एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ, १० भदौः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोगका लागि तत्काल रु पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सङ्घको आकस्मिक बैठक बसी सबै पदाधिकारी, एनसीसी तथा अभियन्ताहरूसँग छलफल गरी एनआरएनएका अध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितको लागि राहत तथा उद्धार’ मूल समिति गठन गर्ने निर्णय गरेको बैठकले आर्थिक सहयोग सङ्कलनका लागि कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरेको हो ।

स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरेको बैठकले एनसीसी परिचालनका लागि महासचिव डा चिरञ्जीवी खड्काको संयोजकत्वमा क्षेत्रीय संयोजकसमेत रहने गरी एनसिसी परिचालन समिति गठन गर्ने र विपद् व्यवस्थापन समिति र सम्बन्धित निकायसँग समन्वय गर्न प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा आवश्यक मेडिकल तथा स्वयंसेवक टोलीलाई तत्काल परिचालन गर्ने, सम्पूर्ण एनआरएनएका पदाधिकारी तथा सदस्यहरूलाई उद्धार तथा राहत कार्यमा स्वयंसेवकका रूपमा सहभागी हुन अपिल गर्ने, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा पनि आइसिसीमा गठन गरिएझैँ समिति गठन गरि तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन निर्देशन दिने बैठकले निर्णय गरेको जनाइएको छ ।

सरकारको संयन्त्रमार्फत उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहकार्य गर्न एनआरएनए तयार तथा प्रतिबद्ध रहेको निर्णय गर्दै बैठकले सरकार तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनेलगायत निर्णय गरेको महासचिव डा चिरञ्जीवी खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विपद्मा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सङ्घले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्को घडीमा प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकतामा राख्न सरकार, स्थानीय निकाय तथा सरोकारवालालाई सङ्घले आग्रह गरेको छ ।

Disqus comments are not configured yet.

प्रधानमन्त्री शाहद्धारा निर्देशन :घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता

काठमाडौँ, १० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपिल गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताउनुभएको हो । “आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु । आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ ।

प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ”, उहाँले भन्नुभएको छ । प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हालसम्म ९५ जनाले ज्यान गुमाइसक्नुभएको छ । “म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ । बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु”, उहाँले भन्नुभएको छ ।

उहाँले दुःखद् खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको सङ्ख्यामा उद्धार कार्यमा परिचालन गरेको समेत उल्लेख गर्नुभएको छ । बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो । त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्त्वपूर्ण निर्णयहरू गरिएको उहाँको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो । प्रधानमन्त्री शाहका अनुसार घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ । उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।

सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ । काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरूबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली तत्कालै पठाइएको छ । यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ ।

आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता सङ्घसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ । बाढीग्रस्त क्षेत्रका सङ्घीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौँ । घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ । यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ । बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ ।

घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिनेछ । आज रातभर पनि उद्धार कार्य जारी नै रहने उहाँको भनाइ छ । “नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् ।

यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ । बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ । विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ उहाँको भनाइ छ ।

प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ ।” यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुन आग्रह गर्दै उहाँले सम्पूर्ण सामाजिक सङ्घसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध समेत गर्नुभएको छ ।

राष्ट्रपति पौडेलद्धारा प्रधानमन्त्रीलाई नागरिकको खोज तथा उद्धारमा सबै संयन्त्र प्रयोग गर्नु आग्रह

काठमाडौँ,१० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा पुर्‍याएको क्षतिबाट विपद्मा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज साँझ प्रधानमन्त्री शाहलाई टेलिफोन गरी सो विपद्बारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तिव्रता दिन आग्रह गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवामा गएको बाढीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले विपद्मा परेकालाई सहयोग, उद्धार राहतका लागि राज्यका सबैं सयन्त्र परिचालन गरी हरसम्भव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने बताउनुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा अकस्मात गएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको थियो ।

उहाँले विपद्को यस घडीमा उद्धार र राहतलाई तिव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आह्वान गर्नुभएको थियो । साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उहाँले आग्रह गर्नुभएको थियो ।

मुख्यमन्त्री थापामगरको टोली लिएर विपद प्रभावित क्षेत्रको अनुगमनमा प्रस्थान : तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन
भक्तपुर, १० भदौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर सहितको टोली भीषण बाढीपछि आएको विपद् प्रभावित क्षेत्रको अनुगमन एवं अवलाकनका लागि प्रस्थान गरेको छ । आज प्रदेश मुख्यमन्त्रीको कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएलगत्तै विपद क्षेत्रको अनुमगनमा टोली प्रस्थान गरेको हो ।
मुख्यमन्त्री थापामगरको नेतृत्वमा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, बिभिन्न मन्त्रालयका सचिवहरु, विपद बिज्ञहरुको टोली काठमाडौं हुदै नुवाकोटमा बट्टारसम्म पुगेर विपद क्षेत्रको अनुगमन गरि थप तयारी गर्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री थापा मगरले  भन्नुभयो, “हेटौडाबाट हामी काठमाडौं पुगिसक्यौ, आज नुवाकोटको बट्टारसम्म पुगेर त्यहाँ पुगेको केन्द्रीय सरकारको टोली, प्रमख जिल्ला अधिकारीहरु, सुरक्षा निकायको टोली, स्वास्थ्य टोलीलगायतसंग विशेष छलफल गर्ने, विपद क्षेत्रको अनुगमन गर्छौ । तत्कालै आवश्यक थप कार्यका गर्नेछौ, प्रदेश सरकार यो विदको घडीमा कही कतै अलमल नगरी जनताको सेवामा क्रियासिल रहन्छ ।”
उहाँले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिदै मुख्यमन्त्री थापामगरले भन्नुभयो, “विपदमा परेका नागरिकको उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न, तत्काल घाइते तथा विपदमा परेकाहरूको उद्धार गरी राहत वितरण गर्न, प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा उद्धार टोली परिचालन गर्न, विस्थापित तथा प्रभावित नागरिकका लागि खाना र आवासको व्यवस्था मिलाउन र स्वच्छ खानेपानीको तत्काल व्यवस्थापन गर्न निर्देशन दिएका छौ, त्यसका लागि तत् निकायले काम सुरु गरिसकेको छ ।”
बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, अस्थायी आवास तथा अन्य राहत सामग्रीको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउनमेत सम्बन्धीत मन्त्रालय, निकायलाई निर्देशन दिएको बताउनुभयो ।
रसुवामा बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका कामलाई ढिलो नगरी प्रभावकारी बनाउने उहाँले जानकारी दिनुभयोे ।
यसअघि  बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, मन्त्री ज्ञानबहादुर तामाङ, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु बिष्ट, पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ लगायत सहभागी थिए। त्यस्तै प्रदेशसभा सदस्यहरू रमेश महत र इन्द्रप्रसाद गोतामे, पूर्व उपसभामुख राधिका तामाङ, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको समेत बैठकमा उपस्थिति रहेको मुख्यमन्त्रीका स्वकीय सचिव सञ्जिव थापाले जानकारी दिनुभयो ।
वागमती प्रदेशका मुख्यमन्त्री थापामगरद्धारा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन

हेटौडा, १० भदौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै मुख्यमन्त्री थापाले सम्बन्धित निकायलाई काम छिटो सुरु गर्न निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री थापामगरले विपदमा परेका नागरिकको उद्धार तथा राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिदै तत्काल घाइते तथा विपदमा परेकाहरूको उद्धार गरी राहत वितरण गर्न, प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार तथा उद्धार टोली परिचालन गर्न, विस्थापित तथा प्रभावित नागरिकका लागि खाना र आवासको व्यवस्था मिलाउन र स्वच्छ खानेपानीको तत्काल व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

रसुवामा बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो । मुख्यमन्त्री थापामगरले विपद्को समयमा सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै प्रभावित नागरिकलाई राज्यको उपस्थिति प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न निर्देशन दिनुभयो ।

उद्धार तथा राहतमा कुनै ढिलाइ हुन नदिन सम्बन्धित मन्त्रालय र सुरक्षा निकायलाई आवश्यक जनशक्ति तथा स्रोतसाधन परिचालन गर्न आग्रह गर्नुभयो ।
बैठकले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, अस्थायी आवास तथा अन्य राहत सामग्रीको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल गरेको थियो ।

बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, भौतिक पूर्वाधार विकासमन्त्री भरत केसी, मन्त्री ज्ञानबहादुर तामाङ, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु बिष्ट, पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङको सहभागिता रहेको थियो ।

त्यस्तै प्रदेशसभा सदस्यहरू रमेश महत र इन्द्रप्रसाद गोतामे, पूर्व उपसभामुख राधिका तामाङ, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायतर्फ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मुख्यमन्त्री कार्यालयमा आपतकालिन बैठक सुरु, मुख्यमन्त्री किरण थापा मगर प्रभावित क्षेत्रको अनुगमनमा जादै
हेटौडा, १० भदौ : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरको नेतृत्वमा आज मुख्यमन्त्री कार्यालयमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आपतकालिन बैठक सुरु भएको छ । रसुवामा आएको भिषण बाढीका कारण पुगेको क्षति र तत्काल उद्धार, खोजी एवं औषधि उपचार र अन्य व्यबस्थापनका लागि उचित व्यबस्था गर्नका लागि आपतकालिन बैठक सुरु भएको मुख्यमन्त्री थापा मगरले जानकारी दिनुभयो ।
आपतकालिन बैठकमा प्रदेशका मन्त्रीहरु, सचिवहरु, विपदका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, विपत क्षेत्रका प्रदेश सभा सदस्यहरुको टोली सहित बैठक बसेको उहाँले जानकारी दिनुभयो ।
प्रदेश सरकारले विपत क्षेत्रको अवलोकन गर्ने, तत्काल गर्नु पर्ने कार्यहरुका लागि तयारी गरेको जानकारी दिदै उहाँले प्रदेशका बाढी प्रभावित क्षेत्र र जोखिममा रहेका क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आव्हान गर्नु भयो ।
मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “वागमती प्रदेश सरकारले यो विपदको घडीमा गर्नुपर्ने सम्पूूर्ण कार्य तत्कालै गर्नेछ, त्यसको तयारीमा जुटिसक्यो, बैठक लगत्तै प्रभावित क्षेत्रको अवलोकन गरेर थप आवश्यक व्यबस्था गर्नेछौं, खोजी, उद्धार कार्य, औषधि उपचारको व्यबस्थालगायतका प्रदेश सरकार तयारी छ, यो संकटको घडीमा बाढी प्रभावित क्षेत्रका बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिम बढेको भन्दै रसुवा लगायतका जिल्लाका बासिन्दालाई सुरक्षित रहन आह्वान गर्दछु ।”
उहाँले रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन आसपास तथा नदी–खोला किनार र तल्लो भूभागका बस्तीमा रहनुभएका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको सुरक्षामा र सुरक्षित स्थानमा जान नदी तथा खोला किनारमा नबस्न, जोखिमयुक्त स्थान तत्काल छोडी सुरक्षित जान आग्रह गर्नुभयो ।
मुख्यमन्त्रीको रसुवा लगायत जिल्लाबासीलाई सुरक्षित रहन सार्वजनिक अपिल

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिम बढेको भन्दै रसुवा लगायतका जिल्लाका बासिन्दालाई सुरक्षित रहन आह्वान गर्नु भएको छ ।

         उहाँले सेवा रसुवा, धादिङ, गोरखा, नुवाकोट, चितवन आसपास तथा नदी–खोला किनार र तल्लो भूभागका बस्तीमा रहनुभएका सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन हार्दिक अपिल गर्नुभएको छ।

       अपिल गर्दै उहाँले भन्नुभयो, ” विशेषगरी नदी तथा खोला किनारमा नबस्नुहोस्, जोखिमयुक्त स्थान तत्काल छोडी सुरक्षित तथा उच्च स्थानतर्फ सर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको सुरक्षामा विशेष ध्यान दिनुहोस् र आफ्ना परिवार, छिमेकी तथा आसपासका नागरिकलाई समेत तत्काल जानकारी गराउनुहोस्।”

           उहाँले सम्बन्धित स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धारमा खटिएका निकायबाट जारी हुने सूचना र निर्देशनलाई अनिवार्य रूपमा पालना गर्नुहुन अनुरोध गर्दै, जटिल समयमा सतर्कता र सुरक्षित रहन आग्रह गर्नु भयो।

 

आफूलाई लोकतान्त्रिक भन्ने नेपाली कांग्रेस प्रदेशसभा बैठकमा अनुपस्थित हुनु दुर्भाग्य : नेता शालिकराम जम्कट्टेल

हेटौँडा, ९ भदौ । नेकपा बागमती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले नेपाली काँग्रेसले लोकतन्त्रको नारालाई व्यवहारमा लागू गर्न नसक्नु दुर्भाग्य भएको बताउनु भएको छ ।

मंगलबार मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै नेता जम्कट्टेलले बागमती प्रदेशमा कांग्रेसबाट लोकतान्त्रिक व्यवहार नदेखिएको बताउनु भएको हो ।

जम्कट्टेलले भन्नुभयो, ‘आफूलाई लोकतान्त्रिक भन्ने नेपाली कांग्रेस मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनुपस्थित हुनु दुर्भाग्यपूर्ण हो, लोकतन्त्रको लागि लड्यौ, राणा, राजादाई फाल्यौ भन्दै आफूलाई लोकतन्त्रवादी भन्ने नेपाली काँग्रेस लोकतन्त्र जोगाउँने बैठकमा उपस्थित नहुनु राम्रो र सान्दर्भिक विषय होईन, लोकतान्त्रिक चरित्र प्रमुख प्रतिपक्षमा देखिएन ।’

उहाँले नयाँ बनेको सरकारसामु धेरै चुनौती रहेको बताउदै विगतको भन्दा तीव्र गतिमा सरकारले काम गर्दै नयाँपन दिन सक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सरकारसंग चुनौती धेरै छन्, तर काम गर्नुपर्ने छ, यो सरकार कुरा गर्ने होइन, काम गर्ने सरकार बन्नुपर्छ, प्रदेशवासीको थुप्रै चनौती र माग छन्, त्यसैले सरकारले दिने आगामी काम कारबाही र सेवा प्रवाहमा सरकार अब्बल सावित हुनुपर्छ, प्रदेशवासीको चाहना पुरा हुनुपर्छ ।”

यसअघिको दुई पार्टीको सरकार रहने स्थिति नबने पछि बाध्य भएर नयाँ सरकार गठनमा नेकपा लागेको उहाँले बताउदै नेकपा र एमालेको आगामी दिनमा मत कार्यगत एकता गरेर जाने सहमति अनुसार नयाँ सरकार गठन भएको बताउनुभयो ।

केन्द्रमा सरकारको दादागिरी चलेको आरोप लगाउँदै नेता जम्कट्टेलले भन्नुभयो, “केन्द्रमा सरकारको दादागिरी चलिरहेको छ, प्रदेशमा सरकार बन्ने अबस्था छैन, यस्तो बेलामा कि त नयाँ परिस्थितिमा नयाँ सरकार गठन गर्नु पर्यो, कि त प्रदेश सभा विघटन गर्नु पर्यो, प्रदेशको दोश्रो ठूलो दल भएको नाताले प्रदेश सभा जोगाउँन, लोकतन्त्र जोगाउँन र नेकपा तथा एमालेबीचको गत साउन ९ गतेको ३ बुँदे सहमतीको आधारमा नयाँ सरकार गठन गरेका हौ ।”

नेकपा र नेकपा एमाले एक ठाउँमा उभिएर कार्यगत एकताका साथ अघि बढेको बताउदै त्यसैको परिणामस्वरूप बागमती प्रदेशमा संयुक्त सरकार गठन भएको उहाँको भनाइ छ । उहाँले नेकपा, एमाले र राप्रपाबीचको सहमति र समर्थनमा सरकारले विश्वासको मत प्राप्त गर्न सहज भएको र प्रदेश सभा बैठकमा स्पष्ट बहमतको समर्थन रहेको बताउनुभयो ।

 

वर्तमान् सरकार जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको हो : मुख्यमन्त्री किरण थापा मगर

हेटौँडा, ९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले वर्तमान् सरकार जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको बताउन भएको छ ।
मंगलबारको प्रदेश सभामा विश्वासको मतसम्बन्धी छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री थापाले वर्तमान सरकार केवल प्रशासन चलाउनका लागि मात्र नभई जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको बताउनु भएको हो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, ‘सरकारको मुख्य प्राथमिकता विकास, सुशासन र जनसेवामा रहने छ । स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई सरकारले प्रमुख आधारस्तम्भको रुपमा राख्नेछ । सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधारका साथै शिक्षाको गुणस्तर र प्रविधिको प्रयोगमा जोड दिनेछ, किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य र बजार सुनिश्चित गर्ने नीति सरकारले ल्याइने छ ।’

उहाँले गरिब नागरिकले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अब अन्त्य गर्न प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्ने बताउदै किसानलाई केवल अनुदान दिने मात्र नभई उत्पादनदेखि बजारसम्म जोड्ने प्रणाली विकास गरिने बताउनुभयो । प्रदेशभित्रै उद्योग, पर्यटन र सूचना प्रविधिको विकास गरी रोजगारी सिर्जना गर्ने योजना अघि बढाइने भन्दै मुख्यमन्त्री थापाले बागमती प्रदेश संघीय राजधानी समेत रहेकाले यहाँ रहेको आर्थिक गतिविधिका प्रचुर सम्भावनालाइै उपयोगमा ल्याउने बताउनुभयो ।

ग्रामीण र सहरी क्षेत्रको सन्तुलित विकास नै सरकारको लक्ष्य भएको भन्दै उहाँले योजना छनोटमा हुने ढिलासुस्ती र बजेट कार्यान्वयनको फितलोपनलाई सुधार गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्ने प्रणाली विकास गरिने बताउनुभयो ।

गाउँ र सहरबीच सन्तुलित विकास आवश्यक रहेकाले त्यसमा सरकारले ध्यान दिने बताउदै मुख्यमन्त्री थापाले आफ्नो सरकार सत्तापक्षको मात्र नभई बागमती प्रदेशका सबै जनताको सरकार भएको महसुस दिलाउने बताउनुभयो । सरकारलाई जिम्मेवार र प्रभावकारी बनाउन मुख्यमन्त्री थापाले विश्वासको मतलाई केवल संख्याको विषयका रूपमा नलिन आग्रह गर्दै यो प्रदेश र जनताको विकासका लागि दिइएको जिम्मेवारी भएको बताउनुभयो ।  लोकतन्त्रमा प्रतिपक्षको भूमिका अपरिहार्य रहेको र सरकारले रचनात्मक आलोचनालाई सधैँ आत्मसात गर्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले ५७ मत सहित पाए विश्वासको मत

हेटौडा, ९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार बसेको प्रदेशसभामा विश्वासको मत पा्राप्त गर्नु भएको छ । प्रदेशसभा बैठकमा उहाँले माग्नुभएको विश्वासको मतको पक्षमा ५७ मत परेको छ भने बैठकमा उपस्थित ५८ प्रदेशसभा सदस्यमध्ये एक जना मतदानमा सहभागी नभएको जनाइएको छ।

बागमती प्रदेशसभामा हाल १०४ सभा सदस्य कायम रहेकोमा ५८ जना सदस्यले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका हुन् । विश्वासको मतको विपक्षमा शून्य र तटस्थ शून्य मत रहेको छ ।

मुख्यमन्त्री थापालाई नेकपा एमाले, नेकपाका सबै प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात जना सदस्यले विश्वासको मत दिनुभएको छ । नेपाली कांग्रेस लगायत विपक्षी दलका प्रदेश सभा सदस्इहरु भने बैठकमा अनुपस्थिति रहेका थिए ।

बागमती प्रदेशसभामा नेकपा एमालेका उपसभामुखबाहेक २४, नेकपाका २६, राप्रपाका १२, नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन्। बैठकको अध्यक्षता गर्नु भएको उपसभामुख भने मतदानमा सहभागि हुनु भएन ।

नेपाली कांग्रेसले भने सरकार गठनको प्रक्रिया सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन नहुने भन्दै प्रदेशसभा बैठक बहिष्कार गरेको हो।