चरखण्डी, सिरुटार, बालकोट, थिमिमा बिस्केट जात्रा

भक्तपुर, १ वैशाख : भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुईचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नास भई गरेको काम सफल हुने जनविश्वास रहेको स्थानीयवासी एवम् संस्कृति अनुसन्धानकर्ता रत्न सायमीले बताउनुभयो ।

किम्वदन्तीअनुसार सिकारीले मारेको भंगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण पुनः जीवित भएर उडेको भनाइ छ । यहाँको कुण्डमा नुहाए जीउमा खटिरा, दागलगायत छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने बुढापाकाको भनाई छभने यही विश्वासले आज यहाँको कुण्डमा स्नान गर्ने बिहान ४ बजे देखि नै भीड लागेको छ ।

प्रत्येक वर्ष वैशाख १ गते मनाइने चरखण्डी मेलामा मन्दिर परिसरमा युवाहरुले शरीरमा बत्ती बालेर बसेका छन् । शरीरमा बत्ती बालेर बसेमा धर्म प्राप्ती हुने एवम् पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । यस मन्दिरमा बिहान ५ बजे देखि नै तीनवटा खट सहितको खट जात्रा समेत गरिएको छ । दधिकोटको बिभिन्न क्षेत्र परिक्रमा गराई विहानै ल्याइएको खट पुन मन्दिर परिषरमा राखेर पुजा गर्ने गरिन्छ ।

त्यसैगरी दधिकोटको चित्रपुरस्थित पूर्णविनायक गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा समेत गरिएको छ । दधिकोट र सिरुटारका बासिन्दाले गणेशको पूजा गरी बलि चढाएका छन् । यता सिरुटार र ललितपुरको टीकाथली जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ । बालकुमारी देवी बिराजमान गराएको खटलाई स्थानीयले पूजा सम्पन्न गरे पछि बोकेर टोलटोलमा पुर्याउने परम्परा रहेको स्थानीय प्रकाश श्रेष्ठ बताउनु हुन्छ ।

यता चैत मसान्तको दिन साँझबाट सुरु गरि रातभर संचालन हुने चान्हेसिया अर्थात रात्रीको जात्रा आज विहान सम्पन्न भएको छ । मध्यपुरथिमीका वासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरि बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो ।

चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलमा स्थित दिगुभैरबलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याईन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाईन्छ । त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइएन्छ ।

जात्रामा थिमीको अधिंकाश घरबाट निस्केको हजारौ चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुदै क्वाछें स्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो ।

त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पुर्याएर पाँच पटक परिक्रमा गराए पछि सोही स्थानमा आ आफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा हिजो साँझ सुरु भई आज विहान सम्पन्न भएको थियो ।

यता भक्तपुरको ल्यासिंखेलमा बिहानैदेखि स्थानीयले पूजा एवं बलि दिएर पूजा गर्नेको भीड लागेको छ । बिहानैदेखि पूजा गर्ने स्थानीय र जात्रा हेर्न आउनेहरुको भीडले लिङ्गो उठाएको ठाउँमा भीड लाग्ने गर्दछ । दिनभर जात्रा गराएर साँझ तान्त्रिक बिधि अनुसार पुजा सम्पन्नन गरिन्छ ।

विश्वध्वजासहितको लिङ्गो हेर्न भक्तपुरका हजारौको भीड

भक्तपुर, १ बैशाख : नेपालको प्राचिन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा हेर्न आज बिहानैदेखि हजारौको भीड लागेको छ ।

नयाँवर्ष अर्थात वैशाख १ गते भक्तपुरको भेलुखेलमा गएराती उठाईएको ५५ हजात लामो विश्वध्वजासहितको लिङ्गो जात्रा हेर्न भक्तपुर, काठमाडौं ललितपुर, काभ्रे लगायत बिभिनन जिल्लाबाट आएको हजारौको भीड लागेको छ । चैत्र मसान्तमा इन्द्रध्वजा सहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरि साँझ लिङ्गो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकांक्ष पुरा हुने शत्रु नाश हुने जनविश्वास रहेकाले यो जात्रालाई छ ।

लिच्छवीकालदेखि विस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथयात्रा गरी मनाउन सुरू गरिएको यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा विस्केट अर्थात “सर्प मारियो” भन्ने अर्थमा र किरातहरुसंगको युद्धमा विजयी प्राप्त गरेपछिको खुसीयालीमा यो जात्रा मनाउने गरिन्छ ।

नेपाल सम्वत २६८ मा भक्तपुर सहर स्थापना हुनुभन्दा अघि नै यो जात्रााको परम्परा सुरू भइसकेको लिच्छवीकालभन्दा अगाडिको यो जात्रा मनाउन थालेको शिलालेखमा उल्लेख छ । यो जात्रालाई मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको ईतिहासमा उल्ल्ेख छ । त्यसपछि नेपाल सम्वत ८२७ मा राजा भूपतिन्द्र मल्लले यो जात्रा अझ व्यवस्थित गरी आठ रात र नौ दिन मनाउने प्रचलन बसाएको र त्यही प्रचलन आजसम्म चल्दै आएको छ ।

चैत मसान्तको दिन साँझबाट सुरु गरि रातभर संचालन हुने चान्हेसिया अर्थात रात्रीको जात्रा आज विहान सम्पन्न भएको छ । मध्यपुरथिमीका वासिन्दाले मनाउने उक्त जात्रामा हिजो साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरि बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको थियो ।

चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलमा स्थित दिगुभैरबलाई आचाजु कर्माचार्यको घरबाट लायकुमा ल्याईन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याइएर जात्रा मनाईन्छ । त्यसपछि भने खटमा राखी बालकमारी मन्दिरमा विराजमान गराइएन्छ । जात्रामा थिमीको अधिंकाश घरबाट निस्केको हजारौ चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनः बालकुमारीबाट शंखधर चोक हुदै क्वाछें स्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो ।

त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याई पुर्याएर पाँच पटक परिक्रमा गराए पछि सोही स्थानमा आ आफ्नो आसनमा खटहरुलाई राखेपछि जात्रा सम्पन्न भएको थियो । यो जात्रा हिजो साँझ सुरु भई आज विहान बरिक चारबजे सम्पन्न भएको थियो ।

मदरल्याण्डको वार्षिकोत्सव सम्पन्न

भक्तपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक पाउन सफल र भक्तपुरको एक अब्बल विद्यालयको रुपको चिनाउन सफल मदरल्याण्ड स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा विद्यार्थी सम्मान एवं प्रतिभा प्रस्तुतीकरण कार्यक्रम करिब ६७८ अभिभावकहरुको उपस्थितिमा चैत्र २५ गते भव्यताका साथ सम्पन्न गरेको छ ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा विविध विधामा उत्कृष्ट भएकालाई सम्मान, पुरस्कार वितरण तथा प्रतिभा प्रस्तुतिकरण कार्यक्रम–२०७९ मा बोल्दै हमालले विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउँदै व्यवहारिक शिक्षा दिनुपर्ने चुनौतीका साथ निजी विद्यालय अघि बढेको धारणा राखे ।

उनले भक्तपुरको मदरल्याण्ड स्कूलले शैक्षिक क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको स्मरण गराउँदै ८०० भन्दा बढी विद्यार्थीहरु पढ्ने मदरल्याण्ड स्कूलले विद्यार्थीहरुको लागि जति मिहिनेत गरेको छ त्यो प्रशंसनीय रहेको धारणा राखे ।

कार्यक्रममा विशिष्ट अतिथि सूर्यविनायक नगरपालिकाका उप प्रमुख सरिता तिमिल्सिना भट्टराईले सुर्यविनायक नगरपालिकामा मदरल्याण्ड जस्तो उत्कृष्ट विद्यालय हुनु गौरवको कुरा गर्दै नगरपालिकालाई शैक्षिक गन्तव्य बनाउन अगाडि बढेको बताउनु भयो ।

अर्का विशिष्ट अतिथि नेशनल प्याव्सनका राष्ट्रिय सह–अध्यक्ष सुवास न्यौपानेले भक्तपुर नेशनल प्याव्सनका अध्यक्ष समेत रहनु भएका संजय खड्काको नेतृत्वमा संचालित मदरल्याण्ड स्कुलले विद्यार्थीहरुको हरेक क्षमता र प्रतिभालाई बाहिर ल्याउने कार्य गरेका हुनाले अभिभावकहरुले ढुक्क भएर मदरल्याण्ड स्कुलमा भर्ना गरी आफ्नो बच्चाहरु जिम्मा दिन सुझाव दिनु भयो ।

कार्यक्रममा अतिथि सूर्यविनायक नगरपालिकाका सामाजिक विकास समिति संयोजक, प्रवक्ता र वडा नं ७ का अध्यक्ष रविन्द्र सापकोटाले मदरल्याण्ड स्कुलको विविध प्रतिभा प्रस्तुति र कार्यक्रमबाट सबैले सिक्नु पर्ने बताउँदै नगरपालिका भित्र संचालित सबै विद्यालयहरुलाई नियमन गरी व्यवस्थित बनाउने कुरामा जोड दिनु भएको थियो ।

उक्त कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष पुष्पराज वस्नेत, नेशनल प्याव्सनका केन्द्रीय सह–कोषाध्यक्ष तथा एम्नेष्टी ईन्टरनेशनल नेपालका पूर्व केन्द्रीय अध्यक्ष विक्रम ढुकुछु, नेशनल प्याव्सनका केन्द्रिय सदस्य तथा ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्का, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा त्रिविका उप प्राध्यापक डा।कृष्ण प्रसाद ग्वाछा, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तबुन्जा श्रेष्ठ, हिसान भक्तपुर अध्यक्ष अनिल कस्पाल, अभिभावक संघ भक्तपुरका अध्यक्ष राम कृष्ण प्रजापति, जिल्ला खेलकूद समितिका अध्यक्ष दिपक थापा लगायतले सम्मान तथा पुरस्कार वितरण गरी मदरल्याण्ड स्कुलको प्रसंशा गर्दै सफलताको शुभेच्छा प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल संजय खड्काले विद्यालयमा भएको प्रगति र आगामी कार्य योजना उल्लेख गरेका थिए । खड्काले शैक्षिक क्षेत्रमा मदरल्याण्डलाई उत्कृष्ट बनाउँदै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका साथै हर क्षेत्रमा अब्बल बनाउन आफू लागि परेको हुनाले अभिभावकहरुको अझ मजवुद साथ चाहिएको बताए । उनले बालबालिकालाई समय सापेक्ष शिक्षा प्रदान गर्न र विविध क्षमता प्रदर्शनमा मदरल्याण्ड छुट्टै ब्राण्ड बन्दै गएको धारणा राखे ।

कार्यक्रममा मदरल्याण्ड स्कुलको लागि नगर, जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक भित्र्याउने ५८ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । शैक्षिक वर्ष २०७९ मा वर्षभरि विविध विधामा उत्कृष्ट हुने १० विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो १ कक्षागत प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिनुको साथै प्रिस्कुलबाट अपग्रेड हुने सबै विद्यार्थीहरुलाई मायाको चिनो दिइएको र युकेजीबाट अपग्रेड भई कक्षा १ मा पुग्न सफल विद्यार्थीहरु दिक्षित गरिएको थियो ।

कार्यक्रममा विद्यालयमा १० वर्ष भन्दा लामो समय सेवा प्रदान गर्दै आएका शिक्षक तथा कर्मचारीहरु राधेश्याम केसी, राधेश्याम कासुला, सविना केसी, दिलदेवी देउला, रुपा थापा र माया केसीलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले नेपाली मौलिक संस्कृति झल्कने आकर्षक नृत्यहरु, गीत तथा नाटकका साथै विद्यार्थीहरुले उसु, कराँते, तेक्वाण्डोका डेमो समेत प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री दाहालले सेनाको कवाज प्रदर्शनीको निरिक्षण

भक्तपुर, २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशिलता आजको आवश्यकता भएको बताउनु भएको छ ।

भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पुरा गरेका शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज प्रर्दशन कार्यक्रममा सहभागि हुदै उहाँले यस्तो बताउनु भएको हो ।

नव आयुक्तहरुलाई निर्देशन दिदै उहाँले भन्नुभयो, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको सही आँकलन गरि जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशिलता आजको आवश्यकता हो ।”

नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको बिश्वास यसको कार्य सम्पादनमा स्पष्ट झल्कने गरेको उहाँले चर्चा गर्नुभयो । प्रधानमन्त्री दाहालले यस्तो संगठनको आयुक्त भई राष्ट्र सेवा गर्ने अवसर प्राप्त हुनु आफैमा एक गौरबपूर्ण उपलब्धी भएको भन्दै यस गर्वको क्षणलाई आफ्नो सैनिक सेवाको अन्तिम घडिसम्म कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लिन हुन नव आयुक्त अधिकृतहरुलाई निर्देशनसमेत दिनुभयो ।

नवआयुक्तहरुको काँधमा एक गहन राष्ट्रिय जिम्मेवारी थपिएको छ भन्दै उहाँले यो राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ठ ढंगबाट सम्पादन गर्दै, जनताको सेवामा समर्पित हुदै नेपाली सेनाको छबिलाई थप उचाईमा पुर्याउने जिम्मेवारी पनि थपिएको बताउनु भयो ।

संसारभरी बीर गोर्खालीको देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र बिरताबाट हासिल भएको हो भन्दै उहाँले यस पहिचानलाई नेपाली सेनाले आधुनिक हातहतियार, प्रबिधिमैत्री, तालिम, श्रोत साधन र सम्पन्न उच्च हौसला युक्त उत्कृृष्ट सेनाको रुपमा स्थापित गरेको बताउनु भयो ।

नेपालको इतिहासमा नेपाली सेनाले पुर्याउृदै आएको अटुट योगदानलाई सधैव स्मरण गर्दै आगामी दिनमा पनि यसबाट प्ररेणा लिदै नवआयुक्तहरुले सक्दो योगदान दिने विश्वास उहाँले व्यक्त गर्नुभयो । संबैधानिक सरकारको मातहत र निर्देशनमा व्यबसायिक एवं मर्यादित संगठनको रुपमा स्थापित गर्न नेपाली सेनाले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको उहाको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले देश भित्र मात्रै नभई देश बाहिर समेत नेपाली शान्ति सेनाको रुपमा विश्वका बिभिन्न द्धन्द्धग्रस्त देशहरुमा शान्ति दूतमा रुपमा खटिएर विश्व शान्ति स्थापनार्थ पुर्याएको योगदानले नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाउन सफल भएको बताउनु भयो ।

आफ्ना बिबिध जिम्मेवारीहरुलाई उत्कृष्ठ र व्यबस्थित ढंगले निर्वाह गर्न सक्षम नेपाली सेना बहुआयामिक, सबल, सक्षम एवं सुदृढ संगठनको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित भएको भन्दै उहाँले वर्तमान अबस्थामा हाम्रो मुलुक बिभिन्न परिस्थितिका बीच समृद्ध भविश्यतर्फ उन्मुख रहेको चर्चा गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “विकास र सम्बृद्धिका लागि नियम संगत रुपमा सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य छ । सुरक्षा चुनौतीका साथैै भविश्यमा देखा पर्न सक्ने अन्य चुनौतीको सामना गर्न नेपाली सेना सदैव सजग, सतर्क एवं तयार रहने विश्वास व्यक्त गर्दछु ।”

यहाँबाट प्रदान गरिने तालिमलाई संसारका देशहरुले मान्यता दिएका बताउदै उहाँले भन्नुभयो, “आज संसारका बिभिन्न राष्ट्रका सैनिक संगठनहरुका लागि आधारभूत अधिकृत तालिमका लागि रोजाईमा पर्न सफल यस प्रतिष्ठानले आउदा दिनहरुमा समेत तालिमलाई समयसापेक्ष रुपमा सञ्चालन गर्ने र आफ्नो व्यबसायीक छबिलाई उच्च पार्दै जाने विश्वास व्यक्त गर्दछु ।”

वर्तमान अबस्थामा तालिम लिने शिक्षार्थीहरु बढ्दै गएको तर तालिम इलाका घट्दै गएको अबस्थामा त्यसको समस्या समाधानका लागि यस तालिम केन्द्रको उपकेन्द्र निर्माणका लागि आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस तालिममा मित्र राष्ट्र बंगलादेश, श्रीलंका र जाम्बियाका एक(एक जना अधिकृत समेत यो कवाजमा सहभागि हुनु भएको र विगतमा पनि बिभिन्न मित्र राष्ट्रबाट १० वर्षमा २३ जना आयुक्त भएको थाहा पाउदा मलाई गर्वको महसुस भएको छ ।”

प्रधानमन्त्री दाहालले सि.नं ६० अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने कृष्ण खड्का र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने खगेन्द्र कार्कीलाई खुकुरी प्रदान गर्नु भयो । त्यस्तै महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई छडि अवार्ड प्रदान गर्नुभयो ।

सि.नं ६० अधिकृत क्याडेट तालिममा ८६ जना र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीनवर्षे तालिम पुरा गरि आयुक्त पद प्राप्त गर्नु भएको छ भने जाम्भियाका एक जनालेसमेत अधिकृत क्याडेट तालिम पुरा गर्नु भएको छ । कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता रहेको थियो ।

एसइईको नतिजा असार तेश्रो साता

भक्तपुर, २९ चैत । यसवर्षको एसइई परीक्षाको नतिजा असार तेश्रो साता सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक बिष्णु बहादुर श्रेष्ठले असार तेश्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरि कार्य योजना तयार पारेको बताउनु भयो । कुनै समस्या नआए असार दोश्रो सातामा पनि सार्वजनिक गर्न सकिने उहाँले बताउनु भयो ।

यहीँ चैत १७ गतेबाट देशभर सुरु भएको परीक्षा आजबाट सम्पन्न भएको छ । परीक्षामा छिटफुट घट्ना बाहेक देशका ७७ वटै जिल्ला र जापानमा गरि दुई हजार ३७ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न भएको नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।

यसवर्ष परीक्षामा कूल चार लाख ८४ हजार २२७ जना परीक्षार्थी सहभागि रहेको उहाँले जानकारी दिनुभयो । नेपालबाट बिभिन्न रोजगारीको कारण जापान पुगेका नेपालीका १४ छोराछोरीले पनि यसवर्ष जापानबाटै एक परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख ६ हजार ९५९ विद्यार्थी र सबैभन्दा कम कर्णली प्रदेशमा ४१ हजार ३२९ परीक्षार्थी सहभागी भएका थिए । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी थिए । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागि भएका थिए ।

नौ महिनामा १६ वटा गैँडाको मृत्यु

नवलपुर, २९ चैत  : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् ।

निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैँडा मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले अमलटारी क्षेत्रमा करिब सात महिनाको पोथी गैँडा मृत भेटिएको बताउनुभयो ।

त्यसैगरी माडीको रिउ खोलामा किनारमा करिब छ महिनाको भाले गैँडा मृत भएको उहाँको भनाइ छ । भाले गैँडाको मृत्यु बाघको आक्रमणबाट भएको तिवारीले जानकारी दिनुभयो । मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग नपलाएको तिवारीको भनाइ छ । निकुञ्जमा मृत भेटिएका दुई गैँडासँगै चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म १६ वटा गैँडाको मृत्यु भएको तिवारीले जानकारी दिनुभयो । यस वर्ष मृत भेटिएका गैँडामध्ये दुई वटा गैँडा चोरी शिकारीका कारण मरेका हुन् ।

कोठी सञ्चालक सोनाम पक्राउ

त्रिशूली, २९ चैत : आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पु¥याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पु¥याउने दलाल पक्राउ परेको छ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङडोल्मा तामाङलाई नुवाकोट प्रहरीले विदुरबाट पक्राउ गरेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा शनिबार पक्राउ गरिएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सोमबार नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐनअनुसार पीडितले दिएको उजुरीमा हदैसम्म (सर्वस्वसहित)को कारबाहीको माग गरिएको छ । “दलालले विवाह गर्नेदेखि रोजगारमा लगाइदिने भनेर झुटो आश्वासन दिई भारतको कोठीमा पुगेका पीडित दुई महिलाले दिएको उजुरीका आधारमा कोठी सञ्चालन गर्दै आएकी सोनामलाई पक्राउ गरेका छौँ”, प्रनाउ खड्काले भन्नुभयो, “नेपाली महिलालाई भारत लैजाने दलाल कुमार तामाङलाई यसअघि नै २० वर्षको कैद फैसला भइसकेको छ भने उक्त अपराधमा जोडिएकी सोनामलाई थप अन्य पीडितले सोमबार दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ ।”

प्रहरीका अनुसार सोनामले भारतको जेबीरोडमा कोठी नं ६८ सञ्चालन गर्दै आइरहेकी छिन् । त्यहाँ उनले विभिन्न दलालमार्फत बालिका तथा महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने गरेको देखिएको छ । उनलाई नेपालबाट त्यहाँसम्म बालिका तथा महिला पु¥याउने थप व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

नुवाकोट र काभ्रेका एक–एक महिलालाई उनले जनही पाँच लाख भारतीय रुपैयाँमा खरिद गरेर त्यहाँ यौन व्यवसायमा लगाएको पीडितले दिएको जाहेरी र प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ती पीडित महिलालाई सिन्धुपाल्चोक जिल्लाको साविक राम्चे गाविस–१ का कुमारले बिक्री गर्न भारत पु¥याएका थिए ।

काभ्रेका किशोरीलाई विसंं २०७३ वैशाखमा भारतमा फेसन डिजाइनरमा रोजगार लगाइने भनेर लगिएको थियो भने नुवाकोटकी महिलालाई भारतमा गएर बिहे गर्ने र उता आफैँले होटल सञ्चालन गर्ने भनेर लगिएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

“फरक–फरक समयमा भारतको कोठीमा पुगेका ती दुई महिला विसं २०७३ कात्तिक २५ गते भागेर नेपाल आएपछि उनीहरूले न्यायका लागि गरेको प्रयासमा सफलता मिलेको छ”, प्रनाउ खड्काले भन्नुभयो, “कोठी सञ्चालक सोनामलाई यसअघि कुमारसँगको मुद्दामा पूरक अभियोग बनाइएको थियो भने अहिले पीडितले उनलाई नै मुख्य प्रतिवादी बनाएर जाहेरी दिएका छन् ।”

नुवाकोटको पीडित महिलाले दिएको जाहेरीको आधारमा पक्राउ परेका सिन्धुपाल्चोकका कुमारलाई नुवाकोट जिल्ला अदालतले विसं २०७५ मङ्सिर १४ मा २० वर्षको कैद सजाय तोकेको थियो । कैद सजाय तोक्ने समयमा उनी ३५ वर्षका थिए । अदालतको फैसलाअनुसार कुमार विसं २०९४ मङ्सिर १४ सम्म कैद बस्नुपर्नेछ भने पीडितलाई रु ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने तत्कालीन जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले गर्नुभएको फैसलामा उल्लेख थियो ।

पीडित ती महिलालाई दलालमार्फत खरिद गरेर कोठी सञ्चालन गर्दै आएकी सोनाम उक्त मुद्दामा पूरक अभियुक्त बनाइएकामा अहिले नुवाकोटसहित काभ्रेका महिलाले आफूलाई खरिद गरेर यौन व्यवसायमा लगाउने प्रमुख व्यक्ति (प्रतिवादी) भनेर दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । पीडितको बयान, उनको फोन तथा सामाजिक सञ्जालको सम्पर्कमा उनीले खरिद गरेका दसभन्दा बढी किशोरी तथा बयस्क महिला हालसम्म पनि सम्पर्कविहीन छन् । उनीहरू पनि सोही अपराधमा पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
–––

सीमा नाकामा कडाइ, अस्पताललाई तयारी रहन निर्देशन

काठमाडौँ, २९ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।

भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।

“कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।”

मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

“अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।” अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो ।

बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।

उपभोक्ताको घरघरमा दुई दिन बिराएर पानी वितरण

काठमाडौँ, २९ चैत  : दुई तीन महिना पहिलेसम्म काठमाडौँका अधिकांश स्थानमा खानेपानीको चुहावटको समस्या देखिन्थ्यो । अहिले त्यो समस्या कम भएको छ । मेलम्ची खानेपानी आयोजनाका लागि बिच्छ्याइएको नयाँ पाइप परीक्षणको क्रममा हुँदा पुरानो पाइपबाट पानी वितरण हुँदा चुहावटको समस्या धेरै रहेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट देखिएका अधिकांश स्थानमा मर्मत गरिरहेकाले समस्या कम भइरहेको देख्न सकिन्छ ।

अहिले चुहावटलाई पहिलो प्राथमिकतामा राखेर देखिनासाथ मर्मत भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “कतै चुहावट भयो भन्ने सूचना आउनासाथ सडक विभागको स्वीकृति लिएर मर्मत भइरहेको छ ।” चुहावट मर्मत छिटो, छरितो गरिएकाले चुहावट कम देखिएको लिमिटेडले जनाएको छ । नयाँ पाइपको परीक्षण भइरहेको र असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी निर्देशनालयले काम गरिरहेको उहाँले बताउनुभयो ।

परीक्षण सम्पन्न भएपछि खानपानी नयाँ पाइप लाइनबाटै वितरण सुरु गरिनेछ । उहाँले भन्नुभयो, “त्यसपछि चुहावटको मात्रा कम भएर पानी बढी दिन सकिने अपेक्षा छ ।” अहिले उपभोक्ताको घरघरमा दुई दिन बिराएर पानी वितरण भइरहेको उहाँले बताउनुभयो । निर्देशनालयले पाँच करोड लिटर पानी परीक्षणका लागि प्रयोग गरिरहेकाले उपभोक्ताले कम पानी पाएका हुन् । परीक्षण सकिएपछि १७ करोड लिटर पानी नयाँ प्रणालीमा दिन सकिने उहाँले बताउनुभयो ।

निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि नयाँ पाइप विच्छ्याउँदा सँगै १० ठाउँमा ट्याङ्की निर्माण गरेको थियो । अहिलेसम्म पुरानो पोखरीबाटै पानी वितरण भइरहेको छ । नयाँ ट्याङ्की परीक्षणको क्रममा रहेको उहाँले बताउनुभयो । मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको थियो । उपत्यकामा पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको थियो । खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहाचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएको थियो ।

नमस्ते ख्वप टेलिभिजनको तेश्रो बार्षिकोत्सव : स्थानीय मिडियालाई बचाउनु पर्ने रासस अध्यक्ष झाको भनाई

भक्तपुर, २८ चैत : राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झाले स्थानीयस्तरमा समाचार र सूचनाका माध्यमबाट जनतालाई सूसुचित गर्ने स्थानीय मिडियालाई स्थानीय तहको सहयोग हुनु पर्ने बताउनु भएको छ । आज भक्तपुरमा नमस्ते ख्वप टेलिभिजनको तेश्रो बार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले नेपालको स्थानीय मिडियालाई सबैले मेरो मिडिया भनेर स्वीकार्नु पर्ने बताउनु भएको हो ।

रासस अध्यक्ष झाले भन्नुभयो, “मिडिया जहिले राष्ट्रिय हुनु पर्छ भन्छन् तर मिडिया जहिले पनि स्थानीय हुन्छ, हुनुपर्छ, स्थानीयले स्वीकार्नु पर्छ । नेपालको स्थानीय मिडिया बाँच्नु पर्छ र बचाउनु पर्छ ।” जनतालाई सूसुचित गराउने कुरामा मिडियाको भूमिका हुने बताउदै उहाँले बिभिन्न मिडिया मार्फत आएका समाचार आफ्नैमा पोजेटिभ र नेगेटिभ भन्ने नहुने उहाँको भनाइ थियो ।

“मिडियाकोलाई अझै धेरैले बुझ्न जरुरी रहेको छ, मेरो पक्षमा समाचार आए पोजेटिभ, मेरो बिरुद्ध समाचार आए नोगेटिभ भन्ने मानसिकताबाट मुक्त हुनु पर्छ,” रासस अध्यक्ष झाले भन्नुभयो, “समाचार समाचार नै त्यो आफैमा नेगेटिभ र पोजेटिभ भन्ने हुदैन, आएको समाचारलाई आम पाठकले कसरी बुझ्छन् भन्ने कुरा महतव हो ।”

मिडिया छ र त आज समाचार छ, मिडिया नभए समाचार कसरी थाहा पाउने भन्दै उहाँले मिडियाको अबधारणा र गलत बझाईलाई बदल्नु आवश्यक रहेको उहाँको भनाई थियो । नेपालमा मात्रै नभई विश्वमै भक्तपुरको चिनारी प्रसिद्ध रहेको बताउदै उहाँले आफैसंग रहेको बिनाको गन्ध पहिचान गर्न नसकेर कस्तुरीले बिना खोज्दै हिडे जस्तो भक्तपुरले पहिचान खोज्दै हिड्नु आवश्यक नरहेको बताउनु भयो ।

भक्तपुरका चार वटा नगरपालिका आफैमा साँस्कृतिक, प्राकृतिक मनोरम र पहिचान बोकेको स्थानीय तह भएकाले भक्तपुर जिल्लालाई एकीकृत रुपमा सांस्कृतिक जिल्ला र पर्यटकीय प्याकेजको रुपमा बिकास गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा अध्यक्ष झाले मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठ, राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठलगायतका बिभिनन व्यक्तित्वहरुलाई सम्मान गर्नु भयो ।

त्यसअवसरमा वाग्मति प्रदेश सभाका सा.सद किरण थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख श्रेष्ठ, नमस्ते ख्वप टेलिभिजनका अध्यक्ष बालकृष्ण श्रेष्ठ, सोही टेलिभिजनका कार्यकारी निर्देशक ऋषिकेश श्रेष्ठलगायत बिभिन्न व्यक्तित्वहरुले नमस्ते ख्वप टेलिभिजनले शिक्षा, स्वास्थ्य, कला, संस्कृति लगायतको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा बिभिन्न नृत्य, गीत र फेसन शोहरु प्रस्तुत गरिएको थियो ।

त्यस्तै अध्यक्ष झाले राससका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको फोटो प्रर्दशनीको अवलोकन गर्नु भएको छ । सोही कार्यक्रममा राससकर्मी श्रेष्ठले बिस्केट जात्राको बारेमा यसअघिका जात्रामा लिएका ९० वटा तस्विरको प्रर्दशनी गएिको थियो । उक्त प्रर्दशनीको अध्यक्ष झा लगायत अन्य अतिथि र सहभागिहरुले अवलोकन गर्नु भएको थियो ।

अध्यक्ष झाले फोटो प्रर्दशनीले राससको शान बढाएको बताउदे यसले भक्तपुरका जात्राको सिंगो इतिहास प्रस्तुत गरेको बताउनुभयो । प्रर्दशनीकाबारेमा फोटो पत्रकार श्रेष्ठले बिस्केट जात्राको अवसर पारेर जात्राकाबारेमा जानकारी दिने उदेश्यले आफूले जात्रामा खिचेका महतवपूर्ण ९० वटा तस्विरलाई प्रर्दशनीमा राखिएको बताउनु भयो ।