पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू

काठमाडौँ, ३१ असार : सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आम उपभोक्ताको हितलाई ध्यान दिएर पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको बताउनुभयो ।

निगमको आज बसेको सञ्चालक समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव मरासिनीले निगमको यो निर्णयबाट जनता र व्यवसायीलाई सहुलियत मिल्ने विश्वास व्यक्त गर्नुभयो । हवाई इन्धनको हकमा साबिक बमोजिमकै व्यवस्था रहेको छ । अब उप्रान्त इन्डियन आयल कोर्पोरेसनबाट प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ ।

यो निर्णयबाट इन्डियन आयल कर्पोरेसनसँग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ । सचिव मरासिनीका अनुसार सरकारले खाना पकाउने एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने भएको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० मुनाफा थियो । आम उपभोक्तालाई मध्यनजर गरेर हाललाई यो पनि घटाइएको छ । त्यस्तै डिजेलमा दुई प्रतिशत र पेट्रोलमा दुई दशमलव पाँच प्रतिशत नाफा राख्ने निर्णय गरिएको छ ।

निगमका कार्यकारी अध्यक्ष ई. उमेशप्रसाद थानीले आम उपभोक्ताको चाहनाबमोजिम पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याइएको बताउनुभयो । निगमको ऋण दायित्व छँदाछँदै पनि उपभोक्ताको हितलाई ध्यान दिएर मूल्य प्रणाली कायम गरिएको उहाँले उल्लेख गर्नुभयो । “आम उपभोक्ता र विशेषगरी गृहिणीहरुको हितलाई ध्यानमा राखी खाना पकाउने एलपी ग्यासमा निगमले कुनै मुनाफा नलिई लागत मूल्यबमोजिम नै खुद्रा मूल्य राखिनेछ । जसबाट पेट्रोलियम पदार्थका आम उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने निगम पनि वित्तीय रुपमा स्वस्थ हुनेछ”, कार्यकारी निर्देशक थानीले भन्नुभयो ।

पेट्रोल र डिजेलको मूल्य घट्यो :

स्वचालित प्रणालीअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु ६ र डिजेलमा प्रतिलिटर रु चार तथा एलपी ग्यासमा प्रतिसिलिन्डर रु १० घटाइएको छ । आज राति १२ बजेदेखि कायम हुने गरी एलपी ग्यासको प्रतिसिलिन्डर रु एक हजार आठ सयबाट घटेर रु एक हजार सात सय ९० कायम हुनेछ । हवाई इन्धनको हकमा निगम सञ्चालक समितिले तोकेअनुसार मूल्य लागू हुने विज्ञप्तिमा जनाइएको छ ।

यस्तै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य रु एक सय ६४ कायम हुनेछ । अन्य स्थानमा क्षेत्रअनुसार मूल्य परक–फरक पर्नेछ । डिजेलको रु एक सय ६४ पर्नेछ । इन्डियन आयल कर्पोरेसनलाई नेपाल आयल निगमले रु ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको हो । निगमले अघिल्लो वर्ष नेपाल सरकारसँग लिएको रु सात अर्ब ऋणमध्ये अब रु तीन अर्ब ५० करोड तिर्न बाँकी रहेको जनाइएको छ । आयल निगमलाई अझै पनि सम्पूर्ण हिसाबले रु २९ अर्ब ऋण दायित्व रहेको छ ।

केदारनाथको शीर डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा
भक्तपुर, ३१ असार : भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पुरा भएको छ ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले मेलाबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष धर्मराज थापाले हरेक वर्ष झैं यसवर्ष पनि श्रावण १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३५ दिने श्रावणी मेलाको अन्तिम तयारी पुरा भएको बताउनु भयो ।
मेला अवधीभर करिब दुई लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको जानकारी दिदै उहाँले श्रावणी मेलामा शनिवार र सोमबार दर्शनार्थीको अत्याधिक घुईचो हुने भएपनि लाइन बसेको एकघण्टा भित्र दर्शन एवं पूजा गरिसक्ने गरि व्यबस्थापन गरेको उहाँले बताउनुभयो ।
उहाँले विगतका वर्षहरुमा धर्मावलम्बीहरुबाट संकलन भएको भेटी तथा चन्दाबाट श्रावणी मेलामा खर्च कटाएर करिब ५० लाख वचत गर्दै आएकोमा अहिले भारतीय पर्यटकको समेत आगमन बढेकाले यसवर्ष भेटी तथा चन्दा गरेर एक करोड २५ लाख संकलन हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताउनु भयो ।
पञ्चस्नान गर्ने दर्शनार्थीको हकमा भने पञ्चसनानका सामग्रीहरुको रु. ११ सय रुपैयाको रसिद काटेर मन्दिरको पूर्वी ढोकाबाट दर्शन गर्न सक्ने व्यबस्था गरिएको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा समितिका महासचिव हरिशरण बस्नेतले श्रावण १ गते सोमबार बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने बताउनु भयो  ।
उहाँले २ गतेदेखी ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथा वाचन, ९ गतेदेखी १५ गतेसम्म पण्डित उद्धव नारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, १६ गतेदेखी २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद् भागवत महापुराण वाचन, २३ गतेदेखी २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, २८ गतेदेखी भदौ ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारहरुबाट भजन किर्तन हुने बताउनु भयो । २०६६ साल भदौ यस मन्दिरलाई केदारनाथको शीर घोषणा गरेको दिनकोृ अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने छ ।
डोलेश्वर महादेवलाई वि. सं. २०६६ भाद्र ६ गते केदारनाथको शिर भएको घोषणा गरिएको थियो । सोही अवसरमा प्रत्येक वर्ष भाद्र ६ गते डोलेश्वरको विशेष पुजाका साथै विविध कार्यक्रम र श्रावणी मेलाको समापन समारोह हुँदैं आएको छ । मेला अबधीभर स्वयंसेवक परिचालन गरिने, स्वास्थ्य शिविर एवं हेल्थ डेक्सको व्यबस्था गरिने भएको छ ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसंगै पर्यटकीय गन्तव्यको रुपमा समेत बिकास गर्दै गएको बताउदै नगरपालिकाले यहाँका शिवालयहरुलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरेको बताउनुभयो ।
डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाउन थालेको बताउदै स्थानीयस्तर र यहाँको जनतासँग जाडेर यहाँको आर्थिक विकासका लागि समेत नगरपालिका र वडा कार्यालयले कार्यक्रम अगाडि बढाएको बताउनु भयो । श्रावणी मेलामा शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन हुने र दर्शनार्थीको आवतजावतका लागि यातायातको सहज व्यबसथा गरिएको बताउनुभयो ।
मेलाका लागि नेपाली सेनाको ईन्द्र बक्स गण सुर्यविनायक, नेपाल प्रहरी, सामुदायीक बन उपभोक्ता महासंघ भक्तपुर, संघ संस्था एवं स्थानीय बासिन्दा लगाएको सहभागितामा डोलेश्वर मन्दिर परिसरको सरसफाई गर्ने कार्य र मन्दिरलाई सिंगार्ने कार्य सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिकाको सहयोगमा निर्माण भएको मुलद्वारको समेत भोली उद्घाटन गरिने भएको छ । मूल मन्दिरको पिलरदेखि छानोसमेत तामाको राखिएको, कुनै अवान्छित कार्य नहोस भनेर सीसी टिभी थप गरिएको छ ।
‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु
भक्तपुर, ३१ असार : बागमती प्रदेश सरकारको मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अर्थविद् डिपी ढकालले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई तीन वर्षभित्र एभोकाडो सिटी बनाउने अभियान आज सुरु गर्नु भएको छ । चाँगुनारायण नगरपालिकाको सभाहलमा चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियानले आज आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा अभियानका परिकल्पनाकारसमेत रहनु भएका ढकालले अभियानको शुभारम्भ गर्नु भएको हो ।
अभियानको शुभारम्भ गर्दै उहाँले नागरिक तहबाट आगामी तीन बर्ष भित्र चागुनारायणका १७ हजार ६ सय ८३ घरधुरीमा २ वटा एभोकाडोको बिरुवा रापेर  एभोकाडो सिटी बनाउने यो अभियान सफल पार्न चाँगुनारायणवासीलाई आव्हान समेत गर्नुभयो । चाँगुनारायण नगरपालिका पर्यटकीय गन्तव्य र विश्व सम्पदा सूचीँमा रहेको मन्दिरबाटै आफ्नो पहिचान बनाउन सफल भएको भन्दै उहाँले यो पहिचानमा अर्को एउटा पहिचान थप्दै चाँगुनारायणलाई एभोकाडो सिटी बनाउने अभियान सुरु गरेको बताउनु भयो ।
मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अर्थविद् ढकालले भन्नुभयो, “धेरै भुभाग खाली रहेको यस नगर क्षेत्रका बासिन्दाको सहज रुपमा आयस्तर कसरी बढाउने भनेर म चिन्तन गरिरहन्थे, त्यहीँ चिन्तनबाट यो परिकल्पना आएको हो, तीन वर्षभित्र सबैको घरमा दुई वटा एभोकाडोको बिरुवा रोपेर तीन वर्षमा फल दिन थालेपछि एउटा घरमा कम्तीमा १० २० हजारदेखि ५० हजारसम्म आम्दानी बढ्छ ।”
यहाँको जनताको सहज रुपमा जीवनस्तर उकास्न, हरियाली र पर्यावरण बचाउन र आर्थिक बिकासंगै बिकासको नयाँ मोडालिटी ल्याउन यसले सहयोग पुग्नृ उहाँकाृ भनाई थियो ।
अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर २ वटा बिरुवा समेत निःशुल्क प्रदान गर्ने बतउदै उहाँले तीन वर्षे यो अभियानले एभोकाडोको नाममा पनि यसको पहिचान थपिने बताउनु भयो ।
नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहनु भएका नेता ढकालले यो अभियान कुनै एक राजनीतिक पार्टीको मात्र अभियान नभई जनस्तरको अभियान भएको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका कन्द्रीय सदस्य दीलिप प्रजापति, नेपाली काँग्रेसका नेता एवं वागमति प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, माओवादी केन्द्रकी नेतृ एवं वाग्मति प्रदेशसभा सदस्य भवनेश्वरी श्रेष्ठ, राष्ट्रका लागि दुई घण्टे अभियानका अध्यक्ष मधु ढुङ्गेल, अभियानका उपाध्यक्ष नरेश रञ्जितलगायतले एभोकाडो अभियान अन्य पालिका र देशैभरका लागि नमूना, एवं प्रभावकारी हुने बताउदै अभियान सफल पार्न सबैमा आव्हान गर्नुभयो ।
अभियानका संयोजक नरेश खड्काले यस अभियानलाई तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको बताउदै आजबाट निःशुल्क एभोकाडोको बितरण समेत थालिएको बताउनुभयो । नेपालमा विगतमा सौखका रुपमा राप्ने गरिएको एभोकाडो एक मीठो र महँगो घिउफल हो । केही वर्ष यता यसलाई व्यवसायिक रुपले खेत गर्नेक्रम बढ्दो छ  ।
प्रशस्त भिटामिन, प्रोटिन पदार्थ पाइने एभोकाडोको माग नेपालमा बढ्दै गएको छ भने विदेश समेत निर्यात गर्न सकिने फल हो । एभोकाडोको एउटा बोटले तीन वर्षदेखि फल दिन थाल्ने र यसले तीन क्विन्टलसम्म फल दिने र वार्षिक पचास हजारसम्म आम्दानी हुने बिज्ञहरु बताउछन् ।
गठामंगल पर्व मनाईयो नेवार समुदायमा

-रमेश गिरी

भक्तपुर, ३० असार : साँझ ढल्केर झमक्क भयो । नगर टोलका चोक चोकमा महिला, पुरुष, बालबालिका, युवायुवतीको उपस्थिति बाक्लिदै गयो । दिउँसो देखि टोलटोलमा नर्कट र परालको मिश्रणबाट बनाईएको राक्षस अर्थात गठाःमुंगको परालकै हात खुट्टा, टाउँको, टाउँकोमा पुरानो हाडी राखिएको, अगाडि नाङ्गोलमा आँखा, नाक, कान बनाइएको, नर्कटमा परालको डोरीले बाँधेर लिङ्ग र भोगटेको दुई अण्डकोष बनाएर प्रर्दशन गर्न थालेपछि स्थानीयले नेपाल भाषमा बोल्न थालेको अश्लिल शब्द र गीतले एक प्कारको भीडमा शरम र हाँसोको फोहरा उत्तिकै सुनिन्थ्यिो ।

त्यसपछि साँझ झमक्क परेपछि बालबालिका, युवा एवं पुरुषहरुले हातहातमा छ्वालीको राँको बाल्दै अगाडि अगाडि बिभिन्न नारा लगाउदै र अर्को समूहले राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो र नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर त्यसलाई बालेर राक्षस नष्ट गरेको भन्दै गठाःमुंग मनाएका छन् । यसरी बलेको आगोमाथि र वरिपरि रुन्चे लागेको र भूत लागेको भनिएका ससाना बालबालिकालाई आगो तपाउने गरेको पनि प्रष्ट देखिन्थ्यो । यसो गर्दा भूत र रुन्चे लागेको निको हुने जनविश्वास रहेको पाइन्छ ।

भक्तपुरमा पृथक शैलीमा मनाइने यस पर्वमा गठाःमुंग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट जठाःमंग निकालिएको थियो । भूत पिशाच आदिले दुःख दिइरहेको घरमा आजको दिन भूत भगाएर पठाउने र भूत–प्रेतलाई घरबाट बाहिर धपाइँदा घरका जहान, परिवारलाई कुनै रोग–व्याधिले छुन नपाओस् भन्ने हेतुले त्यस दिन पञ्चरंगी औंठी लगाउने पनि गर्दछन् ।

यो औंठी टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई छुवाएर लगाएमा भूत–प्रेत, पिशाच आदिले छुन नसक्ने र अनेक रोगव्याधिबाट बच्ने विश्वास रहदै आएको छ । यहि दिन टोलटोलमा उभ्याइराखेको गठेमङ्गललाई घरका केटाकेटीले खेल्ने कपडाले बनाइराखेको पुतलीका मालालाई लगाइदिनाले बालबालिकाले पिरेर दुःख दिइराखेका पिशाच आदिले छोडेर जाने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ ।

भक्तपुरका इतिहास एवं संस्कृतविद डा. पुरुषोत्तमलोचन श्रेष्ठले सातौ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेसंग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मन पराउने राक्षसको रुपमा गठाःमुंग वीर शैव सम्प्रदाय अन्तर्गत रहेको बताउनुभयो ।
आजको दिनलाई महादेव उत्पत्तिको दिन समेत मानिने, आजदेखि रोपाई सकेर रमाईलो गर्ने, चाँडबाडको परम्परा सुरु हुने दिनका रुपमा पनि मानिने डा. श्रेष्ठले बताउनुभयो । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राती राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।

गोपाल वंशावलीअनुसार गठाःमुंगलाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास समेत रहेको छ ।

भक्तपुरमा यो पर्वलाई यौनसंग पनि दाज्ने गरिन्छ । राक्षस रुपी गठाःमुंगलायृ शरीरको रुप दिएर परालबाट लिङ्ग बनाई दुईवटा भोगटेको अण्डकोष बनाएर दिनभरी टोलटोलको दोबाटो, चौबाटोमा उभ्याईराखेपछि साँझ त्यसलाई बोकेर अश्लिल गीतहरु गाउँदै चोकचोकबाट निकालेर टोल नगरब बाहिर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा समेत रहेको छ ।

राँको बालेर भूत भगाउँने भन्दै पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्याईन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखी नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ । त्यसपछि राति घरघरमा राक्षसहरू मरिसक्यो भनेर आफ्ना श्रद्धानुसार बलीपूजा गर्ने चलन पनि रहेको छ । तान्त्रिकहरू यसलाई ‘चर्हेपूजा’ भन्दछन् ।

त्यसअघि गठाःमुंग चर्हे पर्वको अवसरमा आज भक्तपुरका बिभिन्न देवदेवीको शक्ति पिठमा दर्शनार्थीको भीड लागेको थियो । नेवार समुदायले आज घरघरमा लिपपोत गरि शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । जल नछर्केसम्म कसैले खान नहुने मान्यता रहेको छ ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भुत मन्छाउने) गर्दछन । काँचो माटोको सानो दहीको कतारो वा सलीचामा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ति बालेर टोल बाहिरको दोवाटो वा चौवाटोमा लगेर राख्दै भुत पन्छाउने गरिन्छ ।

त्यसपछि घरमा भुत प्रेत पस्न नदिन घरघरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तिन खुट्टे फलामको किला ठोकेर गरिन्छ । यसो गर्दा घरमा भूत, प्रेत पस्दैन भन्ने मान्यता अझै रहदै आएको छ । आजकै दिन घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाईदिने प्रचलन रहेको छभने वयस्क युवतीहरुले घण्टाकर्णको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन रहदै आएको छ ।
नेवार समुदायले रोपाई सकिएको पर्वको रुपमा पनि गठाःमुंगलाई ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने प्रचलन रहेको छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गर्ने गरिन्छ । त्यसको साथै गाइजात्रामा प्रदर्शन गरिने भैरव लगायतका बिभिन्न नाच तथा व्यंग्यात्मक नाटकको प्रशिक्षणसमेत आजबाट सुरु गरिन्छ ।

यस्तो छ किम्बदन्ती :

भक्तपुरका प्रसिद्ध संस्कृतकर्मी एवं ऐतिहासिक दस्तावेजका लेखक लिलाभक्त मुनंकर्मीको पुस्तकमा उल्लेख भए अनुसार रूद्रयामल–तन्त्रमा, नेपाललाई ध्वंस पार्न गठेमङ्गल नाम गरेको बडेअजंगको एक राक्षस आएर उत्पात मच्चायो । सो राक्षसलाई कसैले पनि मार्न सकेन । अन्त्यमा एक जना तान्त्रिकले आफू भ्यागुतोको रूप लिई त्यस राक्षसलाई यमलोक पठाइदिए । नेपालमा त्यस राक्षसलाई श्रावण कृष्ण चतुर्दशीको दिनमा मारेकोले त्यस दिनलाई नेपालीहरूले ठूलो उत्सव साथ पर्व मानिआएको हो ।

त्यसदिन टोलटोलमा सोही राक्षसकोमूर्तिको अनुकरण गरी नेपालमा उत्पात गरी दुःख दिने राक्षस यही नै हो भनी सबैलाई देखाई साँझ पर्न लागपछि घिसारेर लगी देशबाहिर पुर्याई आगोले जलाइदिने गर्दछ । राक्षसलाई मारेको दिनदेखि नेपालमा मानिसहरूको आयु बढेको मानयता यो समुदायमा रहेको छ । रूदयाल–तन्त्रबमोजिम उक्त दुष्ट राक्षसलाई मारिदिएको श्रावण कृष्ण चतुर्दशीको दिनको बडो महत्व भएकोले पर्व गरी मनाइआएको हो । यसैको आधारमा यो पर्व आजसम्म मनाइदै आएको छ ।

राष्ट्रको लागि दुईघण्टा अभियानद्धारा अरनिको राजमार्ग खण्ड राधेराधे थिमिमा असारे फूलको बृक्षारोपण
भक्तपुर, ३० असार : राष्ट्रको लागि दुई घण्टा अभियान अन्तर्गत आज १९ औ हप्तामा अरनिको राजमार्ग खण्डको राधेराधेदेखि राष्ट्रिय क्षयरोग केन्द्र अगाडिसम्म असारे फूलको बिरुवा रोपेर मनाइएको छ ।
अरनिको राजमार्ग खण्डलाई सुन्दर, सफा, हराभरा बनाउने र यहाँका खोला, नदीलाई सफा गरि सुन्दर भक्तपुरको परिकल्पना गर्दै १०० हप्ताको हनुमन्ते सफाई अभियान सफलताका साथ सम्पन्न गरेको समूहले सुरु गरेको राष्ट्रको लागि दुई घण्टा अभियान आज १९ औँ हप्तामा बृक्षारोपण गरिएको हो ।
सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाको सहयोगलगायत बिभिन्न सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संस्थाहरु, अभियानमा निरन्तर लाग्दै आएका अभियन्ताहरुको सहभागितामा आज भएको बृक्षारोपणमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, मध्यपुरथिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, राष्ट्रका लागि दुई घण्टा अभियानका अध्यक्ष मधु ढुङ्गेल, नरेश रंजित, बागमती प्रदेश मुख्यमन्त्री प्रमुख सल्लाकार डिपी ढकाल, नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज दिलिपकुमार प्रजापति, नेकपा एमाले जिल्ला अध्क्षय बचन देउजालगायत जनप्रतिनिधिहरु लगायत करिब ६० जनाको सहभागितामा असारे फूलको बृक्षारोपण गरिएको थियो ।
नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, नेपाल स्वच्छ वातावरण सृजना केन्द्र, डिवाईन युथ क्लब नेपाल, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, पातन्जल योग समितीलगायत बिभिन्न संघसंस्थाहरुको अभियानमा सहभागिता रहेको थियो । अभियानमा राजमार्गको सरसफाई, मठ मन्दिरको सरसफाई, नदीहरुको सरसफाई गर्दै आएकोमा आज राजमार्गको दायाँबाया २०० वटा असारे फूलको बिरुवा रोपिएको अभियानका उपाध्यक्ष नरेश रञ्जितले जानकारी दिनुभयो । उहाँले आगामी दिनमा कल्की, पैयुलगायतका अन्य बिरुवा रोपिने बताउनुभयो ।
त्यसैगरि राधेराधे चोकलाई आज क्लिन ग्रिन हाइवे नामाकण गरि गुरुयोजना सार्वजनिक गरिएको छ । आज क्लिन ग्रिन हाइवेको उद्घाटन सूर्यविनायक नपाका प्रमुख थापा र मध्यपुरथिमिका प्रमुख श्रेष्ठले संयुक्त रुपमा गर्नुभयो । श्यामा श्यामा धाम राधेराधे र राष्ट्रका लागि दुई घण्टा अभियानका सहयोग एवं समन्वयमा डिभाइन युथ क्लब राधेराधेले बिभिन्न फलफूल तथा बिभिन्न जातका फूलहरु, दूबो रोपेर हरियाली निर्माण गरि यस क्षेत्रलाई सधै सफा राख्ने योजना अनुरुप तयार गरिएको क्लिन ग्रिन हाइवेको आज उद्घाटन गरिएको रञ्जितले जानकारी दिनुभयो ।
साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०८०’ शुभारम्भ
भक्तपुर, ३० असार : भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उदेश्यले भक्तपुरमा आज बिहान ६ बजे १०० किलोमिटर लामो ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ ।
साइकल कनेक्ट भक्तपुरले आयोजना गरेको ‘तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०८०’ को बिहान ६ बजे भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबारस्क्वायरमा वागमति प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले रिबन काटेर उद्घाटन गरि शुभारम्भ गर्नु भएको हो ।
उहाँले विगत तीनवर्षदेखि सफलतापूर्वक निरन्तर रुपमा सञ्चालन हुदै आएको कोरा भक्तपुर साइकलिङ च्यालेन्जले नेपाललाई विश्वमा चिनाउन मद्धत गर्नुका साथै नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पुर्याउने बताउनु भयो । यो च्यालेन्जले साईकल यात्रीहरुलाई प्रोत्साहन दिने मात्रै नभई यहाँको सुन्दर प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामिण पर्यटकीय प्रबद्र्धनमा समेत टेवा पुर्याएको चर्चा गर्नुभयो ।
साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले यसवर्ष ६०० भन्दा बढी साइकल यात्रीको सहभागिता रहने बताउनु भयो । उहाँले भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र टर्की र सिरियाको भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
भक्तपुर तथा काभ्रेपलाञ्चोकलाई छुदै अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको दृश्यावलोकन गरि यहाँको सौन्दर्यतालाई स्पर्श गर्दै साइकलबाटै २१०० मिटर उचाईसम्म १०० किलोमिटरको यात्रा आज एकैदिनमा सक्ने उहाँले बताउनुभयो । साइकल यात्रा बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरू भएर सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायणसम्म पुगिसकेको छ ।
यो यात्रा त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि, सल्लाघारीहुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा साँझ ७ बजे समापन गर्दै मनोरञ्जनात्मक कार्यक्रमसमेतको आयोजना गरिने संयोजक बालाले बताउनु भयो ।
कार्यक्रममा कोरा मास्टर सुनिल ख्याजुले भक्तपुर कोरा २०२३ नाम दिइएको यस कार्यक्रममा साइकलबाट ५०, ७५ र १०० किलोमिटरका तीनवटा रूटमा यात्रा हुने जानकारी बताउनु भयो । च्यालेन्जमा महिला ५० जनासहित करिब ६०० जना भनदा बढीको सहभागिता रहेको उहाँले बताउनुभयो ।
साइकल कनेक्ट भक्तपुरका अध्यक्ष निर्जला कोजूले च्यालेन्जमा भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौति, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगञ्ज, बिरगञ्ज, चितवन, नवलरासी, बुटवललगायतका शहरहरूबाट साइकलयात्रामा सहभागी रहने भएको बताउनु भयो ।
विदेशबाट अमेरिका र यूरोपियन राष्ट्रका विदेशी सुाइकल यात्रीहरुको समेत सहभागिता रहेको बताउदै उहाँले आज साँझ कार्यक्रमको समापनमा ५०, ७५ र १०० किलोमिटरको च्यालेन्ज पुरा गर्ने सहभागिलाई मेडल वितरण गरिने बताउनु भयो । उत्साहजनक सहभागिका साथ च्यालेन्ज सुरु भएको बताउदै उहाँले बिहानको पौने आठ बजे साइकल यात्रा चाँगुनारायण पुगिसकेको र १० बजे नगरकोट पुग्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गर्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको ६९ वर्षको उमेरमा निधन भएको हो ।

यसबारे जानकारी दिन नर्भिक अस्पतालमा ९ः३० बजे पत्रकार सम्मेलन हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 

गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउन भक्तपुर अस्पतालले साउनदेखि घरदैलो स्वास्थ्य अभियान सञ्चालन गर्ने
भक्तपुर, २५ असार । अस्पतालसम्म आउन नसक्ने विरामीहरुलाई गाउँघरमै गएर स्वास्थ्य परीक्षण गरि उपचार गर्ने उदेश्यले भक्तपुर अस्पतालले घरदैलो स्वास्थ्य अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आगामी साउन महिनादेखि जिल्लाका चारवटा नगरपालिकासाग समन्वय गरि विशेष गरि स्वास्थ्य पहुँचबाट अलि टाढा रहेका र स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म आउन नसक्ने विरामीहरुलाई लक्षित गरि घरदैलो स्वास्थ्य अभियान सञ्चालन गर्न लागेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।
सुरुमा चाागुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा यो अभियान सञ्चालन गर्ने जानकारी दिदै उहाँले त्यसपछि मध्उपुरथिमि नगरपालिका र भक्तपुर नगरपालिकामा पनि सञ्चालन गरिने बताउनु भयो । त्यसो त भक्तपुर नगरपालिका आफैले पनि स्वास्थ्य परीक्षणका लागि घरदैलो स्वास्थ्य सेवा दिदै आएको छ । भक्तपुर अस्पतालको कार्यक्रम वडा कार्यालयसँग छलफल गरि आवश्यकता अनुसार सञ्चालन गरिने छ ।
अन्य नगरपालिकासँग घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि नगरपालिकाका प्रमुखहरुसँग समन्वय भइरहेको र वडा कार्यालयसँगसमेत समन्वय गरेर वडा वडामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली गएर स्वास्थ्य परीक्षण, औषधि वितरण, रोग पहिचान र थप उपचारका कार्यक्रम सञ्चालन गर्ने मेसु डा. गौतमले जानकारी दिनुभयो ।
भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले भक्तपुर अस्पतालले सञ्चालन गर्ने घरदैलो स्वास्थ्य अभियान कार्यक्रमबाट विशेष गरि जेष्ठ नागरिक, अपाङ्, बालबालिका जो स्वास्थ्य पहुँचबाट अलि टाढा रहेका र छिट्टै स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्न नसकेका नागरिकले फाइदा लिन सक्ने बताउनु भयो ।
यो कार्यक्रममा रोग पहिचान भएका विरामीलाई भने अस्पतालमा ल्याएर उपचार गर्ने गराउने व्यबस्था गरिने उहाँले जानकारी दिनुभयो । घरदैलो स्वास्थय अभियानको अस्पतालले तयारी गरिरहेको जानकारी दिनुभयो ।
नेपालबाट लैजान्छ फेसबुकले ६० अर्ब बढी रकम

काठमाडौँ, ८ वैशाख  : नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी व्यवस्था गरेको थियो ।

तर हालसम्म दुईवटा कम्पनी मात्रै डिजिटल सर्भिस ट्याक्स प्रणालीमा दर्ता भएको आन्तरिक राजस्व विभागले जनाएको छ । “हालसम्म गुगल र इब्स्को इन्क भन्ने दुईवटा कम्पनी मात्रै डिएसटीमा आवद्ध भएका छन् ।

अरु कम्पनीले पनि चासो देखाइरहेका छन् । तर यस्तो कर प्रणाली हाम्रा लागि नयाँ व्यवस्था भएकाले बाध्यकारी हुन नसक्दा अरु कम्पनीलाई कसरी करको दायरामा ल्याउने भन्ने चुनौती छ ।”, आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले भन्नुभयो ।

चालु आर्थिक वर्षको आर्थिक ऐनले ‘गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लगाइ असुल गरिनेछ’ भनि व्यवस्था गरेको थियो । वार्षिक रू २० लाखसम्मको कारोबारमा भने यस्तो कर नलाग्ने व्यवस्था आर्थिक ऐनमा राखिएको छ ।

ऐनको व्यवस्थाअनुसार नेपालमा विद्युतीय सेवा उपलब्ध गराउने व्यक्तिले आयवर्षअनुसार आफ्नो कारोबारको विवरण तथा कर दाखिला गर्नुपर्छ । तर विभागमा दर्ता हुन नआएका कम्पनीलाई कसरी आवद्ध गराउने र कर तिराउने भन्ने स्पष्ट छैन ।

विभागमा दर्ता भइसकेका यस्ता विदेशी कम्पनीले कर नतिरेमा कारबाहीको व्यवस्था गरिएको भए पनि दर्ता नै नभएकालाई कस्तो कारबाही हुने भन्ने स्पष्ट नरहेको प्रवक्ता प्याकुरेल बताउनुहुन्छ । चालु आर्थिक वर्षको आर्थिक ऐनले तोकिएको समयभित्र विवरण दाखिला नगरेमा वार्षिक कारोबार रकमको शून्य दशमलव एक प्रतिशत प्रतिवर्षका दरले हुने रकम शूल्क लाग्ने र कर तिर्नुपर्ने तोकिएको मितिभित्र कुनै व्यक्तिले कर दाखिला नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लाग्ने व्यवस्था रहेको छ । य

सरी दाखिला गर्नुपर्ने कर रकम कम दाखिला गरेमा वा लुकाए छिपाएमा त्यसरी कम गरेको कर रकमको ५० प्रतिशत जरिवानासमेत लाग्नेछ भनी व्यवस्था गरिएको छ । तर विदेशमा सेवा दिइरहेका कम्पनीले नेपालमा कर तिर्नका लागि अनिवार्यरुपमा दर्ता हुनुपर्ने व्यवस्था आर्थिक ऐनमा भने कहीँ पनि राखिएको देखिँदैन ।

नेपालभित्र सेवा दिइरहेका सामाजिक सञ्जाललगायत डिजिटल कारोबार गर्ने कम्पनीलाई करको दायरामा ल्याउन नसक्दा ठूलो परिमाणमा राजस्व गुमिरहेको सरकारी अध्ययनले नै देखाएका छन् । मन्त्रिपरिषद्को गत असोज ११ को निर्णयबाट खारेज भएको नेपाल राजस्व परामर्श समितिले तयार पारेको ‘राजस्व दायरा वृद्धिका सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन, २०७९’ले पछिल्ला वर्षमा सामाजिक सञ्जालमार्फत हुने विज्ञापनबाट मात्रै ठूलो रकम बाहिरी रहेको उल्लेख गरेको छ ।

“नेपालमा कानूनीरुपमा दर्ता नभएका सामाजिक सञ्जालमा विज्ञापन गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । त्यस्ता सामाजिक सञ्जालले वार्षिक अर्बौँ रुपैयाँ नेपालबाट विदेशतर्फ लगिरहेका छन् ।” प्रतिवेदनमा भनिएको छ । राजस्व परामर्श समितिको प्रतिवेदनले डाटा पोर्टल डट कमको तथ्याङ्कलाई उद्धृत गर्दै सन् २०२२ सम्ममा नेपालमा फेसबुकका एक करोड ३३ लाख प्रयोगकर्ता रहेको उल्लेख गरेको छ ।

“बजारसम्बनधी अनुसन्धान गर्ने कम्पनी स्टाटिस्टाकाका अनुसार फेसबुकको प्रति विज्ञापनकर्ता विज्ञापन आम्दानी सन् २०२१ मा ४० दशमलव ९६ अमेरिकी डलर पुगेको छ । सो आय सन् २०२० मा ३२ दशमलव ०३ अमेरिकी डलर बराबर थियो,” राजस्व परामर्श समितिको प्रतिवेदनमा भनिएको छ, “यस प्रकारले हेर्दा नेपाली प्रयोगकर्ताले विज्ञापन हेरेबापत फेसबुकले वार्षिक ६० अर्बभन्दा बढी रकम आय गर्दै आइरहेको छ ।”

अरु देशको प्रावधान बङ्गलादेशमा नेशनल बोर्ड अफ रेभेन्यूले फेसबुक, गुगलजस्ता कम्पनीलाई दर्ता गरेर १५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन गर्दै आएको छ । त्यसका अतिरिक्त गैर वासिन्दालाई अनलाइन विज्ञापनबापत रकम भुक्तानी गर्दा १५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था रहेको छ । त्यस्तै, भारतमा पनि फेसवुकलगायत ठूला अनलाइन् व्यवसाय दर्ता भई व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

भारतमा अनलाइनबाट विज्ञापन गर्दा १८ प्रतिशत वस्तु तथा सेवा कर (जीएसटी) र आयकरका रुपमा दुई प्रतिशत टिडिएस लाग्दै आएको छ । हालको अनौपचारिक माध्यमबाट नेपालमा दर्ता नभएका कम्पनी, गैरबासिन्दाबाट विज्ञापन गर्दा वा अनलाइन सेवा लिँदा ग्राहकले सम्बन्धित देशको कर तथा दश प्रतिशतको हाराहारीमा सेवा शुल्क भुक्तानी गर्दै आइरहेको राजस्व परामर्श समितिको प्रतिवेदनमा उल्लेख छ ।

यस्ता कम्पनी नेपालमा दर्ता भएर विज्ञापन गर्दा अन्य देशको भन्दा सस्तो पर्ने र नेपालमा राजस्व पनि बढ्ने ठानिएको छ । उदाहरणको लागि फेसबुकबाट विज्ञापन गर्दा कुन देशको ठेगानाबाट विज्ञापन गर्ने भनी छनौट गर्नुपर्दछ । मानौँ भारत छनौट गरेमा फेसबुकबाट विज्ञापन गर्दा लाग्ने शुल्कमा १८ प्रतिशत जीएसटीसहितको रकम भुक्तानी गर्नुपर्दछ ।

अनौपचारिकरुपमा विज्ञापन गर्दा सो अठार प्रतिशत पछिको रकममा दश प्रतिशत सटही शुल्क तिरी विज्ञापन हुँदै आएको छ । यस्ता कम्पनी नेपालमा दर्ता भएर कानूनीरुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन सके भारतबाट गर्ने विज्ञापनभन्दा नेपालबाट गर्ने विज्ञापन सस्तो पर्न जान्छ ।

“नेपालको हकमा प्राकृतिक व्यक्तिलाई कार्ड जारी हुँदाकै अवस्थामा १५ प्रतिशत टिडिएसबापतको रकम सङ्कलन गर्ने र भ्याट नलाग्ने व्यवस्था गरेमा यसतर्फ सेवाग्राही आकर्षित हुनसक्ने अनुमान गर्न सकिन्छ”, राजस्व परामर्श समितिको प्रतिवेदनमा भनिएको छ, “नेपालबाट गरेको आय रकममा पन्ध्र प्रतिशतका दरले मात्र कर सङ्कलन गर्न सके मात्र पनि रू नौ अर्वभन्दा बढी रकम सङ्कलन हुने देखिन्छ ।”

राजस्व परामर्श समितिले नै ‘आर्थिक वर्ष २०७९/८० को राजस्व नीति र कर सुधारसम्बन्धी प्रतिवेदन २०७९’ मा डिजिटल सेवा दिइरहेका सामाजिक सञ्जाललगायत कम्पनीलाई करको दायरामा ल्याउन र अग्रिम कर कट्टी गरेर मात्रै कारोबार गर्ने व्यवस्था लागु गर्न सरकारलाई सुझाव दिएको थियो ।

“नेपालमा अनलाइन विज्ञापन गर्ने विदेशी प्लाटफर्मलाई आयकर विवरण बुझाउने व्यवस्था लागु गरी करको दायरमा ल्याउने वा अन्यथा भुक्तानीका बखत नै निश्तित प्रतिशतका दरले अग्रिम कर कट्टीका रुपमा राजस्व दाखिला गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ ।” उक्त प्रतिवेदनमा भनिएको छ ।

उपनिर्वाचन व्यवस्थापनमा सुरक्षा व्यबस्था कडा बनाउन आयोगको निर्देशन

काठमाडौँ, ८ वैशाख : यही वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन व्यवस्थापन चुस्त बनाउन निर्वाचन आयोगले सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले निर्देशन दिएको हो । उपनिर्वाचन हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ ।

त्यस्तै, सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र निर्वाचनका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ । उपनिर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई कसैले कुनै किसिमको डर, धम्की, प्रलोभन दिएमा वा उनीहरूको काममा बाधा पु¥याएमा उक्त कार्यलाई निर्वाचन कसुर मानी तत्काल कारबाही गर्न आयोगको निर्देशन छ ।

निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले आफ्नो कर्तव्यभन्दा बाहिर गई निर्वाचनलाई प्रभावित हुने कुनै क्रियाकलाप गरेको भेटिएमा कारबाही गरिने पनि आयोगले जनाएको छ । मतदान हुने दिन मतगणना कार्यमा संलग्न सबै व्यक्तिले कोभिड–१९ लगायत सङ्क्रामक रोगको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी मापदण्ड अवलम्बन गर्ने गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।

हावाहुरी र बर्सातका कारण मतदान कार्य प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखी निर्वाचन सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका लागि पनि दिर्नेशन दिइएको छ । निर्वाचन सामग्रीको सुरक्षाका लागि त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समिति, निर्वाचन क्षेत्रभित्रका स्थानीय तह तथा सम्बन्धित स्थानीय तहका स्थानीय तह विपद् कार्य सञ्चालन केन्द्रलाई आयोगले निर्देशन दिएको हो ।