गुगलको शेयरमा ऐतिहासिक गिरावटः एकै दिन ५०० अर्ब डलर बजार मूल्य गुम्यो
काठमाडौं – गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्य बिहीबार १२ प्रतिशतभन्दा बढी खसेको छ। यो एकै दिनमा भएको हालसम्मकै ठूलो गिरावट हो, जुन कोभिड-१९ महामारी वा सन् २००८ को वित्तीय सङ्कटका कुनै पनि दिनको भन्दा तीव्र छ।
यस गिरावटले अल्फाबेटको बजार मूल्यबाट करिब आधा ट्रिलियन डलर अर्थात् ५०० अर्ब अमेरिकी डलर गुमेको छ। सन् २०२५ को सुरुतिर एनभिडियाले लगभग ६ खर्ब डलर गुमाएको घटनापछि यो इतिहासकै दोस्रो ठूलो एकदिवसीय गिरावट हो।
लगानीकर्ताहरू ठूला प्रविधि कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा गरिरहेको भारी खर्च र त्यसले उनीहरूको मूल व्यवसायमा पार्ने प्रभावबारे गहिरो विश्लेषण गरिरहेका छन्। अल्फाबेट अहिले उनीहरूको मुख्य निशाना बनेको छ।
गुगलको मुख्य आम्दानी स्रोत सर्च विज्ञापन व्यवसायमा सुस्त वृद्धि देखिएको र अर्कोतिर एआई क्षेत्रमा खर्च निरन्तर बढिरहेको अवस्थाले लगानीकर्ता चिन्तित बनेपछि शेयर मूल्य तीव्र रूपमा खसेको हो। विश्वका ठूला प्रविधि कम्पनीहरू एआईको होडबाजीमा डेटा सेन्टर निर्माणका लागि सयौं अर्ब डलर खर्च गरिरहेका छन्।
वाल स्ट्रिट अहिले थप सतर्क छ। कुन कम्पनीले तर्कसङ्गत खर्च गरिरहेका छन्, ती खर्चले उनीहरूका अन्य व्यवसायमा कस्तो असर पारिरहेका छन् र एआईको परिवर्तनकारी प्रभावबाट वास्तवमा कसलाई फाइदा पुग्छ भन्ने लेखाजोखा गर्न खोजिरहेको छ।
अल्फाबेटले बुधबार सार्वजनिक गरेको त्रैमासिक बिक्री तथ्याङ्क विश्लेषकहरूको अनुमानभन्दा कम रह्यो। यसले लगानीकर्तालाई निराश बनायो र कम्पनीको मुख्य आम्दानी स्रोत सर्च विज्ञापन व्यवसायले परम्परागत सर्चको सट्टा गुगल र प्रतिस्पर्धीका एआई च्याटबट प्रयोग गर्ने उपभोक्ताको दबाब धान्न सक्छ कि सक्दैन भन्ने पुरानो चिन्ता फेरि चर्काएको छ।
“गुगलले प्रतिक्रिया दिने र आफ्नो व्यवसायलाई नयाँ दिशामा मोड्न सक्ने क्षमताभन्दा यो विस्थापन धेरै छिटो हुन सक्छ भन्ने डर उत्पन्न भएको छ,” अर्जेन्ट क्यापिटल म्यानेजमेन्टका पोर्टफोलियो प्रबन्धक जेड एलरब्रोकले सीएनएनसँग भनेका छन्।
कम्पनीले लगातार दोस्रो त्रैमासिकमा पनि ऋणात्मक फ्री क्याश फ्लो रहेको खुलासा गरेको छ। सन् २००४ मा शेयर बजारमा सूचीकृत भएदेखि सन् २०१५ मा अल्फाबेट बनेसम्म गुगलले यसअघि कहिल्यै ऋणात्मक फ्री क्याश फ्लो दर्ता गरेको थिएन। बलियो फ्री क्याश फ्लो स्वस्थ कम्पनीको सङ्केत मानिन्छ, जसले लाभांश दिन, शेयर फिर्ता किन्न र व्यवसायमा पुनःलगानी गर्न सक्छ।
सन् २०२५ को पूरा वर्षमा ९१.४ अर्ब डलर पुँजीगत खर्च गरेको अल्फाबेटले तेस्रो त्रैमासिकमा मात्रै ५१.४ अर्ब डलर खर्च गरेको छ। डेटा सेन्टर निर्माणलगायत एआईमा खर्च तीव्र रूपमा बढाउँदा शेयर पुनःखरीद र लाभांशजस्ता तत्काल प्रतिफलका लागि कम नगद बाँकी रहन पुगेको छ।
अल्फाबेटको ऋणात्मक फ्री क्याश फ्लोको ठीक उल्टो, माइक्रोसफ्टले यसै हप्ता एआई पूर्वाधार विस्तारमा अर्बौं डलर खर्च गरिरहँदा पनि तेस्रो त्रैमासिकमा १८.६ अर्ब डलर फ्री क्याश फ्लो रहेको जनाएको छ। बिहीबार माइक्रोसफ्टको शेयर स्थिर रहँदा अल्फाबेटको शेयर भने १२ प्रतिशतभन्दा बढी खस्यो।



