा विश्वासको मत पाउने बताउनुभएको छ ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग सक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले आफुले शतप्रतिशत सांसदबाट विश्वासको मत पाउने बताउनुभएको हो ।

यसअघि आफुले विश्वासको मतमा ९९ दशमवल २५ प्रतिशत प्राप्त गरेको र अहिले शतप्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उहाँले बताउनुभयो ।

रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपा संसदीय दलको बैठकले प्रधाानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

२५ फागुनको राष्ट्रपति चुनावमा १० दलको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई साथ दिएको रास्वपाले अब प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सत्ता पक्षकै बेञ्चमा बस्ने निर्णय गरेको जनाइएको हो ।

प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) संसदमा विश्वासको मत लिने तयारी गरेका छन् ।

सांसद प्रेम सुवालले भने : सांसदले उठाएको प्रश्नको जवाफ नदिने सरकारले राजीनामा दिनुपर्छ

काठमाडौँ, ५ चैत । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल बोलिरहेका बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड हिँडेपछि उनले आपत्ति जनाएका छन् ।  आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्ड ढिलोगरी संसद बैठकमा पुगेका थिए, जतिबेला सांसद सुवाल आफूले गरेको विरोधको सूचनामाथि बोलिरहेका थिए ।

प्रधानमन्त्री प्रचण्डको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रतिनिधिसभामा प्रस्तुत गर्न लागेको संवैधानिक परिषदको काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसद सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।

सो सूचनामाथि मन्त्री शर्माले प्रष्ट पारेपछि विरोधको सूचना फिर्ता लिने हो त्यसका लागि सभामुख घिमिरेले सांसद सुवाललाई समय दिएका थिए ।  सांसद सुवाल आफूले जुन बिषयमा बोल्न समय पाएका थिए त्यसमा नबोली केही महिनाअघि सप्तरी शोषिता दासलाई बोक्सीको आरोपमा निर्घात कुटपिट भएको र उनले न्याय नपाएको बताउन थाले । सभामुख घिमिरेले उनलाई आफूले समय दिएको विषयमा बोल्न ध्यानकर्षण गराएपछि सुवालले आफूले अघिल्ला बैठकमा पनि सो बारे कुरा उठाउँदा कुनै मन्त्रीबाट जवाफ नआएको बताउँदै सभामुखलाई संसदको सदस्य जनताको प्रतिनिधि भएकोले जनताको कुरा उठाउन पाउने बताइरहेका थिए ।

सोही बेला उनको अगाडिबाट प्रधानमन्त्री प्रचण्ड आफ्नो सिटतर्फ गएपछि सांसद सुवालले आक्रोश ब्यक्त गर्दै भने– ‘संसद सदस्य भनेको जनताको प्रतिनिधि हो । जनताको प्रतिनिधिले बोलेको विषय सरकारले सुनुवाई गर्दैन भने यो संसदबाट प्रधानमन्त्री छनोट गर्नुको औचित्य हुँदैन । त्यसकारण संसदबाट निर्वाचित प्रधानमन्त्री हो भने संसद सदस्यले उठाएको विषयको जवाफ आउनुपर्छ । जनता मरिरहेका छन्, किसानले मल पाइरहेका छैनन् । किन नपाउने किसानले मल ? किसानले मल नपाएपछि हामी सांसदले पनि खान पाउँदैनौँ नी चामल । (प्रचण्ड सुवालको अगाडिबाट आशनतर्फ जान्छन्) प्रधानमन्त्री ज्यूले यसरी बोलिरहँदा अगाडिबाट क्रस गर्न पाइँदैन सभामुख महोदय । यो के हो ? यो संसद हो कि क्लब हो ? क्लब हो भने क्बलको सामानहरु आउनुपरयो यहाँ । गीत गाउनेहरु आउनुपर्यो । अनि नाच्ने गाउनेहरु आउनुपर्यो । हैन भने संसदको नियम त पालना हुनुपर्यो नी ।’

सभामुखले विषयवस्तुमा प्रवेश गर्न पुन आग्रह गरेपछि सुवालले आफूले विषय केन्द्रीत रहेको भन्दै सिरहाको लहानमा एक ब्यक्तिको हत्या भएको र गृहमन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीले जवाफ दिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरे । उनले आफूले दर्ता गरेको विरोधको सूचना फिर्ता नलिने समेत बताउँदै सांसदले उठाएको प्रश्न सरकारले दिँदैन भने त्यस्तो सरकारलाई राजीनामा गराउनुपर्ने बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

चितवन, ५ चैत  : भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताउनुभयो ।

धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई रु १८ करोड ४१ लाख भुक्तान गर्न बाँकी रहेको जनाएको छ । भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो ।

उहाँले भन्नुभयो, “रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि वढाउन ढिलाइ भएको हो ।” खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ । सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ । दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर सङ्घीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ ।

यो रङ्गशाला यहाँ निर्माणका लागि पहल कदमी गर्नुहुने तत्कालीन चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री हुनुहुन्छ । जिल्लामा रङ्गशाला स्थापनाकालदेखि नै उहाँको पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पु¥याउन प्रधानमन्त्री दाहालकोसमेत चाहना रहेको छ । तिर्नुपर्ने भुक्तानीको टुङ्गो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणका लागि त्रिभूवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा छ कट्ठा जग्गा उपलब्ध गराएको थियो । निर्माणको समयमा फाउण्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो । विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख भएको छ ।

फाउण्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा रु ५७ करोड ९२ लाख खर्च भएको छ । सोमध्ये नगद र जिन्सी गरी रु ३९ करोड ८० लाख उठेको कट्टेल बताउनुहुन्छ । रकम तिर्न नसके पछि विसं २०७७ साउनदेखि रङ्गशाला निर्माणको काम रोकिएको हो । निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएका कारण सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो । महानगरपालिकाले सहमतिविपरीत फाउण्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमती जनाउँदै आएको छ ।

पुराना डुङ्गाले फेवातालमा बढ्दो जोखिम

खरा, ५ चैत : फेवातालमा साइँली,

डुङ्गा सलल सम्झनामा तिम्रो तस्बिर झलल ……

स्वर : शिव परियार, सङ्गीत : रामचन्द्र काफ्ले, रचना : किरण घिमिरे ।

पर्यटकीय नगरी पोखराको गहनाको रूपमा लिइन्छ फेवाताललाई । फेवाताललाई लिएर निकै सुन्दर गीत साहित्य सृजना भएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्यको रूपमा रहेको फेवातालमा डुङ्गा सयर गरेर पर्यटकले निकै आनन्द लिने गर्दछन् । जति हेरे पनि नथाकिने फेवातालको सुन्दरतामा माछापुच्छ्रेको छाँया प्रकृति प्रेमीका लागि निकै लोभलाग्दो दृश्य हो ।

फेवातालमा डुङ्गामा सयर गर्दै माछापुच्छ्रेलगायतका हिमशृङ्खलाको सुन्दर दृश्य तालमा हेरेर फर्कन पर्यटक निकै लालयित हुने गरेको पाइन्छ । यद्यपि पछिल्लो समय भने यही सुन्दर ताल छेउमा अस्तव्यस्त पुराना डुङ्गाले फेवातालको सुन्दरतालाई घटाइरहेको छ । लामो समय भएका काठका डुङ्गा ताल किनारमा बेवारिसे अवस्थामा रहँदा तालको सुन्दरतामा असर पारिरहेको बताउनुहुन्छ लेकसाइड निवासी साहित्यकार लक्ष्मण थापा ।

“फेवातालको सुन्दरता बेचेर धेरै बाँचेका छन्, पोखराको गहना फेवातालको छेउछाउमा पुराना डुङगालाई बेवारिसे छोडिनु गैरजिम्मेवारपन हो । यसले फेवातालको सुन्दरतासँगै ताल पुरिने जोखिम पनि बढाउँदै लगेको छ”, उहाँले भन्नुभयो, “यसरी नै पुराना डुङगा अस्तव्यस्त छोड्ने हो भने कालान्तरमा फेवातालले आफ्नो अस्तित्व जोगाउन सक्दैन ।” फेवाताल किनारमा रहेका डुङ्गा वर्षायाममा पानीको सतह बढ्दा तालभित्र हराउने हुँदा ताल पुरिने जोखिम पनि बढ्दै गएको उहाँको भनाइ छ ।

योसँगै थापाले फेवातालसँगै जोडिएको भक्कल भन्ने ठाउँमा सिमपानीको चिसा खोलाले बगाएर ल्याएको माटो फेवातालमा मिसिँदा पनि ताल पुरिने जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । फेवा डुङगा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बेवारिसे अवस्थामा ताल किनारमा रहेका डुङ्गालाई वैशाख महिनाभित्र व्यवस्थापन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले हालै बैठकबाट यही विषयमा निर्णय गरेका छौँ, चैत २० गतेबाट अनुगमन गर्छौं र वैशाख महिनाभित्र ताल किनार र तालभित्र रहेका डुङगाको व्यवस्थापन गर्नेछाँै ।”

उहाँका अनुसार अहिले फेवा तालमा आठ घाटबाट (बाराही घाट, स्वीमिङ घाट, गौरीघाट, अम्मटघाट, फिस्टेलघाट, फेवाघाट, बङ्लादी घाट, पारिघाट) डुङगा सञ्चालन हुँदै आएको छ । फेवातालका लागि सातसय ६७ डुङ्गा सञ्चालित छन् । बाराही घाटबाट धेरै डुङ्गा सञ्चालन हुने गर्दछ । फेवाताल किनारमा बेवारिसे अवस्थामा रहेका करिब एक सय पचासदेखि दुई सयसम्म डुङ्गा हुन सक्ने उहाँको अनुमान छ ।

अनुगमनबाट सम्बन्धित डुङ्गा धनीलाई त्यसको उचित व्यवस्थापनका लागि पहल गर्न लगाउने तयारी भएको उहाँले जानकारी दिनुभयो । “हामीले डुबाएर राखेका डुङ्गालाई निकाल्ने मर्मतपछि प्रयोगमा ल्याउन मिल्नेलाई त्यहीअनुसार र नमिल्नेलाई तालबाहिर सम्बन्धित डुङ्गा धनीलाई नै व्यवस्थापन गर्न लगाउने गरी निर्णय गरेका छौँ । अब केही महिनामा ताल छेउमा बेवारिसे डुङ्गा देख्नुहुन्न”, गिरीले भन्नुभयो ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुप्रसाद भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुङ्गा व्यवस्थापनका लागि सम्बन्धित डुङ्गा व्यवसायीलाई एक महिनाको समय दिइएको बताउनुभयो । “फेवाताल किनारका बेवारिसे डुङ्गाको विषयलाई लिएर कुरा आएको छ, हामीले त्यसको व्यवस्थापनका लागि एक महिनाको समय दिएका छौँ, त्यो समयभित्र उहाँहरूले त्यसको व्यवस्थापन गर्नुभएन भने वडाले नै त्यस्ता डुङ्गाको व्यवस्थापन गर्नेछ ।”

उहाँले डुङ्गा व्यवसायीले आफ्नो डुङ्गा प्रयोगविहीन भएपछि ताल छेउमा राख्दा तालको सुन्दरतामा असर परेकोप्रति वडाले चासो दिएको बताउनुभयो । अध्यक्ष भट्टराईले फेवातालको मुख्य स्थानमा सरसफाइका लागि दुई कर्मचारी राखेर नियमित सफाइ कार्य गरेको र ताल छेउका व्यवसायीलाई पनि ताल र आसपास क्षेत्रमा फोहर नफाल्न सचेत गराइरहेको जानकारी दिनुभयो । योसँगै वडा सदस्य पवित्र थापाको संयोजकत्वमा ‘हाम्रो सफा वैदाम’ अभियान सुुरु गरेको उहाँले बताउनुभयो । साथै ताल सरसफाइ र संरक्षणका लागि स्थानीय जलारीलाई पनि सक्रिय बनाएर कार्य गर्ने सम्बन्धमा वडाले निर्णय गरेको उहाँको भनाइ छ ।