बाख्राले जन्मायो एकै पटक पाँच पाठापाठी, किसानको घरमा खुसी

भक्तपुर, १५ भदौ । दुई देखि तीनवटासम्म पाठापाठी पाउदै आएको बाख्राले एकै बेतमा पाँच वटा पाठापाठी पाए पछि को किसान खुसी हुदैन र ? यस्तै खुसी आएको छ भक्तपुरको सूर्यविनायक–५ कटुन्जेका मिना भुजुको घरमा ।

एक छोरा र एक छोरी अष्ट्रेलिया अध्ययनरत तथा एक छोरी बैंकमा अधिकृतस्तरमा कार्यरत मिनाको श्रीमान पत्रकार अमर भुजु पनि अधिकांश समयमा व्यबस्त हुने भएपछि घरमा समय कटाउनकै लागि भएपछि पुस्तौदेखि गर्दै आएको कृषि एवं पशुपालनलाई निरन्तरता दिदै आएको उहाँको घरमा पहिलो पटक ३ पाठी र २ पाठा जन्माए पछि उहाँको खुसीले मन प्रफुल्ल बनेको हो ।

पाँच वटै पाठा पाठी स्वस्थ रहेको बताउदै उहाँले विगतमा झै यस वर्ष पनि दुई वा तीन वटा पाठापाठी पाउँने अपेक्षा गरेपनि पाँच वटा जन्मिए पछि त्यसलाई गाईको दूध खुवाएर हुर्काउने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका सचिव एवं पत्रकार महासंघ भक्तपुरका पूर्व अध्यक्ष दबाब साप्ताहिकका प्रकाशक, सम्पादक अमर भुजुले बा्रखाले पाँच पाठा पाठी पाए पछि श्रीमति मिनाको निकै खुसी रहेको बताउनु भयो ।

मिनाले आफ्नो घरमा उन्नत जातको बाख्रा पालेको र यसको स्याहार तथा आहार बिहारमा राम्रो ध्यान दिएकाले पाठा पाठी पनि स्वस्थ्य जन्मिएको भन्दै यस्ता किसानलाई स्थानीय सरकारले पुरस्कृत गर्ने र व्यवसायिक बाख्रा पालनका लागि प्रोत्साहन गर्नु पर्ने बताउनु भयो ।

अहिलेसम्मकै ठूलो परिमाणमा चामल, दाल र तेल जफत, रु. १४ लाखको खाद्यान्न नष्ट, रु. तीन लाख जरिवाना

-रमेश गिरी
भक्तपुर, १० भदौ : भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’ मा आज छापा मारी रु. १४ लाख बराबरको बिभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरि नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले आज स्टोरमा छापा मारी म्याद गुज्रेका, घुन तथा किरा परेको, कुहिएको चालम, दाल र तेल जफत गरि नष्ट गरेको हो ।

व्यापारी महेश ठकुल्लावटले सञ्चालन गरेको स्टोरको चार तले घर र एउटा टहरामा गोदाम गरि राखेको खाद्यान्न मध्ये कुहिएका चामल गोदामबाटै रिफाइन गरि पुन प्याकेजिङ गरि बजारमा बिक्रीका लागि पठाउने गरिएको पाइएको हो ।

सहायक प्रजिअ शर्माले भन्नुभयो, “उपभोक्ताले दिएको उजुरीका आधारमा हामीले तत्कालै अनुगमन गरेका हौ, तर यहाँ त अचम्मै देखियो, बिग्रिएका चामल रिफाइन गरि बिभिन्न ब्राण्डका नयाँ बोरामा पुनः प्याकिङ गरि बिक्री गरिदो रहेछ ।” व्यापारीले गोदाम घरमै मेशिन राखी बोरामा कुहिएका, घुन र किरा परेका चामललाई मेशिनमा राखेर किरा, घुन छुट्याई, चामललाई पुन सेतो बनाएर बिभिन्न नामका बोरामा प्याकिङ गरेर त्यही सिलाएर पुनः बिक्री गर्ने गरेको पाईएको उहाँले जानकारी दिनु भयो ।

टोलीले गोदाम घरबाट आज ६ घण्टा लगाएर ११९ क्विन्टल चामल, नौ क्विन्टल ७५ किलो दाल, ६३६ लिटर तेल जफत गरि भक्तपुर नगरपालिकाद्धारा जगातीमा सञ्चालित प्राङ्गारिक मल उत्पादन केन्द्रमा लगेर नष्ट गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “अब फेरी बजारका कुनै पनि खाद्य स्टोरमा यस्तो लापर्वाहीको पराकाष्ट देख्न नपरोस, प्रत्येक व्यवसायी र यसका छाता संगठन उपभोक्ताको अधिकारप्रति जिम्मेवार बन्दै नियम पालना गर्नु पर्यो, एउटा पक्ष, व्यक्ति र निकायले मात्रै यो बेतिथिलाई रोक्न सकिदैन, त्यसैले सबै व्यवसायी, उपभोक्ता, जिम्मेवार नियामक निकायबीच सक्रिय समन्वय हुनु पर्यो अनि मात्रै रोक्न सक्छौँ ।” म्याद गुज्रेको सामान पुनः बिक्रीका लागि लगेको, खाद्य सामान फेरबदल गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको बताउदै उहाँले नियमानुसार आजै रु. तीन लाख जरिवाना गरिएको बताउनु भयो ।

अनुगमनमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले यो अहिलेसम्मकै ठूलो परिमाणमा खाद्य सामग्री नष्ट गर्नु परेको बताउदै यसैलाई आधार मानेर अरु व्यापारीले पनि यस्ता गल्ती नगर्न सचेत गराउनु भयो । बिग्रिएको कुनै पनि खाद्यान्न बिक्री गर्न पाइदैन, यहाँ त चामललगायतका खाद्यान्न पुन प्याकेजिङ गरि बिक्री गरेको पाईयो भन्दै उहाँले अधिकार व्यापारीलाई नभएको बताउनु भयो ।

अनुगमनकामा उद्योग वाणिज्य संघ भक्तपुरका सचिव एवं संघका अनुगमन समिति संयोजक विश्वराम दुवालले चामलमा घुन मात्रै नभई किरा पनि भेटिएको, भुँईभरि चालम छरिएको, मुसाको लिँडहरु चामलमा रहेको, कुहिएको चामल बिक्री गरेको पाईएको बताउनु भयो । उहाँले बिग्रिएको एउटै चामल बिभिन्न ब्राण्डका नयाँ बोरामा प्याकिङ गरि फरक मूल्यमा बिक्री गरेको भन्दै सामानको मूल्य लिए पछि राम्रो सामान बिक्री गर्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले यो घट्ना व्यापारीको प्रतिनिधि घट्ना मात्रै भएको भन्दै बजारका धेरै व्यापारीले यस्तो धन्दा चलाएको सूचना आएकाले बजार अनुगमनलाई कडाई गरेर कारबाहीलाई फराकिलो पार्नु पर्ने बताउनु भयो । आम उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको भन्दै उहाँले अब यस्ता गोदाममा छापा मार्नु पर्ने औषधिमा पसलमा समेत छापा मारेर कारबाहीको दायरामा ल्याउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

व्यापारी ठकुल्लावटले भने घुन लागेको चामललाई सफा गरेर नयाँ बोरामा प्याकिङ गरेर बजारमा पठाउने गरेको स्वीकार्दै रिप्याकिङ गर्ने अनुमति लिनु पर्छ भन्ने थाहा पाए पनि थोरै परिमाणमा बिग्रने भएकाले अनुमति नलिएको दाबी गर्नु भयो । बिग्रिएको दाल खुल्ला रुपमा बिक्री गर्ने, म्याद गुज्रिएको तेल दुनोट बनाउने व्यवसायीदेखि बिभिन्न परिकार बनाउने होटलहरुमा बिक्री गर्ने गरेको अनुगमनको क्रममा पाईएको छ ।

भक्तपुर नगरपालिकाका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले उक्त स्टोरलाई भक्तपुर नगरपालिकाले दुई पटक जरिवाना लगाए पनि अटेर गरेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले यसअघिको अनुगमनमा रु.२५ हजार जरिवाना लगाएर सचेत गर्दा पनि अटेर गरेको पाइएको छ ।

अनुगमन पछि नेपाल रेडक्रस सोसाईटी भक्तपुरका परशुराम पाण्डेले व्यापारीले मानवीय स्वास्थ्य माथि ठाडो खेलबाड गरेको बताउदै अनुगमनलाई फराकिलो र कारबाही कडाई गर्नु पर्ने बताउनु भयो । अनुगमनमा नेपाल प्रहरीका सहायक प्रहरी निरिक्षक निरन श्रेष्ठले व्यापारीले उपभोक्तालाई कसरी ठग्छन् भन्ने प्रतक्ष्य देखिएको बताउदै अन्यत्र पनि खोजी गर्नु पर्ने बताउनु भयो ।

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, ८ भदौ : क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई आज पक्राउ गरेको हो ।

पक्राउ दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक रु एक लाखसम्म तलब हुन्छ भनी पीडितसँग रु छ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ । सोही कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । उच्च अदालत पाटनको विभिन्न मितिमा भएको फैसलापछि फरार रुकुमपूर्वका ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुरका २८ वर्षीय सन्तोष सापकोटालाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले अर्जुनलाई काठमाडौँ सुकेधाराबाट मङ्गलबार र सन्तोषलाई काठमाडौँको नयाँबानेश्वर बुद्धनगरबाट आज पक्राउ गरेको हो । पक्राउ परेका अर्जुनलाई उच्च अदालतले रु एक करोड १९ लाख जरिवना र २४ दिन कैद सजाया साथै सन्तोषलाई रु दुई लाख ५९ हजार जरिवना र पाँच दिन कैद सजाया ठहर गरेको थियो । पक्राउ परेका अर्जुनलाई जिल्ला अदालत काठमाडौँमा र सन्तोषलाई जिल्ला अदालत ललितपुरमा फैसला कार्यान्वयनका लागि उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

नेपाल ब्राजिल चेम्बरको अध्यक्षमा चापागाईं पुनः निर्वाचित

काठमाडौं, २१ साउन । नेपाल ब्राजिल उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी अखिलकुमार चापागाईं पुनः निर्वाचित भएका छन् ।शनिबार राजधानीमा सम्पन्न संघको आठौं वार्षिक साधारणसभाले चापागाईंको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा चेङ्ग अग्रवाल र विक्रम राई तथा महासचिवमा उमेश रायमाझी, सचिवमा ज्योत्सना श्रेष्ठ र कोषाध्यक्षमा निरज तिमिल्सिना निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा जया शिवाकोटी, भरत आचार्य, शिवहरि दंगाल, प्रदीप रुंगटा, राकेशकुमार श्रेष्ठ, लवराम दाहाल र प्रेम पाण्डे निर्वाचित भएको संघले जनाएको छ ।

यस्तै, संघको सल्लाहकारमा निवर्तमान उपाध्यक्ष विनय लामिछाने चयन भएका छन् भने अम्बिका शर्मा लामिछानेलाई अध्यक्ष चापागाईंले सदस्यमा मनोनित गरेका छन् । कार्यक्रममा अध्यक्ष चापागाईंले नेपाल र ब्राजीलबीच द्विपक्षीय व्यापार अभिवृद्धि तथा आर्थिक सम्बन्ध विस्तारका लागि संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए ।

अध्यक्ष चापागाइँका अनुसार गत आर्थिक वर्षमा नेपालबाट ४ लाख २७ हजार डलर बराबरको वस्तु ब्राजिल निकासी भएको छ भने ब्राजिलबाट ६ करोड १० लाख डलर बराबरको वस्तु तथा सेवा आयात भएको छ । “हामी अहिले ब्राजिलसँग ठूलो व्यापारघाटामा रहेका छौं,”अध्यक्ष चापागाईंले भने, “नेपालबाट ब्राजिलमा निकासीको ठूलो सम्भावना देखेका छौं र आगामी दिनमा निकासी बढाउनेतर्फ हाम्रो कार्यक्रम केन्द्रित हुनेछ ।”

नेपालबाट हाल हस्तकलाजन्य सामग्रीसहित कार्पेट, गार्मेन्ट जस्ता वस्तु निकासी भइरहेको र आगामी दिनमा यसलाई बढाउँदै लैजाने उनको भनाइ छ । संघको नेतृत्वमा नेपाली व्यवसायीले दुईपटक ब्राजिलमा व्यावसायिक भ्रमण सम्पन्न गरिसकेको उल्लेख गर्दै अध्यक्ष चापागाईंले आउँदा दिनमा व्यावसायिक सम्बन्ध विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाए ।

कार्यक्रममा पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले आर्थिक विकासमा सशक्त रुपमा अघि बढिरहेको ब्राजिलसँग सम्बन्ध विस्तारले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने धारणा राखे । पूर्वमन्त्री थापाले ब्राजिलबाट कृषि तथा खानीजन्य क्षेत्रमा पुँजी र प्रविधि भित्र्याएर नेपालले फाइदा लिनसक्ने उल्लेख गर्दै विश्व अर्थतन्त्रको नवौं शक्तिशाली मुलुकसँगको सम्बन्ध विस्तारमा जोड दिए ।

ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले आफ्नो कार्यकालमा लगानी प्रवद्र्धन तथा नेपाली वस्तुको बजारीकरणमा जोड दिने प्रतिवद्धता जनाए । ब्राजिलबाट नेपालमा पर्यटक बढाउन पहल गर्ने उनको भनाइ छ । यस्तै, नेपालका लागि ब्राजिल दूतावासका मिनिष्टर कन्सुलर डेपुटी चिफ जोसे मारियो फेरिरिा फिल्होले नेपाल ब्राजिल चेम्बरको स्थापनापछि दुई मुलुकबीचको व्यापारमा उल्लेख्य वृद्धि भएको स्मरण गर्दै ब्राजिलको जलविद्युत् दक्षतालाई नेपालले पनि उपयोग गर्नसक्ने धारणा राखे ।

रिटर्नी युवा सञ्जालले आयोजना गरेको बैदेशिक रोजगारबाट फर्केका युवाहरुको अबस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षण सम्पन्न

भक्तपुर, २१ साउन । राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले आज परिषद् कार्यालय सानोठिमीमा आयोजना गरेको बैदेशिक रोजगारबाट फर्केका युवाहरुको अबस्था, समस्या र सम्भाव्यता विषयक प्रशिक्षणमूलक कार्यक्रम–२०७९ को सम्पन्न गरेको छ ।

कार्यक्रमको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्दै विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेको बताउनु भएको छ ।

बैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वरोगार र उत्पादनमा जोड्न सके देशको मुहार फेरिने बताउदै उहाँले यसका लागि सरकारले प्राथमिकतापूर्वक लागिरहेको बताउनु भयो । सरकारले युवाका लागि बिभिन्न कार्यक्रमहरु अगाडि सार्दै त्यसका लागि बजेट विनियोजन गरेको बताउदै मन्त्री गहतराजले युवाका लागि ल्याएका विभिन्न योजना र कार्यक्रमलाई एकीकृत गरि ठोस परिणाम दिने गरि अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले विदेशबाट फर्किएका युवाहरूको विदेशमा सिकेको सीप, श्रम र दक्षतालाई नेपालमै सदुपयोग गर्ने गरि सरकारले योजनाहरु ल्याउनु पर्नेमा जोड दिनु भयो ।

बैदेशिक रोजगारीका क्रममा उनीहरुले सिकेका अनुभव र सीपलाई उपयोगी बनाउन सके राष्ट्र निर्माणमा मेरुदण्ड बन्न सक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले युवालाई स्वरोजगार बनाउन कोषले बिभिन्न कार्यक्रमहरु अगाडि ल्याएको बताउनु भयो ।

त्यसअवसरमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले विदेशबाट श्रम गरेर फर्किएका युवाका लागि विशेष कार्यक्रम ल्याउन बोर्ड लागिएको बताउनु भयो । युवाहरूलाई देशभित्रै अवसर खोज्न आग्रह गर्दै युवा अर्थशास्त्री डीपी ढकालले नेपाली श्रम वजारको अबस्था, समस्यता, चुनौती र अवसरकाबारेमा चर्चा गर्नु भयो ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का निर्देशक अनोज भट्टराईले सीप र प्रबिधिसँग जोड्दै विदेशबाट फर्किएका युवाहरुलाई तालिम दिएर थप दक्ष बनाउने कार्यक्रम अगाडि सारेको बताउनु भयो ।

कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपालका केन्द्रिय सचिवालय सदस्य काजी थापा, संजालका उपाध्यक्ष सविन खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै बैदेशिक रोजगारीबाट फर्किएका युवाका समस्या र अपेक्षावारे चर्चा गर्नु भयो ।

रिटर्नी सञ्जालका अध्यक्ष एवं कार्यक्रमका सभापति सुवास ढकालले बैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगार र उत्पादनसँग जोड्दै कसरी लैजाने भन्नेबारेमा कार्यक्रममा प्रशिक्षणसमेत सञ्चालन गरिएको बताउनु भयो ।

 

नेपालमै पहिलो पटक सूर्यविनायकको गुण्डुमा निर्माण हुन लागेको द्धारका धामको शिलान्यास आउँदो २५ गते सांसद एवं पूर्व मन्त्री बस्नेतद्धारा हुने

-रमेश गिरी
भक्तपुर, १९ साउन : सूर्यविनायक नगरपालिका(७ गुण्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालमै पहिलो द्धारकाधाम निर्माण हुने भएको छ । श्रीमद् भागवत तथा गौ संरक्षण केन्द्रले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्धारकाधाम जस्तै नेपालमा पनि सूर्यविनायकको गुण्डुमा द्धारका धाम बन्ने बताएको हो । सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्धारका धाम निर्माण कार्य सुरु गर्न लागेको गुण्डुसिथ्त पाथिभरा मन्दिरका मूल गुरु अरविन्द शास्त्रीले जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा शास्त्रीले भन्नुभयो, “भक्तपुरको गुण्डुमा २०७५ सालमा पाथिभरा मन्दिर निर्माण गरेर यहाँको धार्मिक विकासमा टेवा पुर्याएका छौँ, अब पाँच वर्ष भित्र भारतको जस्तै आकृतिमा नेपालमै पहिलो पटक द्धारका धाम निर्माण गर्न लागेका छौँ, यसले धार्मिक पर्यटनको समेत बिकासमा टेवा दिनेछ ।”

यहीँ साउन २५ गते शिलान्यास हुने द्धारका धाम यहाँका करिब आठ रोपनी क्षेत्रफलमा करिब १० करोडको लागतमा निर्माण सम्पन्न गर्ने गुरुयोजनाका साथ कार्य अगाडि बढाएको उहाँले बताउनु भयो ।

द्धारका धाम मन्दिर मात्रै तीन रोपनी क्षेत्रफलमा फैलिने बताउदै उहाँले भारतको द्धारका धाममै मन्दिरको मुख्य मूर्ति निर्माण कार्य सुरु भइसकेको उहाँको बताउनु भयो । उहाँले तीन वटै सरकार र दाताहरुबाट संकलन हुने रकमबाट मन्दिर निर्माण गर्ने लक्ष्य राखेको बताउनु भयो । द्धारका धामसँगै पाथिभरा मन्दिर परिसरमा सबै गोत्रका ऋषिहरू मूर्ति स्थापना गरिने बताउनु भयो ।

उहाँले माननीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको अथक प्रयास र सहयोग तथा यहाँका स्थानीय तह, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा पाथिभरा मन्दिर निर्माण सम्पन्न भए जस्तै फेरी पनि सबैको सहयोगमा द्धारकाधाम निर्माण सम्पन्न गर्नु पर्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले भक्तपुरको गुण्डुमा पाथिभरा मन्दिर निर्माण भएपछि नयाँ पर्यटकीय गन्तव्य बनेको बताउदै द्धारका धामको निर्माणले यहाँको क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने र द्धारका धामको दर्शन गर्न भारत गइरहनु नपर्ने बताउनु भयो । उहाँले द्धारका धाम निर्माणका लागि वडा तथा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा गौ संरक्षण केन्द्रका अध्यक्ष नारायण न्यौपानेले ताप्लेजुङको पाथिभरा मन्दिरमा २०७२ सालमा पाँच वर्षको अखण्डदीप प्रज्वलन गरि २०७५ सालमा सवा करोड बत्ति बालेर नेपालकै ठूलो त्रिशुल जगाएर ल्याएर गुण्डुमा पाथिभराको मन्दिर निर्माण स्थलमा स्थापना गरेको बताउनु भयो ।

उहाँले पाथिभरा जस्तै द्धारका धाम निर्माण गर्ने, गौ अर्थात गाईहरुको संरक्षण गर्ने संस्कृत विद्यालय स्थापना गर्ने र धार्मिक क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अभियान सुरु गरेको बताउनु भयो । जग्गा दाता अर्जन बस्नेतलगायत धन्यवादको पात्र भएको भन्दै उहाँले द्धारका धाम निर्माणमा आर्थिक तथा भौतिक सहयोग गरेर पूण्य कार्यमा मेरो पनि लगानी छ भन्ने आधार तय गर्दै दाताहरुलाई सहयोग गर्न आव्हान गर्नु भयो ।

दूषित खाद्यबस्तु उत्पादन गर्ने एक सय १५ कम्पनी कानुनी दायरामा

काठमाडौँ, १९ साउन : खाद्य ऐन, २०२३ विपरीत अखाद्य वस्तु उत्पादन गर्ने एक सय १५ उत्पादक कम्पनीलाई कानुनी कारबाही गरिने भएको छ । खाद्यान्नमा लेबल, न्यूनगुणस्तर, ऐन नियमविपरीत, दूषित, अनुज्ञापत्र नलिएका र कोलीफर्म मिसिएका खाद्य तथा पेयपदार्थ उत्पादन गरेका उक्त कम्पनीलाई खाद्य ऐन, २०२३ बमोजिम कानुनी कारबाही गरिने भएको हो ।

खाद्य ऐनविपरीत अखाद्य वस्तु उत्पादन गर्ने दालमोठ, मासु, तरकारी, मिक्स मसला तथा अन्य मसलाजन्य पदार्थ, पाउरोटी, दही, दाना, प्रशोधित पिउने पानी, चाउचाउ, चिया, मुसुरोको दाल, घ्यू, आयातित तोरीको तेल, गाईबस्तुको दाना, चाउमिन, मह, बेकरी, गहँुको पीठो, चामल, पेडा, सूर्यमुखी तेल, पोष्टा दाना, क्यारामेल सस, कुखुराको दाना, बिस्कुट, ममः, भेज सस, पुष्टकारी, भेनेगर र गुदपाकलगायत अखाद्य बस्तु उत्पादन गरी विक्री वितरण गरेको अभियोगमा कानूनी कारबाही हुनेभएको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

खाद्य पदार्थमा विशुद्धता कायम राख्न खाद्य ऐन, २०२३ बनेको हो । उक्त ऐनले सर्वसाधारण जनताको स्वास्थ्य तथा सुविधा कायम राख्न खाद्य पदार्थमा कुनै अवाञ्छनीय मिसावट रोक्न वा खाद्य पदार्थमा रहेको स्वभाविक कुनै गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने व्यवस्था गरेको छ । विभागले आर्थिक वर्ष २०७७/७८ मा एक सय थान मुद्दा दर्ता गरेको थियो ।

विसं २०७८/७९ मा ११५ कम्पनीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय एवं जिल्ला अदालतमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाहीको माग गर्दे विभागले मुद्दा दर्ता गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अभियोग प्रमाणित भएमा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनीलाई खाद्य ऐनले पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको बताउनुभयो ।

कार्यालय प्रमुखमाथि नै रु १२ करोड बेरुजु

महोत्तरी, १९ साउन : स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ । महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार रु १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उहाँ माथि सो बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७६÷७७ को प्रारम्भदेखि उहाँ सो नगरपालिकामा कार्यरत हुनुहुन्छ । २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हाल्नुभएका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७÷७८ सम्म रु १२ करोड बेरुजु नाघेको हो ।

उहाँमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने रु छ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने रु ७७ लाख ९० हजार र पेश्की रु दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै रु छ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८÷७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ ।

\कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७÷७८ सम्ममा नगरपालिकाको गत वर्ष (२०७६÷७७) को रु ४३ करोड तीन लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो । पछिल्लो आव २०७७÷७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु रु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ ।

उपप्रमुख भट्टराईको नेतृत्वमा सूर्यबिनायक क्षेत्रमा बजार अनुगमन

भक्तपुर, १० साउन । बजारमा महँगी र कालोबजारी अनियन्त्रित रुपमा बढेको गुनासो बढेपछि सूर्यविनायक नगरपालिकाले बजार अनुगमन अभियान सुरु गरेको छ । नगरपालिकाले सोमबार र मंगलबार नगरपालिकाको उपप्रमुख सरिता भट्टराईको नेतृत्वमा नगर भित्रको बिभिन्न बजारमा खाद्यान्न, किराना तथा ग्यास पसलको अनुगमन गरेको छ ।

नगरपालिकाको बजार अनुगमन टोलीले बालकोट र सूर्यबिनायक लगायतका क्षेत्रका बिभिन्न पसलको अनुगमन गरेको छ । उहाँले बजार निकै अनियन्त्रित भएको, जथाभावी आफूखुसी मूल्य निर्धारण गर्दै मंहगी अचाक्ली बढाएको, म्याद गुज्रेका अखाद्य बस्तुहरु बिक्रीमा राखेको, अनियमित रुपमा बजार सञ्चालन गरिरहेको पाईएको उहाँले जानकारी दिनु भयो ।

अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामान बिक्री गरेको, दर्ता तथा नवीकरण नगरेको, मूल्यसूची नराखेको, ढक तराजु गुणस्तर तथा नाप तौल बिभागबाट प्रमाणीकरण नगराएको नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडलले जानकारी दिनुभयो ।

टोलीले म्याद गुज्रेका सामानहरु बरामद गरि नष्ट गरेको उहाँले जानकारी दिनु भयो । नगरपालिकाको टोलीले नियमपुर्वक ब्यबसाय संचालन गर्न निर्देशन दिदै पुनः यस्ता गल्ती दोहरिए पसल शिलबन्दी गर्ने चेतावनी दिईएको उहाँको जानकारी दिनु भयो । टोलीले त्यस्ता पसलबाट अखाद्य सामान बरामद गर्दै पसल नवीकरण गर्न, मूल्य सूची राख्न र नियमानुसार पसल सञ्चालन गर्न निर्देशन दिएको अधिकृत पौडेलले जानकारी दिनु भयो ।

टोलीले सुनपा २ बालकोटका लक्ष्मी खाद्यान्न स्टोर, सापकोटा ग्रोसरी, एस टु एस मार्ट, बंगलामुखी बि.के.स्टोर तथा वडा नं. ६ का कृष्ण कन्हैया डिपार्टमण्टल स्टोर, उज्यालो मल्टी स्टोर, साख मार्ट, पञ्च किराना एण्ड ग्याँस पसललगायतका स्टोर तथा पसलमा अनुगमन गरेको छ ।

अनुगमनको टोली पुगेपछि सुनपा २ बालकोटको सीता खाद्य स्टोर सञ्चालकले पसलनै बन्द गरी हिंडेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले तालिका बनाएर नगरपालिकाभित्र निरन्तर बजार अनुगमन गरिने उपप्रमुख भट्टराईले बताउनुभयो ।

टोलीमा घरेलु कार्यालयका उमेश कुमार दाहाल, जिल्ला प्रशासन कार्यालयका यादबराज मिश्र, राष्ट्रिय उपभोक्ता मञ्च, खाद्य तथा गुण नियन्त्रण बिभाग, गुणस्तर तथा नाप तौल कार्यालय, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग संघका प्रतिनिधि तथा प्रहरीलगायतका टोलीले बजार अनुगमन गरेको थियो ।

वायुसेवा निगमले दुई कोषलाई रु एक अर्ब ३५ करोड ऋण तिर्यो

काठमाडौँ, ५ साउन  : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरेको छ । निगमले डेढ वर्षको दौरानमा तिर्न नसकेको किस्ता रकम निगमको नयाँ व्यवस्थापन आएसँगै आठ महिनामा आर्थिक सुधार भएकाले उक्त रकम भुक्तानी गर्न सफल भएको निगमका एक उच्च अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “डेढ वर्षको दौरानमा तिर्न नसकेको रकम नयाँ नेतृत्व आएको आठ महिनाभित्रै तिर्न सफल भएको छ । फ्लाइट अकुपेन्सी बढ्नुका साथै उडान गन्तव्य पनि विस्तार भएकाले निगमले ऋण दायित्व भुक्तानी गर्न सफल भएको हो ।”

निगमले पछिल्लो पटक गत असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ताबापतको रकम तिरेको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार कर्मचारी सञ्चय कोषलाई न्यारोबडी जहाज खरिदबापतको रु ४५ करोड र वाइडबडी जहाज खरिदबापतको रु ४५ करोड गरी जम्मा रु ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको छ ।

त्यसैगरी नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको रु ४५ करोड भुक्तानी गरिएको छ । कोभिड महामारीका कारण निगमको आम्दानी खुम्चिएकाले समयमै किस्ता तिर्न नसकेको निगमले उल्लेख गरेको छ । कोभिड महामारी सहज भएसँगै स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनले अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी, गन्तव्य विस्तार आदि कारणले निगमको आम्दानीमा सुधार आएकाले किस्ता तिर्न सफल भएको निगमले जनाइएको छ ।