नवौँ पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण

भक्तपुर, २ बैशाख : मध्यान्ह १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड बढ्दै गयो । बिस्केट जात्रामा मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिसहरु खचाखच भए ।

बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर आए, सबैको ध्यान त्यतै केन्द्रित भयो, बिचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आईपुगे ४९ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ ।

बोडेका बासिन्दाले उहाँको जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाईएको मञ्चमा उक्लिए पछि कर्मी नाईकेहरुले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो ।

त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर निस्किए बुद्धकृष्ण । महाद्विप बोकेर करिब पौने एकघण्टासम्म बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिर भित्र प्रवेश गरेपछि सुईरो निकालेर मन्दिरमा ठोके पछि आज मनाइएको जिब्रो छेड्ने जात्रा सम्पन्न भयो ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत बुद्धकृष्णले अन्तिम पटक भन्दै यसवर्ष नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिलाएका छन् ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने श्रेष्ठले बताउनुभयो ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष नवौ पटक आफूले बिज्रो छेडेको उहाँले बताउनुभयो । यो आफ्नो अन्तिम पटक भएकाले अर्को साल जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न युवा पुस्तालाई तयारीमा रहन उहाँले आग्रह गर्नु भयो ।

यसअघि २०६१ सालदेखि ०६४ सालसम्म जिब्रो छेडेको उहाँले आमाको निधन पछि बोडेको जुजुभाई बाँसश्रेष्ठले ०६५ देखि ०७२ सालसम्म जिब्रो छेड्ेर यो जात्रालाई निरन्तरता दिनुभयो । २०७६ सालमा पुन ः जिब्रो छेड्नु भएका बुद्धकृष्णले २०७७ सालमा लकडाउनका कारण जात्रा हुन नसक्दा जात्रा रोकिएको र २०७८ सालमा पुन आठौँ पटक जिब्रो छेड्नु भएको थियो । यस वर्ष जिब्रो छेडेर उहाँले नवौँ पटक पुर्याउनु भएको हो । २०६० सालसम्म उहाँकै दाजू कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाईएको थियो ।

मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जात्रालाई निरन्तर रुपमा सञ्चालन गर्न नगरपालिकाले बजेटको व्यबस्थापन गरेको बताउनु भयो । जात्रा हेर्दै उहाँले भन्नुभयो, “जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जग्गा खरिद गरेर नयाँ पाटी बनाएर यसवर्ष जिब्रो छेडाएका छौँ यो जात्रालाई सहज बनाउन आथिएक व्यबस्थापन गरेका छौँ, अब नयाँ पुस्ताले जात्रालाई निरन्तरता दिनु पर्छ ।”

जात्राको किम्बदन्ती अनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबर्जस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए ।

कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि,अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सातवर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराई छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।

तर यो कथनलाई मान्न तयार छैनन्, बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नील बाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति भूत, पिसाच कोही नभई नील बाराहीका देव गण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले पनि युवा पुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनु पर्यो ।”

Disqus comments are not configured yet.

तपाईको प्रतिकृया के कस्तो रहेको छ ?
+1
0
+1
0
+1
0
+1
0