७३ वर्षे उमेरमा नातिलाई दिए जीवनदान : आफ्नै मिर्गौला दिएर फर्काए १७ वर्षीय नितेशको मुस्कान

काठमाडौँ । हजुरबुबाले नातिलाई जीवनका अनुभव सुनाउँछन्, हात समाएर हिँड्न सिकाउँछन् र उज्ज्वल भविष्यको आशीर्वाद दिन्छन्। तर सोलुखुम्बुका ७३ वर्षीय धनकुमार राईले आफ्ना १७ वर्षीय नाति नितेश राईलाई यी सबैभन्दा अमूल्य उपहार दिएका छन्– नयाँ जीवन। आफ्नै शरीरको एउटा मिर्गौला दिएर उनले नातिको जीवनमा फेरि आशाको उज्यालो भरेका छन्।

काठमाडौँस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा नितेशको मिर्गौला प्रत्यारोपण सफल भएपछि हजुरबुबा र नाति दुवैको अनुहारमा खुसी फर्किएको छ। झन्डै २६ महिनादेखि डायलासिस, औषधि र अस्पतालको चक्करमा बितिरहेको उनीहरूको जीवनमा अहिले नयाँ अध्याय सुरु भएको छ।

नितेशको जीवनमा संकट एसईईको नतिजा सार्वजनिक भएपछि सुरु भएको थियो। किशोरावस्थाको नयाँ यात्रा र भविष्यका सपना बुन्नुपर्ने उमेरमा उनका दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लाग्यो। विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मिर्गौला फेल भएको पुष्टि भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। विभिन्न अस्पताल धाउँदा पनि तत्काल प्रत्यारोपण सम्भव नभएपछि नियमित डायलासिस गराउनुपर्ने अवस्था आयो।

नितेश स्थानीय सरकारी विद्यालयमा अध्यापन गर्ने शिक्षक रामकुमार राई र गृहिणी गोमा कुमारी राईका एक्ला छोरा हुन्। सीमित आम्दानीमा परिवार चलाइरहेका बाबुआमाका लागि छोराको उपचार खर्च जुटाउनु ठूलो चुनौती बन्यो। उपचारकै लागि परिवार भक्तपुरमा भाडाको कोठा लिएर बस्न बाध्य भयो।

आर्थिक अवस्था कमजोर हुँदै गएपछि नितेशको जीवन रक्षाका लागि ‘नितेश राई बचाऔँ अभियान’ गठन गरियो। सन्तोष राईको संयोजकत्वमा सञ्चालित अभियानमार्फत देश तथा विदेशमा रहेका आफन्त, शुभेच्छुक र सहयोगी मनहरूसँग सहयोगको अपिल गरियो। अभियानबाट करिब ३५ लाख रुपैयाँ संकलन भयो। समाजको यही साथले उपचारको आर्थिक भार कम गर्न महत्त्वपूर्ण भूमिका खेल्यो।

तर आर्थिक सहयोग जुटे पनि प्रत्यारोपणका लागि उपयुक्त मिर्गौला दाता भेट्टाउनु अर्को कठिन चुनौती थियो। सुरुमा बाबुआमा दुवैले मिर्गौला दान गर्न परीक्षण गराए। तर दुवैको मिर्गौला नितेशसँग म्याच भएन। अन्य आफन्त तथा सम्भावित दाताको खोजी गर्दा पनि सफलता मिलिरहेको थिएन।

यो पनि पढ्नुहोस  बाढीपहिरोका कारण मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध

यही निराशाबीच नितेशका ७३ वर्षीय हजुरबुबा धनकुमार राईको मिर्गौला परीक्षण गर्दा नातिसँग म्याच भएको रिपोर्ट आयो। लामो समयदेखि दाताको खोजीमा भौँतारिरहेको परिवारका लागि यो खबर ठूलो खुसी बनेर आयो।

हजुरबुबाको उमेरका कारण बाबुआमालाई सुरुमा केही संकोच थियो। तर धनकुमार भने नातिलाई मिर्गौला दिन पाउने खबरले निकै उत्साहित भए। अभियानका संयोजक सन्तोष राईका अनुसार प्रत्यारोपणको तयारीदेखि शल्यक्रियापछिसम्म पनि उनले आफ्नो निर्णयप्रति कुनै हिचकिचाहट देखाएनन्।

काठमाडौँ आएपछि उनले खुसी हुँदै भनेका थिए, “म त मेरो नातिलाई जीवनदान दिन पो आएको, कत्ति हर्ष छ मलाई, थाहा छ!”

मिर्गौला म्याच भएको खबर पाएपछि उनले अर्को भावुक अभिव्यक्ति पनि दिएका थिए, “मेरो नाति मपट्टि गएको रहेछ, त्यसैले खुन (रगत) मसँग मिल्यो।”

दाता भेटिए पनि सरकारी अस्पतालमा प्रत्यारोपणको पालो कुर्दा थप करिब एक वर्ष प्रतीक्षा गर्नुपर्ने अवस्था देखिएको थियो। लामो समयदेखि डायलासिस गराइरहेका नितेशका लागि थप प्रतीक्षा कठिन हुने भएपछि अन्ततः काठमाडौँस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा प्रत्यारोपण गर्ने निर्णय गरियो।

गत साता धनकुमारले आफ्नो एउटा मिर्गौला नातिलाई दान गरे। झन्डै २६ महिनाको संघर्षपछि प्रत्यारोपण सफल भयो। अभियानका संयोजक सन्तोष राईका अनुसार अहिले हजुरबुबा र नाति दुवैको स्वास्थ्य अवस्था सामान्य छ। हजुरबुबा अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नितेश पनि केही दिनभित्र डिस्चार्ज हुने अपेक्षा गरिएको छ।

लामो समय अस्पतालको बेड र डायलासिस मेसिनसँग जोडिएको नितेशको जीवन अब फेरि सामान्य दिनचर्यामा फर्किने आशा पलाएको छ। पढाइ, साथीभाइ र भविष्यका सपनाहरूले उनको जीवनमा पुनः ठाउँ पाउनेछन्।

नितेशको उपचारमा करिब ३५ लाख रुपैयाँ सहयोग जुट्नु सामाजिक एकताको उदाहरण बनेको छ। यद्यपि गम्भीर रोगको उपचारका लागि परिवारले अभियान नै चलाउनुपर्ने र सरकारी अस्पतालमा लामो समय पालो कुर्नुपर्ने अवस्थाले स्वास्थ्य सेवामा सहज पहुँचको आवश्यकता पनि उजागर गरेको छ।

यो पनि पढ्नुहोस  एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियालाई सुव्यवस्थित बनाउन विस्तृत निर्देशन जारी

एउटा हजुरबुबाले नातिलाई एउटा मिर्गौला मात्र दिएका छैनन्, उनले फेरि सपना देख्ने अवसर र जीवनप्रतिको आशा पनि दिएका छन्। धनकुमार राईको यो निर्णय केवल मिर्गौला दानको घटना होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको निस्वार्थ प्रेम र त्यागको अनुपम कथा हो।

प्रकाशित मितिः