सूर्यविनायक वडा नं. ८ सिपाडोलमा सार्वजनिक सुनुवाई सम्पन्न : चौतर्फी बिकासको लहरले फेरियो सिपाडोल

भक्तपुर, २ असार । एक दशक अगाडिसम्म भक्तपुर जिल्लामै निकै पिछडिएको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलले १० वर्षको अन्तरालमा मुहार फेरेको छ ।
स्वास्थ्य सेवा लिन, माध्यमिक शिक्षा एवं उच्च शिक्षा अध्ययन गर्नदेखि त्यहाँ उत्पादन कृषि सामग्रीहरु बजार व्यबस्थापन गर्न भक्तपुरको सूर्यविनायक चोक वा काभ्रेपलाञ्चोकको बनेपा पुग्नु पर्ने बाध्यता रहेको यहाँको बासिन्दाका घरदैलोमा विकासले छोएपछि यहाँको मुहार फेरिएको हो ।

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा सूयविनायक नगरपालिकाको सहयोगमा आज वडा कार्यालयमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेतले विगत १० वर्षको अन्तरालमा सिपाडोलको विकासले यहाँको मुहार फेरेको बताउनुभो ।

वडाध्यक्ष बस्नेतले भन्नुभयो, ‘विकासले गति लिए पछि यस क्षेत्रको मुहार फेरिएको छ, जनताको घर आँगनसम्म पक्कि सडक पुगेको छ, यातायातका साधन घरघरसम्म पुगेका छन्, एक घर एक धारा अभियानले दैलोमै खानेपानी आउँन थालेको छ, सूर्यवनायक गणेश मन्दिरदेखि प्रसिद्ध डोलेश्वर महादेव र आशापुरी महादेवले धार्मिक पर्यटनको विकास भएको छ, विगत चार वर्षमा यस वडामा मात्रै एक अर्ब ५० करोडको बजेट कार्यान्वयनमा ल्याएर यहाँको मुहार फेर्न सफल भएका र्छौ ।’

अहिले गाउँमै उच्च मावि पुगेको, स्वास्थ्यका सबै सुबिधा गाउँमै पुगेको, घरदैलो स्वास्थ्य सेवा पुर्याएको, सडक, शिक्षा, स्वास्थ्य, धार्मिक तथा सांस्कृतिक, पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन लगायतका अन्य सामाजिक सेवा प्रवाहका कार्यहरु गरी जनताको माग, चाहना र आवश्यकताका आधारमा संघ, प्रदेश तथा पालिकाबाट बजेट व्यवस्थापन गरि जनताको तिव्र विकास र समृद्धिप्रतिको चाहनालाई सक्दो पुरा गर्ने प्रयास गरेको उहाँले बताउनुभयो ।

चार वर्षको अन्तरालमा सूर्यपवनायक नगरपालिकाबाट करिब ५० करोड बजेट ल्याएर विकासका कार्यलाई पूर्णता दिएको, त्यस बाहेक स्थानीयवासी एवं वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले वागमती प्रदेश सरकारबाट ल्याएको बजेटदेखि संघीय सरकारबाट आएको बजेटबाट विकास सम्भव भएको बताउनुभयो ।

वडाध्यक्ष बस्नेतले भन्नुभयो, ‘हाम्रो कार्यकालपछि वडामा ४ वटा पुल, ३ वटा ट्रष्ट पुल, वडाका मुख्य मुख्य सडकहरुको निर्माण, कालोपत्रे, ढलान तथा ग्राभेल विच्छ्याउने कार्यदेखि सामुदायीक भवनहरु निर्माण, शान्ति सुरक्षालाई मध्यनजर गर्दै ५५ वटा चोकमा सीसी क्यामेर जडान गर्नुका साथै चार ठाउँमा प्रहरी विट स्थापना गरेका छौं, जेनजी आन्दोलनपछि पूर्ण रुपमा ध्वस्त भएका प्रहरी चौकीको पुनःनिर्माण गरेका छौं । त्यस्तै धार्मिक, संस्कृतिक, सम्पदा संरक्षण, मन्दिर निर्माण, गुम्बा, पाटीपौवाको स्तरउन्नती गरेका छौं भने विभिन्न धार्मिक तथा सांस्कृतिक संस्थाहरुलाई सामग्री वितरण गरी संरक्षण र सम्वद्र्धनमा विशेष जोड दिएका छौं ।’

पौराणीक तथा परम्परागत नामलाई संरक्षण गरिएको जानकारी गराउँदै उहाँले सामुदायीक वन संरक्षण, पार्क निर्माण, खेलमैदान निर्माण, ओपन जिम निर्माण तथा स्तरउन्नतीका कार्यहरु भइरहेको जानकारी गराउनुभयो । सामुदायीक विद्यालयमा आधुनिक प्रविधिको अध्यापन गराउन एआईको पाठ्यक्रम समेत तयार गर्ने क्रममा रहेको उल्लेख गर्दै उहाँले योगको माध्यमबाट नागरिकलाई निरोगी बनाउने कार्यलाई समेत व्यापकमात्रामा बढावा दिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मानसिक स्वास्थ्य तथा तनाव विसर्जनका कार्यहरुलाई टेवा पुर्याइरहेका छौं । युवा, महिला सशक्तीकरण, वालवालिका तथा जेष्ठ नागरिकको लागि आवश्यक बजेट व्यवस्थापन गरेका छौं । गोठ–गोठमा, खेत–खेतमा प्राविधिक पुर्याउने अभियान चलाइरहेका छौं । जसको लागि दुई वटा कृषि सडक स्तरउन्नती भइरहेको छ । उद्योग घर बनेको छ । त्यसको लागि कार्यविधी समेत तयार भइसकेको छ । त्यस्तै कोशेली घर, होमइस्टे सञ्चालन गरी आयआर्जको माध्यमलाई बढावा दिइरहेका छौं, रोजगारीको लागि एक कदम अगाडी बढेका छौं ।’

एक घर, एक खानेपानीको अवधारणा अनुसार वडामा कार्यहरु भइरहेको उल्लेख गर्दै उहाँले वडामा रहेका खानेपानीको स्रोतले नगरपालिका मात्र नभई भक्तपुर जिल्लालाई नै पुग्ने स्रोत रहेको दावी गर्नुभयो । वडामा रहेको खानेपानीको स्रोत व्यवस्थापन गर्न जरुरी रहेको औंल्याउँदै उहाँले खेलकुद र सार्वजनिक यातायातको व्यवस्थापन भएको बताउनुभयो । चालु आर्थिक वर्षमा नगरपालिकाबाट १२ करोड बराबरका योजनाका कार्यहरु गरिएको बताउनुभयो । जंगली जनावरहरुको संरक्षण प्राणी उद्यानबाट हुनुपर्नेमा जोड दिँदै उहाँले उक्त उद्योनको क्षेत्राधिकार संघीय सरकारको भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ आलोनात्मक समर्थन नै अगाडी बढ्ने मुख्य माध्यम हो । कमजोरि देखाउने मात्र नभई सुधारात्मक हुनुपर्छ । विकासको मन्दिर बन्यो, अब गजुर राख्नमात्र बाँकी छ । तर मूल्य वृद्धि र अमेरिका–इरानबीचको युद्धका कारण सामग्री अभावका कारण समस्या उत्पन्न भएको छ । डोलेश्वर मन्दिरमा करिव १९ करोड बराबरको भौतिक तथा अन्य विकास भएको छ । जसले नेपालको मात्र नभई विदेशीहरुको नै प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको छ ।’

कार्यक्रममा वडासचिव प्रतिमा लामिछानेले वडाको प्रशासनिक तथा सेवा प्रवाहहरुको बारेमा जानकारी गराउनुभयो । प्रशासनिक सेवामा वडाले प्रकृया पुरा गरेकालाई १० मिनेट भित्रमा सेवा प्रवाह गरी जनताको अपेक्षा अनुसार कार्यसम्पादन गरिरहेको दावी गर्दै उहाँले चालु आर्थिक वर्षमा वडामा दुई करोड दुई लाख ३२ हजार पाँच सय २५ रुपैंया राजस्व संकलन भएको जानकारी गराउनुभयो । वडामा सरसफाई, सेनेटरी प्याड वितरण, मनोपरामर्श, ५० प्रतिशतको साझेदारीमा विद्युतीय चुलो वितरण, दुई तथा चार पांग्रे ड्राइभिङ तालिम, अध्ययन अवलोकन भ्रमण, सचेतनामूलक कार्यहरु, घरघरमा प्रहरी साझेदारी कार्यक्रम, क्षमता अभिवृद्धि, खेलकुद, कौशीखेती, घुम्ती हाटबजार, कुकुर बन्ध्याकरणलगायतका जनताको जीवनमा प्रत्यक्ष रुपमा देखिने र प्रयोग गरिने सेवाहरु गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘वडाले आफ्नै भवन निर्माण गरेको छ । जहाँबाट सहज र सुलभ तरिकाले प्रशासनिक सेवा प्रवाह गरिरहेका छौं । वडाबाट नै कृषि तथा पशुपन्छी सम्बन्धी कार्यहरुको सेवा प्रवाह शुरु गरेका छौं । वडामा सेवाग्राहीलाई लक्षित गर्दै प्रतिक्षालय, स्तनपान कक्ष, सडकमा सीसी क्यामेरा जडान, सडक बक्ति, विपद व्यवस्थापनका सामग्रीहरु वितरण गरिसकेका छौं । त्यस्तै वडालाई वालमैत्री घोषणा गर्ने अन्तिम तयारी भइरहेको छ । पुस्तकालय शुरु गरेका छौं भने कुन शिर्षकको सेवा कुन समय भनेर सार्वजनिक सूचना पाटीमा उल्लेख गरेर नै सेवा प्रवाह गरिरहेका छौं ।’

सुनुवाई कार्यक्रममा सहभागीहरुले वडामा गरिएका कार्यहरुको उपलब्धीको संरक्षण हुनुपर्ने, विकास गर्दा विनास हुने जोखिम अन्त्य गर्नुपर्ने, जंगली जनवारको संरक्षण तथा नागरिकको सुरक्षा हुनुपर्ने, करको बोझ भएकाले त्यसलाई घटाउनुपर्ने, करसम्बन्धी बडापत्र राख्नुपर्ने, कानुनी साक्षरता कार्यक्रम आयोजना गर्नुपर्ने, ऐतिहासिक पार्टी, मठ मन्दिर तथा अन्य सम्पदाहरु मास्न नहुने, विद्यालयको भवन किन भाडामा दिइयो ? पूर्वाधारको विकाससँगै वातावरणको संरक्षण हुनुपर्ने, खेलमैदान बनाउनुपर्ने, सीसी क्यामेराको मर्मत गर्नुपर्ने, फोहोर व्यवस्थापन गर्नुपर्ने, ढल तथा खानेपानीको व्यवस्थापन–संरक्षण गर्नुपर्ने, ढल बनाएर मात्र सडक कालोपत्रे गर्नुपर्ने, स्थानीय स्तरमा स्वास्थ्य सेवा लिनेको संख्याको कारण खोजि गर्नुपर्ने, जलवायु परिवर्तन न्युनिकरणमूलक कार्य गर्नुपर्ने, शान्ति सुरक्षा कायम गर्नुपर्ने, मदिराजन्य पदार्थको सेवन तथा विक्रिमा नियमन गर्नुपर्ने लगायतका प्रश्न, सुझाव तथा गुनासोहरु गरिएको थियो ।

जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ सूर्यविनायक नगरपालिका वडा नं. ८ मा वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

जावफमा सिपाडोल स्थास्थ्य चौकीका प्रमुख पुष्पराज ठाकुरले स्वास्थ्य चौकीले नागकिरमैत्री सेवा तथा सुविधाहरु सहज रुपमा प्रवाह गरेको दावी गर्नुभयो । वडामा वृहत स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले ९८ प्रकारका औषधीहरु निशुल्क रुपमा वितरण गरिरहेको जानकारी गराउनुभयो । सुत्केरी पश्चात तथा खोपको लागि घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्य गरिरहेको उल्लेख गर्दै उहाँले वडामा एम्बुलेन्सको सेवा भने नभएको बताउनुभयो ।

त्यस्तै नगरपालिकाका योजना प्रमुख जनक न्यौपानेले आधुनिक विकास र विस्तारको क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कङ्क्रिटलाई कम गर्ने कार्यको शुरुवात भइरहेको जानकारी गराउनुभयो । कङ्क्रिटको ठाउँमा ब्लक राख्ने कार्यलाई बढावा दिइरहेको उल्लेख गर्दै उहाँले सडक बक्तिको लागि वडामा नै फोकल पर्सन तोकिएकाले सोही व्यक्तिलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । त्यस्तै सडक कालोपत्रे गर्नुपूर्व ढल बनाउन उपर्युक्त हुने भएकाले सोही अनुसार योजना अगाडी बढाइरहेको उल्लेख गर्नुभयो ।

संस्थाका अध्यक्ष पेशल कुमार आचार्यको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा कार्यपालिका सदस्य सावित्री मिश्र, वडा सदस्य अन्जना नेपाली, विक्रम तामाङ, सुपरभाइजर निराजन थापा, डोलेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा वडावासीको सहभागिता रहेको थियो ।

सूर्यविनायक नगरपालिका वडा नं. १ को सार्वजनिक सुनुवाई सम्पन्न, वडावासीले गरेनन् गनासो

भक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थले वडा नं. १ मा आफू निर्वाचित भएको करिब ९ वर्षमा सिरुटारमा विकासको लहर ल्याउन सफल भएको बताउनु भएको छ ।

क्रियासिल पत्रकार मञ्च भक्तपुरको आयोजना र सूयविनायक नगरपालिकाको सहकार्यमा सोमबार आयोजना सूर्यविनायक नगरपालिका वडा नं. १ कार्यालयको सभाहलमा सम्पन्न ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा उहाँले २०७४ साल अगाडिसम्म खानेपानीको चरम अभाव र सडकका समस्या झेलिरहेको यहाँका बासिन्दाके अहिले घरघरमा धारा एवं दैलो दैलोमा पक्कि सडक पुर्याएको बताउनुभयो ।

वडा अध्यक्ष कायस्थले भन्नुभयो, ‘यस वडामा १३ वटा पुल, ११ किलोमिटर कालोपत्रे, १० किलोमिटर ढलान सम्पन्न गरेका छौं । आगामी असारमा हिलोमा हिड्नु नपर्ने गरी सडक विकास र विस्तारका कार्यहरु भइरहेको छ । फुटसल निर्माण भएो छ, एक करोडको लागतमा पार्क, वालउद्यान एवं जेष्ठ नागरिक पार्क निर्माण गरिरहेका छौं, यही असार महिनाबाट वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने भएका छौं । नमुना सडक लगायतका भौतिक पूर्वाधारको विकास गर्ने कार्य तिव्र रुपमा भइरहेको छ । वडामा हाल १६०० भन्दा बढि खानेपानीका धाराहरु वितरण गरी जनतालाई खानेपानीको समस्या सक्दो समाधान गरिएका छौं ।’

२०७४ साल देखी ०७९ सालसम्म वडाको विकास र समृद्धिको लागि अत्याधिक मात्रामा बजेट तथा योजनाहरु सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले सो पछि वडामा धेरै योजनाहरु संघीय सरकारले कटौती गरेको भन्दै गुनोसो गर्नुभयो । अहिलेको बजेटमा संघीय सरकारबाट वडामा शुन्य रकम भएको गुनासो गर्दै उहाँले चालु योजनाहरुलाई संघले बजेट नदिएपनि प्रदेश र पालिकाबाट भएपनि सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘संघीय सरकारले बजेट नदिँदा योजनाहरु अलपत्र परेका छन् । कृषि उत्पादनको विकास र विस्तार गर्दै बजार व्यवस्थापन गर्ने जिम्मा नै म लिन तयार छु । उत्पादन गनुृस्, बजारको समस्या हुन दिन्न । त्यस्तै आध्यात्मिक कुरा वा योगाको विकास र विस्तार गर्न कुनै कन्जुस्याई हुने छैन । व्यवस्थापनमा समेत समस्या हुँदैन ।’
खेलकुददेखि शिक्षासम्म, कृषिदेखि सडकसम्मको विकासलाइ तिब्रता आएको बताउँदै उहाँले ललितपुरको सिमानाबाट कतिपय लागू पदार्थ प्रयोग कर्ता आउने गरेको बताउनुभयो । उहाँले कोठा र जग्गा भाडामा दिदाँ परिचय खुल्ने कागज लिएर मात्रै भाडामा दिन आव्हान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको सेवा नै हाम्रो जिम्मेवारी हो । जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै हामीले पूर्वाधार निर्माण, सामाजिक कार्य तथा लक्षित वर्गका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । भौतिक विकासमात्र नभई मानवीय विकासलाई उच्च प्राथमिकता दिएका छौं । जसमा धर्मसंस्कृति, खेलकुद, मठमन्दिर निर्माण तथा संरक्षण, सडक हरियाली, सीसी क्यामेरा जडा तथा मर्मत, बालउद्यान निर्माण गर्ने कार्य अगाडी बढेको लगायतका असंख्य कार्यहरु गरिरहेका छौं ।’

सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय बासिन्दाले वडा कार्यालय तथा जनप्रतिनिधिप्रति कुनै उल्लेखनीय गुनासो नराखेपछि कार्यक्रमको वातावरण निकै सकारात्मक बनेको थियो । विकास निर्माण, सेवा प्रवाह र जनअपेक्षा सम्बोधनका विषयमा स्थानीयले सन्तुष्टि व्यक्त गरेपछि कार्यक्रममा उपस्थित पत्रकार दिवस गुरागाईंले वडा अध्यक्षलाई रोचक शैलीमा प्रश्न गर्दै भन्नुभयो, “स्थानीय नागरिकलाई यति धेरै खुसी बनाउनुभएको रहेछ, अब तपाईं स्वयं चाहिँ कतिको खुसी हुनुहुन्छ ?

जवाफमा वडा अध्यक्ष कायस्थले नागरिकको खुशी नै आफ्नो खुशी रहेको बताउदै नागरिककको सेवा नै आफ्नो खुशी रहेको बताउनुभयो । उहाँले यस वडाले विभिन्न बाल समुह बालमैत्री कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिनुभयो। जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिसकेको र युवा लक्षित कार्यक्रम केहि सम्पन्न भैसकेको र केहि बाँकी रहेको बताउनुभयो । खानेपानीको समस्या भैरहेको र सिरुटार खानेपानी को लागि २ लाख लिटर ट्याङकी निर्माण गरेको बताउनुभयो । भौतिक पुर्वाधारमा मात्रै होइन मठ मन्दिर मा रङगरोहन गरेको र योग क्षेत्रमा काम गरेको बताउनुभयो । कौशलटार क्षेत्रमा ५ सय २० वटा फुल रोपेको बताउनुभयो ।

वडामा सीसी क्यामेरा ३० वटा जडान गरिएको बताउदै खेलकुदमा पनि खेलमैदान पनि रहेको बताउनुभयो । थापागाउ जाने नमुना बाटो बनाउन सम्पन्न भएको बताउनुभयो । बालमैत्री खेलमैदानका लागि अबको २०८३ ८४ मा बजेट माग गरिएको बताउनुभयो । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ आयोजना भएको वडास्तरीय सार्वजनिक सुनुवाईमा वडा सचिव राम श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन एवै सेवा प्रवाहको बिवरण प्रस्तुत गर्नु भएको थियो ।

वडा सचिव राम श्रेष्ठले वडा कार्यालयले जनताको सेवा, सुशासन, जवाफदेहिताका विषयमा जानकारी गराउदै नगर कार्यपालिकाबाट रु दुई करोड ६० लाख बराबरको चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा अन्य सामाजिक क्षेत्रहरुमा कार्यसम्पादन गरिएको बताउनुभयो ।

उहाँले उक्त रकम बराबर वडामा ६५ वटा साना तथा ठूला आयोजनाहरु सञ्चालन भएको बताउदै एक करोड चार लाख ७१ हजार ३०६ रुपैंया राजस्व संकलन भएको बताउनुभयो । उहाँले वडामा लक्षित कार्यक्रम अन्तरगत अपाङ्गता, जेष्ठ नागरिक, महिला, वालवालिका, युवा, विपद् व्यवस्थापन, धर्मसंस्कृति, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा जनताको माग, आवश्यकता र चाहना अनुसार कार्य गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रहरी वृत्त ठिमीका प्रमुख (डिएपी) निसान थापाले भक्तपुरमा लागुऔषधको प्रयोग र विक्रि बढेको प्रति चिन्ता व्यक्त गर्दै स्थानीय तहका विकृति हटाउन समुदायन नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो । घरभाडामा बस्नेको विवरण राख्न आग्रह गर्दै उहाँले गलत कार्य रोक्न प्रहरीको मुख्य जिम्मेवारी भएको स्पष्ट पार्नुभयो । अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको लागि हरेक चोकमा गुणस्तरीय सीसी क्यामेरा आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।

उहाँले घरमा घरभाडामा राख्दा उसको सबै डकुमेण्ट आफुसँग राख्न अनुरोध गर्नुभयो । उहाँले कोहि आपराधिक कार्यमा संलग्न रहेको भएतापनि त्यहि डकुमेन्टका आधारमा पत्ता लगाउन सकिने र सहयोग पुग्ने बताउनुभयो । सिरुटार आफुलाई निकै सुन्दर लागेको र यहाँको विकास पनि निकै सुन्दर रहेको भन्दै प्रशंसा गर्नुभयो ।

पत्रकार पेशल आचार्यले वडा कार्यालयको भवन किन नबनेको भन्ने प्रश्नको जवाफ दिदै वडाध्यक्ष कायस्थले असार महिनामै भवन निर्माण सुरु गरिने बताउनुभयो ।
अर्का पत्रकार महेश गौतमले आइतबार विदाले विद्यार्थी, अभिभावक र अस्पतालमा कस्तो गुनासो आएको छ भन्ने जिज्ञासा राखेपछि वडाध्यक्ष कायस्थले आइतबारको बिदाले बालबालिका कुलतमा परेको गुनासो आएको बताउदै सूर्यविनायक नगर अस्पताल भने आइतबार खुल्ला गरेको बताउनुभयो । पत्रकार नारायण थापाले दधिकोट पधेरोदेखी परोपकार स्वास्थ्य केन्द्र सम्मको सडक कालोपत्र गर्दन आग्रह गर्नुभो ।

स्थानीय राजेन्द्र श्रेष्ठले सिरुटारको पहिचान झल्कने स्थानीयले सिरुटार प्रवेशद्वार बनाउन आग्रह गर्नुभयो । सबैठाउँमा ढल निकास भैसकेको ठाउँमा ढल निकास गर्न आग्रह गरेका छन । सडक बन्यो तर सडकमै पार्किङ जथाभावी पार्किङ हटाउन माग गरेका छन् । उहाँले वडामा भएको दुवै खोलामा करिडोर बनाउन माग गर्नुभयो ।
स्थानीय श्यामकृष्ण श्रेष्ठले मेलमिलाप सचेतनाका लागि बजेट विनियोजन गर्न माग गर्नुभयो । वडा अध्यक्ष कायस्थले जवाफमा माथि उठेका बाटो पिच गर्ने बताउनुभयो । कालोपाटी जाने बाटो पनि पिच हुने प्रतिबद्दता जनाउनुभयो ।

स्थानीय चन्द्रहरि कायस्थले स्वचेतना लागि सहयोग गरौ भनेर सचेतना जगाउन आग्रह गर्नुभयो । स्वास्थ्यको लागि श्रीहरि सेल्फ फाउन्डेसनका अध्यक्षले स्वास्थ्य नै सबैभन्दा ठुलो धन भएका कारण यसमा महत्वपुर्न काम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा स्थानीय दिवाकर थापाले सचेतनाको विकास, सडकमा पार्किङ हटाउनु पर्ने, नीतिमात्र नभई नियत सफा बनाउनुपर्ने, ढल तथा खानेपानीको न्युनतम आवश्यकता पुरा गर्नुपर्ने, आइतवार विदा दिनु नहुने, स्वास्थ्य विमालाई पहिलेको जस्तै बनाउनुपने बताउनुभयो ।

स्थानीय फलाम सिंह राईले किसानको लागि उर्जित गर्न के गर्नु पर्छ कसरी आयमुलक बनाउन के गर्ने भन्दै प्रश्न गर्नुभयो । किसानको समस्यालाई के गरि समाधान गर्ने के समस्या छन पहिचान गर्ने र समाधान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधिले निर्वाचित भएपछि हालसम्म भए गरेका सार्वजनिक सेवा प्रवाहको साथै भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा पर्यावरणीय विकासको बारेमा व्यापक छलफल तथा आगामी योजनाको बारेमा विस्तृतमा छलफल गरिएको थियो ।

पत्रकार एवं कार्यक्रम सञ्चालक पुष्कर बुढाथोकीले यस्ता सार्वजनिक सुनुवाई कार्याक्रममले जनताको सरोकारको विषय तथा समस्या उजागर हुने बताउनुभयो । उहाँले जनताले खोजेको विकासको मार्गचित्र प्रस्तुत गर्न सकिने उल्लेख गर्नुभयो ।

क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले सार्वजनिक काय्र्रकममा उठेका प्रश्न जिज्ञासा तथा सुझावहरु सम्बन्धित ठाउ एवं नगरपालिकामा पुर्याउने बताउनुभयो । विभिन्न स्थानीय संचारमाध्यम मार्फत उक्त जनस्तर बाट उठेका जिज्ञासा नगरपालिका पुराउने र समाधान खोज्ने बताउनुभयो ।

नेपालमै पहिलो पटक सरकारी अस्पतालमा तर्फ रोबोटिक शल्यक्रिया भित्रयाउदै भक्तपुर अस्पताल, सुरु गर्दै रोबोटिक शल्यक्रियादेखि तालिम केन्द्र
-रमेश गिरी
भक्तपुर, २८ जेठ : विरामी र विशेषज्ञ चिकित्सकबीच लामो दुरीमा रहेर विरामीको मुटु लगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी पहिलो पटक भक्तपुर अस्पतालले सञ्चालनमा ल्याउने भएको छ । भारत लगायत बिभिन्न देशहरुमा रोबोटिक सर्जरी अर्थात रोबोट मार्फत गरिने जटिल शल्यक्रिया सफल रुपमा सम्पन्न भएको धेरै उदाहरण पछि नेपालको सरकारी अस्पतालमा पहिलो पटक रोबोटिक सर्जरी भक्तपुर अस्पतालले सञ्चालनमा ल्याउन लागेको हो ।
नेपालमा दुईवटा निजी अस्पतालले रोबोटिक सर्जरी भित्रयाएर उपचार सुरु गरिसकेको भएपनि निजी अस्पतालले सञ्चालनमा ल्याएको भन्दा अत्याधुनिक रोबोटिक सर्जरी वागमति प्रदेश सरकारले पहिलो पटक भक्तपुरमा सञ्चालनमा ल्याउन लागेको हो ।
वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा पहिलो पटक भक्तपुर अस्पतालमा रोबोटिक सर्जरी सेवा सुरु गर्ने प्रक्रिया प्रदेश सरकारले सुरु गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अत्याधुनिक उपकरण र प्रबिधिको प्रयोग गरेर उपचारमा विश्व धेरै अगाडि बढेपनि नेपाल सधै पछाडि परिरहेको अबस्थामा नेपालमा पहिलो पटक सरकारी अस्पतालमा रोबोटिक सर्जरी सञ्चालन गर्ने जमर्को वागमति प्रदेश सरकारले गरेको छ, बोलपत्र आव्हान भइसकेको छ, अब एक सातामै खोल्छौ । यसले देशभरका विरामीलाई सहज र सुलभ रुपमा उपचार गर्न सक्छौं ।’
विश्वको एउटा देशको एउटा कोठामा बसेर चिकित्सकले अर्को देशको अस्पतालमा बसेका विरामीको समेत जटिल शल्यक्रिया गरेर उपचार गर्ने प्रबिधि रोबोटिक सर्जरी हो । वागमति प्रदेश सरकारको मुख्य मन्त्री इन्द्र बानियाँ र स्वास्थ्य मन्त्री किरण थापाले सरकारी अस्पतालमा गुणस्तरीय प्रबिधि भित्रयाएर सुलभ रुपमा उपचार गर्ने लक्ष्यका साथ वागमती प्रदेश सरकारले पहिलो पटक रोबोटिक सर्जरी ल्याउने निर्णय गरेको हो ।यो प्रबिधिमा विशेषज्ञ चिकित्सिकले भित्तामा जडित ठूलो स्क्रिन हेर्दै रोबोटमार्फत शल्यक्रिया गरिन्छ ।
मन्त्री थापाले उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत भएको मानिएको बताउनुभयो । शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदा र सहज हुने भक्तपुर अस्पतालका रोबोटिक विशेषज्ञ एवं कन्सल्टेन्ट सर्जन डा. रन्जिस कुमार पहाडी क्षेत्रीले जानकारी दिनुभयो ।
नेपालको चिकित्सा क्षेत्रमा झण्डै सवा शताब्दी लामो गौरवशाली इतिहास बोकेको भक्तपुर अस्पतालले विश्वसनीय स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । सरकारी अस्पतालहरूमध्ये लगातार उत्कृष्ट स्थान हासिल गर्न सफल यस अस्पतालले समयको माग र नयाँ प्रविधिसँगै आफ्नो सेवालाई अझ आधुनिक बनाउँदै लगेको अबस्थमा रोबोटिक सर्जरीले अस्पताललाई थप चईमा पुर्याउने विश्वस रहेको मन्त्री थापा मगर बताउनुहुन्छ ।
भक्तपुर अस्पताललाई रोबोटिक सर्जरी सेवासंगै यसको तालिम केन्द्रकाृ रुपमा विकास गरिने बताउनुभयो । यो सञ्चालनका लागि तालिम लिन मंहगो शुल्क तिरेर अब विदेश जानु नपर्ने र भक्तपुर अस्पतालबाटै यसको तालिम सञ्चालन गरेर देशभर आवश्यक जनशक्तिसमेत उत्पादन गर्ने लक्ष्य मन्त्रालयले लिएको उहाँले बताउनुभयो ।
भक्तपुर अस्पतालको १२२ वषै लामो इतिहासमा एउटा ठूलो र नयाँ काम सुरु भएको बताउदै डा. पहारी क्षेत्रीले रोबोटिक शल्यक्रिया (Robotic Surgery) को सुरुवातले भक्तपुर अस्पताल अब परम्परागत उपचार पद्धतिबाट माथि उठेर नेपालकै एउटा उत्कृष्ट उपचार र सिकाइ अर्थात तालिम केन्द्रको रुपमा विकास गर्ने अबस्थामा पुगेको बताउनुभयो ।
नेपालमा निजी क्षेत्रका केही अस्पतालहरूमा महँगो शुल्कमा यो सेवा सुरु गरेपनि सरकारी क्षेत्रमा रोबोटिक शल्यक्रिया सेवा सुरु गर्ने भक्तपुर अस्पताल नेपालकै पहिलो सरकारी अस्पताल हुने बताउदै उहाँले यो देशकै लागि एउटा ठूलो उपलब्धी र गर्वको कुरा भएको बताउनुभयो ।
सरकारी अस्पतालमा यो प्रविधि भित्रिदा गरिब तथा विपन्न वर्गका बिरामीहरूले पनि संसारकै उत्कृष्ट र आधुनिक प्रविधिबाट सस्तो र सुलभ मूल्यमा उपचार पाउने बाटो खुलेको अस्पतालका निमित्त अस्पताल निर्देशक डा. भित्रुवन चन्द्र झाले बताउनुभयो । यहाँबाट सस्तो र गुणस्तरीय सेवा सञ्चालन हुने उहाँल्े बताउनुभयो ।

के हो रोबोटिक शल्यक्रिया र यो कहाँ प्रयोग हुन्छ ?

कन्सल्टेन्ट सर्जन डा. रन्जिस कुमार पहाडी क्षेत्रीका अनुसार रोबोटिक शल्यक्रिया मेसिन वा रोबोट आफैँले अप्रेशन गर्ने नभई रोबोटका हातहरूलाई सर्जन (डाक्टर) ले नै आफ्नो नियन्त्रणमा राखेर गरिने शल्यक्रिया हो । उहाँका अनुसार डाक्टरले एउटा कम्प्युटर जस्तो मेसिन (कन्सोल) मा बसेर चलाउँदा रोबोटका हातहरू पेटभित्र निकै मसिनो र सटिक तरिकाले चल्छन् र शल्यक्रिया गरिन्छ ।
भक्तपुर अस्पतालमा विशेषगरी जटिल हर्निया (Advanced Hernia & abdominal wall reconstruction) पेटको मांसपेशी नै सिलाउनुपर्ने वा मिलाउनुपर्ने जटिल खालका हर्नियाको शल्यक्रिया गर्ने, पेट र आन्द्राको शल्यक्रिय, पत्थर, आन्द्राको, ट्युमर वा निकै साँघुरो ठाउँमा रहेका नसाहरू जोगाएर गरिने जटिल शल्यक्रियाहरु, पाठेघरको ट्युमर वा मिर्गौला र प्रोस्टेट सम्बन्धी जटिल समस्याहरूको शल्यक्रियादेखि कार्डियक ब्यारियाट्रिक र बाल चिकित्सा शल्यक्रियामा समेत सञ्चालन गर्ने लक्ष्य छ ।
कम दुखाइ र कम खर्चमा हुने यो प्रविधिले पेटलाई ठूलो पारेर चिर्नु नपर्ने, स–साना प्वालहरू मात्र पारेर शल्यक्रिया गरिन्छ । घाउ सानो हुने भएकाले बिरामीलाई शल्यक्रियापछि थोरै मात्र दुखाइ हने, बिरामीहरू अप्रेशनको एक दुई दिनमै हिँडडुल गर्न र घर फर्कन सक्ने र कम खर्चमै सम्पन्न हुनेछ ।  रोबोटिक शल्यक्रिया महँगो नहुने बिरामी अस्पतालमा धेरै दिन बस्नु नपर्ने, औषधी कम खानु पर्ने, रगत चढाउनु नपर्ने र चाँडै आफ्नो काममा फर्कन सक्ने हुनाले बिरामीको कुल खर्च र अस्पतालको बसाई निकै कम खर्च हन दाबी गरिएको छ ।
भक्तपुर अस्पतालले केबल बिरामीको शल्यक्रया मात्रै गर्ने नभई यस प्रविधिलाई अझ व्यवस्थित र सुरक्षित बनाउन रोबोटिक रजिस्ट्री (Robotic Registry) अस्पतालमा गरिएका प्रत्येक अप्रेशनको विस्तृत विवरण सुरक्षित राख्न एउटा राष्ट्रिय स्तरको डाटाबेस वा दर्ता प्रणाली (Registry) बनाइनेछ । यसले कुन रोगमा यो प्रविधि कति सफल भयो भनेर हेर्न सजिलो बनाउउने उहाँ बताउनुहुन्छ ।
यो प्रविधिलाई नेपाली बिरामीहरूमा अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हाम्रा सर्जनहरूले नियमित रूपमा अस्पतालमा वैज्ञानिक अनुसन्धान गर्ने लक्ष्य राखिएको छ ।
स्वास्थ्य बीमामा समावेश गर्न पहल गरिने बताउदै भक्तपुर अस्पताललाई केबल उपचार गर्ने ठाउँ मात्र नभई बायोमेडिकल र प्राविधिकलाई तालिम, नयाँ डाक्टरहरूलाई रोबोटिक शल्यक्रिया सिकाउने नेपालकै एउटा उत्कृष्ट सेन्टर अफ एक्सीलेन्स (Centre of Excellence) बनाउने तयारी समेत गरेको छ ।
सिपाडोलमा भव्य निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २५८ जनाले लिए सेवा

भक्तपुर, २० जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित सिपाडोल स्वास्थ्य चौकीमा आज बुधबार सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २५८ जनाले सेवा लिएका छन् ।

“दिगो विकास व्यवस्थित शहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर“ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सूर्यविनायक नगरपालिका ८ नं. वडा कार्यालयको आयोजना र सिपाडोल स्वास्थ्य चौकीको व्यवस्थापनमा उक्त शिविर सञ्चालन गरिएको हो ।

काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुरका विशेषज्ञ डाक्टरहरुको प्रत्यक्ष उपस्थितिमा बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सञ्चालन भएको शिविरमा विरामीको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।

वडाध्यक्ष पुष्पराज बस्नेतको विशेष पहलमा आयोजित स्वास्थ्य शिविरले नागरिकहरुलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसैगरी, सिपाडोल स्वास्थ्य चौकीका इन्चार्ज पुष्पराज ठाकुरको सक्रियतामा शिविरको व्यवस्थापन र बिरामीहरुलाई सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाइएको थियो ।

शिविरमा विभिन्न रोगका विशेषज्ञ सेवाहरु र परीक्षणहरु निःशुल्क रुपमा उपलब्ध गराइएको थियो शिविरमा जनरल मेडिसिन सेवा १०२ जनाले, हाडजोर्नी तथा नशा रोग सेवा ९० जनाले स्त्री रोगबारे ७५ जनाले, नाक, कान, घाँटी सेवा ६० जनाले, आँखा रोग सेवा ४१ जनाले, शल्यक्रिया (सर्जरी) ३५ जनाले दन्त रोग ३० जनाले, बाल रोग सम्बन्धी सेवा २० जनाले लिएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

यसका साथै, बिरामीहरुको रोग पहिचानका लागि शिविरमै निःशुल्क ल्याब परीक्षण, भिडियो एक्स–रे तथा ई.सि.जि. सेवा पनि उपलब्ध गराइएको थियो । जसअन्तर्गत १०० जनाले भिडियो एक्स–रे, ८७ जनाले ल्याब सेवा तथा ६३ जनाले ई.सि.जि. सेवा लिएका छन् । शिविरमा आएका बिरामीहरुलाई आवश्यक पर्ने औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

वडा कार्यालय र स्वास्थ्य चौकीको यस सराहनीय कार्यबाट स्थानीय बासिन्दाहरु अत्यन्तै हर्षित र लाभान्वित भएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर हुदै

भक्तपुर १९ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलले आफ्ना नागरिकलाई स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा दिने उदेश्यले भोली बुधबार बृहत निःशल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

सिपडोल स्वास्थ्य चौकी सिपाडोलमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने शिविरमा काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरको विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य सेवाहरु निःशुल्क रुपमा उपलव्ध गराईने वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा निःशुल्क उपलब्ध हुने सेवाहरुमा जनरल मेडिसिन, स्त्री रोग, ऑखा रोग, बाल रोग, दन्त रोग, इ.सि.जि , शल्यक्रिया र सर्जरी, भिडियो एक्स रे, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाटीको जाँच गर्नुका साथै ल्याबको समेत सेवा प्रवाह हुने उहाँले जानकारी दिनुभयो ।

शिविरमा निःशुल्क औषधी समेत वितराण् हुने जानकारी दिदै उहाँले सम्पूर्ण वडावासीलाई अवसरको फाईदा उठाउँदै शिविरमा सहभागि हुन वडा अध्यक्ष बस्नेतले आग्रह गर्नुभएको छ ।

एमाले सचिवालय बैठकमा पार्टी र निर्वाचनको समिक्षा, बैठक भोली पुनः बस्ने
भक्तपुर, ८ जेठ : नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरुले समिक्षात्मक धारणा प्रस्तुत गर्नु भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ बजे बसेको नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकमा ६ घण्टा भन्दा बढी पार्टीको समग्र अवस्था र निर्वाचनकोबारेमा घनिभूत छलफल गरेको छ ।
साँझ बैठक पछि सञ्चारकर्मीलाई बैठकबारे जानकारी दिदै पार्टीका उपमहासचिव लेखराज भट्टले पार्टीको अहिलेको अबस्थासम्मको समग्र समीक्षा र निर्वाचनको समीक्षाकाबारेमा लामो छलफल गरि आफनो विचार राखेको बताउनुभयो ।
आजको बैठकमा पाँच जनाले लामो समय लिएर बोलेको र अझै १२ जनाले बोल्न बाँकी रहेको बताउदै नेताहरूको कार्यविभाजनको विषय आजको बैठकमा प्रवेश नपाएको जानकारी दिनुभयो ।  सचिवालयको अर्को बैठक भोलि बिहान ११ः३० बजे गुण्डुस्थित अध्यक्ष निवासमा पुनः बस्ने गरि निर्धारण भएको उहाँले जानकारी दिनुभयो ।
भक्तपुर अस्पताल देशभरकै उत्कष्ठ अस्पताल घोषणा
भक्तपुर, ७ जेष्ठ  : भक्तपुर अस्पताल आज देशभरीकै उत्कृष्ट अस्पताल घोषणा भएको छ । सेकेण्डरी बी लेभलबाट सेकेण्डरी ए लेभलका अस्पतालहरुको  न्युनतम सेवा मापदण्डमा देशभरीका बी लेभका १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा भक्तपुर अस्पताल देशभरकीकै उत्कृष्ट अस्पताल आज घोषणा भएको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले बताउनुभयो ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्धारा गत जेठ ५ र ६ गते बिज्ञहरु सहित गरिएको न्युनतम सेवा मापदण्ड (एमएमएस) मुल्यांकन आज गरिएकोे मुल्यांकन समितिले आज भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा सार्वजनिक गरिे मुल्याकनमा ९३ प्रतिशत अंक प्राप्त गरि देशभरकै उत्कृष्ट अस्पताल घोषणा भएको हो ।
गतवर्ष उक्त अस्पतालले ९० अंक ल्याएर देशभरीमै उत्कृष्ट भएकोमा यसवर्ष  अस्पतालले यसवर्र्ष  ३ अंक सुधार गर्दै ९३ अंक ल्याएर देशभरीकै उत्कृष्ट भएको हो ।
आज अस्पतालमा आयोजित न्युनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिटको समिक्षा कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालय बागमतीका निर्देशक डा.नरेन्द्र कुमार झाले अस्पतालका कर्मचारीहरुको लगनशीलता र मिहनेनतले भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले अस्पताललाई विशिष्टकृत गर्दै लैजाने बताउदै अस्पतालमा न्युरो सर्जरीको लागि स्तोरन्नती गर्ने प्रयास भइरहेको बताउदै अस्पतालमा अझै सेवा र सुबिधा थप गर्ने बताउनुभयो ।
एमाले सचिव महेश बस्नेत र मन्त्री किरण थापाद्धारा सुकुम्वासीहरुको अबस्थाबारे चासो, मन्त्री थापाले निःशुल्क उपचार सेवा सुरु गरेको जानकारी

भक्तपुर, २५ बैशाख : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा सरकारले राखेको सुकुम्वासी स्थलमा पुगेर नेकपा एमालेका सचिव महेश बस्नेतले त्यहाँको अबस्थाबारे जानकारी लिएका छन् ।

सरकारले भक्तपुरको मनोहरा, काठमाडौंका्े बल्खु, माछापेखरी, किर्तिपुरलगायतका बिभिन्न ठाउँमा भत्काएको सुकुम्वासी बस्तीबाट ल्याएको सुकुम्वासीहरुसंग सचिव बस्नेतले यहाको अबस्थाकाबारेमा जानकारी लिएका थिए । सुकुम्वासीहरुसंग घेटघाट गरि कहिलेदेखि बस्तीमा बस्दै आएको, समस्या के के छन्, सरकारसंग के माग छ भन्नेबारेमा जानकारी लिएका थिए ।

त्यसैगरि वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एमाले सचिव बस्नेतलाई सुकुम्वासीहरुको स्वास्थ्य उपचारको जिम्मा वागमति प्रदेशले लिएको र वागमति प्रदेश स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार नै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले भक्तपुर अस्पतालको प्राबिधिक सहयोगमा स्वास्थ्य सेवा प्रवाह गरिरहेको जानकारी गराउनु भयो । चाँगुनारायण नगरपालिकास्थित श्रीमृष्ण माध्यमिक विदालयमा यहाँका बालबालिकालाई पठन पाठनका व्यबस्था मिलाउने जानकारी गराएको छ ।

त्यहाँ बसोबास गरिरहेका १९२ जना सुकुम्बासीहरूको अवस्था, पीडा र आवश्यकताबारे जानकारी लिको र स्वास्थ्य नै जीवनको पहिलो आधार भएकाले यहाँका नागरिकहरूको स्वास्थ्य अवस्था, उपचार पहुँच, सरसफाइ र आवश्यक सेवा प्रवाह गर्ने जनाएको छ । स्वास्थ्य शिविर, औषधि उपलब्धता र सहज स्वास्थ्य सेवाका कार्य प्रदेश सरकारले जारी राखेको जानकारी दिदै मन्त्री किरण थापाले राज्यको सेवा हरेक नागरिकसम्मस्वास्थ्य सेवाको सहज पहुँच पुर्याउने बताउनुभयो ।

खरिपाटीका सुकुम्वासी शिविरमा रहेका विरामीहरुको उपचार वागमति प्रदेश स्वास्थ्य मन्त्रालयले गर्ने
भक्तपुर, २४ वैशाख : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भक्तपुरका विभिन्न सुकुम्वासी शिविरमा राखिएकाहरुको उपचारको जिम्मा वागमती प्रदेश सरकारले लिने बताउनु भएको छ ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको सुकुम्वासी सेल्टरमा आज मुख्यमन्त्री बानियाँसहित स्वास्थ्य मन्त्री किरण थापा मगर, पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्री कञ्चन बादे श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमसहितको टोलीले सुकुम्वासी सेल्टरको अनुगन गरेको छ ।
सरकारले मनोहरा, बल्खु, माछापोखरी, बालाजुलगायतका ठाउँबाट ल्याएर राखिएको सेल्टरमा अनुगमनका क्रममा भक्तपुरका सेल्टरमा रहेका सुकुम्वासीहरुको स्वाथ्य उपचारको जिम्मा प्रदेश सरकारले लिने बताउनु भएको हो ।
सुकुम्वासीहरुसंग कुरा गर्दै मुख्य मन्त्री बानियाँले भन्नुभयो, ‘केन्द्रीय सरकारले छिटै तपाईहरुको स्थायी बसोबारको व्यबस्था गर्नेछ, तपाईहरु नआत्तिनुहोस्, तपाईहरुको निःशुल् स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ, त्यसको लागि आवश्यक बजेट हामी ब्यबस्थापन गर्छौ ।’ उहाँले प्रदेश सरकारको विपद व्यबस्थापनमा रहेको बजेटबाट सेल्टरमा रहेका सुकुम्वासीको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताउनु भयो ।
प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले असारसम्मका लागि आवश्यक पर्ने औषधिहरुको लिष्ट तार पारेर माग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र भक्तपुर अस्पताललाई निर्देशन दिदै सबैलाई निःशुल्क उपचारको व्यबस्था गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कसैले पनि उपचार नपाएको गुनासो सुन्न नपर्ने गरि सबै विरामी र दीर्घरोगीको उपचार गराउँनुस्, भक्तपुर अस्पतालमा आवश्यक परे भर्ना गरेर उपचार गर्नुस्, उपचारको जिम्मा हाम्रो पनि हो, बजेटको ब्यबस्थापन हामी गर्छौ ।’
अनुगमनमा पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले यहाँ रहेका २९ जना बालबालिकालाई नजिकैको श्रीकृष्ण माध्यमिक विद्यालयमा तत्काल पठ्न पाठनको व्यबस्था गर्ने बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकासंग समन्वय गरेर खरिपाटीमा रहेसम्म यहाँका बालबालिकालाई पठनपाठनको व्यबस्था मिलाउने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको सचिव डा. सुमित्रा गौतमले जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्कालाई दैनिक रुपमा सेल्टरमा चिकित्सकसहितको स्वास्थ्य टोली राखेर स्वास्थ्य परीक्षणलाई निरन्तरता दिन निर्देशन दिनुभयो ।
कार्यालयकी प्रमुख खड्काल्े मुख्यमन्त्रीसहितको टोलीलाई सेल्टरमा रहेका सुकुम्वासीहरुको बिभिन्न रोगको अबस्था, स्वास्थ्य शिविर सञ्चालन गरेको, निःशल्क औषधि वितरण गरेको, दैनिक सेवा प्रवाह गरेको जानकारी गराउनुभयो । उहाँले सेल्टरमा आँखा नदेख्ने, प्यारालाईसिस, स्ट्रोक, दीर्घ रोगीलगायतको धेरै विरामी रहेको र बिमामा नपर्ने मंहगा औषधि खानुपर्ने बिरामीहरुसमेत रहेको जानकारी गराउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले सेल्टरमा सरकारले गरेको व्यबस्था, खानेपानको व्यबस्थालगायतकोबारेमा जानकारी गराउनु भएको थियो ।
सरकारले खरिपाटीमा १५८ जना, मध्यपुरथिमि बोडेको कृषि विकास बैंकको तालिम कन्द्रमा ३९ जना र नगरकोटको खानेपानी तालिम केन्द्रमा ४६ जनालाई सेल्टरको रुपमा राखेर खाने र बस्ने ब्यबस्था गरेको छ ।
सिपाडोलमा ५० प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण सुरु, वडाध्यक्ष बस्नेतद्धारा ‘कवच सेनेटरी प्याड भेन्डिङ मेशिनको उद्घाटन
भक्तपुर, २३ बैशाख : सूर्यविनायक नगरपालिका–८ सिपाडोलले महिला तथा किशोरीहरूका लागि अनुदानमा सेनेटरी प्याड वितरण गर्न आज टोलटोलमा ‘कवच सेनेटरी प्याड भेन्डिङ मेसिन’ जडान गरेको छ ।
महिला तथा किशोरीको स्वास्थ्य, स्वच्छता र आत्मसम्मानका साथै गाउँमै सहज रुपमा आफैले मेशिनबाट सेनेटेरी प्याड लिन मिल्ने गरि मेशिन जडान गरि आजैबाट सञ्चालनमा ल्याएको सुनपा वडा नं. ८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
महिनावारीको समयमा हुने असुविधालाई कम गरी सुरक्षित वातावरण सुनिश्चित गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याएको मेशिनको आज उद्घाटन गरेसंगै महिला जनप्रतिनिधीले मेशिनबाट प्याड निकालेर मेशिनको प्रयोगबारे जानकारी गराउनु भएको थियो ।
वडाध्यक्ष बस्नेतले भन्नुभयो, ‘जिल्लामै पहिलो पटक हाम्रो वडामा यस प्रकारको मेशिन जडान गरेर स्थानीय महिला एवं किशोरीका लागि ५० प्रतिशत अनुदानमा सेनेटरी प्याड वितरण आजबाट सुरु गरेका छौं, अब पसल पसलमा गएर मंहगोमा किन्नु पर्दैन, पाँच रुपैयाँ मेशिनमा हाल्दा बजारमा १० रुपैया पर्ने सेनेटरी प्याड बाहिर निस्कन्छ ।’
वडा कार्यालयले प्याडको कूल मूल्यको आधा हिस्सा व्यहोर्ने निर्णय गरेको जानकारी दिदै उहाँले प्याड प्रयोगकर्ताले आधा मूल्यमा गुणस्तरीय सेनेटरी प्याड प्राप्त गर्न सक्ने बताउनुभयो ।
मेशिनमा पाँच रुपैया हाल्दा एक वटा, १० रुपैया हाल्दा दुई वटा र २० रुपैयाँ हाल्दा एकैपटक चारवटा प्याड निस्कन्छ । अभियानले आर्थिक रूपमा विपन्न किशोरी तथा महिलाहरूलाई ठूलो राहत पुग्ने विश्वास रहेको उहाँले जानकारी दिनुभयो ।
वडाले केही दिनभित्रै ‘कवच सेनेटरी प्याड भेन्डिङ मेसिन’ विकट क्षेत्रको रुपमा रहेको पाटीभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य चौकी पाटीभञ्ज्याङ र आशापुरी महिला बहुउदेश्यीय सहकारी भवनमा पनि जडान गरेर सेवा प्रवाह गर्ने वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।  सार्वजनिक स्थलहरूमा प्याडको सहज पहुँच सुनिश्चित गर्दै ’हरेक महिनावारी सुरक्षित’ बनाउन वडा कार्यालयले अभियानले सुरु गरेको हो ।