शीर्षक: चक्रवात ‘अर्णव’को कहरः श्रीलङ्कामा विद्यालय बन्द, भारतमा ८९ हजार नागरिकको उद्धार

बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्णव’को प्रभावले श्रीलङ्कामा मुसलधारे वर्षा भएपछि देशभरका विद्यालय बन्द गरिएको छ। भीषण वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि विभिन्न क्षेत्रमा सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ। समुद्रमा चार मिटरसम्म अग्ला छाल उठ्ने सम्भावना रहेकाले माछा मार्ने कार्यमा समेत प्रतिबन्ध लगाइएको छ।

श्रीलङ्काको शिक्षा मन्त्रालयले विद्यार्थी तथा विद्यालयका कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै मङ्गलबार विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ। यद्यपि सामान्य शिक्षा प्रमाणपत्र (साधारण स्तर) परीक्षाअन्तर्गतका सौन्दर्यसम्बन्धी विषयका व्यावहारिक परीक्षा भने पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुनेछन्।

भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘अर्णव’ पश्चिम–उत्तरपश्चिम दिशातर्फ प्रतिघण्टा करिब १७ किलोमिटरको गतिमा अघि बढिरहेको छ। यो आँधी बुधबार बिहान भारतको आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीचको तटीय क्षेत्रमा ठोक्किन सक्ने पूर्वानुमान गरिएको छ। समुद्रमा चक्रवातको केन्द्र वरिपरि हावाको गति प्रतिघण्टा २१५ देखि २२० किलोमिटरसम्म पुगेको छ भने तटमा ठोक्किने बेला प्रतिघण्टा १३५ किलोमिटर रहने अनुमान गरिएको छ।

चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै भारतको आन्ध्र प्रदेशस्थित काकिनाडा र आसपासका तटीय क्षेत्रबाट करिब ८९ हजार नागरिकलाई सुरक्षित स्थान तथा राहत शिविरमा सारिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी रेल सेवा र हवाई उडानसमेत रद्द गरिएका छन्। चक्रवातको प्रभाव श्रीलङ्का र भारतका साथै बङ्गालको खाडीनजिकका अन्य क्षेत्रमा पनि पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

यो पनि पढ्नुहोस  जुन ९ मा नेपालले विश्व कप क्रिकेट लिग २ को पहिलो खेल खेल्दै
प्रकाशित मितिः