भक्तपुर अस्पतालमा कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टसहित कर्मचारीले गरे नवनियुक्त अध्यक्ष ज्ञानराम श्रेष्ठलाई स्वागत

भक्तपुर, १६ पुस । भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त हुनुभएका ज्ञानराम श्रेष्ठले आज पदभार ग्रहण गर्नुभएको छ । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले अध्यक्षमा नियुक्त गरेसंगै अस्पतालले आज आयोजना गरेको स्वागत कार्यक्रमसंगै पदभार ग्रहण कार्यक्रममा आज पदभार ग्रहण गर्दै उहाँले अस्पतालको सेवा बिस्तार र अस्पतालको बिकासमा निस्वार्थ रुपमा कार्य गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालमा गुनासो नआउने गरि अस्पताल प्रमुख र प्रशासनसंग हातेमालो गर्दै विरामीलाई सेवा प्राप्त गर्न सहज हुने गरि गुणस्तरीय सेवाको निरन्तरता एवं थप सेवा बिस्तारमा आफ्ना ध्यान केन्द्रीत हुने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा अस्पताल प्रशासन र कर्मचारीले अस्पतालको विकासको क्षेत्रमा भरपुर सहयोग लिन सक्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर अस्पतालमा कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले उहाँलाई अस्पतालमा स्वागत गर्दै बधाई ज्ञापन गर्नु भएको थियो । उहाँले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई नेपालको प्रमुख स्वास्थ्य संस्था मध्ये एक भक्तपुर अस्पताल वागमती प्रदेशको मात्रै नभई देशभरकै अस्पतालमध्येमा उत्कृष्टताको पहिचान बनाएको बताउदै सबै मिलेर अस्पतालको उक्त साखलाई घट्न नदिने गरि गुणस्तरीय सेवा प्रवाहमा सबै जु्नु पर्ने बताउनुभयो ।

अस्पतालका निर्देशक डा. भट्टले अस्पतालको स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण, अवसर, चुनौती र अझै गर्नुपर्ने कार्यकाबारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा अस्पतालका कर्मचारीहरुले फूलमालाले स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यसअघि अस्पतालको सञ्चालन र व्यवस्थापन समितिमा नियुक्त हुुनु भएका अध्यक्ष शशिजंग थापाले ठिक एक वर्षको अबधी पुरा गरि गत १५ गते राजिनामा दिएपछि रिक्त अध्यक्ष पदमा मन्त्रालयले श्रेष्ठलाई नयाँ अध्यक्षको रुपमा नियुक्त गरेको थियो ।

बागमती प्रदेश अन्तर्गतका जिल्ला मध्येकै सर्वोत्कृष्ट अस्पतालको रुपमा स्थापित हुन सफल भक्तपुर अस्पताललाई यथावत् स्थानमा राखिराख्ने जिम्मेवारी र चुनौती पनि उहाँ माथि थपिएको छ । उहाँको नेतृत्वमा भक्तपुर अस्पतालले थप उत्कृष्टता हासिल गर्ने र सेवा विस्तारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

‘किशोर किशोरी डिजिटल पार्क सञ्चालन’मा ल्याउदै वामगती प्रदेश स्वास्थ्य मन्त्रालय
भक्तपुर, २१ मङ्सिर : किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले वागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाको रुपमा ‘किशोर किशोरी डिजिटल पार्क (एडल्सेन्ट डिजिटल पार्क) सञ्चालन’ गर्ने भएको छ ।
वामगती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उदेश्यले किशोर किशोरी डिजिटल पार्क (एडल्सेन्ट डिजिटल पार्क) सञ्चालन’मा ल्याउन लागेको बताउनुभयो ।
किशोर किशारीमा असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोगको प्रकोप बढ्द गएको अबस्थामा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा आजको आवश्यकता महसुस गर्दै डिजिटल पार्कको अबधारणा ल्याएर यसैवर्षदेखि नै स्थानीय पालिकासंगको समन्वय र साझेदारीमा कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, “किशार किशोरीमा यौनिकता र शरीरको विकासका क्रममा देखिने परिवर्तन, रजस्वला र स्वच्छता, बाल विवाह, जवर्जस्ती करणी, र सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपान तथा मद्यपानका असरहरू, यौन दुव्र्यबहार, सचेतनाकाबारेमा विशेषज्ञ विचार, तथ्य र समाधानसम्बन्धी पोडकास्टहरूको निर्माण गर्ने, जिजिटल बोर्ड मार्फत किशोरकिशोरी एवं युवायुवती जमघट हुने पार्कमा त्यसलाई राखेर जनचतनामूलक सन्देशहरु प्रवाह गर्ने मूल उदेश्यले किशोर किशोरी डिजिटल पार्क नमूनाको रुपमा सञ्चालनमा ल्याउन लागेका हौ, आगामीवर्षदेखि यसलाई प्रदेशका अन्य बिभिन्न पालिकाहरुमा सञ्चालनमा ल्याउने योजनामा छौं ।”
वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले किशोर किशोरीको शारीरिक र मानसिक विकासमा र उचित परामर्श एवं सन्देश प्रवाह गर्ने गरि देशभरमै पहिलो कार्यक्रमका रुपमा मन्त्रालयले यो कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “किशार किशोरीमा हुनसक्ने दुव्र्यसनीसंगै परिवार नियोजनको अस्थायी साधनको प्रयोग, अनिच्छित गर्भाधारण रोक्ने उपाय, यौन शिक्षा, किशारी शिक्षा, शारीरिक अंग र मानसिक परिवर्तनका अबस्थामा ध्यान दिनु पर्ने कुराहरु महिनावरी सुरक्षा, साथी शिक्षा, एचआईभी लगायत यौन रोगबाट बच्ने उपाय, लैङ्कि हिंसा, व्यक्तिगत सुरक्षा एवं व्यवसायीक अधिकारका सवालमा समेत सन्देश प्रवाह गर्ने गरि कार्यक्रम ल्याएको हो । एकवर्षमा एक लाख किशोर किशोरी यस कार्याक्रमबाट लाभान्वित हुने र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएका छौं ।”
वागमती प्रदेश स्वास्थ्य निर्देशनालयको महातहतमा सञ्चालनमा आउने यस कार्यक्रमका लागि मन्त्रालयले २५ लाख बजेट विनियोजन गरेको र कार्यक्रम लागू हुने सम्बन्धित पालिकाको साझेदारी र समन्वयमा कार्यक्रम लागू हुने निर्देशनालयका निर्दक डा. नरेन्द्र झाले जानकारी दिनुभयो ।
उहाँले कार्यक्रम लागू हुने पार्कमा यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित डिजिटल जानकारीको सहज पहुँच हुने कोठा, हल, बाल, बेलसेप कोठा, एडल्सेन्ट हेल्थ रूम, डिजिटल डिस्प्ले राखे ठाउँ, पोस्टर डिस्प्ले वाललगायतका संरचनाको निर्माण गर्ने र किशोर किशोरीका लागि उपयुक्त एनिमेटेड भिडियोहरू, इन्फोग्राफिक्स र पोस्टरहरूको विकास गरि सन्देशहरु, बृत्तचित्रहरु र सन्देशमूलक साना भिडियोहरु प्रशारण गरिने बताउनुभयो ।
प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट टिभी तथा स्क्रिन, यूपिएस, इन्टरनेट सेवाका साथै प्रतिक्रियाका लागि क्युआर कोड सिस्टमको प्रयोग गर्दै सुरक्षित सामग्री प्रविधिहरू व्यवस्थापन गर्ने बताउनुभयो । निर्देशक झाले किशोर किशोरी बढी जमघट हुने सदर चिडियाखाना, त्रिभुवन पार्क, फन पार्क जस्ता पार्कलाई रोज्ने र यो कार्यक्रम हेटौडा वा काठमाडौंको कनै एक पालिकामा सञ्चालन गर्ने गरि पालिका छनौट कार्य भइरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालय भन्छ : डिजिटल पार्क’ स्थान अझै तोकिएको छैन

हेटौंडा, १८ मंसिर : बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डिजिटल पार्क’ को स्थान तोकी नसकिएको बारे स्पष्ट पारेको छ । केही संचारमाध्यमले बागमती प्रदेशमा नीतिगत भ्रष्टाचार, स्वास्थ्यमन्त्री थापाको लगानीको निजी कम्पनीलाई २५ लाख सरकारी अनुदान शिर्षकमा प्रकाशित समाचारप्रति बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त विषय प्रति स्पष्ट पारेको हो ।

मन्त्रालयले बिहिवार एक बिज्ञप्ती जारी गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले २०८२ साउन १२ मा आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत ‘वार्षिक कार्यक्रम कार्यान्वयन मार्गदर्शन’ मा ‘सूर्यविनायक नगरपालिका-१० स्थित स्वास्थ्य मन्त्री किरण थापा मगरको शेयर लगानी रहेको काठमाडौं फन भ्याली वा किशोर किशोरीहरूको जमघट हुने अन्य उपयुक्त स्थानमा ‘एडल्सेन्ट डिजिटल पार्क स्थापना गर्न’ २५ लाख अनुदान राखेको भन्ने समाचारमा सत्यता नभएको बताएको छ ।

“बागमती प्रदेश सरकारले नमूनाको काम गर्ने अभियान अन्तर्गत चालू आर्थिक वर्षमा सुरु गर्ने गरि विशेष अनुदान कार्यक्रम अन्तर्गत उक्त शिर्षकमा २५ लाख बजेट राखे पनि फन पार्क जस्तै किशोर किशोरी जमघट हुने हेटौडा वा भक्तपुर वा हेटौडाको कुनै एक स्थानीय तहको पार्कमा सम्बन्धित पालिकाको समन्वय एवं साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराउँदछौं ।” सूचना अधिकारीद्वारा जारी बिज्ञप्तीमा भनीएको छ ।

डिजिटल पार्कको अवधारणा तथा कार्यान्वयनको ढाँचा तयार गर्ने, नगरपालिका तथा संघ संस्थासँग नियमानुसार साझेदारीमा संचालन गर्ने गरी उपयुक्त स्थान छनौट गर्ने भन्ने संसोधन गरि कार्यन्वयन गर्ने निर्णय गरेको अवस्थामा अनुदान सम्बन्धी विवरण मन्त्रालयको वार्षिक कार्यक्रम कार्यान्वयन मार्गदर्शनमा देखिएको ‘सूर्यविनायक १० स्थित काठमाडौं फन भ्याली वा अन्य उपयुक्त स्थानमा एडल्सेन्ट डिजिटल पार्क स्थापना गर्ने’ शब्द भूलवस प्रिन्ट भएकोले उक्त त्रुटिलाई मन्त्रालयले समयमै सच्याईसकेको र कार्यक्रम कार्यन्वयन गर्ने निकाय स्वास्थ्य निर्देशनालयलाई समेत जानकारी गराइसकेको मन्त्रालयको भनाइ छ ।

“बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले कार्यक्रम संचालन र बजेट वितरणमा कानुन, नियम र पारदर्शिता अनुसार मात्र निर्णय गर्ने समेत स्पष्ट पार्न चाहन्छौं ।” विज्ञप्तीमा उल्लेख छ ।

विपि नेत्र प्रतिष्ठानको १३ औ वार्षिकोत्सव , वार्षिक एक लाख भदा बढीलाई सेवा
भक्तपुर, १७ मङ्सिर : दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा. गौरीशंकर लाल दासले नेतृत्व गर्नु भएको मध्यपुरथिमि नगरपालिका–१ मनोहरास्थित वि.पि. नेत्र प्रतिष्ठानले स्थापनाको १३ वर्षमा २१ लाख विरामीलाई सेवा प्रदान गरेको छ ।
विश्व अपाङ्ग दिवसको अवसर पारेर अस्पतालले आज यहाँ आयोजना गरेको १३ औं वार्षिकोत्सव कार्यक्रममा अस्पताल स्थापनाको १३ वर्षको अबधीमा २१ लाख विरामीलाई सेवा प्रदान गरेको जानकारी दिएको हो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले प्रतिष्ठानको रुपमा सञ्चालित अस्पतालले आँखाको मात्रै नभई नाक, कान र घाँटीकोसमेत विशेषज्ञ चिकित्सकद्धारा उपचार हुदै आएको बताउदै यसले देशभरीको विरामीलाई उपचारमा सहयोग पुर्याएको बताउनुभयो ।
प्रतिष्ठानका लागि वागमती प्रदेश सरकारले ६० लाख यस प्रतिष्ठानका लागि पालिकामार्फत बठाएको बताउदै उक्त रकम नगरपालिकाले निकासा गर्ने बताउनुभयो । उहाँले मध्यपुरथिमि नगरपालिकाले आफ्ना नगर क्षेत्र भित्र रहेका विरामीको निःशुल्क उपचारका लागि प्रतिष्ठानसंग सहकार्य, समन्वय र सहयोग आदन प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपालको चिकित्सा सेवा, मानवअधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान दिनु भएका प्रतिष्ठानका अध्यक्ष एवं दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा. गौरीशंकर लाल दासले अस्पतालले वार्षिक एक लाखदेखि एक लाख ५० हजार नागरिकलाई आँखा, नाक, कान, घाँटीको उपचार सेवा प्रदान गरेको बताउनुभयो ।
उहाँले स्थापनाको १३ वर्षमा २१ लाखभन्दा बढी नागरिकलाई सेवा प्रदान गरिसकेको बताउदै आर्थिक अबस्था कमजोर भएका देशभरका नेत्रहिन र कान नसुन्ने बालबालिकाको निःशुल्क उपचार गर्नुका साथै उनीहरुको शिक्षा, परामर्श सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले गरिब र परिवार तथा समाजबाट अपहेलनामा परेका अपाङ्ग बालबालिकाकालाई प्रतिष्ठानले पुर्नस्थापना गर्दै उपचारका साथै उच्च शिक्षासम्मको अध्ययन गरादै आएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष माधवप्रसाद अर्यालले प्रतिष्ठानले ७७ वटै जिल्लाका विरामीलाई सेवा प्रवाह गरिरहेको बताउदै बिभिन्न जिल्लामा सञ्चालन गरेको नेत्र उपचार केन्द्र र टेलिमेडिसिनको माध्यमबाट उपचार प्रवाह गरिरहेको बताउनुभयो ।
मध्यपुरथिमि नगरपालिकाले घरघरको सर्वेक्षण गरि घरघरमा रहेका नेत्रहिन तथा शिक्षा र उपचार नपाएका अपाङ्ग बालबालिकाको खोजी गरि नमूनाको रुपमा उपचार एवं पुर्नस्थापना कार्य सुरु गरे प्रतिष्ठानले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
प्रतिष्ठानले सञ्चालन गरेको बाल आँखा, नाक, कान, घाँटीको उपचार एवं पर्नस्थापना केन्द्रका निर्देशक प्रा. डा. बद्रीप्रसाद बढुले केन्द्रले यसवर्ष एक लाख ८० हजार विरामीलई सेवा प्रवाह गरेको बताउनुभयो । सेवालाई देशभर विस्तार गर्दै लैजाने लक्ष्यका साथ अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा महासचिव राजनबहादुर राउतले प्रतिष्ठानले प्रवाह गरेको सेवाकाबारेमा जानकारी गराउँदै सेवा बिस्तारको लक्ष्यलाई देशभर पुर्याउने लक्ष्यका साथ कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा निवर्तमान् अध्यक्ष एवं नेत्ररोग विशेषज्ञ प्रा.डा.मदनप्रसाद उपाध्यायले प्रतिष्ठानले शिक्षण अस्पताल महारसाजगञ्जबाट सुरु गरेको सेवालाई यहाँ अस्पताल र पुर्नस्थापना केन्द्रकै रुपमा बिस्तार गरेको बताउनुभयो । उहाँले नेत्ररोग बिशेषज्ञ समेत उत्पादन गरिरहेको प्रतिष्ठानका कारण नेत्र रोग विशेषज्ञ देशमै आत्मनिर्भ भएको तर अझै पनि ४० प्रतिशत नागरिक नेत्ररोगको सेवाबाट वञ्चित रहेकाले सबैलाई सेवा पुर्याउने लक्ष्यका साथ टेलिमेडिसिन सेवा समेत सुरु गरेको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानले केन्द्रमा कर्यरत कर्मचारी सचिन श्रेष्ठलगायत उत्कृष्ठ कर्मचारीलाई मेडल, प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ: मुख्यमन्त्री बानियाँ

बागमती, १५ मङ्सिरः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताउनुभएको छ ।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ हेटौँडामा आयोजित ‘एक स्वस्थ्य सहर, एक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था’ का लागि प्रदेश स्वास्थ्य सहजकर्तालगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रममा उहाँले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर काम भइरहेको बताउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले नागरिक स्वस्थ्य भए मात्र समाज र राष्ट्र स्वस्थ्य हुने भन्दै स्वास्थ्य सेवालाई प्रभावकारी बढाउन प्रदेश सरकारले स्वास्थ्य नीति बनाएर काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारले यहाँ ‘एक जिल्ला एक स्वस्थ्य सहर’ कार्यक्रम सञ्चालन गर्न लागेको छ ।

प्रदेश सरकारले स्वास्थ्य सेवा क्षेत्रलाई विशेष प्राथमिकता दिएर ‘एक जिल्ला एक स्वस्थ सहर’, ‘एक स्थानीय तह एक नमूना सहर’, ‘एक विद्यालय एक नर्स’ तथा स्वास्थ्य बिमालगायत कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले गुणस्तरीय सेवामार्फत स्वस्थ्य प्रदेश बनाउन क्यान्सर, हृदयरोग तथा डायलासिस सेवालाई बिस्तार गरिएको उल्लेख गर्नुभयो । प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सर्ने र नसर्ने दुवै प्रकृतिका रोग नियन्त्रणका लागि ठोस योजना बनाएर काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका पालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत तथा जनप्रतिनिधिको सहभागिता रहेको स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।

वाग्मती प्रदेश सरकारले यस वर्षबाट ५० जना डाक्टरहरू पढाउन सुरु : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा

हेटौँडा, १५ मंसिर : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले वाग्मती प्रदेश सरकारले यस वर्षबाट ५० जना डाक्टरहरू पढाउन सुरु गरेको बताउनुभएको छ । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा आज हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले त्यहाँबाट उत्पादित डाक्टरहरू वाग्मती प्रदेश भित्रका स्थानीय तहका अस्पतालका डाक्टरहरू पठाइने बताउनुभयो । अहिले पनि छात्रवृत्तिबाट आएका मेडिकल डाक्टरहरूलाई प्रदेश स्वास्थ्य मन्त्रालयले गाउँका अस्पतालमा पठाइरहेको उहाँले बताउनुभयो ।

मन्त्री थापाले स्वास्थ्य संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न तीनवटै तहका सरकार बिच सहकार्य आवश्यक रहेको सीमित साधन स्रोतका कारण अस्पतालहरू सञ्चालनमा समस्या भइरहेको बताउनु भयो ।

‘तीनवटै तहले स्वास्थ्य क्षेत्रमा बजेट बनाउँदा कतिपय कार्यक्रममा दोहोरोपन देखिएको छ, हामी तीनवटै तहका जनप्रतिनिधि बसेर कार्यक्रम बनाउने हो भने दोहोरोपन हुँदैन’, उहाँले भन्नुभयो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि सशर्तका बजेट पठाउँदा पनि कतिपय गाउँपालिकामा ती बजेट खर्च नभएका उहाँले बताउनुभयो । उहाँले केन्द्र, प्रदेश र संघीय सरकारले कुन कुन कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वाग्मती प्रदेश सकारले स्वास्थ्य क्षेत्रको विकासका लागि धेरै काम गरेको भए पनि त्यो अझै अपुग नै भएको उहाँले बताउनुभयो । कतिपय स्थानीय तहले सञ्चालन गरेको अस्पतालमा समेत प्रदेश सरकारले उपकरण र जनशक्ति पठाइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेश तहका अस्पतालमा सेवा विस्तार गर्दै लगिएको उहाँले सुनाउनुभयो ।

स्थानीय सरकारलाई प्राथमिकतामा राखेर कार्यक्रम र योजना बनाउनु पर्ने उहाँको धारणा छ । ‘प्रत्यक्ष भेटिने सरकार स्थानीय सरकार हो, देखिने सरकार भनेको प्रदेश सरकार हो, लेखिने सरकार भनेको संघीय सरकार हो’, उहाँले भन्नुभयो ।

जनताको माग भौतिक पूर्वाकारको क्षेत्रमा बाढी रहेको बताउँदै अब स्वास्थ्य क्षेत्रको बजेटलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । अब स्वास्थ्य सहरको अवधारणा आएकोले यसको लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्नेमा थापाले जोड दिनुभयो । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य जनप्रतिनिधि र क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ ।

भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

भक्तपुर, ४ मङ्सिरः भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालको आयुर्वेद तथा वैकल्पिक चिकित्साको मूल्याङ्कन गरी उत्कृष्ट घोषणा गरेको हो ।

प्रदेश मातहत रहेका प्रादेशिक अस्पतालमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले जानकारी दिनुभयो । अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनका विभिन्न शीर्षकअन्तर्गत रहेका सूचकको मूल्याङ्कनमा कूल १०० अङ्कमध्ये भक्तपुर अस्पतालले ७१ दशमलव १० अङ्क प्राप्त गर्दै भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको जानकारी दिनुभयो ।

मन्त्रालयकी सचिव डा गौतम यस अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर आएपछि रिफरल सेन्टरका रुपमा रहेको भक्तपुर अस्पतालाई नमुनाका रुपमा सेवा विस्तार गर्दै प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सफल हुनु भएको थियो । भक्तपुर अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले यस वर्ष पनि प्रदेशभित्रको अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउँदै केन्द्रीय मूल्याङ्कनमा पनि पुनःउत्कृष्ट हुनेगरी कार्यसम्पादन गरिरहेको बताउनुभयो ।

एक सय अङ्कमध्ये ७० दशमलव ७२ प्राप्त गरी त्रिशूली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ भने चौतारा अस्पताल तेस्रो भएको छ । त्यसैगरी, बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । जनस्वास्थ्य कार्यालय धादिङ ७० दशमलव ८६ अङ्क प्राप्त गरी दोस्रो भएको छ भने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले ७० दशमलव ६४ अङ्क प्राप्त गरी तेस्रो भएको उहाँले जानकारी दिनुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फ सिन्धुली जिल्ला ७२ दशमलव ६० अङ्क प्राप्त गरी उत्कृष्ट भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले ७० दशमलव १० अङ्क प्राप्त गरी दोस्रो र चितवन जिल्ला तेस्रो भएको छ । प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका अस्पताल जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, उपकरण थप गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै अगाडि बढेको बताउनुभयो । कुनै पनि स्वास्थ्य नराखी मन्त्रालयको नीति र निर्देशनअनुसार काम गर्न निर्देशन दिँदै उहाँले कतैबाट पनि गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

श्रीमदभागवत विराट पितृ मुक्ति महायज्ञमा मन्त्रीदेखि सांसदसम्म
भक्तपुर, १३ असोज । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नु पर्ने बताउनु भएको छ ।
जेष्ठ नागरिक आश्रम निर्माणार्थ भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीमा सञ्चालित श्रीमदभागवत विराट ज्ञान महायज्ञमा बोल्दै उहाँले बालबालिकार जेष्ठ नागरिकको गाँस, बास र कपासका लागि आयोजना गरेको महायज्ञ निकै सह््रायिन रहेको बताउनु भयो ।
उहाँले बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा जसले काम गरे पनि राम्रो रहने बताउदै उहाँले महायज्ञले लिएको संकल्प पुरा गर्न सबै लाग्नु पर्ने बताउनु भयो । मन्त्री आचार्यले मान्छे अमर हुनको लागि सामाजसंग जोडिएर अगाडि बढ्नु पर्ने औल्याउदै सकारात्मक कार्यमा सबैले साथ दिनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरि महायज्ञमा बोल्दै संघीय सुनुवाई समितिका सभापति एवं संघीय सांसद किरणकुमार शाहले जेष्ठ नागरिकको हकहितलेनै धर्म प्राप्ती हुने बताउनु भयो । उहाँले आफ्ना आमाबाबुले धर्म र संस्कृति भन्दा ठूलो अरु केही हुदैन भनेर आफूलाई सिकाएको चर्चा गर्दै उहाँले हिन्दु धर्म एवं संस्कृति माथि कसैले  औला उठाउँछ भने त्यो सह्य नहुने बताउनुभयो ।
सांसद शाहले राजनीति भन्दा माथि उठेर सनातन धर्म र संस्कृतिको बारेमा तीन करोड नेपालीलाई सिकाउनु पर्ने बेला आएको बताउनभयो । सडकमा रहेका बालक तथा जेष्ठ नागरिकलाई निःशुल्क गाँस, बास र कपासको ब्यबस्था गर्नु सनातन धर्म अन्तर्गत पर्ने भन्दै उहाँले महायज्ञको यो अभियानको संकल्प पुरा हुनुपर्ने औल्याउनुभयो ।
कार्यक्रममा ७० वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान :
विराट पितृ मुक्ति महायज्ञमा ७० बर्ष माथिका ४० भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । महायज्ञमा सहभागी भएका बिभिन्न जिल्लाबाट आउनु भएका जेष्ठ नागरिकलाई महायज्ञका गुरु एवंसंकल्पकर्ता वालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले जेष्ठ नागरिकलाई सम्मान गर्नु भएको हो ।
छोरीको घर जेष्ठ नागरिक आश्रमको सहयोगार्थ सञ्चालन भएको विराट ज्ञान पितृ मुक्ति महायज्ञको आगामी असोज २७ गतेसम्म सञ्चालन हुने महायज्ञका प्रचार संयोजक टंकमणि भट्टराईले  जानकारी दिनुभयो ।
 जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड

-पदमराज जोशी

काठमाडौँ, ११ असोज : नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको छ । यहाँ जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न सकिन्छ । बेच्ने वा किन्ने बेला कुनै रोकावट छैन । मनपरी ढङ्गले खाने गरिएको छ । एन्टिबायोटिक बनाउने, पूर्जामा लेख्ने, बेच्ने, किन्ने र खाने सबै क्षेत्रमा मनपरी छ । त्यसैले त विस्तारै हाम्रो शरीरमा रहेका रोगका जीवाणु बलियो हुँदै गएका छन् ।

यसको परिणामस्वरूप हामीलाई कुनै रोग लागेपछि एन्टिबायोटिक खाए पनि त्यसले काम गर्न छोड्दै गएको छ । एन्टिबायोटिक औषधिभन्दा जीवाणु बलियो हँुदै जानु भनेको चिकित्सा विज्ञान क्षेत्रकै लागि मात्र नभएर मानव जगत्कै लागि ठूलो चुनौती हो । एन्टिबायोटिक औषधि सेवन गर्नु भनेको पक्कै पनि बदाम र भटमास खाएजस्तै पक्कै पनि होइन ।

तर विडम्बना देशका दूरदराजका मानिसहरूले मात्र नभएर सहरी क्षेत्रमा बसोवास गर्ने र पढे लेखेका व्यक्तिहरूले पनि कुन बेला, कति मात्र, कुन रोगको उपचारमा एन्टिबायोटिक सेवन गर्ने भन्ने राम्रो ज्ञान पाइँदैन । खानै पर्ने बिरामीले एन्टिबायोटिक खाँदा खासै ठूलो समस्या नहोला तर नखानु पर्नेले खादा समस्या देखिएको छ । सबै रोगको उपचारमा एन्टिबायोटिकले काम गर्दैन । तर समाजमा एउटा यस्तो भ्रम छ कि हरेक रोगको अचुक उपाय भनेको एन्टिबायोटिक हो । कोभिडको महामारीको बेला एन्टिबायोटिकले काम गरेन ।

सामान्य सिटामोलबाहेक अरू औषधिले काम नगरेको हामी सबैले अनुभवसमेत गरेको प्रमाणित तथ्य हो । तर पनि सङ्क्रमित भएकामध्ये आधा जति नेपालीले कुनै न कुनै प्रकारको एन्टिबायोटिक सेवन गरेको पाइएको पाटन अस्पताल जनरल प्रेक्टिस तथा इमरजेन्सी विभागमा कार्यरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. आशिष श्रेष्ठ बताउँछन् । नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी नीति नै नभएको भने होइन । छ तर लागू गरिएको छैन । डा श्रेष्ठका अनुसार नियमअनुसार चिकित्सकको प्रिस्क्रिप्सन बिना कडा खालका एन्टिबायोटिक किनबेच गर्न पाइँदैन । तर व्यवहारमा लागू भएको पाइँदैन ।

नेपाली समाजमा एन्टिबायोटिक औषधिप्रति जनताको विश्वास ठूलो छ । एन्टिबायोटिक जुनसुकै रोग पनि निको पार्छ भन्ने बलियो मनोविज्ञान छ समाजमा । त्यसैले सितिमिति अरू औषधिमा विश्वास गदैनन् बिरामी पनि । आयुर्वेदिक औषधिको प्रयोग कम हुनुमा यो पनि एक प्रमुख कारण हो । उपभोक्ता मलाई यो नामको एन्टिबायोटिक दिनुहोस् भन्दै फार्मेसी पुग्ने गरेका हुन्छन् ।

एन्टिबायोटिक बाहेकले मलाई ठीक हुँदैन भन्ने उनीहरूको विश्वास छ । जनचेतनाको अभावका कारण नेपालमा एन्टिबायोटिकको उपभोग बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा.अर्जुन कार्की बताउँछन् । रोग चाँडो निको बनाउने होडबाजीका कारण पनि एन्टिबायोटिकको प्रयोग बढेकोमा विज्ञहरूको एक मत छ । रोग चाँडो निको पार्न बढी डोजको एन्टिबायोटिक दिने र लिने प्रवृति छ । जुन स्वास्थ्यका हिसाबले हितकार होइन । यही होडबाजीले एक रुपैयाँको सिटामोल खाएर निको हुने रोगको लागि दसौं गुणा बढी मूल्य पर्ने एन्टिबायोटिक उपभोग गराइन्छ ।

यसरी अनावश्यक एन्टिबायोटिकको प्रयोगमा विभिन्न औषधि कम्पनीहरू र व्यापारीहरूको स्वार्थ पनि रहेको पाइन्छ । चिकित्सकहरूका अनुसार रोग निको पार्न सधैं एउटै औषधिको प्रयोग भन्दा फरकफरक किसिमको औषधि प्रयोग गर्न राम्रो मानिन्छ । बिरामीलाई एउटा औषधिले निको नभए अर्को औषधि प्रयास गर्नु राम्रो चिकित्सकीय अभ्यास हो । तर एकैचोटी हाइडोजको एन्टिबायोटिक दिँदा समस्या निम्त्याउँछ । जथाभावी एन्टिबोयोटिकको प्रयोग गर्दा मिर्गौला फेल हुने लगायतका शरीरका अन्य अङ्ग समेत फेल हुने अवस्था आउँछ । चिकित्सकहरुका अनुसार एन्टिबायोटिक नै रोगको पूर्ण निदान होइन । एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ ।

यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधि, समय सबैकुरा ख्याल गर्नुपर्छ । यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छांै । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ । यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधिको प्रभाव कम हुन्छ । रोग फेरि बल्झन्छ र त्यसले थप चर्को रुप लिन्छ । एन्टिबायोटिकको विषयमा उपभोक्ता मात्र होइन स्वास्थ्यकर्मी र फार्मेसी सञ्चालकहरूमा समेत चेतना अभाव छ ।

कसरी हुन्छ एन्टिबायोटिक भिडाइ हाल्ने मनोविज्ञान उनीहरूमा पनि छ । एन्टिबायोटिक अत्यधिक प्रयोगले अहिले र पहिलेको तुलनामा एन्टिबायोटिकले काम नै गर्न छोड्दै छ । उदाहरणका लागि टाइफाइडमा प्रयोग हुने एन्टिबायोटिकले अहिले काम गर्न छोडेको छ । यो हाम्रो मात्र होइन, विश्वकै ठूलो समस्या हो । विकसित देशहरूमा जथाभावी एन्टिबायोटिकको किनबेच हुँदैन । डाक्टरको प्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । त्यहाँ नियम पालना कडाइका साथ हुन्छ । अनुगमन कडा हुन्छ । तर हाम्रो देशमा न त कडा नियम हुन्छ न त अनुगमन बलियो । त्यसैले यहाँ जनस्वास्थ्यमा माथि धनस्वास्थ्यको लडाइँ चलिरहेको छ । पैसा कमाउने निहँुमा जनताको स्वास्थ्य प्रयोगशाला भइरहेको छ ।

एन्टिबायोटिकको गुणस्तर माथि पनि विचार गर्नुपर्छ । एन्टिबायोटिक उत्पादन गर्ने कम्पनीबाट त्यसको गुणस्तर निगरानी हुनु पर्छ । एउटै एन्टिबायोटिक धेरै कम्पनीले बनाउने गर्छन् । हाम्रो देशमा पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर परीक्षण गर्छ । एन्टिबायोटिकको गुणस्तरका विषयमा पनि विभागले हेक्का राख्नुपर्छ । एन्टिबायोटिकको जथाभावी प्रयोग एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन । त्यसमा सबै पक्षको सहयोग, सहकार्य आवश्यक पर्छ । एन्टिबायोटिक बनाउने कम्पनी, एन्टिबायोटिक लेख्ने डाक्टर, बेच्ने फार्मेसी, किन्ने उपभोक्ता र नियम कानुन बनाएर लागू गराउने सबैको उत्तिकै जिम्मेवारी हुन्छ ।

एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्नका लागि जसले पनि किन्न पाउने नियम बन्द गर्नै पर्छ । राज्यले चाहेको खण्डमा एन्टिबायोटिकको प्रयोगमा भइरहेको बेतिथि रोक्न सक्छ । जस्तै उदाहरणको लागि नार्कोनन ड्रग्सबिना लाइसेन्स बेच्न पाइँदैन । बिनाप्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । किन्ने मान्छेको ठेगाना लेखेर प्रिस्क्रिप्सन लेख्ने डाक्टरको नेपाल मेडिकल काउन्सिलको नम्बरसमेत रेकर्ड राखेर बिक्री गरिन्छ । यसको जथाभावी प्रयोग रोकिएको छ । यसैगरी सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न बनाइरहेको नीति नियम कडाइका साथ पालना गरे रोक्न सक्छ । तर यसमा राज्यको इच्छा शक्ति चाहिन्छ । डाक्टरले लेख्ने प्रिस्क्रिप्सनको पनि अडिट गर्ने व्यवस्था गर्नुपर्छ ।

कुन रोगको उपचार के औषधि सिफारिस ग¥यो ? जथाभावी एन्टिबायोटिक त लेखेन ? भन्ने बिषयमा प्रिस्क्रिप्सन अडिट गर्ने प्रचलन चलाउनु पर्छ । जथाभावी लेख्ने लाई कारवाही गर्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको उपचारात्मक महाशाखाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रयोग गरिने औषधि प्रिस्क्रिप्सनको अडिट गर्ने काम अगाडि बढाएको छ । अरू रोगको उपचारमा पनि प्रिस्क्रिप्सन अडिट हुने व्यवस्था गर्नुपर्छ । यसले जथाभावी एन्टिबायोटिक सिफारिस गर्ने चलन माथि पनि अङ्कुश लाग्न सक्छ । हरेक चिकित्सक आफ्नो पेसाप्रति, समाजप्रति र जनस्वास्थ्य माथि सबै जिम्मेवार हुनुपर्छ ।

एन्टिबायोटिक सिफारिस गर्ने चिकित्सक, बेच्ने फार्मेसी र किन्ने उपभोक्ता तिनै पक्षलाई जिम्मेवार नबनाएसम्म एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सकिँदैन । यसमा सबैको ध्यान जानु आवश्यक छ । केही दिन पहिले औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिवायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालाई अनुरोध गरेको थियो । विभागले एन्टिबोयोटिकको प्रयोगलाई न्यूनिकरण गर्न र नियन्त्रण गर्न प्रतिवन्ध लगाएको जनाएको थियो । एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रोक्ने अभिप्रायले नेपाल चिकित्सक सङ्घले विभिन्न नीतिगत तहमा पैरवी गर्ने गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म यही तरिकाले एन्टीबायोटिकको गलत प्रयोग भएको अवस्थामा भविष्यमा एन्टीबायोटिकले सही तरीकाले काम गर्न सक्दैन भन्ने अनुमान गरेको छ । एन्टीबयोटिकको सही सदुपयोग गर्नु पर्छ भनेर विश्व स्वास्थ्य सङ्गठनलगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले बारम्बार यस विषयलाई उठाइरहेका छन् ।

पदयात्री र आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ, ११ असोज : शरद ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका लागि सात जनाको चिकित्सक टोली हिमालमा पुगेको छ ।

हिमालय उद्धार सङ्घले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका लागि गएका आरोहीको स्वास्थ्य जाँचका लागि मनाङ र सोलुखुम्बुमा चिकित्सकको टोली पठाएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले मनाङको मनाङगाउँ स्वास्थ्य चौकीमा चार र सोलुखुम्बुको फेरिचे स्वास्थ्य चौकीमा तीन चिकित्सक पठाइएको जानकारी दिनुभयो ।

उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसकेको छ । स्वदेशी तथा विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सक पठाइएको उहाँको भनाइ छ । मनाङ गाउँमा पठाइएका चिकित्सकमध्ये तीन विदेशी र एक नेपाली रहेका छन् भने फेरिचेमा पठाइएका तीनै विदेशी चिकित्सक रहेका छन् ।

हिमालय उद्धार सङ्घले पदयात्री तथा आरोहीको स्वास्थ्य जाँचलाई सहज पुग्ने उदेश्यले मनाङगाउँ र फेरिचेमा आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरि सेवा प्रदान गर्दै आइरहेको छ । सङ्घका अध्यक्ष डम्बर पराजुलीले शरद ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी तथा स्वदेशी पर्यटक घुम्नका लागि हिमाली क्षेत्रतर्फ गइसकेकाले चिकित्सकको टोलीसमेत पठाइसकिएको बताउनुभयो । मनाङ जाने पर्वतारोही थोरङ्लापास, चुलु हिमाल, तिलिचो, अन्नपूर्ण–२, अन्नपूर्ण–४ लगायतमा आरोहण गर्ने गरेका छन् ।

यस्तै सोलुखुम्बुका लागि जाने पर्यटक भने आइल्याण्ड पिक, आमादब्लम, लोपुचे पिकलगायतमा चढ्ने गरेका छन् । शरद ऋतुमा सगरमाथा आरोहण गर्ने आरोही भने एकदमै कम भएकाले सगरमाथा आधार शिविरमा चिकित्सकको टोली नपठाइएको सो सङ्घले जनाएको छ । सन् १९७३ मा स्थापना भएको सङ्घले मनाङ, गोसाइकुण्ड, फेरिचे र सगरमाथा आधार शिविरमा डाक्टर पठाएर आरोहीको स्वास्थ्य जाँचमा सहयोग गर्दै आएको छ ।

सङ्घले स्वदेशी तथा विदेशी चिकित्सकलाई तालिम दिएर सो क्षेत्रमा पठाउँदै आएको छ । उक्त क्षेत्रमा जाने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ता गर्ने र श्रम विभागबाट श्रम स्वीकृति लिएर पठाउने गरेको सिईओ बस्यालले बताउनुभयो । चिकित्सकको टोली सो क्षेत्रमा तीन महिना रहने सङ्घले जनाएको छ ।