निर्वाचन प्रहरीको पोसाक खरिद अनियमितताः उपसमितिले तोक्यो अध्ययनको पूरा समयतालिका
काठमाडौँ – निर्वाचन प्रहरी (म्यादी) को पोसाक खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गर्न गठित उपसमितिले अध्ययनको विस्तृत कार्यतालिका तयार पारेको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकले कात्तिक महिनाभित्र विभिन्न कागजातहरूको अध्ययन पूरा गर्ने निर्णय गरेको हो।
उपसमितिका संयोजक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाका अनुसार मंसिर १ देखि १५ गतेसम्म सम्बन्धित पक्षहरूसँग बयान लिने, अन्तर्वार्ता लिने र विषयविज्ञहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछिका पाँच दिन प्रतिवेदन लेखनका लागि छुट्याइएको छ।
उपसमितिलाई दुई महिनाको समय दिइएको छ र मंसिर २० गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने बाध्यता छ। उपसमितिमा सांसदहरू खगेन्द्र सुनार, गणेश धिमाल, योगेश गौचन थकाली, ऐन महर, रमेशकुमार मल्ल, महेन्द्रबहादुर शाहीलगायत सदस्य छन्।
रास्वपा सांसद खगेन्द्र सुनारले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका क्रममा प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका थिए। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको असोज १६ गतेको बैठकले झाको संयोजकत्वमा ९ सदस्यीय यो उपसमिति गठन गरेको थियो।



