उपनिर्वाचनमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ, ८ वैशाख : प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ ।

एमाले अध्यक्ष बिरामी, घरबाटै उम्मेदवारलाई शभाकमना

काठमाडौँ, ३ वैशाख  : भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । अध्यक्ष ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।” आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गर्नुभयो ।

“तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो, तर, अहिले म ती कार्यक्रममा सहभागी हुन सकिरहेको छैन”, अध्यक्ष ओलीले भन्नुभएको छ, “तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ, तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ, उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाता समक्ष म विनम्र आग्रह गर्दछु ।” अ

ध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्था ठीक भएपछि तीनै उम्मेदवारलाई भेट्न आउने उल्लेख गर्दै लेख्नुभएको छ, “स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरूलाई भेट्न आउने नै छु, तीनै उम्मेदवारलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

बालकोट रागिनी हाईटस्थित भित्री बस्तीमा नयाँ ढल खन्दा माटोको ढिस्कोले परिदाँ एक मजदुरको मृत्यु, एक घाइते

भक्तपुर, ३ बैशाख : कौशल्टार–सिरुटार जाने सडक खण्डको भित्री बस्ती नयाँ ढल खन्दा माटोको ढिस्कोले पुरिदाँ आज अपरान्ह एक मजदुरको मृत्यु भएको छ भने अर्का एक मजदुर गम्भिर घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–२ बालकोट रागिनी हाईटस्थित भित्री बस्तीमा नयाँ ढल बिस्तारको लागि खाल्डो खन्ने क्रममा एक्कासी माथिबाट माटोको ढिस्को खसेर पुरिदा सुनसरी गढी गाँउपालिका–२ घरभई हाल बालकोट बस्ने २२ वर्षीय नितेश ऋषिदेवको मृत्यु भएको हो ।

माटोको ढिस्कोले पुरिदाँ सुनसरी गढी गाँउपालिका–२ घरभई हाल बालकोट बस्ने ३० वर्षीय सियाराम ऋषिदेवको कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा गम्भिर अबस्थामा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

घट्ना पछि प्रहरी वृत्त थिमिबाट १८ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानियसमेतको सहयोगमा उद्धार गरी घाईते दुबैलाई उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।

उपचारकै क्रममा एकको मृत्यु भएको र अर्का मजदुरको उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रनाउ पाठकले बताउनुभयो ।

सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा तीन लाखको अवलोकन

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा चैत २३ गतेदेखि सुरु भएको महोत्सवमा ११ दिनमा बिभिन्न जिल्लाबाट आउनु भएका तीन लाखभन्दा बढी उपभोक्ताले महोत्सवको अवलोकन गर्नु भएकोे संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । बैशाख १ गते एकै दिन करिब ५० हजार, बैशाख २ गते एकैदिन २५ हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्नु भएको उहाँले जानकारी दिनुभयो ।

====================================================

भक्तपुर, ३ बैशाख : भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा तथा नयाँवर्ष २०८० को अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी क्षेत्रफलमा आयोजना गरेको ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०’ मा आज अन्तिम दिनसम्म तीन लाख भन्दा बढीले अवलोकन गरेका छन् ।

औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा चैत २३ गतेदेखि सुरु भएको महोत्सवमा ११ दिनमा बिभिन्न जिल्लाबाट आउनु भएका तीन लाखभन्दा बढी उपभोक्ताले महोत्सवको अवलोकन गर्नु भएकोे संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । बैशाख १ गते एकै दिन करिब ५० हजार, बैशाख २ गते एकैदिन २५ हजारभन्दा बढीले महोत्सवको अवलोकन गर्नु भएको उहाँले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष महतले भन्नुभयो, “यो महोत्सव व्यापार गरेर नाफा बमाउनका लागि गरेका होइनौ, यो महोत्सवरमा सबै वर्गका उपभोक्ताको सहज पहुाच पुर्याएर दैनिक उपभोग्य सामानदेखि बिभिनन सामानहरु सस्तो र सुलभ रुपमा बिक्री गरेर सेवा गर्नुनै मूल उदेश्य हो, त्यसैले यहाँ रहेका बिभिन्न सामानका २०० वटा स्टलबाट बजारमा पाइने प्रत्येक सामानहरु २० देखि ५० प्रतिनशतसम्म छुट दिएर सस्तोमा सामान उपलब्ध गराउनु र अवलोकनमा आएका मानिसलाई दैनिक बिभिन्न चर्चित कलाकारहरुबाट प्रस्तुत गरिएका सांगीतिक प्रस्तुतीबाट मनोरञ्जन प्रदान गरेका छौँ ।”

महोत्सवमा मानवीय जीवनमा दैनिक उपभोग हुने खाद्यान्न, बिभिन्न ब्राण्डका लत्ताकपडा, कृषि तथा हस्तकला, भाँडाकुडा, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, अटोमोवाईल, विभिन्न ब्राण्डका मोवाईल, सवारी साधन, खेलौना, सौन्दर्य, राष्ट्रिय तथा स्थानीय खाना महोत्सवलगायतका सामाग्रीहरु रहेका थिए ।

यसवर्ष बिभिन्न व्यक्तित्वहरुलाई नगदसहितको पुरस्कार एवं सम्मान समेत गरिएको छ । महोत्सवमा भक्तपुर, काभ्रे, ललितपुर र काठमाडौं जिल्लामा बसोबास गर्दै आउनु भएका बिभिन्न जिल्लाका उपभोक्ताहरुको आकर्षण दैनिक उपभोग्य सामाग्री, भाडाकुडा र लत्ताकपडामा रहेको छ ।

अध्यक्ष महतले भन्नुभयो, “बालबालिकाको आकर्षण बिभिन्न मनोरञ्नात्मक खेलहरुमा रहयो, युवाहरुको आकर्षण दैनिक चर्चित कलाकारहरुको म्युजिकल एवं मनोरञ्नात्मक कार्यक्रममा रहयो । गृहणी तथा पाका उमेरकाको आकर्षण दैनिक उपभोग्य सामान र लत्रा कपडामा रहेको छ । महोत्सवले सबै वर्गका मानिसको आवश्यकतालाई एकै थलोबाट पूरा गर्न र बालबालिकादेखि सबै उमेरका व्यक्तिलाई फरक फरक मनोरञ्जन प्रदान गर्न महोत्सव सफल रहयो ।”

दैनिक सांगीतिक प्रस्तुती तथा बाल उद्यान :

महोत्सवमा बालबालिकालाई लक्षित गरि बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बिभिन्न खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती एवं हाँस्यव्यङ्यसहितका मनोरञ्जनात्मक प्रस्तुती रहने गरेको महोत्सवमा संयोजक एवं जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

महोत्सवमा हरेक दिन बिभिन्न सांगीतिक व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र चर्चित गायक गायिकाको प्रस्तुती दैनिक रहेको उहाँले बताउनु भयो । महोत्सवमा भक्तपुरका मौलिक उत्पादन, काष्टकला, माटोको भाडा, पर्यटन प्रवर्दन गर्ने स्टलहरु निःशुल्क रार्खिको थियो । संयोजक थापाले बैशाख ४ गते भोली महोत्सवस्थलमा नेपालका चर्चित गायक गायिका तथा ब्याण्डको विशेष साँस्कृतिक प्रस्तुती रहने बताउनु भयो ।

पहिलो पटक जिब्रो छेडी महाद्धिप बोकेर टोलटोल घुमे २७ वर्षीय सुजन

भक्तपुर, २ बैशाख : मध्यान्हदेखिनै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो । बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिसहरु खचाखच भए ।

दिउँसो २ बजे बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो, बिचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आईपुगे २७ वर्षीय सुजन वागश्रेष्ठ ।

बोडेका बासिन्दाले जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाईएको मञ्चमा उक्लिए पछि यसअघि १२ पटक जिब्रो छेडाइसक्नु भएका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाउनु भएका जुजुभाई वाग श्रेष्ठ पनि मञ्ममा उक्लिए ।

जिब्रो छेड्न तयार भएका सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडिदिनु भयो ।

त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर निस्किए सुजन, सँगैसँगै बुद्धकृष्णले छोरा सुजनलाई अगाडि बढाइरहे । त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाईदेखि स्थानीय दीलकृष्ण प्रजापतिसमेतले पहिलो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिडेर हौसला प्रदान गरिरहे ।

महाद्विप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर बिभिन्न देवी देवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्याईयो । त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्धिपलाई मन्दिरस बाहिर राखेर सुजन भित्र प्रवेश गरेपछि जिब्रोको सुईरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो र हजारौको भीड बिस्तारै तितरवितर लाग्यो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको जुजुभाई बताउनु हुन्छ ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवौ पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा तयार भए र यसवर्ष पनि जात्राले निरन्तरता पायो । बुद्धकृष्ण भन्नुहुन्छ, “यो वर्ष सुजनले जिब्रो छेडायो, अर्को वर्ष पनि जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न यहाँका युवा पुस्ताहरु तयार हुनु पर्छ, यहाँको जात्रा यहीँको युवाले अब जोगाउने हो ।”

मध्यपुरथिमिका पूर्व नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जात्रालाई सहज बनाउन आफ्नो पालामा जग्गा खरिद गरेर नयाँ पाटी बनाएर ठाउँ फराकिलो बनाएको बताउनु भयो ।

जात्रालाई व्यबस्थित गर्न नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो । उहाँले मध्यपुरथिमिका जात्रा पर्वका लागि यसअघि गरिएको व्यबस्थालाई निरन्तरता दिएको बताउनु भयो । नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले यसवर्ष जात्रा हेर्नका लागि नेपाली काँग्रेसका सांसद दुर्लभ थापालगायतका बिभिन्न नेताहरु तथा माओवादी केन्द्रका नेताहरु आएको बताउनु भयो ।

जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए ।

कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।

तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिसाच कोही नभई नील बाराहीका देव गण हुन् । जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर भ्रम फैलाउन नहुने बताउनु हुन्छ । जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् भन्ने सबैलाई बुझाउनु जरुरी रहेको उहाँले बताउनु भयो ।

देवीदेवताको खट बोकेर सिन्दुर खेल्दै मनाइयो सिन्दुर जात्रा

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले आज विहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरि टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गन २३ देवीदेवता बिराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।

======================================================

भक्तपुर, २ बैशाख : हजारौ मानिसको भीड, भीडमा सबैको टाउँको अनुहार, शरीर सबै अबिरै अबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई बिराजमान गराईएएको खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि जेष्ठनागरिकसमेत जात्राको भीडमा रमाउदै आज भव्य रुपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात बिहानीको जात्रा मनाएका छन् ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका वासिन्दाले आज विहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरि टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गन २३ देवीदेवता बिराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।

थिमिमा मात्र मनाईने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ । तर केही वर्ष यता भने २ट खट मात्रै जात्रामा सहभागि हुने गरेका छन् ।

यो जात्रामा आज विहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुबिर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाईएको छ ।

थिमिमा ३२ वटा खट सहभागि रथ बोकेर गराई परम्परागत रुपमा मनाउदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमाा २३ वटा, नगदेशमा १, बोडेमा ७, टिगनीमा १ छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुबीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको छ । जात्रामा काँया बाजा, भुस्या बाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानिय जात्रालुहरु रमाईलो गर्ने भएकाले पनि यसलाई केहीवर्ष यता सिन्दुर जात्रा पनि भन्न थालिएको छ ।

बालकुमारीबाट परम्परागत रुपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरु सहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरुको खट उचाले पछि बालकुमारीको जात्रा सुरु गरिएको छ ।

परम्परा अनुसार नै देवता लायकू दरबार भित्र पस्न नपाउन भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ । अगाडि बढाउदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरि क्रमैसंग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराईन्छ । बालकुमारीलाई बिभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका वासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ । यसवर्ष बैशाख २ गते शनिबार परेकाले यहाँको खट सहितको जात्रालाई शंखधर चोकहुदै सूर्यविनायक नगरपालिका–५ स्थित दक्षिण बाराही मन्दिरमासमेत लगिएको छ ।

धेरैवर्ष पछि बैशाख २ गते शनिबार परेकाले जात्रालाई दक्षिण बाराही मन्दिर लगेर परिक्रमा गरेर फर्काइएको मध्यपुरथिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बैशाख २ गते शनिबार पर्दा कुनै निष्ट नहोस भनेर दक्षिण बाराहीमा समेत जात्रा लगिने परम्परा रहेको स्थानीय बताउछन् । आजको जात्रा मध्यान्हसम्म चल्ने र यो जात्रा समापन भए पछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेड्र जात्रा मनाउने नगर प्रमुख ेष्ठले जानकारी दिनुभयो ।

जात्रामा नेताहरुद्धारा अवलोकन :

आजको यो जात्रामा नेपाली काँग्रेस र नेकपा (माओवादी) केन्द्रका नेतादेखि स्थानीय जनप्रतिनिधिहरुले अवलोकन गर्नु भएको छ । मध्यपुरथिमि नगरपालिकाको निमन्त्रणालाई स्वीकार गर्दै नेपाली काँग्रेसका केन्द्रीय नेताहरु प्रकाशमान सिंह, इन्द्र बानियाँ, जिल्ला सभापति दूर्लभ थापालगायतका नेताहरु, माओवादी केन्द्रका केन्द्रीय तहका लीलामणी पोखरले, शशी श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, डिपी ढकाललगायत जिल्ला तहका नेताहरु, बिभिन्न नगरपालिकाका नगर प्रमुख एवं उपप्रमुखलगायतका विदेशी कुटनितक नियोगबाटसमेत पाहुनाहरु जात्रा अवलोकनका लागि आउनु भएका नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँवर्षको अवसरमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म पर्यटककै आगमन

नयाँवर्षको अवसरमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका शतप्रतिशत होटलहरुहरु विगत तीनदिनदेखि आन्तरिक पर्यटककै आगमनले भरिएका छन् । करिब तीनवर्ष कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा बिदेशी भन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीय स्थल खचाखच भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

==============================================

-रमेश गिरी

भक्तपुर, २ वैशाख : नयाँवर्ष २०८० को आगमनसंगै खुसी मनाउन र सूर्योदय हेर्नका लागि विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म होटलहरु विदेशी तथा स्वदेशी पर्यटकले खचाखच भएका छन् ।

नयाँवर्षको अवसरमा भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका शतप्रतिशत होटलहरुहरु विगत तीनदिनदेखि आन्तरिक पर्यटककै आगमनले भरिएका छन् । करिब तीनवर्ष कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा बिदेशी भन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीय स्थल खचाखच भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका ७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटलहरु आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँले बताउनु भयो ।

यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्यसंगै सूर्योदयको झुल्को हेर्नेहरुको रात बस्नेदेखि बिहान आउने पर्यटकको भीड लागेको उहाँले बताउनु भयो । चैत मसान्तदेखि बैशाख ३ गतेसम्म होटल बुकिङ्ग भइसकेको र यहााका सबै होटलहरु आन्तरिक पर्यटकले भरिएको बताउनु भयो । नयाँवर्षका लागि दुई साता अगाडिदेखिनै यहाँका होटलहरु बुक भएका थिए ।

समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, बिभिन्न हिमशृंखला समेत अवलोकन गर्न सकिन्छ ।

यहाँबाट सूर्योदयसंगै कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशंकर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायी बकेँले बताउनुभयो ।

होटल व्यवसायी बकेँ भन्नुहुन्छ–“रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट हेर्न सकिने हिमाली दृश्य र सूर्योदयले नयाँवर्षमा आन्तरिक पर्यटक खचाखच भएको छ । अबभने पर्यटन व्यबसाय पुन चलायमान हुने आशा पलाएको छ ।”

होटल व्यवसायी तथा घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले घ्याम्पेडाँडा–रानीकोट पक्कि सडक नर्माण भएसँगै पर्यटकको आगमन ह्वात्तै बढेको बताउनु भयो । उहाँले सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुट र रानीकोट, आशापुरी, बोकाचो गढीँ पर्यटकको रोजाईमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको बताउनु भयो ।

घ्याम्पेडाँडामा ३४ करोडको लगानीमा सञ्चालनमा आएको यस रिसोर्टमा आन्तरिक पर्यटकको चाप बढेको बताउदै यहाँबाट देखिने दृश्यावलोकनले पर्यटकलाई तानेको र एक रात बसेर रमाइलो गर्ने जोडीदेखि पारिवारिक जमघट हुने गरेको पर्यटन व्यवसायी प्याथले बताउनु भयो ।

पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीप लाइन सञ्चालनमा आएको छभने ठूला होटलहरु निर्माणको क्रम बढेको छ । निर्माण भइसकेको करिब १४ वटा होटलहरु आन्तरिक पर्यटकलेनै भरिन थालेका छन् ।

त्यस्तै भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँवर्षमा तीन दिन अगाडिदेखि नै होटलहरु खचाखच भएका छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा एक रात बसेर सूर्योदय र हिमाली दृश्य हेरेर फर्कने पर्यटकहरुले यहाँका होटल खचाखच भएको पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकूल लामिछानेले बताउनु भयो ।

हरेक नयाँ वर्ष विदेशी पर्यटकले भरिने र स्वदेशीले पर्यटकले ठाउँ नपाउने अबस्था आउने गरे पनि कोरोना संक्रमण पछि भने आन्तरिक पर्यटकले नै यहाँका सबै होटल भरिदा होटल व्यबसायीहरु उत्साहित भएको उहाँले बताउनुभयो ।

“मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अबधीमा २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भए, ०७८ र ०८९ सालको नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले अलिक राहत मिलेको थियो, ०८० को नयाँ वर्षमा भने आन्तरिक पर्यटकले नै होटलहरु भरिए, यसवर्ष विदेशी पर्यटक पनि आए ।” होटल व्यवसायी लामिछाने भन्नुहुन्छ । स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यबसायमा आशा पलाएको व्यवसायीहरु बताउछन् ।

पर्यटन व्यवसायी एवं नगरकोट बेस क्याम्पसका सञ्चालक अशोक थापाले एकरात बसेर फर्कनेका लागि नगरकोट निकै आकर्षक गन्तव्य बनेको बताउनु हुन्छ । केही वर्ष अगाडिसम्म नगरकोटका होटलहरु विदेशी पर्यटकका लागि मात्रै हुन् भन्ने भ्रम केही वर्ष यता चिरिएको बताउदै उहाँले नगरकोटको पर्यटक व्यवसाय केृही वर्ष यता आन्तरिक पर्यटकले धानेको बताउनु भयो ।

नेपालीहरुमा पनि एक रात गएर पारिवारिक रमाइलो गरौ भन्ने मानसिकता बढेकाले बिदा र शनिवार अधिकांश होटलहरुमा परिवार आएर बस्ने गरेको र नयाँ वर्षमा होटलहरु खचाखच भएको उहाँको भनाइ थियो । नगरकोट जाने सडक निर्माण पुरा भए पर्यटन व्यवसाय अझै फस्टाउने व्यसवायीहरुको भनाइ छ ।

मध्यपुरथिमिवासीले सिद्धिकाली, बिष्णुबीर र चान्हृेसिया जात्रा मनाए

भक्तपुर, १ वैशाख : एउटा समूह धिमे बाजा, झ्याली बजाउदै अगाडि लागेका, सँगै अर्को समूह कपासको बत्ति धपक्कै बल्ने चिराग हातहातमा लिएर पछिपछि लागेका र त्यसपछि टोलटोलमा सिद्धिकाली र बिष्णुवीर देवता बिराजमान खट बोकेर टोलटोल घुमिरहेका ।

साँझ ढल्केर रात पर्दै जादा धिमे बाजाको लयमा लठ्ठ परेको थिमिबासीमा जात्राको रौनकले ढपक्क ढाकेको छ । मानौ अरु कुनै दुनियाँ छैन, संसार यहीँ जात्रा भित्रै छ । बिस्केट जात्राको अवसरमा प्रत्येक वर्ष बैशाख १ गते साँझदेखि रातीसम्म मनाइने प्रसिद्ध जात्रा हो विष्णुवीर र सिद्धिकाली जात्रा ।

विष्णुवीर मन्दिरबाट साँझ देवतासहितको खट बोकेर टोलटोलमा गएर जात्रा मनाउने गरिन्छ । यस जात्रामा सुरूमा स्थानीय प्रथम गणेशलाई पाङ्गु टोलमा तीन पटकसम्म लिन जाने, विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमा परिक्रमा गराएको छ ।

बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितको देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउनु हुन्छ । विष्णुवीरलाई कुनै पनि भूतप्रेतले छुन नसकोस् भनी उक्त बाजा बजाउने गरिएको र जात्रामा मलामी जाँदा झैं टोपी फुकालेर जाने परम्परा रहेको उहाँको भनाइ छ ।

त्यसैगरि प्रसिद्ध सिद्धिकाली मन्दिरमा सिद्धिकालीको खटमा मूल देवतालाई बिराजमान गराई बिधि पूर्वक पूजा सम्पन्न गरेपछि खट बोकेर टोलटोलमा गएर जात्रा मनाइएको छ । यस जात्रामा सिद्धिकालीको खटलाईे हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याई स्वङ्गापुरको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचोबाट सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइन्छ ।

विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायतका अन्य देवगणलाई सिन्दुर चढाई आ–आफ्नो स्थानमा विराजमान गराएपछि आज रातीनै यो जात्रा विसर्जन गरिने परम्परा रहेको सिद्धिकाली मन्दिर व्यबस्थापन समितिका श्रीकृष्ण प्रजापति बताउनु हुन्छ ।

थिमिका देवगणलाई पूजा गर्ने, बालकुमारी मन्दिरभित्र वर्ष दिनसम्म कपाल नकाटेका पाँच कुमारलाई भोजन गराई, बालकुमारीलाई योमरी जात्रा समेत मनाउने परम्परा रहेको छ ।

चान्हेसिया अर्थात रात्रिको जात्रा :

यसैगरी मध्यपरथिमिमा राती मनाइने चान्हेसिया अर्थात रात्रिको जात्रा भने सम्पन्न भएको छ । नयाँ वर्ष एवम् बिस्केटजात्राको अवसरमा परापूर्वकालदेखि मनाइने उक्त जात्रा दुईगते राती करिब २ बजे बालकुमारी माईलाई लायकु दरबारभित्र रहेको तलेजुबाट देवता (द्यो) पिचालाई तान्त्रिक विधिअनुरूप आसनमा पूजा गरी खटमा राखिएको थियो ।

मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनु भयो ।

चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलस्थित दिगु भैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकूमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ ।

जात्रामा थिमिका अधिकांश घरघरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुँदै क्वाछेँस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो ।

त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याइपु¥याएर पाँच पटक परिक्रमा गराएपछि सोही स्थानमा आ–आफ्नो आसनमा खटहरुलाई राखेपछि चान्हेसिया जात्रा सम्पन्न भएको थियो । यस जात्रा मनाउँदा प्रत्येक घरबाट चिराग बालेर हात हातमा लिएर मन्दिर परिक्रमा गर्ने गरिन्छ । यो पर्व लोप हुन नदिन नगरपालिकामा ‘चिलाख (चिराग) गुठी’ नै स्थापना गराएको छ

बिस्केट जात्राको लिङ्गो ढालियो, भैरब र भद्रकालीको रथ जुधाइयो

भक्तपुर, १ वैशाख : भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ ६ बजेर २ मिनेटमा लिङ्गो ढालेर सम्पन्न भएको छ । तान्त्रिक विधिअनुरूप पुजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन चैत ३० गते हिजो करिब पौने चार घण्टाको प्रयास पछि राती ७ बजेर ४० मिनेटमा भेलुखेल स्थित ल्यासिंखेलमा लिङ्गो ठड्याइएको थियो ।

पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी आज एक घण्टाको प्रयास पछि ढालिएको थियो ।  लिङ्गो ठड्याउनु अघि लिङ्गोको कोखा (टुप्पो)मा नाग र नागिनीको प्रतिकस्वरूप दुईवटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतिक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि,सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद्हरू बताउनुहुन्छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाईएको छ । यसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । जात्रामा रथ जुधाउनु अघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ ।

भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्रा

-रमेश गिरी
भक्तपुर, १ बैशाख : भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको संघारमा भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाईसमेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले महत्वपूर्ण पर्वका रुपमा बिस्काः अर्थात बिस्केट जात्रा मनाउने गर्दछन् ।

स्वदेशका परिवार आफन्त मात्रै नभई विदेशमा रहेका आफन्त र परिवार पनि बिस्केट जात्राका लागि घर फर्कने गर्दछन् । भक्तपुर जिल्लाभरीनै हर्षोल्लासका साथ मनाइने यो जात्रा ऐतिहासिक पक्ष मात्रै नभई पूर्णरुपमा तान्त्रिक एवं धार्मिक बिधि अनुरुप मनाउने गरिन्छ ।

के हो बिस्काः जात्रा :

बिस्काः जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमिमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनु हुन्छ ।

भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा यसलाई विश्व जात्रा भनी उल्लेख गरिएको छ । भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख रहेको उहाँको भनाइ छ ।

परापूर्व कालमा यो जात्रा दुई दिन मात्र मनाइन्थ्यो । बिस्का जात्राको मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन विश्वकेतुसहित योसीं द्यः(लिङ्गों) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सक्रान्तिको दिन उक्त योसीं ढाल्नु हो । यक्ष मल्लको टौमढीको ने. सं. ५६१ को शिलापत्रमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर शहरमा वर्षभरि मनाउने विभिन्न जात्रा चाडपर्व संस्कृतिको उल्लेख गर्ने क्रममा यसलाई ‘विश्वजात्रा’ को उल्लेख गरिएको छ ।

त्यस्तै ने.सं.६४१ को भूमिसम्वन्धि तमसुक ताडपत्रमा “विसक जात्रा” उल्लेख छ । ने.सं. ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको नें .संं. ९१८ मा लेखिएको ठ्यासफुमा समेत ठाँउ ठाँउमा विश्वजात्रा नै भनिएको पाईन्छ । यता ने.सं. ८०८ को राजा जितामित्र मल्लको अभिलेखमा “विसक्यात” उल्लेख छ । त्यस्तै भतmपुरका अर्का राजा भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि विसक्यात रहेको छ ।

किँरातीहरुलाई पराजित गर्न सफल भएपछि लिच्छवीहरुले यो जात्रा मनाएको भनाइ छ । लिच्छवी वंशको लामो इतिहासमा प्राचीन भक्तपुर नगरको पतन पछि मध्यकालमा लिच्छवी राजा आनन्द देवले स्थापना गरेको भक्तपुर बिशाल नेपाल मण्डलकै राजधानी थियो । जुन यक्ष मल्लसम्म निरन्तर रहयो । यस अवधिको करिव ३६७ बर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी रहेको थियो ।

त्यतिबेला भक्तपुर नगरको वरपर प्रशस्त जंगलहरु रहेको हुँदा सवैतिरबाट जात्रा हेर्न सकियोस् भनेर ठूलो र अग्लो काठको लिगों उठाउने गरियो । जसमा पछि एक जोडा ध्वजा थपियो । यसरी दुई दिन मात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीको समेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर सुरु भएको भनाइ छ ।

भक्तपुरका राजा राय मल्लको समयमा भक्तपुर अधिनस्थ कयौं राज्य स्वतन्त्र हुदै भक्तपुरको भू–भाग सानो हुदै गएकोलाई उनका छोरा भुवन मल्लले आफ्नो अधिकार भएको टोखा, सुनाकोठी, थिमि, नगदेश, बोडे, साँगा, श्रीखण्डपुर चौकोट जस्ता ठाउँहरुमा समेत विस्काः मनाउने चलन चलाएको बताइन्छ ।

भक्तपुरको विस्काः जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउनेदेखि अन्य देवदेवीहरुको समेत जात्रा पुजापर्व गर्ने परम्परा बसाउनमा भक्तपुरका विश्व मल्ल, गंगारानी, जर्गज्योति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भुपतिन्द्र मल्लको योगदान रहेको बताइन्छ ।

अहिलेसम्म तलेजुमा बिस्काः जात्राको संकल्प पूजामा विश्व जात्रा महापर्व भनेर सम्बोधन गरिने बताउदै उहाँले संस्कृत शब्द विश्व केतु पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको बताउनु हुन्छ । त्यसैको बिस्काबाट अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि यो जात्रालाई बिस्काः जात्रा भन्ने गरिन्छ । विक्रमसम्वत् अनुसार सौरमासको आधारमा चल्ने विस्केट जात्रा बिःसीत (नागनागिन म¥यो) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाउँदै आएको हो भन्ने पनि भनाइ छ ।

जात्रा कहिलेबाट सुरु हुन्छ :

विश्वमा नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्रामध्ये एक मानिने विस्केट जात्राको पहिलो दिन चैत २७ गते बिहान स्थानीय बासिन्दा, मध्यान्हमा गुठी संस्थाबट सरकारी पूजा र त्यसपछि टोलको पूजा सकेपछि गरेपछि स्थानीय काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको ३ तल्ले भैरवनाथको रथमा खड्ग, तरवार, निशान राखिसकेपछि भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु हुने गर्दछ ।

पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैरबको रथलाई ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा तानेर लैजाने परम्परा रहेको छ । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।

रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू छढ्न नहुने मान्यता रहेपछि पछिल्लो केही वर्षयता रथमा जो पनि चढेर बिकृति फैलाउने गरेको पाईएको छ ।

यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । भैरवनाथको रथ तान्न शुरु भएपछि तौमढीबाट माथि र तलका बासिन्दाले तानेर भैरवनाथको रथ गःहिटीमा पु¥याए पछि पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ । जात्राको मुख्य आकर्षण पहिलो दिन २७ गते र अन्तिम दिन ५ गते रथ तानातान गर्नु हो भने ३० गते ल्यासिंखेलमा ५५ हात लामो लिङगो उठाउने र बैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालेर मनाउने मुख्य जात्रा हो ।

यस्तो छ जात्राको किंम्बदन्ती :

जात्राकोबारेमा फरक फरक किंमबदन्ती रहेको छ । पहिलो किम्वदन्ती अनुसार प्राचिन भक्तपुर राज्यको दरबारकी राजकुमारीसँग बिवाह गर्न बलवान राजकुमारको खोजी गर्ने क्रममा बिभिन्न राज्यबाट राजकुमारहरु आउने र पहिलो दिन राजकुमारीसँग रात बिताउने क्रममा राजकुमारीको नाकको प्वालबाट दुईवटा नागनागिन निस्केर राजकुमारलाई डसेर मार्ने गर्दथे । धेरै राजकुमारको त्यसरी मृत्यु भएपछि एक तान्त्रिकले एक रात आफ्नो तन्त्र विद्याबाट राजकुमारीको निाकबाट निस्केको नागनागिनलाई तरबारले काटेर झुण्ड्याएको खुसीयालीमा राजाले यो जात्रा मनाउन लगाएको किम्वदन्ती चर्चामा छ ।

तर यसबारेमा ईतिहासविद् प्रा.डा. श्रेष्ठ बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतिक लिंगोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबरजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र फैलाएर जात्राको धार्मिक तथा ऐतिहासिक पक्षलाई भ्रम फौलाउन खोजिएको छ ।”

यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालिन राजा जगत प्रकाश मल्लदेखि शाह वंशिय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालिन प्रधानमन्त्री गिरिजाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्व केतु, विर ध्वजा लेखिएको छ ।

यसर्थमा पनि विश्व नाथको ध्वजा विश्वध्वजा हो । वीर ध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा वीर भनेर भैरवको वाहान वीर बेताललाई भनिएको हो । त्यस मानेमा पनि यो ध्वाजा विश्व ध्वाजा र वीर ध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो । यो जात्रा किरातहरुसंगको युद्धमा विजयी भएपछि लिच्छवी राजाहरुले खुसीयालीमा दुई दिन मनाएको र मछि मल्ल राजाले यसलाई भैरब र भद्रकालीको जात्रा थप गरि आठ रात नौ दिन पुर्याएको बताइन्छ ।

नौ दिनसम्म जात्रामा के के हुन्छ :

प्राचीनकालदेखि चल्दै आएको विस्का जात्रामा नकिंजु (खुसिं) अजिमा भद्रकालीको द्यःखः (रथ) जात्रा समेत थप गरे पछि पनि पुनः पछि फेरि काशी विश्वनाथ भैरबको जात्रा समेत समाबेश गरि विस्का जात्रा संचालन गर्दै भक्तपुरवासिले मोहनी नखः( पर्व) पछिको प्रमूख चाडपर्वका रुपमा मनाउँदै आएको पाइन्छ ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तान्नेर (क्वने) तल्लो क्षेत्र टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल, तेखापुखु र ठने (माथिल्लो क्षेत्र) क्वाछे, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रय स्थानसम्म रथ तानेर पुनः सोही स्थानमा फर्काइन्छ र भैरव र भद्रकालीको रथजात्रा गरी अन्तमा गःहिटीमा रथ पु¥याई पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ ।

रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा लामो लठारो (डोरी) समातेर दुबै तर्फका जात्रालुहरूले रथलाई ‘होस्से..हैसे…हा..हा..’ गर्दै आफ्नो तर्फ तानेर जात्रा मनाइन्छ । रथ तान्ने जात्रामा हजारौं स्थानीय बासिन्दाहरूले रथको अगाडि पछाडि डोरी तानातान गरेर आ–आफ्नो टोलमा लैजान खोज्छन् । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आर्कषक हो, विस्केट जात्राको पहिलो दिनलाई द्यो क्वहाँ विजाइगु (देवता तल्ल आगमन हुने) भनिन्छ । त्यसदिन बेलुकी सम्पूर्ण देवगणहरु आ– आफ्ना देवगृहको आसनबाट तल विराजमान हुन्छन् वा गराईन्छन् । यसलाई स्थानिय न्हाषामा द्यःक्वहाँ बिज्याकेगु भन्ने गरिन्छन् ।

दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खलाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पु¥याइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपुजाको मासु प्रसादकारुपमा लाकुलाछेबासीलाई बाँडिन्छ जसलाई स्थानीय भाषामा स्याःको त्याःको भनिन्छ ।

विस्केटको चौथो दिन पुरानो वर्षको अन्तिम दिन चैतको ३० गते बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो (ल्हामरु म्ह) उभ्याइन्छ भन्ने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो उभ्याइन्छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतिक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नौलो कपडाले बेरिएको हुन्छ । लिङ्गो कोखामा झुण्ड्याइएका दुई ध्वजाहरूलाई वीरध्वजा, विश्वध्वजा आकाशभैरवका ध्वजासमेत भनिन्छ । एकजोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

लिङ्गो उभ्याउन बाँडिएका आठवटा डोरीलाई अष्टमात्रिकाको प्रतिक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण यहाँ उपस्थित हुन्छ । र लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । विस्केट जात्रा हेर्नाले शत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले त्यसैले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पु¥याइन्छ । र लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ ।

विस्केटको पाँचाँै दिन नयाँ वर्ष बैशाख १ गतेका दिन लिङ्गो ढालिन्छ । त्यसको लगतै खँला टोलमा (रथ जुधाउने टोलमा) भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाइने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । र साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै विस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि–विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको इतिहास तथा संस्कृतिविद्हरू बताउँछन् ।

जात्राको छैठो दिन नगरको मध्य भागमा महाकाली र महालक्ष्मीको खट् जुधाउने जात्रा, सातौं दिन ब्रम्हायणी र महेश्वरीको तिप्वाजात्राका साथ खट जुधाउने जात्रा हुन्छ । जात्राको आठौं दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पूजा जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा द्यो स्वंगँ विइगु भनिन्छ ।

विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गतेका दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ । यस दिनलाई स्थानीय भाषामा द्यो (देवता) थाहा विज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यस दिन विस्केट जात्रा पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन हुने गर्दछ । जात्रा अबधीमा भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवीहरु, गणेश, भैरव, कुमारी आदि देवदेवीहरुको जात्राले नगर शोभायमान हुन्छ ।

के हो ढुङ्गा हान्ने प्रचलन :

यो जात्रा विगत पाँच दशकदेखि ढुङ्गा हान्ने जात्राको रुपमा समेत परिचित हुदै आएको छ । यसवर्ष पनि जात्राको पहिलो दिन भैरबको रथलाई दत्तात्रय पुर्याए पछि राती १ बजेबाट बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुदाँ २३ जना घाइते भएका थिए भने १० जना पक्राउ परेका थिए ।
भक्तपुरका समाजसेवी तथा धेरै वर्ष जात्राको पुजा ब्यबस्थापन समितिका संयोजक रहनु भएका अनन्तप्रसाद धौभडेलले २०२३ साल अगाडिसम्म टौमढीको रथलाई दुबैतर्फका बासिन्दाले तानेर गःहिटी पुर्याएर राख्दा तलका बासिन्दाले रथ गःहिटी लैजादा रथले अरुको घर नछोओस, नबिग्रियोस भनेर ब्यालेन्स मिलाउन माथिका बासिन्दाले तान्ने गर्दथे ।

२०२३ सालमा रथ तान्ने क्रममा अचानक कसैले सोडा भरिएको सिसिको बोतलले हानेपछि एक्कासी जात्रा भड्किएर दुबैतर्फका बासिन्दा बिच ढुङ्गा हानाहान भयो, त्यही साल सुरुभएको बिकृति अहिले परम्परा बन्दै जान थालेकोमा धौभडेल चिन्ता ब्यक्त गर्नुहुन्छ । रथलाई माथि लगे क्वाछेसम्म र तल लगे बोलाछेंसम्म मात्रै लैजानुपर्नेमा जथाभावी गर्न थालेर जात्रामा बिकृति भित्रिन थालेका उहाँ बताउनु हुन्छ ।