सीमा नाकामा कडाइ, अस्पताललाई तयारी रहन निर्देशन
काठमाडौँ, २९ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।
भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।
“कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।”
मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
“अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।” अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो ।
बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।
कोरोना सङ्क्रमणलाई बेवास्ता नगर्न आग्रह
काठमाडौँ, १४ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।
मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ । भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ ।
आज एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ । हिजो (चैत १३ गते) एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।
बालबालिकामा बढ्दै आँखा क्यान्सर
काठमाण्डौं । नेपालमा प्रतिवर्ष ५० बालबालिकामा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) हुने गरेको एक सर्वेक्षणले देखाएको छ। हालै विभिन्न अस्पतालमा उपचारमा पुगेका बिरामीलाई लिएर गरिएको सर्वेक्षणले नेपालमा प्रतिवर्ष ५० बालबालिकामा आँखाको नयाँ क्यान्सर हुने अनुमान गरेको हो। बुधबार तिलगंगा आँखा अस्पतालले विश्व बाल क्यान्सर दिवस मनाउने क्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
तिलगंगा आँखा अस्पतालका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजू भने सर्वेक्षणले अनुमान गरेभन्दा बढी बालबालिकामा आँखाको क्यान्सर हुन सक्ने बताउँछन्। ‘प्रतिवर्ष ५० जना अनुमानित तथ्यांक मात्र हो, योभन्दा बढी हुन सक्छ,’ उनले भने। तीमध्ये तिलगंगा आँखा प्रतिष्ठानमा मात्र ३५ देखि ४५ जना आँखामा क्यान्सर भएका बालबालिकाको उपचार हुने गरेको छ। उपचारमा पुगेकामध्ये १५ जनामा दुवै आँखामा क्यान्सर भएको फेला परेको छ। विश्वभरि बालबालिकामा हुने क्यान्सरमध्ये आँखाको क्यान्सरले ३ प्रतिशत ओगटेको छ। विश्वव्यापी रूपमा हेर्दा प्रति १५ देखि २० हजार जीवित जन्मेका शिशुमध्ये एउटामा आँखाको क्यान्सर हुन्छ।
पाँच वर्षमुनिका बालबालिकामा हुने आँखाको क्यान्सर समयमै उपचार नगरे मृत्युसमेत हुने हुनाले सुरुमै पहिचान भए उपचार हुन सक्ने डा. सैजूको भनाइ छ। बेलैमा उपचार गरी बालबालिकामा हुने आँखाको क्यान्सरबाट बचाउन सकिने उनी बताउँछन्। नेपालमा पछिल्लो समय आँखाको क्यान्सरबारे केही जनचेतना बढ्दै गएकाले उपचारमा आउनेको संख्या पनि बढ्दै गएको प्रतिष्ठानकी अकुलोप्लास्टिक एवं अकुलोअन्कोलोजिस्ट डा. पूर्णिमा स्थापितले बताइन्। तर थप जनचेतनाको आवश्यकता भने रहेको उनको भनाइ छ।
आँखाको क्यान्सर पाँच वर्ष मुनिका बालबालिकालाई हुने गर्छ। सात वर्षसम्मका केही बालबालिकामा पनि यो रोग देखिन सक्छ। यो रोगको संक्रमण आँखाको भित्री भागबाट मासु पलाएर पुरै आँखामा फैलिन्छ र अन्धोपनको अवस्थामा पुर्याउँछ। यो रोगको समयमै पत्ता लागेन र पत्ता लागे पनि सही उपचार हुन सकेन भने शरीरको अन्य भागमा पनि फैलिएर बालबालिकाको ज्यानै जान सक्छ। आँखाको नानीको भाग सेतो तथा रातो हुने लक्षण देखिएर रोग छिप्पिँदै गए आँखा डेढो हुने, आँखाको डल्लो बाहिर निस्कने, हेराइमा सन्तुलन नहुँदा बच्चा पटकपटक ठोक्किनेजस्ता लक्षण देखिन्छन्।
पाँच वर्षभित्रका बालबालिकाले टेढो हेरे, आँखाभित्र कुनै डल्लो देखा परे, आँखा रातो भए, बालबालिका लड्न थाले आँखाको क्यान्सर हुन सक्ने भएकले चाँडो उपचारमा पुगे निको हुने सक्भावना उच्च हुने डा. सैजूले बताए। शिशु जन्मेपछि एकपटक अनिवार्य आँखा जाँच गराए त्यस्तो क्यान्सरबाट छ कि छैन पत्ता लाग्ने र छ भने मृत्युको सम्भावनाबाट टार्न सकिने चिकित्सकहरू बताउँछन्। नेपालका विभिन्न आँखा अस्पतालमा बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान भए पनि पूर्ण रूपमा उपचार हुने गरी तिलगंगा आँखा प्रतिष्ठानले छुट्टै एकाइ नै स्थापना गरी उपचार गर्दे आएको छ।
तिलगंगामा निःशुल्क उपचार
तिलगंगा आँखा प्रतिष्ठानमा अबदेखि आँखा क्यान्सरको उपचार निःशुल्क हुने भएको छ। अस्पतालसँग सहकार्य गर्दै आएको ओपन आई नेपालले अस्टे«ेलियाको क्याथोलिक युनिभर्सिटीसँगको सहकार्यमा आगामी चार वर्षसम्म निःशुल्क सेवा दिने घोषणा गरेको हो। यो सेवाको उद्घाटन क्यान्सरपीडित कर्ण शाक्यले गरे। उनले आँखा उपचारका लागि ५ लाख ५० हजार रूपैयाँ दिने भनी सम्झौतामा हस्ताक्षर गरेका छन्। यो उपचारअन्तर्गत क्यान्सरका कारण आँखा गुमाएका बालबालिकाको कृत्रिम आँखा पुनःस्थापना हुने अस्पतालकी अकुलोप्लास्टो तथा आँखा क्यान्सर विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले जानकारी दिइन्।
स्वतन्त्र उम्मेदवार श्रीभक्तले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै : राज्यको कुनै सेवा सुबिधा नलिने, २ करोडको अक्षय कोष खडा गरि गरिबको सेवा गर्ने
भक्तपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवार बनेका श्रीभक्त कासिछ्वाले आफ्नो चुनावी घोषणा तथा प्रतिबद्धता पत्र सावैजनिक गर्ने भएका छन् । भक्तपुरको कमलविनायकस्थित होटल यचुमा कात्तिक १५ गते मंगलबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर आफ्नो निर्वाचन प्रतिबद्धता पत्र–२०७९ सार्वजनिक गर्न लागेको जेब्रा चुनाब चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका श्रीभक्तले बताए ।
आफ्नो घोषणा पत्रमा आफू विजइ भए पछि के के गर्ने भनेर आफ्ना योजनाहरु सार्वजनिक गर्ने र सोही प्रतिबद्धता पत्रको आधारमा मत माग्ने बताए । उम्मेदवार श्रीभक्त कासिछ्वाले आफू सबै मतदाताको साझा र भरोसा गर्ने उम्मेदवार भएको बताउदै यस पटक सबै दलका उम्मेदवारलाई पाखा लाउदै आफ्नो जीत सुनिश्चित गर्ने बताए ।
कासिछ्वाले विजयी भए पछि प्रदेशबाट बढी भन्दा बढी बजेट ल्याएर आफ्नो क्षेत्रको बिकास गर्ने घोषणा गरेका छन् । त्यस्तै विजयी भए पछि सरकारबाट पाउने सबै सेवा सुविधा आफ्नो क्षेत्रका गरिब विद्यार्थीको शिक्षा हासिल गर्न र गरिब विरामीको निःशुल्क उपचारमा खर्च गर्ने घोषणा गरेका छन् । तलब, भत्ता, सेवा सुविधा आफूले कुनै पनि प्रयोग नगर्ने र आफ्नो आमाको नाममा रु. २ करोडको अक्षय कोष खडा गरेर त्यसबाट आएको ब्याजबाट हरेक वर्ष गरिब विद्यार्थी र बिरामीका लागि निःशुल्क शिक्षा र उपचारमा खर्च गर्ने घोषणा गरेका छन् ।
भक्तपुर अस्पतालको मेसुमा डा. गौतम नियुक्त, बच्चाको ओपिडी निःशुल्क गर्ने, बन्द भएको सेवा पुनः सञ्चालन गर्ने निर्णय
उहाँको कार्यकालमा भक्तपुर अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अंक प्राप्त गरी २०७७ सालमा प्रदेश अस्पतालहरुमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भइ पुरस्कार प्राप्न गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा बिस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक ८०० देखि १००० सम्म विरामीको चाप बढेको थियो ।
========================================
भक्तपुर, ३० भदौ : वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. सुमित्रा गौतमलाई नियुक्त गरेको छ ।
मन्त्रालयले उहाँलाई बुधबार दोश्रो पटक भक्तपुर अस्पतालको मेसुमा नियुक्त गरेसँगै पदबहाली गर्दै उहाँले आजबाट लागू हुने गरि बालबालिकाको ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।
त्यस्तै अस्पतालमा आउने बेवारिसे विरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यबस्थापनसमेत निःशुल्क गर्ने निर्णय गरेको छ । यसअघि अस्पताल प्रशासनले बेवारिसे विरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यबस्थापन समेत रोकेको थियो ।
भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले डा. गौतमलाई अस्पतालमा स्वागत गर्दै समिति र अस्पताल व्यबस्थापनले विरामीको महत्वपूर्ण सेवा सञ्चालनकाबारेमा बिभिन्न निर्णयहरु गरेको अध्यक्ष सुवालले जानकारी दिनु भयो ।
कोरोमा भाइरस संक्रमणको जटिल अबस्थामा तत्कालिन मेसु रहदा डा.गौतमले भक्तपुरमै पहिलो पटक पीसीआर टेष्टका लागि स्वाब संकलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आईसियू, बच्चाको लागि एनआइसियू, एचडियूलगायन अन्य बिभिन्न सेवाहरु बिस्तार गर्नु भएको थियो ।
उहाँको कार्यकालमा भक्तपुर अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अंक प्राप्त गरी २०७७ सालमा प्रदेश अस्पतालहरुमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भइ पुरस्कार प्राप्न गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा बिस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक ८०० देखि १००० सम्म विरामीको चाप बढेको थियो ।
डा. गौतमको सरुवा गरि प्रदेश मन्त्रालयले सोही अस्पतालमा कार्यरत जुनियर डा.श्रीधर अर्याललाई निमित्त मेसुको जिम्मेवारी दिएपछि अस्पतालमा बेतिथि बढेको र विरामीको उपचार नगरी निजी अस्पताल रेफर गर्न थालेको भन्दै विरामी र स्थानीयद्धारा बिरोध गर्दै आएका थिए ।
अस्पतालले सञ्चालनमा रहेको आइसियू, एनआइसियू, एचडियू सेवा बन्द गर्नुको साथै निजी क्लिनिक र औषधि पसलमा विरामी पठाउन थालेको भन्दै विरामीको चाप घटेर दैनिक ४०० मा झरेको अस्पताल प्रशासनले जनाएको थियो ।
अस्पतालमा हुदै आएको शल्यक्रियासमेत ३ बजेपछि राखेर निजी क्लिनिकका रुपमा सञ्चालन गरि मंहगो शुल्क लिएको, मेसु अर्यालले प्रत्येक शल्यक्रियामा प्रतिशतका आधारमा कमिसन लिने गरेको र मासिक पाँच लाखसम्म कमिसन बुझेको भन्दै अस्पतालको कर्मचारी र चिकित्सकले बिरोध गर्दै आएको थिए । अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारमा समेत पटक पटक उजुरी परेको प्रशासनका कर्मचारीले जानकारी दिएको छ ।
भक्तपुर अस्पताललाई फेरी पनि नमूना अस्पताल बनाउने डाक्टर गौतमले बताउनु भएको छ । उहाँले भक्तपुर अस्पताललाई फेरी पनि उत्कृष्ट बनाउने, बन्द भएका सेवाहरु तत्कालै सूचारु गर्ने, यहाँका बेतिथिहरुलाई रोक्ने, भक्तपुर र पूर्वका बिभिन्न जिल्लाबाट आउने विरामीलाई उपचारका लागि रेफर भएर जानु नर्पे गरि सेवा सञ्चालन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
विरामीको ज्यान माथि खेल्ने डा. तिवारी लगायतलाई कारबाहीको माग
भक्तपुर, २४ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीको स्वास्थ्य माथि गम्भिर खेडवाड गर्ने डा.अनिषा तिवारीसहितलाई कारबाही गर्न माग गरेको छ ।
आज केन्द्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित पीडित विरामीका दाजु गणेशराम कोजूले विरामीको ज्यानै जोखिममा राखेर शल्यक्रिया गर्ने गराउने डा. तिवारीसहितलाई कारबाचही गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा घट्नाबारे जानकारी दिदै निर्देशक डा. श्रेष्ठले अस्पतालका शल्यक्रिया कक्षका प्राबिधिक गणेशराम कोजूको बहिनी स्थानीय कमल केशरी कोजुको गत साउन २४ गते केन्द्रमा पित्तथैलीको शल्यक्रिया गर्दा डा. तिवारीले गम्भिर लापर्वाही गरेको र विरामीको ज्यान जोखिममा पारेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “मेडिकलको नियममै कुनै पनि अप्रेशन गर्नु अगाडि डाक्टरले आफूभन्दा माथिको कन्सल्टेण्डलाई जानकारी गराउनु पर्छ, तर त्यसो नगरी जथाभावी र लापर्वाही रुपमा शल्यक्रिया गरेर अत्यन्तै रक्तश्राव भएर ज्यानै जोखिममा परेपछि केन्द्रले त्यसबारे स्पष्टिकरण लिएर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा डा. तिवारीले आफ्नो कारबाही बच्न मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेर अस्पतालकै बदनाम गराउन खोजेकी छिन् ।”
उहाँले घट्नाबारे सुक्ष्म रुपमा अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्न माग गर्नु भयो । उहाँले भन्नुभयो, “अस्पतालमा अक्षम्य र गम्भिर घट्ना भएको छ, यसले यहाँ आउने बिरामीको स्वास्थ्य र जीवन सुरक्षामा समेत चुनौती थपिएको छ, डा. तिवारीको लापर्वाहीको यो पहिलो घट्ना होइन, एउटा डाक्टरले लापर्वाही गरेर विरामीको ज्यानै जोखिममा पार्ने र स्पष्टिकरण खोध्न खोज्दा उल्टै बिभिन्न आरोप लगाएर चरित्र हत्या गर्न खोज्ने, यो घट्नाको सत्यतथ्य छानबिन होस् म दोषी ठहरिए कारबाही भोग्न तयार छु, अरु दोषी देखिए कारबाही हुनु पर्छ, चिकित्सकीय पेशा र यो अस्पतालको मर्यादा कायम राख्नु पर्छ ।”
गत साउन २४ गते स्थानीय कमल केशरी कोजुको पित्तथैलीको दूरबिन प्रबिधिबाट शल्यक्रिया गर्न डा. तिवारी जटिल रुपमा लापर्वाही गरेर आफ्नो बहिनीको ज्यानै जोखिममा पारेको पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षकै प्राबिधिक एवं पीडित विरामीको दाजू गणेशराम कोजूले डा. तिवारीलाई कारबाही गरि क्षतिपूर्ती भराउनु पर्ने माग गर्नु भयो ।

उहाँले भन्नुभयो, “दूरबिन प्रबिधिबाट सुरु गरेको अप्रेशन डाक्टरको लापर्वाहीले अत्यन्तै रक्तश्राब भएपछि ओपन गर्नु पर्यो, म अप्रेशन थियटरमै काम गर्ने कर्मचारी, धेरै अप्रेशन हेरेको छु, मेरो बहिनीको अबस्था अब बिग्रियो भनेर ज्यान बचाउन सिनियर डाक्टरलाई बोलाए, त्यसपछि डा. राकेश बर्मा र डा. पुकार चन्द्र श्रेष्ठ आएर थप उपचार गरेर बहिनीको ज्यान बचाउन लाग्दा उल्दै डा. तिवारीले जथाभावी भनेर बाहिरको डा. संजिव शाहलाई बोलाएर भिडियो खिचेर रमिता गर्न थाल्नु भयो ।”
यस अस्प्तालमा प्रभावकारी उपचार हुन नसके पछि बहिनीलाई अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गराईरहेको बताउदै उहाँले केएमसीको डाक्टरले जान्दै नजानेको डाक्टरबाट शल्यक्रिया गर्न लगाएर ज्यान जोखिममा पारेको प्रतिक्रिया दिएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, “मेरो बहिनीको अबस्था निकै नाजुक छ, उपचारमा लाखौ खर्च भइसकेको छ, विरामीको ज्यान माथि खेलबाड गर्ने डाक्टरलाई कारबाही होस्, उपचारमा लागेको खर्चको क्षतिपूर्ति भराईयोस् ।”
अपरेसन गर्दा लापरवाही अत्याधिक रक्तश्राव भई बिरामीको ज्यानै जाने अवस्था डा.राकेशकुमार वर्मा र डा.पुकारचन्द्र श्रेष्ठले विरामीको ज्यान बचाएको उहाँले बताउनु भयो । डा. अनिसाले यहाँ कार्यरत स्टाफ नर्सलाई समेत पटक पटक अभद्र व्यबहार गर्दै अपरेशन थियटरबाटै निकालेको भन्दै अस्पतालका नर्सिङ विभागदेखि अन्य कर्मचारीले संयुक्त हस्ताक्षर सहित कारबाहीको माग गर्दै आवेदन दिएका छन् ।
पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षमा कार्यरत डा. सभिया नागा, एनेस्थेसिया प्रमुख डा. आरती राई, एनेस्थेसियन डा. शिव सिटौला, नर्स बबिता कोजूलगायतले डा. तिवारीले विरामीको शल्यक्रिया र उपचारका गम्भिर लापर्वाही गरेको बताउनु भयो ।
केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले यहाँका डाक्टरको १ण् देखि ५ बजेसम्म डियुटी गर्नु पर्ने भए पनि डा. तिवारीसहित केही कर्मचारी प्रायः ढिला आउने, छिटो जाने, विरामीको उपचारमा ओपिडीमा धेरै समय नबस्ने, डायलोसिसका लागि फिस्टुला नबनाई विरामी फर्काउने गरेको गुनासो धेरै आएको र विरामीको ज्यान जोखिममा राखेर लापर्वाही गरेकोमा अस्पतालले स्पष्टीकरण सोधेको बताउनु भयो ।
कार्यक्रममा मिर्गौला पीडित सरोकार समाजको अध्यक्ष बलराम सुवेदी, मिर्गौलाका विरामी झंक श्रेष्ठले डा. तिवारीसहित केही डाक्टरहरु ओपिडीमा विरामी थुपारेर उपचारमा समेत नआउने, चिया खाएर बाहिरै बस्ने र पटक पटक गुनासो गर्दा पनि सुनुवाई नभएको भन्दै त्यस्ता डाक्टरलाई कारबाही नगरे विरामीले आन्दोलन गर्ने बताउनु भयो ।
थप दुई सय २७ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु
काठमाडौँ, २३ भदौ : देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार चार सय एक जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार पाँच सय १८ जनाले पिसिआर र दुई हजार आठ सय ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा एक लाख ४३ हजार पाँच सय ९५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा एक सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार नौ सय ४९ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १० पुगेको छ । होम आइसोलेशनमा दुई हजार तीन सय ७०, संस्थागत आइसोलेशन एक सय तीन, सघन उपचार कक्षमा २२ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर रहेको छ ।
शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ७२, ललितपुरमा चार सय ३५ र भक्तपुरमा ३६ सक्रिय सङ्क्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रथम राष्ट्रिय धामीझाँक्री सम्मेलन
झापा, १८ भदौ : नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले धामीझाँक्रीमा वर्ग, लिङ्गजस्ता कुनै पनि किसिमको विभेद् नहुने बताउनुभएको छ । धामीझाँक्री समाजको अभिन्न अङ्ग भएकोे भन्दै उहाँले धामीझाँक्रीलाई समाजमा अझै पनि उच्च स्थानमा राख्ने गरिएको बताउनुभयो ।
नेपाल राष्ट्रिय धामी वैद्य सङ्घद्वारा आज झापाको विर्तामोडमा आयोजित प्रथम राष्ट्रिय धामीझाँक्री सम्मेलन तथा ‘नेपाली धामीझाँक्री संस्कृति तथा परम्परागत उपचार पद्धति’ विषयक पुस्तक लोकार्पण कार्यक्रममा गुरुङले धामीझाँक्रीलाई हेयका दृष्टिले हेर्न नहुने धारणा राख्नुभयो । झाँक्रीविद् एवं पुस्तकका परिकल्पनाकार भोलानाथ बाँस्तोलाको अनुसन्धान, निर्देशन र प्रकाशनमा प्रकाशित पुस्तकमा २० जना धामीझाँक्रीको अनुभव समेटिएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृतिविद् डा भक्त राईले धामीझाँक्री परम्परा र विज्ञान, नेपाल संस्कृत विश्वविद्यालयका तन्त्रविद् डा माधवप्रसाद लामिछानेले धामीझाँक्री परम्परासँग वैदिक र तान्त्रिक सिद्धान्तको अन्तर सम्बन्ध, पुस्तकका सम्पादक सापकोटाले बलि परम्परा, पञ्चतत्व, पाञ्चायन देवता र तन्त्र र झाँक्रीविद् बाँस्तोलले लोकसंस्कृति र परम्परामा झाँक्रीको स्थान साथै धामीझाँक्रीले चलाउने सामग्रीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा रु एक करोड ६० लाखको लागतमा अर्जुनधारा–७ स्थित जरुवामा निर्माण हुने सङ्घको भवनसहित सङ्ग्रहालय र गुफा घरको गुरुयोजनासमेत सार्वजनिक गरिएको थियो । सो समारोहमा गुरु डिल्लीराम आचार्य, छविलाल रसाइली, डिल्लीराम बाँस्कोटा, खडानन्द अधिकारी, गोगलाल राजवंशी, दलबहादुर लक्सम, बाबुलाल दनुवार, मीनकुमार दनुवारले झाँकी र मुकुट प्रदर्शन गर्नुभएको थियो । सम्मेलनमा झापासहित ताप्लेजुङ, इलाम, मोरङ र धनकुटा गरी पाँच जिल्लाका धामीझाँक्री सहभागी भएका थिए ।
नगर प्रमुख खत्रीको अध्यक्षतामा चाँगुनारायण अस्पताल सञ्चालन समिति गठन : गुणस्तरीय सेवा बिस्तार उच्च प्राथमिकतामा
भक्तपुर, १७ भदौ : चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको अध्यक्षतामा चाँगुनारायण नगर अस्पताल सञ्चालन तथा व्यबस्थापन समिति गठन गरेको छ । चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण नगर अस्पतालमा सञ्चालन कार्यबिधी अनुसार समिति गठन भएको हो । आज नगर प्रमुख खत्री, उपप्रमुख रमेश बुढाथोकीसहित कार्यपालिका सदस्य एवं अस्पतालका कर्मचारीको बैठकमा सहभागिता रहेको थियो ।
समितिको वरिष्ट उपाध्यक्षमा उपप्रमुख बुढाथोकी, उपाध्यक्षमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापा, जनप्रतिनिधि र कर्मचारी रहेको १६ सदस्यीय समिति गठन भएको छ । समिति सदस्यहरुमा नपाका प्रमुख प्रशासकीइ अधिकृत हरिप्रसाद चापागाई, १, ४ र ५ का वडाध्यक्षहरु सिजन कार्की, रोजबहादुर तामाङ र जयन्द्र खड्का, सामाजिक विकास समिति संयोजक जनक खत्री, वडा तथा कार्यपालिका सदस्य कमला भारती, सीता मिजार रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा संगीता फुँयाल, सुरेन्द्र लामिछाने, स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल, दुर्गा कुईकेल, चाँगुनारायण अस्पतालका डा. शैलेस त्वायनावासु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजार सदस्य रहको समिति गठन गरेको छ ।
समितिले आजै अस्पतालका वर्तमान अबस्था, कमि कमजोरी, सेवा प्रवाहका सहज बनाउन आवश्यक सामग्रीको अबस्थासहितको बस्तुगत विवरण संकलन गरि आगामी एकसाता भित्र नगरपालिकालाई बुझाउनु पर्ने, अस्पतालसम्म पुग्ने सडक तत्काल पक्कि गर्ने, अस्पतालको आफ्नै खाता सञ्चालन गर्ने लगायतको निर्णय गरेको नगर प्रमुख एवं समितिका अध्यक्ष खत्रीले जानकारी दिनु भयो । समितिका उपाध्यक्ष थापाको अध्यक्षतामा दैनिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ ।
चाँगुनारायणको ग्रामिण क्षेत्रका बासिन्दालाई पहिलो उपचारका लागि सहज बनाउने उदेश्यले नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्ने उदेश्यले नगरपालिकाले बजेटको विनियोजन गर्दै थप बजेट प्रदेश तथा संघीय सरकारसँग माग गर्ने गरि अस्पतालाई बिस्तार गर्ने योजना बनाएको उहाँले बताउनु भयो ।
हाल १५ शैय्यामा सञ्चालित चाँगुनारायण अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, २४ सै घण्टा प्रसुती सेवा, ल्याब, ओपिडी, सामान्य शल्यक्रिया, बिमा फार्मेसी, खोप सेवा, परिवार नियोजन सेवा, एक्सरे सेवा, नाक, कान, घाँटी सेवा, किशोर किशोरी मैत्री सेवा, आठ हप्तासम्मको गर्भपतन सेवा, निःशुल्क औषधि वितरण, एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।

आफ्नै अक्सिजन उत्पादन सुरु गरेको अस्पतालमा प्राबिधिक सामाग्रीहरुको विस्तार गर्दै भेन्टिलेटरसहितको आइसियू, सिसियू, आधुनिक ल्याब लगायतको व्यबस्था गर्दै विशेषत्र सेवा विस्तार गर्ने योजना रहेको नगर प्रमुख खत्रीले बताउनु भयो ।
नगरपालिकाले आपतकालिन सेवा पूर्व तयारी, गाउँघर क्लिनिक, जेष्ठ नागरिक स्वास्थ्य सेवासञ्चालन गरेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो । अस्पतालमा एक चिकित्सक, चार जना प्रशासन र अन्य नर्स गरि कूल २३ जना कर्मचारीले सेवा प्रवाह गरिरहेका छन् ।
नेपाली कांग्रेसका तत्कालिन युवा नेता रोशन पौडेलले २०६८ सालमा शिलन्यास गरि सरकारको रु. तीन करोड ८७ लाखको लागतमा निर्माण सम्पन्न भएको स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै कोरोना भाइरस संक्रमणको महामारीका बेलामा तत्कालिन शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले २०६६ मंसीर २८ गते उद्घाटन गर्नु भएको थियो ।
