मंसिर ६ गते प्रधानमन्त्री बालेन भारत भ्रमणमा जादै

काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री बालेन्द्र शाह आगामी ६ मंसिरमा भारतको आपचारिक भ्रमणमा जानु हुने भएको छ । प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारतको नयाँ दिल्ली जाने र भ्रमण सकेर मंसिर ७ गते अपराह्न ४ः२० बजे सोही निगमको नियमित उडानबाट काठमाडौं फर्कने तयारी रहेको प्रधानमन्त्री कार्यालय श्रोतले जानकारी दिएको छ।

सरकारले भ्रमणको औपचारिक घोषणा र अन्तिम कार्यतालिका सार्वजनिक नगरे पनि भ्रमणको तयारी भने भइरहेको जनाएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार भारत भ्रमणको तयारी तथा आवश्यक समन्वयका लागि पर्यटनमन्त्री गणेश पौडेल मंगलबार दिल्ली प्रस्थान गर्ने बताईएको छ । प्रधानमन्त्रीको भारत भ्रमण तालिकामा केही परिवर्तन हुन सक्ने सम्भावना समेत रहेको बताईएको छ ।

प्रधानमन्त्री बालेन शाहको यस्ता छन् एजेण्डा :

आर्थिक सहयोगदेखि पूर्वाधार विकाससम्मका विषय प्राथमिकतामा :

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका आर्थिक, ऊर्जा, पूर्वाधार तथा पारवहनसम्बन्धी विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। नेपालले भारतसँग अनुदान र सहुलियतपूर्ण ऋण गरी कुल २ खर्ब भारतीय रुपैयाँ बराबरको आर्थिक सहयोग माग गरेको स्रोतले जनाएको छ। प्रस्तावअनुसार एक खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अर्को एक खर्ब रुपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अनुरोध गरिएको छ।

प्रस्तावित अनुदानमध्ये ५० अर्ब रुपैयाँ रसुवामा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा खर्च गर्ने नेपालको योजना छ। त्यस्तै, बुटवल–पोखरा एक्सप्रेसवे निर्माणका लागि थप ५० अर्ब भारतीय रुपैयाँ सहयोग माग गरिएको छ।

यसैगरी नेपाललाई थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा पनि भारतसँग छलफल हुने जनाइएको छ। नेपालका प्रमुख सहरलाई भारतका विभिन्न दोस्रो तहका सहरसँग सीधा हवाई सम्पर्कमा जोड्ने प्रस्तावसमेत भ्रमणको एजेन्डामा रहेको स्रोतको भनाइ छ।

रेलमार्ग, पेट्रोलियम पाइपलाइन र पञ्चेश्वरमा छलफल :

भ्रमणका क्रममा रक्सौल–काठमाडौं रेलमार्ग निर्माण, अयोध्या–जनकपुर रेल सेवा सञ्चालन तथा सीमापार पेट्रोलियम पाइपलाइन विस्तारका विषयमा पनि छलफल तथा सम्भावित सम्झौताको तयारी भइरहेको छ।

यो पनि पढ्नुहोस  एसपीलाई रुं ५० हजार घुस दिन आउने दुई जना परिसरबाटै पक्राउ

त्यस्तै, लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउने विषयमा नेपालले भारतसँग पहल गर्ने तयारी गरेको छ। महाकाली सन्धि भएको तीन दशक बितिसक्दा पनि परियोजना कार्यान्वयनमा जान नसकेकाले यसलाई अगाडि बढाउन नेपालले जोड दिनेछ। तर यसका लागि दुवै देशबीच उच्चस्तरीय राजनीतिक सहमति आवश्यक रहेको भारतीय पक्षको धारणा रहेको स्रोतले जनाएको छ।

विद्युत् व्यापार र सिँचाइ पनि नेपालको एजेन्डामा :

नेपालले भारतसँग ऊर्जा व्यापारका विषयलाई पनि प्राथमिकतामा राखेको छ। माथिल्लो तामाकोशीलगायत चिनियाँ ठेकेदार संलग्न परियोजनाबाट उत्पादित विद्युत् खरिद गर्न भारतलाई आग्रह गर्ने नेपालको तयारी छ। यसका साथै बंगलादेशमा थप विद्युत् निर्यातका लागि भारतीय पक्षबाट सहजीकरण गर्नुपर्ने विषय पनि उठाइनेछ। महाकाली तेस्रो सिँचाइ आयोजनाका लागि भारतले १० क्युमेक पानी उपलब्ध गराउनुपर्ने मागसमेत नेपालको एजेन्डामा समेटिएको छ।

प्रधानमन्त्रीसँग उच्चस्तरीय टोली पनि जाने :

भारत भ्रमणमा प्रधानमन्त्री शाहसँगै भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पर्यटनमन्त्री गणेश पौडेललगायत सरकारी प्रतिनिधिहरू सहभागी हुने तयारी छ। नयाँ सरकार गठनपछि प्रधानमन्त्री शाहले एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताएका थिए। तर गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न उनी अमेरिका पुगेका थिए। महासभामा सम्बोधन गरेलगत्तै स्वदेश फर्किएका शाहले यसपटक पनि छोटो अवधिको भारत भ्रमण गर्ने तयारी गरेका छन्।

प्रकाशित मितिः