स्थानीय तहको निर्वाचनको तयारीमा जुट्यो आयोग, मंसिर ४ गते छलफलका लागि ६ दललाई निमन्त्रणा

काठमाडौं, ३० कात्तिक । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी थालेको छ। आवश्यक तयारीबारे छलफल गर्नको लागि विभिन्न राजनीतिक दल मंसिर ४ गतेको लागि बोलाएको छ । राष्ट्रिय मान्यता प्राप्त दललाई निर्वाचनबारे छलफलको लागि बोलाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार छलफल ११:३० बजे सुरु हुनेछ ।

समग्र निर्वाचनको तयारीबारे छलफल गर्नको लागि राष्ट्रिय मान्यता प्राप्त दललाई बैठकमा बोलाइएको उनले बताए । अहिले राष्ट्रिय मान्यता प्राप्त दल रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा छन् ।

प्रवक्ता भट्टराईले नेपाल प्रेससँग भने, ‘स्थानीय निर्वाचन पनि आउँदै छ। छलफलमा यसले पनि प्राथमिकता पाउँछ नै । हामीले निर्वाचनको तयारी अगाडि बढाइसकेका छौँ । त्यसबारे विभिन्न चरणमा छलफल गर्छौँ । अहिले राष्ट्रिय मान्यता प्राप्त दललाई छलफल गर्न बोलाएका हौँ ।’

सरकारसँग निर्वाचनको मिति तोक्नेबारे परामर्श भइरहेको पनि उनले बताए । उनले थपे, ‘स्थानीय तहलाई रिक्त नहुने गरी निर्धारित समयमा चुनाव गराउन आयोग तयार छ । अब मिति सरकारले तोक्ने हो । सरकारले तोकेको मितिमा चुनाव गराउन आयोग सक्षम छ ।’

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले पनि केही समयअघि आउँदा वैशाखमा स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसको वरपर रहनेगरी र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने बताएका थिए ।

उनले भनेका थिए, ‘हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तयारीमा रहन्छ नै । निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ।’

यो पनि पढ्नुहोस  नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको डिस्ट्रिक सम्मेलन
प्रकाशित मितिः