परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डद्वारा निर्देशित छ : प्रम देउवा

काठमाडौँ, १० भदौ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डहरूद्वारा निर्देशित रहेको बताउनुभएको छ । साथै उहाँले संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लेखित सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्य–मान्यता हाम्रो परराष्ट्र नीतिको सार भएको स्पष्ट पार्नुभएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘अन्तर्राष्ट्रिय सम्बन्ध : नेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले नेपालले सधैँ न्यायपूर्ण, समतामूलक, समावेशी र सबैका लागि निष्पक्ष विश्व व्यवस्थाको कुरा गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “हामी संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लिखित सिद्धान्तहरूको सम्मान गर्ने विश्व व्यवस्थाको लागि आह्वान गर्छौँ । हामी संयुक्त राष्ट्र सङ्घको केन्द्रमा रहेको बहुपक्षीयतामा दृढ विश्वास गर्छौं ।” कोभिड–१९ महामारीले विश्वमै जीविकोपार्जन र अर्थतन्त्रलाई बाधा पु¥याएको बताउँदै उहाँले हालको इन्धन, खाद्यान्न र रासायनिक मलको मूल्य वृद्धिले नेपाललगायत विकासोन्मुख देशहरूमा आर्थिक मन्दीका साथ आपूर्ति श्रृङ्खलामा संकट उत्पन्न भएको र लागत बढेको धारणा व्यक्त गर्नुभयो ।

सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले हाम्रो वैदेशिक सम्बन्धको आचरणमा मार्गदर्शन गरेको बताउँदै उहाँले दुवै छिमेकीसँग सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध राख्छौँ भन्नुभयो । छिमेकी मुलुक, ठूला शक्तिहरू, विकास साझेदारहरू र आप्रवासी कामदारहरूको गन्तव्य देशहरूसँगको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय शान्तिमा नेपालको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपालका लागि इजरायलका राजदूत हनन गोदेरले नेपालसँग इजरायलको सम्बन्ध ऐतिहासिक तथा मैत्रीपूर्ण रहेका बताउँदै त्यसयता द्विपक्षीय सहयोग आदानप्रदान हुँदै आएको उल्लेख गर्नुभयो । नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख मिसन मार्क टेम्पलरले अमेरिका सदैव नेपालको लोकतन्त्र, मानवाधिकार र आर्थिक समृद्धिमा हातेमालो गर्न चाहन्छ भन्नुभयो । प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारी र सम्मेलन आयोजक समिति सदस्य सन्दिप रानाले सम्मेलनका उद्देश्य बारेमा अवगत गराउनुभएको थियो ।

आजदेखि तीन दिनसम्म हुने सम्मेलनमा नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका सरकारी तथा गैरसरकारी संस्थामा महत्वपूर्ण भूमिकामा रहनुभएका करिब एक सय विज्ञ युवाको सहभागिता रहेको बताइएको छ । सम्मेलनमा विज्ञहरुले आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्ने प्रतिष्ठानका निर्देशक अधिकारीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नवीनतम विचार युवा पुस्ताको मस्तिष्कबाट आओस् भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

नयाँ पुस्ताले यस विषयमा जे विचारहरू प्रस्तुत गर्नुहुनेछ भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि पथपर्दशन बन्नेछ भन्ने आयोजकको विश्वास छ । निर्देशक अधिकारीले नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्ने उल्लेख गर्नुभयो । सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।

आजको युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने लक्ष्य युवाहरूका मनमा रहेको छ भन्ने कुराको यस कार्यक्रमबाट समाजले थाहा पाउने अवसर हुनुपर्दछ भन्ने आयोजकको ध्येय छ । सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ १२ गते गर्ने तय भएको छ ।

अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडौं, १० भदौ  : नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन आज अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डबारे छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको छ ।

समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले अर्काे बैठकमा जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा अध्यक्ष ओलीले राजीतिक प्रतिवेदनका विषयमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा सम्बोधनसहित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उहाँले वर्तमान सरकार देश र जनतालाई सेवा गर्ने भावको दिशामा नगएको आरोप लगाउँदै एमालेलाई घेराबन्दी पार्ने प्रयासलाई आउने निर्वाचनबाट असफल बनाइने जिकिर गर्नुभयो । बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमीकमजोरीको छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत र सचिवालय बैठकबाट भएका निर्णयहरूको अनुमोदन हुनेछ ।

सचिवालयले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौंदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन गरेको थियो । बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिएका चार केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बैठकमा अध्यक्ष राजनीतिक प्रतिवेदन, कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टीका कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन् । एमालेको केन्द्रीय कमिटीको बैठक शनिबार बिहान १०ः३० बजे पुनः बस्नेछ ।

मङ्सिर ४ को निर्वाचन सुरक्षार्थ ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन हुने

काठमाडौँ, १० भदौ :आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ ।

प्रहरी महानिरीक्षक धीरजप्रताव सिंहले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनःअर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा पनि सुरक्षा जनशक्ति बढी आवश्यकपर्ने जानकारी दिनुभयो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचनभन्दा म्यादी प्रहरी पनि थप २० हजार बढी प्रस्ताव गरिएको जानकारी दिनुभयो । गत स्थानीय निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकामा यसपटक एक लाख २० हजार भर्नाका लागि तालकु गृहमन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । उहाँले सङ्घ र प्रदेश निर्वाचनमा कैदीबन्दीसहित पाँच लाख मतदाता बढ्ने र मतदान केन्द्रसमेत थप हुने अनुमान गरिएअनुसार सुरक्षाकर्मी बढाइएको हो ।

गृहमन्त्रालयबाट प्रस्ताव पारित भएर आएपछि मात्रै अन्य औपचारिक काम अघि बढ्ने जनाउँदै उहाँले अहिले आन्तरिक तयारीका काम चलिरहेको जानकारी दिनुभयो । नेपाल प्रहरीले यसअघि नै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाका नेतृत्वमा प्रहरीको केन्द्रीय निर्वाचन सेल र मातहतका कार्यालय, प्रदेश तथा जिल्लामा आवश्यकतानुसार सेल गठन गरी आवश्यक कार्य प्रक्रिया अघि बढाइएको छ ।

प्रदेशमा प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्व रहेको जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल गठन गरिएको छ । “उम्मेदवार सङ्ख्या, निर्वाचन कार्यालय, मतदान केन्द्र, निर्वाचन सामग्री, मतपेटिका, मतदानस्थल तथा रुट सबै प्रारम्भिकरुपमा यकिन गरेर आवश्यक सुरक्षा तयारी गरिएको छ”, प्रवक्ता राईले रासससँग भन्नुभयो, “माथिबाट निर्णय भएर आएपछि बाँकी काम अघि बढ्छ ।”

प्रहरीले सामान्य, संवेदनशील र अतिसंवेदनशील छुट्याएर मतदानस्थलको पहिचानसँगै सोहीअनुसार प्रहरी कर्मचारी खटाउने गरी योजना बनाएको छ । प्रहरीले यसअघि नै मङ्सिर ४ को सङ्घ र प्रदेश निर्वाचनका लागि कुल एक हजार चार सय ९४ सवारी साधन, सात सय बढी सञ्चार सेट आवश्यक रहेको भनी मन्त्रालयमा लेखेर पठाइसकेको छ । पेश गरिएको प्रस्तावमा आवश्यक हातहतियारको पनि माग गरिएको छ । उहाँले हतियार अपुग भएमा नेपाली सेनाबाट बहालगिरीमा ल्याएर प्रयोग गरिने जानकारी दिनुभयो । सञ्चार सेट सम्भव भएन भने प्रहरीका मोबाइललाई सञ्चार सेटका रुपमा प्रयोग गरी उनीहरु लाई रिचार्ज कार्ड उपलब्ध गराउने योजना बनाइएको छ ।

प्रवक्ता राईले भन्नुभयो, “स्थानीय तहको झैँ सङ्घीय र प्रदेश निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न नेपाल प्रहरीलाई अवसर आएको छ, यो अवसर जो कोहीलाई आउँदैन, त्यसकारण नेपाल प्रहरीका जवानदेखि अधिकृत उत्साहित छन्, निर्वाचनलाई शान्तिपूर्ण बनाउन आतुर छन् ।” प्रहरी कर्मचारीबाट भने निर्वाचनमा खटिने अन्य सबै कर्मचारी बराबरको खाजा भत्ता दिएमा थप उत्साहित हुने जनाइएको छ । केन्द्रीय सुरक्षा योजना बन्दै गृहमन्त्रालयले पनि आफ्नो निर्वाचन सुरक्षाको तयारीलाई तीव्र पारेको छ ।

गृहसचिव टेकनारायण पाण्डेको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुख सदस्य रहेको केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरी तीव्ररुपमा कार्य अघि बढाइएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेले जानकारी दिनुभयो । उहाँले सोहीअनुसार प्रदेश मुख्य सचिवको नेतृत्वमा प्रदेश सुरक्षा समन्वय सेल गठन गरिएको जानकारी दिनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला निर्वाचन सेल तथा कमाण्ड पोष्ट गठन गरिएको छ । यस्तै केन्द्रीय सुरक्षा योजना पनि बन्दै गरेको उहाँले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीलगायतको स्रोतसाधन जनशक्तिलगायतमा विषयमा अर्थ मन्त्रालयमा लेखेर पठाएको जानकारी दिँदै उहाँले स्वीकृत भएर आएलगत्तै औपचारिकरुपमा काम अघि बढ्ने जानकारी दिनुभयो । “गाडी भत्ता, अन्य बन्दोेबस्तीका सामान, म्यादी प्रहरी, सञ्चार सेट सबै लेखेर पठाएका छौँ”, प्रवक्ता पोखरेलले भन्नुभयो ।

समानुपातिकतर्फ दल दर्ता सुरु

काठमाडौँ, १० भदौ : आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार आज पहिलो दिन प्रतिनिधिसभातर्फ २९, प्रदेश नं. १ मा २५, मधेस प्रदेशमा २७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन् ।

यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालय आयोगको कार्यालयमा तोकेको छ । आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधिसभातर्फ पहिलो हुने, निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ ।

गठबन्धन दलहरुले गरे सिट बाँडफाँटमा आफ्नो दाबी

काठमाडौँ, ९ भदौ : पाँच दलीय सत्तारुढ गठबन्धन दलहरुले चुनावी तालमेलका लागि आआफ्नो दाबी पेश गरेका छन् । गठबन्धनको कार्यदलसहित शीर्ष नेताहरुको बैठक आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

बैठकमा कार्यदलका तर्फबाट नेपाली कांग्रेसले १००, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गरेको जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । सिट बाँडफाँटका सम्बन्धमा लामो समयदेखि छलफल भइरहेका सन्दर्भमा आज कार्यदलमा रहेका सबै दलले आआफ्नो दाबी गरेको र त्यसपछि कुन निर्वाचन क्षेत्र हो भनी सोबारेमा समेत छलफल भएको उहाँले बताउनुभयो ।

भोलि अपराह्न ४ बजे बस्ने गठबन्धनको बैठकमा यस बारेमा विस्तृत छलफल गरी शीर्ष नेतृत्वसमक्ष प्रतिवेदन पेश गरिनेछ । यसअघि आज बिहान बसेको गठबन्धनका शीर्ष नेतासहितको बैठकले सिट बाँडफाँटका सम्बन्धमा एक सय ६५ वटै निर्वाचन क्षेत्रको अवस्थाको अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो ।

बेलायतबाट फिर्ता ल्याइएका दुई पुरातात्विक कलात्मक सामग्री सङ्ग्रहालयलाई हस्तान्तरण

काठमाडौँ, ९ भदौ  : पुरातत्व विभागले बेलायतबाट नेपाल फिर्ता भएका दुई वटा पुरातात्विक एवं सांस्कृतिक महत्वका कलावस्तु र मूर्ति राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ ।

ती दुई वटा पुरातात्विक महत्वका कलावस्तु आज यहाँ आयोजित एक कार्यक्रमबीच विभागका महानिर्देशक दामोदार गौतमले सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । नेपालबाट चोरी भएका दुई पुरातात्विक कलात्मक वस्तु लण्डनस्थित नेपाली राजदूतावास, त्यहाँको मेट्रोपोलिटन पुलिस र नेपालको पर्यटन मन्त्रालय र अर्थमन्त्रालयको समन्वयमा स्वदेशी फिर्ता गरिएको विभागले जनाएको छ ।

बेलायतबाट फिर्ता ल्याइएको सांस्कृतिक महत्वका र पुरातात्विक महत्वका दुई सम्पदा सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको विभागका महानिर्देशक गौतमले जानकारी दिनुभयो । उहाँले नेपालको स्वामित्व भएका अरु धेरै चलायमान थप सांस्कृतिक सम्पदा पहिचान भई नेपाल फर्किने क्रममा रहेको बताउनुभयो । पुरातात्विक कलावस्तुमध्ये काठको कलात्मक तोरण कला शैलीको हिसाबले १७औँ वा १८औँ शताब्दीतिर बनेको मानिएको छ । उक्त तोरण काठमाडौँ महानगरपालिका–२३ मा रहेको कुमारी वहाको प्रवेशद्वार माथिबाट सन् १९८०–९० को दशकमा चोरी भएको थियो ।

यस्तै प्रस्तरबाट निर्मित नमस्कार मुद्रामा बसेको भक्तको मूर्ति कलाशैलीको हिसाबले १६औँ वा १७औँ शताब्दीमा बनेको मानिएको छ । उक्त मूर्ति कामनपा वडा नं २३ मञ्जुश्री मन्दिर नजिकै रहेको ओम बहालबाट सन् १९८० मा हराएको थियो । ती कलात्मक सामग्री विभिन्न माध्यम हुँदै लण्डनमा पुगेको र उत्पत्तिस्थल नेपाल भएको पुष्टि भएपछि लण्डनस्थित मेट्रोपोलिटन पुलिसको सहयोगमा १८ मार्च २०२२ मा लण्डनस्थित नेपाली राजदूतावासलाई हस्तान्तरण गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कलात्मक वस्तुको बीमा तथा ढुवानीको खर्च बेहोरेर ती कलात्मक वस्तु नेपाल ल्याइएको हो । नमस्ते एटुजेट कम्पनी लण्डनसँग समन्वय गरी कलात्मक सामग्रीहरु भदौ ७ गते टर्किस एयरबाट इस्तानबुल हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विभागको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म भारत, तिब्बत, अस्ट्रिया, अमेरिका, जर्मनी, इटाली र युरोपियन नागरिकबाट गरी जम्मा ७२ थान मूर्तिहरु, धार्मिक ग्रन्थ तथा कलावस्तु साथै बेलायतबाट २०५२ चैत १९ मा फिर्ता भएका १९ थान र भदौ ७ गते फिर्ता भएका दुई थान कलात्मक वस्तु गरी जम्मा ९३ थान कलात्मक वस्तु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा सङ्घसंस्थाको प्रयासबाट फिर्ता भइसकेको विभागले जनाएको छ । यसबाहेक अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, अस्ट्रेलिया जस्ता देशबाट थप अरु केही कलावस्तु फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छ ।

महानिर्देशक गौतमले नेपाल फिर्ता भएका पुरातात्विक वस्तुको कानूनी प्रक्रिया पु¥याएर हराएका स्थानमा कलावस्तु प्रतिस्थापन गरिने जानकारी दिनुभयो । विभिन्न माध्यमबाट नेपालको सम्पदा पहिचान भएका मूर्तिको फिर्ता गर्ने, विभिन्न देशमा छरिएका मूर्तिको संरक्षण गर्न र मूर्ति भविष्यमा हराउन नदिन सचेतना अभिवृद्धि गरिनेछ । पर्यटन मन्त्रालयले हराएर विभिन्न मुलुकमा फेला परेका सम्पदाको नेपाल फिर्ताका लागि बजेट विनियोजन गरेर काम गरिरहेको विभागले जनाएको छ ।

एमालेको उम्मेदवार छनोट गर्ने यस्ता छन् मापदण्ड 

काठमाडौँ, ९ भदौ  : नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँले केन्द्रीय कमिटी बैठकमा ती उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्ड प्रस्तुत गरेर पारित गर्नेसमेत बताउनुभयो ।

“निर्वाचनको उम्मेदवार छनोट प्रक्रियाको मापदण्डका बारेमा सचिवालय, स्थायी र पोलिटब्युरो बैठकमा समेत छलफल भइसकेको छ र ती बैठकबाट पारित गरिएको छ”, उहाँले भन्नुभयो, “भोलिदेखि बस्ने केन्द्रीय बैठकमा आवश्यक संशोधनसहित उम्मेदवारको मापदण्ड पारित गर्छौं र चुनावको तयारीमा अगाडि बढ्छौँ ।”

प्रचार विभाग प्रमुख गुरुङले पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको बताउनुभयो । उहाँका अनुसार पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा, तेस्रो लोकप्रियता र विजयको सुनिश्चितता तथा चौथो मापदण्ड संविधानअनुरुप सन्तुलन, समावेशीको सिद्धान्तलाई आधार मानेर पनि उम्मेदवार चयन गरिनेछ । उहाँका अनुसार भोलिको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ ।

त्यसमाथि समूहगतरूपमा छलफल भएर आवश्यक निर्णय लिने उहाँले बताउनुभयो । यस्तै केन्द्रीय सदस्यमा मनोनीत चार जनालाई भोलि शपथ गराएर बैठकमा उपस्थिति गराइने बताइएको छ । ती चार मनोनीत केन्द्रीय सदस्यको कार्यविभाजन गर्नेसमेत एजेण्डा तय गरिएको उहाँले बताउनुभयो । केही दिनअघि बसेको सचिवालय बैठकले जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो ।

यस्तै यसभन्दा अघि पार्टी सचिवालयले गरेको निर्णयको पनि भोलि बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ । स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारलाई हराउने भूमिका खेल्नेमाथि गठित छानविन कार्यदलको प्रतिवेदन पनि बैठकमा प्रस्तुत गर्ने एजेण्डा तय गरिएको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षमा स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेलाई कारवाही गर्नका लागि छानविन समिति गठन गरिएको थियो ।

यस्तै एमालेले पार्टी सदस्य सङ्ख्या दोहोरिएका सङ्गठित सदस्यका सम्बन्धमा विशेष निर्णय गरेर व्यवस्थापन गर्ने एजेण्डासमेत रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो । एमालेका ५२ हजार पाँच सय ५० सङ्गठित सदस्यको नामावली दोहोरिएको छ । केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग रहेको प्रतिवेदन बैठकमा पेश गरिनेछ । भारत प्रवास कमिटीलाई व्यवस्थापन गर्नका लागि नियमावली बनाउनेसमेत बैठकले निर्णय गरेको छ । नियमावली केन्द्रीय कमिटी बैठकमा पेश गरेर अनुमोदन गरिनेछ ।

यस्तै पार्टीका विभिन्न निकाय, विभागका सम्बन्धमा नियम पारित गर्ने एजेण्डासमेत रहेको छ । यस्तै समसामयिक राजनीतिक एजेण्डा पास गर्ने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहमा धाँधली भएका कारण चुनाव हार्नुपरेको अध्यक्ष ओलीले बैठकमा बताउनुभएको छ । “सङ्ख्याको नम्बरले दोस्रो पार्टी भए पनि लोकप्रियताका हिसाबले एमाले पहिलो पार्टी भएकाले आगामी निर्वाचनमा सोही लोकप्रियतासहित जानुपर्दछ भन्ने कुरा अध्यक्ष ओलीले बताउनुभयो”, प्रचार विभाग प्रमुख गुरुङले भन्नुभयो ।

अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आम निर्वाचनका विषयमा प्रकाश पार्नुभएको थियो । बैठकमा १५ जना पोलिटब्युरो सदस्यले राजनीतिक प्रतिवेदनमाथि आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लीलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आआफ्ना सुझाव राख्नुभएको थियो । बैठकले पार्टीको सचिवालयबाट गरिएका निर्णय अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० गते पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा ११ बजे बस्दैछ ।

मध्यपुरथिमिका पाँच सय १९ लाई लालपुर्जा

भक्तपुर, ९ भदौ : नापी कार्यालय भक्तपुरले नाप जाँच गरी हाल साविक गरेको पाँच सय १९ थान जग्गाधनी पुर्जा मध्यपुरथिमि नगरपालिका–५ र ७ का स्थानीय स्ववासीलाई वितरण गरिएको छ । आज मध्यपुरथिमि नगरपालिका कार्यालयमा नापी कार्यालयले आयोजना गरेको पुर्जा वितरण कार्यक्रममा पाँच सय १९ थान स्ववासीलाई उनीहरुले भोग चलन गर्दै आएको जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले जानकारी दिनुभयो ।

उहाँले २०२१ सालमा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापूर्वकालदेखि हकभोग गरी बसोबास गरिरहेको हकमा जग्गा नापजाँच ऐन २०१९ को दफा ६(५) बमोजिम नाप जाँच भई तयार भएका जग्गाधनी पुर्जा वितरण गरिएको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाको साविक १७ वटा वडा मध्ये हालसाविक लागु भएको वि. सं. २०६४ देखि २०७६ सम्म ८ वटा वडाको सीमित पुर्जा वितरण भएको र हाल तीन वर्षको अवधिमा थप आठ वटा वडाको पुर्जा वितरण भएको उहाँले जानकारी दिनुभयो ।

सुकुम्वासी जस्तै बसेर अनेकौ समस्या झेल्दै आएका स्थानीय स्वबासीलाई नगरपालिकाको पहलमा जग्गा धनी पूर्जा वितरण गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । भोली पनि पूर्जा वितरण कार्य जारी रहने उहाँले बताउनुभयो ।

तीन दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ९ भदौ : निर्वाचन आयोगले विभिन्न नयाँ तीन दललाई निर्वाचन चिह्न आज प्रदान गरेको छ ।

आयोगले राष्ट्रिय यथार्थवादी पार्टी नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङ्गे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिह्न दल दर्ताको निवेदन पेस गरेकामा ती दललाई मागबमोजिमकै तत्तत् निर्वाचन चिह्न प्रदान गरेको हो । उक्त चिह्न तत्तत् दलको निर्वाचन चिह्नका रूपमा रहनेगरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम अभिलेखीकरण गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

दर्ता भएका राजनीतिक दलमध्ये निर्वाचन हुनुभन्दा तत्कालअघि कायम रहेको प्रतिनिधिसभा÷प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधिसभा/प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि आयोगमा दल दर्ता भएको क्रमका आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गरिनेछ । यसरी निर्धारण गरिएका निर्वाचन चिह्न नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

अध्यक्ष ओलीसँग राजदूतहरूद्वारा सामूहिक भेट

काठमाडौँ, ८ भदौ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतका राजदूतसहित अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली सङ्घका निमित्त राजदूतहरूले आज एमाले पार्टी कार्यालय, च्यासलमा सामूहिक भेट गर्नुभएको छ ।

भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको सन्भर्दमा प्रमुख विपक्षीको भूमिकाका विषयमा जिज्ञासा राख्नुभएको थियो । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा अन्तर्राष्ट्रियस्तर र मान्यतामा ध्यान पु¥याउनुपर्छ भन्ने उहाँहरूको चासो रहेको थियो ।

नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेको प्रतिबद्धताबमोजिम पीडितको आवाज सम्बोधनको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि एमालेको प्रभावकारी र महत्वपूर्ण भूमिका रहोस् भन्ने उहाँहरूको भनाइ थियो । सो अवसरमा अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसद्को सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले यस्ता महत्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट अगाडि बढाउनु न्यायोचित नहुने स्पष्ट गर्नुभयो । यो समस्या गठबन्धन सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभई देशकै समस्या भएकाले बहुमत–अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुङ्ग्याउनुपर्छ भन्ने एमालेको धारणा रहेको अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो ।

भेटवार्तामा अध्यक्ष ओलीसँगै रहनुभएका पार्टीका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले यस विषयमा सर्वोच्च अदालतले के फैसला गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगत्मा गरेको प्रतिबद्धताअनुसार प्रक्रिया अगाडि बढाउनुपर्नेलगायत विषय राख्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूत ¥याण्डी बेरी, बेलायतका राजदूत निकोला पोलिटलगायतले गर्नुभएको भेटवार्तामा अध्यक्ष ओलीसहित उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा अञ्जान शाक्य सहभागी हुनुहुन्थ्यो ।