बोडेमा साहुको हत्या, चार पक्राउ

भक्तपुर, २९ जेठ । मध्यपुरथिमि नगरपालिका–८ बोडेकास्थानीय ५१ वर्षीय कल्याण साहुको हत्या गरिएको अबस्थामा जेठ २९ गते घर नजिकै टहरामा शव भेटिएको छ ।

काठको फर्माले हानेर हत्या गरेको अबस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधिन टहरामा साहुको शव घोप्टो परेको अबस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनु भयो । घट्ना परिवारबाट भएको हो वा अन्यबाट भन्ने अनुसन्धान भइरहेको जानकारी उहाँले दिनु भयो ।

प्रहरीले घट्नास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको जानकारी दिदै उहाँले हत्या आशंकामा चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रनाउ पाण्डेले जानकारी दिनु भयो । प्रहरीले शव पोष्ट मार्डमका लागि शिक्षण अस्पताल दुवाकोट पठाएर अनुसन्धान सुरु गरेको छ ।

भक्तपुर जिसस प्रमुखमा एमालेका थापा सहित बहुमत निर्वाचित

भक्तपुर, २८ जेठ : जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्षमा एमालेका ईश्वर थापा निर्वाचित हुनु भएको छ । मुख्य निर्वाचन कार्यालय भक्तपुरले आज सञ्चालन गरेको निर्वाचनमा काँग्रेस र एमालेको बराबर मत आएपछि गोलाप्रथाबाट प्रमुख, उपप्रमुख र सदस्यको छनौट गरिएको थियो ।

गोलाप्रथाबाट छनौट गर्दा जिसस प्रमुखमा एमालेका थापा र उप प्रमुखमा काँग्रेसकी सुजाता बाडे निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा सदस्यहरुमा एमालेका नानु कार्की, मन्जु कार्की, विश्वराम त्वायनाबासु र राम माया मिजारले गोला तानेर निर्वाचित हुनु भएको छ । कांग्रेसबाट भने सदस्यमा बिनु केसीले गोला तानेर विजय हासिल गर्नु भएको छ ।

भक्तपुरका चार नगरपालिकामा निर्वाचित नगर प्रमुख र उपप्रमुख आठ जना मध्ये नेकपा एमालेका दुई प्रमुख र एक उपप्रमुखसहित तीन मत, नेपाली कांग्रेसको दुई प्रमुख सहित दुई मत, नेकपा माओवादी केन्द्रका एक उपप्रमुख सहित एक मत र नेपाल मजदुर किसान पार्टीको प्रमुख र उपप्रमुख सहित दुई मत गरि कूल आठ मत रहेको थियो ।

एमाले, काँग्रेस र नेमकिपा तीन वटै दलले आ–आफ्नो उम्मेदवारी उठाए पनि काँग्रेस र एमालेले अन्तिम समयसम्म पनि नेमकिपालाई प्रमुखसहित सदस्य दिएर बहुमत जुटाउन खोजे पनि नेमकिपाले एमसीसी पक्षधर दलसँग कुनै पनि साझेदारी नगर्ने अडान राख्दै आएको थियो ।

अन्तिममा एमाले र काँग्रेसबीच पनि मिलेर जाने प्रयास असफल भए पछि अन्तमा भएको मतदानमा एमालेका उम्मेदवारले तीन मत र काँग्रेस तथा माओवादी केन्द्रका उम्मेदवारले तीन मत गरि बराबर मत प्राप्त गरे पछि गोलाप्रथा गरिएको थियो । मत बराबर भएपछि गोलाप्रथा गर्दा जिसस प्रमुखसहित ५ जना एमालेबाट र उपप्रमुखसहित २ जना काँग्रेसबाट निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारीलाई एमालेका पोलिटव्यूरो सदस्य, प्रतिनिधि सभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले खादा तथा माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । त्यस्ते निर्वाचिन हुनेहरुलाई सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, पूर्व नगरप्रमुख सोमप्रसाद मिश्रलगायत एमालेका नेताहरुले बधाई तथा शुभकामना प्रदान गर्नु भयो ।

प्रदेश एवं संघीय निर्वाचनमा गठबन्धनको दुई तिहाई, कांग्रेस ठूलो दलः कांग्रेस उपसभापति खड्का

भक्तपुर, २८ जेठ : नेपाली काँग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले काँग्रेसले लिएको संकल्प पुरा गर्ने मिसनको नेतृत्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको बताउनु भएको छ ।

आज भक्तपुरमा आयोजना भएको शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रबृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री देउवाको सबल र दृढ नेतृत्वले काँग्रेसले सफलता हासिल गरेको बताउनु भएको हो ।

उपसभापति खड्काले भन्नुभयो, “नेपाली काँग्रेसको उदेश्य प्राप्तिका लागि, काँग्रेसको संकल्प पुरा गर्न, काँग्रेसलाई ठूलो पाटी बनाउन र गठबन्धनसहित दुई तिहाई ल्याएर संविधान संशोधन गर्ने अहिलेको मिसनको नेतृत्व काँग्रेसले गरेको छ, पार्टी सभापति देउवाले गर्नु भएको छ ।”

कुनै पनि एउटा पार्टीले मात्रै अब दुई तिहाई ल्याउन सक्ने अबस्था छैन, काँग्रेस एक्लैले पनि दुई तिहाई ल्याएर संविधान संशोधन गर्न सक्ने अबस्था छैन भन्दै उहाँले दुई तिहाईका लागि पनि गठबन्धन आवश्यक रहेको बताउनु भयो ।

वि.पि. कोइरालाले कम्युनिष्टसँग मिलेर कहिल्य जान हुन्न भने पनि कम्युनिष्टसँग मिलेर गणेशमान सिहंको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलन सफल भएको भन्दै उहाँले अहिले पनि समय र परिस्थितिको आवश्यकतालाई हरेर कम्युनिष्टसँग गठबन्धन गर्नु परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्र बचाउन, संविधान संशोधन गर्न, बम, बन्दूक पड्काउने राजनीतिक रोक्दै शान्ति स्थापना कायम गर्न र समग्र देशको हितका लागि अहिले गठबन्धन भएको हो,यो गठबन्धनले मंसीरमा हुने संघ र प्रदेशको निर्वाचनमा दुई तिहाई ल्याउँछ ।”

प्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई चुनौतीमा राखेर पनि सहि निर्णय लिन सक्नुहुँदो रैछ भन्ने एमसीसी पास गराएर प्रमाणित भएको भन्दै उपसभापति खड्काले भन्नुभयो, “एमसीसी पास भयो भने चुनाबमा काँग्रेस बढारिन्छ, नेपाल ध्वस्त हुन्छ, अमेरिकी सेनाले बुठ बजार्छन् भन्ने हल्ला र आन्दोलनको बीचमा चुनौती थापेर प्रधानमन्त्री देउवाले एमसीसी पास गराउनु भयो, आन्दोलनलाई शान्तिमा परिणत गराउदै बिरोधको कोलाहाललाई चिर्दै काँग्रेसले निर्णय गराएर चुनाबमा जनता माझ जादा जनताले काँग्रेसलाई ठूलो पार्टी बनाए, काँग्रेसलाई जनताले विश्वास गरे ।”

जनताले फेरी पनि काँग्रेसलाई सच्चिएर जाने मौका दिएको भन्दै उहाँले विगतका गल्ती कमजोरीलाई सच्याउदै, आफूबाटै रुपान्तरण गर्दै काँग्रेसले परिकल्पना गरेको लोकतान्त्रिक समाजवाद प्राप्तिको बाटोमा सबै लाग्नु पर्नेमा जोड दिनु भयो ।

उपसभापति खड्काले भन्नुभयो, “जनताको विश्वासको कडिलाई काँग्रेसले अब ट्टन दिनु हुदैन, जनताको पक्षमा काम गर्दै जानु पर्छ, विगतमा जे गल्ती गरेपनि आजबाट रुख बाहेक सूर्य र हलोमा भोट हाल्दिन भन्ने संंकल्प प्रत्येक नेता कार्यकर्ताले गर्नु पर्छ ।”

काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा मन जितेर काम गर्न निर्देशन दिदै उहाँले भन्नुभयो, “काँग्रेस जनताको पार्टी हो भन्ने अनुभूति दिने गरि काम गर्नुस्, सम्पत्ति थप्ने कोसिस नगर्नुस, तपाईले आउँदो आ..ब.मा बाड्ने बजेटले मंसीरमा हुने संघ र प्रदेशको चुनावको परिणामलाई फरक पार्छ, सोही अनुरुप काम गर्नुस् ।”

कार्यक्रममा नेपाली काँग्रेस वाग्मति प्रदेश सभापति एवं संसदीय दलका नेता इन्द्र बानियाँले शहिद राधेश्याम जोन्छेको स्मृति भवन निर्माण र शालिक निर्माण वाग्मति प्रदेशले गर्ने घोषणा गर्नु भयो । उहाँले प्रजातन्त्रमा शहीद पत्नी पनि मन्त्री हुने दिन आउँछ भन्ने सन्देश काँग्रेसले दिएको भन्दै काँग्रेस लोकतन्त्रको रक्षाका लागि उभिएको बताउनु भयो ।

त्यस अवसरमा काँग्रेस केन्द्रीय सदस्य रमा पौडेल, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले काँग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनलाई लक्ष्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पदमबहादुर पौडेलले शहिद जोन्छेको स्मृति भवन र शालिक निर्माणका लागि सूर्यविनायक नगरपालिका–८ सिपाडोलको ३ आना २ पैसा क्षेत्रफल जग्गा प्रतिष्ठानलाई प्रदान गरेको घोषणा गर्नु भयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष, कार्यक्रमका सभापति एवं वाग्मति प्रदेशकी उद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री रजनी जोन्छेँले आफ्ना पति शहिद राधेश्याम जोन्छेले गरेको योगदानको चर्चा गर्नु भयो ।

तत्कालिन जनयुद्धकालमा नेकपा माओवादीले भक्तपुरको कटुञ्जेस्थित घरमै बसिरहेका जोन्छेलाई २०५९ साल भदौ १६ गते गोली हानी घाइते बनाएको थियो । घाइते अबस्थामा हिडडुलसमेत गर्न नसकी उहाँको २०६९ साल जेठ २४ गते निधन भएको थियो ।

भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प

काठमाडौँ, २८ जेठ : भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएको राससलाई जानकारी दिनुभयो । उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

उपप्रमुख बुढाथोकीद्धारा नगर अस्पताललाई सुबिधाको गाडी हस्तान्तरण, कुनै सुबिधा नलिने घोषणा

भक्तपुर, २७ जेठ :चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुबिधाको गाडी नगर अस्पताललाई हस्तान्तरण गर्नु भएको छ ।

आज चाँगुनारायण नगर अस्पतालमा पुगेर उहाँले उपप्रमुखले पाउने सुविधाको गाडी जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने उदेश्यले चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।

उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले चुनाव अगाडि मतदातासँग नगरपालिकाबाट पाउने गाडी नगर अस्पताललाई हस्तान्तरण गरेको छु, मेरो सुबिधाको गाडी नगर क्षेत्र भित्र रहेका बृद्दबृद्दा, शारीरिक अशक्त, दिर्घ रोगी, बिरामीहरूलाई घरदैलोमै गई चिकित्सकीय सेवा प्रदान गर्ने हेतुले अस्पताललाई हस्तान्तरण गरेको हुँ, नगरपालिकाबाट पाउने कुनै पनि सुबिधा म लिन्न ।”

उहाँले नगरपालिकाबाट पाउने गाडी, पेट्रोल, तलब, भत्तालगायतका अतिरिक्त कुनै पनि सुबिधा नलिने घोषणा गगर्नु भयो । सफल व्यवसायीसमेत रहनु भएका उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले पाउने तलब, भत्ता पनि छुट्टै कोष खडा गरेर नगर क्षेत्रका गरिव जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त व्यक्तिहरुको बृद्दि विकासको क्षेत्रमा, महिला उद्यमशिलता एवं स्वरोजगारको क्षेत्रमा खर्च गर्नेछु ।”

नगरपालिकाको समग्र बिकासमा अबको पाँच वर्ष सक्रिय भएर लाग्ने बताउनु भयो ।

भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू, खोज तथा उद्धारका सामग्री, जनशक्ति र आश्रयस्थल तयारी अबस्थामा राख्न निर्देशन

भक्तपुर, २६ जेठ : मनसुन सुरु भएसँगै भक्तपुरमा सम्भावित विपद व्यबस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समितिकी अध्यक्ष रुद्रदेवी शर्माको अध्यक्षता जिल्लाका चार नगरपालिकाका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु एवं सरोकारवाला निकायको संयुक्त बैठकको निर्णयले प्रतिकार्य योजना लागू गरेको हो ।

वर्षामा बाढी, पहिरोलगायतका विपदका जोखिमहरु बढ्ने भएकाले जिल्लाका चार वटै स्थानीय तहहरु भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा विपदको जोखिम रहेका ठाउँहरुको पहिचान गर्ने र विपद परेमा आश्रय लिने ठाउँहरुको समेत पहिचान गरि तयारी अबस्थामा राख्ने भएको प्रजिअ एवं समितिका संयोजक शर्माले जानकारी दिनु भयो ।

प्रजिअ शर्माले भन्नुभयो, “चार वटै नगरपालिकाका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विपदसँग सरोकार राख्ने निकाय एवं सम्बन्ध व्यक्तिहरुको छलफलबाट भक्तपुरमा विपद व्यबस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी गर्ने निर्णय भएको छ ।”

यहाँका सबै नगरपालिकाका प्रमुखहरुले आ–आफ्नो नगरपालिका क्षेत्रमा विपद जोखिम क्षेत्रको पहिचान गरेर विपद रोकथामका कार्यहरु गर्ने, विपद परेमा आश्रय स्थलको व्यबस्था गर्ने, उद्धारका लागि आवश्यक औजार एवं जनशक्ति तयारी अबस्थामा राख्ने सहमति भएको भन्दै उहाँले विपद व्यबस्थापनका लागि सिंगो भक्तपुर जिल्ला तयारी अबस्थामा रहेको बताउनु भयो ।

प्रजिअ शर्माले सुरक्षा निकायका प्रमुखहरुलाई सुरक्षा निकायसँग रहेको उद्धारका सम्पूर्ण सामग्रीहरु बोट, साबेल, डोरी, लाईफ ज्याकेट लगायतका अन्य आवश्यक सामाग्री तयारी अबस्थामा राख्न समेत निर्देशन दिनु भयो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीका प्रमुखहरुले खोज तथा उद्धारका सामग्रीहरु एवं तालिम प्राप्त जनशक्ति सबै तयारी अबस्थामा राखिएको जानकारी दिनु भयो ।

जिल्लाका चार वटै नगरपालिकाले पनि त्यस्ता खोज तथा उद्धारका सामग्रीहरु र जनशक्ति तयारी अबस्थामा राख्ने भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्ना नगरपालिकाका लागि आवश्यक पर्ने खोज तथा उद्धारका सामग्री तयारी अबस्थामा राख्ने र आवश्यक जनशक्ति पनि तयार गर्ने बताउनु भएको छ ।

वर्षायाममा मुख्यगरि भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका नदी आसपास क्षेत्र डुबानको चपेडामा पर्दै आएको छभने सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको ग्रामिण एवं पहाडी क्षेत्रहरु पहिलोको जोखिममा पर्दै आएको छ । चाँगुनारायण र सूर्यविनायक नगरपालिका क्षेत्रमा अत्याधिक रुपमा अबैध जग्गा खण्डिकरण एवं प्लानिङहरु रहेकाले पहिरोको जोखिम बढेको नगर प्रमुखहरुले बताउनु भयो ।

चागनारायणका प्रमुख खत्रीले अबैध रुपमा सञ्चालित जग्गा प्लानिङदेखि जग्गा सम्याउने बाहनामा जथाभावी डोजर लगाउने, सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम अत्याधिक रहेकाले यसलाई रोक्न आफूले पहल सुरु गरेको बताउदै यसमा प्रहरी प्रशासनको प्भावकारी रुपमा साथ र सहयोग जुटाइदिन आग्रह गर्नु भयो । जथाभावी डोजर लगाउँदा यहाँका बस्तीहरु नै जोखिममा परेको भन्दै यसलाई रोक्नु अत्यावश्यक भएको औल्याउनु भयो ।

प्रजिअ शर्माले सार्वजनिक सम्पत्तिको रक्षा गर्न, अतिक्रमणमा परेको सार्वजनिक जग्गा फिर्ता गर्न, सरकारी निकाय रहेका स्थानको सार्वजनिक सम्पत्तिको निस्सा संकलन गर्न, नगरपालिकाहरुले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक जग्गा र सम्पत्तिको विवरण संकलन गरि दुरुस्त राख्न, अबैध ढुङ्गा, माटो, बालुवा खानी सञ्चालनलाई तत्काल रोक्न, जथाभावी डोजर चलाउनेलाई नियन्त्रण गर्न र जग्गा खण्डिकरण रोक्न निर्देशन दिनु भयो ।

कार्यक्रममा जिल्लाका चार वटै नगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखहरुलाई प्रजिअ शर्माले टीका तथा खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

जुन ९ मा नेपालले विश्व कप क्रिकेट लिग २ को पहिलो खेल खेल्दै : राष्ट्रिय क्रिकेट टोलीको तयारीका लागि आयोजित एनआरएनए युएसए कप सम्पन्न

टेक्सस (अमेरिका) ।

विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा संचालन भैरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् ।

सिरिज अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा रहेको  मोसा स्टेडियमा संचालन हुनेछ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनु अघि तयारी स्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको थियो । लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा संचालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि  गत विहिवार नेपाली अल स्टार क्लबसँग  र दोस्रो खेलमा ह्युष्टन हुरिकेनसँग प्रतिष्पर्धा गरेको थियो ।

जसमा पहिलो खेलमा अल स्टारसँग नेपाली राष्ट्रिय टोली ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा सन्दीप लामिछानेले आराम गर्दा कप्तानी गरेका रोहित पौडेलको १ सय १ रनको मद्दतमा नेपाली राष्ट्रिय टोलीले ह्युष्टन हुरिकेनलाई २९ रनले पराजित गरेको थियो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तत्वाधानमा भएको प्रतियोगितामा संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अमेरिकामा व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली अल स्टार क्लबलाई २० हजार डलर सहयोग गरेको थियो । साथै संघले अन्य विभिन्न खालका सहयोग समेत गरेको थियो ।

एनआरएनए एनसिसी युएसए कपको समाप्तीपछि आयोजित कार्यक्रममा संघका तर्फवाट अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल लगायतले विजयी तथा उपविजयी खेलाडी, टोली र अफिसियलहरुलाई अवार्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । नेपाली राष्ट्रिय टोलीलाई तयारीका लागि सहज होस् भन्ने उद्देश्यले एनआरएनए एनसिसी युएसए कप आयोजना गरिएको थियो ।

यसैबीच, संघको टेक्सस च्याप्टरले शनिवार स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका उपाध्यक्ष गंगा शर्माको अध्यक्षता, सचिव डा. चण्डी भण्डारीको संचालन र सहसचिव राजन भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा संघका अध्यक्ष बुद्दिसागर सुबेदी, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, उपाध्यक्ष सुमन थापा, सचिव अनुप खनाल, नेजाका महासचिव सुरज भण्डारी, एएनएका अध्यक्ष विजयराज भट्टराई, एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले, एनएसटीका महासचिव एवं एनआरएनए युथ कमिटि चियर सन्देश उप्रेती, क्षेत्रीय संयोजक सुजन पण्डित, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्ज्वल वली, पत्रकारहरु विनोद पाण्डे, किशन रेग्मी, नपलिज एशोसिएशन अफ ह्युष्टनका अध्यक्ष विष्णु नेपाल, सिएनएफका अध्यक्ष कृष्ण न्यौपाने, नेपाल हेरिटेजका अध्यक्ष कर्ण बोगटी, डा. विजय झा, सतिश त्रिपाठी लगायतले धारणा राख्नुभएको थियो ।

आईसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरु  विश्व कपका लागि छनौट हुन प्रतिष्पर्धामा छन् । अहिले सम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहीत ४० अंक सहीत शिर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंक सहीत दोस्रो स्थानमा रहेको छ । यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२  अंकका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ पाँचौ स्थानमा , नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकका साथ छैठौं र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकका साथ सातौं स्थानमा रहेको छ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

प्रधानमन्त्री देउवा र संघका पदाधिकारीबीच छलफल, ११ बुँदे प्रस्ताव पेश

भक्तपुर, २५ जेठ : प्रधानमन्त्री शेरबहादुर देउवा र भक्तपुर उद्योग वाणिज्य संघका टोलीबीच आज भक्तपुरको विकासकाबारेमा छलफल भएको छ । भक्तपुर उद्योग वाणिज्य संघकाका अध्यक्ष शिवप्रसाद मानन्धर नेतृत्वको पदाधिकारीसहितको टोलीले आज प्रधानमन्त्री निवस बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरि ११ बुँदे प्रस्ताव पेश गर्दै भक्तपुरको पूर्वाधार विकासका लागि पहल गरिदिन अनुरोध गरेको हो ।

संघले प्रधानमन्त्री देउवासमक्ष लोकतन्त्रको संस्थागत विकास र संविधानको पूर्ण पालना प्रति प्रतिवद्ध वर्तमान सरकारले भक्तपुरको विकासमा टेवा दिन अनुरोध गरेका हुन् । संघका अध्यक्ष मानन्धरले प्रधानमन्त्रीको दृढ अठोट र संकल्पका कारण हालै मुलुकमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, भयरहित एवं व्यवस्थितरूपमा सम्पन्न भएको भन्दै निजी क्षेत्र पनि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिप्रति अत्यन्त उत्साहित बन्न पुगेको बताउनु भयो ।

प्रधानमन्त्री समक्ष भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालनका लागि स्वीकृत प्रदान गर्न उहाँले आग्रह गर्नु भयो । ख्वप विश्वविद्यालय सञ्चालनमा आए जनताले न्यून शुल्कमा नेपालमै विशेषत्र चिकित्सक उत्पादन गर्न सक्ने जानकारी गराउनु भयो ।

संघले प्रधानमन्त्री देउवासँग भक्तपुर नगरकोट जोड्ने सडक यथाशीघ्र कालोपत्रे सहित निर्माण सम्पन्न गर्न, सूर्यविनायक नगरपालिकामा पर्ने राष्ट्रिय प्राणी उद्यानको अविलम्ब निर्माण तथा सञ्चालनमा ल्याउन, भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र सभा हल निर्माण गर्न, पर्यटन पूर्वाधारको विकास गरी भक्तपुर आउने पर्यटकहरूको बसाई अवधि लम्ब्याउन तारे होटल निर्माणको प्रबन्ध गरिदिन, हालको भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामको रूपमा विकास गरी औद्योगिक क्षेत्रलाई यथाशीघ्र उचित स्थानमा स्थानान्तरण गर्न पहल गरिदिन आग्रह गरेको छ ।

त्यस्तै व्यावसायिक कृषि खेती गर्नको लागि नेपालमै मल कारखाना सञ्चालन गर्न, जिल्लाभित्र उत्पादित कृषि उपजको बजारीकरण लागि कृषि थोक बजार केन्द्रको निर्माण गरिदिन, स्वदेशी उत्पादनको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न श्रम ऐनमा आवश्यक सुधार गरी श्रम लागत छिमेकी मुलुक सरह बनाउन, नेपाली गार्मेन्ट उद्योगबाट उत्पादित बस्तु निर्यात गर्दा डण्डी र सिमेन्टमा जस्तै ८ प्रतिशत निर्यात अनुदान व्यवस्था गरिदिन, आ. व.२०७९÷०८० बजेटमा विद्युतीय सवारी साधनामा लगाएको करको दरमा खारेज गर्न, युवाहरूलाई स्वदेशमै बसेर उद्योग व्यवसाय गर्न प्रोत्साहन मिल्ने कार्यक्रमहरू ल्याउनु पर्ने र स्वदेशमा रोजगारी सिर्जना गरिदिन संघले प्रधानमन्त्री देउवासँग आग्रह गरेको छ ।

भेटमा प्रधानमन्त्री देउवाले संघको आग्रहलाई स्वीकार्दै आवश्यक पहल गर्ने जानकारी गराउनु भएको संघका सदस्य नविन प्रजापतिले जानकारी दिनु भयो ।

जनताको वर्तमान् सरकारलाई मंसीरबाट जनताले पाखा लगाउने छन् : एमाले नेता एवं सांसद महेश बस्नेत

भक्तपुर, २५ जेठ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी मंसीरमा हुने चुनाबमा बिकास बिरोधी सरकारलाई बाईबाई गरेर विकासका पक्षधरलाई जनताले सरकारमा ल्याउने बताउनु भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको आदर्श चोकदेखि वडा कार्यालय हुँदै घ्याम्पेडाँडा जाने १२ मिटर चौडाई सडक खण्डको आज कालोपत्रे गर्ने कार्यको शुभारम्भ गर्दै उहाँले मंसिरमा हुने निर्वाचनबाटै जनताले वर्तमान् विकास बिरोधी सरकारलाई बिदा गर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बिकास बिरोधी सरकार हो, जनताको विपक्षमा रहने सरकार हो, मंहगी बृद्धि गराउने, जनतामा अनावश्यक कुरा लाद्ने सरकार हो भन्ने जनताले बुझिसकेका छन्, अब मंसिरमा हुने चुनाबबाट अहिलेको बिकास बिरोधी सरकारलाई बाईबाई गर्नेछन् र बिकास गर्ने एमाले नेतृत्वको सरकारलाई हाई हाई गरेर फेरी सरकारमा ल्याउने छन् । त्यसपछि अहिलेको सरकारले काटेका सबै सडकका बजेट ल्याएर विकासलाई पूर्णता दिनेछौ ।”

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको पालामा विनियोजित सडकका बजेटहरु वर्तमान देउवा सरकारले काटेको भन्दै उहाँले जगाती सिपाडोलको यो सडकको बजेट पनि अनेक उपायहरु अबलम्बन गर्दै तीन करोड बजेट ल्याएर कालोपत्र सुरु गरेको बताउनुभयो ।

अहिले एमालेकै सरकार भएको भए यो सडकलाई ३ करोड नभई १३ करोड बजेट ल्याउन सकिन्थ्यो भन्दै उहाँले बालकुमारी, बोलकोट रानीकोट सडकलाई ओली सरकारको पालामा ४० करोड बजेट पारे पनि अहिलेको सरकारले बजेट काटेको बताउनु भयो।

वर्तमान् सरकार जनता र विकासप्रति जवाफदेही नभएको भन्दै उहाँले एमाले नेतृत्वको सरकारको पालामा एउटा निर्वाचन क्षेत्र एउटा रणनीतिक सडक सुरु गरेपनि अहिलेको सरकारले भक्तपुर जिल्लाका सबै सडकका बजेट काटेको बताउनु भयो ।

पूर्वमन्त्री एवं एमालेका युवा नेता बस्नेतले भन्नुभयो, “यस वर्षको बजेटमा हाम्रो जिल्लामा सडकमा एउटा पनि बजेट परेन, सडकका बजेट जति प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नै जिल्लामा मात्रै पठाएका छन्, एमालेको पालामा ३ करोड बजेट पाएको ठाउँमा अहिलेको सरकारले ३० लाख मात्रै बजेट पठाएको छ ।”

यस पटक बजेटले रातो किताबमा गिज्याइरहेको टिप्पणी गर्दै उहाँले वर्तमान् सरकारले एक वटा शिर्षकमा १० वटा सडक पारेर जम्मा ३० लाख बजेट दिएर गिज्याएको बताउनु भयो । एमाले नेतृत्वको सरकारको पालामा भक्तपुरमा ३८१ वटा सडक ३० करोडदेखि ३ अर्बसम्मको बजेट एउटै सडकलाई पार्ने सफल भएको तर अहिलेको सरकारले ती बजेटहरु पनि काटेको सांसद बस्नेतको भनाइ थियो ।

सांसद बस्नेतले भन्नुभयो, “एमाले सरकारको पालाको रातो किताब र आजको रातो किताबलाई एकै ठाउँमा राखेर पल्टाएर हेर्ने हो भने भक्तपुरलाई रातो किताबले गिज्याइएरहेको देखिन्छ, एमालेको पालामा रातो किताब भरि भक्तपुरका बजेट देखिन्थे भने अहिले रातो किताबका भक्तपुरका नाम भेटिन्न्, त्यो हेर्दा नै थाहा हुन्छ, एमाले विकासवादी पार्टी हो, जननताको सहयोगी पार्टी हो, कांग्रेस विकास बिरोधी पार्टी हो भन्ने रातो किताबले पुष्टी गर्छ ।”

वर्तमान् सरकारले १४ सय सडक एकै पटक काटेको बताउदै उहाँले सरकारले भट्राई टोल, नैचाल, सिपाडोल जाने सडकको बजेट काटेको बताउनु भयो । भक्तपुरका जनताले बजेट ल्याउन संघर्ष गर्ने दिन आएको भन्दै उहाँले अब जनताले आजाव नउठाउने हो भने भक्तपुरलाई बजेट नआउने भएकाले सिंहदरबार घेर्ने र दबाब दिने, आन्दोलन गर्ने दिन आउने बताउनु भयो ।

वर्तमान् सरकारले भक्तपुरको बजेट काट्नुमा भक्तपुरका काँग्रेसका नेताहरु जिम्मेवार रहेको भन्दै सांसद बस्नेतले भन्नुभयो, “एमालेको सरकारमा व्यापक सडक र बिकास गर्दा त्यो समयले ल्याएको बिकास हो महेश बस्नेतको घरबाट ल्याएको पैसाले बिकास बिकास गरेको हो र ? भन्ने कांग्रेसका साथीहरुलाई अहिले मेरो प्रश्न छ, आज तपाईको पार्टीको सरकार हुँदा कति बजेट आयो त ? कति बजेट ल्याउनु भयो त ?”

कांग्रेसले चुनाबको बेलामा भ्रम छर्ने, गलत म्यासेज दिने, जनतालाई अलमलमा पार्ने र चुनाब पछि हराउने कांग्रेसको रोगको रोग नै भएको टिप्पणी गर्दै उहाँले अब जनताले बुझ्नु पर्ने बताउनु भयो ।

यस पटकको चुनाबलाई हेर्दा एमालेले यतिधेरै बिकास गर्दा पनि सोचे जति मत प्राप्त गर्न नसकेको भन्दै मध्यपुरथिमि लगायतका क्षेत्रमा विकासको लहर अल्याउदा पनि निर्वाचनको परिणाम प्रतिकुल आएको उहाँको भनाइ थियो । चुनाबमा गठबन्धन गरेर गइरहदा कांग्रेसलाई अरु दलले पनि साथ दे होलान् भन्दै उहाँले जनताले फेरी पनि बिकास गर्ने पार्टी त नेकपा एमाले नै हो भन्ने दिन आइसकेको बताउनु भयो ।

कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेतले सिपाडोलको पुरोना सडकको मुहार फेरिएको भन्दै जतिसक्दो छिटो यो सडक कालोपत्र गरि सक्ने बताउनु भयो ।

शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा व्यवहारिक नदेखिएकाले दुई दिन बिदा दिने निर्णय खारेज

 काठमाडौँ, २४ जेठ  : सरकारले शिक्षा स्वास्थ्यलागतय क्षेत्रमा व्यवहारिक नदेखिएकाले परीक्षणका रुपमा सुरु गरिएको हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्पष्ट पारेको छ । गत वैशाख २८ गतेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको शनिबारका साथै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । सिंहदरबारमा आज मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाणले उक्त जानकारी दिनुभएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले हाल परीक्षणका रुपमा लागू गरिएको हप्तामा दुई दिन सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय आउँदो असार १ गतेदेखि लागू हुने गरी खारेज गरेको थियो । निर्णय सार्वजनिक गर्नेक्रममा गृहमन्त्री खाणले भन्नुभयो, “सरकारले बिदा परीक्षणका रुपमा लागू गरेका थियो, खास गरेर शिक्षा, स्वास्थ्यलगायत कतिपय क्षेत्रमा तत्कालका लागि व्यवहारिक नदेखिएकाले उक्त निर्णयलाई फिर्ता लिइएको हो ।”

मन्त्रिपरिषद् बैठकले विश्व बैंँकबाट हरित उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (झण्डै रु १२ अर्ब) सहुलियतपूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशकमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सरकारले थाइल्याण्डमा हुने सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी तालिमको अनुगमन र समापन कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तद्वय किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई सहभागी हुन स्वीकृति दिएको छ । यस्तै अष्ट्रेलियामा आयोजना हुने विपत् व्यवस्थापनसम्बन्धी कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेलाई पठाउने निर्णय भएको पनि गृहमन्त्री खाणले बताउनुभयो ।

भारतको नयाँ दिल्लीमा हुने नेपाल भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १२औँ बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयको सहसचिवको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिएको छ । यस्तै बैठकले प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरीक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

सरकारले लुम्बिनी सांस्कृतिक नगरपालिकालाई अस्पताल भवन निर्माणार्थ सरकारी जग्गा उपलब्ध गराउने, गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा स्वीकृत गर्ने, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवास विक्रम शाही र सदस्यमा कल्पना दियाकोटीलाई मनोनयन गर्ने, नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय पनि गरेको छ ।

सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सरजुकुमार वैद्यलाई नेपाल इञ्जिनीयरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने तथा लोक सेवा आयोगको सिफारिस बमोजिम निजामती सेवाको नेपाल वन सेवा तथा नेपाल शिक्षा सेवाका राजपत्राङ्कीत प्रथम श्रेणी वा सो सरहको पदमा नियुक्त गरी पदस्थापन गर्ने निणय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनकासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संसद्मा पेश गर्न स्वीकृत दिएको छ । सरकारले हतियार तथा खरखजाना (एघारौँ संशोधन) नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ । रेल्वेसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक सङ्घीय संसद्मा पेश गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्ले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने र मानव अङ्ग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन) आदेश २०७९ स्वीकृति गर्ने निर्णय पनि गरेको सो अवसरमा गृहमन्त्री खाणले जानकारी गराउनुभयो ।