राजनीतिक अपराधीहरुबाट सामाजिक सञ्जालमा एमाले नेता महेश बस्नेत बिरुद्ध प्रचार, प्रतिवाद गर्न एमालेको निर्देशन

भक्तपुर, १५ भदौ । भक्तपुर क्षेत्र नं. २ मा एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई आगामी निर्वाचनमा पनि पराजित गर्न सकिदैन भन्ने हारको मानसिकताले ग्रसित संगठनबाट परिचालित राजनीतिक अपराधीहरुको गलत र भ्रामक प्रचार बिरुछ नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एमालेका प्रभावशाली नेता महेश बस्नेतले बिभिन्न पार्टी परित्याग गरेकालाई एमालेमा भित्रयाउने अभियान नै सुरु गरेर एमालेलाई बलियो खम्बको रुपमा उभ्याए पछि तिल्मििलाएका अराजक तत्वहरुले आम जनतामा भ्रम फैलाउने गरि सामाजिक सञ्जालमा अभिव्यक्ति दिने, गलत व्यक्तिको तस्विर तथा भिडियो सम्प्रेषण गर्दै नेता बस्नेतको नाम जोडेर प्रचार गर्ने र चरित्र हत्या गर्ने कुप्रचार बिरुद्ध एक भएर प्रतिवादमा उत्रिन नेकपा एमाले भक्तपुरले आफ्ना कार्यकर्तालाई आव्हान गरेको छ ।

नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले हस्ताक्षर गरि सार्वजनिक गरेको बिज्ञप्तीमा भक्तपुर जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष एवं वर्तमान इन्चार्ज, नेपालको राजनीतिमा युवा पुस्तामा समकालिन मध्येका कुशल संगठन र लाखौ युवाका प्रेरणाको श्रोत महेश बस्नेतको निरन्तरको राजनीतिक सक्रियताबाट बिचलित केही अराजक व्यक्ति र संगठनले राजनीतिक अपराधीहरुबाट सामाजिक सञ्जालमा सुनुयोजित रुपमा प्रेषित दुषित समाचार प्रति पार्टीले खेद व्यक्त गरेको छ ।

एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजाद्धारा आज जारी बिज्ञप्तीमा सार्वजनिक गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा हारको मानसिकताबाट ग्रसित भइ तिल्मिलाएका अराजक समूहले विक्षिप्तताको प्रमाणस्वरुप चरित्रहत्या गर्ने कार्यको जति निन्दा गरे पनि कम हुन्छ भनिएको छ ।

सुनुयोजित रुपमा चरित्रहत्या गर्ने उदेश्यले सामाजिक सञ्जालमा केही अराजक तत्वले फैलाएको भ्रामक सामग्री प्रति नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले गम्भिर आपत्ति जनाएको छ ।

यस्तो प्रचारलाई विश्वास नगरी त्यसको प्रतिवाद गर्न समेत एमाले अध्यक्ष देउजाले कार्यकर्तालाई आव्ह्वान गर्नु भएको छ । केही पार्टी तथा दिनप्रतिदिन कमजोर बन्दै गएको संगठनका अराजक तत्वले नेकपा एमालेसँग आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्न नसक्ने भए पनि एमाले पार्टीका नेताहरुको दुष्प्रचारमा लाग्नु नै अराजक जत्थाको रणनीति भएकाले आम पार्टी कार्यकर्ता र जनसमुदायले सचेतनापूर्वक आफ्नो तह र तप्काबाट त्यस्ता कार्यको शसक्त प्रतिरोध गर्न तथा अपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले केही दिन अगाडिदेखि अबैध संरचना भत्काउन थालेको कदम विरुद्ध अभिव्यक्ति दिएपछि आलोचना खेप्दै आउनु भएका प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्रीसमेत रहनु भएका बस्नेत माथि लगाईएको लाञ्छना तथ्यहिन सामग्री र गलत प्रचार प्रति एमालेले गम्भिर आपत्ति जनाउदै ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं महानगरपालिकाले अल्फाबिटा कम्प्लेक्सको संरचना भत्काएपछि नेता बस्नेतले अरुको सम्पत्ति जथाभावी भत्काउन नहुने, भत्काउनु अगाडिको नियम पालना गर्नु पर्ने, निश्चित समय दिनु पर्ने, व्यापारीहरुको लाखौ, करोडौको क्षति भएकाले क्षतिपूर्तिको व्यबस्था गर्नु पर्ने जस्ता बिचार राख्दा अराजक तत्वले अराजक शैलीमा उहाँ बिरुद्ध सामाजिक सञ्चालमा प्रचार गर्दै आएका छन् ।

एमालेका नेता तथा कार्यकर्ताले त्यस्ता गलत र भ्रामक प्रचारप्रति सामाजिक सञ्चालबाटै शसक्त प्रतिकार गर्दै आएको छ भने नेता बस्नेतले समेत त्यस्ता अराजक तत्वलाई साइबर क्राइम लगाएर कारबाही गर्न माग गर्नु भएको छ ।

सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनेतर्फ तत्काल कदम चाल्न सरकारसंग इन्सेकको माग

हेटौडा , १५ भदौ । इन्सेक बागमती प्रदेश कार्यालयले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गराउनेतर्फ तत्काल कदम चाल्न सरकार तथा सम्बन्धित जिम्मेवार निकायसँग माग गरेको छ ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस २०२२ (30th August)को अवसरमा इन्सेक बागमती प्रदेश कार्यालयले १० वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वमा बलपूर्वक बेपत्ता पार्ने कार्यको शिकार हुन पुगेका परिवारका सदस्यहरूले द्वन्द्व अन्त्य भएको १६ वर्षसम्म पनि न्यायको अनुभूति गर्न नपाएका भन्दै यस्तो माग गरेको हो ।

तत्कालीन सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा–माओवादी) बीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्थाबारे ६० दिनभित्र सार्वजनिक गरिने बाचा गरिए तापनि हजारौँ परिवारहरूलाई विगत १६ वर्षदेखि ती घटनाहरूको सत्यतथ्य जान्न पाउने अधिकारबाट वञ्चित गरिँदै आएको इन्सेक बागमती कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ ।

उनीहरुको अधिकारबाट बञ्चित गराउदा जवाफदेहिता, न्यायमा पहुँच र प्रभावकारी उपचार तथा परिपूरणलाई व्यापक रूपमा उपेक्षा गर्ने काम भएको भन्दै नेपाल पक्षराष्ट्र भएको महासन्धिहरूसहित अन्तर्राष्ट्रिय कानून अनुसार राज्यहरूले बेपत्ताका परिवार र बेपत्ताका कारण क्षति पुगेका अन्यहरूलाई प्रभावकारी उपचार उपलब्ध गराउनुपर्छ, जसमा सत्य, न्याय, परिपूरण र नदोहोरिने प्रत्याभूति समावेश भएको स्मरण गराउनु भयो ।

२०७१ मा गठन भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग दुवैमा आयुक्तहरूले आफ्नो चार वर्षको कार्यकाल पूरा गरे पनि आफ्नो कार्यादेश अनुरूप काम गर्न नसकेको भन्दै पुनः नियुक्त भएका आयुक्तहरुले पनि तलब भक्ता बुझ्ने बाहेका कुनै काम गर्न नसकेको जगजाहेरै रहेको बताएको छ ।

आयोगका आयुक्तहरूलाई प्रशासनिक जिम्मेवारी दिई राजनीतिक संयन्त्रको उच्चस्तिरीय आयोगको गठन नहुने हो भने बेपत्ता परिवारको न्यायका आसा बीसौँ वर्ष उस्तै रहने निश्चित भएको भन्दै इन्सेकले सर्वदलीय सर्वसम्मत गठन गर्ने उच्चस्तिरीय राजनीतिक आयोगले गर्ने निर्णयको कार्यान्वयन गर्ने भन्दा माथिको दायित्व हाल कायम रहेका आयुक्तले गर्ने अवस्था रहेन भनिएको छ ।

अन्त्यमा बलपूर्वक बेपत्ता पार्ने कार्यबाट सबै व्यक्तिको संरक्षण गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको अनुमोदन गर्न नेपाल सरकारसँग माग इन्सेकले माग गरेको छ ।

वार्षिक नीति, चाँगुनारायण नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने नगर प्रमुख खत्रीको घोषणा

भक्तपुर, १४ भदौ : चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकालाई आफ्नो कार्यकालमा भ्रष्टाचार मुक्त बनाउने घोषणा गर्नु भएको छ । चाँगुनारायण नगरपालिकामा जनप्रतिनीधिको १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले नगरपालिकालाई भ्रष्टाचार मुक्त राख्ने जनप्रतिनिधिको अभियानलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।

बीर अस्पताल बनाउन आफू लागिपरेको बताउदै नगर प्रमुख खत्रीले भन्नुभयो, “नेपाल सरकारले चाँगुनारायण नगरपालिकामा निर्माण गर्ने भनिएको वीर अस्पतालको निर्माण कार्य तत्काल सुरु गर्न माग हामीले सरकारसँग आवश्यक पहल गरिरहेका छौँ, चाँगुनारायण नगरपालिका वडा नं. १ र ४ को सिमानामा रहेको ५०० रोपनी जग्गामा नेपाल सरकारले अत्याधुनिक सेवा सुरु गर्न अस्पतालको भवन निर्माण गरे पनि अगाडि नबढेकाले तत्काल अगाडि बढाएर बिशेषज्ञ सेवा प्रदान गर्न हामी सरकारसँग माग गर्दछौँ ।”

उहाँले चाँगुनारायणको नेपाल इञ्जिनियरिङ कलेज सञ्चालन नगरपालिका मातहत ल्याएर सामाजिक शैक्षिक कलेजका रुपमा सञ्चालन गर्न नगरपालिका लागिरहेको बताउनु भयो ।

नगर प्रमुख खत्रीले स्वदेशी तथा विदेशी पर्यटकहरुको मूल गन्तब्य बनको पर्यटकीय स्थल नगरकोट जाने मुख्य सडकका रुपमा रहेको भक्तपुर नगरकोट सडक तत्काल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता र पहल गरिरहेको बताउनु भयो । केही जिम्मेवार निकाय नै गैरजिम्मेवार बन्दा भक्तपुर नगरकोट सडक निर्माणमा ढिलाई भइरहेको यसले स्थानीय बासिन्दार र पर्यटन व्यवसायीले ठूलो नोक्सान व्यहोर्नु परेको उहाँको भनाई थियो ।

चालू आर्थिक वर्ष २०७९÷०८० को बजेटको पूर्व तयारीस्वरुप स्थानीय राजनीतिक दलका प्रमुख एवं विज्ञ र प्रशासकहरुसँग राय सुझाव लिएर काम सुरु गरिएको, नगरवासीका लागि निःशुल्क रक्तदानको व्यबस्था गरिएको कार्यक्रममा उहाँले बताउनु भयो ।
हरेक वर्ष वर्षामा हुने मनोहरा नदीको कटान दीर्घकालिन रुपमा नियन्त्रण गर्न चाँगुनारायण, मध्यपुरथिमि र काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाबीच समन्वय गरि डिपिआरको तयारी गरिएको, सबै नगरवासीलाई निःशुल्क बिमा कार्यक्रम लागू गर्ने चरणमा रहेको उहाँले बताउनु भयो ।

 

यसवर्ष एसईई उत्तीर्ण ६६४ विद्यार्थीलाई सम्मान गरिएको, नगरभित्रका सबै सामुदायिक विद्यालयका १२ हजार छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिएको, कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको, नगर कार्यपालिकाको बैठक महिनाको २ पटक बस्ने तय गरिएको उहाँले बताउनु भयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयन कार्यबिधि(२०७९, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति(२०७९, स्वास्थ्य संस्था सञ्चालन कार्यबिधि(२०७९, नगर खेलकुद बिकास समिति सञ्चालन कार्यबिधि(२०७९ निर्माण गरेका छौँ ।”

नगरपालिकाले शैक्षिक कार्यपात्रो सार्वजनिक गरेको, उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत सार्वजनिक निमर्काण कार्यबिधि, मेलमिलाप केन्द्र सञ्चालन कार्यबिधि, शैक्षिक कार्यक्रम कार्यान्वयन कार्यबिधि निर्माण कार्य गरिरहेको छ ।

नगरलाई पूर्ण सरसफाईयुक्त बनाउन पूर्वाधारको तयारीका साथ काम गरिरहेको, ठेक्कामार्फत् सञ्चालनमा रहेका सडक निर्माण तथा अन्य निर्माणका कामहरुमा समयमै सम्पन्न गर्न निर्देशन दिएको, विपद जोखिम न्यूनीकरणका लागि आवश्यक कार्य अगाडि बढाएको, वडास्तरमै विवाद सुल्झाउन सबै वडामा मेलमिलाप केन्द्र सञ्चालनको तयारी गरेको, नगरपालिकाको स्वीकृति नलिई जग्गा विकास तथा प्लानिङ गरिएका जग्गाको घरबाटो सिफारिसमा पहिलो पटक रु. १५ हजार कायम गरिएको, खोरेत लागेका ५०० भन्दा बढी पशुको उपचार गरेको, संघीय सरकारले दिएको ८० प्रतिशत अनुदानमा २० प्रतिशत नगरपालिको थप गरि १०० प्रतिशत पशु बिमा लागू गर्ने व्यबस्था गरेको, कृषकलाई कृषि औजारहरु वितरण गरिएको, भूउपयोग ऐन बमोजिम जग्गा वर्गिकरणका लागि वडा वडामा बिज्ञ एवं प्राबिधिक टोलीसहित सुझाब संकलन टोली परिचालन गरिएको नगर प्रमुख खत्रीले बताउनु भयो ।

उहाँले जनप्रतिनिधि भए पछि आफू सबै नागरिकका साझा प्रमुख भएकाले कुनै पनि पार्टी, दल, जातजाति, भाषा, लिङग, धर्म, संस्कृति कुनैमा पनि भेदभाव नगरी समान रुपमा काम गर्ने प्रतिबद्धता कार्यक्रममा गर्नु भयो । नगरपालिकाका प्रमुख जीवन खत्री र उपप्रमुख रमेश बुढाथोकीले संयुक्त रुपमा आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रमपुस्तिका सार्वजनिक गर्नु भयो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले नगरपालिकामा जिम्मेवारी सम्हालेपछि बजेट निर्माणदेखि नगरका विभिन्न ठाउँमा भएका कामहरुको अनुगमन गरेको बताउनु भयो । उहाँले अनुगमनलाई तिब्रता दिएको बताउदै एकैदिनमा १८ वटा योजनाको समेत अनुगमन गरेको बताउनु भयो ।

उहाँले सडक निर्माणको क्रममा वडा नं. १ दुवाकोटमा सडक बिस्तारको क्रममा उद्धव न्यौपानेले आफ्नो घर अगाडि आएपछि अबरोध गरेपनि नगरपालिकाको नियमानुसार सडक बिस्तार गर्दा वडा अध्यक्ष र आफूलाई मुद्धा हालेको बताउदै जनताको पक्षमा काम गर्दा अबरोध गर्नेहरुले १०० मुद्धा हाले पनि राम्रा काम गर्न पछि नपर्ने बताउनु भयो ।

उहाँले अबदेखि चैत मसान्त भित्र योजनाको माग र सम्झौता सम्पन्न गरिसक्नु पर्ने, चैत पछि योजना फेरबदल गर्न नपाइने, कुनै पनि निर्माण तथा योजनाको गुणस्तरमा कुनै सम्झौता नगर्ने बताउदै नगरपालिका भित्रको अब्यबस्थित प्लानिङलाई व्यबस्थित गर्न लागि परेको बताउनु भयो ।

कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि,, पेशा व्यवसायी एवं संघसंस्थाहरुका प्रतिनिधिले नगरपालिकाको बिकास तथा योजनाकाबारेमा बोल्दै शुभकामना व्यक्त गरेका थिए ।

राष्ट्रपति भण्डारी पशुपतिमा

काठमाडौँ, १४ भदौ  : राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिनुभयो । राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

झापा क्षेत्र नम्बर १ बाटै चुनाब लड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

झापा, १४ भदौ  : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताउनुभएको छ । काठमाडौँ–५ कि झापा–१ भन्ने चर्चा भइरहेका बेला आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गर्नुभएको हो । शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु ।” तर शर्माले आफू उम्मेदवार हुने नहुने भन्ने विषयको टुङ्गो नलागेको बताउनुभयो । चुनाव जित्ने दाबी गर्नुभएका शर्माले तीन पटकमा राँगा त छिन्छ भन्दै यसपटकको निर्वाचनमा राम्रो हिसाब किताब गरेर मात्रै उम्मेदवार बन्ने बताउनुभयो ।

संविधान, लोकतन्त्र, मुलुक र जनताका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन अपरिहार्य भएको बताउँदै शर्माले गठबन्धन हुँदा झापा–१ माओवादीको भागमा पर्न सक्ने संकेत गर्नुभयो । उहाँले आफू उम्मेदवार बन्ने विषयमा आन्तरिक छलफल भइरहेको स्पष्ट पार्नुभयो । गठबन्धनमा सिट बाँडफाँट हुँदा पहिले जितेको ठाउँमा त्यही पार्टीलाई दिने भन्ने मापदण्ड रहेको उल्लेख गर्दै भन्नुभयो, “पार्टी पदाधिकारीले उठ्ने इच्छा गरेको ठाउँमा छलफलबाट टुङ्ग्याउने सहमति भएको छ ।”

विसं २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गर्नुभएको थियो । त्यसअघि संविधानसभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गर्नुभएको थियो ।

मध्यपुरमा मौलिकता संरक्षण अभियान सुरू

मध्यपुर थिमि, १४ भदौ  : मध्यपुर थिमि नगरपालिकाले स्थानीय बस्ती, चोक, स्थान, सडक, टोल र गल्लीहरुको मौलिक नामलाई पुनर्जीवित गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले एक समितिसमेत गठन गरेको छ ।

नगरपालिका क्षेत्रभित्र तीव्र गतिमा बढेको सहरीकरण तथा बस्ती विस्तारसँगै जथाभावी टोल, सडक र गल्लीहरुको नामकरण गर्ने प्रवृत्ति बढेको र त्यसले स्थानीय मौलिक नामहरुको अस्तित्व लोप हुने अवस्थामा पुगेको भन्दै नगरपालिकाले मौलिक नामलाई पुनर्जीवित गर्ने अभियान थालेको हो । सो सम्बन्धमा आज नगपालिकामा आयोजित सरोकारवालाहरुसँगको छलफलले एक समिति गठन गर्ने निर्णय गरेको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न छलफलले स्थानीय अभियन्ता राजेन्द्र तुबन्जा श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा मध्यपुर थिमि नगरपालिका स्थापना हुनुअघि तत्कालीन पाँच वटा गाविसको प्रतिनिधित्व हुने गरी प्रत्येक गाविसबाट हाललाई दुई÷दुई जना सदस्य चयन गरिएको छ । समितिको सदस्यमा तत्कालीन दिव्यश्वरी गाविसबाट जगतकृष्ण प्रजापति र सुरेन्द्रबहादुर सिजापति, बालकुमारी गाविसबाट बाबुकाजी साछें श्रेष्ठ र कृष्णकाजी (केके) मानन्धर, चपाचोबाट धर्मसुन्दर बज्राचार्य र श्यामकृष्ण मानन्धर, नगदेशबाट तुल्सीभक्त घजु र विनोद कोजु तथा बोडेबाट विनोद खम्बु र भरत ध्वँ सदस्य हुनुहन्छ ।

समितिमा आवश्यकतानुसार १० जना थप गरिने संयोजक श्रेष्ठले बताउनुभयो । समितिले वडाध्यक्षहरुसँग आवश्यक छलफल, सहकार्य र समन्वय गरी मध्यपुर थिमि नगरभित्रका परम्परागत एवं ऐतिहासिक मौलिक नामहरुको सङ्कलन, सङ्कलित नामहरुको अध्ययन अनुसन्धान गरी प्रतिस्थापनका लागि नगरपालिका समक्ष सिफारिस गर्नेछ ।

समितिको सिफारिसका आधारमा नगरपालिकाले स्थानीय मौलिक नामहरुको प्रतिस्थापन गर्दै जाने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । समितिले नगरपालिकाले निर्माण गर्ने कार्यविधिको अधीनमा रहेर कार्य गर्नेछ । त्यसका लागि कार्यविधिको मस्यौदा तयारी भइरहेको समितिका संयोजक राजेन्द्र श्रेष्ठले बताउनुभयो । कार्यविधि निर्माण भएपछि नगरपालिकाले समितिलाई कार्यादेश दिने र सोहीअनुसार समितिले प्रतिवेदन तयार गरी नगरपालिकालाई बुझाउने नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताउनुभयो ।

तीन हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ, १४ भदौ : काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् ।

कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा दुई हजार दुई सय १३ चालक रहेका छन् । कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत गरेको छ ।

उम्मेदवार सिफारिस गर्दा कुनै शुल्क नलिनु : कांग्रेस

काठमाडौँ, १४ भदौ (रासस) : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई ‘सर्कुलर’ पठाएर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको जनाएको छ । कतिपय पार्टी निकायबाट आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी प्राप्त हुन आएको भन्दै पार्टी कार्यालयले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि प्रकारको रकम माग गर्नु विधान विपरीत कार्य हुने विज्ञप्तिमा उल्लेख छ । तसर्थ कांग्रेसले त्यस्तो नगर्नु/नगराउनु हुन निर्देशानुसार अनुरोध गरेको छ ।

बिकसित ठाउँको कुनै सुन्दर टुक्रा ल्याएर राखिदिएको जस्तो छ यहाँको सुन्दर नमूना हेर्न भक्तपुर आए हुन्छ : एमाले नेता एवं सांसद महेश बस्नेत

भक्तपुर, ११ भदौ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले ध्वंसले बिकास नभई निर्माणबाट मात्रै बिकास हुने बताउनु भएको छ ।

नेपाल सोतोकान कराते संघ भक्तपुर जिल्ला समितिद्धारा आज सञ्चालित बहुउध्देशीय न्हाकाटी डोजो प्रथम इन्टर डो च्याम्पियनशिप प्रतियोगिता -२०७९  को उद्घाटन गर्दै उहाँले ध्वंस नगरी निर्माणबाटै आफ्नो निर्वाचन क्षेत्रको विकास गरि सुन्दर बस्ती भएको उदाहरण दिनु भयो ।

उहाँले कुनै सामान किन्न होस् कि, खाना खाजा खान होस, पार्टी प्यालेसदेखि होटल अहिले भक्तपुरमै सञ्चालनमा आएको चर्चा गर्दै भन्नु भयो, “यहाँको समग्र विकास देख्दा कुनै बिकसित ठाउँको कुनै सुन्दर टुक्रा यहाँ ल्याएर राखिदिएको जस्तो देखिएको छ । यसबाट के पुष्टी हुन्छ भने एउटा असल जनप्रतिनिधि चुन्नु भयो भने चार पाँच वर्षमै नाटकीय र अमूल परिवर्तन हुन्छ भन्ने प्रमाणित यहीँबाट भएको उहाँले बताउनु भयो ।”

प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री बस्नेतले भन्नुभयो, “काठमाडौँका मेयरहरूले नक्सा पास नभएका संरचनाहरूमा डोजर चलाएर आतंक मच्चाइरहे उपत्यका बस्न लायकको रहदैन, डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने अबस्था आउन सक्छ, ध्वंसको क्षेत्र बन्ने निश्चित हुन्छ, केही मानिसले साथ दिए भन्दै कानुन मिचेर जनतालाई दुःख दिने काम गर्नु हुदैन ।”

निर्माणलेनै सुन्दरता ल्याउछ भन्दै उहाँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई एक पटक भक्तपुर क्षेत्र नं. २ को अवलोकन गरि ध्वंस नगरी निर्माणबाटै गरेको बिकासको सुन्दर नमूना हेर्न आउन आग्रह गर्नु भयो ।

संविधानमा दुई पटक भन्दा बढी प्रधानमन्त्री वा सांसद हुन नपाउने गरी व्यवस्था गर्न माग नेता बस्नेतले प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरु कति पटक दोहरिने भन्ने नीति नै निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।

समानुपातिक तर्फ अनिश्चितकालसम्मका लागि अवसर दिने व्यबस्था गलत भएको उहाँको भनाइ छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडक मैत्री बनाउन खोजिएको आरोप लगाउदै उहाँले नेकपा एमाले अहिले पनि कमजोर नरहेकोले र निर्वाचनमा प्रत्यक्षतर्फ ७० भन्दा बढी सिट जित्ने दाबी प्रस्तुत गर्नु भयो ।

अहिलेसम्मकै ठूलो परिमाणमा चामल, दाल र तेल जफत, रु. १४ लाखको खाद्यान्न नष्ट, रु. तीन लाख जरिवाना

-रमेश गिरी
भक्तपुर, १० भदौ : भक्तपुर नगरपालिका–१ चुनदेवीस्थित ‘चुनदेवी खाद्य स्टोर’ मा आज छापा मारी रु. १४ लाख बराबरको बिभिन्न ब्राण्डका चामल, दाल र तेल जफत गरि नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले आज स्टोरमा छापा मारी म्याद गुज्रेका, घुन तथा किरा परेको, कुहिएको चालम, दाल र तेल जफत गरि नष्ट गरेको हो ।

व्यापारी महेश ठकुल्लावटले सञ्चालन गरेको स्टोरको चार तले घर र एउटा टहरामा गोदाम गरि राखेको खाद्यान्न मध्ये कुहिएका चामल गोदामबाटै रिफाइन गरि पुन प्याकेजिङ गरि बजारमा बिक्रीका लागि पठाउने गरिएको पाइएको हो ।

सहायक प्रजिअ शर्माले भन्नुभयो, “उपभोक्ताले दिएको उजुरीका आधारमा हामीले तत्कालै अनुगमन गरेका हौ, तर यहाँ त अचम्मै देखियो, बिग्रिएका चामल रिफाइन गरि बिभिन्न ब्राण्डका नयाँ बोरामा पुनः प्याकिङ गरि बिक्री गरिदो रहेछ ।” व्यापारीले गोदाम घरमै मेशिन राखी बोरामा कुहिएका, घुन र किरा परेका चामललाई मेशिनमा राखेर किरा, घुन छुट्याई, चामललाई पुन सेतो बनाएर बिभिन्न नामका बोरामा प्याकिङ गरेर त्यही सिलाएर पुनः बिक्री गर्ने गरेको पाईएको उहाँले जानकारी दिनु भयो ।

टोलीले गोदाम घरबाट आज ६ घण्टा लगाएर ११९ क्विन्टल चामल, नौ क्विन्टल ७५ किलो दाल, ६३६ लिटर तेल जफत गरि भक्तपुर नगरपालिकाद्धारा जगातीमा सञ्चालित प्राङ्गारिक मल उत्पादन केन्द्रमा लगेर नष्ट गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “अब फेरी बजारका कुनै पनि खाद्य स्टोरमा यस्तो लापर्वाहीको पराकाष्ट देख्न नपरोस, प्रत्येक व्यवसायी र यसका छाता संगठन उपभोक्ताको अधिकारप्रति जिम्मेवार बन्दै नियम पालना गर्नु पर्यो, एउटा पक्ष, व्यक्ति र निकायले मात्रै यो बेतिथिलाई रोक्न सकिदैन, त्यसैले सबै व्यवसायी, उपभोक्ता, जिम्मेवार नियामक निकायबीच सक्रिय समन्वय हुनु पर्यो अनि मात्रै रोक्न सक्छौँ ।” म्याद गुज्रेको सामान पुनः बिक्रीका लागि लगेको, खाद्य सामान फेरबदल गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको बताउदै उहाँले नियमानुसार आजै रु. तीन लाख जरिवाना गरिएको बताउनु भयो ।

अनुगमनमा जिल्ला घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले यो अहिलेसम्मकै ठूलो परिमाणमा खाद्य सामग्री नष्ट गर्नु परेको बताउदै यसैलाई आधार मानेर अरु व्यापारीले पनि यस्ता गल्ती नगर्न सचेत गराउनु भयो । बिग्रिएको कुनै पनि खाद्यान्न बिक्री गर्न पाइदैन, यहाँ त चामललगायतका खाद्यान्न पुन प्याकेजिङ गरि बिक्री गरेको पाईयो भन्दै उहाँले अधिकार व्यापारीलाई नभएको बताउनु भयो ।

अनुगमनकामा उद्योग वाणिज्य संघ भक्तपुरका सचिव एवं संघका अनुगमन समिति संयोजक विश्वराम दुवालले चामलमा घुन मात्रै नभई किरा पनि भेटिएको, भुँईभरि चालम छरिएको, मुसाको लिँडहरु चामलमा रहेको, कुहिएको चामल बिक्री गरेको पाईएको बताउनु भयो । उहाँले बिग्रिएको एउटै चामल बिभिन्न ब्राण्डका नयाँ बोरामा प्याकिङ गरि फरक मूल्यमा बिक्री गरेको भन्दै सामानको मूल्य लिए पछि राम्रो सामान बिक्री गर्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले यो घट्ना व्यापारीको प्रतिनिधि घट्ना मात्रै भएको भन्दै बजारका धेरै व्यापारीले यस्तो धन्दा चलाएको सूचना आएकाले बजार अनुगमनलाई कडाई गरेर कारबाहीलाई फराकिलो पार्नु पर्ने बताउनु भयो । आम उपभोक्ता ठग्ने र उनीहरुको स्वास्थ्यमाथि खेलबाड गरेको पाइएको भन्दै उहाँले अब यस्ता गोदाममा छापा मार्नु पर्ने औषधिमा पसलमा समेत छापा मारेर कारबाहीको दायरामा ल्याउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

व्यापारी ठकुल्लावटले भने घुन लागेको चामललाई सफा गरेर नयाँ बोरामा प्याकिङ गरेर बजारमा पठाउने गरेको स्वीकार्दै रिप्याकिङ गर्ने अनुमति लिनु पर्छ भन्ने थाहा पाए पनि थोरै परिमाणमा बिग्रने भएकाले अनुमति नलिएको दाबी गर्नु भयो । बिग्रिएको दाल खुल्ला रुपमा बिक्री गर्ने, म्याद गुज्रिएको तेल दुनोट बनाउने व्यवसायीदेखि बिभिन्न परिकार बनाउने होटलहरुमा बिक्री गर्ने गरेको अनुगमनको क्रममा पाईएको छ ।

भक्तपुर नगरपालिकाका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले उक्त स्टोरलाई भक्तपुर नगरपालिकाले दुई पटक जरिवाना लगाए पनि अटेर गरेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले यसअघिको अनुगमनमा रु.२५ हजार जरिवाना लगाएर सचेत गर्दा पनि अटेर गरेको पाइएको छ ।

अनुगमन पछि नेपाल रेडक्रस सोसाईटी भक्तपुरका परशुराम पाण्डेले व्यापारीले मानवीय स्वास्थ्य माथि ठाडो खेलबाड गरेको बताउदै अनुगमनलाई फराकिलो र कारबाही कडाई गर्नु पर्ने बताउनु भयो । अनुगमनमा नेपाल प्रहरीका सहायक प्रहरी निरिक्षक निरन श्रेष्ठले व्यापारीले उपभोक्तालाई कसरी ठग्छन् भन्ने प्रतक्ष्य देखिएको बताउदै अन्यत्र पनि खोजी गर्नु पर्ने बताउनु भयो ।