सहकारी संस्था धेरै खोल्ने भन्दा सक्षम र शेयर सदस्यको हितमा काम गर्ने सहकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिन्छ : मुख्यमन्त्री किरण थापा मगर

हेटौडा, १४ असोज । वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले सहकारी संस्था धेरै खोल्ने भन्दा सक्षम र शेयर सदस्यको हितमा काम गर्ने सहकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिने बताउनु भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था ( नेफ्स्कून) ले आज चितवनमा आयोजना गरेको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले केही सहकारी संस्थामा देखिएका विकृतिलाई आधार बनाएर सम्पूर्ण सहकारी अभियानलाई एउटै दृष्टिले हेर्न नमिल्ने उहाँले बताउनुभयो ।

सहकारीको अवधारणा आफैँमा महत्वपूर्ण आर्थिक–सामाजिक अवधारणा भएको भन्दै उहाँले समस्या जहाँ छ, त्यहाँ सुधार गर्नुपर्छ; कमजोरी जहाँ छ, त्यहाँ नियमन गरेर सुशासन बलियो बनाउनु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “सरकार सहकारीको दैनिक कारोबार चलाउने संस्था होइन तर आवश्यक कानुनी व्यवस्था गर्ने, नियमनलाई प्रभावकारी बनाउने, संस्थागत क्षमता विकासमा सहयोग गर्ने र सहकारी क्षेत्रलाई सुरक्षित तथा व्यवस्थित रूपमा सञ्चालन हुने वातावरण बनाउने जिम्मेवारी सरकारको हो । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्ने आवश्यकता छ ।”

मुख्यमन्त्री थापाले भन्नुभयो, “सहकारी ऐनले बचत तथा ऋणको कारोबार गर्ने सहकारीका लागि व्यवस्था गरेको मापदण्ड र निर्देशनलाई व्यवहारमा कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा साझा धारणा निर्माण गर्नुपर्ने आजको आवश्यकता छ । नियम बनाउनु मात्र पर्याप्त हुँदैन; त्यसको व्यवहारिक कार्यान्वयन, संस्थाको क्षमता र सदस्यहरुबीच सन्तुलन पनि कायम गर्नुपर्छ ।”

उहाँले सदस्यको बचत सुरक्षित हुने, संस्थाको कारोबार पारदर्शी हुने, सञ्चालक उत्तरदायी हुने, व्यवस्थापन व्यावसायिक हुने र सदस्यले आफ्नो संस्थाको वास्तविक वित्तीय अवस्था बुझ्न सक्ने वातावरण निर्माण गर्न सके सहकारीले अवश्य पनि आर्थिकरुपमा जीवनस्तर उकास्न मद्दत पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म विशेषगरी नेफ्स्कूनलाई आग्रह गर्न चाहन्छु नियमन र मापदण्डको कुरा गर्दा समस्या परेका संस्थालाई मात्र हेर्ने होइन, समस्या आउन नदिने प्रणाली विकास गर्नेतर्फ पनि ध्यान दिनुपर्छ । जोखिम पहिचान, वित्तीय अनुशासन, संस्थागत सुशासन, सञ्चालक तथा कर्मचारीको क्षमता विकास, प्रविधिको प्रयोग र सदस्यको वित्तीय साक्षरता जस्ता विषयमा नेफ्स्कूनले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । सहकारी संस्थाहरुमा देखिएका समस्याहरुलाई छाता संगठनका रुपमा रहेको नैफ्स्कुनले समाधान गर्ने एवम् समस्या आउन नदिने बाटोतर्फ लाग्नुपर्दछ ।”

सहकारीको मर्म भनेको सामूहिकता हो, सहकार्य हो, पारस्परिक विश्वास हो भन्दै उहाँले एउटा व्यक्तिको पूँजीले गर्न नसक्ने काम धेरै मानिसको सानो–सानो पूँजी एकत्रित गरेर गर्न सकिन्छ भन्ने मान्यताबाट सहकारी जन्मिएको बताउनुभयो । सहकारी संस्था सदस्यको बचत संकलन गर्ने र ऋण दिने ठाउँ मात्र नभई यो सदस्यको आर्थिक सुरक्षा, सामाजिक सम्बन्ध र सामूहिक समृद्धिसँग जोडिएको संस्था भएको बताउनुभयो ।

पछिल्ला दिनमा सहकारी क्षेत्रमा केही गम्भीर प्रश्नहरू उठेको सन्दर्भ कोट्याउँदै उहाँले केही संस्थामा देखिएका वित्तीय अपचलन, अनुशासनका समस्या, बचतकर्ताको रकम परिचालनमा देखिएको कमजोरी, ऋण लगानीमा पारदर्शिताको अभाव, सञ्चालक र व्यवस्थापनबीचको स्वार्थको द्वन्द्व, शेयर सदस्यलाई पर्याप्त सूचना नदिने प्रवृत्तिले समग्र सहकारी अभियानप्रतिको विश्वासमा असर पर्न थालेको बताउनुभयो ।

अहिले वागमती प्रदेशमा आएको प्राकृतिक महाविपत्तिको पीडालाई बिर्सन नसकिने बताउदै मुख्यमन्त्री थापाले भन्नुभयो, “भोटेकोशीमा आएको बाढीले जनधनमा पु¥याएको क्षतिले हामीलाई विपद्को समयमा राज्य र समाजका सबै संस्थाहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने सम्झाएको छ । विपद् आउँदा सबैभन्दा पहिले प्रभावित हुने मानिस सामान्य नागरिक नै हो । घर जान्छ, व्यवसाय जान्छ, आम्दानी रोकिन्छ र उसले लिएको ऋण तिर्ने क्षमतासमेत प्रभावित हुन सक्छ भने ब्यक्तिको ज्यान पनि जान्छ । यस्तो अवस्थामा सहकारीले आफ्नो सदस्यलाई केवल ‘ऋणी’ को रूपमा मात्र नहेरी संकटमा परेको सदस्य र परिवारको एक हिस्सा हो भन्ने भावनाबाट हेर्नुपर्छ । विपद् प्रभावित सदस्यका लागि आवश्यकताअनुसार ऋण पुनर्संरचना, भुक्तानीमा सहजीकरण, वित्तीय परामर्श तथा सम्भव सहयोगका उपायहरूबारे सहकारी क्षेत्रले सोच्नुपर्छ ।”

महाविपत्तिमा नेफ्स्कूनको भूमिका अझ महत्वपूर्ण हुन्छ भन्दै उहाँले एउटा संस्था आफैँले समस्या समाधान गर्न नसक्ने अवस्थामा सहकारीको छाता संस्थाले समन्वय, प्राविधिक सहयोग, जोखिम व्यवस्थापन र आवश्यक सहजीकरण गर्न सक्ने व्यवस्था विकास गर्नुपर्ने बताउनुभयो ।

विपद्का कारण समस्यामा परेका परिवारलाई राज्यका निकायसँगै समाजका सबै जिम्मेवार संस्थाहरूले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउदै उहाँले सहकारी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने यो एउटा महत्वपूर्ण अवसर भएको र आफूले सकेको सहयोग पनि सहकारी क्षेत्रले गर्न आव्हान गर्नुभयो ।
सहकारी संस्थाहरूले पनि आफ्ना सदस्यलाई विपद् तथा संकटबाट सुरक्षित राख्ने आन्तरिक प्रणाली निर्माण गर्नुर्नेमा जोड दिनुभयो ।

सहकारीको पूँजी कहाँ परिचालन भइरहेको छ ? बचत संकलन गरेर सीमित व्यक्ति वा सीमित क्षेत्रमा अत्यधिक जोखिम लिएर लगानी गर्ने होइन भन्दै उहाँले सहकारीको पूँजी सदस्यको आय र उत्पादन बढाउने क्षेत्रमा जानुपर्ने बताउनुभयो ।

कृषि, पर्यटन, साना तथा मझौला व्यवसाय, स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनासँग सहकारीको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
सहकारीलाई राजनीतिक, व्यक्तिगत वा सीमित समूहको स्वार्थभन्दा माथि उठाएर सदस्यको हित र संस्थाको दीर्घकालीन स्थायित्वसँग जोड्नु पर्ने बताउदै उहाँले सहकारीको वास्तविक पूँजी केवल पैसा नभई सदस्यको विश्वास भएको बताउनुभयो ।

पैसा फेरि कमाउन सकिन्छ, तर एकपटक गुमेको विश्वास पुनः स्थापित गर्न धेरै कठिन हुन्छ भन्दै उहाँले सहकारीमा पारदर्शिता बढाउने, वित्तीय अनुशासन कायम गर्ने, जोखिम व्यवस्थापन बलियो बनाउने, सदस्यको सहभागिता सुनिश्चित गर्ने, सञ्चालक र व्यवस्थापनको क्षमता बढाउने र सहकारीको पूँजीलाई उत्पादन तथा रोजगारीसँग जोड्ने कार्य निरन्तर गर्नुपर्ने बताउनुभयो ।

Disqus comments are not configured yet.

दशैं तिहार लक्ष्ति गर्दै आईरा इन्टरप्राईजेजले भक्तपुरको जगातीमा खोल्यो होण्डाको नयाँ शोरुम

भक्तपुर १४ असोज । नेपालीहरुको महान चाँड दशै, तिहार नजिकिदै गदा भक्तपुरका जगातीमा भने आज दशै तिहार लक्षित गर्दै आईरा इन्टरप्राईजेजले बुधबार होण्डाको नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ ।

भक्तपुरको प्रमुख व्यापारिक केन्द्र जगाती चोकमा अत्याधुनिक प्रविधिसहितको होण्डाको नयाँ आधिकारिक शोरुम आजबाट सञ्चालनमा ल्याएको ईन्टरप्राइजेजका प्रमुख नविन प्रजापतिले जानकारी दिनुभयो ।

व्यवसायी प्रजापतिले भक्तपुरदेखि पूर्वतर्फका ग्राहकलाई लक्षित गरि होण्डा शेरुम सञ्चालनमा ल्याएको बताउदै यहाँ होण्डाको बाईक तथा स्कुरटर लिदाँ एक लाखसम्मको डिस्काउण्ट कुपन र आकर्षक गिफ्ट ह्या्म्पर प्रदान गरिने बताउनुभयो । उपभोक्ताको हित र सबै वर्गका ग्राहकले यसको उपयोग गर्न सकुन भनेर सहज फाइनास्न्को समेत व्यबस्था गरेको उहाँले जानकारी दिनुभयो ।

शोरुमले ग्राहकलाई गुणस्तरीय र नागरिकमैत्री सेवा दिने बताउदै प्रमुख नवीन प्रजापतिले भने “हामीले केवल व्यापार मात्र नभई ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अन्य शोरुमभन्दा फरक र सहज ढङ्गले सेवा दिने लक्ष्य राखेका छौँ,”।

करिब दुई करोड ५० लाखको लगानीमा सञ्चालनमा आएको होण्डा शोरुमले आफ्ना उपभोक्तालाई सहज होस भन्दै शोरुप भएकै भवनमा सर्भिसिड र कम्पनीको ब्राण्डेड पार्टस् उपलब्ध गराएको आईरा इन्टरप्राइजेजका म्यानेजिड डाइरेक्टर आयेस प्रजापतिले जानकारी दिनुभयो । यस शोरुमबाट होण्डा ब्राण्डका दुईपाङ्ग्रे सवारी साधनको बिक्री वितरणका साथै दक्ष प्राविधिकमार्फत मर्मत सम्भार र सर्विसिङ सुविधा प्रदान गरिने भएको छ।
​

​नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले नयाँ बिक्री केन्द्र सञ्चालनसँगै अब भक्तपुर र आसपासका बासिन्दालाई सवारी साधन खरिद तथा पार्टपुर्जाका लागि काठमाडौँसम्म धाउनुपर्ने बाध्यता हट्ने बताए। उनले होन्डाका नयाँ मोडल तथा जेनुइन पार्ट्सहरू सर्वसुलभ मूल्यमा जगातीबाटै उपलब्ध हुने जानकारी दिए।
​

नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी) को माग बढ्दै गएको सन्दर्भमा आगामी दिनमा होन्डाले ईभी मोडलहरू भित्र्याएमा यसै शोरुममार्फत बिक्री वितरण गरिने सञ्चालकहरूले जनाएका छन्। अरनिको राजमार्गसँगै जोडिएको जगाती चोकमा रहेको यो शोरुमबाट भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र ललितपुरका सेवाग्राहीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

बागमती प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्दै मुख्यमन्त्री किरण थापाले भन्नुभयो : अबको दुई सय दिन विकास निर्माणमा तीव्रता दिनुस्

हेटौँडा, १३ असोज । वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा मंगलबार आयोजित कार्यक्रममा आठ मन्त्रीसंग कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारका आठ मन्त्रीसँग आर्थिक वर्ष २०८३÷८४ का लागि एक वर्षे कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।
मुख्यमन्त्री थापा मगरले मन्त्रालयबाट सम्पादन गर्नुपर्ने काम, कार्यक्रम तथा आयोजनालाई निर्धारित समयसीमा र गुणस्तरअनुसार सम्पन्न गर्ने प्रतिबद्धतासहित मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा मगरले चालु आर्थिक वर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै अबको करिब दुई सय दिन विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो । दुई दिनको सार्वजनिक बिदाका कारण काम गर्ने समयसमेत सीमित रहेकाले विकाससँग सम्बन्धित मन्त्रालयले काममा ढिलासुस्ती गरे वार्षिक प्रगति हासिल गर्न कठिन हुने उहाँले बताउनु भयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “अब हाम्रो काम गर्ने भनेको मोटामोटी दुई सय दिन हो । विकासकै मन्त्रालयहरूमा काममा ढिलासुस्ती ग¥यौँ भने यो वर्षको प्रगति देखाउन सक्दैनौँ, त्यसैले निर्धारित समयमा सबैले काम सक्नु पर्छ ।”

उहाँले मन्त्रालयअन्तर्गतका कार्यालय प्रमुख तथा कर्मचारीलाई बजेटमा समावेश कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना बनाएर छिटोछरितो रूपमा काम गर्न निर्देशन दिनुभयो । मन्त्री, सचिव तथा कार्यालय प्रमुखहरूले आफू मातहतका कार्यक्रमको नियमित समीक्षा गर्दै देखिने गरी परिणाममुखी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ तथा प्रदेश सुशासन नियमावली, २०७७ को नियम ९ बमोजिम नतिजा सूचकमा आधारित भएर कार्यसम्पादन सम्झौता गरिएको प्रदेश हो । निश्चित अवधिभित्र काम सम्पन्न गर्नुपर्ने, निश्चित परिणाम हासिल गर्नुपर्ने तथा प्रदेश सरकारका प्राथमिकताका कार्यक्रम र आयोजना कार्यान्वयन गर्नुपर्ने अवस्थामा कार्यसम्पादन सम्झौता गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।

सम्झौताअनुसार प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा समावेश कार्यक्रमलाई निर्धारित समयमै कार्यान्वयन गर्नुपर्नेछ भने प्रगति विवरणसमेत सम्बन्धित निकायमा नियमित रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्यसम्पादन सम्झौता गर्ने मन्त्रीहरूमा नेकपा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी र बिनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ, नेकपाबाट आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेल तथा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगर रहनुभएको छ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री राजु विष्ट, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ तथा उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले पनि मुख्यमन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।

गत भदौ ४ गते नेकपा एमाले, राप्रपा र नेकपा सहभागी नयाँ संयुक्त सरकार गठन भएको थियो । वाग्मती प्रदेशमा अघिल्ला सरकारका पालादेखि नै मुख्यमन्त्री, मन्त्री तथा प्रमुख सचिवबीच कार्यसम्पादन सम्झौता हुँदै आएको छ ।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले संघीय सरकारसँग समन्वय गर्न कठिनाइ भोगिरहेका छन् : मुख्यमन्त्री थापा मगर

चितवन, १३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले संघीय सरकारसँग समन्वय गर्न कठिनाइ भोगिरहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति चितवनद्वारा आयोजित स्थानीय तह तथा जिल्लास्थित सरकारी कार्यालयहरूको कामको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापामगरले भोटेकोसी बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणका क्रममा संघीय सरकारसँग आवश्यक समन्वय हुन नसकेको बताउनुभएको हो ।

मुख्यमन्त्री थापामगरले भन्नुभयो, “बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले संघीय सरकारका प्रतिनिधिसँग समन्वयका लागि सम्पर्क गर्न खोज्दा समेत सहज पहुँच नपाएको गुनासो गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिहरूले समन्वयका लागि संघीय सरकारका प्रतिनिधि नभेटेपछि आफूलाई नै समन्वय गरिदिन अनुरोध गर्नुभएको छ।”

बाढी प्रभावित क्षेत्रको अवस्था सामान्य बनाउन प्रदेश सरकारले तीव्र गतिमा काम गरिरहेको उहाँले बताउनुभयो। भोटेकोसी बाढीका कारण त्रिशूली नदी वारिपारि सम्पर्क विच्छेद भएका क्षेत्रमा तत्कालका लागि ७ वटा तुइन सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो।

त्यस्तै, प्रभावित क्षेत्रमा यातायात तथा आवागमन सहज बनाउन २ वटा बेलिब्रिज र ५ वटा झोलुङ्गे पुल निर्माणको प्रक्रिया अघि बढाइएको मुख्यमन्त्री थापामगरले बताउनुभयो। उहाँका अनुसार द्रुत प्रक्रियाबाट ठेक्का सम्झौता गरी ती संरचनाको निर्माण अघि बढाउने तयारी भइरहेको छ।

राहत तथा पुनर्स्थापनाका लागि प्रदेश सरकारले बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई समेत आर्थिक सहयोग गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। प्रदेश सरकारले मृतकको किरिया खर्चबापत प्रतिव्यक्ति २५ हजार रुपैयाँ र मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ स्थानीय तहमार्फत उपलब्ध गराउने निर्णय गरेको उहाँको भनाइ छ।

प्राकृतिक विपत्तिको कठिन अवस्थामा सबै तहका सरकार र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले चितवनका स्थानीय तहहरूलाई समेत बाढीबाट अति प्रभावित पालिकाहरूलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

 

बागमती प्रदेशको मुख्यमन्त्री किरण थापाद्वारा रत्ननगर बकुलहर अस्पताल अनुगमन एवम् सम्मान

चितवन, १३ असोज। बागमती प्रदेशका किरण थापाद्वारा आज बागमती प्रादेशिक रत्ननगर बकुलहर अस्पतालको अनुगमन गरी अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा सेवा विस्तारका विषयमा जानकारी लिनु भएको छ।

अनुगमनका क्रममा नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको उहाँले बताउनु भयो। अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक स्रोत, साधन तथा पूर्वाधारको उचित व्यवस्थापन गर्दै अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिएको उहाँले बताउनु भयो ।

यस अवसरमा अस्पतालको सेवा प्रवाह र स्वास्थ्य क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई सम्मान गरिएको छ। सम्मानले कर्मचारीहरूको समर्पण, मेहनत र सेवाभावले नागरिकको स्वास्थ्य सेवाप्रतिको विश्वास अझ मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याएको उहाँले बताउनु भयो ।

स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्दै स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि र सेवा गुणस्तर सुधारमार्फत ‘स्वस्थ नागरिक, समृद्ध बागमती’ निर्माणको अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने मुख्यमन्त्री थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्राथमिकताका आधारमा बागमती प्रदेश सरकारले अस्पतालहरूको स्तरोन्नति, जनशक्ति व्यवस्थापन, उपकरण थप र सेवा विस्तार गर्दै लगेको बताउनुभयो।

जनशक्तिको कमी र पर्याप्त ठाउँ÷भवनको अभावले गर्दा सोचे अनुसार पूर्ण रूपमा सेवा विस्तार गर्न समस्या भइरहेको, बकुलहर रत्ननगर अस्पतालको नया भवन निर्माणको म्याद सकिँदा पनि काम पुरा नगर्ने र सम्पर्कमा नआउने निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानुनी कारबाही तथा बैङ्क ग्यारेन्टी रोक्ने प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो।

उपचारका लागि अन्य जिल्ला धाउनु नपरोस् भन्नाका खातिर अस्पतालहरूमा विशिष्टीकृत र विशेषज्ञ सेवाहरू विस्तार गर्ने स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकतामा स्वास्थ्य चौकीको रूपमा रहेको यो अस्पताल प्रादेशिक अस्पताल बनेपछि दैनिक औसतन १२ सयसम्म बिरामी आउने गरेको बताउनुभयो। सामान्य घटनालाई लिएर अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात नगर्न तथा त्यस्ता कार्यलाई समाजका बुद्धिजीवी र जनप्रतिनिधिहरूले सहजीकरण गरिदिन अनुरोध गर्नुभयो।

सिटी स्क्यानको आवश्यकतालाई महसुस गर्दै यसपालि बजेट व्यवस्थापन र जोड दिन मन्त्री आफैँ लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्वास्थ्य मन्त्रालयलाई भर्चुअल÷डिजिटल सेवामा लैजान डिजिटल एप्स, अनलाइन टिकट, र इलेक्ट्रोनिक मेडिकल रेकर्ड (भ्ःच्) मार्फत ’पेपरलेस’ बनाउने सुरुवात भइसकेको बताउनु भयो ।

बागमती प्रदेशका प्रादेशिक अस्पतालहरूमा टेलीमेडिसिन सेवा सुरु गरिएको बताउदै उहाँले ३९६ वटा आधारभूत अस्पतालहरूमा जनशक्ति र उपकरणको कमीलाई सम्बोधन गर्न हेटौँडा, भक्तपुर र सिन्धुली अस्पताललाई ’टेलीमेडिसिन हब’ बनाएर २४ सै घण्टा परामर्श सेवा दिने व्यवस्था मिलाइएको बताउनुभयो।

हाल बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रमा ४.५ प्रतिशत मात्र बजेट विनियोजन भएको र डब्लुएचओ (WHO) को मापदण्ड अनुसार १० प्रतिशत पु¥याउन आगामी बजेटमा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइने बताउँदै उहाँले प्रदेशका सरकारी अस्पतालहरूमा बिरामीको चाप र विश्वास बढेकाले स्वास्थ्य सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन बागमती प्रदेश सरकार निरन्तर र दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री किरण थापा मगर बाढीपीडितलाई साथ दिन जब नदी किनारामा पुगे

चितवन, १३ असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारलाई धैर्य गर्न आग्रह आग्रह गर्नु भएको छ ।
चितवनमा नारायणी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको आज बिहानै अवलोकन गर्दै बाढीपीडित परिवारलाई धैर्य गर्न आग्रह गर्दै प्रदेश सरकार पीडितको साथमा रहेको बताउनु भएको हो ।

मुख्यमन्त्री थापा मगरले तत्काल उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । उहाँले बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै राहतपछि पुनर्निर्माणको कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो ।

मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “प्रदेश सरकार बाढीपीडित जनताको साथमा छ, हामी उद्धार, राहत वितरण र पुर्नस्थापनामा लाग्छौ । नारायणी नदीबाट हुने दीर्घकालीन क्षतिको समाधानका लागि पनि संघीय सरकारसँग आवश्यक समन्वय गरी काम अघि बढाउने छौं, त्यसका लागि आवश्यक योजना तथा संरचनागत पहल गर्नेछौं ।”

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन छुट्टै प्राधिकरण गठन गरेर काम गर्ने तयारीसमेत गरिरहेको बताउदै मुख्यमन्त्री थापा मगरले बाढी प्रभावित नागरिकको उद्धारदेखि सुरक्षित स्थानान्तरण, राहत वितरण र त्यसपछि पुनर्निर्माणसम्मका कार्यमा प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

मुख्यमन्त्री थापाद्धारा जिब्रो छेड्ने श्रेष्ठलाई रु. दुईलाख सहित सम्मान प्रदान
भक्तपुर, ११ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मध्यपुरथिमिमा आयोजना गरिएको जिब्रो छेड्ने जात्रामा पाँचौ पटक जिब्रो छेड्ने नगद रु. दुई लाख सहित सम्मान गर्नु भएको छ ।
जात्राको अवसरमा थिमिमा आयोजित कार्यक्रममा उहाँले वीरेन्द्र कसजु श्रेष्ठलाई ऐतिहासिक जिब्रो छेड्ने जात्राको संरक्षणका लागि एवं जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप प्रदेश सरकारले प्रदान गरेको रु. २ लाख रकम सहित उहाँले सम्मान गर्नु भएको हो ।
श्रेष्ठलाई मुख्यमन्त्री थापाले नगदसहित सम्मान पत्र प्रदान गर्नु भयो भने प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री थापाले ऐतिहासिक, कला, संस्कृति, मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, जात्रा, पर्वको संरक्षणका लागि प्रदेश सरकारले समन्वय र सहयोग गर्ने बताउनु भयो ।
उहाँले ऐतिहासिक सम्पदा, पर्व, जात्राले पर्यटकलाई आकर्षित गर्न सक्नु पर्ने भन्दै प्रदेश सरकारले भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको हव बनाउन बजेटको व्यबस्था गरेको बताउनुभयो ।
मुख्यमन्त्री थापा र पर्यटनमन्त्री प्रजापतिद्धारा शंखधर साख्वाः संग्रहालयको अवलोकन
भक्तपुर, ११ असोज : मुख्यमन्त्री किरण थापा र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले आज राष्ट्रिय विभूति शंखधर साख्वाः संग्रहालयको अवलोकन गर्नु भएको छ ।
मध्यपुरथिमि शंखधर चोकस्थित राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले सञ्चालन गरेको संग्रहालयको उहाँले अवलोकन गर्दै साख्वाःको योगदानकाबारेमा जानकारी लिनु भएको थियो । मुख्यमन्त्री थापाले शंखधर साख्वाःको योगदानलाई देशभर फैलाउँदै नेपाल संम्वत समग्र नेपालीहरुको सम्वत भएको प्रचार गर्नु आवश्यक रहेको बताउनुभयो ।
मन्त्री प्रजापतिले नेपाल सम्बत र शंखधर साख्वाःको योगदानको संचालित गतिविधि चासो दिनु भएको थियो । अवालेकनमा प्रतिनिधि सभा सदस्य मदनकृष्ण श्रेष्ठ र प्रदेश पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीलगायतलाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम प्रजापतिले शंखधर साख्वाःको योगदानकाबारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले तीन तहकै सरकारले साख्वाःको संग्रहालयको बिस्तार गर्न र देशभर साख्वाःको योगदानलाई पुर्याउन सहयोग गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री थापाद्धारा घट्टे खोलाको बाढीले स्थलगत अबलोकन, क्षति रोक्न तत्काल रु. दुई करोड दिने प्रतिबद्धता
भक्तपुर, ११ असोज : आज बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विगत तीन दिनदेखि अविरल परेको वर्षाका कारण जोखिममा परेको बस्तीको स्थलगत निरीक्षण गर्नु भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.४ र ५ को सिमानाबाट बग्ने घट्टे खोलामा आएको बाढीले जमिन कटान गरि बस्ती जोखिममा परेपछि प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उहाँले विपद रोक्न तत्काल प्रदेश सरकारले दुई करोडको बजेट व्यबस्थान गर्ने बताउनु भएको छ ।
स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले बाढीबाट प्रभावित तथा कटान भएका क्षेत्रको अवस्थाबारे जानकारी लिदै विपद्का कारण उत्पन्न जोखिमलाई तत्काल सम्बोधन गर्न आवश्यक संरक्षण तथा व्यवस्थापनका काम अघि बढाइने बताउनुभयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “प्रभावित क्षेत्रको तत्काल संरक्षण तथा आवश्यक व्यवस्थापनका लागि बागमती प्रदेश सरकारको विपद् कोषबाट रु. २ करोड बजेट व्यवस्थापन गर्नेछौं । विपद्को समयमा नागरिकको सुरक्षा, जोखिम न्यूनीकरण तथा आवश्यक पूर्वाधारको संरक्षणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेकाले क्षति रोक्न तत्काल आवश्यक कदम चाल्नेछौं ।”
बाढी तथा कटानको अबस्थाबारे सूर्यविनायक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजकुमार जोशीले जानकारी गराउँनु भएको थियो ।
१५ परिवारको ९२ जनाको उद्धार, भत्तःपुर काठमाडौं जोड्नु मनोहरा पुल भासिएसंगै यातायात बन्द,  ताथली सडक पहिरो पन्छाएपछि सूचारु
भक्तपुर, ९ असोज : दुईदिनदेखि अबिरल परेको वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढीका कारण जोखिममा परेको खोला किनारामा टहरामा बस्ने १५ परिवारलाई उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ ।
बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेकाहरू १५ परिवारको ९२ जनालाई उद्धार गरि कौशल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणी स्थल पनि हो ।
भक्तपुर काठमाडौं जोड्न पुल भासियो, यातायात बन्द :
त्यसैगरि भक्तपुरको बोडे र काठमाडौँको मुलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिए पछि यातायाको साधनलाई आवतजावतमा रोक लगाएको छ ।
निरन्तर परेको वर्षाको कारण मनोहरा खोलामा आएको बाढीबाट सडकको जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले जानकारी दिनुभयो ।
बाढीको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कालगायतको टोलीले हुनमन्ते खोला, मनोहरा खोलालगायतको बहाब बढेपछि अनुगमन गरेको थियो । मनोहरा पुलको समेत अनुगमन गर्दा पुलको क्षेत्र भासिए पछि यातायातमा रोक लगाएको हो ।
अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बढेपछि आवागमनमा समस्या आएको छ ।
भक्तपुर काभ्रे जोड्ने सडक खूल्यो :
त्यसैगरि अविरल वर्षाका कारण भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुदै काँभ्रेको नाला बनेपा जोड्ने सडकको यातायात आवागमन सुचारु भएको छ । वर्षाका कारण आएको पहिरोले सडक अबरुद्ध भएपछि बिहानदेखि च्यामासिंह ताथली नाला सडकमा यातायातको साधन आवागमन रोकिएको थियो ।
आज प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी प्रमुख खड्कालगायतको टोलीले उक्त सडकको अनुगमन गरि डोजरले पहिरो पन्छाउन लगाएर सडकमा यातायात सुचारु गरेको हो ।