अध्यक्ष ली झान्शुले भदौ २७ गतेदेखि नेपालको भ्रमण गर्नुहुने

काठमाडौँ, १९ भदौ  : सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (यही भदौ २७ देखि ३० गते) सम्म नेपाल भ्रमण गर्ने हुनुभएको छ ।

सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नुहुनेछ । नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

यसैगरी सोही दिन उहाँले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुहुनेछ भने परराष्ट्रमन्त्री डा नारायण खड्काले उहाँसँग शिष्टाचार भेट गर्नुहुने मन्त्रालयले जनाएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उहाँको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अप्टिमिष्ट ईन्टरनेशनल नेपालमा थापाको नेतृत्व

भक्तपुर, १९ भदौ : नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको प्रथम महाधिवेशनमा ४१ वटा क्लबका १३१ जना सदस्यहरुको सहभागीता हुदै २०७९ साल भदौ १७ र १८ गते भत्तपुरमा सम्पन्न भएको छ । राष्ट्रिय समाचार समितिका अध्यक्ष  धमेन्द्र झाले पत्रकारले जे देख्छ त्यही लेख्छ त्यो नै पत्रकारको धर्म हो । आशाहरुलेनै मान्छेलाई अगाडी बढन प्रेरित गर्दछ र सकारात्मक सोच बाटनै आशाबादी बन्न सकिन्छ भनेर भन्नु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्री बिपुल पोखरेल ज्यूले कन्सटरट्रिभ पत्रकारिकता (Constructive Journalism) सम्बन्धी जानकारी गराउनु भयो हिसानका राष्ट्रिय अध्यक्ष रमेश सिलवालले हाम्रा बालबालिका (बिधार्थीहरु) १२ कक्षा पास हुने वित्तिकै बिदेशीने परिपाठीलाई कही नियन्त्रण गर्नु पर्ने यहाँ नै उच्चशिक्षा हासिल गर्नका लागी समयमानै परिक्षाफल प्रकाशित गरिदिन क्यालेन्डर अनुसार कार्य गरिदिने हो भन्ने र पढन चाहेका ब्यत्तिले डाक्टर, ईन्जिनियर, वकिल जस्तामा पढन ईन्टान्स परिक्षा दियो परिक्षाफल समयमा हुदैन उसको उमेर बढ्दै जान्छ र विदेश जाने मात्र हुन्छ ।

संस्थालाई सहयोग गर्ने बचन दिनु भयो । प्यावसनका केन्द्रिय अध्यक्ष डि.के.ढुङ्गनाज्यू संस्था संग आगमी दिनमा सहकार्य गरी अगाढी बढन्नका लागी सदैव तयार रहेको बताउनु भयो । एन प्यावसनका केन्द्रिय अध्यक्ष पाण्डव हमाल ज्यूले पनि संस्था संग सहकार्य गरि अगाडि बढने घोषणा गर्नु भयो ।

एन प्यावसनका पूर्व अध्यक्ष ऋतुराज सापकोटा ज्यूले सकारात्मक शिक्षा बारे प्रस्तुत गर्नु भएको थियो । किवानिज नेपाल डिस्ट्रकका ईलेट गभर्नर लक्ष्मण लम्साल ज्यूले हामी जस्ता संस्थाहरु एक आपसमा सदैव मिलेर अगाडि बढनु पर्छ, अमेरिकामा यस्ता संस्थाहरु मिलेर कार्यक्रमहरु गरिरहेका छन् भन्नु भयो । सन् २०२२–२०२३ का लागी सर्व–सम्मतिले नयाँ नेतृत्व चयन गरेका थिए। १ अक्टोबर २०२२ देखी सेप्टेम्बर ३० तारिक २०२३ सम्मको कार्यकल रहने छ ।

अप्टिमिष्ट ईन्टरनेशनलका गभर्नर : पृथ्वी राज थापा , डिपुटी गभर्नर : केशव काफ्ले, लेफ्टिनेट गभर्नर हरु : सुनिता देवी गौडेल , ऋषीश्वर थपलिया , रिना श्रेष्ठ ,डा.भबिष्य कुमार मिश्रा र सुरेन्द्र थापा, सर्जेन्ट एट आर्मस : प्रताव बहादुर थापा पार्लियामेन्ट्रियन : अनिल बहादुर शाही, को–ओडिनेटरहरु : अन्जना आर्चाय, विक्रम राज पाण्डे, देबराज राजवंशी, जनार्दन अर्याल, प्रदिप कुमार मण्डल, राम प्रसाद मैनाली, सागर तामाङ्ग, राजाराम परियार, कुमार मान ब. बस्नेत र राधा देवी बोहोरा चयन हुनु भएको छ।।

गभर्नर थापाले महासचिवमा प्रकाश घिमीरे, कोषाध्यक्षमा शरद चन्द्र भट्टराई र कानुनी सल्लाहाकारमा निरज ढुङ्गेल ज्यूलाई मनोनित गर्नु भएको थियो । उक्त २ दिने महाधिवेशन संस्थाका गभर्नर उदय कुमार निरौला ज्यूको सभापत्तित्वमा सु–सम्मपन्न भएको थियो ।

लायकू भैलःका लिपा दायगिंलाइ कदर पत्र प्रदानका साथै माउन्ट सिनाइ एकेडेमीमा बधाइ तथा विदाइ कार्यक्रम सम्पन्न

भक्तपुर, १९ भदौ । माउन्ट सिनाइ एकेडेमीले माउन्ट सिनाइ इंगलिस बोर्डिग स्कुल र माउन्ट सेव इंगलिस बोर्डिग स्कुलबाट एस.ई.ई. उतीर्णहरु विद्यार्थीहरुलाई बधाई तथा विदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा यी दुई स्कुलका २०७६ देखी २०७८ सम्मका तीन एस.ई.ई ब्याचलाई बधाइ तथा विदाइ गरेको हो । एकेडेमीका डाइरेक्टर डा. ज्ञानकृष्ण कायस्थको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. देवी गुरुङले आफनो कठिन जीवनका दिनहरुवारे स्मरण सुनाउँदै लक्ष्यमा निरन्तर लागि रहे जीवनमा सफलता हासिल गर्न सक्ने बताउनु भयो ।

माउन्ट सिनाइ इंगलिस बोर्डिग स्कुलका प्रिन्सिपल विप्लव प्रजापति र माउन्ट सेव इंगलिस बोर्डिग स्कुलका प्रिन्सिपल राजेश्वरी कायस्थले विद्यार्थीहरुलाई बधाइ ज्ञापन गर्नु भएको कार्यक्रममा विद्यार्थीहरु आयुष थापा, अग्रिम श्रेष्ठ लगायतले पठन शैली र अनुभववारे भनाइ राख्नु भएको थियो ।

गायन, नृत्य लगायतका सांस्कृतिक प्रस्तुतिहरु सहित सम्पन्न गरिएको कार्यक्रममा लिपा दायगिंको भूमिकामा कठिन तान्त्रिक नाच लायकू भैलः २०७९मा सहभागी सो स्कुलका पुर्व विद्यार्थी श्रयन श्रेष्ठलाई कदर पत्र पनि प्रदान गरेको थियो ।

वागीश्वरी कलेजमा अन्तर्राष्ट्रिय मिडिया गोष्ठी सुरु

भक्तपुर, १९ भाद्र । विद्यार्थीहरूलाई गरेर सिक्ने वातावरण सिर्जना गर्नका लागि वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागले दुई हप्ते अन्तर्राष्ट्रिय मिडिया विषयक कार्यशाला गोष्ठी सुरु गरेको छ । विद्यार्थीहरूले विभिन्न मुलुकको पत्रकारिता इतिहास, कानुनी व्यवस्था र आचारसंहिताको खोजी गर्दै गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गरी अध्येता र विज्ञहरूमार्फत टिप्पणी गराई कार्यपत्रलाई कसिलो बनाउने गरी गोष्ठी गरिएको हो ।

गोष्ठीको उद्घाटन गर्दैै बाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसार्ईले कार्यपत्र प्रस्तुतिले विद्यार्थीमा थप सिक्ने वातावरण निर्माण हुने बताउनुभयो । आइतबार विद्यार्थी एलिना भेलेले उत्तर कोरियाको मिडिया विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उत्तर कोरियाबारे पश्चिमी मुलुकका मिडियाहरूले अनर्गल ढङ्गको प्रचार गर्ने गरेको र आफूले खोज्दा पनि त्यस्तै कुराहरू बढी भेटेको र वास्तवमा प्रजग कोरियामा प्रचार गरिएजस्तो तानाशाही नभएको स्पष्ट पारिन् ।

कार्यपत्रमाथि टिप्पणी गर्दै सभासद् सुरेन्द्रराज गोसाईंले आफूले प्रजग कोरियाको भ्रमण गर्दा नितान्त बेग्लै ढङ्गले पाएको अनुभव सुनाउनुभयो । कोरियामा इन्टरनेटको सुविधा व्यापक रूपमा रहेको र विज्ञान तथा प्रविधिको विकास अद्भुत ढङ्गले भएको पाएको स्मरण सुनाउनुभयो ।

पश्चिमा मुलुकहरूले झुठको खेती गर्दै संसारलाई समाजवादी व्यवस्था नराम्रो हुने अभिप्रायले उत्तर कोरियाको अनर्गल प्रोपोगन्डा गरेको पाएको उहा“ले स्पष्ट पार्नुभयो । उत्तर कोरिया समाजवादी मुलुक भएकाले पश्चिमाहरू र खासगरी अमेरिका डराएकैले प्रजग कोरियाको वरपर दक्षिण कोरिया र जापानमा अमेरिकी सेना तैनाथ गरेको उहा“ले बताउनुभयो ।

उहा“ले भन्नुभयो, ‘प्रजग कोरिया एकीकरण हुनुपर्दछ र अमेरिकाले यसमा हस्तक्षेप अन्त गर्नुपर्छ अनि झुठको प्रचार गर्न बन्द गर्नुपर्छ ।’
उत्तर कोरियाले अमेरिकी आतङ्कबाट बच्नकै लागि हातहतियारको विकास गर्नु परेको र उसले नया“ वैज्ञानिक अन्वेषणका लागि नेपालको बजेटभन्दा बढी व्यवस्था गर्ने गरेको जानकारी पनि उहा“ले दिनुभयो ।

उत्तर कोरियामा भ्रमण गरेर सो मुलुकको बारेमा अध्ययन गरेका पत्रकार जीवन ढुुङ्गानाले पनि यता पढेको उत्तर कोरिया र हेरेको उत्तर कोरियाबीच आकाश पातालको फरक भएको बताउनुभयो ।

उत्तर कोरियाले देशको सुरक्षाका लागि कडाइ गरेको तथ्य वास्तविक भएको र अमेरिकी दादागिरी अन्त नभएसम्म जारी रहने उहा“ले बताउनुभयो । देशको सार्वभौमिकता, अखण्डता र स्वाभिमानका लागि उत्तर कोरियाका पत्रकारले देशको हितको लागि लेख्ने गरेको भन्दै विश्वका कुनै पनि मुलुकले देशको विरुद्धमा नलेख्ने दृष्टान्त प्रस्तुत गर्नुभयो ।

नेपालमा पनि विभिन्न साइटहरू प्रतिबन्ध गरेजस्तो मुलुकलाई हानी गर्ने मिडियाका खबरलाई उत्तर कोरियाले निगरानीमा राख्ने गरेको र सोही अनुसार नै इन्टरनेटको पहु“च दिएको उहा“ले बताउनुभयो । अमेरिकी नाकाबन्दीका बाबजुद पनि उत्तर कोरियाले आफ्ना जनतालाई गास, बास र कपासको ग्यारेन्टी गर्दै प्रेस स्वतन्त्रताको अनुभुति दिएको उहा“ले टिप्पणी गर्नुभयो ।

राजनीति शास्त्रका शिक्षक एवम् अधिवक्ता विकल प्रजापतिले उत्तर कोरियाको प्रेस कानुन र अन्य मुलुकको प्रेस कानुनमा तात्विक भिन्नता नभएको तर उत्तर कोरिया जाने बाहिरी पत्रकारले अमेरिकाको लागि जासुस गर्ने गरेको पाएकोले पश्चिमा पत्रकारहरूलाई केही कडाइ गरेको बताउनुभयो । उहा“ले भन्नुभयो, ‘हामी हाम्रो घरमा शत्रु नछिरोस् भनेर त कडाइ गर्छौं भने उत्तर कोरियाले देशको सार्वभौमसत्ता सुरक्षाका लागि प्रेस माथि नियमन गर्नु सामान्य हो ।’

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि कलेजले वातावरण निर्माण गर्ने गरेको र अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न बुझाउन यस्ता कार्यक्रम गर्ने वागीश्वरीको संस्कार रहेको बताउनुभयो ।

पत्रकारिता तथा आमसञ्चारका शिक्षक पूर्णभक्त दुवालले दुई हप्ते गोष्ठीमा विद्यार्थीहरूले विभिन्न मुलुकको मिडियाबारे अध्ययन गरी कार्यपत्र प्रस्तुत गरी विज्ञहरूको सल्लाह र सुझाव अनुसार परिमार्जन गर्ने जानकारी दिए । आइतबारको कार्यपत्रमा विद्यार्थीहरूले कार्यपत्र प्रस्तोता र विज्ञहरूस“ग प्रश्न सोध्दै जिज्ञासा मेटेका थिए ।

 

राष्ट्रपतिले सैनिक शासन लागू गरेर भए पनि देश बचाउनु पर्छ : बिजुक्छें

भक्तपुर, १८ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले नागरिकता विधेयक देशघाती भएको रहेको बताउनु भएको छ ।

नेमकिपाको केन्द्रीय समितिको बैठकमा बोल्दै उहाँले यो विधेयकको कारण देश नै नरहने परिस्थिति आउने हुँदा राष्ट्रपतिले सैनिक शासन लागू गरेर भए पनि देश बचाउनुपर्ने बताउनु भएको हो । उहाँले आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने तर पुँजीवादी सरकारमा भने नजाने बताउनु भयो ।

आगामी निर्वाचनमा पनि नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार संसद्को क्रान्तिकारी उपयोग गर्ने बताउदै उहाँले देशघाती नागरिकता विधेयक, एमसीसी सम्झौता र एसपीपी समझदारीका पक्षधरहरूको आगामी निर्वाचनमा जनताले मत नदिएर हराउनु पर्ने उहाँले धारणा राख्नु भयो ।

शासक दलहरूको अकर्मण्यताको कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा पनि सिद्धान्तहीन गठबन्धन गर्नेहरूविरुद्ध नेमकिपाले सैद्धान्तिक संघर्ष गर्ने बताउनु भयो ।

सत्तामा बस्दै आएका नेपालका कम्युनिस्ट पार्टीहरूले समाजवादबारे भ्रम छरेको टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले समाजवादमा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्कको व्यवस्था, व्यक्तित्व विकासमा समान अवसर, धनी र गरिबको दूरी कम गर्ने, गाउँ र सहरबीचको भेद कम गर्नेजस्ता बन्दोबस्त लागू हुनुपर्नेमा जोड दिनु भयो ।

बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पार्टीको केन्द्रीय परिषद् बैठक आज र भोली १९ चल्ने बताइएको छ । केन्द्रीय परिषद्को बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, जिल्लाका अध्यक्षहरू, जनवर्गीय संगठन तथा पेशागत संगठनका पदाधिकारीहरूको सहभागिता रहेको नेमकिपाले जानकारी दिएको छ ।

समानुपातिक प्रणाली खारेज गरौँ, राष्ट्रिय सभाको सदस्य संख्या थपौ : काँग्रेस वाग्मति प्रदेश सभापति बाँनिया

भक्तपुर, १८ भदौ : नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति ईन्द्र बाँनियाले आगामी निर्वाचनदेखि समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको छ ।

आज नेपाली कांग्रेस सूर्यविनायक नगर समितिको सिरुटारको बिरुवामा सुरु भएको दुई दिने प्रथम नगर सम्मेलनको उद्घाटन उहाँले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताउनु भएको हो । उहाँले समानुपातिक प्रणाली खारेज गर्दै राष्ट्रिय सभाको ५९ सदस्य संख्यालाई १०० पुरर्याउन कांग्रेस लाग्नु पर्नेमा जोड दिनु भयो ।

प्रदेश सभा देशका लागि भारी भएको भन्दै प्रदेश सभापति बानियाँले संघीयतालाई खारेजीको माग राख्ने तत्वलाई निस्तेज बनाउन मंसिरको निर्वाचनमा गठबन्धनले दुई तिहाई बहुमत ल्याएर प्रदेश सभा र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्ने नीति लिनुपर्ने बताउनु भयो ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेस भित्र वडादेखी संघीय संसदको टिकट एउटै व्यक्तिले पटक पटक दावी गर्ने प्रवृत्तिले नेता व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो ।

वाग्मति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, नगरसभापति निशान ढुंगेल, क्षेत्रीय सभापतिद्धय जीवन खत्री र भेषबहादुर कार्की, पुर्व जिल्ला सभापति एवम् पुर्व सांसद लेखनाथ न्यौपाने, मध्यपुर थिमि नगर सभापति हरिदास प्रजापति, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ (क) प्रदेश समिति सभापति प्रदिप कार्कीलगायतले आगामी मंसिर ४ गतेको निर्वाचनमा कांग्रेसले आफ्ना उम्मेदवारलाई विजयी बनाउन एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै भोली सम्पन्न हुने नगर सभापति ढुंगेलले जानकारी दिनु भयो ।

शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ : वरिष्ठ नेता पौडेल

तनहुँ, १८ भदौ  : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज आयोजित ३६औँ वार्षिकोत्सव तथा ११औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले संविधानमा नै समाजवाद उन्मुख लेखिएकाले शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । देशलाई काम गर्ने जनशक्ति आवश्यक भएको उल्लेख गर्दै नेता पौडेलले सीपवान नागरिक तयार गर्ने खालको शिक्षा अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो ।

आदिकवि भानुभक्त क्याम्पसलाई प्राविधिक क्याम्पसको रुपमा रुपान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सीपवान नागरिक उत्पादन गर्नुपर्छ, त्यसका लागि प्राविधिक शिक्षाको खाँचो छ । आदिकवि क्याम्पस अब उक्त बाटोमा अगाडि बढ्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले मुलुकको नेतृत्व गर्ने इच्छाशक्ति आफूमा रहेकाले अहिल्यै सक्रिय राजनीतिबाट विश्राम नलिने बताउनुभयो । “सक्रिय राजनीतिबाट म अहिल्यै उन्मुख हुन्न”, उहाँले भन्नुभयो ।

कार्यक्रममा तनहुँ क्षेत्र नं १ का सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विक, प्रदेश सांसद सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नेकपा एमाले तनहुँका अध्यक्ष एवं म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, नेपाली कांग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा क्याम्पस स्थापनाकालदेखि सहयोग पु¥याउनुहुने पूर्वराज्यमन्त्री अमरराज कैनी, तमबहादुर दरै र दामोदर खनाललाई सम्मान गरिएको थियो । हाल उक्त क्याम्पसमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।

आउने निर्वाचनको नतिजापछि एमालेको सरकार बन्छ : अध्यक्ष ओली

इनरुवा, १८ भदौ  : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एक वर्षमा सरकारले विकास निर्माणका आयोजनाहरू कटौती गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी सुरक्षा, बराबरी अवसर, बराबरी सम्मानका आधारमा राष्ट्रिय एकता कायम गरेर एकता प्रबद्ध प्रयासद्वारा नेपाललाई विश्वको नमूना राष्ट्रिय बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा अध्यक्ष ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताले नहार्ने बताउनुभयो ।

डा आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस

बागलुङ , १८ भदौ : नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिनुभयो ।

बुढाका अनुसार बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेस बलियो सङ्गठन रहेको भन्दै गठबन्धमा भागबण्डा मिलाउँदा उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने बताउनुभयो ।

बालिका बलात्कार गरि फरार तुल्सीब्याख्यो २५ वर्ष पछि पक्राउ

भक्तपुर, १७ भदौ : एक ६ वर्षीया बालिकालाई २०५४ साल मंसीर ८ गते जवरजस्ती करणी गरि फरार रहेका भक्तपुर नगरपालिका–११ क्वाछेँ घरभई पोखरा बस्दै आएका ४० वर्षीय दिपक तुल्सीब्याखोलाई २५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

बलात्कार मुद्धामा दोषी ठहर गर्दै २०६३ माघ ८ गते सर्वोच्च अदालतले ८ बर्ष कैद र निजको आधा भाग अंश सर्वस्व गरी पीडित बालिकालाई भराई दिने फैसला पछि फरार तुल्सीब्याखोलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले कास्की प्रहरीको समन्वयमा पोखराबाटै पक्राउ गरि भक्तपुर ल्याएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

फरार तुल्सीब्याखो पोखरामा बसोबास गरि ब्यवसाय सञ्चालन गर्दै आएको गोप्य सूचनाको आधारमा पोखराबाटै हिजो पक्राउ गरि भक्तपुर ल्याएर आज फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको उहाँले जानकारी दिनु भयो ।

अदालतले आजै तुल्सीब्याखोलाई काठमाडौं डिल्लीबजारस्थित जगन्नाथ देवल कारागार चलान गरेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।