बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण

काठमाडौं, ५ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषासहित प्रदेशका सम्पूर्ण मौलिक भाषाको संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई प्रभावकारी बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बिहीबार काठमाडौंस्थित नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षण तथा भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण एवं प्रवर्द्धनका विषयमा सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री थापा मगरले भाषा ऐनअनुसार आवश्यक नियमावली तथा कार्यविधि निर्माणको प्रक्रिया अघि बढाउने बताउनुभएको हो ।

उहाँले भाषा र संस्कृति कुनै समुदायको विगतसँग मात्र जोडिएका विषय नभई भावी पुस्ताको पहिचानसँग समेत अभिन्न रूपमा जोडिएको उल्लेख गर्नुभयो । ‘हाम्रा भाषा, लिपि, कला, संस्कृति र परम्परा केवल विगतका सम्पदा मात्र होइनन्, भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य पहिचान पनि हुन्,’ मुख्यमन्त्री थापा मगरले भन्नुभयो, ‘यिनको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध छ ।’

नेपाल भाषासहित बागमती प्रदेशमा प्रचलनमा रहेका मौलिक भाषाहरूको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ । भाषा, लिपि, कला र संस्कृतिको संरक्षणले समुदायको मौलिक पहिचान जोगाउन मद्दत पुग्ने भएकाले तिनको पुस्तान्तरण र व्यावहारिक प्रयोगलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल भाषा मंकाः खलःको कार्यालय निरीक्षणका क्रममा भएको छलफलमा भाषा, कला, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धनका विषयमा सरोकारवालासँग विचार विमर्श गरिएको थियो । मुख्यमन्त्री थापा मगरले प्रदेशभित्रका मौलिक भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आवश्यक नियमावली र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस  चुनावको तिक्ततालाई छोड्दै अब भक्तपुरको विकासमा सबै मिलेर हातेमालो गर्दै अगाडि बढौँ : महेश बस्नेत