कालीगण्डकीको बिजुली भारत निर्यात सुरु, प्रतियुनिट न्यूनतम २.३८ रुपैयाँदेखि १९ रुपैयाँ सम्म

काठमाडौँ, २१ जेठ : नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत्गृहबाट उत्पादित विद्युत् आज राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो । प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ ।

कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । वर्षात्सँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज रातिदेखि निर्यात हुने विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताउनुभयो । “अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ”, घिसिङले भन्नुभयो । आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरकफरक हुने गरेको छ ।

प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश: भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ । यसैगरी, शनिबार प्राधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु)मा विद्युत् बिक्री गरेको छ । औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।

पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्याे

काठमाण्डाै, १९ जेठ :  नेपाल आयल निगमले पेट्राेल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएकाे छ । आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य घटाएकाे हाे । मूल्य घटेसँगै अब पेट्रोल लिटरकाे एक सय ७० र डिजल/मट्टीतेल लिटरकाे एक सय ५३ रुपैयाँमा झरेको छ ।

निगम सञ्चालक समितिकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य घटाउने निर्णय गरेकाे हाे । यसअघि अर्थ मन्त्रालयले उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायाेजन गर्न भनेकाे थियाे ।

स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

काठमाडौँ, १२ जेठ : स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् । सो आँकडाका आधारमा ४० दशमलव ८९ प्रतिशत हुन्छ । निर्वाचनमा ५५ हजार ६९९ महिला उम्मेदवार रहेका थिए । कूल ७५३ स्थानीय तहमा ३५ हजार २२१ पद रहेका छन् ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको परिणामअनुसार तीन वटा पालिकामा प्रमुख र उपप्रमुख दुवै जना महिला निर्वाचित हुनुभएको छ । सोमध्ये झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी र उपप्रमुखमा पुजन न्यौपाने कुँवर निर्वाचित हुनुभएको छ । राजवंशी नेपाली कांग्रेस र न्यौपाने नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएको थियो । दैलेखको भैरवी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो पालिकाको प्रमुखमा रीता शाही र उपप्रमुखमा देवी भण्डारी निर्वाचित हुनुभएको छ । दुवै जना कांग्रेसबाट उम्मेदवारी दिनुभएको थियो ।

कैलालीको लम्की–चुहा नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित हुनुभएको छ । सो नगरपालिका प्रमुखमा सुशीला शाही र उपप्रमुख पदमा जुना चौधरी निर्वाचित हुनुभएको छ । प्रमुख कांग्रेसबाट र उपप्रमुख एमालेबाट उम्मेदवारी दिनुभएको थियो । प्रदेशगत आधारमा निर्वाचित महिला प्रदेश १ मा आठ हजार १९६ उम्मेदवार भएकामा दुई हजार ४५५ जना महिला निर्वाचित हुनुभएको छ । मधेस प्रदेशमा १५ हजार ७८० उम्मेदवार रहेकामा दुई हजार ७७० जना निर्वाचित हुनुभयो । सोहीअनुसार बागमती प्रदेशमा आठ हजार ३४४ महिला उम्मेदवार रहेकामा दुई हजार ३४७ जना निर्वाचित हुनुभयो ।

गण्डकी प्रदेशमा चार हजार ६४९ महिला उम्मेदवार रहेकामा एक हजार ६२२ जना निर्वाचित हुन सफल हुनुभयो । सोहीअनुसार लुम्बिनी प्रदेशमा आठ हजार ७६७ महिला उम्मेदवार रहेकामा दुई हजार १२४ जना निर्वाचित हुन सफल हुनुभयो । आयोगको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा चार हजार ८७८ महिला उम्मेदवार रहेकामा एक हजार ५२४ जना निर्वाचित हुनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा पाँच हजार ८५ उम्मेदवार रहेकामा एक हजार ५६० जना निर्वाचित हुनुभयो । प्रमुख पदमा महिला देशभरबाट २५ वटा पालिका प्रमुखमा महिला निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार झापाको विर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतारा निर्वाचित हुनुभएको छ ।

त्यस्तै झापाकै गौरीगञ्ज गाउँपालिका प्रमुखमा फूलवती राजवंशी निर्वाचित हुनुभयो । मोरङको कानेपोखरी गाउँपालिका प्रमुखमा राजमति इङनाम निर्वाचित हुनुभएको छ । सोलुखुम्बुको लिखु पिके गाउँपालिका प्रमुखमा मीनादेवी कार्की निर्वाचित हुनुभएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणादेवी राई विजयी हुनुभएको छ । सोही जिल्लाको हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा विमला राई निर्वाचित हुनुभयो । सप्तरीको सुरुङ्गा नगरपालिका प्रमुखमा गीता चौधरी निर्वाचित हुनुभएको छ । सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा कल्पनाकुमारी कटुवाल निर्वाचित हुनुभयो । त्यस्तै रौतहटको ईशनाथ नगरपालिका प्रमुखमा कौशल्या देवी र सोही जिल्लाको मौलापुर नगरपालिका प्रमुखमा रिनाकुमारी साह निर्वाचित हुनुभयो ।

सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । सोही जिल्लाको सुनकोसी गाउँपालिका प्रमुखमा दीपा बोहरा दाहाल निर्वाचित हुनुभयो । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका प्रमुखमा रेणुका चौलागाईं, मकवानपुरको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामा, चितवनको भरतपुर महानगरपालिका प्रमुखमा रेणु दाहाल र सोही जिल्लाको माडी नगरपालिका प्रमुखमा ताराकुमारी काजी महतो (थारु), निर्वाचित हुनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका प्रमुखमा लक्ष्मी पाण्डे, सोही जिल्लाको सुनवल नगरपालिका प्रमुखमा विमला अर्याल, बागलुङको बडिगाड गाउँपालिका प्रमुखमा गण्डकी थापा अधिकारी निर्वाचित हुनुभएको छ । त्यस्तै पर्वतको मोदी गाउँपालिकामा हीरादेवी शर्मा निर्वाचित हुनुभएको छ । पाल्पाको बगनासकाली गाउँपालिका प्रमुखमा सरस्वती दर्लामी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुखमा मोहनमाया ढकाल र अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखमा अम्बिका चलाउने निर्वाचित हुनुभयो ।

दैलेखको भैरवी गाउँपालिका प्रमुखमा रीताकुमारी शाही निर्वाचित हुनुभएको छ । सोहीअनुसार कैलालीको लम्की–चुहा नगरपालिका प्रमुखमा सुशीला शाही निर्वाचित हुनुभएको छ । आयोगको तथ्याङ्कअनुसार दलित महिला सदस्यमा १२३ स्थानीय तह खाली रहेको छ । त्यस्तै एक जना महिला सदस्य स्थानीय तहमा खाली रहेको छ । काठमाडौँ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र बाजुराको बूढीगङ्गा नगरपालिकाको परिणाम आउन बाँकी नै रहेको छ ।

भक्तपुरका तीन नगरपालिकाका नव निर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई बधाई

भक्तपुर, १२ जेठ । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव प्रसाद मानन्धरको नेतृत्वमा गएको पदाधिकारी एवं कार्य समिति सदस्यहरुको टोलीले तीन छुट्टाछुट्टै कार्यक्रमहरुमा चाँगुनारायण नगरपालिकाका नव निर्वाचित प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, मध्यपुरठिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उप प्रमुख विजय कृष्ण श्रेष्ठ तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र उप प्रमुख सरिता भट्टराई (तिमिल्सेना)लाई बधाई एवं शुभकामना व्यक्त गरेको छ ।

कार्यक्रममा नव निवार्चित प्रमुख तथा उप प्रमुखहरुले बधाई तथा शुभकामनाको लागि भक्तपुर उद्योग वाणिज्य संघ परिवारलाई धन्यवाद दिदै उहाँहरु सबैले संघसित सहकार्य गरी स्थानीय आर्थिक उत्थानका कार्य गर्ने बताउनु भएको थियो ।

त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले नव निर्वाचित प्रमुख, उप प्रमुख लगायत नगरपालिकाका सम्पूर्ण निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भक्तपुर जिल्लाका नगरपालिकाहरुले आगामी दिनहरुमा भक्तपुर उद्योग वाणिज्य संघ संग मिलेर यी नगरहरुको स्वास्थ्य, सर–सफाई, पर्यटन, र पर्यावरणीय सुधारमा सहकार्य गरी अघि बढनु पर्ने आवश्यकता औंल्याउनु भयो र यसका साथ साथै उहाँले भक्तपुरको उद्योग व्यवसायको हित र प्रबद्र्धनका लागि नगरको भावी योजनामा यहाँको हस्तकला, कृषि तथा पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएर कार्यक्रमहरु लागू गर्न अनुरोध गर्नु भयो ।
उहाँले युवा तथा महिलाहरुको लागि सीप विकास तालिम र उद्यमशीलता विकास सम्बन्धी कार्य गरी स्वरोजगार प्रवद्र्धनमा मिलेर जानु पर्ने विषयमा जोड दिनुका साथै नगरहरुको विकासमा सहयोगी भूमिका निर्वाह गर्न संघ तयार रहेको बताउनु भएको थियो ।

उक्त अवसरमा संघका निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष रोशनी मैयाँ धौबन्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष राजेन्द्र प्रजापति, उपाध्यक्ष गणेशहरी प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल तथा कार्य समिति सदस्यहरु नविन प्रजापति, अमरबहादुर मानन्धर, गोकर्ण न्यौपाने, जितेन्द्र खायमली, राजेश त्वानाबासु, श्याम मानन्धर, मधुसुदन खडका, रोशन राज अर्याल, र सुरेन्द्र प्रजापतिको पनि उपस्थिति रहेको थियो ।

१४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं, ३० बैशाख ।  आज भएको स्थानीय तहको निर्वाचनका क्रममा ४४ वटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदानस्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

सबै स्थानीय तहमा निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षा गरिएको भए पनि निर्वाचनको दौरान विभिन्न जिल्लामा भएका छिटपुट घटना र केही ठाउँमा भएका अप्रिय घटनाले मतदान स्थगित हुन गएको हो।

‘मौसम प्र।तिकुलता र केही ठाउँमा भएका छिटपुट घटना तथा केही अप्रिय घटनाका कारण ४४ वटा मतदान केन्द्रको निर्वाचन रोकिएको छ’, थपलियाले भने’, ‘त्यहाँको बस्तुस्थिति हेरेर चाडै नै मतदानको प्रक्रिया अगाडि बढाउनेछौ।’

किरण थापाको घोषणा : ‘पाँच वर्षसम्म कुनै सेवा सुविधा लिन्न’ सक्षम, सबल, समृद्ध र विकसित सूर्यबिनायकका लागि मेरो उम्मेदवारी

क्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भएर यहाँको मुहार फेर्न सफल युवा नेता एवं समाजसेवी किरण थापाले आफूले नगर प्रमुख (मेयर) को टिकट नगरपालिकाबाट पाउँने कुनै पनि सेवा सुबिधा नलिइकन विकासका लागि अहोरात्र खटिने घोषणा गर्नु भएको छ ।यसै क्रममा थापासँग गरेको कुराकानीको अंश प्रस्तुत गरेका छौँ ।

तपाई मेयरको उम्मेदवारीको दाबी गर्नु भएको छ, अनि सेवा सुबिधा नलिने घोषणा गर्नु भएको हो ?

सूर्यविनायक नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवारी दिन मैले वडाध्यक्षबाट राजीनामा दिए । एमालेको कुनै पनि बिरासत भत्किन नदिने र एमालेबाट चुनावमा बिजयी हासिल गरेर मेयरको रुपमा काम गर्दा नगरपालिकाबाट पाउने, गाडी, तेल, तलब, भत्तालगायतका कुनै सेवा सुविधा नलिने मैले घोषणा गरेको छु ।

वडाध्यक्ष हुँदा त्यस्ता सेवा सुविधा लिनु भयो कि भएन ?

सूर्यविनायक नपा वडा नं. ८ को वडाध्यक्ष भएर विगत पाँच वर्ष काम गर्दा पनि मैले कुनै सेवा सुविधा लिइन, मैले पाँच वर्षमा पाएको तलब, भत्तावापतको रु. १५ लाख सिपाडोलस्थित गणेश माध्यामिक विद्यालयमा गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रबृत्ति प्रदान गर्न खडा गरिएको ‘जगतभैरब प्रतिष्ठान’ कोषमा रकम प्रदान गरेको छु । अहिले त्यो कोषमा रु. ३७ लाख जम्मा भइसकेको छ । यो पाँच वर्षको अबधीमा मैले वडाध्यक्ष भएर पाउने पेट्रोल, मोवाइललगायतको सुबिधा समेत लिएको छैन ।

आफ्नो वडालाई पाटीृमा बलियो बनाउन के गर्नु भयो र अबको लक्ष्य के छ ?

जनताको प्रत्येक समस्यामा हातेमालो गर्दै भौतिक, आर्थिक र सामाजिक सेवामा अहोरात्र खटिएर सिपाडोलमा वर्षैदेखि रहेका काँग्रेस, माओवादी, नेमकिपा र राप्रपामा रहेका धेरैलाई एमालेमा भित्रयाउदै यस क्षेत्रलाई एमालेको लालकिल्ला बनाउन सफल भएको छु । त्यसलाई पार्टीले पनि मूल्यांकन गर्ला नै । त्यस वडामा पहिला र अहिले पार्टीको अबस्था कहाँ पुग्यो पार्टीका नेताहरुले देख्नु भएकै छ ।
फेरी विकास, समृद्धि र सामाजिक विकासमा निरन्तर खटिरहने मेरो लक्ष्य हो । नगर प्रमुख भएर जिम्मेवारी सम्हाल्न पाएँ सक्षम, सबल, समृद्ध र विकसित सूर्यबिनायक नगर बनाउने घोषणा मैले गरेको छु । पद प्राप्त गर्नुमात्र मेरो लक्ष्य होइन, मेरो उम्मेदवारी पद र पैसाका लागि हैन, मेरो आफ्नै व्यापार व्यवसायमा म सबल छु, सरकारी पैसाको लोभ मलाई छैन, मेरो एउटै उदेश्य र लक्ष्य छ, सक्षम, सवल, समृद्ध विकसित सूर्यबिनायक नगरपालिका निर्माण गर्ने । नगरको बिकास गर्ने मेरो परिकल्पना साकार पार्ने ।

यहाँका ऐतिहासिक धरोहरहरुको संरक्षण, धर्म, संस्कार, संस्कृति, यहाँ रहेका मठमन्दिर, जात्रा, परम्पराहरु संरक्षण, पर्यटनको बिकास गर्ने, स्थानीय बासिन्दाको आयस्तर उकास्ने, युवा पुस्तालाई आम्दानीको श्रोतको पहिचान गर्दै उद्योग, व्यवसाय, कृषि र पर्यटनमा लगाउने, गाउँमै उच्च माविसम्मको गुणस्तरीय शिक्षा पुर्याउने, घरदैलोमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने, सूर्यबिनायकलाई स्मार्ट सिटी बनाउने, खेल मैदान एवं रंगशाला निर्माण गर्ने, भौतिक सम्मुन्नतिसँगै आर्थिक, सांस्कृतिक, धार्मिक परम्पराको सुरक्षा यस्ता धेरै योजनाहरु मसंग छन्, जसलाई साकार पाुर्न छ ।

वडाध्यक्ष भइरहँदा आफ्नो पार्टींका मात्रै नभई विपक्षी पार्टीमा आबद्ध रहेका कार्यकर्ता र जनताको समेत मन जित्न सफल भएको छु । अब नगर प्रमुख भएर सिंगो नगरवासीको मन जित्दै नगरपालिकाको समग्र विकासमा योगदान गर्ने लक्ष्य मेरो छ ।

तपाईका अरु आधार र अनुभव के के छन् ?

म एमाले जिल्ला कमिटिको सदस्य छु । सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष, नेपाल तेक्वाण्डो संघ वाग्मति प्रदेशका कोषाध्यक्ष छु । नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाको दुई पटक उपसभापति भएर काम गरेको अनुभव छ । नगरपालिका सामाजिक विकास समितिका संयोजक भएर जनताको बिकासमा अहोरात्र खटिएको छु । आफ्नो जीवनमा हासिल गरेका राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रको अनुभवलाई नगरपालिकाको विकासमा केन्द्रित गर्ने मेरो योजना छ । फेरी मैले उम्मेदवारी दिइरहदाँ एमालेको मात्रै नभई अरु दलको भोट काटेर एमालेमा ल्याउन सक्ने गरि काम गरेको छु ।

कोरोना महामारीमा जनताप्रति तपाइको उत्तरदायित्व कस्तो रहयो ?

जतिखेर जनता दुःखमा पर्छन्, त्यतिखेर म जनताको दैलोमा पुग्छु । कोरोना भाइरसको महामारी भएर जनता मर्नु र बाँच्नुको अबस्थामा पुग्दा समस्यामा परेका कोरोना संक्रमितलाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्याए, घरघरमा अक्सिजनको सिलिण्डरदेखि औषधि पुर्याए, संक्रमितहरुलाई टेलिफोनमै पनि समस्या बुझ्ने दैनिक काम गरे, टोलटोलमा मोवाईल भ्यान मार्फत निःशुल्क पीसीआर परीक्षण गराए, टोल टोलमै लगेर आफ्ना जनतालाई सुरुमै कोरोना भाइरस बिरुद्धको खोप लगाउन सफल भए । विदेशबाट फर्किएका नेपाली नागरिकका लागि बस्ने, खानेसहितको व्यबस्था गर्दै १०० शय्याको क्वारेन्टाइन सञ्चालन गरे,े कोरोना महामारीमा आमनागरिकमा पुर्याएको सेवालाई आज पनि जनताले सम्झिरहेका छन् । म आफैलाई कोरोना संक्रमण भइरहदा पनि जनताको प्रतिको उत्तरदायित्व निर्वाह गर्न चुकिन ।

लकडाउनमा दैनिक ज्याला मजदुरी गर्नेलाई खाद्यान्न राहत वितरणदेखि जगातीमा निःशुल्क खाना खुवाउने काम गरे । पैदलनै पूव झापासम्मको यात्रा तय गरेका, बच्चा बोकेर पैदल हिडेका महिलादेखि तीनसम्म भोकै भएका हजारौ पैदल यात्रुलाई उद्योगी साथीहरुसंगको समन्वयमा जगातीमा खाना खुवाए । अलपत्र परेका र टाढा जानेहरुलाई गाडीको व्यबस्था गरेर घरसम्म पुर्याउने व्यबस्था गरे । जुन मानवीय सेवा प्रकट गरे, त्यो कार्यको आजपनि कतिपयले फोन गरेर सम्झने गरेका छन् । सिपाडोल क्षेत्र परोपकार संस्थामार्फत पनि लकडाउनमा बटुवाको लागि खानाको व्यबस्था र १५ दिनसम्म भाडाको गाडीको व्यबस्था गरेर गन्तव्यमा पुर्याउने काम गरियो ।

शिक्षाको विकासमा तपाईले के के गर्नु भयो ?

शिक्षाको विकासमा पनि मेरो सक्रियता उत्तिकै रहयो । सूर्यविनायक भित्रका सामुदायिक विद्यालयको भौतिक गुणस्तरदेखि शैक्षिक गुणस्तरीय बृद्धि गर्ने, स्थानीय पाठ्यक्रम निर्माणको संयोजन गर्दै पाठ्यक्रम निर्माण गर्न सफल भइयो । वडा नं. ८ सिपाडोलमा कक्षा ११ पढ्न भक्तपुर गएर कोठा लिएर बस्नु पथ्र्यो, अहिले यहाँ चार वटा विद्यालयको भवन बनाउन सफल भए । यहाँको सरस्वती आधारभूत र सन्तकृष्ण आधारभूत विद्यालयमा ८–८ कोठे पक्की भवन निर्माण गराउन सफल भए ।

डिएपिआइयू र सिएलपिआइयूको रु. सात करोडको लागतमा शान्ति निकेतन माविको सुविधा सम्पन्न आधुनिक भूकम्प प्रतिरोधी २० कोठे भवन निर्माण गरेर केही दिन अगाडि मात्रै पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर सञ्चालनमा ल्याउन सफल भएका छौँ । यहाँ विद्यालयलाई जग्गा मिलाउन मैले कति भूमिका निर्वाह गरे, यहाँका जनताले देखेकै छन् । आज कक्षा १२ सम्म आफ्नै गाउँमा पढ्न पाइने भएको छ । कक्षामा कम्प्युटरदेखि ल्याबसम्मको व्यबस्था छ । यहीँ वडाको गणेश माविलाई १० रोपनी क्षेत्रफलमा ६ करोड ५० लाखको लागतमा २१ कोठे सुबिधा सम्पन्न नयाँ भवन निर्माण कार्य भइरहेको छ । यो नयाँ भवनमा अबको दुई वर्ष भित्र विद्यार्थीले पढ्न पाउँछन् । सबै वडामा नगरका सबै विद्यालयलाई यस्तै बनाउने मेरो लक्ष्य छ ।

परोपकारका क्षेत्रमा तपाईको अनुभव कस्तो रहयो ?

परोपकारका धेरै कामहरु गरेको छु । भौतिक रुपमा सिपाडोलमै एउटा भवन निर्माण गराएको छु । सिपाडोलमै सिपाडोल क्षेत्र परोपकार सामुदायीक समाज भवन निर्माण गरियो । यसका लागि नगरपालिकाबाट ५५ लाख र वाग्मति प्रदेशबाट ३० लाखको बजेट व्यबस्था गरेर भवन निर्माण गराएँ । अहिले त्यो भवनले यहाँ सामाजिक कार्यका लागि निकै सहयोग पुगेको छ ।

स्वास्थ्यको क्षेत्रमा के गर्नु भयो ?

स्वास्थ्य, शिक्षा, सडक पूर्वाधारबाट निकै पछाडि परेको ठाउँ हो सिपाडोल । अहिले यहाँका प्रत्येक स्वास्थ्य चौकीको स्तरोन्नती गराएको छु । सरकारले उपलब्ध गराएको निःशुल्क पाइने औषधि लगायत अन्य अत्यावश्यक औषधि स्वास्थ्य चौकीमै पाइन्छ । स्वास्थ्य परीक्षणदेखि सबै गुणस्तरीय स्वास्थ्य सेवा गाउँ मै पाउनुले यहाँका जनताले निकै राहत महसुस गरेका छन् । मेरो अथक प्रयासमा र मानीयन महेश बस्नेतको ठूलो प्रयासमा जगातीको इँटा तथा टायल कारखानाको २५ रोपनी क्षेत्रफलमा अहिले सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउन सफल भएका छौँ ।

यसमा सबैको योगदान छ तर अस्पतालको सुरुको क्षणमा जग्गा प्राप्ती गर्न र अस्पतालको फाउण्डेसन बनाउन मैले कति संघर्ष गरेँ, लगानी गरेँ त्यो अस्पतालसँग सम्बन्धित रहेका सबैलाई थाहा भएकै कुरा हो । अहिले यहाँ ५० शैयाको सुबिधा सम्पन्न अस्पताल सञ्चालन गरियो । अब नगर प्रमुख हुन पाए यो अस्पताललाई १०० शय्यामा बिशेषत्र सेवासहितको सुबिधा सम्पन्न अस्ूपतालको रुपमा बिकास गर्ने मेरो लक्ष्य छ ।

पर्यटन प्रवद्र्धनको तपाईको योगदान कस्तो रहयो ?

सिपाडोल सबैले हेला गर्ने ठाउँ थियो कुनै दिन । आज सबैले माया गर्ने ठाउँ बनेको छ । यहाँको सुन्दर, शान्त, मनोरम ठाउँलाई मैले पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सफल भएको छु । आज सिपाडोल एक टुक्रा जग्गा किनेर घर बनाउनदेखि एक दिन घुमेर आउँन भनेर घुम्न आउने पर्यटकीय क्षेत्रको रुपमा बिकास भएको छ । पर्यटन प्रबद्र्धनको क्षेत्रमा घ्याम्पे डाँडा, रानीकोट, डोलेश्वर, आशापुरी बोकाचो गढी, मालीगाउँ जस्ता क्षेत्रहरु पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । निकै ओझेलमा परेको ऐतिहासिक बोकाचो गढीँ, माली गाउँ जस्ता ठाउँहरुमा सडक पूर्वाधार, भ्यू टावरदेखिका पूर्वाधारले पर्यटक तानिरहेको छ । यहाँ आन्तरिक आम्दानीको श्रोत बनिरहेको छ ।

सडक, पुल निर्माण कुन चरणमा पुग्यो ?

यहाँका जनताले सोच्नु पनि भएको थिएन, पाँच वर्षको अबधीमा यतिधेरै सडक, पुल निर्माण होला भनेर । सडक पूर्वाधारको बिकासले पनि यहाँको मुहार हासिरहेको छ । सडक पुग्ने कल्पना पनि नगरेका ठाउँमा पर्यटनको बिकासका लागि सडक पुर्याउन म सफल भएँ ।
रु. ३ करोड ५० लाखको लागतमा घ्याम्पे डाँडाबाट पाटी भञ्याङ, आशापुरी, कुशादेवी ६ किलोमिटर सडक, रु. ५० लाखको लागतमा घ्याम्पेडाँडा रानीकोट सडक, गोरेटो बाटो समेत नभएको ठाडो भीरबाट आउने जाने गर्नु पर्ने पृथ्वी नारायण शाहले भक्तपुर आक्रमण गर्दा बनाएको बङ्कर भएको बोकाचो गढीँ जाने पाटी भञ्याङबाट बोकाचो गढीसम्म जान सडकको नयाँ ट्रयाक खोल्दै नालीसहितको सडक निर्माण गर्न सफल भएको छु । यहीँ सडक बनेपछि यहाँ पर्यटनको बिसका भएको छ । यहाँका लामा बस्तीमा आन्तरिक आम्दानीको श्रोत बनेको छ ।

त्यस्तै डोलेश्वर, मालीगाउँ काक्राबारी ४ किमि सडक, राजकूलो मात्रै भएको ठाउँमा ६ मिटर चौडा सडकहरु इटबुबाट चुनदेवी २ किमि सडक, लुथाबुपाकुबाट दार्जलिङ हाइट हुदै चुनदेवी जाने २.५ किमि सडक, सूर्यविनाक चोकबाट गणेशमन्दिरसम्म जाने सडक १४ मिटर चौडा गर्न सफल भएको छु । त्यस्तै आदर्शबाट वडा कार्यालय जाने ३ किमि सडक, वाग्मति कोल्डस्टोरबाट बाहिटी हुदै चखुटोल जाने ६.५ किमि सडक, ङागाचाबाट झ्यालीपाटी हुदै भट्टराई टोल जाने ३ किमि सडक, जगातीबाट गणेश माबि हुँदै डोलेश्वर जाने ४ किमि सडक, डोलेश्वरबाट पलाँसे जाने सडक निर्माण गरेको छु । यस्ता अरु पनि धेरै सडक छन् कतिपय निर्माण भइरहेका छन्, कतिपयकालो पत्र भइसके, कतिपय कालोपत्र र ढलान गर्ने चरणमा छौँ । त्यस्तै सिपाडोलमा मात्रै जगाती चँखु खोलामा दुई वटा भद्रबस्तीबाट टार जाने सडकको पुल गरि तीन वटा ठूला पक्की पुल र २ वटा ट्रस पुल निर्माण गरेको छु ।

अन्तमा केही भन्न चाहनु हुन्छ ?

पार्टीले पाँच वर्ष अगाडि जुन बिश्वासले मलाई वडाध्यक्षको टिकट दियो । मैले त्यसलाई इमान्दारीताको साथ निर्वाह गर्न सफल भए भन्ने लागेको छ । चुनाबमा गरेको घोषणा पत्र भन्दा चागुणा बढी काम गर्न सफल भएको छु । अब पनि पार्टीको घोषणा पत्रलाई छातीमा राखेर अगाडि बढ्ने हो । मौका पाए सिंगो नगरको बिकासमा फड्को मारेर देखाउने छु । पार्टी, संगठनको बिकास, युवा नेतृत्व हस्तान्तरणमा पनि म सफल भएको छ । अहिलेको सत्ता गठबन्धनको चुनौतीलाई चिर्न सितिमितिले सक्दैन । मलाई लाग्छ, त्यो दलीय गठबन्धनको चुनौतीलाई चिरेर नगर प्रमुख मात्रै होइन उपप्रमुखसहित सबै वडामा एमालेलाई विजयी गराउने पार्टीको लक्ष्यलाई मैले पूर्णता दिन सक्छु ।

 

ऐतिहासिक बोकाचो गढीँदेखि मालीगाउँसम्म पर्यटकीय गन्तव्य बन्दै

भक्तपुर, १० बैशाख : सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थि ऐतिहासिक बोकाचो गढीँ अचेल आन्तरिक पर्यटकको रोजाईको गन्तव्य बन्न थालेको छ । पाँचवर्ष अगाडिसम्म निकै ओझेलमा परेको यो गढीँ जनप्रतिनिधिको आगमनसँगै यसले स्वरुप फेरिए पछि अचेल आन्तरिक गन्तव्य बन्न थालेको हो ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा भक्तपुर आक्रमण गर्नु अगाडि बंकर बनाएर बसेको २१०० फिट माथिको उचाइमा रहेको यो गढीँमा वडाध्यक्ष किरण थापाले सडकनै निर्माण गरिदिए पछि भने अहिले आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको हो । सडक एवं पूर्वाधारको बिकाससँगै आन्तरिक पर्यटकको आगमन बढेपछि यहाँका बासिन्दाको आम्दानीको श्रोतसमेत बढेको छभने स्थानीयस्तरमै रोजगारीको अवसरहरु जुट्न थालेका छन् ।

पाँचवर्ष अगाडिसम्म पैदल हिड्ने सजिलो गोरेटो बाटो समेत नभएर जंगलको ठाडो बाटो हिड्नु पर्ने यहाँका अधिकांश लामा बस्तीका बासिन्दा यतिखेर भने ६ मिटर फराकिलो सडकमा हुइकिन पाए पछि दंग पर्न थालेका छन् ।

नेपाल एकीकरणको क्रममा भक्तपुर आक्रमण गर्नु अगाडि पृथ्वीनारायण शाहले यहाँको आशापुरेश्वर महादेव मन्दिरमा दर्शन गरि बोकाचो गढीमा आएर बंकर बनाएर बसी भक्तपुृरलाई हेर्दै यहाँको आक्रमणको योजना बनाएर भक्तपुरमाथि विजयी हासिल गरेकोे ऐतिहासिक कथन रहेको वडाध्यक्ष किरण थापा बताउनु हुन्छ ।

उहाँले भन्नुभयो, “विगतमा यो ठाउँ निकै ओझेलमा परेको थियो, यो रमणीय ठाउँ जहाँबाट सिंगो भक्तपुरमात्र नभई, उपत्यका र हिमाली दृश्यहरु देख्न सकिन्छ । यो ऐतिहासिक ठाउँ भएपनि निकै ओझेलमा परेको ठाउँलाई हामी आएपछि गढीँसम्म आइपुग्ने सडक निर्माण गर्न सफल भयौँ, अहिले टावर बनिसक्यो, मन्दिर बन्दैछ ।”

बोकाचो गढीँमा वडाले सडक पुर्याए पछि नेपाली सेनाले टावर बनाइदिएको छ । गढीँ आफैमा टावर हो, त्यसमाथि पनि सेनाले टावर बनाइदिए पछि उपत्यकाको मनोरम दृश्य छर्लङ्ग देखिने भएपछि आन्तरिक पर्यटकको आगमन बढेको हो । शनिवार यहाँ निकै भीड लाग्ने गरेको छ । नगरपालिकाले टावर नजिकै बिन्ध्यवासिनी मन्दिर निर्माण गरिरहेको छ । वडाले यो ठाउँलाई पिकनिक स्पोर्टका रुपमा विकास गरेको र नगरपालिकाको लगानीमा सार्वजनिक शौचालय निर्माण गरेको छ । यहाँ अझै धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको वडाध्यक्ष थापाले बताउनु भयो ।

वडाध्यक्ष थापाले भन्नुभयो, “गढीको भित्र रहेको बंकर अहिले पुरिएको छ । यो उत्खनन्को पर्खाइमा छ, ऐतिहासिक एवं पुरातात्विक सम्पदा जथाभावी उत्खनन गर्नु पनि भएन, नेपाली सेनाले उत्खनन् गर्ने कुरा गरिरहेको छ, पुरातत्व विभागले उत्खनन्मा पक्कै ध्यान दिनु पर्ने आवश्यकता छ ।” बंकर माथि पुराना र ऐतिहासिक इँटा तथा ढुङ्गाहरु अहिले पनि भेटिन्छन् । यसको संरक्षण आवश्यक रहेको छ । नगरपालिकाले संरक्षणको योजना बनाइ रहेको उहाँ बताउनु हुन्छ ।

तत्कालिन जिल्ला विकास समितिको सदस्य हुँदा थापाकै पहलमा सडक निर्माण गरेर सिपाडोल, पाटी भञ्याङमा सडक उद्घाटनको क्रममा पहिलो पटक गाडी जादा गाडीलाई समेत फूलमालाले स्वागत गरेको यो ठाउँमा अहिले पक्की सडकहरु बनेका छन् ।
सिपाडोलमा रु. ३ करोड ५० लाखको लागतमा घ्याम्पे डाँडाबाट पाटी भञ्याङ, आशापुरी, कुशादेवी ६ किलोमिटर सडक, रु. ५० लाखको लागतमा घ्याम्पेडाँडा रानीकोट सडक, पाटी भञ्याङबाट बोकाचो गढीसम्म जान सडकको नयाँ ट्रयाक खोल्दै नालीसहितको सडक निर्माण गर्न सफल भएपछि स्थानीयको मुहार सधै हास्न थालेको छ ।

लामा बस्तीले भरिएको यो ठाउँका स्थानीय सन्तबहादुर तामाङ्ले यो ठाउँको मुहार फेरिएला र यहाँको बस्तीमा खुसी आउँला भन्ने भन्ने सोच्नै नसोचे पछि जनप्रतिनिधि आएपछि यो ठाउँले मुहार फेरेको बताउनु भयो । उहाँले भन्नुभयो, “बोकाचो गढीँको केही प्रचार थिएन, यहाँ बाहिरबाट मान्छे आउदैनथे, बरु मकै, कोदो, आलू खान बदेँल आउथे, हिड्ने फराकिलो बाटो थिएन, भारी बोकेर साधुरो उकालो बाटो हिड्नु पर्दा टाउँकोबाट मात्रै हैन, पैतालाबाट पनि पसिना आउँथ्यो, हेर्दा हेर्दै पाँच वर्षमै यहाँको मुहार फेरियो, हाम्रो अनुहारमा खुसी लिएर आयो ।”

वडाअध्यक्ष थापाको पहल र बजेट व्यबस्थापनमा सडक बनेपछि अहिले आम्दानीको श्रोत बढ्न थालेको यहाँका बासिन्दा बताउँछन् । स्थानीय कूलबहादुर तामाङ अचेल यहाँ रमाउन, यहाँको लोकल कुखुरासँग ढिडो खान टाढाबाट मानिसहरु आउँने क्रम बढेको, चिया, खाजाहरु बिक्री हुन थालेकाले स्थानीयमा आम्दानीको श्रोत गाउँमै आउन थालेको बताउनु हुन्छ ।

त्यसैगरि डोलेश्वरबाट मालीगाउँ जाने र काक्राबारीजाने चार किमि सडक बनेपछि ओझेलमा परेको मालीगाउँ समेत पर्यटकीय गन्तव्य बनेको छ । माली गाउँमा होटलहरु खुल्न थालेको, आन्तरिक पर्यटकको आगमन बढेको वडाध्यक्ष थापा बताउनु हुन्छ । रानीकोटका दीपक सापकोटा रानीकोट, पाटी भञ्याङ, काभ्रेको कुसादेवी जोड्ने सडक, बोकाचो गढी जाने सडक, मालीगाउँ काक्राबारी जाने सडक बनेसँगै पिछडिएको यहाँको बस्तीको मुहारमा खुसी आएको बताउनु हुन्छ ।

दरबार स्क्वायरमा हाट बजार सम्पन्न

भक्तपुर, १० बैशाख : भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा आयोजना गरेको एक दिने हाट बजार सम्पन्न भएको छ । स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने उदेश्यले जुजु इभेण्टसले भक्तपुर दरवार स्क्वायर परिसरमा सञ्चालन गरेको हाट बजारमा २५ वटा स्टलहरु राखिएको थियो । खाद्य सामग्री, हस्तकला, कृषि उत्पादन, नेपाली लत्ता कपडा आदिका स्टलहरु राखिएको बजारको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बिहान उद्घाटन गर्नु भएको थियो ।

मल्लले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्ने उदेश्यले तथा आयात प्रतिस्थापन गर्न सकिने किसिमका उत्पादनहरुलाई विशेष प्रथमिकतामा राखेर प्रवद्र्धन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले सबैको सहकार्यबाट स्थानीय उत्पादनहरुको विकासमा सहयोग पुग्ने बताउदै भक्तपुर चेम्बर अफ कसर्मले जिल्लाका विभिन्न स्थानहरुमा यस प्रकारको हाटबजारहरु सञ्चालनका लागि प्रोत्साहन गर्ने बताउनु भयो ।

जुजु इभेण्टसका सुसान्त सुवाल, आसिम वेंजु, कमर्सका केन्द्रिय सदस्य रोशन भोयद्यो, परशुराम दाहाल लगायतले हाट बजारले उपभोक्तामा दिने राहत र प्रभावकारीताकोबारेमा चर्चा गर्नु भएको थियो । हाट बजारमा स्थानीय बासिन्दाले अवलोकन गर्नुका साथै सामानहरु सुपथ मूल्यमा बिक्री गरिएको बताइएको छ ।

सरकारले तोकेको भाँडा दर र ट्याक्सीको जनता ठग्ने काइदा

-अनुसा थापा, भक्तपुर

काठमाडौं, १२ असोज । दशैँ मान्न दाङ घर जान गाडी चढ्नका लागि नयाँ बसपार्क जान बौद्ध आरुबारी तिनचुली बस्ने श्याम भण्डारीले ट्याक्सी चढ्नको लागि ट्याक्सी खोज्दै थिए । चाबहिलको चुच्चेपाटीबाट एउटा खाली ट्याक्सी आयो । उनले नयाँ बसपार्क जान भाडा सोधे । उनले मिटरमा जान खोजे । तर ट्याक्सी चालक मानेनन् । रामहिटीबाट नँया बसपार्क गएको रु. १५ सय भाँडा मागे । उनले भाडा घटाउन वार्गेनिङ गरिरहदाँ अर्को खाली ट्याक्सी आइपुग्यो ।

अर्को ट्याक्सी चालकले हजार रुपियाँ दिए पुर्याइदिने बताए । करिब दश मिनेट मोलमोलाइ गरेपछि आठ सय रुपिँयामा ट्याक्सी चालक माने । यो त एउटा नमूना मात्रै हो । यस्ता घटना दैनिकी सयौँ यात्रुले भोग्दै आउने गरेका छन् । दैनिक सयौँ यात्रुहरु ट्याक्सी चालकबाट ठगिने गरेको छन् । चाबहिलबाट रामहिटी करिब आठ किलोमिटर होला । आठ किमिको लागि ट्याक्सीले १५ सय रुपियाँ माग्यो । दशैँको लागि लाखौ सर्वसाधारणले उपत्यका छोड्छन् । तर ट्याक्सीले भने मिटरमा यात्रु बोक्न मान्दैन् ।

काँडाघारीको हरहरमहादेवथानबाट बल्खु जान वीरगंज घर बताउने रामबहादुर यादवलाई ट्याक्सीले १२ सय रुपियाँ माग्यो । मिटरमा जाऊभन्दा मिटरमा जान मानेनन् । गाडी बेच्ने कम्पनीले ट्याक्सी व्यवसायीहरुलाई कमिशन दिन्छु भनेर ट्याक्सीको नयाँ मापदण्ड परिवर्तन गर्न लागिरहेका छन् । कमिशनकै लागि यातायात व्यवसायी र ट्याक्सी व्यवसायी ७९६ सिसी गाडी बेच्ने कम्पनी धाइरहेको चर्चा छ ।
यता ट्याक्सीको नयाँ मापदण्ड कार्यान्वयन हुन् नदिन ७९६ सिसीको गाडी बेच्ने कम्पनी दिनहु जसो यातायात मन्त्रालय र यातायात व्यबस्था विभाग धाइरहेको गुनासो आइरहेको छ ।

२०६९ साल माघ महिनामा यातायात अञ्चल कार्यालय एकान्तकुनाले यातायात व्यवस्था विभाग र यातायात मन्त्रालयले नयाँ ट्याक्सी दर्ता रोकेपयिछ २०५७ सालभन्दा पछि ट्याक्सीको संख्या घटेको छ । तर जनसंख्या तीन गुणाले बढेको छ । अहिले सञ्चालनमा भएको सबै ट्याक्सी थोत्रा र कबाडी भइसके ।

हाल तत्कालै लक्जरियस् ट्याक्सीको नयाँ दर्ता खोल्ने माग भययो । पाँच हजार नयाँ ट्याक्सीको दर्ता तत्कालै खोल्न मन्त्रालयमा माग राखेको थियो । वर्षैपिच्छे नयाँ ट्याक्सीको दर्ता खोल्ने भनेको थियो । ट्याक्सी व्यवसायीको कारणले प्रस्ताव सँगसँगै माग नै गायव भयो ।
जनताले पैसा तिरेर पनि राम्रो ट्याक्सी चढ्न पाएको छैनन् । सरकारले नै ट्याक्सी व्यवसायीलाई शक्तिशाली बनाएको प्रस्टै देखिन्छ । देशको सातवटै प्रदेशमा नयाँ ट्याक्सीको दर्ता बन्द छ ।

नयाँ गाडी बेच्ने अटो शोरुमहरुलाई हजारदेखि बाह्र सय सिसीको खोल्ने दिने भए कमिशन चाहिन्छ भन्दै ट्याक्सी व्यवसायी र यातायात महांघका नेताहरुले कमिशनको माग राखेका थिए । यातायात मन्त्रालय, यातायात व्यवस्था विभागका केही सम्बन्धित व्यक्तिहरुको पनि त्यसमा मिलेमतो रहेको आरोप लाग्दै आएको छ ।

व्यवसायीले हामीलाई कमिशन नदिए हामी सरकारलाई भनेर नयाँ ट्याक्सीको दर्ता खोल्न दिदैनौँ भन्दै बिचौलिया खुल्ला रुपमा चुनौती दिइरहेका छन् । ट्याक्सी व्यवसायीहरुले कमिशन नदिए हामी नयाँ ट्याक्सीको दर्ता खोल्न नदिने अटो शोरुमहरुनै बताउँछन् ।
नयाँ ट्याक्सीको दर्ताको फाइल यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय र ट्याक्सी व्यवसायीको कमिशनको खेलमा अड्केको बताइएको छ । यातायात व्यवसायीहरुले कमिशन नपाएर नयाँ ट्याक्सीको दर्ता रोकेको र सरकार पनि ट्याक्सी व्यवसायीसंग पछि हट्दा राज्यलेनै राजस्व गुमाएको बताइएको छ ।

सर्वसाधारणले भनेको बेलामा ट्याक्सी पाएनन् । यता सर्वसाधारणले सस्तोमा ट्याक्सी चढ्न पाएका छैनन् । यातायात व्यवसायीले कमिशन नपाउने भएपछि नयाँ ट्याक्सीको फाइल अड्कायो भन्दै व्यवसायीहरुनै गुनासो गर्न थालेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले अहिले भएका ट्याक्सी त राम्रो व्यबसाय गर्न सकेको छैनन्, नयाँ टयाक्सीको कहाँ खोल्न दिनु भन्दै सरकारलाई नयाँ ट्याक्सी दर्ता गर्न नदिने बताउनुभयो । कमिशनको लोभमा नयाँ ट्याक्सीको दर्ता खोल्न नदिएको भन्ने छ नि त भन्दा उहाँले जवाफ दिनु भएन ।

अहिले उपत्यकामा सञ्चालनमा भएका भाँडाका कालो प्लेटका मिटर जडान ट्याक्सीको भाडा यातायात व्यवस्था विभागले निर्धारण गरेको छ । ट्याक्सी चढ्नेबित्तिकै गुड्दै नगुडी १४ रुपियाँ उठ्छ । यो कस्तो नियम हो । ट्याक्सी चढेबापत जनताले ट्याक्सी व्यवसायीलाई सेवा शृल्क बापत एकदिनमा लाखौ रुपियाँ जनताले यत्तिकै तिरिरहेका छन् ।

सरकारले निर्धारण गरेको भाडा प्रति किमि ३९ रुपियाँ हो । तर टयाक्सी मिटरमा हिड्न मान्दैन् । एक किलोमिटर यात्रा गर्दा यात्रुले ५३ रुपिँया तिर्नुपर्छ । सरकारी दरमा ट्याक्सीले यात्रु गन्तव्यमा पुर्याउन त के मिटरमा जान पनि मान्दैनन् । यात्रुले भनेको ठाउँमा ट्याक्सी जान मान्दैन् । नयाँ ट्याक्सीको दर्ता पनि खोल्न दिदैनन् । आफू पनि सस्तोमा जनतालाई सेवा दिदैनन् । ट्याक्सी व्यवसायीको दादागिरिको अगाडि सरकार बोल्दैन ।

ट्याक्सी व्यवसायी जनतालाई सस्तोमा सेवा सुविधा दिन तयार छैनन् । सरकारलाई नयाँ ट्याक्सीको दर्ता खोल्न दिन पनि तयार छैनन् । सम्बन्धित निकायले ध्यान नदिएको व्यवसायीको गुनासो छ । जनतालाई मंहगो भाँडा लिएर वर्षौदेखि ठगिरहेको छन् । जनताको हकमाथि ट्याक्सी व्यवसायीले बन्देज लगाइरहेका छन् । सेवासुविधा दिने नाममा जनता लुटिरहेका छन् ।

यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय र प्रदेश सरकार ट्याक्सी व्यवसायीहरुसंग आर्थिक लेनदेनमा बिकेको आरोप लगाइरहेको छ । जसको कारण नयाँ ट्याक्सी खोल्ने फाइल अड्केको छ । ट्याक्सी व्यवसायीले जहिलेपनि यात्रु ठग्ने काम गरेको छन् । त्यतिले मात्र नपुगेर अनलाइन एपमार्फत ट्याक्सी बुकिङ गर्ने भन्दै टुटल र मेट्रो ट्याक्सी बजारमा आएका छन् । टुटलले एक किलोमिटरमै १५० रुपियाँ लिन्छ । मेट्रो ट्याक्सीले एक किलोमिटरमा ९९ तिर्नुपर्छ ।

सरकारले निर्धारण गरेको भाँडा प्रतिकिमि ३९ रुपियाँ छ । मेट्रो ट्याक्सी र टुटलको भाँडा हरेक सर्वसाधारणले तिर्न सक्ने स्थिति छैन । सर्वसाधारणहरुलाई सेवासुविधा दिने भनेर खोलिएको टुटल र मेट्रो ट्याक्सीले अप्रत्यक्ष रुपमा जनता ठग्ने काम मात्र गरेको छन् ।
टुटल र मेट्रो ट्याक्सीले यात्रसँग लिने भाँडा आधिकारिक छैन । ट्याक्सी व्यवसायीले जनता ठग्न विभिन्न रणनीति बनाउने गरेको छन् । त्यही रणनीतिको फल हो टुटल र मेट्रो ट्याक्सी । सरकारभन्दा शक्तिशाली यि दुई कम्पनी हुन् । सेवाको नाममा विभिन्न बहाना बनाइ जनता ठग्ने लुटेराहरुलाई सरकारले कारबाही कहिले गर्छ ।

 

आज शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढ्यो

काठमाडौँ, १६ पुष ।
आज शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हिजो विहिबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो विहिबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहिबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।