जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलबाड

-पदमराज जोशी

काठमाडौँ, ११ असोज : नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको छ । यहाँ जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न सकिन्छ । बेच्ने वा किन्ने बेला कुनै रोकावट छैन । मनपरी ढङ्गले खाने गरिएको छ । एन्टिबायोटिक बनाउने, पूर्जामा लेख्ने, बेच्ने, किन्ने र खाने सबै क्षेत्रमा मनपरी छ । त्यसैले त विस्तारै हाम्रो शरीरमा रहेका रोगका जीवाणु बलियो हुँदै गएका छन् ।

यसको परिणामस्वरूप हामीलाई कुनै रोग लागेपछि एन्टिबायोटिक खाए पनि त्यसले काम गर्न छोड्दै गएको छ । एन्टिबायोटिक औषधिभन्दा जीवाणु बलियो हँुदै जानु भनेको चिकित्सा विज्ञान क्षेत्रकै लागि मात्र नभएर मानव जगत्कै लागि ठूलो चुनौती हो । एन्टिबायोटिक औषधि सेवन गर्नु भनेको पक्कै पनि बदाम र भटमास खाएजस्तै पक्कै पनि होइन ।

तर विडम्बना देशका दूरदराजका मानिसहरूले मात्र नभएर सहरी क्षेत्रमा बसोवास गर्ने र पढे लेखेका व्यक्तिहरूले पनि कुन बेला, कति मात्र, कुन रोगको उपचारमा एन्टिबायोटिक सेवन गर्ने भन्ने राम्रो ज्ञान पाइँदैन । खानै पर्ने बिरामीले एन्टिबायोटिक खाँदा खासै ठूलो समस्या नहोला तर नखानु पर्नेले खादा समस्या देखिएको छ । सबै रोगको उपचारमा एन्टिबायोटिकले काम गर्दैन । तर समाजमा एउटा यस्तो भ्रम छ कि हरेक रोगको अचुक उपाय भनेको एन्टिबायोटिक हो । कोभिडको महामारीको बेला एन्टिबायोटिकले काम गरेन ।

सामान्य सिटामोलबाहेक अरू औषधिले काम नगरेको हामी सबैले अनुभवसमेत गरेको प्रमाणित तथ्य हो । तर पनि सङ्क्रमित भएकामध्ये आधा जति नेपालीले कुनै न कुनै प्रकारको एन्टिबायोटिक सेवन गरेको पाइएको पाटन अस्पताल जनरल प्रेक्टिस तथा इमरजेन्सी विभागमा कार्यरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. आशिष श्रेष्ठ बताउँछन् । नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी नीति नै नभएको भने होइन । छ तर लागू गरिएको छैन । डा श्रेष्ठका अनुसार नियमअनुसार चिकित्सकको प्रिस्क्रिप्सन बिना कडा खालका एन्टिबायोटिक किनबेच गर्न पाइँदैन । तर व्यवहारमा लागू भएको पाइँदैन ।

नेपाली समाजमा एन्टिबायोटिक औषधिप्रति जनताको विश्वास ठूलो छ । एन्टिबायोटिक जुनसुकै रोग पनि निको पार्छ भन्ने बलियो मनोविज्ञान छ समाजमा । त्यसैले सितिमिति अरू औषधिमा विश्वास गदैनन् बिरामी पनि । आयुर्वेदिक औषधिको प्रयोग कम हुनुमा यो पनि एक प्रमुख कारण हो । उपभोक्ता मलाई यो नामको एन्टिबायोटिक दिनुहोस् भन्दै फार्मेसी पुग्ने गरेका हुन्छन् ।

एन्टिबायोटिक बाहेकले मलाई ठीक हुँदैन भन्ने उनीहरूको विश्वास छ । जनचेतनाको अभावका कारण नेपालमा एन्टिबायोटिकको उपभोग बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा.अर्जुन कार्की बताउँछन् । रोग चाँडो निको बनाउने होडबाजीका कारण पनि एन्टिबायोटिकको प्रयोग बढेकोमा विज्ञहरूको एक मत छ । रोग चाँडो निको पार्न बढी डोजको एन्टिबायोटिक दिने र लिने प्रवृति छ । जुन स्वास्थ्यका हिसाबले हितकार होइन । यही होडबाजीले एक रुपैयाँको सिटामोल खाएर निको हुने रोगको लागि दसौं गुणा बढी मूल्य पर्ने एन्टिबायोटिक उपभोग गराइन्छ ।

यसरी अनावश्यक एन्टिबायोटिकको प्रयोगमा विभिन्न औषधि कम्पनीहरू र व्यापारीहरूको स्वार्थ पनि रहेको पाइन्छ । चिकित्सकहरूका अनुसार रोग निको पार्न सधैं एउटै औषधिको प्रयोग भन्दा फरकफरक किसिमको औषधि प्रयोग गर्न राम्रो मानिन्छ । बिरामीलाई एउटा औषधिले निको नभए अर्को औषधि प्रयास गर्नु राम्रो चिकित्सकीय अभ्यास हो । तर एकैचोटी हाइडोजको एन्टिबायोटिक दिँदा समस्या निम्त्याउँछ । जथाभावी एन्टिबोयोटिकको प्रयोग गर्दा मिर्गौला फेल हुने लगायतका शरीरका अन्य अङ्ग समेत फेल हुने अवस्था आउँछ । चिकित्सकहरुका अनुसार एन्टिबायोटिक नै रोगको पूर्ण निदान होइन । एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ ।

यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधि, समय सबैकुरा ख्याल गर्नुपर्छ । यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छांै । यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ । कोषिका परिवर्तन गर्छ । यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ । यस्तो हुनु भनेको ठूलो जटिलता हो । जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधिको प्रभाव कम हुन्छ । रोग फेरि बल्झन्छ र त्यसले थप चर्को रुप लिन्छ । एन्टिबायोटिकको विषयमा उपभोक्ता मात्र होइन स्वास्थ्यकर्मी र फार्मेसी सञ्चालकहरूमा समेत चेतना अभाव छ ।

कसरी हुन्छ एन्टिबायोटिक भिडाइ हाल्ने मनोविज्ञान उनीहरूमा पनि छ । एन्टिबायोटिक अत्यधिक प्रयोगले अहिले र पहिलेको तुलनामा एन्टिबायोटिकले काम नै गर्न छोड्दै छ । उदाहरणका लागि टाइफाइडमा प्रयोग हुने एन्टिबायोटिकले अहिले काम गर्न छोडेको छ । यो हाम्रो मात्र होइन, विश्वकै ठूलो समस्या हो । विकसित देशहरूमा जथाभावी एन्टिबायोटिकको किनबेच हुँदैन । डाक्टरको प्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । त्यहाँ नियम पालना कडाइका साथ हुन्छ । अनुगमन कडा हुन्छ । तर हाम्रो देशमा न त कडा नियम हुन्छ न त अनुगमन बलियो । त्यसैले यहाँ जनस्वास्थ्यमा माथि धनस्वास्थ्यको लडाइँ चलिरहेको छ । पैसा कमाउने निहँुमा जनताको स्वास्थ्य प्रयोगशाला भइरहेको छ ।

एन्टिबायोटिकको गुणस्तर माथि पनि विचार गर्नुपर्छ । एन्टिबायोटिक उत्पादन गर्ने कम्पनीबाट त्यसको गुणस्तर निगरानी हुनु पर्छ । एउटै एन्टिबायोटिक धेरै कम्पनीले बनाउने गर्छन् । हाम्रो देशमा पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर परीक्षण गर्छ । एन्टिबायोटिकको गुणस्तरका विषयमा पनि विभागले हेक्का राख्नुपर्छ । एन्टिबायोटिकको जथाभावी प्रयोग एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन । त्यसमा सबै पक्षको सहयोग, सहकार्य आवश्यक पर्छ । एन्टिबायोटिक बनाउने कम्पनी, एन्टिबायोटिक लेख्ने डाक्टर, बेच्ने फार्मेसी, किन्ने उपभोक्ता र नियम कानुन बनाएर लागू गराउने सबैको उत्तिकै जिम्मेवारी हुन्छ ।

एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्नका लागि जसले पनि किन्न पाउने नियम बन्द गर्नै पर्छ । राज्यले चाहेको खण्डमा एन्टिबायोटिकको प्रयोगमा भइरहेको बेतिथि रोक्न सक्छ । जस्तै उदाहरणको लागि नार्कोनन ड्रग्सबिना लाइसेन्स बेच्न पाइँदैन । बिनाप्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन । किन्ने मान्छेको ठेगाना लेखेर प्रिस्क्रिप्सन लेख्ने डाक्टरको नेपाल मेडिकल काउन्सिलको नम्बरसमेत रेकर्ड राखेर बिक्री गरिन्छ । यसको जथाभावी प्रयोग रोकिएको छ । यसैगरी सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न बनाइरहेको नीति नियम कडाइका साथ पालना गरे रोक्न सक्छ । तर यसमा राज्यको इच्छा शक्ति चाहिन्छ । डाक्टरले लेख्ने प्रिस्क्रिप्सनको पनि अडिट गर्ने व्यवस्था गर्नुपर्छ ।

कुन रोगको उपचार के औषधि सिफारिस ग¥यो ? जथाभावी एन्टिबायोटिक त लेखेन ? भन्ने बिषयमा प्रिस्क्रिप्सन अडिट गर्ने प्रचलन चलाउनु पर्छ । जथाभावी लेख्ने लाई कारवाही गर्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको उपचारात्मक महाशाखाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रयोग गरिने औषधि प्रिस्क्रिप्सनको अडिट गर्ने काम अगाडि बढाएको छ । अरू रोगको उपचारमा पनि प्रिस्क्रिप्सन अडिट हुने व्यवस्था गर्नुपर्छ । यसले जथाभावी एन्टिबायोटिक सिफारिस गर्ने चलन माथि पनि अङ्कुश लाग्न सक्छ । हरेक चिकित्सक आफ्नो पेसाप्रति, समाजप्रति र जनस्वास्थ्य माथि सबै जिम्मेवार हुनुपर्छ ।

एन्टिबायोटिक सिफारिस गर्ने चिकित्सक, बेच्ने फार्मेसी र किन्ने उपभोक्ता तिनै पक्षलाई जिम्मेवार नबनाएसम्म एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सकिँदैन । यसमा सबैको ध्यान जानु आवश्यक छ । केही दिन पहिले औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिवायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालाई अनुरोध गरेको थियो । विभागले एन्टिबोयोटिकको प्रयोगलाई न्यूनिकरण गर्न र नियन्त्रण गर्न प्रतिवन्ध लगाएको जनाएको थियो । एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रोक्ने अभिप्रायले नेपाल चिकित्सक सङ्घले विभिन्न नीतिगत तहमा पैरवी गर्ने गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म यही तरिकाले एन्टीबायोटिकको गलत प्रयोग भएको अवस्थामा भविष्यमा एन्टीबायोटिकले सही तरीकाले काम गर्न सक्दैन भन्ने अनुमान गरेको छ । एन्टीबयोटिकको सही सदुपयोग गर्नु पर्छ भनेर विश्व स्वास्थ्य सङ्गठनलगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले बारम्बार यस विषयलाई उठाइरहेका छन् ।

पदयात्री र आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ, ११ असोज : शरद ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका लागि सात जनाको चिकित्सक टोली हिमालमा पुगेको छ ।

हिमालय उद्धार सङ्घले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका लागि गएका आरोहीको स्वास्थ्य जाँचका लागि मनाङ र सोलुखुम्बुमा चिकित्सकको टोली पठाएको हो । सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले मनाङको मनाङगाउँ स्वास्थ्य चौकीमा चार र सोलुखुम्बुको फेरिचे स्वास्थ्य चौकीमा तीन चिकित्सक पठाइएको जानकारी दिनुभयो ।

उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसकेको छ । स्वदेशी तथा विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सक पठाइएको उहाँको भनाइ छ । मनाङ गाउँमा पठाइएका चिकित्सकमध्ये तीन विदेशी र एक नेपाली रहेका छन् भने फेरिचेमा पठाइएका तीनै विदेशी चिकित्सक रहेका छन् ।

हिमालय उद्धार सङ्घले पदयात्री तथा आरोहीको स्वास्थ्य जाँचलाई सहज पुग्ने उदेश्यले मनाङगाउँ र फेरिचेमा आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरि सेवा प्रदान गर्दै आइरहेको छ । सङ्घका अध्यक्ष डम्बर पराजुलीले शरद ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी तथा स्वदेशी पर्यटक घुम्नका लागि हिमाली क्षेत्रतर्फ गइसकेकाले चिकित्सकको टोलीसमेत पठाइसकिएको बताउनुभयो । मनाङ जाने पर्वतारोही थोरङ्लापास, चुलु हिमाल, तिलिचो, अन्नपूर्ण–२, अन्नपूर्ण–४ लगायतमा आरोहण गर्ने गरेका छन् ।

यस्तै सोलुखुम्बुका लागि जाने पर्यटक भने आइल्याण्ड पिक, आमादब्लम, लोपुचे पिकलगायतमा चढ्ने गरेका छन् । शरद ऋतुमा सगरमाथा आरोहण गर्ने आरोही भने एकदमै कम भएकाले सगरमाथा आधार शिविरमा चिकित्सकको टोली नपठाइएको सो सङ्घले जनाएको छ । सन् १९७३ मा स्थापना भएको सङ्घले मनाङ, गोसाइकुण्ड, फेरिचे र सगरमाथा आधार शिविरमा डाक्टर पठाएर आरोहीको स्वास्थ्य जाँचमा सहयोग गर्दै आएको छ ।

सङ्घले स्वदेशी तथा विदेशी चिकित्सकलाई तालिम दिएर सो क्षेत्रमा पठाउँदै आएको छ । उक्त क्षेत्रमा जाने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ता गर्ने र श्रम विभागबाट श्रम स्वीकृति लिएर पठाउने गरेको सिईओ बस्यालले बताउनुभयो । चिकित्सकको टोली सो क्षेत्रमा तीन महिना रहने सङ्घले जनाएको छ ।

गाउँगाउँमा स्वास्थ्य सेवा पुर्याउन भक्तपुर अस्पतालले साउनदेखि घरदैलो स्वास्थ्य अभियान सञ्चालन गर्ने
भक्तपुर, २५ असार । अस्पतालसम्म आउन नसक्ने विरामीहरुलाई गाउँघरमै गएर स्वास्थ्य परीक्षण गरि उपचार गर्ने उदेश्यले भक्तपुर अस्पतालले घरदैलो स्वास्थ्य अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आगामी साउन महिनादेखि जिल्लाका चारवटा नगरपालिकासाग समन्वय गरि विशेष गरि स्वास्थ्य पहुँचबाट अलि टाढा रहेका र स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म आउन नसक्ने विरामीहरुलाई लक्षित गरि घरदैलो स्वास्थ्य अभियान सञ्चालन गर्न लागेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।
सुरुमा चाागुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा यो अभियान सञ्चालन गर्ने जानकारी दिदै उहाँले त्यसपछि मध्उपुरथिमि नगरपालिका र भक्तपुर नगरपालिकामा पनि सञ्चालन गरिने बताउनु भयो । त्यसो त भक्तपुर नगरपालिका आफैले पनि स्वास्थ्य परीक्षणका लागि घरदैलो स्वास्थ्य सेवा दिदै आएको छ । भक्तपुर अस्पतालको कार्यक्रम वडा कार्यालयसँग छलफल गरि आवश्यकता अनुसार सञ्चालन गरिने छ ।
अन्य नगरपालिकासँग घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि नगरपालिकाका प्रमुखहरुसँग समन्वय भइरहेको र वडा कार्यालयसँगसमेत समन्वय गरेर वडा वडामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली गएर स्वास्थ्य परीक्षण, औषधि वितरण, रोग पहिचान र थप उपचारका कार्यक्रम सञ्चालन गर्ने मेसु डा. गौतमले जानकारी दिनुभयो ।
भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले भक्तपुर अस्पतालले सञ्चालन गर्ने घरदैलो स्वास्थ्य अभियान कार्यक्रमबाट विशेष गरि जेष्ठ नागरिक, अपाङ्, बालबालिका जो स्वास्थ्य पहुँचबाट अलि टाढा रहेका र छिट्टै स्वास्थ्य परीक्षणका लागि अस्पताल पुग्न नसकेका नागरिकले फाइदा लिन सक्ने बताउनु भयो ।
यो कार्यक्रममा रोग पहिचान भएका विरामीलाई भने अस्पतालमा ल्याएर उपचार गर्ने गराउने व्यबस्था गरिने उहाँले जानकारी दिनुभयो । घरदैलो स्वास्थय अभियानको अस्पतालले तयारी गरिरहेको जानकारी दिनुभयो ।
सीमा नाकामा कडाइ, अस्पताललाई तयारी रहन निर्देशन

काठमाडौँ, २९ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो ।

भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो ।

“कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ ।”

मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

“अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ ।” अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उहाँले जानकारी दिनुभयो ।

बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।

कोरोना सङ्क्रमणलाई बेवास्ता नगर्न आग्रह

काठमाडौँ, १४ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ । भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ ।

आज एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ । हिजो (चैत १३ गते) एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।

बालबालिकामा बढ्दै आँखा क्यान्सर

काठमाण्डौं । नेपालमा प्रतिवर्ष ५० बालबालिकामा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) हुने गरेको एक सर्वेक्षणले देखाएको छ। हालै विभिन्न अस्पतालमा उपचारमा पुगेका बिरामीलाई लिएर गरिएको सर्वेक्षणले नेपालमा प्रतिवर्ष ५० बालबालिकामा आँखाको नयाँ क्यान्सर हुने अनुमान गरेको हो। बुधबार तिलगंगा आँखा अस्पतालले विश्व बाल क्यान्सर दिवस मनाउने क्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

तिलगंगा आँखा अस्पतालका अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजू भने सर्वेक्षणले अनुमान गरेभन्दा बढी बालबालिकामा आँखाको क्यान्सर हुन सक्ने बताउँछन्। ‘प्रतिवर्ष ५० जना अनुमानित तथ्यांक मात्र हो, योभन्दा बढी हुन सक्छ,’ उनले भने। तीमध्ये तिलगंगा आँखा प्रतिष्ठानमा मात्र ३५ देखि ४५ जना आँखामा क्यान्सर भएका बालबालिकाको उपचार हुने गरेको छ। उपचारमा पुगेकामध्ये १५ जनामा दुवै आँखामा क्यान्सर भएको फेला परेको छ। विश्वभरि बालबालिकामा हुने क्यान्सरमध्ये आँखाको क्यान्सरले ३ प्रतिशत ओगटेको छ। विश्वव्यापी रूपमा हेर्दा प्रति १५ देखि २० हजार जीवित जन्मेका शिशुमध्ये एउटामा आँखाको क्यान्सर हुन्छ।

पाँच वर्षमुनिका बालबालिकामा हुने आँखाको क्यान्सर समयमै उपचार नगरे मृत्युसमेत हुने हुनाले सुरुमै पहिचान भए उपचार हुन सक्ने डा. सैजूको भनाइ छ। बेलैमा उपचार गरी बालबालिकामा हुने आँखाको क्यान्सरबाट बचाउन सकिने उनी बताउँछन्। नेपालमा पछिल्लो समय आँखाको क्यान्सरबारे केही जनचेतना बढ्दै गएकाले उपचारमा आउनेको संख्या पनि बढ्दै गएको प्रतिष्ठानकी अकुलोप्लास्टिक एवं अकुलोअन्कोलोजिस्ट डा. पूर्णिमा स्थापितले बताइन्। तर थप जनचेतनाको आवश्यकता भने रहेको उनको भनाइ छ।

आँखाको क्यान्सर पाँच वर्ष मुनिका बालबालिकालाई हुने गर्छ। सात वर्षसम्मका केही बालबालिकामा पनि यो रोग देखिन सक्छ। यो रोगको संक्रमण आँखाको भित्री भागबाट मासु पलाएर पुरै आँखामा फैलिन्छ र अन्धोपनको अवस्थामा पुर्‍याउँछ। यो रोगको समयमै पत्ता लागेन र पत्ता लागे पनि सही उपचार हुन सकेन भने शरीरको अन्य भागमा पनि फैलिएर बालबालिकाको ज्यानै जान सक्छ। आँखाको नानीको भाग सेतो तथा रातो हुने लक्षण देखिएर रोग छिप्पिँदै गए आँखा डेढो हुने, आँखाको डल्लो बाहिर निस्कने, हेराइमा सन्तुलन नहुँदा बच्चा पटकपटक ठोक्किनेजस्ता लक्षण देखिन्छन्।

पाँच वर्षभित्रका बालबालिकाले टेढो हेरे, आँखाभित्र कुनै डल्लो देखा परे, आँखा रातो भए, बालबालिका लड्न थाले आँखाको क्यान्सर हुन सक्ने भएकले चाँडो उपचारमा पुगे निको हुने सक्भावना उच्च हुने डा. सैजूले बताए। शिशु जन्मेपछि एकपटक अनिवार्य आँखा जाँच गराए त्यस्तो क्यान्सरबाट छ कि छैन पत्ता लाग्ने र छ भने मृत्युको सम्भावनाबाट टार्न सकिने चिकित्सकहरू बताउँछन्। नेपालका विभिन्न आँखा अस्पतालमा बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान भए पनि पूर्ण रूपमा उपचार हुने गरी तिलगंगा आँखा प्रतिष्ठानले छुट्टै एकाइ नै स्थापना गरी उपचार गर्दे आएको छ।

तिलगंगामा निःशुल्क उपचार  

तिलगंगा आँखा प्रतिष्ठानमा अबदेखि आँखा क्यान्सरको उपचार निःशुल्क हुने भएको छ। अस्पतालसँग सहकार्य गर्दै आएको ओपन आई नेपालले अस्टे«ेलियाको क्याथोलिक युनिभर्सिटीसँगको सहकार्यमा आगामी चार वर्षसम्म निःशुल्क सेवा दिने घोषणा गरेको हो। यो सेवाको उद्घाटन क्यान्सरपीडित कर्ण शाक्यले गरे। उनले आँखा उपचारका लागि ५ लाख ५० हजार रूपैयाँ दिने भनी सम्झौतामा हस्ताक्षर गरेका छन्। यो उपचारअन्तर्गत क्यान्सरका कारण आँखा गुमाएका बालबालिकाको कृत्रिम आँखा पुनःस्थापना हुने अस्पतालकी अकुलोप्लास्टो तथा आँखा क्यान्सर विशेषज्ञ डा. पूर्णिमा राजकर्णिकारले जानकारी दिइन्।

स्वतन्त्र उम्मेदवार श्रीभक्तले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै : राज्यको कुनै सेवा सुबिधा नलिने, २ करोडको अक्षय कोष खडा गरि गरिबको सेवा गर्ने

भक्तपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ प्रदेश सभा ‘क’ बाट स्वतन्त्र उम्मेदवार बनेका श्रीभक्त कासिछ्वाले आफ्नो चुनावी घोषणा तथा प्रतिबद्धता पत्र सावैजनिक गर्ने भएका छन् । भक्तपुरको कमलविनायकस्थित होटल यचुमा कात्तिक १५ गते मंगलबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर आफ्नो निर्वाचन प्रतिबद्धता पत्र–२०७९ सार्वजनिक गर्न लागेको जेब्रा चुनाब चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका श्रीभक्तले बताए ।

आफ्नो घोषणा पत्रमा आफू विजइ भए पछि के के गर्ने भनेर आफ्ना योजनाहरु सार्वजनिक गर्ने र सोही प्रतिबद्धता पत्रको आधारमा मत माग्ने बताए । उम्मेदवार श्रीभक्त कासिछ्वाले आफू सबै मतदाताको साझा र भरोसा गर्ने उम्मेदवार भएको बताउदै यस पटक सबै दलका उम्मेदवारलाई पाखा लाउदै आफ्नो जीत सुनिश्चित गर्ने बताए ।

कासिछ्वाले विजयी भए पछि प्रदेशबाट बढी भन्दा बढी बजेट ल्याएर आफ्नो क्षेत्रको बिकास गर्ने घोषणा गरेका छन् । त्यस्तै विजयी भए पछि सरकारबाट पाउने सबै सेवा सुविधा आफ्नो क्षेत्रका गरिब विद्यार्थीको शिक्षा हासिल गर्न र गरिब विरामीको निःशुल्क उपचारमा खर्च गर्ने घोषणा गरेका छन् । तलब, भत्ता, सेवा सुविधा आफूले कुनै पनि प्रयोग नगर्ने र आफ्नो आमाको नाममा रु. २ करोडको अक्षय कोष खडा गरेर त्यसबाट आएको ब्याजबाट हरेक वर्ष गरिब विद्यार्थी र बिरामीका लागि निःशुल्क शिक्षा र उपचारमा खर्च गर्ने घोषणा गरेका छन् ।

भक्तपुर अस्पतालको मेसुमा डा. गौतम नियुक्त, बच्चाको ओपिडी निःशुल्क गर्ने, बन्द भएको सेवा पुनः सञ्चालन गर्ने निर्णय

उहाँको कार्यकालमा भक्तपुर अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अंक प्राप्त गरी २०७७ सालमा प्रदेश अस्पतालहरुमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भइ पुरस्कार प्राप्न गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा बिस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक ८०० देखि १००० सम्म विरामीको चाप बढेको थियो ।

========================================

भक्तपुर, ३० भदौ : वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. सुमित्रा गौतमलाई नियुक्त गरेको छ ।

मन्त्रालयले उहाँलाई बुधबार दोश्रो पटक भक्तपुर अस्पतालको मेसुमा नियुक्त गरेसँगै पदबहाली गर्दै उहाँले आजबाट लागू हुने गरि बालबालिकाको ओपिडी सेवा निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिनु भयो ।

त्यस्तै अस्पतालमा आउने बेवारिसे विरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यबस्थापनसमेत निःशुल्क गर्ने निर्णय गरेको छ । यसअघि अस्पताल प्रशासनले बेवारिसे विरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यबस्थापन समेत रोकेको थियो ।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले डा. गौतमलाई अस्पतालमा स्वागत गर्दै समिति र अस्पताल व्यबस्थापनले विरामीको महत्वपूर्ण सेवा सञ्चालनकाबारेमा बिभिन्न निर्णयहरु गरेको अध्यक्ष सुवालले जानकारी दिनु भयो ।

कोरोमा भाइरस संक्रमणको जटिल अबस्थामा तत्कालिन मेसु रहदा डा.गौतमले भक्तपुरमै पहिलो पटक पीसीआर टेष्टका लागि स्वाब संकलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आईसियू, बच्चाको लागि एनआइसियू, एचडियूलगायन अन्य बिभिन्न सेवाहरु बिस्तार गर्नु भएको थियो ।

उहाँको कार्यकालमा भक्तपुर अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अंक प्राप्त गरी २०७७ सालमा प्रदेश अस्पतालहरुमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भइ पुरस्कार प्राप्न गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा बिस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक ८०० देखि १००० सम्म विरामीको चाप बढेको थियो ।

डा. गौतमको सरुवा गरि प्रदेश मन्त्रालयले सोही अस्पतालमा कार्यरत जुनियर डा.श्रीधर अर्याललाई निमित्त मेसुको जिम्मेवारी दिएपछि अस्पतालमा बेतिथि बढेको र विरामीको उपचार नगरी निजी अस्पताल रेफर गर्न थालेको भन्दै विरामी र स्थानीयद्धारा बिरोध गर्दै आएका थिए ।

अस्पतालले सञ्चालनमा रहेको आइसियू, एनआइसियू, एचडियू सेवा बन्द गर्नुको साथै निजी क्लिनिक र औषधि पसलमा विरामी पठाउन थालेको भन्दै विरामीको चाप घटेर दैनिक ४०० मा झरेको अस्पताल प्रशासनले जनाएको थियो ।

अस्पतालमा हुदै आएको शल्यक्रियासमेत ३ बजेपछि राखेर निजी क्लिनिकका रुपमा सञ्चालन गरि मंहगो शुल्क लिएको, मेसु अर्यालले प्रत्येक शल्यक्रियामा प्रतिशतका आधारमा कमिसन लिने गरेको र मासिक पाँच लाखसम्म कमिसन बुझेको भन्दै अस्पतालको कर्मचारी र चिकित्सकले बिरोध गर्दै आएको थिए । अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारमा समेत पटक पटक उजुरी परेको प्रशासनका कर्मचारीले जानकारी दिएको छ ।

भक्तपुर अस्पताललाई फेरी पनि नमूना अस्पताल बनाउने डाक्टर गौतमले बताउनु भएको छ । उहाँले भक्तपुर अस्पताललाई फेरी पनि उत्कृष्ट बनाउने, बन्द भएका सेवाहरु तत्कालै सूचारु गर्ने, यहाँका बेतिथिहरुलाई रोक्ने, भक्तपुर र पूर्वका बिभिन्न जिल्लाबाट आउने विरामीलाई उपचारका लागि रेफर भएर जानु नर्पे गरि सेवा सञ्चालन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

 

विरामीको ज्यान माथि खेल्ने डा. तिवारी लगायतलाई कारबाहीको माग

भक्तपुर, २४ भदौ : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीको स्वास्थ्य माथि गम्भिर खेडवाड गर्ने डा.अनिषा तिवारीसहितलाई कारबाही गर्न माग गरेको छ ।

आज केन्द्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित पीडित विरामीका दाजु गणेशराम कोजूले विरामीको ज्यानै जोखिममा राखेर शल्यक्रिया गर्ने गराउने डा. तिवारीसहितलाई कारबाचही गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा घट्नाबारे जानकारी दिदै निर्देशक डा. श्रेष्ठले अस्पतालका शल्यक्रिया कक्षका प्राबिधिक गणेशराम कोजूको बहिनी स्थानीय कमल केशरी कोजुको गत साउन २४ गते केन्द्रमा पित्तथैलीको शल्यक्रिया गर्दा डा. तिवारीले गम्भिर लापर्वाही गरेको र विरामीको ज्यान जोखिममा पारेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “मेडिकलको नियममै कुनै पनि अप्रेशन गर्नु अगाडि डाक्टरले आफूभन्दा माथिको कन्सल्टेण्डलाई जानकारी गराउनु पर्छ, तर त्यसो नगरी जथाभावी र लापर्वाही रुपमा शल्यक्रिया गरेर अत्यन्तै रक्तश्राव भएर ज्यानै जोखिममा परेपछि केन्द्रले त्यसबारे स्पष्टिकरण लिएर कारबाही प्रक्रिया अगाडि बढाउन खोज्दा डा. तिवारीले आफ्नो कारबाही बच्न मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर लगायतमा उजुरी गरेर अस्पतालकै बदनाम गराउन खोजेकी छिन् ।”

उहाँले घट्नाबारे सुक्ष्म रुपमा अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्न माग गर्नु भयो । उहाँले भन्नुभयो, “अस्पतालमा अक्षम्य र गम्भिर घट्ना भएको छ, यसले यहाँ आउने बिरामीको स्वास्थ्य र जीवन सुरक्षामा समेत चुनौती थपिएको छ, डा. तिवारीको लापर्वाहीको यो पहिलो घट्ना होइन, एउटा डाक्टरले लापर्वाही गरेर विरामीको ज्यानै जोखिममा पार्ने र स्पष्टिकरण खोध्न खोज्दा उल्टै बिभिन्न आरोप लगाएर चरित्र हत्या गर्न खोज्ने, यो घट्नाको सत्यतथ्य छानबिन होस् म दोषी ठहरिए कारबाही भोग्न तयार छु, अरु दोषी देखिए कारबाही हुनु पर्छ, चिकित्सकीय पेशा र यो अस्पतालको मर्यादा कायम राख्नु पर्छ ।”

गत साउन २४ गते स्थानीय कमल केशरी कोजुको पित्तथैलीको दूरबिन प्रबिधिबाट शल्यक्रिया गर्न डा. तिवारी जटिल रुपमा लापर्वाही गरेर आफ्नो बहिनीको ज्यानै जोखिममा पारेको पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षकै प्राबिधिक एवं पीडित विरामीको दाजू गणेशराम कोजूले डा. तिवारीलाई कारबाही गरि क्षतिपूर्ती भराउनु पर्ने माग गर्नु भयो ।

उहाँले भन्नुभयो, “दूरबिन प्रबिधिबाट सुरु गरेको अप्रेशन डाक्टरको लापर्वाहीले अत्यन्तै रक्तश्राब भएपछि ओपन गर्नु पर्यो, म अप्रेशन थियटरमै काम गर्ने कर्मचारी, धेरै अप्रेशन हेरेको छु, मेरो बहिनीको अबस्था अब बिग्रियो भनेर ज्यान बचाउन सिनियर डाक्टरलाई बोलाए, त्यसपछि डा. राकेश बर्मा र डा. पुकार चन्द्र श्रेष्ठ आएर थप उपचार गरेर बहिनीको ज्यान बचाउन लाग्दा उल्दै डा. तिवारीले जथाभावी भनेर बाहिरको डा. संजिव शाहलाई बोलाएर भिडियो खिचेर रमिता गर्न थाल्नु भयो ।”

यस अस्प्तालमा प्रभावकारी उपचार हुन नसके पछि बहिनीलाई अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार गराईरहेको बताउदै उहाँले केएमसीको डाक्टरले जान्दै नजानेको डाक्टरबाट शल्यक्रिया गर्न लगाएर ज्यान जोखिममा पारेको प्रतिक्रिया दिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, “मेरो बहिनीको अबस्था निकै नाजुक छ, उपचारमा लाखौ खर्च भइसकेको छ, विरामीको ज्यान माथि खेलबाड गर्ने डाक्टरलाई कारबाही होस्, उपचारमा लागेको खर्चको क्षतिपूर्ति भराईयोस् ।”

अपरेसन गर्दा लापरवाही अत्याधिक रक्तश्राव भई बिरामीको ज्यानै जाने अवस्था डा.राकेशकुमार वर्मा र डा.पुकारचन्द्र श्रेष्ठले विरामीको ज्यान बचाएको उहाँले बताउनु भयो । डा. अनिसाले यहाँ कार्यरत स्टाफ नर्सलाई समेत पटक पटक अभद्र व्यबहार गर्दै अपरेशन थियटरबाटै निकालेको भन्दै अस्पतालका नर्सिङ विभागदेखि अन्य कर्मचारीले संयुक्त हस्ताक्षर सहित कारबाहीको माग गर्दै आवेदन दिएका छन् ।

पत्रकार सम्मेलनमा शल्यक्रिया कक्षमा कार्यरत डा. सभिया नागा, एनेस्थेसिया प्रमुख डा. आरती राई, एनेस्थेसियन डा. शिव सिटौला, नर्स बबिता कोजूलगायतले डा. तिवारीले विरामीको शल्यक्रिया र उपचारका गम्भिर लापर्वाही गरेको बताउनु भयो ।

केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले यहाँका डाक्टरको १ण् देखि ५ बजेसम्म डियुटी गर्नु पर्ने भए पनि डा. तिवारीसहित केही कर्मचारी प्रायः ढिला आउने, छिटो जाने, विरामीको उपचारमा ओपिडीमा धेरै समय नबस्ने, डायलोसिसका लागि फिस्टुला नबनाई विरामी फर्काउने गरेको गुनासो धेरै आएको र विरामीको ज्यान जोखिममा राखेर लापर्वाही गरेकोमा अस्पतालले स्पष्टीकरण सोधेको बताउनु भयो ।

कार्यक्रममा मिर्गौला पीडित सरोकार समाजको अध्यक्ष बलराम सुवेदी, मिर्गौलाका विरामी झंक श्रेष्ठले डा. तिवारीसहित केही डाक्टरहरु ओपिडीमा विरामी थुपारेर उपचारमा समेत नआउने, चिया खाएर बाहिरै बस्ने र पटक पटक गुनासो गर्दा पनि सुनुवाई नभएको भन्दै त्यस्ता डाक्टरलाई कारबाही नगरे विरामीले आन्दोलन गर्ने बताउनु भयो ।

थप दुई सय २७ मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

काठमाडौँ, २३ भदौ : देशभर पछिल्लो २४ घण्टामा थप दुई सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार चार सय एक जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार पाँच सय १८ जनाले पिसिआर र दुई हजार आठ सय ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा एक लाख ४३ हजार पाँच सय ९५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा एक सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ८३ हजार नौ सय ४९ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १० पुगेको छ । होम आइसोलेशनमा दुई हजार तीन सय ७०, संस्थागत आइसोलेशन एक सय तीन, सघन उपचार कक्षमा २२ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर रहेको छ ।

शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ७२, ललितपुरमा चार सय ३५ र भक्तपुरमा ३६ सक्रिय सङ्क्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।