कक्षा १२ को नतिजामा विगतका वर्षहरुमा भन्दा सुधार

भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विगतका वर्षहरुमा भन्दा सुधार आए पनि अझै करिब ४९.०९ प्रतिशत विद्यार्थीले पुनः परीक्षा दिनु पर्ने भएको छ ।  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसवर्ष गतवर्ष भन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे जानकारी दिनुभयो ।

बोर्डमा अनुसार परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६३७, आंशितर्फक ६० हजार ९५९ जना, ग्रेड वद्धितर्फ १४ हजार १३५ जना र २०७२÷०७३ को ग्रेडवृद्धितर्फ १ हजार १०६ जना गरी ४ लाख ४८ हजार ८३७ जना सहभागी भएका थिए । जसमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १४० जना र २०७२÷७३ को ग्रेडवृद्धितर्फ ६५० जना ग्रेडेड प्राप्त अर्थात उतीर्ण भएका छन्  ।

५१ जनाको विद्यार्थीको परीक्षा रद्ध गरिएको छभने थप पाँच जनाको परीक्षा रद्ध गर्दै आगामी एकवर्षको कुनै पनि परीक्षामा सहभागि हुन नपाउने गरि बोर्डले कारबाही गरेको छ ।  ननग्रेडेड अर्थात अनुतीर्ण भएका ४९.०९ प्रतिशत विद्यार्थीले तत्काल उच्च शिक्षा अध्ययन गर्नभने बञ्चित हुने भएका छन् । उनीहरुले पुनः परीक्षा दिनु पर्ने भएको अध्यक्ष डा. शर्माले बताउनुभयो ।

यसवर्षको परीक्षामा ६ हजार ९७६ अर्थात १.८७ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । २०७९ को परीक्षामा भने ४ हजार १७९ अर्थात १.१५ प्रतिशत विद्यार्थीले मात्रै ‘ए प्लस ग्रेड’ ल्याएका थिए । २०७९ मा भन्दा यसवर्ष २ हजार ७९७ अर्थात ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएका हुन् ।  यसवर्ष परीक्षा दिएका नियमिततर्फ ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।

त्यस्तै ३८ हजार ९९९ जना विद्यार्थीले ३.२१ देखि ३.६० जीपीए,े ६९ हजार १७४ विद्यार्थीले २.८१ देखि ३.२० जीपीए, ६३ हजार ७७ विद्यार्थीले २.४० देखि २.८० जीपीए, ११ हजार ४३८ विद्यार्थीले २.१ देखि २.४० जीपीए र ४७  जना विद्यार्थीले १.६१ देखि २ जीपए ल्याएका छन् ।  नन ग्रेडेड (एनजी) ल्याउने विद्यार्थीको संख्यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको बोर्डका अध्यक्ष डा. शर्माले जानकारी दिनुभयो ।

गत वर्ष १ लाख ८८ हजार ४१० जना अर्थात ५१.९० प्रतिशत विद्यार्थीले एनजी (अनुतीर्ण) ल्याएका थिए भने यसवर्ष ४९.०९ प्रतिशत विद्यार्थीले मात्रै एनजी ल्याएका छन् । गतर्ष भन्दा २.८१ प्रतिशतले एनजी ल्याउने अर्थात अनुतीर्ण हुनेको संख्या घटेको उहाँले जानकारी दिनुभयो ।

अंग्रेजीमा विद्यार्थी कमजोर :

बार्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार अग्रेजी विषयमा विद्यार्थहरु सबैभन्दा कमजोर रहेको देखिएको छ । सार्वजनिक भएको नतिजा अनुसार अंग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको हो ।  सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार ५२७ जना ननग्रेड भएका छन् । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ जना, सामाजिक अध्ययनमा ५१ हजार १०४ जनाको ननग्रेड आएको छ । सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था छ ।

असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा:

बोर्डले आगामी असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । बार्डका अध्यक्ष डा. शर्माका अनुसार कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते शनिवार र आइतबार सञ्चालन गर्ने निर्णय भएको हो ।

सार्वजनिक कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा हुने भएको हो । विगतका वर्षहरुमा दुईवटासम्म विषयमा एनजी आउँदा ती विषयहरुमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो भने यस वर्षदेखि बोर्डले उक्त व्यबस्था परिमार्जन गरि जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यस वर्षको नतिजा अनुसार १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएको उहाँले बताउनु भयो ।

जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार ५८४ विद्यार्थी संख्या रहेको जानकारी दिनुभयो ।  लेटर ग्रेडिङ निर्देशिका अनुसार कुनै विषयमा ३५ प्रतिशत अंक पनि नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल छभने पनि एनजी आएकाहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी नभई उचच शिक्षा अर्थात माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन् ।

नतिजा चित्त नबुझे पुर्नर्योग एवं उत्तरपुस्तिका पुनः परीक्षणको व्यबस्था :

बार्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५०० रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने व्यबस्था गरेको उहाँले बताउनु भयो । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन सक्ने पनि ब्यवस्था गरिएको उहाँले बताउनुभयो ।  विद्यार्थीले उत्तरपुस्तिका पुन परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ तीन जना परीक्षकबाट जाँच गराउने व्यबस्था गरेको छ । तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ  तर १० प्रतिशत भन्दा कम वा बढी भएमा नयाँ अंक कायम हुने व्यबस्था गरेको छ ।

कक्षा १२ को नतिजा सार्वजनिक, ५०.०९ प्रतिशत विद्यार्थी उतीर्ण

भक्तपुर, ३० साउन : राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज अपरान्ह बसेको बोर्ड बैठकले साँझ ६ बजे नतिजा सार्वजनिक गर्दै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले करिब ५०.०९ प्रतिशत विद्यार्थीले ग्रेडेड अर्थात उतीर्ण भएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन गरि बोर्डले गतवैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका एक हजार ४५७ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्दै उहाँले यसवर्ष गतवर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएकोे बताउनु भयो ।
नतिजामा ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् भने गतवर्षको तुलनामा यो वर्ष तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डले उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष परीक्षामा नियमित र ग्रेडवृद्धि गरी चार लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएकोमा एक लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड अर्थात अनुतीर्ण भएका छन् ।

प्रत्येक विषयको सैद्धान्तिक तर्फ न्युनतम ३५ प्रतिशत अंक प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ । गतवर्ष कक्षा १२ मा ४८ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । ती मध्ये दुई विषयसम्म एनएजी (नन ग्रेडेड) आउनेले तत्कालै र बाँकी ५६ हजारले यसपाली ग्रेडवृद्धि परीक्षा दिएका थिए ।

लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुई भन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

धार्मिक पर्यटकीय गन्तव्य भक्तपुर बिकासको आधार : एमाले अध्यक्ष ओली
भक्तपुर, ३० साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमाझ गौरबपूर्ण पहिचान बनाउन सकेको नेपालको धार्मिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन युवा वर्ग लाग्नु पर्ने बताउनु भएको छ । पत्नी राधिका शाक्यसहित अध्यक्ष ओली सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको भ्रमण, अवलोकन, पूजा एवं आरती गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
“हाम्रो गौरबपूर्ण धर्म, संस्कृति, परम्परा, सम्झिएर विश्वका नागरिक नेपाल घुम्न आउाछन्, पूजा दर्शन गर्न आउँछन्, मैले पनि आज डोलेश्वर महादेवको दर्शन गरे, पुज गरे, आरती लगाए, हामी हाम्रा परम्परागत कार्य गर्छौ,  साँस्कृतिक, संस्कार गर्ने कार्यमा सरिक हुन्छौँ,” अध्यक्ष ओलीले भन्नुभयो, “यस्ता धर्म, चाँडबाडले हाम्रो देशको महिमा विश्वमा बढाएको छ, धेरै विकसित देशमा यस्ता संस्कृति परम्परा छैन, सनातन धर्म भन्ने नै छैन, त्यसैले हाम्रो देश अत्यन्तै गौरबपूर्ण रहेको छ ।”
उहाँले देशका महान् बिभूतिहरु जसले विश्वमा नेपाल चिनाएको छ, त्यस्ता विभूति र पहिचानको संरक्षण् गर्नु पर्नेमा जोड दिनुभयो । साउन १ गतेदेखि सुरु भई साउनको ६ गतेसमम ३८ दिन लाग्ने यहाँको मेलामा स्वदेश तथा विदेशबाट आउने दर्शनार्थीको भीडले धार्मिक महत्व बढाइरहेको उहाँले बताउनु भयो । यस मन्दिरको पुर्ननिर्माण सुरुदेखिनै आफूले सहयोग गर्दै आएको बताउदै उहाँले आगामी दिनमा पनि आश्वयक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य पद्मा अर्र्याल, गायिका एवं पूर्व सांसद कोमल वली, वागमती प्रदेश सभा सदस्य किरण थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराई, वडा नंं ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, डोलेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले स्वागत गर्नु भएको थियो । डोलेश्वरमा झण्डै दुई घण्टा बिताउनु भएका ओलीले पूजादेखि आरतीमा सहभागि हुनु भएको थियो ।
भक्तपुरबाट रु. १५ लाखको नक्कली नोट सहित नौ जनालाई प्रहरीले पक्राउ
भक्तपुर, २५ साउन । भक्तपुरबाट रु. १५ लाखको नक्कली नोट सहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँमा बस्दै आएका ४० वर्षीय अर्जुन सुवेदीको कोठाबाट नक्कली नोट र नोट छाप्ने मेशिनसहित नौ जनालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी नगरपालिका–७ घरभई हाल चाँगुनारायण बस्ने ४० वर्षीय सुवेदी, सुनकोशी गाउँपालिका–६ घर भई काठमाडौं मुलपानी बस्नेद्धय २१ वर्षीय मिलन भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी, सिन्धुपाल्चोक सुनकोशी गा.पा.–६ घरभई हाल काठमाडौं पेप्सीकोला सनसिटी बस्ने २६ वर्षीय शुसिल कार्की र सिन्धुपाल्चोक सुनकोशी गा.पा.–६ घरभई मुलपानी बस्ने ३२ वर्षीय शिव भण्डारी रहेका छन् ।
प्रहरी उपरीक्षक केसीका अनुसार नवलपरासी सराबल गा.पा.–१ घर भई हाल काठमाडौं बस्ने वर्ष ३५ वर्षीया पार्वती नेपाली, गुल्मी वडागाउँ गा.पा.–२ घर भई हाल सामाखुशी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाण्डौँ मातातिर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा र झापा घर भई हाल काठमाडौँ सामाखुशी बस्ने २४ वर्षीय युवराज राईलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको साथबाट रु १५,०००,०० बराबरको एक हजार दरका १५०० थान नेपाली नक्कली नोट, नोट प्रिन्ट गर्ने कलर प्रिन्टर एक थान, कम्युटर एक थान, मोबाईल १२ थान र चार वटा स्कुटर बरामद गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।
थानकोट प्रहरीको सहायताबाट प्रहरीले थानकोट र भक्तपुरबाट उनीहरुलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान गर्दै आजै म्याद थप गरि आवश्यक कारबाही अगाडि बढाउने उहाँले जानकारी दिनुभयो ।
धार्मिक पर्यटनका लागि सूर्यविनायकमा शिव सर्किट निर्माण

-रमेश गिरी

भक्तपुर, १० साउन ः धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले सूर्यविनायक नगरपालिकाले शिव सर्किट निर्माण गरेको छ । ‘धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यता, समृद्ध सूर्यविनायक नगरपालिका’ भन्ने नाराका साथ नगरपालिकाले शिव सर्किट निर्माण गरेको हो ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरहरुलाई एउटै रुटबाट जोडेर सवारी साधन र पैदल दुबै मार्गबाट जान सकिने गरि शिव सर्किट निर्माण गरेको बताउनुभयो ।

नगर प्रमुख थापाले राससलाई भन्नुभयो, “आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र सूर्यविनायक नगरपालिकाभित्र रहेका ग्रामीण क्षेत्रको विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले हामीले शिव सर्किट निर्माण गरेका हौ, मेरो यसअघिको कार्यकालमै सुरु भएको यो अभियानले अहिले सार्थकता पाएको छ, अब छिट्टै जनप्रतिनिधिको टोलीले यो रुटको संयुक्त अवलोकन गरेर उद्घाटन गर्ने तयारीमा छौँ ।”

अनन्तलिङ्ेश्वर नगरपालिका र सूर्यविनायक नगरपालिकालाई गाभेर बनेको साविक बालकोट, सिरुटार, दधिकोट, गुण्डु, कटुञ्जे, सिपाडोल, नंखेल र चित्तपोल गाविस अन्तर्गत पर्ने सूर्यविनायक नगरपालिकाको करीब १४ किलोमिटरको दूरीमा रहेका प्रसिद्ध १३ वटा शिव मन्दिरमा पुग्न एउटै सडक प्रयोग गर्नेगरी शिव सर्किट निर्माण गरिएको हो ।

नगरप्रमुख थापाले भन्नुभयो, “शिव सर्किटलाई यस नगरपालिकाको अर्को पहिचानका रुपमा अगाडि बढाउँदै छौँ, यहाँको आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ हामीले काम गरेका हौँ, अघिल्लो कार्यकालमा नगरपालिकाले शिव सर्किटको सर्वे गर्ने, विस्तृत अध्ययन परियोजना (डिपीआर) तयार पार्ने काम गर्यौ र यो कार्यकालमा पूर्णता दियौँ ।”

नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले शिवशर्किट सञ्चालनका लागि आवश्यक तयारी पुरा भएको जानकारी दिनुभयो । नगरपालिकाले १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिवमन्दिरहरुको विकास तथा व्यबस्थापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, वडाअध्यक्षहरु र सरोकारवालाहरुसँग शिव सर्किट सञ्चालन गर्नेबारेमा छलफल सकेको बताउनु भयो ।

मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने निर्णय भएको जानकारी दिदै उहाँले आवश्यक पूर्वाधार एवं सडक सञ्जालले पनि सबै मन्दिरलाई जोडिसकेको बताउनुभयो । नगरपालिकाकाको सूर्यविनायक नपा–२ बालकोट सुरु गरेर वडा नं.१० चित्तपोलमा लगेर टुङ्गिने गरि १३ वटा मन्दिर पुगिने शिवसर्किटको रुट निर्माण गरेको छ ।

जसमा बालकोटको धर्मेश्वरबाट सुरु भई क्रमश सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, दधिकोटको अनन्तलिङ्गेश्वर, गुण्डुको रामभक्तेश्वर, कटुञ्जेको सुवर्णेश्वर, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको डोलेश्वर, आशापुरेश्वर, नंखेलको नन्दीकेश्वर, चित्तपोलको कैलशानाथ र लटरम्वेश्वर मन्दिर जोड्ने गरी शिव सर्किट निर्माण गरिएको हो ।

यी मन्दिरसँगै यस क्षेत्रमा रहेको धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्र र अन्य प्रसिद्ध मन्दिरलाई समेत टेवा पुर्याउदै धार्मिक पर्यटन प्रर्बद्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षाका साथ शिव सर्किट निर्माण गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

सडक सञ्जाल जोडेर सवारी साधनबाटै सबै शिव मन्दिरमा पुग्न सकिने र पैदलयात्रीका लागि पदमार्गको समेत पहिचान गरि अधिकांश ठाउँमा पदमार्ग निर्माण गरिएको उहाँले बताउनु भयो । पदमार्गबाटै यात्रा गर्दा पनि एक दिनभरीमा यात्रा पुरा गर्न सकिने गरि सर्किट निर्माण गरिएको बताउदै पर्यटकलाई आकर्षित पार्ने बिभिन्न योजनाहरु नगरपालिकाले अगाडि सारेको प्रवक्ता सापकोटाले बताउनु भयो ।

वागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी किरण थापाले सूर्यविनायक नगरपालिका प्राकृतिक सौन्दर्यको रानीका रुपमा रहेको यहाँका घ्याम्पेडाँडा, रानीकोट, बोकाचोगढी आफैमा एउटा प्राकृतिक भ्यूटावरमा रुपमा रहेको भन्दै अनन्तरलिङ्गेश्वरमा निर्माण भएको भ्यूटावर र यस क्षेत्रमा करोडौको लगानीमा निर्माण भइरहेको होटल, होमस्टे, रानी झुला, झोलुङ्गे पुलले पर्यटकलाई आकर्षित गरिरहेको बताउनुभयो ।

उहाँले केन्द्रीय राजधानीसँग जोडिएको, अथाह सम्भावना भएर पनि निकै पछाडि परेको सूर्यविनायकको सम्पूर्ण क्षेत्रको बिकासमा पूर्वसांसद महेश बस्नेत, नगर प्रमुख वासुदेव थापा, यहाँका जनप्रतिनिधिहरुको परिकल्पनाले साकार रुप लिएको बताउनु भयो ।

प्रदेश सांसद थापाले भन्नुभयो, “यसअघि महेश बस्नेत सांसद हुदाँ निकै योजना र बजेट यस क्षेत्रका लागि ल्याउनु भयो, त्यतिखेर पनि बासुदेव थापानै नगर प्रमुख हुनुहुन्थ्यो, म वडाध्यक्ष र सामाजिक विकास संयोजक थिए, तीन तहकै बजेटमा सूर्यविनायकको विकासले पाँच वर्षभित्र मुहार नै फेर्ने संकल्पसहित अगाडि बढायौँ, विकासका विभिन्न अबधारण ल्यायाँै, अहिले सफल भयौँ ।”

डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि यहाँ धार्मिक पर्यटनको सम्भावना निकै बढेको अनुभूति भएपछि यहाँका शिवालयहरुलाई धार्मिक पर्यटनसँग जोडेर लैजाने अबधारणा बनेको उहाँले बताउनुभयो ।

छोटो दुरीको आन्तरिक पर्यटन तथा साहसिक पर्यटनको बिकासका लागि सूर्यविनायकले सफलता प्राप्त गर्दै गएको बताउदै उहाँले घ्याम्पेडाँडामा जीपलाइन सञ्चालनमा हुनु, घ्याम्पेडाँडा, रानीकोट, आशापुरी लगायतका क्षेत्रमा होटल, रिसोर्ट तथा होमस्टे सञ्चालन हुनुले पनि पर्यटक आकर्षण गर्न सफल भएको बताउनुभयो ।

सूर्यविनायक नपाको वडा नं. ९ र १० को सिमानामा एक करोड १६ लाखको लागतमा निर्माण सम्पन्न गरि हाल नगरपालिकाले सञ्चालनमा ल्याएको २४४ मिटर लामो झोलुङ्गे पुलले पनि शिव सर्किटलाई जोड्ने भएको छ ।

भक्तपुरका विद्यालयहरुमा अब पढाई र खेलकुद सँगसँगै सञ्चालन
भक्तपुर, ८ साउन । भक्तपुरका विद्यालयहरुले अब विद्यार्थीलाई पढाईसँगै बिभिन्न खेलका प्रशिक्षण दिदै खेलकुदको बिकास गर्ने भएको छ ।
प्याव्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले आज उहाँ आयोजना गरेको ‘हामी विद्यालय अभियान अन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित’ विषयक अन्तरक्रिया कार्यक्रममा प्याब्सन र समितिले स्कुलस्कुलमा खेलकुद प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको हो ।
खेल गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाए उनीहरुको पढाई बिग्रिन्छ भन्ने अभिभावक र शिक्षक, प्रिन्सिपलको मान्यतालाई चिर्दै, विद्यार्थीहरुलाई खेलसँगै पढाई पनि राम्रो बनाउन सकिने र विद्यार्थीमा बढ्दो मोवाइलको लत हटाउन सकिने कार्यक्रममा सहभागि खेल प्रशिक्षकहरुले बताएका छन् ।
विद्यार्थीलाई विद्यालयमा खेलकुदप्रति अभिप्रेरित गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हेतुले प्याब्सन एवं खेलकुद विकास समितिको पहलमा विद्यालय तहबाटै खेलकुदमा सहभागि गराउन प्रशिक्षण दिने भएको हो । कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले राजधानीसँगै जोडिएको भक्तपुरमा एउटा राम्रो खेल मैदान र कबर्ड हल समेत नहुदा खेल गतिविधि आयोजना गर्न कठिनाइ भएको उहाँले बताउनु भयो ।
विद्यालय तहबाट उत्पादित उत्कृष्ठ खेलाडीहरु विद्यालय तहको अध्ययन सकेपछि खेलकुदमा भविष्य नदेखेर पलायन हुने अबस्था रहेकाले खेलाडीको भविष्य सुनिश्चित हुने वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयोे ।
विद्यालयमा खेलकुद विकासका लागि समितिले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउदै समितिका अध्यक्ष थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा समेत विद्यार्थीलाई सहभागि जनाउन स्कुलहरुलाई प्रशिक्षकहरुको व्यबस्था समितिले गर्ने बताउनुभयो ।
प्याव्सन भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालयहरुमा खेलकुद विकास प्रशिक्षणका लागि बिभिन्न समस्याहरु भने रहेको बताउनुभयो । खेलकुद प्रशिक्षणका लागि एउटै स्कुलले धेरै जना प्रशिक्षक राख्नुपर्ने, खेल सिक्नेक्रममा विद्यार्थी घाइते हुँदा उपचारसमेत विद्यालयले गर्नुपर्ने तर त्यसको लागि आर्थिक भार थपिने भएकाले विद्यालय आफैले सबै प्रशिक्षक एवं उपचारको व्यबस्थापन भने गर्न नसक्ने बताउन भयो ।
मध्यपुरथिमि नगरप्याब्सनका अध्यक्ष निलेश आचार्यले विद्यार्थीहरु विविध खेलमा रुचि राख्ने तर त्यस अनुसारको प्रशिक्षक राख्न नसकिने अवस्था रहेकाले विद्यार्थीहरुलाई प्रशिक्षकको व्यबसथा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले भक्तपुरमा राष्ट्रिय अन्तर्राष्ट्रिय मेडल प्राप्त धेरै खेलाडीहरु भएपनि तिनीहरुको पहिचान र संरक्षण गर्न नसकेको चर्चा गर्दै खेलकूद क्षेत्रमा बढी सक्रिय हुने समय विद्यालय तहमै खेल विकासका पूर्वाधार र तालिमहरुको आवश्यकतामा जोड दिएका थिए ।
विद्यार्थीहरुलाई खेलकूदमा आकर्षित गर्दै पढाई पनि राम्रो बनाएको उदाहरण धेरै रहेको भन्दै कवड्डी खेलका प्रशिक्षक पशुपति प्रजापतिले कवर्डी खेल प्रशिक्षण दिन चाहने विद्यालयलाई भक्तपुर जिल्ला कवड््डी संघबाट प्रशिक्षिक उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा रामशरण त्वाती, श्याम तजलेलगायतका खेलाडी तथा विभिन्न स्कुलका प्रिन्सिपलहरुले विद्यालयमा बिभिन्न खेलको प्रशिक्षण सञ्चालन गर्ने बताएका थिए ।
डेँगी रोग खोज तथा नष्ट अभियान सुरु, रोकथाम तथा नियन्त्रणका लागि द्रुत प्रतिकार्य समिति गठन
भक्तपुर, ८ साउन । चाँगुनारायण नगरपालिकाले डेँगी रोकथाम तथा नियन्त्रणका लागि डेँगी रोग खोज तथा नष्ट अभियान सुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्र्ुत प्रतिकार्य टोली गठन गरि अभियान थालेको हो ।
रोगको महामारी फैलिनु अगाडिनै यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखा मार्फत डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभियान थालेको नगर प्रमुख जीवन खत्रीले बताउनु भयो । नगरपालिकाका प्रमुख खत्रीले चाँगुनारायण नगरपालिकाले तयार गरेको मनसुन पूर्वतयारी योजना अनुरुप डेँगी रोकथाम र नियन्त्रणका लागि समुदायस्तरमा बिभिन्न गतिबिधिसहितको अभियान सुरु भएको बताउनु्भयो ।
आफ्नो नगरक्षेत्रमा डेँगी रोग फैलिन नदिन समयमै सचेतना अपनाउदै नगरस्तरीय द्र्ुत प्रतिकार्य टोली गठन भई वडास्तरीय विपद् व्यवस्थापन समितिमार्फत तत्काल वडास्तरीय द्रुत प्रतिकार्य टोली गठन गरी डेँगी रोकथाम तथा नियन्त्रणका गतिविधिहरु सञ्चालन गर्न प्रत्येक वडा कार्यालयलाई निर्देशन समेत दिएको उहाँले बताउनु भयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले नगरपालिका अन्तर्गतका कार्यालय, विद्यालय, सामुदायिक भवनबाट डेँगी रोग रोकथाम तथा नियन्त्रणको मुख्य तरिका खोज तथा नष्ट अभियान शुरु गरेको बताउनु भयो ।
उहाँले सबै समुदायमा रोग सम्बन्धि जनचेतना फैलाइ समुदायको सहभागितामा रोकथाम र नियन्त्रणका उपायहरु अवलम्बन गरिने बताउनुभयो । उहाँले विद्यालयस्तर एवं समुदायस्तरमा पूर्वतयारीका गतिविधिहरु सञ्चालनका लागि शाखागत आवश्यक समन्वय गरी द्रत रुपमा डेंगी नियन्त्रण कार्य अगाडि बढाउने अभियान थालेको बताउनु भयो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले डेँगी रोग रोकथाम र नियन्त्रणका लागि चाँगुनारायण नगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरी नगरस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको बताउनु भयो ।
चाँगुनारायण नगरपालिकाले डेँगी रोग रोकथाम र नियन्त्रणका लागि तयार गरेको योजना अनुरुप वडास्तरमा अभिमुखीकरण, द्रुत प्रतिकार्य समितिको गठन, स्थानीय रेडक्रस लगायत महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न संघसंस्था तथा विद्यालयको सहभागितामा घरधुरी सर्वेक्षण गरी घर घरमा पर्चा वितरण र नगर क्षेत्रमा माइकिङ्ग गर्ने, सबै वडाहरुमा डेँगी नियन्त्रण रोकथाम खोज र नष्ट अभियान सञ्चालन गर्ने, सबै स्वास्थ्य  संस्थाहरुलाई डेँगीको सम्भावित जाँचको लागि तयारी अवस्थामा राख्ने जस्ता कार्य सुरु गरेको जानकारी दिनुभयो ।
डोलेश्वरमा श्रावणी मेला, उच्च पदस्थहरुको भ्रमण
भक्तपुर, ८ साउन ; भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउनको सोमबार मेला भर्ने दर्शनार्थीको घुईचो लागेको छ । मन्दिरमा सर्वसाधारणसँगै उच्च पदस्थ व्यक्तित्वको समेत आगमन बढेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो ।
डोलेश्वरको दर्शन एवं पूजा पछि श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारीले मन्दिर परिसरको अवलोकनका गर्नु भएको छ । उहाँले मन्दिरमा निर्माण भएका बिभिन्न संरचना र आश्रमको अवलोकन गर्नु भएको वढा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताउनु भयो ।
साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३८ दिने श्रावणी मेलाको अवसरमा मन्दिर आउनु भएका मन्त्री भण्डारीले डोलेश्वरले धार्मिक पर्यटनको बिकासमा टेवा पुर्याएको बताउनु भएको थियो । उहाँले यहाँको बिभिन्न संरचनाकोबारेमा चासो दिनु भएको थियो ।
मन्दिरमा आज वागमती प्रदेशसभाका उपसभामुख अपसरा चापागाई खत्रीले पनि अवलोकन गर्नु भएको छ । त्यस्तै पूर्व मन्त्री राजेन्द्र महतो, वागमती प्रदेशका वन मन्त्रि मसिना खड्का, वागमती प्रदेश सभाका सदस्य किरण थापा, सुरेश श्रेष्ठ, पूर्व सदस्य शशीजंग थापालगायतले मन्दिरको बिकासमा तीन तहकै सरकारले पुर्याएको योगदानबारे जानकारी लिनु भएको थियो ।
आज बिहानैदेखि डोलेश्वरमा दर्शनार्थीको भीड लागेको बताउदै समितिका अध्यक्ष बस्नेतले मेला भर्न आएका दर्शनार्थीलाई आधा घण्टामै दर्शन गर्ने गरि व्यबस्था गरिएको र स्वयंसेवक परिचालन गरिएको बताउनु भयो ।
आजै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि बिहानैदेखि दशनार्थीको भीड लागेको छ । मनोकांक्षा पुरा गर्ने मन्दिरको रुपमा लिईने यस मन्दिरमा दर्शन एवं पुजा गर्न दर्शनार्थीका भीड लागेको हो । त्यस्तै दत्तात्रय मन्दिर, गुप्तेश्वर, सोमलिङ्गेश्वर, अनन्तलिङ्गेश्वर, नन्दिकेश्वर, लटरम्मेश्वर, सुवर्णेश्वर, कैलाशेश्वर, चरखण्डीश्वरलगायतका मन्दिरमा भव्य मेला लगको छ ।
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु
भक्तपुर, ३ साउन : पुरूषोत्तम महिना (मलमास) सुरु भएसंगै चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुल गाउँमास्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिनामा मत्स्यनारायणको एक महिने मेला यस मन्दिरमा साउन दुईगतेदेखि सुरु भएको गोकुल गाउँका मन्दिरको स्थानीय संरक्षक गोकर्ण पुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुईवटा पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुर्ननिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”
स–साना तीन वटा नदीको संगमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका रुपमा समेत लिइने गरिन्छ ।  मन्दिर संरक्षणसँगै ६४ शिव लिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण बर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिषरमा मलमासमा दर्शनार्थीको घुइचो लागेको छ । यहाँको कुण्डमा स्नान गरेमा छालालगायतका बिभिन्न रोगहरु नाश हुने जनविश्वास रहदै आएको छ ।
एक महिनाभरीनै लाग्ने मेलाका लागि सहज रुपमा दर्शन एवं पुजा गर्ने व्यबस्था गरिएको जानकारी दिदै उहाँले मेला बाहेक अन्य महिनामा पनि प्राकृतिक सौन्दर्यता र पार्कहरु निर्माण गरेकाले आन्तरिक पर्यटकको आगमन बढ्दो रहेको पुरीले बताउनु भयो । यस मन्दिरमा तीज, जनै पूर्णिमामा पनि मेला लाग्ने गरेको छभने, बालाचर्तुदशीमा महाद्धिप बाल्न र ६४ शिवलिङ्ग रिक्रमा गरि सदबिज छर्न पनि यहाँ घुईचो लाग्ने गर्दछ ।
मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गरिनेछ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ जनविश्वास समेत रहदै आएको छ ।
मन्दिरसम्म पुग्ने सडक कच्ची भएकाले यसलाई पक्क सडकको रुपमा बिकास गर्न सके उपत्यकाबाट नजिक पर्ने यस क्षेत्रमा पारिवारिक रुपमा घुम्म र रमाइलो गर्न आउने आन्तरिक पर्यटकको संख्या अझै बढ्ने भएकाले यसका लागि पहल भइरहेको उहाँले बताउनुभयो ।
त्यसैगरि भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा पनि साउन २ गतेदेखि एक महिने मत्स्येनारायण पुरुषोत्तम मलमास मेला सुरु भएको छ । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यस मन्दिरमा हरेक दिन पुरा, पुरुषोत्तम महात्मेय वाचन सुरु गरिएको छ । यहाँका कुण्डमा स्नान गरि मन्दिरमा दर्शन गरे रोगव्याधी नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहदै आएको छ ।
पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू

काठमाडौँ, ३१ असार : सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आम उपभोक्ताको हितलाई ध्यान दिएर पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको बताउनुभयो ।

निगमको आज बसेको सञ्चालक समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव मरासिनीले निगमको यो निर्णयबाट जनता र व्यवसायीलाई सहुलियत मिल्ने विश्वास व्यक्त गर्नुभयो । हवाई इन्धनको हकमा साबिक बमोजिमकै व्यवस्था रहेको छ । अब उप्रान्त इन्डियन आयल कोर्पोरेसनबाट प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ ।

यो निर्णयबाट इन्डियन आयल कर्पोरेसनसँग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ । सचिव मरासिनीका अनुसार सरकारले खाना पकाउने एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने भएको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० मुनाफा थियो । आम उपभोक्तालाई मध्यनजर गरेर हाललाई यो पनि घटाइएको छ । त्यस्तै डिजेलमा दुई प्रतिशत र पेट्रोलमा दुई दशमलव पाँच प्रतिशत नाफा राख्ने निर्णय गरिएको छ ।

निगमका कार्यकारी अध्यक्ष ई. उमेशप्रसाद थानीले आम उपभोक्ताको चाहनाबमोजिम पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याइएको बताउनुभयो । निगमको ऋण दायित्व छँदाछँदै पनि उपभोक्ताको हितलाई ध्यान दिएर मूल्य प्रणाली कायम गरिएको उहाँले उल्लेख गर्नुभयो । “आम उपभोक्ता र विशेषगरी गृहिणीहरुको हितलाई ध्यानमा राखी खाना पकाउने एलपी ग्यासमा निगमले कुनै मुनाफा नलिई लागत मूल्यबमोजिम नै खुद्रा मूल्य राखिनेछ । जसबाट पेट्रोलियम पदार्थका आम उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने निगम पनि वित्तीय रुपमा स्वस्थ हुनेछ”, कार्यकारी निर्देशक थानीले भन्नुभयो ।

पेट्रोल र डिजेलको मूल्य घट्यो :

स्वचालित प्रणालीअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ६ र डिजेलमा प्रतिलिटर रु चार तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० घटाइएको छ । आज राति १२ बजेदेखि कायम हुने गरी एलपी ग्यासको प्रतिसिलिन्डर रु एक हजार आठ सयबाट घटेर रु एक हजार सात सय ९० कायम हुनेछ । हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य रु एक सय ६४ कायम हुनेछ । अन्य स्थानमा क्षेत्रअनुसार मूल्य परक–फरक पर्नेछ । डिजेलको रु एक सय ६४ पर्नेछ । इन्डियन आयल कर्पोरेसनलाई नेपाल आयल निगमले रु ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको हो । निगमले अघिल्लो वर्ष नेपाल सरकारसँग लिएको रु सात अर्ब ऋणमध्ये अब रु तीन अर्ब ५० करोड तिर्न बाँकी रहेको जनाइएको छ । आयल निगमलाई अझै पनि सम्पूर्ण हिसाबले रु २९ अर्ब ऋण दायित्व रहेको छ ।