बिस्केट जात्रा : मध्यराती ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० पक्राउ, आज विहान पुर्याइयो रथलाई गःहिटी

भक्तपुर, २८ चैत : आज बिहान दत्तात्रय नजिक बिस्केटको भैरबको रथ उभिरहेको । दत्तात्रयदेखि इनाचोसम्म सडक भरि फुटेका छरपष्ट इँटा र ढुङ्गा । बिहान यही बाटो भएर ओहोर दोहोर गर्नेहरुले सहजै अनुमान लगाउन सके, बिस्केट जात्रामा मध्यराती यसवर्ष पनि ढुङ्गा हानाहान भयो । कतिपयले बिहानै सामाजिक सञ्जालभरी यसको फोटो र भिडियो पोष्ट गर्दै ढुङ्गा हानेर जात्राको पहिचान मेट्न खोज्नेलाई कारबाही गर्न माग गरे ।

भक्तपुरमा हिजोबाट सुरु भएको बिस्काः जात्रामा भैरबको रथ तान्ने क्रममा मध्यराती दत्तात्रयमा पुगेपछि राती करिब १ बजे पछि ढुङ्गा हानाहान भएको थियो । बिहान ४ बजेसम्म ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएका छन् ।

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले ढुङ्गा हानाहान हुँदा २३ जना घाइते भएको जानकारी दिनुभयो । उहाँले घाइते मध्ये सबैको उपचार सकेर हिजै घर फर्काएको बताउदै घाइते कसैको पनि अबस्था गम्भिर नरहेको बताउनु भयो ।

ढुङ्गा हानाहान गर्ने १० जनालाई प्रहरीले रातीनै पक्राउ गरेको छ । उहाँले भन्नुभयो, “जात्रामा ढुङ्गा हानाहान गर्नेहरुलाई प्रहरीले रातीनै ढुङ्गा हान्दै गर्दा १० जनालाई पक्राउ गरेको छ, सिसि क्यामरा र अरु माध्यमबाट ढुङ्गा हान्नेहरुको थप पहिचान गर्दै पक्राउ गर्नेछौँ, पक्राउ परेकालाई प्रचलित कानून बमोजिक कारबाही गर्छौ ।”

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रा स्थानीयको ऐतिहासिक र मौलिक जात्रा भएकाले जात्रामा सुरक्षाकर्मीले हस्तक्षेप नगरेको तर ढुङ्गा हान्ने क्रम नरोकिए पछि प्रहरीले पक्राउ गरेको बताउनु भयो । उहाँले मानवीय क्षति नभएको जानकारी दिदै जात्रा अबधी भर शान्ति सुव्यबस्था कायम गराउन थप सुरक्षा रणनीति अपनाउने बताउनु भयो ।

आठ रात नौ दिनसम्म भव्य रुपमा भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्ने ढुङ्गा हानाहान भएको हो ।

तौमढी राखिएको प्यागोडा शैलीमा निर्माण भएको तीनतले रथमा बिहानदेखि दिउँसोको सबै पूजा सम्पन्न गरेर रथ भित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ सोमबार दिउँसो ४ बजेबाट रथ तान्न सुरु भएको थियो ।

रथ तान्ने क्रममा सुरुमै माथिल्लो टोलकाले रथ लैजाने क्रममा रथलाई बुलुबुलु हिटी (सुकुलढोका), इनाचो हुदै मधयराती १ ः३० बजे दत्तात्रय नजिक रथलाई पुर्याइएको थियो ।

रथलाई रातीनै गःहिटी ल्याउनु पर्नेमा ढुङ्गा हानाहान भएपछि बिथोलिएको जात्राका कारण रथलाई दत्तात्रयमै राख्नु परेको थियो । रथलाई आज बिहान स्थानीयको सहायतामा रथलाई तानेर बिहान नौ बजे गःहिटी ल्याएर राखिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राती ढुङ्गा हानाहान भएपछि रथलाई गःहिटी ल्याउन सकिएन, त्यसैले आज स्थानीयलाई आग्रह गरेर उनीहरुले नै रथ तानेर गःहिटी पुर्याइएको छ ।”

भक्तपुरमा बिस्काः जात्रा भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । रथको अगाडि र पछाडि राखिने डोरीलाई अष्ट मात्रिका गणका रुपमा लिने गरिन्छ । विक्रम संवत् अनुसार सौर्यमासको आधारमा चल्ने यो जात्रा बिःसीत अर्थात सर्प मर्यो भन्ने आधारमा लिच्छविकालदेखि मनाउँदै आएको मानिन्छ ।

थिमिमा प्राप्त नेपाल संवत् ५०० को तमसुक पत्रमा यो जात्रा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउँनुहुन्छ ।

भक्तपुरको तौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा बिस्केट जात्रालाई विश्वजात्रा उल्लेख गरिएको छ भने भक्तपुरको दरबारस्क्वायर नेपाल संवत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतेन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विश्क्यात शब्द उल्लेख गरिएको उहाँ बताउनुहुन्छ ।

अहिले पनि तलेजुमा बिस्काः जात्राको संकल्पस्वरूप पूजा अर्चनामा विश्व जात्राको उल्लेख गरिन्छ । संस्कृत शब्द विश्वकेतु नै पछि नेवारी नामकरण हुँदै बिसिका, बिस्क, बिक्का, बिस्का हुँदाहुँदै हाल बिस्केट जात्रा हुन पुगेको श्रेष्ठको भनाइ छ ।

बिस्केट जात्रामा भैरबको धेरै चर्चा गरिए पनि यो जात्रा विश्वनाथ भैरवको मात्र नभएर उहाँको शक्ति भद्रकालीको पनि भएको बताउनु हुन्छ । विश्व भैरवनाथको प्रतीकका रूपमा लिंगोमा फहराइने एक जोडी ध्वजामा साक्षात् भैरव र भद्रकाली भएको उहाँको भनाइ छ ।

 

‘केपी ओलीसँग मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका ५२ देशबाट छानिएर नेपालीभाषी नवप्रतिभा अन्तरक्रिया

भक्तपुर, २८ चैत :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताउनुभएको छ ।

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर फाइनलका लागि आएका नेपालीभाषी प्रतिभासँग आज आफ्नो निवास बालकोटामा अन्तरक्रियाका क्रममा उहाँले भन्नुभयो, “गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपाली भूमिमा भएको हो, गीत, सङ्गीत कला, सम्पदा आदिमा हाम्रो इतिहास सत्ययुगदेखिकै हो ।”

उहाँले भन्नुभयो, “हामीले सुनेका, देखेका छौँ ताण्डव नृत्य, शिव नृत्य आदि । ती नृत्यको इतिहास कति पुरानो छ ? यो सत्ययुगकै कुरा होइन ? त्यसैले हामी गीत, सङ्गीत, कला, संस्कृति एवं सम्पदामा संसारका अरु कुनै देशभन्दा अगाडि छौँ, हाम्रो इतिहास सबैभन्दा पुरानो छ ।”

एमाले अध्यक्ष ओलीले गीत सङ्गीत मात्र नभएर ज्ञान र शिक्षाको उद्गमस्थल पनि नेपाल नै भएको धारणा राख्नुभयो । उहाँले ज्ञान, शिक्षा, सम्पदा तथा वैदिक परम्परामा हामी विश्वमै अरु देशभन्दा अघि रहेका उदाहरण पनि प्रस्तुत गर्नुभयो ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा विश्वभरका नेपालीलाई लक्षित गरेर आयोजना गरिएको यो गायन र नृत्यसम्बन्धी प्रतियोगिता अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।

ओली निवासमा पुगेका नेपाली युवा प्रतिभाले उहाँसमक्ष विभिन्न विषय जिज्ञासा राखेका थिए । उनीहरुले आफूहरु पितृ तथा मातृभूमिमा आउँदा अत्यन्तै खुसी भएको अनुभव पनि सुनाएका थिए । पहिलोपटक नेपाल आएका कतिपयले सो प्रतियोगिताका कारण आफूहरु नेपाल आउन पाएकामा आयोजकलाई धन्यवाद पनि दिएका थिए ।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न सो प्रतियोगिताको आयोजना गरेको जनाइएको छ ।
त्यस अवसरमा सो फाउण्डेसनका बोर्ड सदस्य ओमराज गुरुङले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।

एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी हो : एमाले अध्यक्ष ओली

राँझा, २७ चैत  : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा सङ्घ नेपालमा कुनै पनि प्रकारको गुटबन्दी हुन नहुने बताउनुभएको छ । बाँकेको नेपालगञ्जमा आजदेखि सुरु भएको सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले एमाले गुटबन्दीलगायत सबै खाले जालझेल सहेर उठेको पार्टी भएकाले अब युवा सङ्घमा कुनै पनि बाहनामा पक्ष विपक्षको कुरा नहुने उल्लेख गर्नुभयो । “युवा सङ्घ जस्तो गतिशील, सिर्जनशील संस्था जात, क्षेत्र र भूगोलको आधारमा पक्ष विपक्ष र गुटबन्दी गरेको सुहाउँदैन”, उहाँले भन्नुभयो, “सामाजिक सद्भाव, राष्ट्रिय एकतालाई आत्मसाथ गर्दै नयाँ जोश, उत्साह अठोट र खुल्ला मनका साथ अघि बढ्न जरुरी छ ।”

नेताले आशिर्वाद दिएर नेतृत्वमा पुग्ने कामले सङ्गठन जुझारु नहुनेतर्फ इङ्गित गर्दै अध्यक्ष ओलीले आफू केन्द्रित नभई सङ्गठन, युवा आन्दोलन र देशलाई केन्द्रमा राखेर अघि बढ्न युवालाई आग्रह गर्नुभयो । सम्पूर्ण क्षेत्रमा पार्टीलाई सशक्तरूपमा प्रमुख हैसियत बनाउनुमा युवा सङ्घको ठूलो भूमिका रहेको बताउँदै उहाँले राजनीतिलाई जनताको पक्षमा परिणाम निस्किने सन्दर्भमा युवा सङ्घले योगदान पुर्याएको उल्लेख गर्नुभयो ।

विसं २०४७ मा संविधान जारी हुने वा नहुने आशंका रहेको बेला संविधान जारी गराउन र जनताको पक्षमा गराउन युवा सङ्घले भूमिका खेलेको स्मरण गर्दै अध्यक्ष ओलीले अहिले पनि युवा सङ्घले राज्य सत्ताको दुरुपयोग हुन नदिन, आमनिर्वाचन स्वच्छ बनाउन र जनताको पक्षमा गराउन भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।

विगतको गौरवमय इतिहासलाई अझ प्रभावकारी र सशक्तरूपमा अगाडि बढाउने जोश जाँगर, क्षमता सिर्जनशीलता र पार्टीले सारेको नीति कार्यान्वयन गर्ने नेतृत्व महाधिवेशनले चयन गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “युवालाई सङ्गठित गर्ने, सही बाटो देखाउने र असल मान्छे बनाउने काम युवा सङ्घको हो । कार्यशैली र व्यवहार हेर्दा बित्तिकै युवा सङ्घको कार्यकर्ता भन्ने चिनिन सक्ने हुनुपर्छ, परिचय देखाएर युवा सङ्घको चिनारी दिन आवश्यक छैन ।”

राष्ट्रिय युवा सङ्घ एमालेको बलियो खम्बा हो भन्दै उहाँले यसले पार्टीलाई अफ्ठ्यारो परेको बेला नेपाली जनतालाई अफ्ठ्यारो परेको बेला जोश र जाँगरका साथ आफ्नो जिम्मेवारी पूरा गर्दै आएको छ बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “महाधिवेशनमा पदका लागि होइन काम र जिम्मेवारी निर्वाह गर्ने सोचका साथ दुई वर्षसम्म रात दिन सक्रियताका साथ खट्न सक्ने क्षमता हुन जरुरी छ ।”

आज दाम चढाएर श्रेष्ठ भन्नुहुन्छ, ‘जिब्रो छेडी महाद्धिप बोकेर बोडे शहर घुम्न दुई गतेको प्रतिक्षामा छु’

भक्तपुर, २७ चैत : मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको बैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष पहिलो पटक बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने भएका छन् ।
आज श्रेष्ठले नाय पमाको घरमा पुगेर चार दाम चढाएर सगुन दिएर जिब्रो छेड्ने पक्का गर्नुका साथै आजबाट ब्रत प्रारम्भ गरेको छ ।

श्रेष्ठले जात्राका नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, कर्मी नाय कृष्णचन्द्र वाग श्रेष्ठ, बुद्धिबहादुर खड्गी, श्याम कृष्ण खड्गीलाई चार दाम चढाएर सुगन दिई जात्रामा जिब्रो छेड्ने पक्का गर्नु भएको हो ।

नवौँ पटक बोडेका ५० वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठको कान्छो छोरा सुजनले यस वर्ष जिब्रो छेडाउने भए पछि चार दशक यो परिवारले जिब्रो छेडाउदा पुस्तान्तरण भएको छ । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाए पछि उहाँका भाई बुद्धकृष्ण बाग श्रेष्ठ नौ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएकोमा यस वर्ष बुद्धकृष्णका कान्छो छोराले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई पुस्तान्तरणका रुपमा अगाडि बढाउने भएका छन् ।

बुद्धकृष्णले भन्नुभयो, “मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस गतवर्षसम्म नवौँ पटक जिब्रो छेडाए, मेरो दाजूले १२ पटक जिब्रो छेडाउनु भयो । यसवर्ष मेरो कान्छो छोराले जिब्रो छेडाउन आज चारदाम चढाएर पक्का गरेको छ, विश्व प्रसिद्ध यो जात्रा, यहाँको कला, संस्कृतिलाई अब मेरो छोरा जस्ता अरु यहाँका युवा पुस्ताले जोगाउनु पर्छ । जात्रा लोप हुन दिनु हुदैन ।”

आज चार दाम चढाए पछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जूठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नून खान नहुने बोडे देश छाडेर बाहिर जान नहुने उहाँले बताउनु भयो । जिब्रो छेड्ने व्यक्तिले तीनदिन अघिदेखि भने केही नखाई व्रत बस्नुपर्छ । जिब्रो छेड्न तयार भएका युवा सुजनले आफू सानैदेखि बुबाले जिब्रो छेडेर जाा चलाएको हेर्दै आएको बताउदै जात्रालार्य जोगाउन आफूले यसवर्ष जिब्रो छेडन तयार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, “बुबाले जिब्रो छेडाउदा म संगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्यो र आँट आयो, म दुई वर्षदेखिनै जिब्रो छेड्न तयार थिए, यसवर्ष जुर्यो, मनमा डर छैन, दुई गते कहिले आउँला र जिब्रो छेडाएर महाद्धिप बोकेर बोडे देश घुमौला भनेर प्रतिक्षामा छु ।” उहाँले युवाहलेनै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरु तयार हुनु पर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको बताउनुभयो ।

छोरोको रहरकोबारेमा भन्नुभयो बुद्धकृष्णले भन्नुभयो, “मैले जिब्रो छेडाउदा सानैदेखि छोरा संँगै हुन्थ्यो, यो जात्रा जोगाउनु पर्छ, यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन मेरो छोरालाई पनि लाग्यो, त्यसैले यसवर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदै छ, बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवाहरु तयार हुनुपर्छ ।”

जात्राका दिन व्रत बस्नेले जिब्रो छेड्नु अघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौं भक्तजनहरुको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउँमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।

हालसम्म १२ जनाबाट निरन्तर १०८ वर्ष जिब्रो छेड्का छन् । अहिलेसम्म वि.स. १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठले २२ पटक, वि.स. १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किलाश्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३, २०७५, २०७६, २०७८ गरि नौ पटक, जुजुभाई बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदै आएका थिए ।

तौमढीबाट तानिएको भैरबको रथ इनाचो पुग्यो, जात्रामा हजारौको भीड, ८०० सुरक्षाकर्मी तैनाथ

भक्तपुर, २७ चैत : नयाँवर्षको आगमनसंगै भक्तपुरमा नौ दिन, आठ रातसम्म तान्त्रिक विधि अनुसार मनाईने प्रसिद्ध विस्काः अर्थात बिस्केट जात्राको पहिलो दिन आज भैरबको रथ तानिएको छ । प्योगोडा शैलीमा काठैकाठले निर्माण भएको तीन तले भैरबको रथ स्थानीयले आज अपरान्ह ४ बजेदखि तौमढी (पाँचतले मन्दिर प्राङ्गन) बाट तल र माथिका बासिन्दाले होस्य, हैस्यै, हाः हाः हाः गर्दै रथ तानेर जात्रा सुरु गरिएको हो ।

आज राती ८ बजेसम्ममा तौमढीबाट माथिल्लो तर्फ सुकुलढोका, गोल्मढी हुदै इनाचो पुर्याइएको छ । हजारौका सहभागिता रहेको जात्रामा भैरबको रथलाई दत्तात्रयसम्म लैजाने प्रयास जारी छ । तौमढी भन्दा तलका बासिन्दाले पनि रथलाई तौमढी तर्फ ल्याउन तानिरहेका छन् ।

रथको अगाडि लामो वेतसीं (बेताल राख्ने अर्धचन्द्राकार लामो काठ) राखिएको छ । त्यसमा बेताल देवतालाई राखिएको छ । रथका ठूला चारवटै पाङ्ग्रामो भैरवको मुखाकृतिको चित्र कोरेर थप आकर्षण बनाइन्छ । रथका अगाडि ६ र पछाडि चार÷चार वटा डोरी बाँधिन्छ जसलाई नवदुर्गाको प्रतिकका रुपमा लिने गरिन्छ । रथका अगाडि पछाडि बाधिएको डोरीलाई स्थानीय जात्रालुले समातेर जात्राले रथ तान्न सुरु गरेका हुन् ।

आजको रथ तानातान गर्ने कार्यलाई जात्राको प्रमुख आकर्षण मानिन्छ । यसरी तानेर रथलाई क्वने (तल्लो) वा थने (माथिल्लो) टोलका स्थानीयले आ–आफ्नो टोलमा लैजाने प्रयास गर्दछ । पहिलो दिन रथलाई तानातान गर्ने क्रममा माथिल्लोतर्फ तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै तलतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने परम्परा छ ।

आज बिहान ५ बजेदेखि सर्वसाधारणको लागि भैरबको रथमा पुजा खुल्ला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । दिउँसो १२ बजे गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेपछि समुदायको पूजा सकेर ४ बजेबाट भैरबको रथ तान्न सुरु गरिएको उहाँले बताउनु भयो ।

तान्त्रिक बिधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरबको रथमा भैरबनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतिक स्वरुप ल्याईएको खड्ग, तरबार र निशान राखेपछि बिधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो । भैरवनाथको रथलाई आज सँझसम्म गःहिटीमा पु¥याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिए पनि रथ तौमढीबाट माथिल्लो टोलमा तानेर इनाचो पुर्याएको छ ।

आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पुजासहित सबै प्रक्रिया पुरा गरी अपरान्ह ५ बजे लिङ्गो उठाईने जात्रा हुनेछ । बैशाख १ गते अपरान्ह ५ बजेभित्र लिङ्गो ढाल्ने र बैशाख ५ गते पनि अपरान्ह ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने गरि तयारी गरिएको उहाँले बताउनु भयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रामा हुलदंगा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यबसथा कडा गरिएको बताउनु भयो । जात्रामा सादा पोशाकमा सुरक्षाकर्मीले पनि मोवाइलबाट फोटो र भिडियो खिचेर अनुगमन रिरहेको र नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाको सुरक्षाकर्मी खटिएको बताउनु भयो ।

जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदंगा गर्न खोज्नेलाई पक्राउ गरि कडा कारबाही गरिने उहाँले बताउनु भयो । भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जात्राका लागि काठमाडौंबाट समेत थप प्रहरीको मद्धत आउने बताउनु भयो । उहाँले ६४९ जना सुरक्षाकर्मी र ५० जना सादा पोशाककमा सुरक्षाकर्मी जात्राका लागि खटाएको बताउनु भयो ।

मिटरब्याज पीडितका समस्या, दुई हजारभन्दा बढी उजुरी

काठमाडौँ, १४ चैत  : आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन ग¥यो । धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलगायतको सरकारी टोली टङ्गाल पुगेको थियो । तर उनीहरूले प्रधानमन्त्रीलाई भेटेरै आफ्ना कुरा राख्ने भनेपछि दुई पक्षबीच सहजीकरणका लागि वार्ता टोली बनाइएको हो ।

आजै सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने प्रावधानसहित मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय गरेको छ । पछिल्ला घटनाक्रम यिनै हुन् । तर साहु महाजन, सुदखोर, मिटरब्याजीबाट पीडित भएकाहरूले सरकारलाई गुहारेको यो पहिलो पटक होइन । तराईका जिल्लामा मिटरब्याजी विरुद्धका आन्दोलन बेला–बेला भइरहन्छन् । काठमाडौँ केन्द्रित आन्दोलन नै यसभन्दा अघि दुईपटक भइसकेका छन् । गत दसैँअघि मिटरब्याज पीडितले डेढ महिनाभन्दा लामो समयसम्म माइतीघरमा धर्ना दिए ।

सरकार र ‘मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुुर सङ्घर्ष समिति’ बीच पाँच बुँदे सहमति भएपछि त्यो आन्दोलन रोकियो । त्यसअघि गत जेठ २८ गतेदेखि उनीहरूले माइतीघरमा दुई हप्तासम्म धर्ना गरेका थिए । त्यो बेला पनि सरकारले उनीहरूका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको थियो । अति उच्च ब्याजदरमा ऋण दिने, किर्ते कागज बनाउने र छलपूर्वक जायजेथा हडप्ने सुदखोर प्रवृत्तिबाट पीडित भएकाले धर्ना दिन थालेपछि सरकारले पनि यो समस्याबारे केही निर्णय लिएको देखिन्छ । गत साउन २७ गतेको गृहमन्त्रिस्तरीय निर्णयबाट मिटरब्याज अपराध नियन्त्रणका उपाय सिफारिस गर्न कार्यदल गठन भएको थियो ।

गृह मन्त्रालयका तत्कालीन सहसचिव डा भीष्मकुमार भुसालको संयोजकत्वमा गठित ‘मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ को प्रतिवेदनअनुसार गत भदौ २१ गतेसम्म देशभरबाट दुई हजार दुई सय ८९ उजुरी विभिन्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको उल्लेख गरेको छ । यद्यपि, कार्यदलले एक हजार नौ सय ३७ उजुरीको विश्लेषण गरेको थियो । त्यो बेलासम्म प्राप्त उजुरीमध्ये मधेस प्रदेशका मात्रै एक हजार तीन सय ३० उजुरी थिए ।

कोशी प्रदेशमा ९२, बागमती प्रदेशमा दुई सय दुई, गण्डकी प्रदेशमा ३५, लुम्बिनी प्रदेशमा दुई सय ११, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा ४५ उजुरी परेका थिए । कार्यदलको प्रतिवेदनअनुसार देशभरबाट परेका उजुरीमध्ये सर्लाही जिल्लामा मात्रै २२ प्रतिशत अर्थात चार सय २७ उजुरी परेको देखिन्छ । मधेस प्रदेशका सबै जिल्लामा मिटरब्याजी विरुद्ध उजुरी दर्ता भएका छन् । सिरहामा दुई सय ८९, महोत्तरीमा एक सय ९१, धनुषामा एक सय ४०, सप्तरीमा एक सय १४, पर्सामा ८३, बारामा ४५ र रौतहटमा ४१ उजुरी दर्ता भएको देखिन्छ ।

भौगोलिक हिसाबले कूल उजुरीको ८६ प्रतिशत अर्थात् एक हजार छ सय ७६ उजुरी तराई र भित्री मधेस क्षेत्रबाट परेको छ । पहाडी जिल्लामा दुई सय ५९ र हिमाली जिल्लामा दुई वटा मात्रै उजुरी परेको देखिन्छ । एकै व्यक्तिले २३ जनासम्मलाई कारबाहीको माग गर्दै उजुरी हालेको छ भने एउटै व्यक्ति विरुद्ध चार वटासम्म उजुरी परेको प्रतिवेदनमा उल्लेख छ । उक्त कार्यदलले समस्या समाधानका लागि सरकारलाई सुझाव पनि दिएको थियो ।

आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन कार्यदलले तयार पारेको देखिन्छ । विभिन्न निकायमा परेका उजुरीमाथि तत्काल छानबिन र कारबाहीलाई निरन्तरता दिनुपर्ने, यो विषयमा सङ्घीय एकाइको भूमिका र राजनीतिक प्रतिबद्धता कायम हुनुपर्ने, नागरिकमा कानूनी सचेतना र वित्तीय साक्षारताका लागि पहल गरिनुपर्नेलगायतका सुझाव कार्यदलले दिएको थियो । सरकार के गर्दैछ ? मिटरब्याज पीडितसँग यसअघि भएका सम्झौता क्रमशः कार्यान्वयन भइरहेको र मिटरब्याज अपराधसँग सम्बन्धित कानून निर्माणको क्रममा रहेको गृहसचिव विनोदप्रकाश सिंह बताउनुहुन्छ ।

“पीडितसँग सरकारले पहिले गरेका सम्झौता कार्यान्वयन भइरहेका छन् । यस्तो अपराधबारे कसिलो कानून बनाउन मस्यौदा तयार पारेर कानून मन्त्रालय पठाइएको छ”, गृहसचिव सिंहले भन्नुभयो । आन्दोलनरत मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले आज वार्ता टोली गठन गरेको छ । पीडितका मागबारे बुझ्न चार सदस्यीय टोली गठन गरिएको हो । वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डङ्गा रहनुभएको छ ।

मिटरब्याज पीडितलाई प्रधानमन्त्रीले भेट्नुअघि छलफल गर्नका लागि वार्ता टोली बनाइएको गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङले बताउनुभयो । “उहाँहरू प्रधानमन्त्रीलाई भेट्ने भनेर आज बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीलाई भेट्नुभन्दा अघि मागबारे बुझ्ने, समस्या समाधानका लागि हामीले गरिरहेको पहलबारे पनि उहाँहरूलाई जानकारी गराउने र प्रधानमन्त्रीसँगको भेटपछि समस्याको तार्किक निष्कर्षमा पु¥याउने गरी हामीले काम गर्न खोजेका छौँ”, उहाँले भन्नुभयो ।

आज गठन गरिएको चार सदस्यीय टोलीले भेटेपछि मिटर ब्याज पीडितसँग छलफल गरेपछि प्रधानमन्त्रीले भेट्ने समय तय गरिने जनाइएको छ । के हुन् माग ? मिटरब्याज अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने, मिटरब्याज अपराध विरुद्ध कानून निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरिनुपर्नेलगायतका माग उनीहरूका छन् ।

मिटरब्याजीहरूले फर्जी तमसुक तयार पार्ने गरेको, ऋण भुक्तानीपछि पनि तमसुक नष्ट नगरेको र त्यसैका आधारमा मुद्दा दायर गर्ने गरेको उनीहरूको भनाइ छ । जसकारण तमसुक व्यवस्था खारेज हुनुपर्ने पीडितहरूको माग छ । गत भदौ ६ गते गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै मिटरब्याज पीडितका उजुरी सङ्कलन गर्न र त्यस्ता उजुरीमाथि कारबाही गर्न निर्देशन दिएको थियो । अदालतको प्रक्रियामा गएका मुद्दामा जिल्ला प्रशासन कार्यालयले काम गर्न नसक्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी बताउनुहुन्छ । “धेरैजसो अदालतबाट फैसला भइसकेका र मुद्दा दायर भएर फैसलाको क्रममा रहेका छन् ।

अदालतमा विचाराधीन रहेका विषयमाथि जिल्ला प्रशासनले केही निर्णय लिन सक्ने अवस्था हुँदैन । अदालतमा प्रवेश गरेका विषयलाई हामीले केहि गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो । महोत्तरी जिल्ला प्रशासन कार्यालयनमा हालसम्म दुई सय ६२ यस्ता मुद्दा दर्ता भएकामा छ वटा मुद्दा मात्रै मेलमिलापमा गएको पनि प्रमुख जिल्ला अधिकारी पहाडीले बताउनुभयो । मिटरब्याज पीडितसँग छलफलको क्रम नियमित नै चलिरहेको पनि उहाँको भनाइ छ ।

मानव अधिकार आयोगको चासो गत साउन र भदौमा काठमाडौँमा आन्दोलन गरेका मिटरब्याज पीडितहरूले राष्ट्रिय मानव मानवअधिकार आयोगमा पनि उजुरी दर्ता गरेका थिए । मिटरब्याज, दृष्टिबन्धक तथा छिनुवा पासबाट पीडित बनाएर नागरिक हकको उल्लङ्घन भएको भन्दै आयोगमा गत साउन ३१ गते उजुरीमा दर्ता भएको थियो । मिटरब्याज पीडितको आन्दोलनबारे त्यो बेला अनुगमन गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेल बताउनुहुन्छ ।

मिटरब्याज पीडितको अहिलेको आन्दोलनबारे पनि आयोगको चासो रहेको उहाँको भनाइ छ । “पीडितहरूले आन्दोलन गरिरहेका छन् । उनीहरू समस्यामा छन् भन्ने जगजाहेर नै छ । तर समस्याको जरो के हो भन्नेबारे आयोगले अध्ययन गर्ने कि भन्ने भएको छ । पीडामा परेकाहरूले न्याय पाउनुपर्छ ।” उहाँले भन्नुभयो । गत भदौमा भएको आन्दोलनका क्रममा सरकारबाट बल प्रयोग भएपछि आयोगले शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्ने र उनीहरूको समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिएको पोखरेलको भनाइ छ ।

क्तपुर–नगरकोट सडक खण्डको ठेक्का सम्झौता रद्ध गर्ने

भक्तपुर, १४ चैत : दुई वर्षमा सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएर सुरु भएको भक्तपुर–नगरकोट सडक खण्ड बिस्तार कार्य आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभए पछि सरकारले ठेक्का सम्झौता रद्ध गर्ने भएको छ ।

२०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरि २०७१ साल जेठ २२ गते पहिलो ठेक्का सम्झौता गरि निर्माण सुरु भएको १५ किलोमिटर ६६० मिटर लामो भक्तपुर–नगरकोट सडक खण्ड आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभए पछि सरकारले ठेक्का सम्झौता रद्ध गर्ने तयारी गरेको हो ।

गत फागुन १८ गते उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उक्त सडक खण्डको प्रतक्ष्य अनुगमन गरि मन्त्री श्रेष्ठले एक महिना भित्र सडकको सम्पूर्ण निर्माण कार्य सम्पन्न नगरे ठेक्का सम्झौता रद्ध गर्ने बताउनु भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्ध गर्ने सूचना जारी गरेको हो ।

शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरि ठेक्का सम्झौता भएर अन्तिम पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभए पछि निर्देशनालयले ठेक्का सम्झौता रद्ध गर्न १४ दिने सूचना जारी गरेको हो ।

सडक ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र अराभली इन्फ्रापावर लिमिटेड जेभी ताल्चिखेल, सुनाकोठीविरुद्ध ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकार िगराउन निर्देशनालयले सार्वजनिक सूचना जारी गरेको हो ।

अन्तिम पटक भन्दै गत फागुन महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि म्याद थप गरे पनि कार्य अगाडि नबढेपछि निर्देशनालयले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि ठोस प्रगति नदेखिएको भन्दै अब ठेक्का तोड्नुको विकल्प नदेखिएको जनाएको जनाएको छ ।

सडक बिस्तारको काम सुरु भएको नौ वर्ष बित्दा ४–५ वर्षअघि गरेको कालोपत्रे समेत भत्किएको छ । ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धूलाम्य छ खल्डैखाल्डो रहेको छ । रु. २७ करोडमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर ३१ करोड पु¥याइएको यो सडकको डिजाइन परिवर्तन भई अन्तिम भेरिएसन गर्दा २८ करोडमा झरेको र उक्त रकम कन्स्ट्रक्सन प्राप्त समेत गरिसकेको जनाएको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले सडक निर्माण सुरु भएको नौ बर्ष हुँदा पनि अझै निर्माण सम्पन्न नगर्दा पर्यटन व्यवसाय धरापमा परेको बताउनु भयो । उहाँले कोरोना पछि लयमा फर्कदै गरेको पर्यटन व्यवसाय सडकको जीर्ण अबस्थाले धरापमा परेको भन्दै वर्षामा हिलो र हिउँदमा धुलो उडेर यहाँका बासिन्दादेखि पर्यटकसमेतले सास्ती व्यहोर्नु परेको बताउनु भयो ।

उहाँले सडक निर्माण अलपत्र पर्दा यहाँको पर्यटन व्यबसाय र आर्थिक विकास १५ वर्ष पर धकेलिएको भन्दै काम गर्न नगर्नेको ठेक्का सम्झौता रद्ध गर्न निकालेको सूचना सकारात्मक रहेको बताउनु भयो ।

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले वर्षाैदेखि जनताले आन्दोलन गरेपनि कुनै पनि सरकारले यहाँका बासिन्दाको पीडालाई नबुझेको बताउनु भयो । स्थानीय बासिन्दा र व्यवसायीले पटक पटक सडक बन्द गराएर सडक निर्माण गर्न दबाब दिए पनि निर्माण व्यवसायीले उल्टै दबाब दिनेलाई धम्क्याउने अटेर गर्ने गरेको बताउनुभयो ।

यसअघि पनि नगरकोटवासी र व्यवसायीले सडक किनारादेखि सार्वजनिक यातायातसम्ममा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए भने चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ का वडाअध्यक्षहरुले असारमा तीनदिनसम्म सडकमै वडा कार्यालयको काम गरेर विरोध जनाएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालिन प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, सम्बन्धित मन्त्रालयका मन्त्रीहरुसंग भक्तपुरका सांसद, तत्कालिन नगर प्रमुख सोमप्रसाद मिश्र, वर्तमान नगर प्रमुख जीवन खत्री, स्थानीय बासिन्दा, पर्यटन व्यवसायीलगायतले सडक निर्माण सम्पन्न गर्न वा ठेक्का रद्ध गर्न माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाएका थिए भने पटक पटक सडक अबरुद्ध गर्दै आएका थिए् ।

स्थानीयले भने निर्माण व्यवसायी अधिकारीले यो सडक ठेक्का सम्झौता भएलगत्तै प्राप्त गरेको रकमबाट नगरेकोटको तेलकोट सडक माथि १४ रोपनी जग्गा खरिद गरेको तर सडक निर्माण भने अलपत्र पारेको आरोप लगाउदै आएका छन् ।

शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले भने बिचबिचमा रुख कटान, विद्युतको पोल सार्न समस्या आएको र भूकम्पका कारण पनि केही ढिलाई भएको र ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्नु भयो । उहाँले मन्त्री श्रेष्ठसंग अनुगमनका क्रममा अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गर्न नसके फेरी पनि म्याद थपिदिनुस् भन्दै नजाने र सरकारले जुनसुकै कदम चाले पनि स्वकार्ने बताउनु भएको थियो ।

कोरोना सङ्क्रमणलाई बेवास्ता नगर्न आग्रह

काठमाडौँ, १४ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ । भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ ।

आज एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ । हिजो (चैत १३ गते) एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।

एसइई परीक्षाको तयारी कसरी गर्ने ?

काठमाडौं, १४ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा आगामी चैत १७ गतेदेखि चैत २९ गतेसम्म हुने तालिका सार्वजनिक गरेको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। त्यसो त यतिखेर विद्यार्थीहरू एसइई परीक्षाको तयारीमा छन्।

विद्यालय र शिक्षकहरूले पनि कक्षा समयभन्दा पनि अन्य समय दिएर परीक्षाका लागि विद्यार्थीहरूलाई तयारी गराइरहेका छन्। यता, सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यतिखेर धमाधम एसइई परीक्षा प्रश्नपत्र पनि छापिरहेको छ। परीक्षा बोर्डका अनुसार यो वर्ष करिब ५ लाख विद्यार्थीले परीक्षा दिँदै छन्।

धेरै परीक्षार्थीले एसइईमा धेरै अंक ल्याउने सपना बोकेका हुन्छन्। यसका लागि कसरी परीक्षाको तयारी गर्ने भन्ने जानकारी कतिपय विद्यार्थीलाई नहुन पनि सक्छ। त्यसैले एसइई परीक्षाको लागि कसरी तयारी गर्ने भन्नेबारे विज्ञहरूको सुझाव यहाँ समेट्ने प्रयास गरिएको छ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला यो परीक्षाका लागि विद्यार्थीले बढी समय छुट्याएर पढ्नुपर्ने र मन लगाएर तयारी गरे सोचेअनुसार परिणाम हासिल गर्न सकिने बताउँछन्। परीक्षा तयारीबारे उनका सुझाव यस्ता छन् :

– पहिले यसअघि सोधिएका प्रश्नपत्रहरू जम्मा पार्ने र ती प्रश्नका उत्तर आफूले लेख्ने। लेखेको उत्तर साथीलाई देखाउने र साथी-साथीबाट पनि कुरा आउँछ, त्यसपछि ती लेखेको उत्तर शिक्षकलाई देखाउने। शिक्षकले यहाँ काट्नु यो थप्नु हटाउनु भनेर बताउँछन्। यसो गर्नु भनेको बढी नम्बर पाउने अर्थात् धेरै अंक ल्याउने उत्तम उपाय हो।

– शिक्षकहरूलाई आफूले नबुझेका प्रश्न सोध्न र यसका लागि शिक्षकहरूले पर्याप्त समय मिलाउनुपर्छ।

– पहिले नै म फेल हुन्छु होला कि भन्ने नकारात्मक सोच नबनाइ पढ्ने, यस्तो सोच्दा पढाइको रूचिमा असर पुग्छ र तयारी राम्रो हुँदैन।

– विद्यार्थीले म फेल भए मेरो जिन्दगी जान्छ भन्ने सोच्छन्, यस्तो बेला शिक्षकहरूले फेल भए जिन्दगी जान्छ भन्ने अनुभूत कहिल्यै नगराउने र राम्रो तयारीका लागि उत्प्रेरित गर्ने।

विषयवस्तुसँग मात्र नभइ अवधारणासँग पनि जोड्ने 

शिक्षाविद् कोइराला एसइई परीक्षामा राम्रो अंक ल्याउन विषयवस्तुसँग मात्र नभइ अवधारणासँग पनि जोड्नुपर्ने पनि सुझाव दिन्छन्।

उनी भन्छन्, ‘विषयवस्तुसँगमात्र होइन, अब अवधारणासँग पनि जोड्नुपर्छ। यो भनेको ती प्रश्नलाई मैले जिन्दगीमा कसरी उपयोग गर्छु वा गरेँ भन्ने हो, जस्तो विज्ञानमा पढ्दा विद्यार्थीले गुरुत्वाकर्षणबारे पढ्ला, अब त्यो परीक्षामा लेख्नु पर्ला।’ जिन्दगीमा गुरुत्वाकर्षणले कहाँ कसरी के काम गर्छ भनेर हेर्नुपर्ने उनी बताउँछन्।

‘रूख चढ्दा गुरुत्वाकर्षण कि रूखबाट ओर्लंदा हो यो उसले खोज्नुपर्छ,’ उनले भने, ‘यो किसिमले विद्यार्थीहरूले हेर्नुपर्‍यो।’ उनले सामाजिक विषयमा कसरी छिमेकीसँग कस्तो सम्बन्ध बनिरहेको छ, विवादका समस्या भए कसरी समाधान गर्ने त्यो पाटोमा पनि हेर्नुपर्ने बताए।

‘सामाजिक विषयमा छरछिमेकीदेखि अन्तरराष्ट्रिय क्षेत्रको अवस्था नि हेर्नुपर्छ,’ उनले भने, ‘छिमेकीको विवाद के हो? कसरी सल्टाउने, भारत र नेपालको सिमाना विवाद छ‚ यी समस्या सल्टाउने उपाय के होला? दुई देशको सम्बन्ध सुधारका उपाय के छन्, यो किसिमले विद्यार्थीले हेर्नुपर्छ। यो भनेको अवधारणामा सुधार हो, यस्ता काम गरे एसइईबाट जीवन उपयोगी पढाइ पाइन्छ, यसले नम्बर पनि बढाउँछ।’

यस्तो किसिमले विद्यार्थी जिज्ञासा राख्ने र समस्या समाधानका उपाय खोज्ने भनेको म अब्बल भए नभएको भन्ने अंकन (आँकलन) गर्ने तरिका पनि रहेको उनी बताउँछन्।

अर्का, शिक्षाविद् डा.प्रमोद भट्ट वार्षिक परीक्षाका बेला विद्यार्थीले नियमित पढ्नुपर्ने बताउँछन्। उनका अनुसार यसरी एसइई परीक्षाको तयारी गर्न सकिन्छ:

– नियमित पढ्ने, अभ्यास गर्ने

– स्वअध्ययनमा ध्यान दिने

– पढ्दै मुख्य बुँदाहरू टिपोट गरी नोट बनाउने

– आफूले नजानेका कुरा शिक्षकलाई प्रत्यक्ष भेटेर वा म्यासेन्जर,भाइबर, फोनजस्ता माध्यमबाट सोध्ने

– शिक्षक र विद्यार्थीबीच सञ्चार हुनुपर्ने

रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मिसन ग्रासरुट पार्टी अभियान अन्तर्गत नेकपा (एमाले) सूर्यविनायक ५ नं. वडा कमिटी भक्तपुरले रक्तदान जस्तो महादान कार्यक्रम आयोजना गरेको छ । कटुञ्जेमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जना रक्तदाताले रक्तदान गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले भक्तपुरका उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्नुभई सहभागि सबैलाई धन्यवाद वयक्त गर्नु भयो ।

उक्त कार्यक्रममा नेकपा (एमाले) वागमती प्रदेश कमिटीका सदस्य एवं मिसन ग्रासरुट अभियान अन्तर्गत ५ नं. वडामा खटि आउनु भएका केदार अधिकारी, जिल्ला कमिटी सदस्य एवं सूर्यविनायक नगर इन्चार्ज तथा सूनपा ५ का वडाध्यक्ष राजकुमार जोशीले सबै सहभागिहरुलाई धन्यवाद दिनु भयो ।

जोशीले देशको सबै क्षेत्रमा नजर पुर्याउने शक्ति नेकपा (एमाले) नै हो र देशको राजनीतिक स्थायित्व समस्याको समाधान, खुसी नेपाली, समृद्ध नेपाल र बिकास निर्माणको नेतृत्व गर्न सक्ने पार्टी भनेकै नेकपा (एमाले) हो भनेर फेरी एक पटक प्रमाणित गर्न सफल भएको बताउनु भयो ।

उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा सहभागिताका लागि अनुरोध गर्दै पार्टीलाई यो बेला परेको अप्ठ्यारोमा सबै तिता मिठा कुरालाई बिर्सेर संगठन निर्माणमा लाग्नु पर्ने बताउनु भयो ।

कमिटीका अध्यक्ष मधु थापाको अध्यक्षतामा सचिव इन्दिरा उपाध्याय, उपाध्यक्ष सुमन कसपाल, जिल्ला कमिटी सदस्य मनोज थापा, अशोक ढुङ्गेल, बासुदेव पोखरेल, समाजसेवी एवं नेकपा एमालेका नेता रामशरण देउजासमेतको उपस्थिति रहेको थियो ।