नारायणगढ–मुग्लिङ सडक तुईनखोलामा पहिरो नियन्त्रण हुँदै, दैनिक ५ घण्टा सडक बन्द गरिने

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको तुईनखोला क्षेत्रमा पहिरो नियन्त्रण तथा रोकथामको काम सुरु गरिने भएपछि सडकमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म नारायणगढ–मुग्लिङ सडकखण्ड बन्द गरिनेछ ।

तुईनखोला क्षेत्रमा पहिरो नियन्त्रणको काम गर्ने क्रममा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

सडक बन्द रहने अवधिमा उक्त सडकखण्ड भएर चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइनेछ ।

यद्यपि, काठमाडौं–मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने सडकखण्डमा भने सवारी आवागमन नियमित रहने प्रशासनले स्पष्ट पारेको छ ।

पहिरो नियन्त्रणको कामका कारण यात्रु तथा सवारी चालकलाई यात्रा समय मिलाउन र सडक बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा गर्न आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस  बागमती प्रदेश सरकारले नवदुर्गा जात्रा सञ्चालनार्थ सहयोग स्वरुप एक लाख रुपैयाँ उपलब्ध, मुख्यमन्त्री किरण थापाद्धारा रकमसहित सम्मान प्रदान
प्रकाशित मितिः