काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ, वायु गुणस्तर अस्वस्थकर
काठमाडौं । काठमाडौं विश्वका प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा परेको छ । वायु प्रदूषणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरको बुधबार बिहान ६ देखि ७ बजेसम्मको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको हो ।
आईक्यूएयरको लाइभ र्याङ्किङअनुसार काठमाडौंको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ । एक्यूआई १५१ देखि २०० सम्मलाई अस्वस्थकर मानिन्छ ।
विश्वका प्रदूषित सहरको सूचीमा पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित पहिलो स्थानमा छ । बंगलादेशको ढाका २०८ एक्यूआईसहित दोस्रो, भारतको कोलकाता १९९ सहित तेस्रो र दिल्ली १८३ सहित चौथो स्थानमा छन् ।
काठमाडौं १७२ एक्यूआईसहित पाँचौँ स्थानमा रहँदा उज्बेकिस्तानको तास्केन्ट १७० सहित छैटौँ, इन्डोनेसियाको जकार्ता १६६ सहित सातौँ, भारतको मुम्बई १६१ सहित आठौँ तथा अफगानिस्तानको काबुल र चीनको सांघाई समान १५९ एक्यूआईसहित नवौँ र दसौँ स्थानमा रहेका छन् ।
त्यस्तै, कतारको दोहा १५८, बहराइनको मनामा १५५ र पाकिस्तानको कराँची १५४ एक्यूआईसहित क्रमशः ११औँ, १२औँ र १३औँ स्थानमा छन् ।
काठमाडौंको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेकाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूले सावधानी अपनाउनुपर्ने देखिएको छ । प्रदूषणको उच्च स्तरमा बाहिरको गतिविधि कम गर्ने तथा आवश्यक पर्दा मास्क प्रयोग गर्न स्वास्थ्य विशेषज्ञहरूले सुझाव दिने गरेका छन् ।



