दिवा खाजा खाँदै विद्यार्थी

बेनी पुस म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा रहेको धवलागिरि आधारभुत विद्यालयमा दिवा खाजा खाँदै विद्यार्थी । सरकारी तवरबाट कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा निःशुल्क खुवाउने व्यवस्थाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका खुसी भएका छन् ।

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

काठमाडौँ, ११ पुस : गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेख्नुभएको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ । विसं २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक एवं संस्थागत विद्यालयमा निःशुल्क वितरण अभियान सुरु गर्नुभएको हो ।

यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा शनिबार आयोजना गरिएको पुस्तक हस्तान्तरण कार्यक्रममा प्रकाशक थापाले नगरपालिकाको वडा नं ४ का विद्यालयका लागि आवश्यक पुस्तक वडाध्यक्ष श्रीकुमार श्रेष्ठलाई दिनुभएको छ । हजुरबाले लेख्नुभएको पुस्तक आफूले नौ वर्षको उमेरमा पढेको उल्लेख गर्नुहुँदै प्रकाशक थापाले पुस्तकले आफूलाई अहिलेसम्म पारेको प्रभावका आधारमा माध्यमिक तहका विद्यार्थीले अध्ययन गर्ने अवसर पाऊन् भनी प्रकाशन गरेर निःशुल्क वितरण गरिएको सुनाउनुभयो । कार्यक्रममा यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, वडाध्यक्ष श्रेष्ठलगायतले सानै उमेरदेखि बालबालिकामा नैतिक ज्ञानको विकास गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

पहिलो चरणमा नगरपालिकाका सबै विद्यालयमा पाँच–पाँच प्रति पुस्तक दिएर पुस्तकालयमा राखिने छ । अध्ययन गर्न चाहने विद्यार्थीले ती पुस्तकबाट लाभ लिन सक्ने जनाइएको छ । रामायणको लामो कथाबाट बालबालिकाका लागि उपयुक्त मुख्य–मुख्य विषय समेटेर ९२ पृष्ठमा तयार पारिएको पुस्तक उपयोगी रहेको भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्य बताउनुहुन्छ ।

बालबालिकालाई नैतिक पक्ष सिकाउन पुस्तक उपयोगी रहेको उहाँले सुनाउनुभयो । नगरपालिकामा सामुदायिक १७ र संस्थागत ९८ गरी ११५ वटा विद्यालय छन् । नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरे पनि कोरोनाकालपछि यो पुस्तकको पढाइ नै बन्द भएको विद्यार्थीको गुनासो छ । नगरपालिकाले देशमै पहिलोपटक स्थानीय पाठ्यक्रम लागू गरेको दाबी गरेको थियो ।

आमाबुबाबाट अलग्गिएका बालबालिका निकृष्ट प्रकारको श्रम गर्न बाध्य

दाङ, ११ पुस : तुलसीपुर उपमहानगरपालिका–६ की रेखा चौधरी १२ वर्षको पुगिन् । अहिले उनलाई आफू र आफ्नो १० वर्षीया बहिनी रेणुका चौधरीलाई कसरी पालनपोषण तथा पढाइको खर्च जुटाउने भन्ने चिन्ताले पीरोलिरहेको बताउँछिन् । घरखर्च चलाउन र बहिनीलाई पढाउन उनले बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसोको समयमा विद्यालयमा पढन जाने गरेको उनी बताउँछिन् । बाबुको घर दङगीशरण गाउँपालिकाको मिरौली गाउँमा छ भन्ने सुनेकी छु, तर बाबु कहाँ छन् के गर्छन् भन्ने थाहासमेत नभएको बताउने उनी आमाले आफूहरु सानै छँदा दोस्रो विवाह गरी गएको भन्छिन् । उनले भनिन्, “आमालाई बाबुले हामी सानै हुँदा सधँै गाली गर्ने, कुपटपिट गर्ने, गरिबकी छोरी भन्दै हेला गर्न थालेपछि बाबुको यातना सहन नसकेर सम्बन्धविच्छेद गरी १० वर्ष पहिले दोस्रो बिहे गरी गएकी छिन् ।”

आमाले दोस्रो विवाह गर्नुभयो, आफूहरुलाई केहीसमयसम्म सोही घरमासँगै राख्नुभयो तर कान्छो बुबाका आमा बाले अर्काका सन्तानलाई किन पाल्ने भन्दै आमा गीता चौधरीलाई सधैँ गाली गर्न थालेपछि आफू त्यहाँबाट निक्लेर आएको उनी बताउँछिन् । “केही दिनसम्म सडकका गल्लीमा रातदिन बितायांै अनि काम खोज्दै गर्दा तुलसीपुर उपमहानरपालिका–६ को एक घरमा गयांै । त्यही घरको आन्टीले खान बस्न दिनुभयो”, उनले भनिन्, “आमाले त्यहाँ भएको जानकारी पाएपछि घरपरिवारलाई थाहा नदिएर भेट्न आउनुहुन्थ्यो । कहिले कपडा, कहिले खाने कुरा ल्याईदिनुहुन्थ्यो ।” दुई हप्तासम्म त्यही घरमा बस्यौं, घरबेटी आन्टीले तिमीहरु पढ्न जानुपर्छ, तिम्रो आफन्त कहाँ छन् भनि सोधीखोजी गरी मामाघरको हजुरआमालाई भेटाइ दिनुभयो । त्यसपछि हजुरआमालाई बोलाएर सम्झाएर हामीलाई जिम्मा लगाउनुभयो उनले भनिन् । हजुरआमा देशनी चौधरीले र मैले अहिले मजदूरी गरेर पैसा ल्याउँछौं, त्यसैबाट दाल, चामल नूनतेल किनेर खान्छांै ।

हजुरआमा ७० वर्षकी हुनुहुन्छ । उहाँले दिनभरी अरुको घरमा मजदूरी गर्नुहुन्छ । मैले भने बिहानबेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसो पढन स्कुल जाने गरेकी छु उनले भनिन् । रेखाले तुलसीपुरमा रहेको एक सरकारी स्कुलमा कक्षा ४ मा पढ्छिन् भने बहिनी रेणुकाले पनि सोही विद्यालयमा कक्षा ३ मा अध्ययन गरिरहेकी छन् । उनकी हजुरआमा देशनी चौधरीले तुलसीपुर उपमहानरपालिका–१२ को भुतेडाँडा भन्ने ठाउँमा रहेको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बसेकी छन् । आफ्नो दुःखेसो पोख्दै देशनीले भनिन्, “मैले छोरीलाई सानैमा बिहे गरिदिए, धन सम्पत्ति थिएन र पढन पनि पाइन, श्रीमान् र घरपरिवारले त गरिबकी छोरी भन्दै दिनहुँ हेला गर्ने र खान नदिई कुटपिट गर्न थालेपछि छोरीले त्यो सहन नसकेर माइतीमा आएर बसी । अनि सम्बन्धविच्छेद गरी दोस्रो विवाह गरेर गई भनिन् । अहिले मलाई दुईवटी नातीलाई कसरी पढाउ र के खुवाउ भन्ने समस्या छ । त्यस्तै दुबै नातीनीको जन्मदर्ता नहुँदा समस्या भएको छ । स्कुलका सर मेडमले जन्मदर्ता नभएपछि नाम लेखाइ दिन्नौं भन्नुहुन्छ भन्दै उनले नातीनीहरुले घर आएर भन्छन्, त्यसले झन समस्या भएको जनाए ।

त्यसैगरी रोल्पा जिल्लाकी १४ वर्षिया कमला विक पनि तुलसीपुर बजारमा रहेको एक नास्ता पसमा काम गदै आएकी छन् । घरमा खान पुग्दैन, सानैमा बुबाको निधन भयो । घरखर्च चलाउनका लागि पैसा कमाउन भनि आमालाई जानकारी नै नदिएर साथीसँग आफू यहाँ आएको उनले बताइन् । कक्षा ५ मा अध्ययनरत कमला पढ्दापढ्दै छोडेर आएको बताउँछिन् । उनी भन्छिन्, “घरमा आमा, दुई बहिनी र एक भाइ छन् ।” अहिले रेखा र कमला मात्र होइन, गरिबी, अभाव र आवश्यक घरायसी वातावरणको अभावमा दाङका ग्रामीण क्षेत्रका थुप्रै बालबालिका आफ्ना बाबुआमाबाट अलग्गिएर निकृष्ट प्रकारको श्रम गर्न बाध्य छन् । घरमा बस्ने उचित वातावरण नभएपछि आफ्नो पढाइलाई अगाडि बढाउन बालश्रम गर्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ । सम्बन्धितले बालबालिकालाई काम गराउने, पढाइदिन्छु भनेर काममा लगाउँछन् तर व्यवहारमा सो कार्यान्वयन नगर्दा उनीहरूको पढ्ने सपना भने पूरा हुनसकेको पाइँदैन ।

गरिबीका कारण आफ्ना छोराछोरीलाई राम्रोसँग खानलाउन र उचित शिक्षादीक्षा दिन नसक्दा सन्तानको भविष्यलाई ध्यानमा राखेर आमाबाबुले नै आफ्ना नातेदार वा चिनेजानेका व्यक्तिका साथ लगाई पोखरा, चितवन, काठमाडौँलगायतका सहर बजारमा पठाउने गर्छन् । तुलसीपुर उपमहानरपालिका–६ लाई तीन वर्ष पहिले बालश्रममुक्त वडा घोषणा गरिसकेको छ । तर अहिले पनि आर्थिक अभावका कारण धेरै बालबालिका अरुका घर तथा पसल तथा यातायातका साधनमा श्रम गर्न वाध्य भएका छन् । वडा सदस्य यमुना परियार भन्नुहुन्छ, “हामीले तीन वर्ष अघि वडालाई विभिन्न अभियान सञ्चालन गरी बालश्रममुक्त वडा घोषणा गरेका थियौं ।” त्यति बेला धेरै सुधार भएको थियो तर पछिल्लो समय कोरोनालगायत विभिन्न कारणले आर्थिक जोहो गर्नका लागि बालबालिका श्रम गर्न बाध्य भएको उहाँको भनाइ छ ।

केही बालबालिकाआर्थिक अभाव तथा अभिभावक विहीन हुँदा कामगरी खान बाध्य छन् । केही भने पढ्दापढ्दै साथीको लहैलहमा लागेर भागेर एक ठाउँबाट अर्को ठाउँमा जाने र त्यहाँ जोखिम मोलेर काम गर्छन् । त्यस्ता बालबालिकालाई भेटेमा सम्बन्धित अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउन वडा सदस्य परियारले सबैसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बालबालिकालाई काममा राख्ने गरेका होटेल, ग्यारेज, पसलमा निगरानी बढाउनुपर्ने र त्यस्ता बालबालिका भेटिएमा काममा लगाउनेलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ ।” सरकारी निकायबाट पनि निकृष्ट प्रकारको श्रम गर्नबाट रोक्नका लागि बालबालिका र अभिभावकका लागि जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले बालबालिकालाई निकृष्ट प्रकारको श्रममा लगाउने कार्य सामाजिक अपराध भएकाले त्यस्तामाथि कडा कारबाही गर्नुपर्नेमा बताउनुभयो ।

विद्यार्थीले बनाए विद्युतीय कार

सुदूरपश्चिम, ११ पुस  :  निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत रु एक लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् ।

कारको नाम ‘सारअल्फा’ राखिएको छ । कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताउनुभयो । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् । अर्का विद्यार्थी ऋषिकेशले भन्नुभयो, “अध्ययन सँगसँगै आफूहरुको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौं ।” गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा एक्सीस विद्याश्रम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

तिहारको रमझममा कोरोनाको जोखिम नभुलौ, आफु पनि बचौँ अरुलाई पनि बचाऔँ

-अनुसा थापा (भक्तपुर)

नेपालीहरुको दोस्रो महान चाड तिहार ढोकैमा छ । उज्यालोको रुपमा चिनिने यो पर्वले नेपालीहरुको मन उमगिंत पार्दछ । दिदीबहिनीहरु दाजुभाइलाई टीका लगाउन जान्छन् । दाजुभाइले आफ्ना दिदीबहिनीलाई उनीहरुको हैसियत अनुसार उपहार दिने गर्दछन् । दिदीबहिनी र दाजुभाइको लागि यो महत्वपुर्ण चाड हो । साथै, वर्षदिनभरि खेतबारी जोतेको गोरुलाई पुजा गरिन्छ । गाईलाई पनि लक्ष्मीको रुपमा पुजाआजा गरिन्छ । त्यसको साथसाथै काग र कुकुरलाई पनि निकै महत्व दिइन्छ । तिहारको बेला धर्मकर्ममा विश्वास राख्ने मानव जाति अरु बेला के गर्छौ ।

अघिपिच्छे खाना खान दिदनौं हामी कुकुरलाई । आखिरी तिहारमा चाहि हामी त्यही कुकुरलाई खोजीखोजी पुजा गर्ने गर्छौ । सडकमा कति सवारी साधनले गाडी किचेको देखिन्छ । कुकुरलाई मानिसहरुले कुट्ने, धपाउने जस्ता निच कार्यहरु गर्दछन् । एकदिनको लागि कुकुरलाई अन्न र पानी दिदैंमा धर्म हुन्छ होला ? एउटा माला र एउटा बिस्कुट दिएर कुकुरसंग फोटो खिच्न भ्याउछन् हाम्रो समाजका प्रतिष्ठत व्यक्तिका टोलीहरु । अरुबेला जनावरसंग फोटो खिच्न लाज लाग्ने, जनावरलाई घृणा गर्नेहरु त्यसदिन कुकुरसंग फोटो खिचेर फेसबुकमा पोस्ट गर्छन् ।

बाटोमा शान्तसंग हिडिरहेको जनावरलाई पहिले हामी आफै चलाउछौ, जिस्काउछौ । गाईलाई हामी मानव जातिले गर्ने व्यवहार पनि त्यस्तै छ । गाईले दुध दिउञ्जेल हामी गाई पाल्छौ । त्यसबाट लिनुपर्ने फाइदा लिन्छौ । जब गाई बुढो हुन्छ, दुध दिन्छ छाड्छ अनि सडकमा लगेर मर्नको लागि छोडिदिन्छौ ।

तर, गाई पुजाको दिन गाईको खोजीखोजी पुजा गर्छौ । गाईसंग पनि नाटक देखाउदै फोटो खिच्ने प्रथा त कायमै नै छ । पहाड र तराईमा अझैपनि गोरुले खेतबारी जोत्ने गरिन्छ । त्यही गोरुले जोतेर उत्पादन भएको खानेकुराहरुले छाक टार्छौ । गाईगोरु, कुकुर जस्ता प्राणीहरुको कारण हामी मानवहरुको प्राण जोगिरहेको छ । हामीलाई कसैले पिट्दा कति दुख्छ । कसैले करायो भने कति मन पाल्छ । अन्य जीवजन्तुलाई पनि त्यस्तै नै हो । कुट्ने, हेला गर्ने त हामी नेपालीहरुको स्वभाव नै हो ।

अघिपछि खाना खाइनसकेर कति खाना फोहोरमा लगेर फ्यालिन्छ । तर त्यही खाना भोका जीवजन्तुलाई दिन नेपालीहरुलाई लाज लाग्छ । कागलाई त हामी पानीसमेत दिदैनौ । तर एकदिनको निमित्त नाटक गर्दे माला लगाइदिने र खाना खुवाउने काम हामीबाट हुन्छ । अझै कतिको त जनावरलाई देख्दै रगत तातेर पनि आउदो हो । जनावलाई बिनाकाम गाली गर्ने पनि नेपालीहरुले नगरेको भने होइनन् । अधिकांश नेपालीहरुको बानी जुन दिन आवश्यक पर्छ त्यही दिन मात्र खोज्छौ । अरुबेला त्यसको केही मतलब लाग्दैन् ।

मानव प्राणीलाई सबैभन्दा बुद्धधिजीवी प्राणीका रुपमा समेत चिनिन्छ । तर मानिसभन्दा लोभी र स्वार्थी सायदै कुनै अरु जीव छन् होला । यो त प्राणीलाई लिएर गरिएको एउटा टिप्पणी मात्र भयो । तिहार भनेकै विशेष दाजुभाइ र दिदीबहिनीको चाडपर्व हो । यसमा पनि कतिपय दिदीबहिनी र दाजुभाइलाई निकै समस्या पर्ने गरेको छ । कतिको दाजुभाइ छैनन् त कतिको दिदीबहिनी । जसको कारण कति दाजुभाइ आफ्नो निधार खाली राख्न बाध्य छन् । तिहारमा देउसी र भैलो निकै विशेष रितिरिवाज हो ।

देउसीभैलो प्रायजसो सबैले खेल्छन् । बालबच्चा र भुरो मात्र नभई बुढोले समेत देउसीभैलो खेलेर रमाइलो गर्ने गरेका छन् । तर अहिले पछाडिको समयमा केही बर्ष अघि देखि बिभिन्न कलाकारहरुले राजनितिक दलको सड्गठन क्लबहरुले दैउसी भैलोलाई आफनो एउटा कमाउने भाडो बनाएका छन् ।

यसले गर्दा बिकृति फैलिरहेको छ । दैउसी भैलो खेल्न आउने मानिसहरु गाडि रिजर्भ गरेर अष्उने जाडँ रक्सी खाएर आउने जसले गर्दा उनीहरुलाई पैसा धेरै दिनृपर्ने । देउसीभैलो पैसाको लागि खेल्ने हो र ? पहिलेपहिलेको चाडपर्व लिएरर मान्यता नै बेग्लै थियो । सबैले रमाइलो र आपसी सद्भावलाई मान्यतामा राखेर चाडपर्व मनाउथे । देउसीभैलो खेल्छन् तर मुखले भट्टाएर होइन् म्युजिक सिस्टम घन्काएर । यसले गर्दा टोलछिमेकमा बस्नेलाई निकै डिस्टर्ब हुन्छ । चाडपर्वको नाममा बेथिति मात्रै फैलिएका छन् ।

तिहारको मयमा महँगीसमेत निकै बढेको सामान किन्न गएको सर्वसाधारणहरुको भनाइ छ । तर, अनुगमनतिर खासै चासो दिइएको पाइदैन् । फलफुल, मिठाइ,, माला, भाइटीकाको लागि आवश्यक सामग्रीहरु छोइनसक्नु भएका छन् । महँगी बढेको बढ्यै छ तर तलब बढदैन् ।

दाजुभाइले पनि टीका लगाइपछि राम्रो उपहार दिन सक्दैन् । त्यसैले कतिले त टीका लगाउन छोडिसकेको छन् । टीका पनि पैसाको लागि मात्र लाउने हो जस्तो भइरहेको छ । टीका लगाएर पैसा कमाउने हो भने यो चाडपर्व नभई व्यापार गर्ने एउटा थलो हो । नेपाल सरकार अन्तर्गत गृह मन्त्रालयले चाडबाडको समय हुने आपराधिक घटनालाई ध्यानमा राखेर कुनै पनि योजना बनाएको छैन् । जाँडरक्ी खाएर होहल्ला गर्ने, कौडा खेल्ने, मदिरा सेवन गरेर वारी साधन चलाउने जस्ता कार्यहरु बढ्ने गर्दछन् ।

अहिले त जाँडरक्सी खाएर देउसीभैलोसमेत खेल्ने गरेको पाइन्छ । देउसीभैलो खेल्न आएकाहरुलाई कम पैसा दिएमा झैझगडा गर्छन् । चाडबाडको बेलामा अधिकांश सवारी साधनका घटनाहरु बढिरहेको देख्न र सुन्नमा आएको छन् । व्यापारीहरुले पनि चाडबाडको मौका छोपेर ग्रहक ठग्नुसम्म ठग्छन् ।

यातायात व्यवसायीहरुले पनि मनलाग्दी भाँडा उठाएका छन् । यता, ट्याक्सी पनि मिटरमा हिड्न मान्दैन् । सार्वजनिक यातायातले सिटभन्दा बढी यात्रु हाल्ने गर्दछन् । चाडबाडको बेला उनीहरुको व्यापार झनै फस्टाउदो छ । मान्छे मरे पनि यातायात व्यवसायीहरुलाई कुनै फरक पर्दैन् ।

दुर्घटना, जुवा, कौडा जस्ता बेथितिलाई नियन्त्रणमा लिन नेपाल सरकार वा ७७ वटै जिल्लाका प्रमुख अधिकारीहरुले ध्यान पुप्याएका छैनन् । यसलाई कसरी न्युनिकरण गर्नेतर्फ कैको ध्यान गएको छैन् । उपत्यकाका मान्छेहरु तिहार मान्नको लागि आफ्नो कोठा ताल्चा लगाएर घर गएका छन् ।

घर सुनसान भएको बेला चोरहरु सजिलै भित्र पस्न सक्छन् । यसको लागि पनि सरकारले विशेष कार्ययोजना बनाउन जरुरी देखिएको छ । उपत्यका बजारहरु पुरै ढाकिएका छन् । मान्छेको भीड छिचोल्न हम्मेहम्मे छ । सामान खरिद गर्ने देखिलिएर बिक्री गर्नेले समेत स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् । यसबाट कोरोना फैलने सक्ने जोखिम बढेको छ । तिहार मनाउने नाममा कोही पनि संक्रमित हुन नपारेस् । कसैको घरमा रुवाबासी नचलोस् । यसका लागि हामी आफै सतर्क हुन जरुरी छ ।

शैक्षिक उपन्यास ‘कखरा’ सार्वजनिक

काठमाडौँ, २१ असोज: “हामीले विद्यालय छाड्ने अन्तिम दिन रिसाउँदै बिदा भएका थियौँ । त्यस दिन विद्यालयमा तनाव र तोडफोडको स्थिति सिर्जना भएको थियो । आखिर किन त्यस्तो गरिएछ भन्ने जवाफ आज ‘कखरा’ पढेपछि मिलेको छ ।” लेखक हरिहर तिमिल्सनाकृत शैक्षिक विषयमा आधारित ‘कखरा’ उपन्यासबारे आज आयोजित कार्यक्रममा समीक्षा गर्दै उपन्यासकार नयनराज पाण्डेले भन्नुभयो, “मेरो विद्यालय जीवनलाई जीवन्तरुपमा यस उपन्यासले स्मरण गराएको छ ।”

शैक्षिक रुपान्तरण र प्रेरणदायी पुस्तकको उत्पादन र प्रकाशनमा संलग्न सिकाइ समूहको आठौँ कृति ‘कखरा’ को विमोचन कार्यक्रममा आज उपन्यासकार पाण्डेका साथै शिक्षा प्रशासक, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी र पत्रकारसमेतले उक्त कृतिको मौलिकता र सामाजिक रुपान्तरणको सामथ्र्यबारे प्रकाश पारेका थिए । नेपाल प्रहरी स्कुल, काभ्रेका शिक्षक तिमिल्सिना ‘पढाउनेले पढौँ’ भन्ने अभियानका एक अभियन्ता एवं गीतकार हुनुहुन्छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले शिक्षाको सुधारका लागि माथिल्ला तहमा बसेकाले के गर्नुपर्छ भन्ने मनन् गराउन लेखक तिमिल्सिनाको कलमले काम गरेको बताउनुभयो । उहाँले शिक्षामा सुधार नहुनुमा विद्यार्थी नभई ठूला मान्छे नै जिम्मेवार रहेको स्वीकार्नुभयो । लिटिल एन्जेल्सका प्रिन्सिपल मुकुन्दराज शर्मा, सरस्वती निकेतनका शिक्षक मल्लिका जोशी र पत्रकार वसन्त बस्नेतले पुस्तकले नेपाली परिवेश र शैक्षिक स्थितिलाई सचित्र उतारेको बताउनुभयो । विभिन्न विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी स्नेहा झा, कल्याणविक्रम अधिकारी, अर्जुन मिजार र स्वती रेग्मीले पनि पुस्तकले आफूहरुले भोगिरहेको यथार्थलाई औपन्यासिकरुपमा चिरफार गरेको सुनाउनुभयो । गिजुभाइको ‘दिवास्वप्न’ जस्ता पुस्तकको अनुवाद गरेको सो सिकाइ समूहका प्रबन्ध सम्पादक सुदर्शन घिमिरेले शिक्षामा सुधारका लागि यस्ता पुस्तकले टेवा दिनसक्ने अपेक्षासहित प्रकाशन गरेको जनाउनुभयो ।

सरकारले तोकेको भाँडा दर र ट्याक्सीको जनता ठग्ने काइदा

-अनुसा थापा, भक्तपुर

काठमाडौं, १२ असोज । दशैँ मान्न दाङ घर जान गाडी चढ्नका लागि नयाँ बसपार्क जान बौद्ध आरुबारी तिनचुली बस्ने श्याम भण्डारीले ट्याक्सी चढ्नको लागि ट्याक्सी खोज्दै थिए । चाबहिलको चुच्चेपाटीबाट एउटा खाली ट्याक्सी आयो । उनले नयाँ बसपार्क जान भाडा सोधे । उनले मिटरमा जान खोजे । तर ट्याक्सी चालक मानेनन् । रामहिटीबाट नँया बसपार्क गएको रु. १५ सय भाँडा मागे । उनले भाडा घटाउन वार्गेनिङ गरिरहदाँ अर्को खाली ट्याक्सी आइपुग्यो ।

अर्को ट्याक्सी चालकले हजार रुपियाँ दिए पुर्याइदिने बताए । करिब दश मिनेट मोलमोलाइ गरेपछि आठ सय रुपिँयामा ट्याक्सी चालक माने । यो त एउटा नमूना मात्रै हो । यस्ता घटना दैनिकी सयौँ यात्रुले भोग्दै आउने गरेका छन् । दैनिक सयौँ यात्रुहरु ट्याक्सी चालकबाट ठगिने गरेको छन् । चाबहिलबाट रामहिटी करिब आठ किलोमिटर होला । आठ किमिको लागि ट्याक्सीले १५ सय रुपियाँ माग्यो । दशैँको लागि लाखौ सर्वसाधारणले उपत्यका छोड्छन् । तर ट्याक्सीले भने मिटरमा यात्रु बोक्न मान्दैन् ।

काँडाघारीको हरहरमहादेवथानबाट बल्खु जान वीरगंज घर बताउने रामबहादुर यादवलाई ट्याक्सीले १२ सय रुपियाँ माग्यो । मिटरमा जाऊभन्दा मिटरमा जान मानेनन् । गाडी बेच्ने कम्पनीले ट्याक्सी व्यवसायीहरुलाई कमिशन दिन्छु भनेर ट्याक्सीको नयाँ मापदण्ड परिवर्तन गर्न लागिरहेका छन् । कमिशनकै लागि यातायात व्यवसायी र ट्याक्सी व्यवसायी ७९६ सिसी गाडी बेच्ने कम्पनी धाइरहेको चर्चा छ ।
यता ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयन हुन् नदिन ७९६ सिसीको गाडी बेच्ने कम्पनी दिनहु जसो यातायात मन्त्रालय र यातायात व्यबस्था विभाग धाइरहेको गुनासो आइरहेको छ ।

२०६९ साल माघ महिनामा यातायात अञ्चल कार्यालय एकान्तकुनाले यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले नयाँ ट्याक्सी दर्ता रोकेपयिछ २०५७ सालभन्दा पछि ट्याक्सीको संख्या घटेको छ । तर जनसंख्या तीन गुणाले बढेको छ । अहिले सञ्चालनमा भएको सबै ट्याक्सी थोत्रा र कबाडी भइसके ।

हाल तत्कालै लक्जरियस् ट्याक्सीको नयाँ दर्ता खोल्ने माग भययो । पाँच हजार नयाँ ट्याक्सीको दर्ता तत्कालै खोल्न मन्त्रालयमा माग राखेको थियो । वर्षैपिच्छे नयाँ ट्याक्सीको दर्ता खोल्ने भनेको थियो । ट्याक्सी व्यवसायीको कारणले प्रस्ताव सँगसँगै माग नै गायव भयो ।
जनताले पैसा तिरेर पनि राम्रो ट्याक्सी चढ्न पाएको छैनन् । सरकारले नै ट्याक्सी व्यवसायीलाई शक्तिशाली बनाएको प्रस्टै देखिन्छ । देशको सातवटै प्रदेशमा नयाँ ट्याक्सीको दर्ता बन्द छ ।

नयाँ गाडी बेच्ने अटो शोरुमहरुलाई हजारदेखि बाह्र सय सिसीको खोल्ने दिने भए कमिशन चाहिन्छ भन्दै ट्याक्सी व्यवसायी र यातायात महांघका नेताहरुले कमिशनको माग राखेका थिए । यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका केही सम्बन्धित व्यक्तिहरुको पनि त्यसमा मिलेमतो रहेको आरोप लाग्दै आएको छ ।

व्यवसायीले हामीलाई कमिशन नदिए हामी सरकारलाई भनेर नयाँ ट्याक्सीको दर्ता खोल्न दिदैनौँ भन्दै बिचौलिया खुल्ला रुपमा चुनौती दिइरहेका छन् । ट्याक्सी व्यवसायीहरुले कमिशन नदिए हामी नयाँ ट्याक्सीको दर्ता खोल्न नदिने अटो शोरुमहरुनै बताउँछन् ।
नयाँ ट्याक्सीको दर्ताको फाइल यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय र ट्याक्सी व्यवसायीको कमिशनको खेलमा अड्केको बताइएको छ । यातायात व्यवसायीहरुले कमिशन नपाएर नयाँ ट्याक्सीको दर्ता रोकेको र सरकार पनि ट्याक्सी व्यवसायीसंग पछि हट्दा राज्यलेनै राजस्व गुमाएको बताइएको छ ।

सर्वसाधारणले भनेको बेलामा ट्याक्सी पाएनन् । यता सर्वसाधारणले सस्तोमा ट्याक्सी चढ्न पाएका छैनन् । यातायात व्यवसायीले कमिशन नपाउने भएपछि नयाँ ट्याक्सीको फाइल अड्कायो भन्दै व्यवसायीहरुनै गुनासो गर्न थालेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले अहिले भएका ट्याक्सी त राम्रो व्यबसाय गर्न सकेको छैनन्, नयाँ टयाक्सीको कहाँ खोल्न दिनु भन्दै सरकारलाई नयाँ ट्याक्सी दर्ता गर्न नदिने बताउनुभयो । कमिशनको लोभमा नयाँ ट्याक्सीको दर्ता खोल्न नदिएको भन्ने छ नि त भन्दा उहाँले जवाफ दिनु भएन ।

अहिले उपत्यकामा सञ्चालनमा भएका भाँडाका कालो प्लेटका मिटर जडान ट्याक्सीको भाडा यातायात व्यवस्था विभागले निर्धारण गरेको छ । ट्याक्सी चढ्नेबित्तिकै गुड्दै नगुडी १४ रुपियाँ उठ्छ । यो कस्तो नियम हो । ट्याक्सी चढेबापत जनताले ट्याक्सी व्यवसायीलाई सेवा शृल्क बापत एकदिनमा लाखौ रुपियाँ जनताले यत्तिकै तिरिरहेका छन् ।

सरकारले निर्धारण गरेको भाडा प्रति किमि ३९ रुपियाँ हो । तर टयाक्सी मिटरमा हिड्न मान्दैन् । एक किलोमिटर यात्रा गर्दा यात्रुले ५३ रुपिँया तिर्नुपर्छ । सरकारी दरमा ट्याक्सीले यात्रु गन्तव्यमा पुर्याउन त के मिटरमा जान पनि मान्दैनन् । यात्रुले भनेको ठाउँमा ट्याक्सी जान मान्दैन् । नयाँ ट्याक्सीको दर्ता पनि खोल्न दिदैनन् । आफू पनि सस्तोमा जनतालाई सेवा दिदैनन् । ट्याक्सी व्यवसायीको दादागिरिको अगाडि सरकार बोल्दैन ।

ट्याक्सी व्यवसायी जनतालाई सस्तोमा सेवा सुविधा दिन तयार छैनन् । सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न दिन पनि तयार छैनन् । सम्बन्धित निकायले ध्यान नदिएको व्यवसायीको गुनासो छ । जनतालाई मंहगो भाँडा लिएर वर्षौदेखि ठगिरहेको छन् । जनताको हकमाथि ट्याक्सी व्यवसायीले बन्देज लगाइरहेका छन् । सेवासुविधा दिने नाममा जनता लुटिरहेका छन् ।

यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय र प्रदेश सरकार ट्याक्सी व्यवसायीहरुसंग आर्थिक लेनदेनमा बिकेको आरोप लगाइरहेको छ । जसको कारण नयाँ ट्याक्सी खोल्ने फाइल अड्केको छ । ट्याक्सी व्यवसायीले जहिलेपनि यात्रु ठग्ने काम गरेको छन् । त्यतिले मात्र नपुगेर अनलाइन एपमार्फत ट्याक्सी बुकिङ गर्ने भन्दै टुटल र मेट्रो ट्याक्सी बजारमा आएका छन् । टुटलले एक किलोमिटरमै १५० रुपियाँ लिन्छ । मेट्रो ट्याक्सीले एक किलोमिटरमा ९९ तिर्नुपर्छ ।

सरकारले निर्धारण गरेको भाँडा प्रतिकिमि ३९ रुपियाँ छ । मेट्रो ट्याक्सी र टुटलको भाँडा हरेक सर्वसाधारणले तिर्न सक्ने स्थिति छैन । सर्वसाधारणहरुलाई सेवासुविधा दिने भनेर खोलिएको टुटल र मेट्रो ट्याक्सीले अप्रत्यक्ष रुपमा जनता ठग्ने काम मात्र गरेको छन् ।
टुटल र मेट्रो ट्याक्सीले यात्रसँग लिने भाँडा आधिकारिक छैन । ट्याक्सी व्यवसायीले जनता ठग्न विभिन्न रणनीति बनाउने गरेको छन् । त्यही रणनीतिको फल हो टुटल र मेट्रो ट्याक्सी । सरकारभन्दा शक्तिशाली यि दुई कम्पनी हुन् । सेवाको नाममा विभिन्न बहाना बनाइ जनता ठग्ने लुटेराहरुलाई सरकारले कारबाही कहिले गर्छ ।

 

आलमको मुद्दा कार्की र ढुङ्गानाको इजलासमा पेसी

काठमाडौं १६पुष ।
बम विस्फोटको अभियोगमा रौतहट जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा सर्वोच्चमा पेसी चढेको छ । आज शुक्रबार आलामको मुद्दा न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशकुमार ढुङ्गानाको इजलासमा पेसी रहेको छ । जिल्ला र उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाएपछि आलाम उक्त निर्णयलाई चुनौती दिँदै २०७७ असोज १२ गते सर्वोच्चमा निवेदन दिएका थिए । पछिल्लो समय प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीश र कानुन व्यवासायीह आन्दोलनमा रहेका बेला आलमको मुद्दा लगातार पेसी तोकिँदै सुनुवाइ नहुँदै आएको छ । मंसिर १५ गतेदेखि गोलाप्रथाद्वारा पेसी तोकिए पनि उनको निवेदन फरक फरक न्यायाधीशको इजलासमा पेसी पर्ने र सुनुवाइ नहुने हुँदै आएको छ । आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए । २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुुनुपर्ने माग गरिएको छ । उनको मुद्दा यसअघि विभिन्न समयमा पेसी चढे पनि सुनुवाइ हुन सकेको छैन् । जिल्ला, उच्च अदालत हुँदै उनको मुद्दा सर्वोच्च आएको हो। आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ। पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकीर उनको निवेदनमा गरिएको छ । कोभिड–१९ को महामारी रहेको र जेलभित्र समेत संक्रमण व्यापक भएकाले रिहाइ गर्नुपर्ने तर्क आलमको निवेदनमा गरिएको छ । आलमलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको थियो। रौतहट जिल्ला अदालतले थुनामा पठाएको आदेशविरुद्ध पुनरावेदन गर्दै आलम उच्च अदालत वीरगञ्ज पुगेका थिए । उच्चले जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने आदेश जारी गरेको थियो। आलम २०७६ पुस २८ गते जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पुगेका थिए । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जोशीको इजलासले आलमलाई थुनामै पठाउने जिल्लाको आदेश सदर गरेको थियो। २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय रौतहटले मुद्दा दायर गरेको थियो। आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनका बेला रौतहटको राजपुरमा भएको बम विष्फोटमा करिब २० जनाभन्दा धेरैको ज्यान गएको थियो। आलमले बनाउन लगाएको बम विष्फोट हुँदा मृत्यु भएका र घाइतेहरुलाई इटाभट्टामा जलाएर हत्या गर्न लगाइएको अभियोग प्रहरीले उनीमाथि लगाएको छ।

काठमाडौंको गागलफेदीमा एकजना युवती मृत फेला

काठमाडौं, १२ पुस ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् । गागलफेदी घर भएकी ३३ वर्षीया धनमाया लामाको शव सडकबाट २० मिटर तल भेटिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी र महाशाखाका एसपी पंगेनी घटनास्थलमा पुग्नुभएको छ । युवतीको हत्या भएको आशंका गरिएको छ ।

बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिकाका प्रशासकीय अधिृकत पक्राउ

काठमाडौं, ९ पुस ।
एक महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा रोल्पाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपालकी जवान एक महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो । विवाह गर्ने भनेर ती महिलासँग थापाले शारीरिक सम्पर्क गर्ने गरेको र पछि विवाह गर्न नमानेपछि ती महिला प्रहरीले बलात्कारको उजुरी हालेको स्रोतले जानकारी दिएको छ । बलात्कार गरेको कसुरमा ७ दिनको म्याद लिएर थापामाथि अनुसन्धान भइरहेको छ ।