सप्तरीमा अनौठो चोरी! २० फिटे पर्खालले घेरिएको गोदामबाट १८ टन गहुँ गायब

सप्तरी, कात्तिक ११ । सप्तरीको बलानबिहुल गाउँपालिका–६ स्थित धर्मराज बाबा धान–गहुँ खरिदबिक्री केन्द्रबाट करिब तीन सय बोरा गहुँ चोरी भएको छ। चारैतिरबाट करिब २० फिट अग्लो पर्खालले घेरिएको गोदामको ताल्चा फुटाएर आइतबार राति ठूलो परिमाणमा गहुँ चोरी भएपछि प्रहरीले अनुसन्धान थालेको छ।

केन्द्रका सञ्चालक गङ्गाराम महरानका अनुसार गोदाममा भण्डारण गरिएका ६३५ बोरा गहुँमध्ये करिब तीन सय बोरा चोरी भएका छन्। त्यस्तै, केन्द्र परिसरमा राखिएको एउटा ट्याक्टरको ब्याट्रीसमेत चोरिएको छ। प्रतिबोरा ६० किलोका दरले हिसाब गर्दा चोरी भएको गहुँको परिमाण करिब १८ हजार किलो अर्थात् १८ टन हुन्छ।

सञ्चालक महरान आइतबार साँझ घरमा गोसाइँ (कुलदेउता) पूजा रहेकाले केन्द्र बन्द गरेर गएका थिए। सोमबार बिहान करिब ६ बजे गोदाममा पुग्दा ढोका खुला र लगाएर गएको ताल्चा फुटाइएको अवस्थामा भेटेपछि उनले चोरी भएको थाहा पाएका थिए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।

रातिको समयमा गोदाममा कोही नभएको र गाउँका अधिकांश मानिस गोसाइँपूजामा व्यस्त रहेको मौका छोपेर चोरी भएको हुन सक्ने सञ्चालकको आशङ्का छ। तर, चोरीमा संलग्न व्यक्ति को हुन् र कसरी ठूलो परिमाणमा गहुँ बाहिर लगियो भन्ने विषय खुल्न सकेको छैन।

घटनालाई सामान्य चोरीका रूपमा मात्र लिन नहुने स्थानीय जनप्रतिनिधिको भनाइ छ। वडाध्यक्ष सूर्यप्रसाद दासले गाउँपालिकामा सिसी क्यामरा जडानका लागि लाखौँ रुपैयाँ खर्च भएको भनिए पनि समयमै क्यामरा जडान तथा सञ्चालन हुन नसक्दा घटनामा संलग्न व्यक्तिको पहिचान गर्न कठिनाइ हुन सक्ने बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार सञ्चालक महरानले सुरुमा १५० बोरा गहुँ र ट्याक्टरको एउटा ब्याट्री चोरी भएको जानकारी गराएका थिए। पछि भने करिब तीन सय बोरा गहुँ चोरी भएको बताएका छन्।

यो पनि पढ्नुहोस  सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाद्धारा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रहरी उपरीक्षक खड्काका अनुसार सञ्चालकले प्रतिबोरा ६० किलोका दरले गहुँ रहेको बताएका छन्। घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय कडरबोनाले गरिरहेको छ।

-गाेरखापत्र

प्रकाशित मितिः