दुवाकोटमा निःशुल्क तिलगंगाका डाक्टरद्धारा आँखा जाँच सेवा सुरु
भक्तपुर, १५ साउन । चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा आजबाट आँखा उपचार सेवा सञ्चालनमा आएको छ । तिलगंगा आँखा प्रतिष्ठान र चाँगुनारायण नगरपालिकाको सहकार्यमा दुवाकोटमा आजबाट सञ्चालनमा आएको तिलगंगा आँखा उपचार केन्द्रमा आँखाको सबै उपचार सुरु हुनेछ ।
चाँगुनारायण वडा नं. २ का अध्यक्ष सोमप्रसाद प्रधानले आजबाट केन्द्र सञ्चालन भएको जानकारी दिदै चाँगुनारायणवासीलाई अब आँखाको उपचारको लागि टाढा जानु नपर्ने बताउनुभयो ।
दुवाकोटस्थित केन्द्रमा आँखा रोग सम्बन्धी परामर्श, सामान्य आँखा परीक्षण, चस्मा सम्बन्धी सेवा, औषधि सेवा तथा आवश्यकता अनुसार विशेषज्ञ उपचारका लागि रेफरल सेवा स्थानीयस्तरमै उपलब्ध हुने जानकारी दिनुभयो ।
तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले प्रतिष्ठानले आँखा उपचारलाई स्थानीयस्तरमै सुरुवात गरेको भन्दै चाँगुनारायण नगरपालिकासहित आसपासका क्षेत्रका नागरिकले नियमित आँखा परीक्षण, उपचार तथा परामर्श सेवा सहज रूपमा प्राप्त गर्ने बताउनुभयो ।
कार्यक्रममा आज करिब १०० जनाको आँखाको परीक्षण र औषधि वितरण गरिएको थियो । अब चाँगुनारायण नगरपालिकाका मोतिबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइने भएको छ ।
केन्द्रको बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
चाँगुनारायण नगरपालिकाको तर्फबाट नगर प्रमुख जीवन खत्री र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।
