नेपालमा ‘अर्नब’ आँधीको प्रभाव सुरु हुँदै, शुक्रबार वर्षा र हिमपातको जोखिम
काठमाडौ । बङ्गालको खाडीमा विकसित ‘अर्नब’ आँधीको प्रभाव आज बुधबारदेखि नेपालमा देखिन सक्ने मौसमविद्हरूले बताएका छन्। नेपाल आइपुग्दा आँधी कमजोर हुने अनुमान गरिए पनि यसले वर्षा र हिमपात गराउन सक्ने सम्भावना छ।
मौसम पूर्वानुमानअनुसार बिहीबारदेखि वर्षा सुरु भई शुक्रबार लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा यसको प्रभाव बढी देखिन सक्छ। विशेषगरी उत्तरी हिमाली क्षेत्रमा भारी हिमपात र हिमआँधीको जोखिम रहेको छ। शनिबारदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै पूर्वतर्फ केन्द्रित हुने अनुमान छ।
सम्भावित भारी वर्षा र हिमपातलाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्नेहरूलाई सतर्क रहन र आवश्यक परे यात्रा स्थगित गर्न आग्रह गरिएको छ। साथै, धानबालीमा क्षति पुग्न सक्ने भएकाले किसानहरूलाई पनि आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।



