आज शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढ्यो

काठमाडौँ, १६ पुष ।
आज शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो विहिबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो विहिबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहिबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

सुनचाँदीको मूल्य ओरालो लाग्यो

काठमाडौं, १५ पुस ।
साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले ओरालो लागेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले ओरालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

राष्ट्र बैंकले २८ करोड लगानी गर्ने

काठमाडौं, १५ पुस ।
नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २२ करोड ४६ रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड २० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ४० लाख रुपैयाँ गरी कूल २८ करोड ६ लाख रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले उक्त रकम २०७८ माघ २ गतेदेखि २०७९ माघ १ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो ।
राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी पुस १८ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि पुनः आवेदन माग

काठमाडौं, १५ पुस ।
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको छ । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।
त्यससँगै सरकारले गएको कात्तिक ११ गते नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया सुरु गर्दै दरखास्त आह्वान गरेको थियो । १२ जनाले आवेदन दिएका थिए । तर, अध्यक्ष सिफारिस समिति नै ऐन अनुसार गठन नभई प्रक्रिया अगाडि बढाइएको भन्दै त्यसलाई खारेज गरेर सरकारले पुनः प्रक्रिया सुरु गरेको हो ।
बिहीबार अर्थ मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बोर्ड अध्यक्षका लागि आउँदो १५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको छ । नयाँ दरखास्त आह्वान भएसँगै यसअघिका सबै आवेदन रद्द भएको अर्थसचिव मधुकुमार मरासिनीले बताए । नयाँ सूचना प्रकाशित भएसँगै यसअघि आवेदन दिएकाले पनि पुनः आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । एजेन्सी ।

यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं, १५ पुस ।
आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २८ पैसा र विक्रिदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५५ पैसा र विक्रिदर १३५ रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १० पैसा र विक्रिदर ८६ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ ।

सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड

काठमाडौं, १६ पुष ।
सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । बैठकमा नेकपा एमालेका सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिएका छन् । सांसद रावलले साना देशका लागि कुटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गासिने तर्क गरे। त्यसैगरी उनले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देशको सुरक्षा गर्ने र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताए। नेपालको सिमाना मिचिदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको उनले बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्य चौकी एक प्रयोगशाला सञ्चालन

भक्तपुर, १६ पुस ।
चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा एक स्वास्थ्य चौकी एक प्रयोगशाला सञ्चालनको अभियान सुरु गरेको छ । नगरपालिकाले वडा नं ८ सुडालको स्वास्थ्य चौकीमा पहिलो आधारभूत प्रयोगशालाको शुभारम्भ गर्दै अभियान सुरु गरेको हो । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले चाँगुनारायण नगरपालिका भित्र विगतमा पिछडिएको सुडालमा जनप्रतिनिधि आएसँगै विकासको ताती लागेको बताउनुभयो । उहाँले नगरपालिकाले त्यहाँका १० वटै वडाको स्वास्थ्य चौकीको स्तरोन्नतिसँगै एक वडा एक स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना अभियानको शुरुवात गरिएको बताउदै सुडाल स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै स्वास्थ्य चौकी मिनी अस्पतालको रुपमा परिणत भएको बताउनु भयो । नगर प्रमुख मिश्रले भन्नुभयो, “हामी जनप्रतिनिधि भएर आएपछि जनताको इच्छा, चाहना र आवश्यकतालाई बुझ्दै अगाडि बढ्यौ, यहाँको भौतिक विकास मात्रै नभई शैक्षिक, स्वास्थ्य र रोजगारीको क्षेत्रमा देशभरिका पालिका मध्ये नमूनाको काम गरेका छौँ, स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनासँगै यहाँ एउटा मिनी अस्पताल निर्माण भएको छ ।” उहाँले सुडालबासीको मात्रै नभई आफ्नो अभियान र सपना पनि पुरा भएको चर्चा गर्दै अब सामान्य स्वास्थ्य परीक्षण र ल्याब परीक्षणका लागि टाढा जानु नपर्ने आफ्नै गाउँमा सहज र सुलभ रुपमा सेवा पाइने बताउनु भयो । कार्यक्रममा वडाध्यक्ष परासर सापकोटाले स्वास्थ्य चौकीहरुमा प्रयोगशाला स्थापना गर्ने नगरपालिकाको अभियानमा सुडाल स्वास्थ्य चौकीमा पहिलो प्रयोगशाला स्थापना गर्न पाएकोमा आफू मात्रै नभई यहाँका सम्पूर्ण सुडालवासीलाई खुसीको कुरा भएको चर्चा गर्नुभयो ।
उहाँले सामान्य स्वास्थ्य परीक्षणमा आवश्यक पर्ने ल्याब परीक्षणका लागि भौतिारिदै टाढा जानु पर्ने बाध्यता देखेर यहाँको स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्न आफूले गरेको पहल साकार भएको भन्दै यो सेवाको अब पुरा उपयोग गर्न स्थानीयलाई आग्रह गर्नु भयो । आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाले विनियोजन भएको रकमबाट ल्याब सञ्चालनमा ल्याएको बताउँदै वडाध्यक्ष सापकोटाले स्वास्थ्य चौकीलाई गुणस्तरीय बनाउन प्रयोगशालाले थप टेवा पुग्ने बताउनु भयो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले स्थानीयले स्वास्थ्य चौकीबाट मधुमेह, युरिक एसिड, युरिया क्रेटिनेन, बिल रूविन (जन्डिस), टोटल प्रोटिन, एल्बोमिन, टिजी, कोलेस्ट्रोल, एचडिएल, एलडिएल, हेमोग्लोबिन, आरए फ्याक्टर, सिआरपी, टोटल काउन्ट, आरबिसी, ईएसआर, युरिन जाँच, दिशा जाँच, स्पुटम (खकार जाँच), वेडाल्ड ट्स्ट( टाईफाइड), एचआईभीलगायत परीक्षण हुने बताउनु भयो ।

मेडिकल कलेजमा सहज वातावरणमा भर्ना र पठनपाठन गराउन ७ विद्यार्थी संगठनहरुकोे माग

काठमाडौं, १६ पुष ।
सात विद्यार्थी संगठनले चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन काठमाडौं विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरूसँग माग गरेका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै ती विद्यार्थी संगठनले चिकित्सा शिक्षाका विद्यार्थीहरूका जायज मागहरुमा ऐक्यबद्धता समेत जाहेर गरेका छन् । काठमाडौं विश्वविद्यालयका सम्बन्ध प्राप्त कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले २०७८ सालको नयाँ भर्नामा एमबीबीएस, बिडिएस, र बी नर्सिङमा राज्यले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् । सो आन्दोलनप्रति पनि विद्यार्थी संगठनहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विद्यार्थीहरूका मागबारे कलेजहरुले सुनुवाई नगरे आन्दोलन गर्ने समेत संगठनहरुले चेतावनी समेत दिएका छन् ।

सर्लाहीमा थपियो निषेधाज्ञा,

काठमाडौं १६ पुष ।
सर्लाहीमा पाँच दिनदेखिको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेको छ । गत मंगलबार प्रहरीको भ्यानको ठक्करबाट एक जनाको ज्यान गएको विषयलाई लिएर सर्लाहीको बयलवासमा जारी निषेधाज्ञा अझै नहटेपछि जाडोमा सर्वसाधारणको जनजीवन अस्तव्यस्त बनेको हो । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा तीन दिनदेखिको निषेधाज्ञालाई भोलि साँझ ७ बजेसम्म थप गरेको छ । स्थानीय प्रशासन र पीडित परिवारबीचको छलफल निश्कर्षमा पुगेपनि सहमति कार्यान्वयन नभएकाले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । सहमतिअनुसार पीडित परिवारले शव नबुझेपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा तेस्रोपटक थप गरिएको जिल्ला प्रशासन कार्यलय सर्लाहीले जनाएको छ । पाँच दिनअघि प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका ५, सखुबनीस्थित खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । घटना शंकास्पद भन्दै आक्रोशित स्थानीय र बयलवास बजार क्षेत्रका व्यापारीहरूसमेत आन्दोलित भएपछि निषेधाज्ञा लगाइको छ ।

पोषण कार्यक्रमलाई जनस्तरसम्म र्पुयाउन मुख्यमन्त्री राउतको निर्देशन

काठमाडौं १६ पुष ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अन्नको भण्डारका रूपमा रहेको यस प्रदेशको बालबालिका कुपोषणको शिकार हुनुमा कुपोषणसम्बन्धी जानकारीको अभाव प्रमुख कारण रहेको बताएका छन् । राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले आज जनकपुरधाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजनासम्बन्धी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताउनुभएका हुन् । पोषणसम्बन्धी प्रदेशमा सञ्चालित कार्यक्रम व्यवहारमा उत्रिन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन सरोकारवालालाई निर्देशनसमेत दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकरप्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योजना आयोगका सहसचिव डा। किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झा सहितकाले पोषणको अवस्थाबारे प्रस्तुति गरेका थिए ।