चक्रवात ‘अर्नब’ को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक बिचबाटोमै रोकिए

ताप्लेजुङ, कात्तिक १३ गते – बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम बिग्रिएपछि कञ्चनजङ्घा क्षेत्र भ्रमणमा निस्किएका करिब २५० आन्तरिक तथा बाह्य पर्यटक बाटोमै अड्किएका छन्।

उच्च भेगमा हिमपात र तल्लो क्षेत्रमा सिमसिम पानीसँगै चिसो बढेपछि बेसक्याम्पतर्फ जाँदै गरेका र फर्किंदै गरेका पर्यटक गन्तव्य पुग्न नसकी बीच बाटाका होटल तथा बस्तीहरूमा रोकिन बाध्य भएका हुन्। ती बस्तीका होटलहरू पर्यटकले खचाखच भरिएका छन्।

कञ्चनजङ्घा बेसक्याम्प जाने फोटो पत्रकार राजीव लिम्बूका अनुसार घुन्सा क्षेत्रका सबै होटल आन्तरिक र बाह्य पर्यटकले भरिएका छन्। उहाँको टोली नै दुई दिनदेखि त्यहीँ रोकिनुपरेको छ। पदमार्गमा पर्ने फलेका होटलसमेत पर्यटकले भरिएको भ्रमणमा रहेका पाँचथरका पत्रकार गिरीराज बाँस्कोटाले बताए। त्यस क्षेत्रमा सिमसिम पानी परिरहेको, चिसो बढेको र उच्च डाँडामा हिमपात भएको छ।

उत्तरी आधार शिविर जाने पदमार्गका इटालीटार, लामाटार, अम्जिलेसा, थाङ्गीम, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन, लोनाकलगायत बस्ती तथा दक्षिणी आधार शिविर जाने याम्फुदिन, नयाँ झोरेनी, तोरोङ्देन, सेराम, राम्जेलगायत स्थानका होटलमा पर्यटकको चाप बढेको छ।

यसैबीच लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जाने विदेशी पर्यटकको टोली ओलाङचुङगोलामै रोकिएको छ। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा रहेको ऐतिहासिक दिकीछ्योर्लिङ गुम्बा क्षेत्र अध्ययनका लागि पुगेको सराफ फाउन्डेसनको टोलीसँगै रहेका पर्यटन अभियन्ता हेमराज निरौलाका अनुसार स्वदेशी तथा विदेशी गरी करिब ६० जना पर्यटक अहिले त्यहीँका होटलमा बसेका छन्। आधाजसो लुम्बासुम्बा–मकालु मार्गका हुन् भने ओलाङचुङगोला हुँदै सिङ्जेसम्म जाने आन्तरिक पर्यटक पनि मौसम बिग्रिएपछि त्यहीँ अड्किएका छन्।

सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी र स्थानीय वडा कार्यालयले मौसम सुध्रिएसम्म सुरक्षित स्थानमै रहन सूचना जारी गरेका छन्। प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रतिकूल मौसमका कारण जिल्लामा कुनै विपद्जन्य घटना नभएको जानकारी दिए। उहाँका अनुसार स्वदेशी–विदेशी गरी २५० पर्यटक कञ्चनजङ्घा क्षेत्रका बस्ती र होटलमा छन्। ओलाङचुङगोला, घुन्सा र याम्फुदिनलगायत क्षेत्रमा सङ्ख्या बढी छ।

यो पनि पढ्नुहोस  भक्तपुर उद्योग वाणिज्य संघको ३८ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन

पर्यटकलाई सुरक्षित रहन र मौसम राम्ररी बुझेर मात्र यात्रा गर्न सचेत गराइएको छ। सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक सतर्कता अपनाइएको प्रजिअ दाहालले बताए। स्थानीय सर्वसाधारणलाई पनि सचेत गराइएको छ। बिहीबार दिनभर ताप्लेजुङको आकाश धुम्मिएको थियो भने गएरातिदेखि वर्षा जारी छ। उच्च क्षेत्रमा हिउँ पनि परेको छ। Source: रासस

प्रकाशित मितिः